रमेश शुभेच्छुको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी विविध ढङ्गले साहित्य सेवामा समर्पित प्रतिभा हुन् । उनी प्राय: समारोहहरूमा मन्तव्य राखिरहेका भेटिन्छन् । उनले शब्दार्थ प्रकाशनको वार्षिकोत्सव समारोहमा प्रस्तुत गरेको मन्तव्यलाई यहाँ मन्तव्य स्तम्भ अन्तर्गत समेटिएको छ । यस मन्तव्यमा सात जना स्रष्टाका आठ वटा कृतिको मौखिक समीक्षा प्रस्तुत छ । -सम्पा. |
शब्दार्थ प्रकाशनको १८ औँ वार्षिकोत्सव समारोहका सभाध्यक्ष आदरणीय ठाकुर शर्माज्यू,
यस विशिष्ट समारोहका प्रमुख आमन्त्रित आदरणीय डा.महेश्वर शर्माज्यू,
विशिष्ट अतिथि गण,
आज वैजयन्ती सम्मानबाट सम्मानित आदरणीय स्रष्टा गण,
आज लोकार्पित आठवटा कृतिका स्रष्टा गण,
शब्दार्थ प्रकाशनका सञ्चालक आदरणीय विनयकुमार शर्मा नेपालज्यू,
प्रकाशक बन्धुहरू,
लेखक बन्धुहरू,
सञ्चरकर्मी बन्धुहरू.
सबैमा हार्दिक न्यानो अभिवादन ।
सर्वप्रथमत: शब्दार्थ प्रकाशनले आफ्नो स्थापना दिवसको १७ वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गरेकामा हार्दिक बधाई । यस प्रकाशनले महत्त्वपूर्ण कोशहरू, महत्त्वपूर्ण औपनिषदिक, पौराणिक एवम् अन्य साहित्य र वाङ्मयका सयौँ कृति प्रकाशन गर्दै आएको छ । यसको मुखपत्र वैजयन्ती निरन्तर रूपमा प्रकाशन भइरहेको छ । यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यो सफलता लागि प्रकाशनका अध्यक्ष विनयकुमार शर्मा नेपाललाई बधाई भन्छु ।
आज म असाध्यै खुसी छु । मलाई यस पत्रिकामा प्रकाशित रचनाका आधारमा मूल्याङकन गरी यो सम्मान अर्पण गरेकामा मसँगै मेरा सहकर्मी, सहधर्मी अन्य स्रष्टाहरू पनि सम्मानित हुँदै हुनुहुन्छ । उहाँहरूमा विशेष बधाई ज्ञापन गर्दछु । मलाई यस सम्मानले थप जिम्मेवार बनाएको छ । आफ्नो कर्मक्षेत्रमा लागिरहन अभिप्रेरित गरेको छ ।आज मसँगै माधव पोखरेल ‘गोज्याङ्ग्रे’, शीतल गिरी, आत्माराम खरेल, दुर्गाकिरण तिवारी, विनोद नेपाल, सूब सेन, विष्णुप्रसाद शर्मा पराजुली, ज्ञान उदास, डा। विष्णु के।सी।, लक्ष्मण अर्याल, प्रह्लाद पोखरेल, हरि पाण्डे ‘पथिक’, बालकृष्ण भट्टराई, जनक वाग्ले, खगेन्द्र खोल्साघरे, रासा, रूद्र ज्ञवाली समेत १८ स्रष्टा सम्मानित हुँदै हुनुहुन्छ । यो सम्मानले हामिलाई दिएको हौसला कहिलै कमजोर नबनोस् । अहिले म आभार स्वरूप यति मात्र भन्छु ।
मलाई यो मञ्चमा सम्मानित प्रतिभाका साथै आज लोकार्पित कृतिको समीक्षकका रूपमा उभ्याइएको हो । आज लोकार्पण हुने कृतिका सबै कृतिकारहरूमा पनि बधाई ज्ञापन गर्दछु । र मलाई यस कार्यक्रमले दिएको लोकार्पित कृतिमाथि सारभूत समीक्षात्मक मन्तव्य प्रस्तुत गर्छु ।
कृतिको पहिलो पाठक हुन कि भूमिकाकार हुन पाउनु पर्यो, कि कृतिको सम्पादक बन्नु पर्यो कि यसरी समीक्षकका रूपमा विमोचन समारोहमै उभिन पाउनु पर्यो । यो अवसर आज म पाउँदैछु । प्रकाशन हुने बित्तिकै तात्तातै पढ्ने अवसर दिएकामा शब्दार्थ प्रकाशनप्रति भाभार चढाउँछु । आज मैले बोल्नुपर्ने कृतिलाई मैले लेखकको उमेरगत ज्येष्ठतालाई आदर मानी प्रस्तुत गर्ने निर्णय गरेको छु । यो हाम्रो संस्कार पनि हो । अग्रजहरूलाई यथोचित सम्मान पनि हो र उहाँहरूबाट थप हौसला एवम् अभिप्रेरणा लिने अवसर पनि हो । उमेरका क्रममा क्रमश: म आज लोकार्पित कृतिहरूको नाम लिन्छु :
– गोविन्दप्रसाद वेदमणि (२००७) को उपन्यास पूनमुर्षिको भव:
– उत्तमकृष्ण मजगैयाँ (२००९) का स्मृति र अनुभूतिहरू (संस्मरण) र कृति परिक्रमा (समीक्षा)
– डा. घनश्याम न्यौपाने परिश्रमी (२०१५) को गजलज्ञान एवम् समीक्षा : बहर र गजल
– हरिकट्टेल (२०२५) को हिाउँचुलीमा हिउँ (बालकविता)
– सुरेन उप्रेती (२०२८) को एकान्तबास (बालकथा)
– गेकुल खड्का (२०२९) को अमृतवाणी (विचारसङ्ग्रह)
– लक्ष्मी श्रेष्ठ रेशमी (२०३३) को ज्याकारान्डा (कवितासङ्ग्रह)
आज लोकार्पित यी सबै कृतिको आफ्नो महत्व छ । कुनै कृतिको ऐतिहासिक महत्त्व छ । कुनै कृतिको विधागत महत्त्व छ र कुनैको विषयवस्तु एवम् जीवनचेतनागत महत्त्व छ । कुनै कृतिको अभिप्रेरणागत एवम् उपयोगितागत महत्त्व पनि छ । यी सबै कृति राम्रो कागजमा राम्रो गाताबन्दी गरेर उच्च प्रविधिमा प्रकाशन भएका छन् । म क्रमश: यस समारोहले उपलब्ध गराएको समयलाई पनि मध्यनजर गर्दै आज लोकार्पित कृतिहरूको समीक्षा गर्छु ।
१ पुनर्मुषिको भव
आज लोकार्पित कृतिका कृतिकारमध्ये ज्येष्ठ लेखक गोविन्दप्रसाद घिमिरे वेदमणि हुनुहुन्छ । उहाँका चार दर्जन अधिक कृति प्रकाशन भइसकेका छन् । उहाँको परिचय यस मञ्चमा दिइराख्नु पर्दैन । उहाँ निरन्तर कलम चलाउँदै आउनुभएको छ । उहाँका प्रायश्चित्त, शान्ति र क्रान्ति, चुडाला जस्ता उपन्यास प्रकाशन भइसकेका छन् । पुनर्मुषिको भव गोविन्दप्रसाद घिमिरे वेदमणि (२००७) को पछिल्लो उपन्यास हो । यो कृतिको रचना मानवीय चरित्रलाई व्यङ्ग्य गर्ने गरी मुसाका विम्बमा प्रस्तुत गरिएको छ ।
यस कृतिको शीर्षकले नै के के न गर्छु भनेर सहर छिरेका युवायुवती एक समयपछि सहर छाडेर गाउँमा फर्किएर बसेका छन् । र यसै सन्दर्भलाई र अन्य जीवनका अहङ्कारहरूको अवसानलाई पनि सङ्केत गर्ने गरी शीर्षकीकरण गरिएको छ ।
छोटो समयमा त्यसमा पनि एकै पठनमा उपन्यासको समीक्षा गर्छु भन्नु आफैमा मूर्खता हुन सक्छ । उपन्यासलाई आधुनिक युगको महाकाव्य पनि भनिन्छ । यसो भन्नुको अर्थ आधुनिक उपन्यासले कविताका उच्चतम र आख्यानका उच्चतम गुण वहन गर्न सक्छ भन्ने होला । यस दृष्टिले उपन्यास कृतिको विश्लेषण छोटो समयमा गर्न कठिन छ । घिमिरे स्वयम् स्थापित उपन्यासकार र महाकाव्यकार पनि हुँदा उहाँका कृतिमा ती महत् गुणहरू खोज गर्ने ठाउँ पनि होलान् र छन् पनि तर यहाँ मैले सङ्क्षेपमा बोल्नु छ ।
पूनमुर्षिको भव: शीर्षकले विम्बात्मक रूपमा आधुनिक मानिस केही समयका लागि शक्ति, सम्पत्ति र अरू विभिन्न कुराले शक्तिशाली र सहरवासी भए पनि अन्तत आफ्नै धरातलमा फर्कनुपर्छ, गाउँमै फर्कनुपर्छ, शक्ति क्षीण हुँदै गएपछि उही लाचारीमा उभिनु पर्छ भन्ने कुरालाई देखाएको छ ।
यस उपन्यासमा काठमाडौँ उपत्यकाका विविध पक्षलाई समेटिएको छ । यो सांस्कृतिक विषयको उपन्यास हो । यो उपन्यासकी नायिका भारती हो । ऊ कलाकारका रूपमा सहर पसेकी छ । सुन्दर पुरुष र परपुरुषका सम्बन्धले चरित्रमा विभिन्न उतारचढाव आएका छन् । ऊ अन्तत: साध्वी र तपस्वी बनेकी छ तर उसका विगत चरित्रको पोल खुलेपछि माइतीघर र गाउँ फर्किएकी छ । यस उपन्यासको नायक केशव (प्रशुर) हो । प्रशु र भारतीका माध्यमबाट यस उपन्यासले आदर्श र आध्यात्मका विविध पक्षको उद्घाटन गर्दा गर्दै यथार्थको अभिव्यक्ति दिने कला प्रदर्शन गरेको छ ।
