सुरेन उप्रेती नेपाली साहितयका बहुमुखी प्रतिभा हुन् । उनका विविध विधाका कृति प्रकाशित छन् । साहित्यसागरमा उनको परिचय प्रकाशन भइसकेकाले यहाँ सारभूत परिचयसहित उनको ‘फेसबुक’ शीर्षकको कथा समेटिएको छ । यस कथाले आधुनिक सम्बन्ध र सम्बन्धका दुर्घटनालाई देखाइएको छ ।
-सम्पा |
आ मत चलाउँदिन है फेसवुक सेसबुक । कता थिच्नु, के लेख्नु । एक जनालाई पठाउँदा अन्तै गयो भने भन्दै मैले सुरेशको मुखमा हेरेँ । हेर लाटी ! कस्ता पढ्न नै नजान्नेले त कस्तरी फेस बुक चलाएका छन् । तिमी त एस. एल. सी. पास पो त हैन ररू सुरेशले ढाडस दिंदै भन्यो । हो नि हामीले स्कुलमा राम्रोसँग कम्प्युटर त चलाउन पाइएन के जान्नु र फेसबुक चलाउन । मैले लाडिदैं भनेँ । म विदेश गएपछि तिमीसँग कुरा गर्न र छोरीका फोटो हेर्न पनि सजिलो हुन्छ नि । फोन मै पनि फेसबुक चलाउन मिलिहाल्छ सुरेशले सम्झाउँदै भन्यो । फेसबुक अकाउन्ट खोलिदियो र पासवर्ड आफै राख भनेर मलाई दियो । आ आफै राखिदिए भइहाल्यो नि भन्दै मन नलागी नलागी मैले पासवर्ड राखेँं । फ्रेन्ड रिक्वेस्ट पठाउन सिकायो र उसले आफै एसेप्ट गर्यो । मलाई म्यासेज पठायो र उत्तर लेख्न लगायो । हो यो इन्टर बटम थिचेपछि तिम्रो म्यासेज पाइहाल्छु नि । हेर त कति सजिलो । बिर्सिनँ भने त सजिलै रै छ भनेर सुरेशको छातीमा टाउको राखेर ढल्किएँ । सुरेशले मेरो कपाल सुम्सुम्याइदियो । छोरी पनि आमाबाका काखमा पल्टिएर गुडियासँग खेल्दै थिई ।
हाम्रो विवाह भएको पनि तीन वर्ष हुनलागे छ । विवाह पनि के भन्नु र । विदेशमा मात्र हैन काठमाडौँमा पनि लिभिङ टुगेदर पार्टनर भन्ने चलन आइसकेको छ रे । हामी भने परिवारबाट विवाहको अनुमति नपाएपछि बिद्रोह गरेर हिंडेका जोडी । अझ भन्ने हो भने प्रेम गरेर भागेका । मेरा त दाजुहरूले अझै खोज्दै छन् रे । बैनी खोसेर लाने र सुरेशलाई जेल हाल्ने उनीहरूको योजना छरे तर हामीले जीवनका अन्तिम पलसम्म पनि सँगै जिउने सँगै मर्ने बाचा गरेका छौँ । मन्दिरलाई साक्षी राखेर दुबैले प्रण गरेका छौँ । हाम्रो जिउँदो साक्षी भनेका एक जना पुजारी मात्र हुन् । धरानको विजयपुरस्थित दन्तकाली मन्दिरमा विवाह बन्धनमा बाँधिने निर्णय गरेका थियौँं । हाम्रो खुसीसँगै मन्दिरमा देवीको मूर्तिले पनि मुस्कुराएर खुसी व्यक्त गरेको थियो ।
