शिवप्रसाद जैशी नेपाली साहित्यमा पछिल्लो समय निकै सक्रिय रूपमा लागेका प्रतिभा हुन् । उनी कविता र आख्यान दुवै विधामा कलम चलाउँदै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘नचिनेको घर’ शीर्षकको कथा समेटिएको छ । यस कथालाई निबन्धात्मक शैलीमा प्रस्तुत गरिएको छ र यसको भाषाशैलीमा सुदूर पश्चिमको लवज छ । यसले नेपालको विकास अरूसँग हात थापेर खानेहरूले गर्न नसक्ने र स्वावलम्बीले मात्र गर्न सक्ने सन्देश दिएको छ । -सम्पा. |
मीनपचासको पर्खाइमा बसेको सिमसिम पानी परिरहेको त्यो बिहानी । पूर्वतिरको उसको हिँडाइमा चिसोको अनुभूतिले तातो मनलाई शीतलता भन्दा ठण्डाको मात्रा थप्दै गइरहको थियो । शरीरका अवयभहरूलाई थोरै न्यानो चाहिएको थियो क्यार ? खुट्टाहरूको चाल औसत भन्दा अलि बढ्दै थियो । शरीर र मनबिच ठयाक्कै एकता थिएन । भौतिक शरीर बिरानो ठाउँको गल्लीमा भौतारिएको पनि होइन, अमन चैन पनि होइन, बेचैन पनि होइन अर्थात् औसतमै बिरानो आगन्तुक जस्तै थियो ।
अन्तरआत्मा कता कता विन्दास भएर उही पाखाहरू पखेराहरूसँग एकाकार गर्दै ऊफ्रिँदै, दगुर्दै, कल्पिँदै अर्थात् औसत भन्दा धरै माथि उल्लासित मुद्रामा थियो । भन्थ्यो त्यो बाटो, त्यो पँधेरो, त्यो चौतारी, त्यो स्कुल, त्यो स्वास्थ्य केन्द्र, त्यो हुलाकी घर, … बनाउनै पर्छ । आफ्नै दौँतरी भन्दा अलि सानो त्यो लोगे, त्यो मने, त्यो गोरे, त्यो धना, त्यो इन्द्रा त्यो भन्दा नि साना कोको, को नाङ्गो आङ ढाक्ने व्यवस्था गर्नैपर्छ ।
ऊ बहकिदै गयो । सम्झ्यो त्यो पल्लाघरे बम्बैमा छ । गैराघरे कल्याना छ रे ? ठुलाघरे बालखैमा गएको रे हैद्राबादमा छ रे ? अनि भडारी गाउँको छेउघरे जेठो त काला पहाडतिर गएको बिसौं बर्ष भयो रे ? कता कता अत्तोपत्तो छैन । खोज्नै पर्छ, ल्याउनै पर्छ ।
सानै हुँदा देखेका दुःख र सुखका घटनाहरू बेग्रेल्ती एकपछि अर्को मानसपटलमा डेरा जमाउन थाले । दमिनी बज्यै ज्वरोले गइन्, भरखर सत्र टेकेकी लुहारी काकी एक हप्तासम्म सुत्केरी व्यथाले छटपटाइन् र मरिन् । मसानघाटमा उनको पेटबाट बच्चा निकालेर आमाछोराको छुट्टाछुट्टै चिहान बनाएर दाहासंस्कार गरे । कोलघरे बाहुनी आमै भिरबाट लडेर एक महिनासम्म छटपटिएर देहत्याग गरिन्, धारा घरे क्षेत्रीनी भाउजु रुखबाट खसेर उनको इहलिला समाप्त भयो । काले बाजेको खुट्टामा कोदाली लागेर निस्केको घाउ अल्झिएर कुहिँदै झर्दै थलिएर बर्षौपछि संसार छाडे । गाउलेले मन बाँडे, भावना साटे, अपशोच बारे । मनको एउटै तर नचिनेको घरबाट छुट्टिएर आ–आफ्नो घरतिर लागे । गर्नैपर्छ केही त गर्नैपर्छ ।
