रमेश शुभेच्छुले विविध विधामा कलम चलाउँदै आएका छन् । उनका विभिन्न विधामध्ये एउटा विशेष विधा जीवनी व्यक्तित्वको अन्वेषण हो । उनी जीवनी सिर्जना र समीक्षा दुवै क्षेत्रमा सैद्धान्तिक र व्यवहारिक कोणबाट कलम चलाइरहेका छन् । साहित्यसागरका प्रस्तुत शृङ्खलामा उनको महेशराज पन्तको जीवनी व्यक्तित्वलाई समेटेको लघु जीवनी समेटिएको छ । -सम्पा. |
विषय प्रवेश
महेशराज पन्त (२००१) नेपाली बौद्धिक धरहराहरूमध्ये छुटाउनै नहुने धरहरा हुन् । नेपालको इतिहास र ज्ञान परम्परामा उनका जति आधिकारिक पुस्तक र पत्रिका कसैले लेखन, सम्पादन र प्रकाशन गरेका छैनन् । उनी बहुभाषाका सामथ्र्यका साथै विशिष्ट अन्वेषणमूलक लेखनको दखल राख्छन् । उनी महत्त्वपूर्ण काम गरेर पनि कति पनि प्रचारमा छैनन् । हाम्रा प्राचीन ऋषिहरू जस्तै घरका पुस्तकालयहरूमा हराएर लेखिरहेका छन् । उनलाई चिनेर भेट्न बुझ्न जानेलाई भनिरहेका छन् र उनका पितादेखि सुरु भएको अनौपचारिक बौद्धिक परम्परालाई बचाइराखेका छन् । नेपाली बौद्धिक जगत्मा उनकाबारे केही लेख्न भने उनैलाई सन्दर्भ बनाउनु पर्ने बाध्यता छ । यहाँ पन्त र उनकै भाइ प्राज्ञ दिनेशराज पन्तलाई सन्दर्भ बनाई महेशराज पन्तका बारेमा सामान्य आलेख बनाउने प्रयास गरिएको छ ।
विस्तार
महेशराज पन्त नेपाली इतिहास र वाङमयकै पनि आधुनिक ऋषि हुन् । यो ऋषि पदको उपाधि पन्तलाई दिनुको खास अर्थ छ । उनी लामो समयदेखि निस्काम वाङ्मयमा समर्पित छन् । उनी प्रचार भन्दा पनि काममा छन् । उनका विषयमा लेख्न र बुझ्न पनि त्यति सजिलो छैन । उनी आफैमा अन्तरमुखी र आफूलाई भन्दा इतिहास र वाङ्मयलाई महत्त्व दिने विशिष्ट विद्वान् व्यक्तित्व हुन् । उनका विषयमा अहिलेसम्म नेपाली भाषामा निस्किएका लेखककोशहरू पनि मौन छन् । लेखक कलाकार कोश पनि मौन छन् । विकिपिडियाहरू पनि मौन छन् । उनको आवश्यकता हुनुपर्ने संस्थाका प्रकाशन पनि मौन छन् । ती कोश र संस्था मौन भएर उनलाई केही फरक फरेको छैन । वास्तविकताको खोजी गर्ने हो भने उनले जति नेपालका विषयमा कसैले लेखेका छैनन् । उनले जति इतिहास कसैले केलाएका छैनन् । उनले जति इतिहासका पिँधका विषयलाई सतहमा ल्याउने काम कमैले गरेका छन् । उनले जति आधिकारिक कलम कसैले चलाएका छैनन् ।
महेशराज पन्त अहिले ८० वर्षको उमेरमा हिँड्दै छन् । उनी उमेरले पाका भए पनि उनको भषासाहित्य प्रेम र समर्पण युवा उर्जामा देखिन्छ । उनी निरन्तर अखबारी लेखन पनि गरिरहेका छन् र ग्रन्थन पनि गरिरहेका छन् । आफ्नो गुरुकुलमा शिष्यहरूको विकास पनि गरिरहेका छन् र आधुनिक प्राचीन सबै ज्ञानका स्रोतलाई आफ्ना ज्ञानका भण्डारमा थपिररहेका र त्यसको विस्तार गरिरहेका छन् । निरन्तर पूर्णिमा पत्रिकाको सम्पादन पनि गरिरहेका छन् ।
महेशराज पन्तको जन्म काठमाडौँको ओटु समलवहालमा २००१ साल भद्र ४ मा भएको हो । उनी विद्वान् पिता प्राज्ञ नयराज पन्त र माता बुधकुमारी पन्तका सुपुत्रका रूपमा जन्मिएका थिए । उनको बालयकाल संयुक्त परिवारिक परिवेशमा बित्यो । उनी जन्मेहुर्केको परिवार बुबाको मामा, ठूलाबासहितको ठुलो परिवार थियो । उनको बाल्यकाल त्यही ठुलो परिवारका अनेक सदस्यको माया र छत्रछायामा बित्यो । पिताकै गुरुकुलमा पढ्दै, दुई दिदी, एक भाइ र एक बहिनीसँग खेल्दै बित्यो । उनी आफ्ना पिताको बौद्धिकता र विद्वत् जीवनवृत्तिबाटै प्रवाहित भएर आफूलाई पनि सम्बन्धित क्षेत्रमा लगाउँदै अन्तत: समर्पित बन्न सफल भए ।
पन्तको आजको बौद्धिक व्यक्तित्व निर्माणको लामो पृष्ठभूमि छ । उनका पिता पुर्खाको ज्ञानपरम्परा निकै लामो छ । पन्तका हजुरबा नै रानीपोखरी पाठशालाका व्याकरणका अध्यापक थिए । उनको नाम पं कृष्णदत्त पन्त हो । उनका हजुरबा भन्दा अघिल्लो पुस्ताका पुर्खाहरू पनि कुनै न कुनै रूपले दरबार नजिक र बाहिर रहेर पनि पाण्डित्य र अन्य बौद्धिक गतिविधिमा संलग्न थिए । त्यस पृष्ठभूमिले उनको कर्म र जीवनको यस बौद्धिक सफलतामा लामो पृष्ठभूमिगत उर्जा रहेको देखिन्छ ।