सुरेश विहान महेन्द्र क्याम्पस धरानमा पढ्न जान्छ । दिनभरि धरानकै एउटा कपडा पसलेकोमा काम गर्छ । कहिले पैसा उठाउन उर्लावारी, मधुमल्ला, बेलावारी, दमक, बिर्तामोड हुँदै धुलावारीसम्म पुग्छ । यसरी काम गरेको पनि नौ वर्ष नै हुनलाग्यो । सात कक्षा पढ्दादेखि त्यही साहुकोमा काम थालेको थियो रे । अहिले त बी. ए. पनि सकिन लाग्यो । यही पैसा उठाउन जाने क्रममा नै मसँग मधुमल्लामा पहिलोपटक भेट भएको थियो । सुरेश मधुमल्लाको कपडा पसलमा पुग्दा साहु भेटिएन छ । त्यसपछि चिया खाएर केही समय बिताउनका लागि हाम्रो चिया पसलमा छिर्यो । चिया अडर गरेर बाटोतिर हेर्दै थियो । त्यसै बेला म स्कुल जान तयार हुँदै थिएँ । आमाले चिया दिन भन्नुभयो । स्कुल ड्रेसमा भए पनि मैले सुरेशलाई चिया दिएँ । अनायासै हामी दुवैका आँखा जुधे । हेराहेरको क्रम अलि लामो नै भए छ क्यारे । आमाले ए सर्मिला भनेर बोलाउँदा म झस्किएर दौडिंदै भित्र पसेंँ । सुरेशका आँखाहरू म स्कुल गएको बाटो पछयाएर टोलाइ रहेका थिए । चिया खाएको पनि थाहा भएन रे । म दाजु र भाइहरूसँगै स्कुल हिंडेँ । पटक पटक मेरा आँखाले पनि चिहाउँदै सुरेशलाई हेरे । सुरेशका आँखामा आँखाहरू ठोक्किए । सुरेशले म ओझेल नपरुन्जेल हेरिरह्यो । । कपडा पसले साहु एक बजेतिर मात्र आउने कुरा थियो रे ।
सुरेशले त साहुलाई पर्खनु नै थियो । ऊ समय बिताउन स्कुलकै नजिक गएछ । स्कुलका छेउमा एउटा चिया पसल थियो । घामको पार ताप्तै क्यारेम खेल्ने मान्छेहरूको भिड नै जम्मा हुने गर्दथ्यो । ऊ पनि एक कप चिया अर्डर गरेर क्यारेम खेलेको हेर्न थाल्यो ।
प्रायजसो शुक्रवारको दिन स्कुलमा विभिन्न प्रोग्रामहरू भइरहन्थे । कहिले खेलकुद कहिले साँस्कृतिक कार्यक्रमहरू कहिले हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता आदि आदि । त्यसदिन दौड प्रतियोगिता थियो । सबै विद्यार्थीहरू चार सदनमा विभाजन भएका थिए । ती चार सदनबिच प्रतिस्पर्धा हुन्थ्यो । म सगरमाथा सदनकी उपनेता थिएँ । मैले पनि केटीहरूका तर्फबाट दौडमा भाग लिएकी थिएँ । हाम्रो कार्यक्रम सुरु हुनुभन्दा पहिला हामी चारजना साथीहरू पसलमा चुइँगम किन्न भनेर गयौँ । मेरा आँखाहरूले केही खोजिरहेका थिए । कतै सुरेशलाई देख्छु कि भन्दै हेर्दै थिंएँ । सुरेश पनि मलाई भेटिन्छ कि भनेर हेरिरहेको रहेछ । मेरा साथीहरू भने सरासरी गएर चुइँगम किन्न थाले । सुरेश मतिर आएको देखेर म उभिएँ । फस्ट पिरियड कक्षा छैन हो सर्मिला सुरेशले सोध्यो । म लाजले रातो पिरो हुँदै आज दौड प्रतियोगिता छ । त्यसैले पढाइ छैन निहुरिएरै उत्तर दिंएँ । मलाई ज्वरो आएजस्तो तातो भयो । तपाईं के गर्नुहुन्छ । मैल भुइँमै हेरेर प्रश्न गरेँ । म धरानमा पढ्छु । यहाँ अलिकति पसलको कामले आएको थिंएँ । मेरो नाम सुरेश हो । तिम्रो छिमेकी कपडा