सीताराम अधिकारी (२००२, माघ २३ मङ्गलबार, सुपुत्रः चक्रपाणि अधिकारी र लीलादेवी अधिकारी, हंसपुर, हाल अधिरकोट गा.पा. गोरखा) नेपाली साहित्यका बहुमुखी प्रतिमा हुन् । उनको कलम सिर्जना, अनुवाद, कोशनिर्माण पाठ्यपुस्तक, व्याकरण लेखन आदिमा सक्रिय छ । उनको पहिलो रचनाका रूपमा २०३३ सालमा कोयली लघुकाव्य प्रकाशन भएको थियो । त्यसपछि उनका आमा (शोककाव्य, २०३७), देवघाट (खण्डकाव्य, २०५७), फूल, मान्छे, म र नेपाल (लामो कविता,२०६५), अन्त्यभित्रको अन्त्य (खण्डकाव्य, २०६६), आलोक (खण्डकाव्य, २०६८), जस्ता काव्यकृति सिर्जनामा आरोहणशील देखिन्छ । उनका मेरो लेख (२०५६), यात्रा रोकिन्न (२०५७), सतसुन्दर (२०६५), अमरज्योतितिर फर्केर हेर्दा (२०६६), अविस्मृति २०७४) ज्वारभाटा (२०७०), आँधी (२०७२), शार्दुलविहार (२०७३) जस्ता कवितासङ्ग्रहहरू प्रकाशित छन् । उनको उज्यालोको खोजी (उपन्यास, २०६९) उपन्यास पनि प्रकाशित छ । यी नेपाली कृतिहरू उनी अंग्रेजी साहित्यका प्राध्यापक हुँदा उनका अंग्रेजी भाषामा पनि विभिन्न कृति प्रकाशित छन् । उनको मोर्डन इसिन्सियल डिक्सनरी (Modern Essential Dictionary (१९९९) शीर्षकको अंग्रेजी अंग्रेजी नेपाली शब्दकोश प्रकाशित छ । उनका Standard Essential Dictionary (२००८), An outline of British Drama (२००८), लगायत छवटा अङ्ग्रेजी ग्रामर र साहित्यका कृतिहरू प्रकाशित छन् । अधिकारी नेपालीबाट अंग्रेजीमा र अंग्रेजीबाट नेपालमिा अननुवाद सामर्थ्य भएका प्रतिभा हुन् । उनको कलमबाट नेपालीबाट अंग्रेजीमा अनुदित रमेश खकुरेलको महाकाव्य स्रग्धरा (Sragdhara), प्रह्लाद पोखरेलको दोलखाको गन्तव्य (Destination of Dolakha) जस्ता कृतिहरू प्रकाशित छन् । उनको अनुवादमा धेरै नेपाली कविता अङ्ग्रेजीमा र अंग्रजी कविता नेपाली साहित्यका भण्डारमा पुगेका छन् । साहित्य सागरको यस शृङ्खलामा अधिकारीको माधव घिमिरेलाई विषय र विम्ब बनाएको ‘राष्ट्रकविप्रति श्रद्धा सुमन’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा घिमिरेको जीवन, कृति, सिर्जनाका केही विम्ब र प्रकृतिलाई पनि विम्ब बनाएर घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
-सम्पा.
|