पोहर साल पल्लो घरमा दशैँ नहुदा आमाले चारपाँच वटा लाउन ९पुरी), त्यतिनै बाबर ९सेलरोटी), काँसको बटुकामा बलिदिएको बोकाका शिकारको चार फिणका ९टुक्रा) र अलिकति झोल पुर्याउन जाँदा पल्ला घरे ठुली आमै एक्लै फतफताउदै “कती पो खानु आफ्नो घरमा असुद्ध हुँदा उल्ले पनि दिन्छ, उल्ले पनि पुर्याउछ आहा कती राम्रो यो गाउँ । आफ्नो दिने पालो कहिले आउला” भन्दै गरेको सुनेको थियो ।
डाँडा घरे साइलाकाकाको छारीको बिहेमा अनाजको अभावहुँदा गाउँका सक सय पाँच घरधुरी स्वइच्छाले दैलापाथिको दरले जम्मा गरेर धुमधाम विहे सम्पन्न गरे । गाउँलेको चुस्त व्यवस्थापनले दुलही लिन आएका जन्तीले अन्न अभावको सुइँकोसमेत पाएनन् ।
पारिलो भिरका सन्ते बाज्याको भत्किएको घर बनाउन उपल्लोघरे बैदारले उर्दी जारी गरे “बच्चा, बृद्ध, बृद्धा र असक्तबाहेक सबैले पाँच दिन सघाएर घर बनाउनु पर्यो ।” गाउँले हौसिए । कम्मर कसे । ठाँटी घरे साइलाले सीप र वर्गतअनुसारको कामको जिम्मा सबैलाई दिए । घर बन्यो । मनको घरले धनको घर निर्माण भयो ।
गल्ली छिचोलिँदै थियो । पाइला बढ्दै थिए । अलिकति शीत, अलिकति पानी, बालुवा, माटो र धुलो मिश्रित ग्राबल सडकमाथि घस्रिएका चप्पलहरूको मुन्तिर टाँसिएको हिलो र धुलोको चप्टाइले हिँडाइलाई असजिलो बनाएको महसुस हँुदैथियो । नजिकैको घरले बोलाए जस्तो भान भयो । घर आफ्नै जस्तो तर आफ्नो थिएन । घरहरूको समूहमा फरक घर । माया लाग्दो घर । उतैको घर । बोली र भाषा मिल्ने घर । जन्मस्थानसँग साइनो गाँसिएको घर । भावना साटिएको घर । दुरुस्त गाउँको जस्तो होइन तर उस्तै लाग्ने ।
एक्कासी एउटा ट्रिपरले ठुस्स फ्याँकेको धुवाँको मुस्लोेले उसको शरीर पुरै ढाक्यो । उसले केही देख्न सकेन । बाँच्न असम्भव महसुस गर्यो । स्वास रोक्यो । निस्सासियो । एउटा घरको कुनापटि अनुहार लुकाएर लामो सास फेर्यो ।
टक्क रोकियो । सोच्यो कति बर्ष, कति पैसा, कति सामान लगाएर बनाएको होला ? उही गाउँबाट आएकोले बनाको घर हो । बाले भनेका थिए हाम्रो गाउँको बुद्धिप्रसादले पढेर ठुलो मान्छे बनेर काठमाडौँमा घर बनाएको छ । खै बुद्धिप्रसादका बा त आँगनमा पाठापाठी र बाच्छाबाच्छीसँग खेलिरहन्थे । मसँग पनि बाच्छा बाच्छीसँगको जस्तै जिस्किन्थे । कहिले मही, कहिले दूध, कहिले केही, खान दिन्थे, जे होस् त्यसै जान दिन्थेनन् ।
सानोमा मेरा दाँत झरेका बेला ए थोते मकै खाएर जाऊ भन्ने पनि तिनै हुन् क्यार ? मिजासिला, फराकिला, रमाइला । यो घर त सुनसान छ । अलिकति स्फुर्ति घटेको महसुसगर्यो उसले । घटेको जाँगर सँगै मन्द गतिमा हिडाइलाई निरन्तरता दियो । चाल बढ्दै गयो । घामको झुल्काले सहरलाई आफ्नो नियन्त्रणमा लिएसँगै गाडीको भिड बढ्दै थियो । सिसिमे पानी र शीतको ठाउँ डुङडुङती उड्ने धुलोले ओगटिसकेको थियो । दाहिने हातले हम्काएर आँखा, नाक र मुखभित्र पस्न लागेको गाडीका पाङ्ग्राकै गतिमा उड्ने सडकको धुलो र पाचन शक्ति कमजोर भएका गाडीले फ्याँक्ने धुवाँबाट बच्न खोज्दै थियो । एक्कासी एउटा ट्रिपरले ठुस्स फ्याँकेको धुवाँको मुस्लोेले उसको शरीर पुरै ढाक्यो । उसले केही देख्न सकेन । बाँच्न असम्भव महसुस गर्यो । स्वास रोक्यो । निस्सासियो । एउटा घरको कुनापटि अनुहार लुकाएर लामो सास फेर्यो । क्याम्पस जानुपर्ने उसको लुगा हेर्न लायक थिएन तैपनि उसँग विकल्प थिएन ।