पसलेलाई पर्खिएर बसेको । एक बजे आउँछ भनेको छ । उसको सरल र स्पष्ट कुरा गर्ने शैलीले मेरो सुरेशप्रतिको आकर्षण झन बढेर आयो । साथीहरू आएर ल सर रिसाउनु हुन्छ छिटो हिंड भन्दै मलाई तानेर लगे । साथीहरूका बिचबाट पनि सुरेशलाई फर्कदै हेर्दैहेर्दै स्कुल पुगेँ । सुरेश पनि मलाई नै हेरिरहेको थियो । बाह्रबजेतिर सबै विद्यार्थीहरू ग्राउन्डमा भेला भयौँ । सबै रङ्गी चङ्गी युनिफर्ममा सुन्दर बगैंचाका फूलहरू जस्तै लाग्दथ्यो ।
हामीहरू कक्षामा पसिसक्दा पनि सुरेश हामीलाई नै हेरिरहेका थियो । क्यारेम खेल्ने केटाहरू कराउँदा पो झसङ्ग भयो रे । हैट म त कस्तो मान्छे । अरूले के भने होलान् भन्दै आफैंलाई समाल्यो रे । कसैले हेरेका छन् कि भनेर वरिपरि आँखा घुमायो रे । यसरी हाम्रो प्रेमको सुरुवात भएको थियो । त्यसपछि हप्तामा एक दुईपटक भेट गर्न थाल्यौँ । क्रमशः हाम्रो भेट बाक्लिंदै गयो । कुनै राम्रो चलचित्र लागेको बेला कहिले उर्लाबारीमा, कहिले दमक त कहिले बिर्तामोडसम्म गएर फिल्म हेर्ने थाल्यौँ । हाम्रो प्रेमको बिरवालाई जोगाउने र हुर्काउने क्रममा थुप्रै व्यवधानहरू आए । कहिले घर परिवार, दाजुभाइ, आमाबुबाहरूबाट आउँथे । त कहिले छर छिमेकी र साथीहरूबाट पनि समस्याहरू आइपर्थे । सबैर्सँग बचेर र लुकेर हिंढ्नु पर्दथ्यो । यस क्रममा मैले धेरै यातनाहरू सहनुपर्यो तर ती यातनाहरूले अझ प्रेमको विरुवालाई मलजल गर्यो । शक्ति प्राप्त भएको महसुस गर्दै निरन्तर प्रेमको डोरीलाई तन्काउँदै लगेंँ । जस्तै आपत्मा पनि हाम्रो एक अर्काप्रतिको दृढ विश्वासले सबै सङ्कटहरू पार भएको महसुस गर्थें । पीडाहरू हराएर जान्थे । उसँग भेट गर्न अझ आतुर हुन्थेँं । हामीलाई देख्नेहरू भन्थे यी नेपाली लैला मज्नुजहरू हुन् । कस्तै बाधा र अड्चनमा पनि नडग्ने । कस्तै आँधी र बतासले पनि नहल्लाउने प्रेम आदि । मान्छेहरू हाम्रो जोडीको देख्दा इष्र्याले भुतुक्कै हुन्थे ।
घरबाट म हराएको हल्लाले एककान दुईकान गर्दै सबैलाई थाहा भयो । सानो ठाउँमा सबैले सबैलाई चिनेको हुन्छ । मेरा बाआमाले छिमेकी कपडा पसलेबाट कहाँको को केटासँग भागी भन्नेसम्म चाहिँ पत्ता लगाएछन् । उनीहरूले खोज्न मान्छेहरू पनि धरान पठाए छन् । धरानमा सबै खोजतलास गरेर नभेटे पछि निराश बनेर फर्किएछन् । सुरेशले एकहप्ताका लागि बिदा लिएको थियो । हामी दन्तकाली मन्दिरमा विवाह गरेर काठमाडौँ गैसकेका थियौँ । । हामीले एक हप्ता काठमाडौँको र पोखरा बसाइमा सबै तीर्थस्थलमा गएर आशीर्वाद लियौँ । काठमाडौँका विभिन्न ठाउँहरू र बनेपा