यस उपन्यासमा नारीहरूका कारण वरबाद भएका ध्याननाथ, छोरी शालीनको मनोवैज्ञानिक समस्या रहेका छन् । आसुरकी पत्नी कालीको सहरीया जीवनबाट गाउँ फिर्ती, भासुर र भारतीको ध्यान केन्द्रमा भेट भएपछि दुवैको अवस्थामा परिवर्तन, विगत जीवनका रहस्यको उद्घाटन र गाउँ फिर्ती, सन्तति (छोरी) को विदेश पलायन, आशुर भासुर र प्रसुरको विम्बात्मक प्रयोग आदि यस उपन्यासका विशेषता हुन् । भारती, केशव र कालीको गाउँ फिर्तीबाट उपन्यासको शीर्षक पुनर्मूसिको भव सार्थक बनेको छ ।
उपन्यास व्यापक परिवेशलाई समेट्ने वृहत् सिर्जना हो । यहाँ नेपालदेखि अस्ट्रेलियासम्मको व्यापक परिवेश समेटिएको छ । गाउँ ठाउँको नाम कतै पनि तोकिएको छैन । यी पात्रहरू चितवन हुँदै काठमाडौँ आएको मात्र भनिएको छ । काठमाडौका थुप्रै नदीनाला, मठमन्दिर,आश्रम, टोल आदिको चित्रण छ । सांस्कृतिक विसङ्गति र विकृतिको पर्दाफास गर्ने लेखकको प्रयत्न छ । शैक्षिक र आर्थिक विसङ्गतिका साथै मनोवैज्ञानिक समस्याका सिकार मानिस कसरी बन्न पुग्छन् भन्ने पक्षको पनि उद्घाटन छ । कोरोना काल, त्यसले निम्त्याएको आर्थिक समस्या आदिलाई पनि समेटिएको छ ।
यस उपन्यासको मूल उद्देश्य वैयक्तिक जीवनका विसङ्गतिलाई यथार्थपरक ढङ्गले देखाउनु देखिन्छ । लेखकले कुनै चिनेजानेका आफन्तको जीवनी लेखेझैँ र उनका जीवनका घटनाहरू प्रस्तुत गरेझैँ उपन्यासलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेका छन् । यही पक्ष नै यस उपन्यासको मनपर्दो पक्ष हो । यस्तो प्रस्तुतिले पाठकको मन तानेर पढिरहन बाध्य पार्दछ ।
यसले एउटै परिवेशमा खुसी हुन नसक्ने, एकै पतिसँग वा पत्नीसँग खुसी हुन नसक्ने र एक पछि अर्को परिवेश र खुसी खोज्दा खोज्दै दुर्घटित भएका पात्रको यथार्थपरक चित्रण गरेको छ ।
मैले कथावस्तुको समान्य सङ्केत पनि गरिकेँ । मैले एकै पठन सरसरती गरेको हुँदा यहाँ सबै पक्षको चिरफार गर्न कठिन छ यद्यपि यो कलाका लोभले काठमाडौँ पसेकी नारीको समुन्नत र अन्तत: दुर्घटित कथा हो । ऊ कला क्षेत्रमा लाग्दा लाग्दै फिल्म खेल्न सफल हुन्छे, घर बनाउन सफल हुन्छे । ऊ त्यसै उचाइमा छिमेकीबाट फस्छे । त्यसै बेला कोरोना काल आइलाग्छ । आफैलाई बलात्कार गर्नेसँग प्रेम गर्न विवश हुन्छे । त्यस केटाले अरू आठ दश केटीलाई उसलाई जसरी नै फसाएको थाहा पाएपछि विछिप्त हुन्छे । लोग्नेसँगको सम्बन्ध पनि बिग्रन्छ । लोग्ने पनि अर्की महिलासँग लाग्छ । छिमेकीले फसाएको सम्पत्ति मुद्दा मामिलाबाट फिर्ता ल्याए पनि लोग्ने सहरमा टिक्न सनक्ने निष्कर्षसहित गाउँ फर्कन्छ । भारती सहरमै बस्छे । वेश्यावृत्तिमा लाग्छे । उसको नयाँ प्रेमी पनि मर्छ । ऊ भौतिक जीवनदेखि अवाक भई आध्यात्मिक जीवनमा प्रवेश गर्छे । अरूलालाई प्रवचन दिने उचाइमा पुग्छे । एक दिन प्रवचन सुन्न उसको वेश्यावृत्तिको ग्राहक पुग्छ र त्यहीँ ऊ यस्ती थिई भन्ने हल्ला चलाउँछ । त्यसपछि गुरुआमा बनेकी भारती भागेर पुन गाउँ फर्कन्छे । यस बिचमा रमाइला कथाहरू छन् । घटना र उपघटनाहरू छन् ।
उपन्यासले आखिर जे जे चुरीपुरी गरेपनि आफ्नो धरातल बिर्सनुुहुँदैन, एक पटक खराब कममा फसेपछि पुन: आफू असल नभए असल काम गरे पनि अरूले पत्याउँदैनन् भन्ने कुरालाई देखाउन उपन्यास सफल छ । यसले एउटै परिवेशमा खुसी हुन नसक्ने, एकै पतिसँग वा पत्नीसँग खुसी हुन नसक्ने र एक पछि अर्को परिवेश र खुसी खोज्दा खोज्दै दुर्घटित भएका पात्रको यथार्थपरक चित्रण गरेको छ ।
मैले यसपूर्व घिमिरेज्यूको चुडाला (२०७५) उपन्यासमाथि बोल्ने मौका पाएको थिएँ । उहाँ एकपछि अर्को पौराणिक र सांस्कृतिक विषयमा उपन्यास लेखिरहनुभएको छ । उहाँमा अर्को उपन्यास सिर्जनाका लागि हार्दिक शुभकामना । यस निरन्तर सिर्जनशीलताका लागि अभिवादन ।
२ उत्तमकृष्ण मजगैयाँ (२००९) का स्मृति र अनुभूतिहरू (संस्मरण) र कृति परिक्रमा (समीक्षा)
२.१ स्मृति र अनुभूतिहरू (संस्मरण)
आज मैले बोल्नुपर्ने दोस्रो कृति उत्तमकृष्ण मजगैँयाको स्मृति र अनुभूतिहरू शीर्षको संस्मरण सङ्ग्रह हो । यस कृतिमा विभिन्न व्यक्तित्व र सन्दर्भहरू समेटिएका छन् । यो कृति लेखकको १२ औँ कृति हो । शिक्षासेवाबाट निवृत्त जीवन बाँचिरहनुभएका मजगैयाँका कविता, काव्य, समालोचना, हास्यव्यङ्ग्य निबन्ध र संस्मरणात्मक निबन्धका कृतिहरू प्रकाशित छन् ।
मैले यसपूर्व मजगैयाँज्यूको अनुगुञ्जन (२०७६) कवितासङ्ग्रह लोकार्पण समारोहमा उहाँको कवित्वका बारे बोल्ने अवसर पाएको थिएँ आज उहाँको निबन्धकारिताका विषयमा र समीक्षाका विषयमा बोल्दैछु ।
- स्मृति र अनुभूति कृति व्यक्ति केन्द्रित संस्मरणात्मक निबन्धको संग्रह हो । यसमा लेखकका जीवनमा प्रभाव पार्ने विशिष्ट समाज प्रशिद्ध र निकट व्यक्तित्वहरू समेटिएका छन् ।
- यस कृतिमा समेटिएका व्यक्तित्वहरूमा क्रमश: भैरव अर्याल, वासुदेव लुइटेल, रामखुस मिश्र, शेरबहादुर थापा, टेकनाथ गौतम, यज्ञबहादुर बुढाथोकी, जगराज शर्मा, नित्यराज शर्मा, घनश्याम डाँगी, स्थानेश्वर गौतम, गिरिराज पन्त, नारायणप्रसाद शर्मा, गिरिराज शर्मा आदि हुनुहुन्छ । यस कृतिमा समेटिनुहुने व्यक्तित्वहरू शिक्षा, साहित्य, संस्कृति र सामाजिक क्षेत्रसँग सम्बन्धित हुनुुहुन्छ । केही प्रतिभा तपाईंहामी सबैले चिन्ने हुनुहुन्छ केही लेखकका जीवनसँग निकट र उहाँका जीवनलाई प्रभाव पार्ने खालका हुनुहुन्छ । यसरी यो कृति व्यक्तिपरक संस्मरणमा आधारित कृति हो ।
- यहाँ समेटिएका संस्मरणअनुसार अर्याल र लुइटेल मजगैयाँका हास्यव्यङ्ग्यका गुरु भएको बुझिन्छ । अरू सबै जन्मभूमिसँग जोडिएका, शिक्षा र सहयात्रासँग जोडिएका व्यक्तित्वहरू हुनुहुन्छ । लेखकको आत्मकथन नै रहेको छ कि यहाँ समेटिएका व्यक्तित्वहरू केन्द्र र दाङको भूमिसँग सम्बन्धित छ । सुन्दर विचार र असल चरित्रका पात्र बोकेका व्यक्तित्व हुनुहुन्छ ।
- यहाँ समेटिएको अर्को भिन्न संस्मरण वृहत् साहित्य सम्मेलन रोप्ला २०७५ हो । यस संस्मरणले सम्मेलनमा सहभागी हुँदाको संस्मरणलाई देखाएको छ भने साहित्य ज्योत्स्ना र मले मजगैयाँको आत्मकथा र साहित्ययात्रालाई पनि समेटेको छ ।
- एक मिसिक यी संस्मरण भएर पनि जीवनी हुन् । एकातिर जीवनी संस्मरणमा आएका व्यक्तिका छन् भने अर्कातिर मजगैयाँका जीवनीका विभिन्न पाटाहरू उजागर भएका छन् । यस अर्थमा यो मजगैँयालाई नै चिनाउने कृति हो । यी संस्मरणले मजगैँयाका अभिप्रेरक पात्रका साथै मजगैँयालाई नै चिनाएका छन् । यस अर्थमा यो संस्मरणको कृति हो ।