कक्षामा बस्न मन लागेन उसलाई । क्याम्पसभित्रको हाँगा र पात धुलै धुलोले लपक्क पारेको हरीयो रूप हराई सकेको तर प्राण बाँकी रहेको एउटा बुटामुन्तिर बुटातिरै मुख फर्काएर अरूले अनुहार नदेख्ने गरी आफै झुकेको निधारमा हात राखेर पलेटी कसेर बस्यो । बाटो बिराएको नक्सा बिहिन र दिशा पत्ता लगाउन नसकिने मौसमी अबस्थाको चौबाटो को यात्री जस्तै ।
व्यवस्थापन पढेर के गर्ने जानुपर्ने बम्बै होकी जहाँ मेरा दौतरीहरू बर्षौ देखी काम गर्दै छन । अमेरीका युरोप जान सक्ने त कुरै भएन । बाले काठमाण्डौको पढाई खर्च त कसरी धान्नु भएको छ थाहा छैन । अंगे्रजी त फिटीक्क आउदैन । ऊफ! यो अंग्रेजी त कसले बनाएको होला न पढी नहुने । कतार, दुबै, साउदी कता जाने खै । जहाँ गएपनि काम के गर्ने ? सीप, इलम केही सीकेको छैन । कोरा कीताबी ज्ञान त्यो पनि निमा फोटो कपिको गेसपेपर पढेर जेनतेन पास गरेको । आ स्वदेशमा के पो छ र ? भाको भए नेताहरूले मागेको मागेइ गर्थे ? कर्णाली पुल मागेर बनाको, व्यवस्थापिका बैठक बस्ने संसद् भवन मागेकै हो । सडक मागेरै बनाको, पानीको पाइप मागेरै फिट गरेको । देश चलाउने राजनिति माग्न झनै विदेश जानु पर्ने, राजनीतिक शिक्षा दानका लागि केही थान विदेशीहरू यतै डेरा होइन घरजमै गरेर बसेका छन् रे , केहीले दूरभाषबाट दिक्षित गर्छन् रे । “माक्र्सवाद, समाजवाद, पँुजीवाद वा मिश्रित अर्थव्यवस्थाका सिद्धान्त जे जे बुझेका छौ सबै बिर्सिदिनु, हामिले जे भन्छाँै त्यसैलाई राजनीतिक सिद्धान्तका रूपमा अङ्गिकार गर्नु, त्यो भन्दा बढी जान्ने नबन्नु, अर्थ बुझ्ने प्रयास नगर्नु हामी तिमीहरूका लागि चाणक्य, अरस्तु, मिकायोभ्याली, माक्र्स……..सबै हौँ ” भन्ने आदेश छरे अर्थात् उसले सानो छँदा पढेको चण्डी जस्तेै अर्थ नबुझी पढनु रे ? अनि नेताहरूका सन्तान मागेरै छात्रबृतिमा पढ्छन् रे ? माग्न बाँकी के छ खै कुन्नि ? धन्न मेरा बाले आफ्नै पसिनाको कमाइले पढाका छन् मलाई । “घरबाट आउदा मागेर नखाउ, मागेकोले सधैँलाई पुग्दैन आफ्नै बलबुताले गर्यो भने भावी पुस्तालाईसमेत पुग्छ ।” भन्ने अर्ती थियो बाको । फेरि उसको मन दोहोरिन्छ । होइन यी नेताहरूका बाले पनि मेरा बाले जस्तै दुःख जिलो गरेरै पढाका थिए रे त किन यिनीहरूले आफ्ना सन्तान आफै पढाउन सकेनन् । आ बेकार छ छोराछोरी त मागेर पढाउनेले के देशको व्यवस्थापन गर्छन् ?