धुलिखेल नगरकोट डुल्दै बितायौ । धुलिखेल बनेपा नगरकोट र काठमाडौँ आदिका राम्रा राम्रा ठाउँमा सयौँ फोटाहरू खिच्यौँ । सुरेशले मेरा लागि राम्रा गहना र लुगाहरू पनि किनिदिएको थियो । हामी पोखरा गएर महेन्द्रगुफा डेभिड फल्स आदिमा पनि थुप्रै फोटो खिच्यौँ । फेवातालमा डुङ्गा चलाएर फोटो खिचेका थियौँ । यसरी घरभन्दा बाहिर गएर बसेको यो नै मेरो पहिलोपटक थियो । यो नै मेरो लामो यात्रा र लामो बसाइ पनि थियो तर पनि सुरेशले मलाई घर सम्झिने । घरको न्यास्रो लाग्ने अवस्था आउन नै दिएन । दिन प्रतिदिन मिठाखाना राम्रा लुगा लगाएर नयाँ नयाँ ठाउँमा घुम्न पाएपछि मलाई के चाहियो र । हामी बर्सौँसम्म पिन्जरामा कैद भएका मैना र सुगाहरू भाग्न सफल भएझैं उन्मुक्त मिलेको थियो । खास गरी मेरो चाहिँ यो नै पहिलो यात्रा थियो । खुसी र आनन्दमा हामी दुबैजना डुबेका थियौँ ।
तर मेरो भित्री मनमा भने एक प्रकारको डर लागिरहन्थ्यो । मेरा दाइहरू कोही आफन्तहरूले मलाई खोज्दै त आइपुग्दैनन् भन्ने भयले मलाई सँधै सताइरहन्थ्यो । म सुरेशका छातीमा टाउको राखेर भय व्यक्त गर्थें । ऊ मेरो कपाल मुसार्दै नडराउन ढाडस दिन्थ्यो । अब हाम्रो समीप्यतालाई मान्छे त हैन देवता आएर पनि अलग गराउँन सक्दैनन् भनेर विश्वास दिलाउँथ्यो । लाग्थ्यो हामी एक अर्काका लागि नै जन्मिएका हौँ । हामीले सात जुनीसम्म सँगै जिउने र सँगै मर्ने कसमहरू पटकपटक खायौँ । हप्ता दिनको विभिन्न ठाउँको मधुमास सकेर हामी धरान फर्कियौँ । मेरा आफन्तहरू मलाई खोज्न आएको कुरा सुरेशका साहुले सुनाए । म सावधानीपूर्वक दिनभरि कोठामै बस्थेँ । खाना पकाउथेँ र सुरेशको प्रतीक्षा गर्थें । सुरेश आएपछि सँगै बसेर खाना खाने गथ्र्यौँ । सुरेश पसलमा गएर विभिन्न ठाउँबाट पैसा उठाएर ल्याउँथ्थो । कहिले काहीँ धुलावारी र विराटनगर जाँदा म पनि ऊसँगै जान्थेँ । उसले पैसा उठाउन्जेल म त्यसैको वरिपरि घुमेर समय बिताउँथे । प्रत्येक हप्ताजस्तो गणेश टाकिज र शिवटाकिजमा गएर सिनेमा हेर्ने गर्दथ्यौँ । मैले एस. एल. सी. दिइसकेको हुनाले रिजल्टको प्रतीक्षामा थिएँ । पढ्नु पनि नपर्ने हुनाले मलाई एक प्रकारले ढुक्क थियो । अलि अलि कथाका कितावहरू पढ्थेँं । सुरेशका कोर्सका नेपाली कथाहरू प्राय सबै पढिसकेकी थिएँ ।