मजगैयाँज्यू लामो समय शिक्षासेवामा समर्पित प्रतिभा हुनुहुन्छ । उहाँको गुणग्राही स्वभाव यस कृतिले देखाएको छ । उहाँले आफ्नो निर्मितिका व्यक्तित्वहरूको गुणगरिमालाई संस्मरणात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ ।
२.२ कृति परिक्रममा
ऋाज मैले बोल्ने अर्को कृति उत्तमकृष्ण मजगैयाँकै कृति परिक्रमा हो । उहाँको अघिल्लो कृतिबाटै थाहा हुन्छ कि उहाँ ११ वर्षका उमेरदेखि सिर्जनामा लागिरहनुभएको छ । उहाँको कलम साहित्यका सिर्जना र समीक्षा दुवै क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । उहाँले भूमिकाका रूपमा र समीक्षाका रूपमा लेखेका सामग्रीहरू यहाँ सङ्कलित छन् ।
समीक्षामाथि समीक्षा गर्नु अधिसमीक्षण हो । सोझो भाषामा भन्दा यस्तो कार्य एउटा जान्नेमाथि अर्को जान्ने पल्टनु जस्तो हुन्छ । म एकजना जीवन अनुभव, सिर्जना अनुभव र सेवा अनुभवबाट खारिएका व्यक्तिका विषयमा बोल्दैछु । यो उहाँको ११ औँ कृति हो । उहाँले क्रमश: कविता, कथा, निबन्ध काव्य आदि विविध विधाका कृति प्रकाशन गरेपछि यो कृति प्रकाशनमा ल्याउनुभएको छ ।
यस कृतिमा समेटिएका सामग्री भूमिका, समीक्षा, टिप्पणी आदि बाट बटुलबाटुल पारिएका सामग्री हुन् र समग्रमा समीक्षाको कृतिमा समेटिएका सामग्री हुन् । यी हरेक सामग्री आफैमा पूर्ण छन् र समग्र कृतिको पूर्णताका अङ्ग पनि बनेका छन् ।
यस कृतिमा समेटिएका सामग्रीहरू भीमकान्त आचार्य, भूपेन्द्र सुवेदी, सुशील गौतमका दुई वटा, केदारनाथ खनाल, हरिप्रिया श्रेष्ठ, नारायण नेपाल, गुरूप्रसाद शर्मा रेग्मी, गणेश शाह, नित्यानन्द शर्मा, कृष्णराज डी.सी, हरि पोखरेल, तिलक न्यौपानेका दुई वटा, रमेश पाण्डेय, विनय घिमिरे, डी.बी टुहुरे, तीर्थराज सुवेदी आदि व्यक्तिका सिर्जना र समीक्षामा केन्द्रित समीक्षा छन् । एक किसिम यो कृति पनि अर्को कृति जस्तै विभिन्न व्यक्तित्वमा केन्द्रित छ । फरक यत्ति हो अघिल्लो कृतिलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ । यस कृतिलाई समीक्षात्मक शैलीमा प्रस्तुत गरिएको छ । यस किसिमको प्रस्तुतिशैलीले मगजैँयाँको साहित्यिक सुझबुझलाई देखाउँछ । उहाँको साहित्यशास्त्रीय ज्ञानलाई पनि देखाउँछ ।
मैले सङ्केत गरिसकेको छु अधिसमीक्षण आफैमा जोखिमपूर्ण काम हो । यद्यपि जिम्मेवारी निर्वाह गर्नै पर्यो । मलाई दिएको समयसीमाअनुसार म सबै विषयमा बोल्न नसकूँला तर यहाँ केही कुरा उठाउनै पर्छ । कृति समाइसकेपछि त्यसको आफूले सकेको मूल्य निर्णय पनि गर्नैपर्छ ।
- यस कृतिमा सबै मोफसलका व्यक्ति र उनका कृतिलाई समेटिएको छ । यसले मजगैयाँज्यू मोफसलका स्रष्टाप्रति प्रभावित हुनुहुन्छ र उहाँहरूप्रति सहानुभूतिशील हुनुुहुन्छ भन्ने देखिन्छ ।
- यस कृतिमा कविता विधा केन्द्रित कृतिको विश्लेषणको प्रतिशत बढी छ । यसले मजगैयाँज्यू कविताप्रेमी सर्जक र समीक्षक हुनुहुन्छ भन्ने देखिन्छ । उहाँ स्वयम् कवि पनि हुँदा त्यो स्वाभाविक हो ।
- यहाँ समेटिएका कृतिमध्ये हास्यव्यङ्ग्यका कृतिको सङ्ख्या उल्लेख्य छ । यसबाट मजगैयाँज्यू हास्यव्यङ्ग्यप्रेमी श्रष्टा हुनुहुन्छ भन्ने देखिन्छ । उहाँको सिर्जना र समीक्षा दुवै विधाले हास्यव्यङ्ग्य रोजिरहेको छ र यो रोजाइले निरन्तरता पाउन सके नेपाली साहित्यलाई फाइदा पुग्ने देखिन्छ ।
- मजगैयाँ समीक्षाशास्त्री हुन खोज्नुहुन्न । उहाँ समीक्षामात्र गर्नुहुन्छ ।
- संस्कृतमा एउटा भनाई चर्चित छ । यो यजुर्वेदको भनाइ हो ।
दृतेदृहमा मित्रस्य चक्षुषा सर्वाणीभूतानि समीक्षमात्
मित्रस्य चक्षुषा सर्वाणीभुतानि समीक्षे
मित्रस्य चक्षुषा सर्वाणीभुनाति समीक्षामहे ।
(यजुर्वेद ३६ : १८)
मेले भन्न खोजेको मजगैयाँज्यू चिनेजानेका मित्रहरूका कृतिमा मित्रस्य चक्षुसा प्रयोग गर्ने समीक्षक हुनुहुन्छ । उहाँ आलोचक भन्दा पनि समालोचक र समालोचक भन्दा पनि गुणग्राही टिप्पणीकार हुनुहुन्छ ।
- मजगैयाँज्यूका समीक्षामा आंशिक शोधपरक गुण छ । शोधपरक गुण लेखनमा देखिए पनि एउटा समीक्षामा पनि र समग्रकृतिमा पनि कुनै सन्दर्भ दिइएको छैन । शोधपरक समीक्षाले यस पक्षलाई स्वीकार गर्दैन । म बढी नबोलौँ म पनि उहाँको समीक्षा कलालाई मित्रका आँखाले हेर्न सकूँ ।
- मजगैयाँज्यूको समीक्षासामर्थ्यलाई यस कृतिका भूमिका लेखक डा. यादवप्रकाश लामिछानेले पनि केही मूल्याङ्कन गर्नुभएको छ । रूप भन्दा सारको अन्वेषण गरी सूक्ष्माती सूक्ष्म ढङ्गबाट सौन्दर्यको पहिचान गर्ने समीक्षकका रूपमा लामिछानेले चिनाउनु भएको छ ।
- उहाँले कृतिभित्र रहेको व्यङ्ग्य विद्रोह विकृति, विसङ्गति, सामाजिक, सांस्कृतिक राजनीतिक, आर्थिक आदि पक्षमा स्रष्टाको अभिव्यक्तिगत चेत कस्तो र कुन रूपमा रहेको छ भन्ने ठम्याउने समीक्षकका रूपमा पनि चिनाउनु भएको छ (पृ. ४) । यो उहाँको अर्को विशेषता हो ।
- सीमा हरेक लेखकमा हुन्छन् । मगजैयाज्यूमा पनि केही सीमा छन् । उहाँ पाश्चात्य भन्दा पूर्वीय समीक्षाशास्त्रसँग किकट हुनुहुन्छ र प्रभावपरक समीक्षामा रुचि राख्नुहुन्छ । विधागत इतिहासमा आफूले जानेको पढेको बुझेको कुरो पनि मिसाउँदै सम्बन्धित कृतिको तुलना गर्नुभएको छ । कतै कतै त्यो तुलना अधिमूल्यन जस्तो पनि लाग्छ ।
- प्रभाववादी समालोचनाबाट टाढा रहेको र ठिकलाई ठिक र बेठिकलाई बेठिक बन्न सक्ने समीक्षका रूपमा पनि यस कृतिका भूमिका लेखक लामिछानेले मजगैयाको परिचय दिनुभएको छ तर सबै समीक्षामा त्यो अवस्था देखिँदैन । यद्यपि यो पनि उहाँको विशेषता हो ।
- यी समीक्षाहरू स्वतस्फुर्त समीक्षा गर्छु भनेर भन्दा पनि स्मृतिग्रन्थ, अभिनन्दन ग्रन्थ, कृतिका भूमिका आदिका साथै पत्रपत्रिकाका आग्रहमा लेखिएका समीक्षा हुन् । यद्यपि यिनका सूचना र विश्लेषण नेपाली साहित्यका विकासमा टेवा पुग्ने खालका छन् । मजगैयाँज्यू अर्को पनि समीक्षाको कृति लिएर छिटै सार्वजनिक हुनुहोस् भन्ने कामना गर्दै उहाँमा अभिवादन गर्दछु ।
दुवै कृतिका तुलनामा उहाँको समीक्षाभन्दा संस्मरण पाटो छोइने बनेको तर छुट्टा छुट्टै हेर्दा दुवै कृति उल्लेख्य रहेको पक्षलाई भने यहाँ मैले भन्नै पर्छ । उहाँले दुवै विधालाई माया गर्नुहोस् र निरन्तर कलम चलाइरहन सक्नुहोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।
३. डा. घनश्याम न्यौपाने परिश्रमी (२०१५) को बहर र गजल
बहर र जगल डा. घनश्याम परिश्रमीको जगल ज्ञानलाई समेट्ने कृति हो । यसलाई नेपाली जगल सिक्न चाहने र बहरबद्ध जगल सिक्न चाहनेका लागि उपयोगी कृतिका रूपमा चिन्न सकिन्छ ।