पन्तका हजुरबा संस्कृत पाठशालाका व्यकरणका अध्यापक थिए । ती विद्वान् हजुरबाको ज्ञान गङ्गा प्रत्यक्ष रूपमा भने पन्तलाई प्राप्त भएन । उनका पिता डेढ वर्षको हुँदाहुँदै हजुरबाको निधन भइसकेको थियो । तर उनको ज्ञानगङ्गाको सिञ्चन भने पन्तका जराभरि देखिन्छ । उनका पिता नयराज पन्तले आफ्ना पितापुर्खाको गुरुकुल परम्परालाई आफ्नै घरमा विकास गरे । उनले आफ्नो बलबुताले भ्याएसम्म विद्वताको खोजी र निर्माण गरे । उनको त्यस प्राज्ञिक उचाइको छाया महेशराज पन्तमा पर्यो ।
काठमाडौँको सम्पन्न परिवारमै जन्मिए पनि पन्तको जीवन त्यति सजिलो थिएन । उनकी माताको ३९ वर्षकै उमेरमा स्वर्गे भयो । पन्त त्यतिबेला जम्मा दश वर्षका थिए । उनका भइ दिनेशराज पन्त पाँच वर्ष र बहिनी अमिता जम्मा अठ्ठाइस दिनकी थिइन् । दिदी अम्बिका र धन (पाण्डे) केही ठुला मात्र थिए । त्यसपछिको जीवन पिताकै सानिध्य र रेखदेखमा अगाडि बढ्यो । हजुरआमा र अरूका रेखदेखमा चल्यो । पन्तका पिताको विधुरव्रती सन्तान प्रेम र विद्या प्रेमले पन्तको जीवन यात्रालाई विद्यामय बनाइदियो । बहुविवाहको जगजगी रहेको त्यस समयमा पन्तले विधुरव्रतमा रही आफ्नो र सन्ततिको चेतना विस्तारमा समय खर्च गरे । पिताको त्यस समर्पणले पनि पन्तलाई निरन्तर बौद्धिक कर्ममा समर्पित रहिरहन सघायो ।
प्रत्यक्ष रूपमा देख्दा महेशराज पन्तले दुई सय अधिक लेख प्रकाशन गरिसकेका छन् । उनले झन्डै दर्जन कृति प्रकाशन गरेका छन् । ती कृतिबाट जेजति सामग्री बाहिर ल्याएका छन्, त्योभन्दा बढी सामग्री प्रकाशनको पर्खाइमा रहेका छन् । अन्तर्वार्ताबाट त्यति नै र अझ बढी रामग्री कार्ययोजनामा रहेको बुझिन्छ । यस्ता विशिष्ट व्यक्तित्वलाई चिनाउनु, जीवनीको पाटो उठाउनु, व्यक्तित्व वा कृतित्वको पक्ष छुनु मात्र पनि कठिन छ । यहाँ पन्तका जीवनी र कृतित्वका किनारै किनार हिँड्ने प्रयत्न मात्र गरिएको छ ।
तिन वर्षअघि २०७५ सालमा खेमलाल हरिकला प्रतिष्ठानबाट प्रदान गरिने पद्यमश्री साधना सम्मानबाट महेशराज पन्त सम्मानित भए । उनी त्यस सम्मानबाट सम्मानित भएपछि उनको समग्र वाड्मयिक योगदानको केही मात्र भए पनि कदर भएको अनुभव नेपाली बौद्धिक एवम् वाङ्मयिक जगत्ले गर्यो । त्यो एक ज्यक्तित्वको सम्मान नभई नेपाली बौद्धिक क्षेत्र र विद्वत् परम्पराको सम्मान थियो । २०७७ सालमा नेपाल प्रज्ञाप्रतिष्ठानले मानार्थ प्राज्ञ बनायो । नेपाल प्रज्ञाप्रतिष्ठानको इतिहासमा उनको नाम जोडिनुलाई नेपाली बौद्धिक जगत्ले आदरपूर्वक हेरेको छ । पन्तलाई मानार्थ प्राज्ञ नियुक्त गरेसँगै नेपालका प्राज्ञिक इतिहासमा पिता र दुवै पुत्रहरू प्राज्ञ भएको प्राज्ञिक परिवारका रूपमा पनि पन्तको परिवार स्थापित बनेको छ । वास्तवमै यस परिवारका सदस्यहरूको प्राज्ञिक मोह र योगदान औलामा गन्न सकिने प्राज्ञहरूका योगदानसँग तुल्य रहेको छ ।
महेशराज पन्त पिता र आफ्ना अनुज दिनेशराज पन्त भन्दा बढी आधुनिक पाश्चात्य ज्ञान विज्ञानका क्षेत्रसँग पनि परिचित छन् । उनले औपचारिक रूपमा विद्यावारिधि उपाधि पनि लिएका छन् । उनलाई नेपाल सरकारले पनि पछिल्लो समयमा आएर चिनेको छ २०७८ फागुन महिनादेखि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास र पुरातत्त्व विषयको विज्ञका रूपमा नियुक्त गरेकी छन् । उनलाई राज्यमन्त्रीसरहको सुविधा प्रदान गरिएको छ । यो नियुक्तिलाई नेपाली प्राज्ञिक जगत्ले गौरबका रूपमा लिएको छ । पन्तको निरन्तरको समर्पणले जीवनका उत्तराद्र्धमा आएर सही जिम्मेवारी पाएको बोध हुन्छ ।