उसको मनले शरीलाई छोडयो, हलुको महसुस गर्यो, चंंगा बन्यो र उडन थाल्यो । उसले सोच्यो, हो त दुःख र सुख मात्र कहाँ हो र यहाँ त हरियाली सुन्दर वनकुन्ज छ । अन्न उब्जाउने पाखाबारी र खेतहरू बाझामात्र हुन् अझै कंक्रिटाइज हुन त बाँकी नै छन नी ! संसारका लागि दुर्लव प्रसस्त मात्रामा पानीको स्रोत छ । आकर्षक हिमाल, नदी, वान्कि परेका सुन्दर भूवनोट र बस्तीहरू, विभिन्न जातजातिका चाडपर्व, भेषभूषा, भाषा, धर्म संस्कृति, रहनसहन, लवाइखवाई र सामाजिक मुल्य र मान्यता अनि मिलेका मनहरूको समष्टिगत रूप नै मेरो सुन्दर देश हो । माग्नु पर्ने त केही छैन सबै थोक पाएकै छौ । गाउँमा मिल्ने मनहरू फाटन लागेका मात्र हुन् फाटी सकेका छैनन्, जोडन सकिन्छ । पारिलो भीरका बाज्यको घर नमागी बन्यो । दमिनी बज्यै, लुहारी काकी, क्षेत्री भाउजु, बाहुनी आमै र काले बाज्यको दाहासंस्कार नमागेरै गरेको हो । साइला काकाको छोरीको बिहे नमागेरै गरेको हो । किन माग्ने नमागेरै सम्भव छ । त्यति मात्र होइन नौ तले दरबार, धरहरा, रानीमहल, बाइसे, चौबिसे राज्यका दरबारहरू, पाटीपौवा, मन्दिर, देवालय, चैत्य सबै नमागी बने ।
गैरीखेतका जेठा बा ले एउटा राँगो र बिस वटा भैँसी पालेकै थिए । उनको राँगोले त्यो गाउँका सबै भैँसी व्याउन सघाएकै थियो । मूलघरे जेठीआमैका सय वटा जति गाईहरू हुँदा हुन् । चान बुन्ने घरमा गन्न नभ्याइने बाख्रा थिए । कान्त बाज्यका गोरु हिँडदा हिँड्दै बाटो फराकिलो भएको थियो । गाने र सन्ते बाज्येका सिपालु इलमी हातले डोका, डाला, नङ्ला कुटो, कोदालो, हँसियाको अभाव हुन दिएका थिएनन् । के थिएन सबै थोक थियो । सबैले खेतीपाती लगाकै थिए । खान जेनतेन पुगेकै थियो । थिएन त बजार थिएन, बजारीकरण थिएन, भण्डार व्यवस्थापन थिएन, औषधि उपचारको अभाव थियो र समग्रमा व्यवस्थापन थिएन ।
फेरि उसको दिमाखमा अघिको धुलो र धूवाँ टुप्लुक्क आइपुग्छ । उसको मनको चैन हराउँछ । सम्हालिन खोज्छ । अलिकति साहस बटुल्छ । धुवाँ, धुलो, सहरी प्रदूणको जिम्मेवार को ? घर कसले बनायो ? सहरको रूप कसले कुरूप बनायो ? सुधार्ने कसले ? उसको दिमागमा एउटा विचार आयो । सरकारले घर बनाउन दिएर