घनश्याम सर आज यहाँ उपस्थित हुन सक्नुभएको छैन । उहाँका अगाडि यस विषयमा बोल्न पाएको भए अझ रमाइलो हुने थियो । उहाँ स्याङ्जाका प्रतिभा हुनुहुन्छ । उहाँले इलाम, भैरहवा, काठमाडौँ र नवलपरासीलाई कर्मभूमि बनाइरहनुभएको छ । उहाँ जहाँ जहाँ पुग्नुभयो त्यहाँ त्यहाँ साहित्यिक चेतनाको पनि विकास गर्दै जानुभएको छ । आफ्ना चेला र अनुयायी पनि विकास गर्दै जानुभएको छ । अहिले उहाँ नवलपरासीमा बसेर साहित्यको विकासमा लागिरहनुभएको छ ।
परिश्रमी सर नेपाली गजल परम्परामा सर्जक, समीक्षक र प्रशिक्षक पनि हुनुहुन्छ । उहाँको त्यही प्रशिक्षक सामर्थ्यको उपजका रूपमा बहर र गजल कृति हाम्रासामु आएको छ ।
शैक्षिक दृष्टिले घनश्याम सर संस्कृत र नेपाली विषयका आचार्य हुनुहुन्छ । उहाँ विद्यावारिधिका साथै मानार्थ विद्यासागर पनि हुनुहुन्छ । यी ठुला ठुला उपाधि लिए पनि उहाँ सरल र शालीन व्यक्तित्व हुनुहुन्छ । उहाँका विषयमा बोल्न मलाई केही सङ्कोच पनि लागिरहेको छ यद्यपि म केही बोल्छु र केही मूल्यनिर्णयको प्रयत्न पनि गर्छु ।
बहर र जगल गजल विज्ञको व्यवहारिक शैलीमा तयार पारिएको सैद्धान्तिक कृति हो । यो कृतिका विषयवस्तुहरू आधिकारिक रुमा आएका छन् ।
घनश्याम सर विश्वविद्यालयका प्राध्यापक पनि हुँदा यहाँका सुचना आधिकारिक हुनु स्वाभाविक हो । तयसमा पनि उहाँ ४० को दशकको अन्त्यतिरबाटै जगलविधासँग आकर्षित हुँदै पचासको दशकको आरम्भमै गजकारका रूपमा सार्वजनिक र स्थापित बन्दै आउनु भयो । उहाँको पहिलो जगल कृति यो मौसम (२०५३) हो । त्यसपछि उहाँ निरन्तर गजल विधामै लागिपर्नुभएको छ । आज पनि गजल विधामै केन्द्रित भएर कलम चलाइरहनुभएको छ । गजलमीमांसा उहाँको अर्को गजलसम्बन्धी कृति हो । उहाँले अनेक गजलका कार्यक्रममा रचना वाचन, गोष्ठीपत्र प्रस्तुत, गजलका कृतिहरूको भूमिका लेखन, जगलका कृतिहरूमाथि मन्तव्य आदि प्रस्तुत गर्दै नेपाली जगलको विकासमा सिर्जनात्मक र समीक्षात्मक एवम् अभिप्रेरणात्मक भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँले परिश्रमी पाठशाला पनि चलाउनु भयो । त्यसै शृङ्खलाको अर्को उपलब्धीका रूपमा यो कृति हाम्रासमु आएको छ ।
- यो कृति स्वतन्त्र रूपमा गजल सिक्न चाहने गजलकारका लागि उपयोगी छ । यहाँ हरेक दिनका लागि अलग अलग पाठ बनाइएका छन् । ती पाठमा उदाहरण र अभ्यास पनि समेटिएको छ । यसदृष्टिले यो कृति पाठ्यपुस्तक जस्तो कृतिका रूपमा आएको छ । यसले एक महिनाको अभ्यासको अपेक्षा गरेको छ ।
- यसको अध्ययनबाट सजिलै गजल र बहरलाई बुझ्न सकिन्छ । आज नेपाली गजल बहरबद्ध हुन्छ कि बहरमुक्त हुन्छ भन्ने विवादका बिच च्यापिएको छ । बहरबद्ध हुन्छ भन्नेहरूले यो कृति पनि पढेर आफ्ना अडानलाई बलिया बनाउन सक्छन् ।
- यस कृतिको विषयसूचीबाटै प्रचलित बहरका नाम र अर्कान चिन्न सकिन्छ ।
- यहाँ मुलत: मुफरद, मुरक्कब, मुजाहिफ, मिर आदि बहरको चर्चा गरिएको छ ।
- यस कृतिमा गजलका आन्तरिक तत्त्व तथा गुणहरूको पनि सरल भाषामा प्रस्तुत गरिएको छ ।
- यस कृतिमा जगलका दोषहरूको पनि निरूपण गरिएको छ ।
- बहरको प्रयोग गरेर स्तरीय गजल कसरी लेख्ने ? बहरमा गजल लेख्न बस्दा के के गर्ने ? जस्ता प्रश्नको समाधान पनि यो कृतिमा दिइएको छ ।
- यस कृतिमा केही मतला र बहरको अबलोकन तथा अतिरिक्त ज्ञानलाई पनि समेटिएको छ । नेपाली गजलमा बहरको प्रयोग परम्परालाई समेट्ने लेख पनि यसैमा राखिएको छ ।
- मैले अघि मजगैयाँ सरको कृतिमाथि बोल्दा सन्दर्भ सूची दिइएको छैन भनेर टिप्पणी गरेको थिएँ । यहाँ परिश्रमी सरले चाहिँ सन्दर्भसूची दिनुभएको छ तर भित्र कहीँ पनि सन्दर्भ निर्देश गर्नुभएको छैन । यो पक्ष त्रुटि हो भनेर भन्ने हैसियत मेरो होइन तर यो एउटा पाटो खड्कँदो छ । पछाडि सन्दर्भ सूची मात्र दिएर भए पनि उहाँले आप्mनो प्राज्ञिक धर्म भने निर्वाह गर्नुभएको छ ।
- यस कृतिमा रहेको परिशिष्ट लेखले इतिहासचेत देखाएको छ । उहाँको यो चेतना उहाँका भूमिका र अन्य लेखहरूमा पनि देखिन्छ । नेपाली जगलको इतिहास लेखनका लागि परिश्रमी सर आधिकारिक व्यक्तित्व हुनुहुन्छ । त्यसका लागि यसका अन्तिमा रहेको लेख पनि एक उल्लेख्य सामग्री हो ।
- यस कृतिका अन्त्यमा पृ. ११५ देखि १२० सम्म दिएको परिश्रमीको परिचयले उहाँ नेपाली साहित्यमा अनेक ढङ्गले समर्पित प्रतिभा हो भन्ने कुरालाई देखाउँछ । मैले उहाँका विषयमा धेरै नबोले पनि हुन्छ र बोले पनि सूर्यलाई बत्ती देखाउनु जस्तै हुन्छ ।
- यस कृतिमा परिश्रमी स्वयम्ले भन्नुभएको छ शब्द र लयको संयोजनले मात्र कुनै पनि सिर्जना गजल बन्न सक्तैन । काफिया, रदिफ, मिसरा, सेर, मतला, मक्ता, तखलुस, बहर इत्यादि भनेका गजलका बाहिरी आवरण अर्थत् बाह्य कलेवर र अवयव मात्र हुन् । आत्मा अर्थात् भित्री सौन्दर्य गजलको भाव, अभिव्यक्ति कला, प्रस्तुतिशिल्प, तगज्जुल र तख्य्युलमा हुन्छ । यस दृष्टिले परिश्रमी सर नेपाली गजल ज्ञानका आधिकारिक पात्र पनि हुनुहुन्छ ।
एक विशिष्ट अग्रजको शास्त्रीय ग्रन्थमा धेरै कुरा बोल्नु मुख हुँदा हुँदै नाकले पानी पिउनु हुन सक्छ । अहिले यति नै । परिश्रमी सरलाई अरू पनि यस्ता कृति, गजलका सिद्धान्त, इतिहास र विश्लेषणका अनेक कृति प्रकाशनको शुभकामना भन्दै अभिवादन गर्दछु ।
४. हरिकट्टेल (२०२५) को हिाउँचुलीमा हिउँ (बालकविता)
आज मैले बोल्ने अर्को कृति हरि कट्टटेलको हिउँचुलीमा हिउँ हो । यो कट्टेलको बालकविताको कृति हो । कट्टेल पूर्व झापाको दमकमा बसोबास गर्नुहुन्छ । उहाँ पनि आज कृति लोकार्पण गर्ने मजगैयाँ सर जस्तै, परिश्रमी सर जस्तै शिक्षासेवी व्यक्तित्व हुनुुहुन्छ । उहाँ मोफसलमा रहेर राम्रा राम्रा कविता, काव्य र बालसाहित्यको सिर्जना गरिरहनुभएको छ । सर्वप्रथम त उहाँलाई यति राम्रो कृति प्रकाशन र यति विशिष्ट समारोहमा लोकार्पणका लागि बधाई ।
हरि सर अङ्ग्रेजी र नेपाली दुवै भाषाका स्नातकोत्तर प्रतिभा हुनुहुन्छ । उहाँ स्कुलमा अङ्ग्रेजी र कलेजमा नेपाली पढाउनुहुन्छ । उहाँका माधव आनी काव्य, काँडा टेकेर फूलका कुरा गजल, मुटु टुक्रिएपछि मुक्तक, अनावृत्त आकृति कविता, बिलौनै विलौना लघुकाव्य जस्ता कृति प्रकाशित छन् । कविताका मुक्तकदेखि कविता र काव्यविधासम्म कलम चलाएका कट्टेलको यो पहिलो बालसाहित्यिक कृति हो । यहाँ २३ वटा कविता र त्यति नै चित्र समेटिएका छन् । कृतिमा चित्रकारको नाम छुटेको छ । लेखक स्वयम् चित्रकार त होइन नै होला ?
