माया ठकुरी (२००४) नेपाली साहित्यकी विशिष्ट आख्यानकार हुन् । उनले निरन्तर नेपाली आख्यानअन्तर्गत कथा विधामा कलम चलाउँदै आएकी छन् । कथाकार ठकुरी नेपाली कथाका क्षेत्रमा निरन्तर क्रियाशील स्रष्टा हुन् । यिनका नजुरेको जोडी (२०३०), गमलाको फस्ल (२०३३), साँघु तरेपछि (२०३९), चौतारो साक्षी छ (२०४६), माया ठकुरीका कथाहरू (२०४८) र आमा जानुहोस् (२०६०) जस्ता छ वटा कथासङ्ग्रहहरू प्रकाशित छन् । यिनका सबै कथामा सामाजिक विषयवस्तुको उठान गरिएको हुन्छ । विविध कारणले समाजमा पछि परेका वा पारिएका पात्र र परिस्थितिको चित्रणमा रुचि राख्ने भएकाले यिनका कथा कला र विषयले पनि निकै प्रभावकारी देखिन्छन् । उनका कथामा कला र विषयको संयोजनले लोभलाग्दा लाग्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘द पाइड पाइपर’ शीर्षकको कथा समेटिएको छ । यस कथाले द पाइड पाइपर कथा पढ्दै टेलिकमको एउटा सञ्चार अफिस सञ्चालन गरिरहेको पात्रले देखे भोगे र सुनेका कुराका माध्यमबाट मानिस सामान्य कुराका लागि कसरी सन्तानलाई बन्धक बनाउँछन् भन्ने कुरा देखाएको छ । मुसाको आतङ्कबाट बचेका ह्यामिलिनवासीहरूले ठूलो मूल्य चुकाउनु परेको कथाबाट नेपाली समाजको विदेश मोहले समय क्रममा ठुलो मूल्य चुकाउनु पर्ने पक्ष उजागर गरेको छ । -सम्पा. |
टेबलमा राखिएको फोन र त्यससँग सम्बन्धित यन्त्रहरू पुछपाछ गर्ने क्रममा मैले चित्रकथा भएको द पाइड पाइपर पुस्तक भेट्टाएँ | यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरूमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ , मनमनै सोंचे | सरसफाईको काम सिध्याएपछि यो पुस्तक पढन थालेँ |
जर्मनीमा ह्यामिलिन नाउँ गरेको सहर थियो | त्यस सहरका बासिन्दा सुख – शान्तिपूर्वक जीवन बिताइरहेका थिए |
एक दिन अचानक त्यो सहरमा हजारौँको संख्यामा मुसा आए र सहरमा जताततै उत्पात मच्चाउन थाले | मुसाहरूले बच्चाहरूलाई टोक्न र बाटामा जे – जे भेटिए ती सब नष्ट गर्न थाले | मुसाको आतङ्कबाट ह्यामिलिनवासी ज्यादै भयभित भए |
मुसा आतङ्कको समस्याबाट बच्नका लागि सहरवासीले अनेक उपाय गरे, तर सफल भएनन् | त्यति धेरै मुसा मार्नका निम्ति सहरमा प्रशस्त बिरालाहरू पनि थिएनन् | एक दिन मुसाका कारण उत्पन्न समस्या समाधान गर्ने उपायबारे छलफल गर्न त्यहाँका सहरप्रमुखले बोलाएको आपतकालीन बैठकमा सहरावासीहरू भेला भए |
” ए भाइ .. ! अमेरीकाको एउटा नम्बर मिलाइदिनोस् त …! भन्दै एक जना अधबैँशे व्यक्ति एक किशोरीसँगै आए र मेरो अघि नम्बर लेखेको कागज राखिदिए !