सुरेशका घरमा उसका बुबा कान्छीआमा र कान्छी आमाबाट जन्मिएका भाइबैनीहरू रहेछन् । उसकी आमा सानैमा खसेको र ऊ सानैदेखि बाहिर बाहिरै बसेको रहेछ । त्यसैकारणले पनि सुरेशका परिवारका तर्फबाट हामीलाई कुनै अप्ठ्यारो भएन । हाम्रो विवाह भएपछि सुरेश र म एक टक घर गएका थिंयौँ । सबै गाँउका मान्छेहरू मलाई हेर्न आएका थिए । पहाडिया केटी बहुत सुन्दर छ भन्दै मान्छेहरू कुरा गर्थे । थारू परम्पराअनुसार हाम्रो विवाह गरिदिए । मेरा बुबाआमाले चाहिँ थारूसँग गएकी भनेर बोलाउँन पनि बोलाएनन् । हामी क्षेत्रीको इज्जत माटामा मिलाइ भन्छन् रे । अझ मलाई एउटा क्षेत्री केटा खोजेर विवाह गरिदिने भन्छन् रे ।
हाम्रो विवाह भएको झन्डै डेढ वर्षमा हाम्री छोरी सुष्माको जन्म भयो । सुष्मा जन्मिएको दुई वर्षपछि छोरा जन्मियो । दुबैको नाम हाम्रो नामको पहिलो अक्षर मिलाएर छोराको नाम मिरेश राखिदियौं । म घरमा छोराछोरी हेर्थें । खाना बनाउने खुवाउने गर्थें । सुरेश पसलबाट घर आएपछि छोराछोरीसँग खेल्ने रमाउने गथ्र्याे ।
हामी दुबैलाई अचम्म पार्दै अमेरिकाबाट चिठ्ठी आयो । सुरेशले मलाई चाहिँ भनेको थिएन। हाम्रो पारिवारिक विवरण जन्ममिति खुलेका प्रमाण पत्रहरू योग्यताका प्रमाण पत्रहरू अमेरिकामा बसोवास गर्ने कुनै आफन्त वा चिनेको व्यक्तिको चिठ्ठी आदि मागेको रहेछ । मत तीन छक्क परेँ । कसरी अमेरिकाले चिठ्ठी पठायो भनेर । उसले डिभी चिठ्ठा भरेको रहेछ । त्यही डिभी परेपछि त्यस्तो पत्र आएको रहेछ । अमेरिका जाने भनेपछि नाना कुराहरू मेरा मनमा खेल्न थाले । सपनामा पनि हवाइ जहाजमा उड्दै गरेको । कहिले सानो छोरो छुटेर आत्तिंदै छोरो खोज्दै गरेको आदि आदि ।
बैंक व्यालेन्स कागज पत्र सबै उसले नै जुटायो । करिब छ महिनापछि हाम्रो पासपोर्टमा भिसा लागेर आयो । नयाँ ठाउँमा के गर्ने होला । भाषा पनि जानेको छैन । केटाकेटी पनि ससाना छन् । कता बस्ने । काम पाइन्छ कि पाइदैन भन्ने एकमनमा लाग्थ्यो भने अर्को मनमा सर्मिला तँ त कति भाग्यमानी रहिछस् । तेरो त विवाह पनि यति धेरै माया गर्ने केटासँग भयो । फेरि छोरा पनि छोरी पनि जन्मिए । अब अमेरिका पनि जाने भइस् । तँ अमेरिका जाने खबर चाहिँ तेरा आमा बालाई पनि दे है भन्थ्यो । मनमा अनेक कुराहरू खेलेर कति रात त राम्रो निन्द्रा पनि लागेन । अमेरिका जानुभन्दा दुई दिनअगाडि सानो छोरालाई मात्र लिएर म मधुमल्ला गएँ । मलाई त्यसबेलासम्म बोलाएको पनि थिएन । । देख्न त बुबा र दाइलाई पनि मन थियो तर आमा र भाइको अति नै न्यास्रो लागेको थियो ।