महेशराज पन्तको परिवार नेपाली बौद्धिक घरानाको परिवार हो । पन्तका हजुरबा, बा र पन्त बन्धु (प्राज्ञ द्वय महेशराज र दिनेशराज) पुस्तासम्म त्यो बौद्धिक घराना निरन्तर आरोहणशील बन्दै आएको छ । त्यसपछिको पुस्ता विषयान्तरमा रहे पनि बौद्धिक बाटोमा निरन्तर लम्किइरहेको छ । नेपाली समाजले आफ्ना अभिभावकको आर्थिक जेथो मात्र अंश पाउने सम्पत्ति मानिरहेका बेला पन्तले भने पिताको बौद्धिक जेथोलाई नै अंश मानी त्यसको संरक्षण र विकासमा निरन्तर लागिरहेका छन् ।
पन्तका परिवारमा अहिले पन्त र उनकी पत्नीबाहेक सहयोगीहरू मात्र छन् । अहिले पनि पन्त बिहान ४ बजे उठिसक्छन् । परम्परादेखि गायत्री अनुष्ठानबाहेक अरू योगध्यान गर्ने गरेका छैनन् । उनले गायत्री अनुष्ठानलाई नै शरीरमा उर्जा ल्याउने अनुष्ठान मानेका छन् । कोरोनापछि बाहिर जान कम भएको छ । उनी बिहान देखि बेलुका छ :०० बजेसम्म लेखपढमै लगिरहन्छन् । विश्राम पनि कम मात्र लिन्छन् । प्राय १० बजे सुत्छछन् । यस्ता बौद्धिक पिताका सन्तान कहाँ छन् र के गरिरहेका छन् भन्ने जिज्ञासा लाग्नु स्वााविकै हो । उनका एक छोरा दुई छोरी सबै नेपाल बाहिर छन् । छोरा मेधावी इलेक्ट्रेनिक्स र कम्प्युटर इन्जिनियर हुन् । उनी जर्मनी बस्छन् । छोरी मनिषा साहित्य पढेकी व्यक्ति हुन् क्यानडाका स्कलुमा पढाउँछिन्े । अर्की छोरी मिमांसा पनि सिभिल इन्जिनियर हुन् ।
अहिलेसम्मको पारिवारिक वृत्त र शिष्य परम्परालाई हेर्दा महेशराज पन्तका भाइ दिनेशराज नै उनका विषयक्षेत्रका उत्तराधिकार हुन सक्छन् । दिनेशराजपछि पारिवारिक विरासत तेस्रो पुस्तामा नदेखिए पनि कुनै मानस सन्ततिले उनको बिँडो थाम्न सक्लान् । यो विश्वकै ऋषितुल्य साधकहरूको साझा समस्या र समाधान पनि हो । उनका सङ्कलनमा रहेका सामग्रीहरू नेपालका राष्ट्रिय पुस्तकालय र विश्वविद्यालयका पुस्तकालयमा पनि अनुपलब्ध रहेको पक्ष स्मरणीय छ । उनले आफ्नो घरलाई नै ठुलो पुस्तकालय र विशेष सङ्ग्रहालयका रूपमा विकास गरेका छन् । यसरी आफ्नो सम्पूर्ण जीवनका साथै काठमाडौँको मुटुमा रहेको भाडा लाग्ने घरलाई पनि ज्ञान र चेतनाकै पक्षमा समर्पण गर्नु पन्तको ठुलो समर्पण एवम् ऋषि कर्म हो ।
पन्त जस्ता विद्वान् आजका पत्रपत्रिकामा नपढिनु, विकिपिडियामा नभेटिनु, छ्याप्छ्याप्ती रहेका रेडियो र टेलिभिजनमा नसुनिनु र नदेखिनु, कान्छो सञ्चार माध्यम अनलाइनमा नदेखिनुमा नेपाली समाजको विज्ञापनमुखी चरित्र नै मूल कारक पक्ष हो । यसबाहेक पन्तकै चरित्रसापेक्ष केही कारणहरू छन् । पन्तका आफ्नै केही निजी स्वभाव छन् । ती स्वभाव उनले कतिपय आफ्ना पिताबाट लिएका हुन् भने कतिपय आफै निर्माण गरेका हुन् । आजको दुनियाँ विज्ञापनको पछाडि दौडिएको छ । यस्तो दुनियाँमा पन्त भने कुनै पनि सार्वजनिक सभा समारोहमा सहभागी बन्दैनन् । उनका दृष्टिमा सार्वजनिक सभा समारोह र कार्यक्रमहरू हल्ला गर्ने ठाउँ मात्र हुन् । बौद्धिक व्यक्तित्व निर्माण गर्न लेखपढ गर्नुपर्छ ।
महेशराज पन्तसँग सामान्य व्यवहार भन्दा बौद्धिक सङ्गत गर्न सजिलो छ । त्यस्तो सङ्गत गर्न पनि सङ्गत गर्नेवालाको हैसियत पुग्नुपर्छ । त्यस्तो खास हैसियत भएका मानिसको अभावले पनि उनी कम चिनिए र कम पढिए सायद । आज कम पढिए पनि पन्तले अगाडि सारेका विचार र चेतनाहरू शताब्दी शताब्दीपछिका लागि उपयोगी हुने देखिन्छ । नेपालको विद्वत् परम्पराका लागि मार्गदर्शक बन्ने देखिन्छ ।
पन्तका अनुसार बौद्धिकता हल्लामा होइन काममा, अनुशन्धानमा र साधनामा हुन्छ । यस चिन्तनलाई पन्तले आफ्ना जीवनशैली र व्यवहारमा निकै सशक्त रूपले उजागर गरेका छन् । उनी हल्ला, विमोचन, अन्तक्रिया, परिचर्चा, पत्रकार सम्मेलन आदिमा विश्वास गर्दैनन् । यहाँसम्म कि उनी प्रकाशकले आयोजना गरेको आफ्नै पुस्तकको विमोचनमा पनि उपस्थित हुँदैनन् । उनको तन, मन र धन सबै नेपाली इतिहास र वाङ्मयको अन्वेषणमा समर्पित छ ।