ती व्यक्ति फोनमा बोल्न लागे – ” अँ .. अँ ..म बुवा बोल्या हो | के छ त तेरो हालचाल ? ए … काम पाईस् …. ! ठिक छ, ठिक छ | अहिलेलाई जे जस्तो काम पाइन्छ त्यसैमा झुन्डी .. जसरी भए पनि आफ्नो पढाइ र बस्ने खाने खर्चको जोगाड गर्ने काम गर्नु ! के अरे ? अँ .. यताको हालखबर उस्तै छ | काम र मामको समस्याले गर्दा मानिसहरूको बेहाल भएको छ | महंगीको त कुरै नगर ! जनतालाई जीवन धान्नै गाह्रो छ | बेरोजगारीको कारणले गर्दा जताततै हत्या, लुटपात, अपहरणजस्ता आपराधिक गतिविधि बढेको बढ़यै छ | बिहान घरबाट हिंडेको मान्छे बेलुका फर्किने हो कि होइन कुनै ठेगान हुँदैन | जे होस्, तैले त्यहाँ दु:ख गरेर केही गर्न सकिस् भने केही होला कि भन्ने आश छ , नत्र त .. खोई के भन्ने ! ए .. ल यहाँ तेरी बहिनीले पनि तँसँग कुरा गर्ने रे , ल गर .. ! ” त्यसो भन्दै उनले फोन युवतीको हातमा थमाइदिए |
” दादा ! दर्शन … सन्चै होइसिन्छ ? हजुर .. हजुर .. हो मेरो पनि अब छिट्टै नै रिजल्ट हुन्छ | मेरा जम्मै साथीहरू उच्चशिक्षाका लागि उतै जाने भन्दैछन् | म पनि त्यहीँ आएर पढछु है दादा .. ! ” युवतीले आफ्नो दाजुसँग अनुनय गर्दै बोलिन् |
” खोई ल्या, यता म बोलुं .. ” युवतीको पिताले छोरीको हातबाट फोन लिएर बोले ” के अरे .. ? आमाले के भन्छे भनेको .. ? उही त हो नि जति खेर पनि अब मेरो छोरोसँग कहिले भेट हुने हो .. भनेर रोइरहन्छे | अँ .. सम्झाउनुसम्म सम्झाएँ , हाम्रो छोरो मात्र विदेश गएको होइन , यहाँ घरैपिच्छेका छोराछोरीहरू विदेशिएका छन् भनेर कत्ति भने , तर सम्झने होइन | ल त अहिलेलाई फोन राख्छु | राम्ररी काम गर्नु ! बरालिने काम नगर्नु ! ” त्यति भनेपछि उनले फोन राखीदिए र पैसा तिरे | ती बाबुछोरी गएपछि मैले फेरि ****** द पाइड पाइपर ****** को कथा पढन थालेँ |
****** अचानक ह्यामिलिन सहरमा अनौठो पहिरन लगाएको मानिस आयो | त्यो नौलो मानिसले लगाएको टोपीको किनारमा हरियो रंगको प्वाँख सिउरेको थियो भने कम्मरमा एउटा बाँसुरी घुसारेको थियो |
” म तपाईंहरूलाई मुसाको आतङ्कबाट छुटकारा दिलाउन सक्छु | ” त्यो मानिसले भन्यो | ” तर त्यसको सट्टामा तपाईंहरूले मैले मागेको रकम दिनुपर्छ | “
सहर प्रमुख र सहरावासीहरूले त्यो मानिसले भनेको सर्त माने | उसको नाम सोधे |
” मेरो नाम पाइड पाइपर हो ” उसले भन्यो |
त्यसपछि त्यो बाँसुरीवादक सहरको छेउ भएर बगिरहेको नदीको किनारामा गएर तन्मयताका साथ बाँसुरी बजाउन थाल्यो |
पाइड पाइपरले बजाएको बाँसुरीबाट निस्केको जादुई धुन सहरभरि तरङ्गित हुन थाल्यो | सहरका कुनाकाप्चाबाट निस्केर ताँतीका ताँती मुसाहरू बाँसुरीको धुनलाई पच्छ्याउँदै नदी किनारतिर लागे | नदीको किनारमा पुगेपछि सबै मुसाले नदीमा हामफाले र विलिन भए | त्यसपछि त्यस सहरमा एउटा मुसा पनि बाँकी भएन |
सहरवासीहरूले त्यो दृश्य आफ्ना घरका झ्याल, कौसी र खुला ठाउँबाट हेरिरहेका थिए | मुसाबाट छुटकारा पाएकोमा ज्यादै खुशी भएका सहरवासीले खुसियाली मनाए !******
” दाइ एउटा नम्बर मिलाइदिनुहोस् त अमेरिका … ! ” एक हुल विधार्थी आए र एकले निकै चुरीफुरीका साथ भन्यो | मैले द पाइड पाइपर बन्द गरेँ र उसले भनेको नम्बर मिलाउन प्रयत्न गरेँ | उताको घण्टी बज्न थालेपछि मैले फोन दिएँ |