मैले कविताको विश्लेषणका क्रममा धेरै ठाउँमा भन्दै आएको छु : कविता थोरै शब्दमा धेरै भनिने कला हो । यसमा अरू साहित्यिक सामर्थ्यका साथै लय सामर्थ्य र रूपक सामर्थ्यलाई हेरिन्छ । त्यसमा पनि बालकवितामा लयप्रधान हुन्छ र बालसुलभ रूपक सामर्थ्यको खोजी गरिन्छ । त्यस दृष्टिले यी कविताको मूल्याङ्कन गर्दा यी बालकविता पठनीय नै देखिन्छन् ।
मेरो बुझाइमा एउटै कवितामा विषयगत विविधता भन्दा एकै विषयको केन्द्रीयता हुनु राम्रो मानिन्छ । यस्तो विषयवस्तुगत केन्द्रीयता प्रौढभन्दा बालकवितामा अझ महत्त्वपूर्ण हुन्छ । लय सामर्थ्य, रूपक सामर्थ्य र विषयवस्तुगत केन्द्रीयताका पक्षमा केही ऋणात्मक पक्ष रहेर पनि समग्रमा कट्टेलज्यूका कविता बालोपयीगी, बालबोध्य र बालचेतनाप्रधान छन् ।
यस कृतिका लेखक कट्टेल सर स्वयम् शिक्षक हुँदा उहाँले बालभावना, बालखेल र बालपरिवेशलाई समेट्ने अधिकतम प्रयास गर्नुभएको छ ।
यस सङ्ग्रहका कवितामा बालबालिकालाई कला सिकाउने भन्दा पनि विभिन्न ज्ञान दिने प्रयत्न बलियो छ । बाबा, आमा, ठुलाबाउ, गुरु, सानाबा, बडाबा आदि नाता सम्बन्धका माध्यमबाट बालज्ञान सीप र क्षमतालाई प्रस्तुत गर्ने प्रयत्न रहेको छ । जस्तै :
ढुकुमुकुढुकुमुकु खेल्न जाउ
खनाुहुन्न चाउचाउ
बरु ढिडो रोटी खाउ
भन्छन् हाम्रा ठुलाबाउ । पृ. २०
यसरी नै अन्य नाता सम्बन्धका कुरालाई कवितामा अटाउने प्रयत्न भएको छ । यहाँ समेटिएका कतिपय कवितामा बालबालिकामा स्वच्छ र सफा आचरणको आवश्यकता औँल्याउँदै तिनको प्रस्तुत गरिएको छ :
साथीसँग मिलीजुली बस्ने गर्छु जैले
कहिले पनि फोहोर कुरा बोल्या छैन मैले । पृ. १९
यहाँ समेटिएका कवितामध्ये कतिपय कवितामा बालस्वप्नदृष्टिलाई देखाइएको छ । कतिपयमा स्वभावको चित्रात्मक प्रस्तुति गरिएको छ । जस्तै :
हजुरबाले भन्नुभाको चकचक गर्नुहुन्न
चकचकगर्दा सानीदिदी हुनुभोरे डुङ्ग
मैलो हुन्छ नाना मेरो नचलाऊ साथी
हजुरीले धुनुभाको हिरो राती राती । (पृ. १८)
यहाँ बाल स्वभावको चित्रात्मक प्रस्तुति छ । यस्तो अवस्था सानी सानी नानी छ’ र अरू कवितामा पनि देखाइएको छ । कतिपय कवितामा बालबालिकालाई कीटसँग सम्बन्धित गरी प्रस्तुत गरिएको छ जस्तै :
कहिले सुत्छन् आँगनीमा कहिले उड्छन् माथि
बन्न मन लाग्यो मलाई पुतलीको साथी । पृ. १६
यहाँ समेटिएका ‘पँधेरीको मिठो पानी’ जस्ता कविताले स्वास्थ्य विषयको ज्ञान दिएका छन् । सफा पानीको महत्त्व, र त्यसको स्वास्थ्यसँगको सम्बन्धलाई पनि देखाएका छन् । ‘चरी’ जस्ता कवितामा पशुपन्छीसँगको बाल एवम् मानव सम्बन्ध र मित्रतालाई पनि देखाइएको छ ।
यहाँ समेटिएका ठुलालाई आदर गर्नु’ जस्ता शीर्षकका कविताले बालबालिकालाई मायासहितको अभिप्रेरणाको खाँचो छ भनिएको छ । त्यस्तै केही कवितामा बालस्वभावको जीवन्त चित्रण गरिएको छ :
छुनुमुनु छुनुमुनु सानो सानो नानी
माम खाने बुबु पिउने कति राम्रो बानी
उडी हिँड्ने पुतली झैँ सानो नानी हाम्रो
रुमालले सीँ सीँ पुछे हुन्छ अझैराम्रो । (पृ .१२ )
- यहाँ समेटिएका केही रचनाबाट बालबालिकालाई प्रकृतिको महत्त्व उजागर गरिएको छ । केही कविताबाट स्कुलका कर्मचारी विशेषत: पालेदाइसँगको सहकार्यलाई देखाइएको छ । ‘भेदभाव गर्ने अव गए जमाना’ शीर्षकको कविताले जातीय भेदभावको विरोध गर्दै मानवताको सन्देश दिएको छ । ‘एउटा गीत लेखिदिन्छु’ जस्ता सिर्जनाले बालबालिकालाई सिर्जनात्मक क्षेत्रमा अभिप्रेरित गर्ने काम गरेका छन् ।
- यो निर्धारित समयमा कृतिका सबै पक्षको चर्चा गरिसकिँदैन । बालकविता भनेको कविताकै बालानुकूलन हो । बालबोध्य हुनु, लयात्मक हुनु, बालखेलसँग सादृश्य हुनु बालकविताको विशेषता हो । यस दृष्टिले यी कविता त्यति कमजोर छैनन् ।
- बालकविता शीर्षकले पनि आकर्षक हुनुपर्छ । यहाँ समेटिएका मेरो चङ्गा, पाले दाजु, सानो सानो नानी, पुतली, सानी सानी नानी छ, ढुकुमुकु ढुकुमुकु खेल्न आऊ, मेरो सानो घर छ, ढाडे सुरी आएछ, भान्साघरमा , कागिनी, मोबाइलमा घन्टी बज्यो, चरी, भोलि पनि आऊ है चरी आदि शीर्षक बालकविताका लागि सुहाउने खालका छन् ।
- यहाँ समेटिएका हिमालको फेदीमा, यौटा गीत लेखिदिन्छु, भेदभाव गर्ने अब गए जमाना, ठुलालाई आदर गर्नू, पँधेरीको मिठो पानी, सिर्जनाको सगरमाथा चढ्छु, पहाडकी छोरी, नेपाल कति सुन्दर, हाम्रो मधेस आदि शीर्षक प्रौढ कविताका जस्ता लाग्छन् । यी शीर्षक जे भए पनि यिनको अन्तर्य बालबोध्य छ । कविताको काया बालबोध्य हुनु पनि बालकविताको सफलता हो ।
हरि कट्टेलको यस सानो कृतिलाई लिएर अहिले धेरै कुरा नगरौँ । हरि कट्टेलको कलम बालसाहित्यका क्षेत्रमा निरन्तर चलिरहोस् भन्ने कामना गरौँ । उहाँको यो पहिलो बाल कविताकृति हुँदा सफलताको र सिर्जनशीलताको कामना गरौँ । अझ विम्बात्मक लयात्मक र बालबोध्य सिर्जनाको कामना गरौँ । आज उहाँ पनि यहाँ उपस्थित हुनुहुन्न । टाढैबाट भए पनि उहाँमा सिर्जनात्मक अभिवादन ।
५. सुरेन उप्रेती (२०२८) को एकान्तबास (बालकथा)
आज मैले बोल्ने अर्को कृति पनि बालसाहित्यको कृति हो । यो कृति सुरेन उप्रेतीको एकान्तबास हो । यो बालकथा सङ्ग्रह हो । सुरेन उप्रेती शिक्षा र रोजगारीका सिलसिलामा क्यानडा पुग्नुभएको छ । उहाँ त्यहाँ बसेर सिर्जना, समीक्षा सङ्गठनलगायत बहुमुखी ढङ्गले साहित्यसेवा गरिरहनुभएको छ ।
सुरेन उप्रेती मेरो गाउँले दाइ पनि हुनुहुन्छ । उहाँ मेरो सहकर्मी पनि हुनुहुन्छ । उहाँका झिलिमिली तारा (बालगीत (२०६४), पछुतो (बालकथा, २०६४) आकाशे परी (बालकथा २०६४) यसअगाडि नै प्रकाशित बालसाहित्यका कृतिहरू हुन् । उहाँको कलम आख्यान, कविता, निबन्ध जस्ता विभिन्न विधामा चलिरहेको छ । उहाँ सम्पादन र साहित्यिक सञ्चारका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । उहाँका विषयमा बोल्न मञ्चमा उभिँदा मात्र पनि गौरवले छाती फुल्छ उहाँ मैले चिनेका अज्रजमध्ये परिश्रममा विश्वास गर्ने अग्रज हुनुहुन्छ ।