पन्त जति विद्वान् छन् त्यति सरल पनि छन् । आज उनलाई भेट्न चाहने अन्वेषक, अध्येता ज्ञानपिपासु सुधी पाठकले सजिलै भेट्न सक्छ । उनको ज्ञान विज्ञानको प्रेमलाई बुझ्न सक्छ । उनीसँग फोनमा नजानेकोे नबुझेको सोध्न सक्छ । उनको निजी प्रयासमा काठमाडौंको डल्लुस्थित आफ्नै घरमा साढे चार तले पुस्तकालय व्यवस्थित ढंगले सञ्चालित छ । त्यो पुस्तकालय व्यवस्थापनका लागि निजी श्रोतबाट केही कर्मचारी पनि व्यवस्था गरिएको छ । पुस्तकालय सञ्चालनका लागि मासिक ६५ हजार जति खर्च लाग्छ । त्यो खर्च पनि पन्तले आफूले पसिना बगाएका विदेशी विश्वविद्यालयको निवृत्तिभरणबाट चलाउँदै आएका छन् । त्यस पुस्तकालयमा १५००० अधिक पुस्तकहरू, महत्वपूर्ण चिठीपत्रजन्य अभिलेखहरू, अनेक पाण्डुलिपि, पुराना पुराना महत्वपूर्ण ऐतिहासिक सामग्री आदि सुरक्षित छन् । उनको पुस्तकालयमा भएका सामग्री विश्वविद्यालयको पुस्तकालयमा भन्दा छिटो भेट्टाउन सकिन्छ । उनकै पुस्तकालयको अध्ययनबाट विद्यावारिधि उपाधि लिनेहरू पनि थुप्रै छन् । उनको पुस्तकालय र कम्प्युटरमा नियमित चार जना कर्मचारी सक्रिय देखिन्छन् । उनको पुस्तकालय अवलोकन गर्दा लाग्छ, एउटा व्यक्तिले यति गर्न सक्छ भने सरकारले गर्न खोजे कति सक्थ्यो होला ? पछिल्लो समय पन्त राष्ट्रपति कार्यलयका विज्ञमा नियुक्त भएसँगै उनीभित्रको यो बौद्धिक चेतना राष्ट्रमा पनि सञ्चार हुने सम्भावना छ । त्यसो भयो भने पन्तको र पन्तपरिवारको वौद्धिक चेतना यो देशका लागि अपूर्व प्राप्ति हुने छ ।
महेशराज पन्तको पुस्तकालयमा पुग्दा हामी जस्ता नयाँ पुस्ताका मनमा लागेको कुरो राज्यमा बस्ने मान्छेले सोच्न भ्याएका छैनन् । पन्तको जीवन दर्शन निस्काम कर्म र वाड्मय सेवा हो । अहिले पनि उनी १७३१ सालको प्रताप मल्लका पालाको हनुमानढोकाका अभिलेख विषयक पुस्तक तयार पारिरहेका छन् । उनका यस्ता पुस्तकका थुप्रै पाण्डुलिपि प्रकाशकको पर्खाइमा छन् । उनले आफ्ना पिताका पाण्डुलिपिलाई सम्पादन गरेर बाहिर ल्याउने क्रमलाई पनि जारी राखेका छन् । फरक प्रसङ्गमा उनका भाइ प्राज्ञ निदेशराज पन्तले भनेका छन्, पिताजीका प्रकाशित सामग्री मैले संरक्षण गरेको छु । अप्रकाशित सामग्री दाइले संरक्षण गर्नुभएको छ । वास्तवमा पन्तको समर्पण र त्याग नै ज्ञान आर्जनको मूल रणनीति हो । धन कमाउन म्यानेजरहरूले र कर्मचारीहरूले सघाउन सक्छन्, साखा डिलर र आउटलेटहरूले सघाउँछन् तर ज्ञान आर्जन गर्न एक्लै लाग्नुपर्छ । यो एक्लै र आफै लाग्नुपर्छ भन्ने कुरालाई पन्तले राम्ररी बुझेका छन् र निरन्तर लागिरहेका छन् । ज्ञान भन्दा सम्पत्ति र अन्य शक्तिलाई महान् ठान्ने हाम्रो जस्तो पछौटे समाजमा पन्त जस्ता ज्ञानगङ्गा पाउनु नेपाली जातिकै लागि गौरवको विषय हो ।
पन्त नेपाली इतिहासका साझा ज्ञानकोश हुन् । यो कोशलाई केही वर्ष अघिसम्म राज्यका जिम्मेवार निकायले नपल्टाइकनै काम चलाइरहेझैँ लाग्थ्यो । राज्यका आधिकारिक संस्थका विज्ञहरूले देख्दै नदेखेझैँ लाग्थ्यो । उनी मानार्थ प्राज्ञ र राष्ट्रपतिको विज्ञसल्लाहकार नियुक्त भएसँगै त्यो भ्रम चिरिएको छ । यस राज्यलाई पनि बौीद्धक व्यक्तित्वहरूको खाँचो छ भन्ने देखिएको छ । पन्तले इतिहासका गर्भमा रहेका र प्रकाशनको उज्यालो पर्खिरहेका सामग्रीको खोज अन्वेषणमा समय विताइरहेका छन् । यस्ता विशिष्ट विद्वान् व्यक्तित्वका अभिप्रेरक पक्ष अनेक छन् तर उनको मूल अभिप्रेरणा उनकै पिता हुन् । आजको भाषामा उनका मूल रोलमोडल पात्र उनकै पिता हुन् । पन्त र पन्त परिवारबाट पैतृक सम्पत्ति मात्र होइन ज्ञान पनि सन्ततिले पाउन र बढाउन सक्छ भन्ने बोध गर्न सकिन्छ ।