” को रतन दाइ हो .. ? म विजय बोल्दै छु | अँ .. हो .. हामी आठै जना साथीको भिसा मिल्यो | अँ .. हाम्रो पुरै ग्याङ उतै आउने भयो | काम त पाइएला नि ! होइन दाइ , एकपटक जसोतसो त्यहीँ छिर्न पाए त भइगयो नि .. अँ मिनु दिज्युहरू पनि स – परिवार त्यतै आउनुहुनेछ | ल .. ल .. भिसा पाएको कुरा दाइलाई यसो खबर गरिदिउँ भनेर फोन गर्या हो | भेटमा कुरा गरौँला | “
” के हो भाइ ? तपाईंहरू सबै विदेश जाने हुनु भयो कि क्या हो ? ” मैले उसको हातबाट पैसा लिँदै प्रश्न गरेँ |
” अँ दाइ सबै उतै जाने भइयो … | ” अनुहार उज्यालो पार्दै प्रफुल्लित स्वरमा अघिकै केटो बोल्यो | ” तपाईंहरू युवा जति यसरी विदेशीएपछि यो देशमा को बस्ने त ? बुढाखाडा र अशक्तहरू मात्रै ? ” मैले खुद्रा फर्काउँदै भनेँ | उसले केही उत्तर दिएन |
उनीहरू गएपछि फेरि … द पाइड पाइपर पढ्न थालेँ |
पाइड पाइपरले ह्यामिलिएनवासीलाई मुसाको आतङ्कबाट छुटकारा दिलायो र ऊ आफूले पाउनुपर्ने रकम लिनका लागि सहरप्रमुख कहाँ गयो | सहरप्रमुखले असाध्य लालची थियो | उसले पाइड पाइपरलाई आफूले कबोले जति रकम दिन मानेन | सहरप्रमुखले धोका दिएकोमा पाइड पाइपर एकदमै रिसायो | उसले सहरवासीहरूलाई सजाय दिने निर्णय गर्यो | ऊ सरासर सहरदेखि बाहिर गयो र एकनाससँग बाँसुरी बजाउन थाल्यो |
” ए भाइ ! छिटो एउटा नम्बर मिलाइदिनोस् त … | ” हतारिंदै आएका एक जना ग्राहकले मेरो अघिल्तिर नम्बर राखिदिए | हातमा फोन लिनासाथ उनी बेस्सरी कुर्लिन थाले – ” केरे …? पढाइ सकिएपछि यतै फर्कन्छु भन्छस् अरे ? तँ आमा – छोराले कुरा मिलाएर हुँदैन बाबै ! भन्दिया छु | आफू पार्टीमा लागेको हुनाले कत्रो तिगडमबाजी गरेर तँलाई पूर्ण छात्रवृतिमा पढन पठाएको | लरतरो मान्छेले गर्ने नसक्ने काम हो यो | तँ भने बडो देशभक्त बन खोज्ने ? यहाँ न जिउ – धनको सुरक्षा छ , न त भविष्यको | पढाइ सिध्याएपछि पनि यता फर्कने होइन , भनिदिया छु | त्यहाँ तँ जस्ता लाखौँ युवा छन् आफ्नो दुनो सोझ्याउन बसेका , बुझिस् ? ल | पछि कुरो गर्दै गरौँला | ” हाँडीमा मकै पडकेको झैँ गरेर आफू मात्र एकोहोरो बोलेपछि फोन राखे उनले |
” लौन बाबु ! छोरोको फोन मिलाई दिनुहोस् न ! ” नियमित जस्तै फोन गर्न आइरहने एक बूढीआमाले मेरो अघि आएर भनिन् | बिचरी बूढी आमैले हिजो बेलुकी पनि आफ्नो एक मात्र सन्तान छोरासँग कुरा गर्न खोज्दा उता फोन नै उठेन |
” बस्नोस् न आमा ! ” मैले भनेँ, र उनले दिएको नम्बरमा फोन मिलाउने प्रयास गरेँ | बल्लतल्ल घण्टी बज्यो, तर उताबाट अहिले पनि कसैले फोन उठाएन | निन्याउरो अनुहार पारेकी बूढीआमैलाई ” एकछिनपछि फेरि कोशिस गरौँला है त आमा” भनेँ |
” यसबाजी त छोरालाई निक्कै छिटो फोन गर्न लाग्नुभयो नि आमा … ! ” मैले कुरो कोट्याएँ |
” हो बाबु , मेरा देउरानी र उनका छोरी – ज्वाईं सबै तिर्थ जाने भएका छन् | मलाई पनि जाउँ भनेका छन् | संगी – साथी पाएपछि मैले पनि जाने आँट गरेकी छु | यत्रो ठूलो काम आँट्दा छोरासँग एकपटक सोध्नै पर्यो | ” उनले भनिन् “तपाईंको छोरा विदेश गएको त निकै वर्ष भइसक्यो होइन आमा ? मैले फेरि सोधेँ |