आज लोकार्पित सुरेन उप्रेतीको एकान्तवास कृतिमा जम्मा छ वटा कथाहरू समेटिएका छन् । ती कथाहरू हुन् :
– एकान्तबास
– भय
– धन्यावद कोरोना
– कोरोनाको त्रास
– अब ऊ तर्संदैन
– माक्स मुक्त स्कुल
यी कथाका शीर्षक पढिरहँदा सबै कोरोना कालका कथा हुन् भन्ने शीर्षकबाटै बुझिन्छ । कथाको आन्तरिक समस्याको मूल परिवेश पनि त्यही कोरोना कालमा केन्द्रित छ ।
यस कथा कृतिको शीर्षकीकरण यहाँ समेटिएको पहिलो कथा एकान्तबासबाटै गरिएको छ । यसमा आरोह र उसबा बुबाआमा, जेम्स र उसका हजुरबाआमाको कथा छ । यसमा क्यानडाको परिवेश छ । लेखकले अफू बसेका ठाउँकै परिवेशलाई चित्रण गरेका छन् । त्यहाँ पढ्ने बालबालिकाले नेपाली सिकेको परिवेश छ । आफ्ना हजुरबा विरामी पर्दा जेम्सलाई मनोवैज्ञानिक समस्या परेको छ । आरोहले साथी जेम्सलाई सम्झाएको छ । यहाँ तालमा डुबेकी जम्मिनलाई बचाउने मान्छेको कथा पनि संयोजित छ । अरूलाई बचाउने, पर्दा सहयोग गर्ने मान्छे आफूलाई पर्दा कमजोर हुनुहुँदैन भन्ने कथाको सन्देश छ । यस कथाले एकान्तबासका कारण बालबालिकालाई परेको असरलाई देखाएको छ ।
‘भय’ यस सङ्ग्रहको दोस्रो कथा हो । यस कथामा सात वर्षको शिवम भाइ र १३ वर्षकी दिदी अदिती प्रमुख पात्र छन् । उनीहरूका परिबारमा बुबाआमा र हजुरआमालाई कोभिड भएको छ । यस कारण बालपात्र शिवममा परेको असरलाई देखाउनु यस कथाको उद्देश्य हो । एक किसिम यो पनि एकान्तबासको र कोरोनात्रासको कथा हो । यहाँ बालपात्र आफ्ना अभिभावक विरामी भएपछि खान र खेल्न रुचिविहीन बन्दै कागजको पुतली जस्तो भएको र अभिभावकलाई ठिक भएपछि सबै अवस्था ठिक भएको देखाई कोरोना महामारीले बालबालिकालाई गरेको असरलाई देखाइएको छ ।
‘धन्यावद कोरोना’ यस सङ्ग्रहको तेस्रो कथा हो । यस कथामा अनुराग, आमा, दिदी, बुबा र अनुरागका साथीहरू रहेका छन् । एकान्त बासका बेला परिवारका सबै सदस्य सँगै बस्न पाएकामा बालपात्रको खुसी चुलिएको पक्षलाई यस कथाले देखाएको छ । यस कथाले २२ चक्के ट्रक चलाएर अमेरिका र क्यानडा ओहोरदोहोर गर्ने बाबु कहिलै घर नबसेकामा घरमा सँगसँगै बस्ताका बखतको छोराको खुसीलाई समेटिएको छ । उसले त्यस बसाइका खुसीसँगै कोरोनालाई धन्यवाद दिएको छ । छोराको गतिविधि हेरेर बाबु पनि रुन्छन् र सँगै बस्न पाउन् भनेर नै यो कोरोना आएको हो भन्छन् । बाबु छोरा धन्यवाद कोरोना भन्दै आँसु पुस्छन् । यस कथाले एउटा कोणबाट प्रतिकूल बनिरहेको परिस्थिति अर्को कोणबाट कसरी अनुकूल बनिरहेको हुन्छ भन्ने कुरालाई देखाएको छ ।
‘कोरोनाको त्रास’ यस सङ्ग्रहको अर्को कथा हो । यस कथामा पनि संस्कार, संस्कृति बाल पात्र र उनका बाआमाको कथा छ । यस कथामा कोरोनाको महामारी र ग्याजेटका कारण एकोहोरिएका बालबालिकालाई साइकल खेल र अन्य कारणले मुक्त गर्न सकिन्छ भन्ने कुरा देखाइएको छ । घर बस्ता बस्ता र ग्याजेट चलाउँदा चलाउँदा बाली रुङ्न उभिएका बुख्याँचाका अस्थिपञ्जर जस्ता बनेका बालबालिका कसरी पहिलेको अवस्थामा फर्किए भन्ने कुरालाई देखाइएको छ । यसले बालबालिकालाई प्राकृतिक वातावरणको खाँचो कहाँसम्म छ भन्ने देखाएको छ ।
यस कृतिमा समेटिएको ‘अब ऊ तर्संदैन’ कथा पनि कोरोना कालकै विषयवस्तुलाई समेटिएको कथा हो । यसमा दश वर्षको सफल र १२ वर्षकी विरङ्गना मूल पात्र छन् । उनीहरू घरमा बसेर बिरामी र मृत्युका खबर सुन्दा सुन्दा त्रसित हुन्छन् । उनीहरू मनोवैज्ञानिक समस्यामा पर्न थाल्छन् । सपनामा पनि बर्बराउन थाल्छन् ।
यस्तो समस्याले सबै जना रेडियो टेलिभिजन बन्द गरेर बस्न थाल्छन् । आपसमा गफगाफ गर्ने, पुराना फिल्म हेर्ने, फिल्मका सकारात्मक कुराबारे छलफल गर्ने गरेको कथा समेटिएको छ । यस कथाले बालबच्चाको मानसिक स्वास्थ्यलाई पारिवारिक माहोलमा कसरी राम्रो बनाउने भन्ने सन्देश दिएको छ ।
‘माक्स मुक्त स्कुल’ यस सङ्ग्रहको अन्तिम कथा हो । यस कथाले माक्स मुक्त भएर स्कुल जान पाउँदाको बालबालिकाको खुसीलाई समेटेको छ । यस कथामा परिवेश मात्र केनेडियन छैन पात्रहरू पनि उतैका प्रयोग भएका छन् । यहाँ रिकी, अहमद, ज्याक, आलिया, जेम्स, मिस, हेडसर आदि पात्र छन् । स्कुलमा माक्र्स अनिवार्य गरिएको र माक्समुक्त गरिएको दोहोरो परिवेश छ ।
- समग्रमा कोरोनाको त्रास र माक्र्समुक्त स्कुल कथाको सौन्दर्य केही ऋणात्मक देखिएको छ । यी सामग्री कथाका रुमा भन्दा निबन्धनमा बढी समर्थ देखिएका छन् तर यिनको सन्देश बालसुलभ र प्रभावकारी छ ।
- समग्र कथाको भाषाशैली बालसुलभ छ । केही उखान टुक्काको प्रयोग सान्दर्भिक रूपमा भएको छ ।
- यी कथाको परिवेश क्यानेडियन अर्थात् लेखक बसेको भए पनि अन्तरमा नेपाली परिवेश र नेपाली संस्कृति समेटिएको छ । नेपाली संस्कार र संस्कृतिलाई लेखकले प्राणमा राख्नुभएको छ ।
- पात्र चयनका दृष्टिले प्राय: कथामा बालबालिका (दिदीभाइ) र बाबुआमाको उपस्थिति छ । सबै कथामा छोराछोरीका लागि बाबुआमा दुवैको उत्तिकै महत्त्व हुने पक्ष उजागर गरिएको छ ।
- सबै कथामा रङ्गीन चित्र छन् । युवराज रिजाल र युवक श्रेष्ठका चित्र राम्रा छन् । यहाँ समेटिएका सबै चित्रको गुणस्तर भने एकनास छैन । बालसाहित्यमा चित्र र शब्दको प्रतिशत पनि हेरिन्छ तर त्यता त्यति ध्यान दिएको जस्तो लाग्दैन ।
- बाल परिवेश, बालपात्र, बालजीवनशैली, बालखेल, विद्यालय र घरभित्रको परिवेश, बालमनोविज्ञानको सन्तुलित प्रस्तुतिले यी कथा बालोपयोगी छन् । वास्तवमा बालकथा भनेको कथाकै बालानुकूलन हो । यी कथामा बालानुकूलन त छ नै कोरोना कालका दस्तावेजका रूपमा पनि पठनीय छन् । यी कथाले मूलत: कोरोना कालमा बालबालिकालाई परेका समस्यालाई र तिनका समाधानलाई पनि समेटेका छन् ।