हाम्रो घरभन्दा अलि तल एउटा कार्कीको फोटो स्टुडियो थियो । उनीहरूकी छोरी मेरी साथी पनि भएकाले म उनीहरूकै घरमा गएँ । मलाई देखेर उनीहरू पनि छक्क परे । मैले साथीको भाइलाई मेरो आमालाई सुटुक्क गएर बोलाइदेन भाइ भनेँ । उसले पनि गएर बोलाएछ । आमा र सानो भाइ आए । आमालाई अँगालो मारेर धरै बेर आमा छोरी रोयौँं । भाइले भान्जालाई बोक्यो । मैले सबैलाई एक एकवटा लुगा लगिदिएकी थिएँ । बाको रिस अझै मरेको छैन रे, आमाले सुनाउनु भयो । मैले म अब तीन दिनपछि अमेरिका जाँदैछु । त्यसैले एकपटक हेर्न र भेट्न आएकी भनेर आमा र भाइलाई अँगालो मारेँ । खै थाहै नपाई आँखाबाट आँसुहरू खहरे झैं भएर गाला हुँदै घाँटीसम्म ओर्ली सकेछन् । आमा पनि केही बोल्न सक्नुभएन । तँलाई कस्तो छ । यी तीन चार वर्षसम्म किन हामीलाई न सम्झेकी मात्रै भन्नुभयो । फोटो स्टुडियोको कार्की बडाबासँग सापट मागेर मलाई तीनहजार हातमा राखिदिनुभयो । म रिक्सा चढेर एकपटक हाम्रो घर हुँदै माथि स्कुलसम्म पुगेँ । बा पहिला जस्तै मालपुवा पुरी जिलेवी बनाइरहेका थिए । दाइलाई चाहिँ देखिन । बस चढेपछि छोरो निधायो । म भने आँखामा चलचित्र झैं भएर आएका बाल्यकालदेखि रमाइला दिनहरूलाई सम्झँदै टोलाएँ छु । बस त धरानमा आइपुगेर सबै यात्रुहरू ओर्लँदै रहेछन् । निधाएको छोरा र झोला च्यापेर डेरातिर लागेँ ।
काठमाडौँमा गएर एक रात लजमा बस्नु भन्दा उसै दिन विराटनगर गएर प्लेनमा काठमाडौँ जाने र अमेरिका उड्ने निर्णय भयो । मलाई विराटनगरबाट प्लेन चढेर काठमाडौँ जाँदा नै कतै टाढा जाँदै छु भन्ने भयो । छातीभित्र कता कता पिरो भएरभित्र पोले जस्तो भइरह्यो । केही बोल्न पनि सकिनँ । छोरालाई छातीमा चेपेर बसिरहेँ । काठमाडौँमा उत्रेपछि तीन घण्टा जति अर्को उडानका लागि पर्खनु पर्यो तर मेरो दिमागले केही सोच्न सकेन । मलाई कतै निन्द्रामा हिंडे जस्तै भइरहेको थियो । हिजोसम्म पनि कतै खुसी दौडिदै गरेको महसुस गर्थें तर आज त्यो खुसी सबै हराएको थियो । म होस हराएको मान्छे जस्तै भएकी थिएँ तर सुरेशले हाम्रो लग्गेज र केटाकेटी सबैको टेक कियर गरेको थियो ।
हामी सकुशल भर्जिनियामा आइपुग्यौँ तर निद्रा र थकाइले हाम्रा उत्साहलाई ग्रहण लागेको जुनजस्तै बनाइदिएको थियो । केटाकेटी पनि नुन खाएका कुखुरा जस्तै भएर झोक्राएका थिए । एक रात सुरेशका साथीका घरमा बसेर अर्को दिन हामीलाई खोजिदिएको अपार्टमेन्टमा सर्यौँ । सुरेशले पैसा पठाएर साथीलाई अपार्टमेन्ट भाडामा खोज्न लगाएको थियो । नयाँ अपार्टमेन्टमा सबै थोक किन्नु पर्ने । हामीले नेपालबाट अलि अलि भाँडा, थालबटुका र सामान्य कपडा मात्र लिएर आएक थियौँं । गराजसेलबाट केही फर्निचरहरू किनेर ल्यायौँ । केही सामानहरू मान्छे मुभ हुँदा छोडेका टिपेर ल्यायौँं । नेपालबाट ल्याएको पैसा त अमेरिका आइपुग्दा सुकेर सय गुना सानो हुँदो रहेछ । घरभाडा मात्रै महिनाको झन्डै एकलाख नेपाली तिर्नुपर्ने । त्यो पनि बेसमेन्टमा बस्दा मात्र । साना केटाकेटी भएपछि अरूसँग मिलेर बसौँन है भन्दा पनि सम्भव नहुँदो रहेछ ।