कर असुली गरेपछि प्रदूषण मुक्त शहर बनाउनु पर्ने । फेरि मन बदलियो होइन सरकार त माग्ने हो सबैथोक मागेरै गर्छ अनि घरमालिक नी । घरमालिकले त नमागी बनाको हुनु पर्छ । सानो घर बनाउनेले कति खर्च गर्दो हो मनमनै हिसाब गर्छ । पचासलाख । पचासलाखको घरबनाउनेले एक लाख त सहरको लागि खर्च गर्न सक्छ होला आखिर आफ्नै घर भएको सहर हो । घरको लगानीअनुसार प्रत्येक घरधनीले कम्तिमा पनि एकलाख रूपैया र पाँच दिन श्रमदान, सहरमा बस्ने कमाई भएकाहरूले पाँच दिनको बेतन र दुई दिन श्रमदान अनि अन्यले जम्मा तीन दिन श्रमदान गरेको भए सायद यो सहर सुन्दर बनाउन माग्नु पर्दैनथ्यो ।
उसको शरीरमा स्फुर्ती बढ्योे र फेरि आकासियो । अठोट गर्यो, व्यवस्थापनमा स्नातकोत्तर भएपछि माग्ने संस्कृतिको अन्त गर्छु । गाउँ फर्किन्छु । विदेशिन खोज्ने युवाहरूको मन मिलाउँछु । गाउँलेको सहयोगमा आधुनिक कृषि प्रणालीको विकास गर्छु । सुधारिएको गोठ निर्माण गर्छु । डाले घाँस रोप्छु । वन नमासिने गरी छुट्टै चरनको व्यवस्था गर्छु । बुढो रुखको मुन्तिर नयाँ बिरुवा रोप्छु सन्तानको तिरन्तरताका लागि । खेर गइरहेको साधन र स्रोतको अधिकतम उपयोग र उचित व्यवस्थापन गर्छु । संस्कार र संस्कृतिको जगेर्ना गर्छु । कुिरती र कुसंस्कारको अन्त गर्छु । मेरो गाउँ प्रयोगशाला बन्छ । तालिम केन्द्र बन्छ । सीप र इलम सीकाइन्छ । बिद्यार्थी पढन आउछन् । यात्रीहरू घुम्न आउछन् । प्रकृती प्रेमी रमाउन आउछन् । खानाका पारखिहरू स्वाद लिन आउछन् । व्यापारीहरू खरीद बिक्री गर्न आउँछन् । उपभोत्ताहरू किनमेलमा आउँछन् । स्वदेशी आउँछन् । विदेशी आउछन् । मेरो सुन्दर घर मनको घर धुलो धुवाँ रहित घर प्रदूषण मुक्त घर नमाग्ने घर सबैको मन बिसाउने घर र मैले आफैले बर्षौदेखि नचिनेको घर निर्माण हुन्छ ।
एक्कसी कसैको आवाज उसको कानमा ठोकियो । ऊ झसङ्ग निन्द्राबाट ब्यूझे जस्तै झस्कियो । यताउति हेर्यो । गोधुली साँझ भइसकेको थियो । कोही देखिँदैनथे । सबै आआफ्नो बाटो लागिसकेको हुनुपर्छ । सुनेको आवाज, परिचित आवाज अर्थात् क्याम्पसको पालेको आवाज “जानु पर्दैन पलेटी मै निदाको हो कि क्या हो, ढोका लगाउने बेला भो ।