सुरेन उप्रेतीज्यू मलाई लाइभ सुनिरहनुभएको हुन सक्छ । मैले उहाँको प्रियसी रोबोट कथाकृतिबारे लोकार्पण कार्यक्रममा केही कुरा बोल्न पाएको थिएँ । आज उहाँको बालकथाबारे बोल्न पाएँ । एकै पठनमा यी कथाको सही मूल्याङ्कन नभएको भए म क्षमा चाहन्छु । उहाँ र म एउटै गाउँका एउटै पँधेराको पानी खाएका दाजुभाइ हौँ । यस अर्थमा अपुग पक्षमा उहाँले भाइ ठानेर क्षमा दिनुनै हुने छ । उहाँलाई अर्को अर्को र अझ अर्को कृति प्रकाशनकालागि शुभकामनासहित अभिवादन गर्दछु ।
६. गोकुल खड्का (२०२९) को अमृतवाणी (विचारसङ्ग्रह)
आज मैले बोल्नुपर्ने अर्को कृति गोकुल खड्काको अमृत वाणी हो । यो खड्काज्यूको सातौँ कृति हो । यसपूर्व उहाँका यथार्थको ऐना (समसामयिक निबन्ध, २०७३), मनको तरङ्ग (कविता, २०७४), लालाबाला (बालकविता, २०७५), सुुसेली (बालगीत, २०७५), कथैकथा (बालकथा, २०७५), मोजाको कथा (बालकथा (२०७५) आदि प्रकाशन भइसकेका छन् । निबन्धकार, कवि र बालकथाकारका रूपमा परिचय बनाउनु भएका खड्का अहिले अमृतवाणी लिएर आउनुभएको छ । उहाँलाई यो निरन्तर लेखनका लागि हार्दिक बधाई ।
गोकुल खड्काको आज लोकार्पित अमृतवाणी कृतिमा लेखकलाई मनपरेका विश्वप्रसिद्ध, राष्ट्रप्रसिद्ध र समाजप्रसिद्ध व्यक्तित्वका भनाइलाई अमृतवाणी सम्झिएर समेटिएको छ । यो भनाई वा विचार सङ्ग्रह हो ।
यो कृति ससाना ज्ञानका झिल्काहरूको सिलो खोजेर तयार पारिएको कृति हो ।
यो कृति दर्शनका झिल्का झिल्कीको सिलो खोजेर तयार पारिएको कृति हो । समग्रमा कृति ज्ञानवद्र्धक बनेको छ । लेखकले निकै मिहिनेत पनि गर्नुभएको छ ।
यस कृतिका अन्त्यमा लेखकका दृष्टिकोण वा जीवन दर्शन पनि समेटिएका छन् । यसले लेखकको रुचि दार्शनिक क्षेत्रमा छ भन्ने बुझिन्छ ।
यस कृतिका अन्त्यमा चार सङ्ख्याका विविधतालाई पनि समेटिएको छ । यस कृतिका अन्त्यमा आइसोलेसन वार्ड, क्वारेनटाइन,लकडाउन, सेफ्टीमेजर, हेल्प डेस्क, क्लिन जोन, ह्यान्ड स्यानी टाइजरको प्राचीन र नवीन अर्थ दिइएको छ । यओ भाग निकै रमाइलो छ । उहाँले भन्नुभएको छ :
सफा धोती बेरेर बसैलाई नछोइ खाना खाने स्थान : आइसोलेसन वार्ड,
लामो यात्राबाट फर्किएपछि गोदान गरेर मात्र घरभित्र पस्ने कार्य : क्वारेनटाइन,
तेह्र दिने पितृकार्य : लकडाउन,
नमस्कार गर्ने, हात नमिलाउने, अङ्कमाल नगर्ने कार्य : सेफ्टीमेजर, करेसाबारीमा मसला र जरीबुटी रोप्ने कार्य : हेल्प (हेल्थ) डेस्क, स्वास्तिवाचन गर्ने स्थान : क्लिन जोन,
पानी वा आगो नछोइ बालबच्चाहरूलाई नछुने कार्य : ह्यान्ड स्यानी टाइजर
यो प्रसङ्ग पढ्दा मलाई निकै रमाइलो लाग्यो । चारस्त्री, चारयुग, चार समय, चार प्राणी, चारवाणी, चार आश्रम, चार वेद, चार नीति, चार वर्णको चर्चा पनि रमाइलो छ । यो सामान्य ज्ञान हो । यस्ता पक्षमा पनि लेखकको रुचि छ भन्ने देखिन्छ ।
- समग्रमा यो कृति ज्ञानवद्र्धक छ । यसमा पूर्वीय पाश्चात्य दार्शनिक, लेखक, वैज्ञानिक, राजनीतिज्ञ, कलाकार, खेलाडी, कानुनविद्, साधुसन्त, महन्त, अरबपति, उद्योगपति, ऋषि आदि विभिन्न क्षेत्रका मानिसका विचार समेटिएको छ ।
- यस कृतिमा चाणक्य, पृथ्वीनारायण शाह, महेन्द्र, वी.पी कोइराला, भगवान कृष्ण, नेपोलियन बोनापार्ट, अरस्तु, के.पी शर्मा ओली, लक्ष्मीप्रसाद देवकोटा, ओशो, ताओ, नेलसन मण्डेला, बुद्ध, बिल गेट्स, मदर टेरेसा, स्वामी विवेकानन्द आदि प्रतिभाका भनाइलाई भने यस कृतिभित्र रङ्गीन र हार्ड पेपरमा राखिएको छ । यसको अर्थ लेखकले यिनका विचारलाई महत्त्व दिन खोजेको देखिन्छ । अरू विचारहरू विविध क्षेत्रलाई समेटेर आएका छन् ।
लेखकले आफ्ना विचारहरूलाई पनि महान वाणी सोसरह राख्नुभएको छ । अरू हामीले चिनेजानेका मानिसका विचारलाई पनि राख्नुभएको छ । यो एक किसिमको ज्ञानसङ्ग्रह हो । भविष्यमा लेखकले सन्दर्भसहित यस्ता समग्री सङ्कलन गर्न सक्नुहोस् भन्ने कामना गर्दछु । यो अरूका सामग्रीहरूको संकलन भएकाले मैले अहिले यति मात्र भनेँ । लेखकलाई भविष्यमा अझ राम्रा र ज्ञानवद्र्धक कृति प्रकाशनको शुभकामना । आफ्ना मौलिक कृतिको प्रकाशनको शुभकामना । यस विशेष समारोहमा विशेष अभिवादन ।
७.लक्ष्मी श्रेष्ठ रेशमी (२०३३) को ज्याकारान्डाको सहर (कवितासङ्ग्रह)
आज लोकार्पित एवम् मैले समीक्षाको जिम्मा पाएको अर्को कृति लक्ष्मी श्रेष्ठ रेशमीको ज्याकारान्डाको सहर कवितासङ्ग्रह हो । श्रेष्ठ पनि आज लोकार्पित कृतिका स्रष्टाहरू परिश्रमी, मजगैया र कट्टेल जस्तै शिक्षासेवामा समर्पित प्रतिभा हुनुहुन्छ । उहाँ पनि मोफसलमा रहेर साहितय सिर्जना गरिरहनुभएको छ । उहाँसँग मेरो साहित्यिक क्षेत्रमा पहिलो परिचय हो तर उहाँको यस कृतिमा मैले भूमिका पनि लेखेको छु । आज मलाई अरू कृतिमा भन्दा यस कृतिमा बोल्न सजिलो छ ।
यो कविता सङ्ग्रहको शीर्षक किन ज्याकारान्डाको सहर ? यो प्रश्न मेरा मनमा पहिलो प्रश्न बनेर आयो । उहाँले पद्मकन्या क्याम्पसमा पढ्नुभएको रहेछ । त्यहीँ पढेकी प्रतिभा पारिजातको शिरषको फूलको प्रभावले यो कृतिको नाम ज्याकारान्डा रहेको बुझियो । त्यसमा पनि कलेज पढेर घर फर्कंदा बाटामा फुलेको ज्याकार ा न् डाको रङ र सौन्दर्यले लेखककालाई तानेको पाइयो । उहाँले प्रमाणपत्र तहको पढाइ छोडेर विवाह बन्धनमा बाँधिई बिचमा रोकिँदै सन्ततिलाई हुर्काउँदै शिक्षासेवा गर्दै स्नातकोत्तरका साथै अहिले काठमाडौँ विश्वविद्यालयबाट एम फिल गर्दै हुनुहुन्छ । यस्तो अफ्ठ्यारो जीवन यात्रामा उहाँलाई छुने स्मृति त्यही ज्याका रा न् डा को फूल रहेछ । उहाँको जीवनकथा आफैमा निकै उतारचढावपूर्ण उपन्यास जस्तो छ । उहाँ काठमाडौँमा जन्मिएकी भ ए पनि चन्द्रनिगाहपुरमा बसेर शिक्षासेवा गरिरहनुभएको छ । उहाँ र उहाँका पति दुवै एकै संस्थामा काम गर्नुहुन्छ । दुवै शिक्षासेवामा हुनुहुन्छ । उहाँका जीवनसाथीलाई पनि म उठिदिनुहुन अनुरोध गर्छु । हरेक पुरुषको निर्माणमा नारीको हात हुन्छ भने जस्तै हरेक नारीको निर्माणमा पुरुषको पनि हात हुन्छ । आज लक्ष्मी म्याम उहाँकै साथले यहाँ पुग्नुभएको छ । म्यामले धेरै ठाउँमा यहाँका नामबाट चिनिनु भयो होला आज यहाँ म्यामका नामबाट चिनिदै हुनुहुन्छ ।
