गीता सापकोटाकोपरिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी युवा पुस्ताकी सर्जक एवम् समीक्षक प्रतिभा हुन् । नेपाली विषयमै उच्च शिक्षा लिई अध्यापनसहित साहित्य क्षेत्रमा समर्पित सापकोटाले विविध विधामा कलम चलाउँदै आएकी छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘नोवेल पुरस्कार विजेता नारी साहित्यकार एल्फ्राइड जेलिनेक’ शीर्षकको लघु जीवनी समेटिएको छ । यस जीवनीले को सारभूत परिचय प्रस्तुत गरेको छ ।
-सम्पा. |
विश्व सन्दर्भमा नरीहरू जति अगाडि बढ्नु पर्ने हो त्यति अगाडि बढ्न सकिरहेका छैनन् । राजनीतिले, जागिरले र अन्य क्षेत्रले आरक्षण विकास गरे पनि सिर्जनात्मक उन्नति र बौद्धिकतामा आफै लाग्नु पर्ने हुन्छ । विश्व सन्दर्भमा यस्ता बौद्धिक गतिविधिमा नारीको सङ्ख्या कमै छ । त्यस्ता कम नारी प्रतिभामध्ये एल्फ्राइड जेलिनेक विश्वप्रसिद्ध साहित्यकार हुन् । उनले आफ्नै संघर्षबाट अनेक उतारचढाव पार गर्दै नोवेल पुरस्कार प्राप्त गरेकी थिइन् ।
एल्फ्राइड जेनिलेकको जन्म सन् १९४६ अक्टोबर २० मा अस्ट्रियाको स्टेरिया प्रान्तको मुएर्चुस्लाक भन्ने ठाउँमा भएको थियो । उनी मध्यम वर्गीय परिवारमा जन्मिएकी थिइन् । उनका पिता रसायनशास्त्री थिए । उनको परिवार यहुदी धर्मावलम्बी थिए ।
एनको परिवार र पिता यहुदी धर्मावलम्बी थिए । तापनि उनले नाजीहरूलाई दोस्रो विश्वयुद्धको समयमा औद्योगिक उत्पादनमा सहयोग गरेका कारण उनलाई संरक्षण दिएका थिए । त्यसैले नाजीहरूले उनलाई अन्य यहुदीहरूलाई जस्तो लखेटाइमा पार्नुको सट्टा प्राण बचाइदिएका थिए । उनले यो उदारता परिवार र आफ्नो समाजबाटै बाल्यकालमै सिकेकी थिइन् ।
जेलिनेकको प्रारम्भिक शिक्षा जन्मभूमिमै भयो । उनी अब्लेयर जिम्नाजियमबाट साक्षर भइन् । सन् १९६७ मा उनले भिएना विश्वविद्यालयबाट रङ्गमञ्चमा उच्च शिक्षा लिइन् । उनले समाज देशको इतिहासमा चासो राख्दै इतिहास विषयमा पनि उच्च शिक्षा लिइन्
उनी सन् १९७१ मा सङ्गीतशास्त्रमा स्नातक उत्तीर्ण भइन् । उनको अध्ययन गरेको विषयले पनि सङ्गीत र रङ्गकर्मीप्रति रुचि बढ्दै गयो । रुचि सङ्गीत र रङ्गमञ्चमा भए पनि उनको मूल रुचि ती ज्ञानलाईसमेत समेटेर कवितातिर मोडियो । उनले सन् १९६७ मा लिसास स्याडो नामक कवितासङ्ग्रह प्रकाशित गरिन् । उनको शिक्षा भन्दा साहित्य टाढा जस्तो देखिन्थ्यो तर उनी कृतिसहित साहित्य क्षेत्रमा देखा परिन् । त्यसपछि निरन्तर आफ्नो रुचि र समर्पणको क्षेत्र साहित्यलाई बनाइन् ।
एल्फ्राइड जेलिनेक विविध क्षेत्रमा चासो राख्थिन् । उनी विश्वविद्यालयको अध्ययनका क्रममा समाज सचेत पनि बनिन् । त्यस कारण उनी राजनीतिमा पनि संलग्न भइन् । उनले राजनीतिलाई नै आफ्नो मूल रुचि र समर्पणको क्षेत्र बनाइन् तर उनी त्यस बटा बढी समाजसचेत नारी बनिन् । उनका कतिपय लेखनीमा राजनीति प्रभाव देखिन्छ । उनको साहित्ययात्राको प्रारम्भका रचनामा आक्रोशका भावहरू प्रबल देखिन्छन् ।
समय त्रममा एल्फ्राइड जेलिनेक साहित्यका विविध विधामा फिजिइन् । उनी मूलतः कविता, कथा, उपन्यास, गीतिकाव्य, पटकथा, नाटक जस्ता विविध विधामा सशक्त रूपमा कलम चलाउन थालिन् । प्रायः सबै विधामा धेरथोर सफलता पाउँदै अगाडि बढिन् । उनको सन् १९७० मा व्यङ्ग्यात्मक उपन्यास वीर सिन्ड लोकफोगेल बेबी प्रकाशित भयो । त्यसपछि उनी बढी चर्चित भइन् ।