पन्तको वौद्धिक घराना विशेष उनकै पिता नयराज पन्तका प्रयत्नमा निर्माण भएको हो । प्रा.डा पन्तका पिता नयराज पन्त नेपाली भाषा प्रकाशिनी समितिको सदस्यका रूपमा र नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञका रूपमा वाड्मय सेवा गरेका पुराना विद्वान् हुन् । उनले २००९ सालमा इतिहासका क्षेत्रमा र समग्र वाङ्मयकै क्षेत्रमा रहेका त्रुटि निवारण गर्ने उद्देश्यले संशोधन मण्डलको स्थापना गरेका थिए । त्यसपछि उनी अरू क्षेत्र छोडेर निरन्तर त्यही संस्थामा लागिरहे । पन्तले स्थापना गरेको संशोधन मण्डलले नेपालको इतिहासका धेरै तथ्यहरू खोजेर बाहिर ल्याएको छ । यस मण्डलले पन्त पाठशाला नै चलाएर इतिहासका नयाँ विद्यार्थी तयार पार्ने गुरुकुल पनि निर्माण गरेको थियो । पन्तले योग्य शिष्य शृङ्खला तयार पार्नका साथै नेपाली पात्रोलाई आकाशमा देखिने वास्तविक ग्रह स्थितिअनुसार शुद्ध पार्ने योजना बनाएर तत्कालीन सरकारसमक्ष प्रस्तुत गरेका थिए । सरकारमा उनको विद्वतालाई बुझ्न सक्ने शासक नभएकाले त्यो योजना त्यत्तिकै रह्यो । उनका इतिहास विषयक झन्डै दुई दर्जन कृति प्रकाशित छन् । उनका ज्योतिष विषयक कृतिहरू पनि दर्जन हाराहारीमै प्रकाशित छन् । उनी इतिहास र ज्योतिष मात्र नभई संस्कृत वाड्मयका पनि विशिष्ट विद्वान् थिए । उनले लिच्छवि संवत्को निर्णय नामक ग्रन्थका लागि मदन पुरस्कार (ं२०४३) प्राप्त गरेका थिए । उनको सम्मान स्वरूप २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधि (डीलिट) उपाधि प्रदान गरिएको थियो । उनलाई दिएको त्यस उपाधिको आज पनि श्रद्धापूर्वक स्मरण गरिन्छ ।
महेशराज पन्तका पिता नयराज पन्त नेपाली विद्वत् परम्परामा असाध्यै सचेत विद्वान् थिए । बनारसमा पढ्दाताका नै गुरुले गरेको गल्ती पनि देख्ने बनिसकेका थिए । उनले वनारस गएर मूल विषय ज्योतिष पढेका थिए । भारतको बनारसमा पढेका बेला त्यहाँका नेताहरूमा विद्या कमजोर भएको ठानेर उनले राजनीतिलाई अन्धनीतिका रूपमा बुझे । उनी पछिसम्मै राजनीतिलाई गोप्य मतदानको विषय मान्थे । १०० मा ३३ ल्याएर पास हुने मान्छे अङ्ग्रेजहरूको दासका लागि तयार पारेको जनशक्तिका रूपमा लिन्थे । त्यसपछि उनले नेपाल फर्किएर महत्त्वपूर्ण कृतिहरू आफै पढाउन थाले । उनको पढाउने पद्धति भनेको ग्रन्थ कण्ठस्थ र अनुशन्धान थियो । उनको निधन २०५९ साल कात्तिक १८ गते भएको थियो । उनको अवसानलाई विशिष्ट ज्ञान गङ्गाकै अवसानका रूपमा लिइन्छ । त्यस परम्पराको अर्को धुरी र निरन्तरताका रूपमा महेशराज पन्त नेपाली वौद्धिक जगत्मा उभिइरहेका छन् ।
समयसापेक्ष विद्वान् एवम् कर्मवीर महान पिता नयराज पन्तका सुपुत्र महेशराज पन्तले आफूलाई निरन्तर पिताजीकै वाङ्मयिक सामथ्र्यमा डोहोर्याइरहे । पिताका परिकल्पनाको प्राज्ञिक मन्दिर संसोधन मण्डललाई निरन्तरता दिई नेपालको गरिमामय पुरस्कार जगदम्बाश्री पुरस्कार दिलाए । समय क्रममा त्यही संस्थाका कर्म र निजी कर्मवापत पद्मश्री पुरस्कार पाउन सफल भए । नेपाल प्रज्ञाप्रतिष्ठानको मानार्थ प्राज्ञ र राष्ट्रपतिको विज्ञ नियुक्त पनि भएका छन् । उनले ‘संस्कृत लेक्सिको ग्राफी’ विषयमा जातरूपज कमेन्ट्री अन द अमर कोश शीर्षकमा जर्मनीको ह्यामबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनी नेपालको इतिहास र सिङ्गो नेपाल विद्याका लागि सबभन्दा आधिकारिक व्यक्ति मानिन्छन् ।
पन्त नेपालको इतिहासमा सबैभन्दा समथ्र्यवान स्वतन्त्र प्राज्ञ हुन् । उनले विश्वचर्चित किल युनिभर्सिटी, लाइबजीव युनिभर्सिटीमा प्राध्यापन र अनुशन्धान गरे । निवृत्त जीवनमा उनी फ्रान्स र जर्मनीका आफूले विद्वत् कर्म गरेका दुई वटा विश्वविद्यालयको निवृत्तिभरण नेपालमै बसेर लिइरहेका छन् । उनको नेपाल फिर्ती र समर्पणले उनको देशभक्ति चेतनालाई पनि बुझ्न सकिन्छ । उनकै पिताका प्रेरणाका रूपमा पनि लिन सकिन्छ ।