ज्याकारान्डाको सहर गद्य कविताको सङ्ग्रह हो । मैले भूमिका लेखनका क्रममा यस कृतिमा रहेका कविताका मूलभूत विषयवस्तुगत र प्रवृत्तिगत एवम् शिल्पसंरचनागत प्रवृत्तिको निरूपण गरेको छु ।
लक्ष्मी रेशमीको ज्याकारन्डाको सहर कविता कृतिमा समेटिएका कवितामा स्वच्छन्दतावादी कवितात्मक उच्छलन रहेको छ । सम्भवत: उहाँले प्रवीणता प्रमाणपत्र र स्नातक तह पढेका बेला उहाँलाई स्वच्छन्दतावादी कविहरूको प्रभाव बढी परेको थियो । त्यसको प्रकटन आज यी कवितामा भइरहेको छ ।
स्वच्छन्दतावाद आफैमा बहुमुखी प्रवृत्ति अठाउने मूल प्रवृत्ति हो । स्वच्छन्दतावादी प्रभावका कारण यी कवितामा विभिन्न प्रवृत्तिगत जीवनचेतना समेटिएका छन् र त्यसो हुनु लक्ष्मीको जीवनका उतारचढावबाट पनि स्वाभाविक देखिन्छ । त्यस्ता चेतनालाई यहाँ मोटामोटी प्रकृतिचेत, राष्ट्रियचेत, सांस्कृतिकचेत, नारीचेत, राजनीतिकचेत, आत्मप्रकाशन, जीवनबोध, शृङ्गारचेत…जस्ता मूल प्रवृत्तिमा मैले चर्च गरेको छु । उहाँका कविताको मूल प्रवृत्ति पनि यही हो । यहाँ यी सबै प्रवृत्तिको सोउदाहरण चर्चा गर्न समय कम छ । सारमा भन्दा यी विविध चेतनाले उहाँलाई समाजसचेत कविका रूपमा चिनाउँछन् । मैले भूमिकामा यी सबै प्रवृत्तिको र थप प्रवृत्तिको पनि सोउदाहरण चर्चा गरिसकेकाले अहिलेलाई यति मात्रै ।
कविता थोरैमा धेरै भन्ने कला हो । यो भनाई म दोहोर्याएर भन्दैछु । यस दृष्टिले यस कृतिको शैलीशिल्प र त्यसरी थोरैमा धेरै भन्न सक्ने कला कस्तो छ भन्ने जिज्ञासा जन्मन्छ । यी मुक्त लयढाँचाका कवितामा सकेसम्म अनुप्रासका माध्यमबाट लय योजनाको प्रयत्न गरिएको छ । सरल सहज विम्ब प्रतीकको सचेत र असचेत पनि दुवै खालको प्रयोग छ । लोकोक्तिहरूको सान्दर्भिक प्रयोग पनि भएकै छ । प्राय: कविताका शीर्षक पनि कुनै न कुनै विम्ब र विषयलाई प्रभावकारी रूपमा बोकेर आएका छन् ।
आफैले भूमिका लेखेको कृतिमा बोल्ने विषय त धेरै हुन्छन् । बोल्न त धेरै बोल्न सकिन्छ तर यहाँ समयसीमा छ । यो मञ्चमा अरू कार्यक्रम छन् म यस पक्षलाई पनि मध्यनजर गर्र्दै बोलिरहेको छु । लक्ष्मी श्रेष्ठ रेशमीले पनि त्यो कुरा बुझ्नुहुने छ र किताबका बारे बोल्नुपर्ने जति बोलेन भन्नुहुने छैन । उहाँको ज्याकारान्डा पहिलो कवितासङ्ग्रह हो । पहिलो कृतिको आलोचना लेखकमाथि घात हुन सक्छ भन्ने कुरामा पनि म सचेत छु ।
- यस कविताकृतिका कविताले बहुमुखी विषय क्षेत्रलाई आफ्ना विषयवस्तु र भाव सम्प्रेषणका माध्यम बनाएका छन् ।
- यी कवितामा उत्कृष्ट नभए पनि कविता कलालाई आधारभूत रूपमा चाहिने रूपक सामर्थ्यको प्रयोग भएको छ ।
- आधारभूत लययोजना पाठकको मन तान्ने गरी भएको छ । त्यसका लागि लेखकले अन्त्यानुप्रास र कतै कतै मध्यानुप्रासको सहयोग लिएको देखिन्छ । लोकलयको प्रयोगमा पनि लेखकको रुचि छ ।
- त्यस्तै यस संग्रहका कवितामा प्रयोग भएको सामाजिक विकृति विसङ्गति, अशिक्षा र अज्ञानताप्रति गरिएको व्यङ्ग्य सामर्थ्यले पनि पाठकलाई तानिरहेको छ ।
- जीवनचेतनाका दृष्टिले यहाँ आधुनिक र उत्तरआधुनिक समाजका बहुमुखी जीवनचेतना समेटिएका छ्न । तीमध्ये राष्ट्रियचेत, प्राकृतिकचेत, सांस्कृतिकचेत, नारीचेत, क्रान्तिचेत, राजनीतिकचेत, अस्तित्वचेत, आत्मप्राशन, आदर्शेचेत, वैज्ञानिकचेत, महामारीजन्य समस्या जस्ता चेतनाहरू अभिव्यक्त छन् ।
- ज्याकारान्डाको सहर लेखकको पहिलो कृति हुँदा मूल्यनिर्णयका शब्दहरू धेरै बोलिरहनु, कमीकमजोरीका विषय उठाइरहनुभन्दा उत्तरोत्तर प्रगतिको कामना गरेर विट मार्नु सान्दर्भिक होला ।
- रेशमीको कलमले निरन्तरता पाउन सके मुक्तलयढाँचा र लोकलयचाँचामा राम्रा कविता लेख्न सक्ने छनक भने ज्याकारान्डा कृतितासङ्ग्रका कविताले देखाइसकेका छन् ।
यति विशिष्ट समारोहमा आफ्नो पहिलो कृति लोकार्पण गर्न पाउनु नै लक्ष्मीजीको सफलता हो । अब आगामी वर्ष अर्को , अर्को वर्ष अर्को र अझ अर्को वर्ष अर्को कृति लिएर काठमाडौँ आउनुहोस् । चन्द्र निगाहपुरमा पनि सकेसम्म साहित्य सेवा गरिरहनुहोस् यहाँलार्य अनेक शुभेच्छासहित अभिवादन ।
समापन
मलाई आज शब्दार्थ प्रकाशनले विशिष्ट समारोहमा विशिष्ट भूमिकामा उभ्यायो । मैले बोल्ने गरी आयोजकहरूले उपलब्ध गराएका आठ वटा कृति यिनै हुन् । आज कृति लोकार्पण गर्नुहुने गोविन्द घिमिरे वेदमणि, डा. घनश्याम न्यौपाने परिश्रमी, उत्तमकृष्ण मजगैयाँ, हरि कट्टेल, सुरेन उप्रेती, गोकुल खड्का र लक्ष्मी रेशमी सबैलाई हार्दिक शुभकामना । शब्दार्थ प्रकाशनलाई विशेष शुभकामना । मलाई विश्वाससाथ यति महत्त्वपूर्ण कृतिहरू पढ्ने र केही बोल्ने अवसर दिनुभएकामा शब्दार्थ प्रकाशनका सञ्चालक विनयकुमार शर्मालगायत शब्दार्थ प्रकाशन परिवारमा आभार । मेरा गुरु वासुदेव त्रिपाठीले कृष्णप्रसाद भट्टराईका तीन वटा महाकाव्य विमोचन समारोहमा बोल्ने क्रममा पञ्चम पठनपछि मात्र कृतिको मूल्याङ्कन गर्न सक्छु, मूल्यनिर्णयको भाषा बोल्न सक्छु भन्नुभएको थियो । यो एकसरो पठनको आशुसमीक्षा निकै जोखिमपूर्ण कार्य हो । गुरुले भनेको त्यस वचनको स्मरण गर्दै केही कमजोरी भए क्षमा चाहन्छु । लेखकहरूका कृतिको सही मूल्याङ्कन नभएको भए क्षमा चाहन्छु । मेरा विचार सुनिदिनुभएकामा यहाँहरू सबैमा अनेक आभार प्रकट गर्दै बिदा लिन्छु । धन्यवाद ।