जेलिनेकको सन् १९७४ मा उनको फिल्मी कलाकार गोफ्रिड हुएङ्खस बेर्गसँग विवाह भयो । त्यसपश्चात उनलाई घरायसी वातावरणको पनि सकारात्मक प्रभाव प¥यो । त्यही सकारात्मक प्रभाव स्वरूप उनले सन् १९८० मा वन्डरफुल, वन्डरफुल टाइम्स नामक अर्को उपन्यास सार्वजनिक गरिन् । यस उपन्यासमा उनले युवा अपराधी गिरोहको निरुद्देश्य जीवन र यसले पारिरहेको सामाजिक मनोवैज्ञानिक असरको चित्रण गरेकी छन् ।
एल्फ्राइड जेलिनेक स्रष्टा मात्र थिइनन् । उनी कुशल अनुवादक पनि थिइन् । उनले थोमस पिन्चोन, जर्ज फेड, युगेन लाबिख र क्रिस्टोफर मार्लो आदिका रचनाहरू अनुवाद गरेकी छन् । उनका अनुवादलाई पनि महत्त्वपूर्ण सामग्रीका रूपमा लिइन्छ ।
बहुमुखी प्रतिभाशाली जेलिनेकका तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । तीमध्ये लिसास स्याडो (१९६७) विर सिन्ड लोकफोगेल बेबी (१९७०), बुमन एज लभर्स (१९७५), वन्डरफुल वन्डरफुल टाइम्स (१९८०), द पियानो टिचर (१०८३), क्लारा एस (१९८४), ओ वाइन्डनेस (१९८५), लस्ट (१९८९), इन आल्पस् (२००२), बाम्बिल्यान्ड (२००३), इम एन्ड मार्गरेड (२००४), आदि उल्लेख्य छन् । समीक्षकका अनुसार यी एकपछि अर्को उनका उत्कृष्ट कृतिहरू हुन् ।
जेलिनेक रङ्गमञ्च र सङ्गीत क्षेत्रकी विद्यार्थी हुँदा उनले आफ्ना उपन्यास र नाटकहरूमा साङ्गीतिक संवादहरूसंयोजन गरेकी छन् । त्यस्ता आलङ्कारिक संवादमार्फत विशेष भाषिक मिठास निर्माण गरेकी छन् । उनले मिठो भाषामा हल्का व्यङ्ग्यसहित समाजका विकृति र विसङ्गतिहरूलाई औँल्याउन सफल भएकी छन् ।
उक्त सूक्ष्म कलात्मक एवम् कला र विचारको संयोजनमूलक सिर्जन सामर्थकै कारण एल्फ्राइड जेलिनेकलाई सन् २००४ को साहित्य तर्फको नोबेल पुरस्कारद्वारा सम्मानित गरियो । उनले त्यस पुरस्कारबाट थप हौसला लिएर आफ्नो कलमलाई सशक्त बनाइन् ।
जेलिनेक साहित्यका माध्यमबाट विश्वप्रसिद्ध नोबेल पुरस्कार प्राप्त गर्न सफल नारी हस्ताक्षर हुन् । जेलिनेकका कृतिहरूमा नारीवादी चिन्तन, यौन र सामाजिक शक्ति सन्तुलनमा जोड, नाटकमा रङ्गमञ्चीय प्रवृत्तिको विरोध, इतिहासका काला र कुरूप पक्षको चित्रण क्रर नाजी अत्याचार सन्त्रास, भय र बर्बरताप्रति आक्रोश रहेको पाइन्छ । उनको अध्ययन र समाजबोधले उनका कृतिहरू पठनीय र दूरदर्शी हरकेको समकालीन समीक्षकले निक्र्योल गरेका छन् ।
जेलिनेक इतिहासकी विद्यार्थी हुन् । उनले आफ्ना सिर्जनामा विश्वयुद्धले निम्त्याएको युरोपेली नवपुस्ताको अपराधिक हिंसात्मक र परपीडक मनोरोगको सूक्ष्म चित्रण गर्नका साथै भण्डारफोर पनि गरेकी छन् । यी बहुमुखी विषेशताले उनलाई फरक फरक विधामा स्थापित गर्यो ।
लेनिलेक आफ्नो युगकी एक सफल कलम योद्धा हुन् । उनी मानवता र विश्वबन्धुत्वको भावना ओतप्रोत भएकी नारी स्रष्टा हुन् । उनको वैयक्तिक जीवन र सिर्जनात्मक जीवनका साथै पारिवारिक जीवन पनि अभिप्रेरक छ । एकपछि अर्को कृति आफ्नै पूर्वकृतिसँगको प्रतिस्पर्धी कृतिका रूपमा प्रस्तुत गर्न सक्नु उनको सफलताको कारक देखिन्छ ।
टीकाथली, ललितपुर