पन्त पिताका विद्यालयदेखि उठेर लेख्दै पढ्दै जर्मनी र फ्रान्सका विश्वविद्यालयका प्राध्यापक थिए । हामी कल्पना पनि गर्न सक्तैनौँ कोही जर्मनी र फ्रान्स जस्ता मुलुकको विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापक नेपाल फर्किन्छ भनेर । पन्त ती मुलुकका सबै सुविधा छोडेर नेपाल फर्किए । उनले आफ्नो जीवन अफ्नै भाषा र इतिहासको सेवामा समर्पित गर्ने निर्णय गरे । ती मुलुकमा ६५ वर्षको उमेरसम्म जागिरे जीवन बिताउन पाउने सानदार जागिरे जीवनलाई उनले ५९ वर्षको उमेरमा त्यत्तिकै छोडेर नेपाल आए । सबै सुविधा र आर्थिक मोह छोडेर मातृभषा र मातृभूमिको सेवामा समर्पित बने । त्यो समर्पणको अर्को नाम आज प्रतिष्ठित प्राज्ञ महेशराज पन्त बनेको छ ।
पन्तको बौद्धिकताका परिचायक पक्ष उनका लेख र कृतिहरू नै हुन् । उनका कृतिहरू जातरूपज कमेन्ट्री अन द अमर कोश, अन संस्कृत एजुकेसन, नेपाल संवत्को राष्ट्रिय मान्यताको अनौचित्य, नयराज पन्तलाई चिनाउनको लागि, नयराज पन्तको दृष्टिमा श्री ३ जङ्गबहादुर राणा, को हुन् त नयराज पन्त ? नयराज पन्तको दृष्टिमा श्री ५ पृथ्वीनारायण शाह, जनैपूर्णिमादेखि रानीपोखरी सम्म, इनेप्त पिसिमिन ? ह्वाट इज अंशुवर्मन राइट ? रिटेरिक अर ग्रामर जस्ता मैलिक ग्रन्थ हुन् । उनका यी कृतिहरू सम्बन्धित क्षेत्रका आधिकारिक कृति मानिन्छन् । उनका पछिल्ला तीन वटा कृति त पिताजी नयराज पन्तकै जीवन र कर्ममा आधारित छन् । पन्तले केही काम संयुक्त रूपमा पनि गरेका छन् । द टु अर्लिएस्ट कपर प्लेट इन्सक्रिप्सन फ्रम नेपाल, एडमिनेस्टे्रटिभ डकुमेन्टस अफ द शाह डाइनेस्टी अनसरमिङ मुस्ताङ एन्ड इट्स पेरिफेरी पन्तको सहलेखनमा तयार भएका कृतिहरू हुन् । यी कृतिहरूका सहलेखक क्रमश: ऐश्वर्यराज शर्मा र फिलिप पियर्स हुन् ।
पन्त बहुभाषिक विद्वान् व्यक्तित्व हुन् । उनी नेपाली, संस्कृत, अंग्रेजी र हिन्दीमा लेख्न–पढ्न सक्ने भाष्कि सामथ्र्य राख्छन् । उनी यी भाषा मात्र होइन यी भाषालगायत प्राकृत, नेवारी, जर्मन, फ्रेन्च, मराठी, बङगाली जस्ता भषा पनि सहजै पढ्न सक्छन् । अभिलेखीय भाषा अध्ययनका लागि उनी जति आधिकारिक अर्को व्यक्ति छैन । उनले आफ्ना कृति र लेखहरू लेखनको माध्यम भाषा भने नेपाली अंग्रेजी र संस्कृतलाई बनाउने गरेका छन् । उनका दुई सयभन्दा बढी गहन लेखहरू नेपाली र अङ्ग्रेजीमा प्रकाशित छन् । उनका सबै लेखहरू शोधलेखका रूपमा स्थापित छन् । उनका कृति र सामग्री प्रकाशनका लागि नेपाली भन्दा अन्तराष्ट्रिय पत्रिका र प्रकाशकहरूले चासो लिएको देखिन्छ । उनी इतिहासप्रधान त्रैमासिक पत्रिका ’पूर्णिमा’को उठानदेखिका सम्पादक पनि हुन् । यो पत्रिकालाई पन्त बन्धुहरू महेशराज र दिनेशराज पन्तले निरन्तरता दिइरहेका छन् । यसका करिब डेढ सय अङ्क प्रकाशनमा आइसकेका छन् । यो पत्रिकालाई नेपालको आधिकारिक विशिष्ट इतिहासप्रधान पत्रिका मानिन्छ ।
महेशराज पन्त भन्ने वित्तिकै संशोधन मण्डलको नाम जोडिएर आउँछ । यस संस्थाले नेपाली वाङ्मय क्षेत्रको सेवावापत जगदम्बाश्री पुरस्कार पायो । त्यो विशिष्ट पुरस्कार पाउँदा पनि पन्तले आफू मञ्चमा नचढी भाइ दिनेशराज पन्तलाई चढाएका थिए । त्यस पुरस्कार प्राप्तिको जस आफ्नै पितालाई दिएका थिए । त्यसबेला हलमा तातीको गडगडाहत छुटेको थियो । नेपालको इतिहासका प्राय: तथ्य बाहिर ल्याउने प्रवक्ता संस्थाका रूपमा यस संस्थाको शाख जीवन्त छ । नेपालको इतिहासमा आजसम्म जति तथ्य र प्रमाण बाहिरिएका छन् तिनमा ७५ प्रतिशत योगदान संशोधन मण्डलको छ भन्ने दावी पनि पन्तले गरेका छन् । नेपालको इतिहासका प्राचीन–मध्यकालीन र आधुनिक काल खण्डका अन्वेषकहरू प्राय: सबैजसो संशोधन मण्डलकै उत्पादन भएको तथ्य मध्यान्हको घामझैँ छर्लङ्ग छ ।