” हो बाबु … आउँदो मंसिर चार गते उसले देश छोडेको आठ वर्ष लाग्छ | “खुइया गर्दै उनले भनिन् |
” अनि यत्तिका वर्ष बित्दा पनि उनी यता आउन खोज्दैनन् त ? ” मेरो मुखबाट कुरा फुस्कियो |
” खोज्छ बाबु … आउन त किन नखोज्नु , तर खोई कुन्नि कस्तो कागज बनाउन नसकेको हुनाले हो , आउन सकेको छैन भन्छ | बरा आफू जन्मेको , हुर्केको गाउँघर सम्झेर कति रुँदो हो उनको मन | ” भावविभोर हुँदै भनिन् उनले |
” तपाईंसँग यहाँ को बस्छ त ?” मैले फेरि प्रश्न तेर्स्याएँ |
” एउटी मजस्तै बूढी छिन् | हुन त उनी मेरी कतिपट्टीको पनि नातागोता होइनन् , तर बालविधवा भएर गाउँमा साह्रै दु:ख पाएर बसेकी थिइन , उनैलाई मैले साथमा राखेकी छु | भयो धेरै वर्ष | अब त हामी एकै आँतका दिदी – बहिनि जस्तै भएर बसेका छौँ | “
फेरि फोन लगाउने कोशिस गरेँ | यसबाजी पनि उता घण्टी गइरह्यो, तर कसैले पनि फोन उठाएनन् | ” होइन यति विघ्न कोशिस गर्दा पनि उता किन फोन उठेन बाबु … ! कतै मेरो छोरो बिरामी परेर पो कोठामा नभएको हो कि ..! लौ न प्रभु अब म के गरौँ ? ” एकाएक अधीर भएर विवशतापूर्ण स्वरमा भनिन् उनले |
” पिर नगर्नुहोस् आमा , तपाईंको छोरो अन्त कतै गएका होलान् | भरैभोलि फर्कन सक्छन् | ” मैले उनको मडारिएको मनलाई धेरै कुरा भनेर सान्त्वना दिने प्रयास गरेँ |
” छोरो देश छोडेर परदेश गएको यत्तिका वर्ष भइसक्यो , तर मेरा आँखामा भने विदेश जान ऊ हिँडेको दिनको घटना अझै पनि झलझली नाचिरहन्छ | त्यस दिन उसलाई जहाजसम्म पुर्याउन म पनि गएकी थिएँ | बाटाभरि ऊ मेरो हात समातेर भक्कानिएर रोइरह्यो | रुँदारुँ दा मेरा आँखाहरू पनि बारुलाले डसेजस्तै गरी सुन्निएका थिए | जहाज आएपछि ऊसँगै सबै यात्रुहरू लाम लागेर गए | उसले एकपटक पनि फर्केर हेरेन | ऊ जहाजभित्र पस्यो | जहाजको ढोका बन्द भयो | त्यसपछि ऊ कता हरायो कता ? ” भन्दै बूढी आमाले हत्केलाले आँसु पुछ्न थालिन् | उनको अवस्था देखेर मेरो मन साह्रै नै कुँडियो |
बूढीआमा दिउँसो फेरि आएर छोरासँग कुरा गर्ने मनसाय जनाएर घरतिर लागिन् | त्यसपछि मैले… द पाइड पाइपर… को कथा पढ्न थालेँ |
पाइड पाइपरले बजाएको एक तमासको धुन ह्यामिलिन सहरभरि गुन्जिन थाल्यो | त्यो धुन सुनेर सहरका बालबालिका पाइड पाइपर भएतिर गइरहेका थिए | आफ्ना बालबालिका पाइड पाइपरलाई पछ्याउँदै गइरहेको देखेर तिनका अभिभावकहरूले उनीहरूलाई फर्काउन अनेक प्रयत्न गरे, तर बालबालिकाले पछि फर्केर पनि हेरेनन् |
अन्त्यमा , त्यो पाइड पाइपर बच्चाहरूसहित एउटा पहाडको नजिक पुग्यो | उनीहरू पुगेको पहाड बिचमा चिरियो | पाइड पाइपर बाँसुरी बजाउंदै चिरिएको ओढारभित्र पसे | त्यसपछि त्यो ओढारको ढोका बन्द भयो | बिस्तारै बाँसुरीको धुन पनि सुनिन छाड्यो | त्यसरी सहरवासीले आफ्नै आँखाको अगाडि आफ्ना लालाबालाहरू ओढारमा कता हो कता विलिन भएको देखे | अभिभावकहरू दु:ख र पीडाले आकुलव्याकुल भएर शोकमा डुबे |******
मुसाको आतङ्कबाट बचेका ह्यामिलिनवासीहरूले यसरी ठूलो मूल्य चुकाउनु पर्यो |