शंसोधन मण्डललाई पन्त परिवारको पाठशालाकै रूपमा पनि चलाउने र नयाँ पुस्तालाई इतिहासमा समेट्तै जाने योजना थियो । त्यो पाटोले भने निरन्तरता पाउन सकेन । पन्तले भने आफूलाई त्यही पाठशालको स्कलर ठानेका छन् । आज पन्त पाठशाला निरन्तरित नरहे पनि पन्तका सङ्गतबाट निर्मित शिष्य परम्परा जीवित छ । पन्त मार्गी बौद्धिक कर्म निरन्तरित छ ।
पन्त नेपालको इतिहासका विशिष्ठ विद्वान् हुन् तर उनी नेपालको राजनीतिक इतिहास मात्र लेखिएको र त्यसमा पनि पूर्णता नरहेको दावि गर्छन् । उनका अनुसार : ‘साँच्ची भन्ने हो भने राजनीतिक इतिहासमा पनि काम भएको छैन । काम केवल राजवंशको इतिहास (लिच्छवि, मल्ल, शाह वंश इत्यादि) मा मात्र भएको छ ।’ उनका अनुसार सर्वाङ्गीण इतिहास लेख्न शासकले आफ्नो कुरा प्रचार गर्न राखेका अभिलेख मात्र प्रयाप्त हुँदैनन् । उनी समग्र इतिहास लेखनका लागि प्राचीन कालदेखिका विभिन्न शास्त्रीय वाङ्मयको आलोडन गर्नुपर्छ । आजका इतिहासमा त्यो धैर्य ज्यादै कम मात्र छ । पन्तसँग रहेको इतिहाससंबद्ध ज्ञान अन्तर्वार्ता र अन्य विविध माध्यमबाट संरक्षण गर्न पनि ढिला गर्नु हुँदैन ।
वास्तविक इतिहास लेखनका लागि गरिने इतिहास चिन्तनमा पन्तको उक्त चिन्तन प्रयाप्त हुन सक्छ । पन्त नेपालको बौद्धिक जमातका कर्म र प्रचारप्रति सहमत देखिँदैनन् । उनका अनुसार यहाँ साधना भन्दा हल्लाका पछि लाग्ने विद्वान्हरू बढी छन् । स्वदेशी भन्दा विदेशी सन्दर्भलाई महत्त्व दिने बढी छन् । यसरी विदेशी सन्दर्भलाई महत्त्व दिने विद्वान्लाई उनले कतिपय लेख र अन्तर्वार्ताबाट निकै कटु आलोचना पनि गरेका छन् । ’नेपालका पब्लिक इन्टेलेक्चुअल’ शीर्षकको लेखमा उनले नेपालमा विदेशीको इसारामा नाच्नेलाई बौद्धिक भनिएको भनी कडा टिप्पणी गरेका छन् । उनले एक लेखमा नेपालका बौद्धिक व्यक्तित्वहरूलाई चार प्रकारमा वर्गीकरण गरी तिनका सीमा पनि तोकिदिएका छन् । ती चार प्रकारका विद्वान् हुन् : बन्दी, नागरक, घोषवृद्ध र सत्री । पन्तका अनुसार ती विद्वान्हरू हु्न् :
– बन्दी विद्वान् : राज्यको भाट अथवा चाकर विद्वान् ।
– नागरक विद्वान् : खानलाउन दु:ख नभएको विद्वान् । जो अनेकलाई भेला गराउँने, सेवक बटुल्ने, प्रचार गर्ने गर्छ ।
– घोषवृद्ध विद्वान् : उसलाई विश्वको ज्ञान केही हुँदैन, तर ऊ आफ्नो कुवाको व्याख्या यसरी गर्छ कि संसारमै पहिलो–ठूलो शान्त–सुन्दर भनेर आफ्नै वरिपरिको वर्णन गरेर बसिरहन्छ । यस्तो लेखक मेरो धर्म, मेरो संस्कृति, मेरो देश भनिरहन्छ । ऊ आफ्नो देश र प्रकृतिलाई संसारमा कहीँ नभएको सुन्दर, शान्त, विशाल भन्दै यसमै रमाइरहन्छ ।
– सत्री विद्वान् : आफ्नो विद्यालाई राजनीतिमा, शक्तिमा प्रयोग गर्ने लेखक या विद्वान् यस कोटीमा पर्छ ।
पन्तको यस वर्गीकरणमा नेपालमा वास्तविक विद्वान् र लेखकको अभाव देखिन्छ । जहाँसुकै आधिकारिक बौद्धिक व्यक्तित्वको अभाव देखिन्छ । उनका दृष्टिमा बौद्धिक भनेको त लाभ–हानिको ख्याल नगरी, सत्य र विवेकको धर्म कहिल्यै नछोड्ने निष्काम बुद्धिमान् व्यक्ति हो । उनी विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान र अन्य जिम्मेवार निकायहरूमा यस्ता विद्वान्को अभाव देख्छन् । नेपालका विश्वविद्यालयका नीतिनिर्माता पनि प्राय: उनीसँग बेखबर जस्तै छन् । उनी इतिहास, संस्कृति एवम् पुरातत्वको नयाँ पाठ्यक्रम निर्माण गरी यसलाई अगाडि बढाउन आवश्यक ठान्छन् ।
महेशराज पन्त नेपाल विद्याका आधिकारिक विद्वान् हुन् । उनले नेपाली बौद्धिक जमातप्रति केही आक्रोश र खिसी ट्युरी मात्र गरेका छैनन् त्यसका आधिकारिक प्रमाण पनि दिएका छन् । उनले आफ्ना प्राय लेखमा इतिहासमा नचाहिँदा कथा हाल्ने प्रवृत्तिको विरोध गरेका छन् । मिथकलाई मिथककै रूपमा रहन दिनुपर्नेमा मिथलाई इतिहास बनाइएका प्रति विरोध जनाएका छन् । लोककथा र मिथक इतिहास होइन भनेका छन् । हामीले मान्दै आएका राष्ट्रिय विभूतिप्रति पनि उनको विमती छ । विभूतिका नाममा ऐतिहासिक र प्रामाणिक तथ्यभन्दा धार्मिक र मिथकीय पात्र पुज्नु गलत हो भन्ने उनको बुझाइ छ । उनकाअनुसार लडाइँमा हार्ने अमरसिंह र बलभद्र विभूति भएर पुजिने तर लडाइँमा जित्ने पाल्पाका उजिरसिंह अथवा पूर्वका भक्तवीर इतिहासमै उल्लेख नहुने प्रवृत्ति नेपाली इतिहासमा छ । उनी यस्ता कतिपय पक्षको खुलेरै विरोध गर्दै आएका छन् ।
राष्ट्रिय विभूति र अविभूतिका विषयमा पन्तले आफ्नै पिताले २००७ मै लखेको लेखलाई आधार मानेर जङ्गबहादुरले गरेको जति अपराध त भीमसेनले पनि गरेको पक्षलाई दोहोर्याउँदै आएका छन् । दुवैले राजालाई थपना बनाएर शासन गरेको पन्तको ठहर छ । कसैको पक्ष नलिई इतिहास पढ्दा भीमसेनको पालामा मुलुक गुमाएको, जङ्गबहादुरको पालामा थपिएको पक्षलाई उनले महत्त्वसाथ उठाउँदै आएका छन् । आज हामीले भीमसेनलाई विभूति मानिरहेको र जंगबहादुरलाई अन्धकार युगका प्रवर्तक मानिएको पक्षलाई महत्त्वसाथ चर्चामा ल्याइराखेका छन् । यस विषयमा नयराज पन्तले नै प्रश्न उठाएका थिए । आफ्ना पिताले उठाएको यस ऐतिहासिक विषयमा पन्तले निरन्तर कलम चलाइरहेका छन् । उनी प्राय: अन्तर्वार्ताहरूमा बोलिरहेका छन् । अहिले उनी पूर्णिमाको नयाँ अंक १४५ तयार गर्दै छन् । उनका पिताजीले लेखेको २००७ सालदेखि २००८ साल सम्मको संस्कृत भषाको डायरी यथावत छापेर त्यसको अनुवाद र टिप्पणीसहितको कृति तयार गरिरहेका छन् । नेपाल सरकारले संशोधन मण्डललाई केही सहयोग गरेकाले त्यसको डिजिटाइजेसन र सूचीपत्र निर्माणमा लागिरहेका छन् । उनलाई यी र यस्ता अनेक काम भ्याइ नभ्याइ छ ।
पन्त नेपालको पठन संस्कृतिप्रति पनि त्यति सन्तुष्ट छैनन् । उनी पठन संस्कृति छैन भन्दैमा लेखक, अनुसन्धाताहरू थाक्नु नहुने तर्क गर्छन् । उनका अनुसार लेखकको काम लेख्नु हो । उनी निरन्तर अन्वेषण गरिरहने र लेखिरहने कुरामा दृढ छन् । उनी पहिलादेखि नै कुनै शासकका प्रभावमा नपरी सत्यतथ्यमा आधारित रहेर कलम चलाउने इतिहासकार हुन् । उनले स्रोत उल्लेख नगरी लेखेको लेखलाई चोरी भन्ने गरेका छन् । उनले आफ्ना अधिकांश लेखलाई शोधपरक ढङ्गले सन्दर्भसहित प्रस्तुत गर्ने गरेका छन् । यो पन्तको अभियान नेपाली बौद्धिक गुरुकुलकै लागि अभिप्रेरक पक्ष हो ।
महेशराज पन्त भूकम्प विज्ञका रूपमा, भूकम्पको अन्वेषकका रूपमा पनि सक्रिय देखिन्छन् । उनका अनेक लेख भूकम्पको इतिहास, त्यसका क्षति र पुननिर्माणसँग सम्बन्धित छन् । उनले १२८० देखिको २०७२ सम्मको भूकम्पको इतिहास प्रस्तुत गरेका छन् र औसत कति समयमा एक अर्को ठूलो भूकम्प जाँदो रहेछ भन्ने निष्कर्ष निकालेका छन् । उनका लेखअनुरूप हामीले हाम्रा मठमन्दिरको पुननिर्माण र अभिलेखहरूको संरक्षण गर्न सकिने अनेक सम्भावना देखिन्छ । ती सम्भावनालाई नीतिनिर्माताहरूले पनि बुझ्न आवश्यक छ ।
समापन
महेशरराज पन्त जस्ता बौद्धिक व्यक्तित्व सक्रिय रहनु नेपाली जातिका लागि गौरवको कुरा हो । ज्ञान र बौद्धिक समर्पणको प्रमाण अहिले नै देखिइहाल्दैन । यसले विस्तारै समाजका आँखा तिखा र चेतना गहिरो बनाउँदै लैजान्छ । पन्तको देश विदेशमा रहँदाको बौद्धिक क्षेत्रको विस्तार योजना र कार्य नेपाली बौद्धिक परम्परामा उल्लेख्य छ । पन्तको बौद्धिक कर्मका पृष्ठभूमिमा उनका पिताजीको अभिप्रेरणा देखिन्छ भने जीवनकालमा उनको आफैसँगको निरन्तर प्रतिस्पर्धा देखिन्छ । कुनै एक जना व्यक्ति देश विदेशमा कहलाउने विद्वान् व्यक्तित्व बन्न के गर्नुपर्छ भन्ने जान्नलाई डा. महेशराज पन्तलाई हेरे पुग्छ । उनीबाट नेपाली समाजले सिक्न र लिन सकिने कुरा धेरै छन् तर समाजमा त्यस किसिमको रुचि भएका व्यक्तित्वहरूको अभाव छ ।
सन्दर्भ
पन्त, महेशराज, लेखका नायक
पन्त, दिनेशराज, प्राध्यापक एवम् प्राज्ञ, महेशराज पन्तका भाइ
शुभेच्छु, रमेश (२०७५) ‘ ऋषितुल्य इतिहासकार : महेशराज पन्त’