अब हामीलाई जसरी पनि काम खोजेर गर्नुपर्ने बाध्यता थियो । नेपालको पैसा त खाँदा र भाडा तिर्दैमा दुई चार महिनामै टाट पल्टन्थ्यौं । बिरामी हुँदा दबाई र अस्पतालको खर्च आदिले गर्दा सोचे जस्तो हुँदैन थियो । धन्न सुरेशका साथीहरू भएकाले इन्डियन रेस्टुरेन्टमा काम पायो । सुरेशले काम पाएपछि भने अलिकति भए पनि राहत भयो । छोराछोरी साना भएकाले म उनीहरूसँग घरमै बस्थेँ । अरू नेपालीका दुईजना बच्चाहरू पनि हेरिदिन्थेंँ । त्यो बच्चा हेर्दा पाएको पैसाले तरकारी किन्नसम्म पुग्थ्यो । आफ्ना पनि केटाकेटी हेर्नु परिहाल्थ्यो । त्यसैले पनि म खुसी थिंएँ ।
बिस्तारै केटाकेटीहरू पनि स्कुल जान थाले । मलाई पनि अलि फुर्सद हुन थाल्यो । सुरेश भने दिउँसो एउटा ग्याँस स्टेसनमा र साँझमा एउटा रेस्टुरेन्टमा काम गथ्यो । छोराछोरी स्कुल पठाएर पछि म पनि व्युटिसियनको तालिम लिन जान्थेंँ । चार घण्टा जति दिउँसो तालिम हुन्थ्यो । घरमा इन्टरनेट भएकाले प्राय मेरो समय कम्प्युटरमा युटुवमा गीत सुन्ने म्युजिक भिडियो र मुबीहरू हेर्ने र फेसबुकमा च्याटमा बित्न थाल्यो । फेसबुकमा पुराना पुराना साथीहरू दाइदिदीहरू चिनेका मान्छेहरू भेटिने भएकाले सारै रमाइलो लाग्थ्यो । फेसबुकको लतले कहिलेकाहीँ त छोराछोरीलाई स्कुलबाट ल्याउन समेत बिर्सने हुनथाल्यो । एक एक घण्टा ढिला भएको पनि पत्तै हुँदैन थियो । पहिला सुरेशले फेसबुक खोलेर म्यासेज पठाउन सिकाउँदा पनि कसरी पठाउने होला भनेर तीन छक्क पर्ने म । यसबेला त फोनबाट सेल्फी खिचेर अपलोड गर्न पनि माहिर भइसकेकी थिएँ । अपलोडभएको फोटोलाई नचिनेका मान्छेहरूले पनि म्युचल फ्रेन्ड हुँदै कमेन्ट गर्थे । कस्ती राम्री । कुन फिल्मको हो यो दृश्य ? जस्ता फुलबुट्टा भरिएका कमेन्टले मेरो खुसीको सीमा नै रहँदैन थियो । अझ कस्तो कुल सेक्सी देख्दा त आपूmलाई संसारकी सबैभन्दा सुन्दर युवती भएको आभास हुन्थ्यो । कमेन्ट गर्ने सबैलाई धन्यवाद दिंदै जान्थेँ । मित्रताका लागि अनुरोध गर्नेहरूको लामो लहर लाग्थ्यो । साथी नै बन्दा त के हुन्छ र भन्दै मित्रताको अनुरोधमा आएका नामहरूलाई कहिल्यै इन्कार गरिनँ । मित्रहरूको लिस्ट बढ्दै गयो । कोही युरोपमा कोही मलेसिया, कतार, दुबई, साउदी, इजरायल, जापान, नेपाल आदि संसारभरका फ्रेन्डहरूसँग कुरा गर्दा त सँधै भेट भइरहेजस्तो हुँदो रहेछ । कति मान्छे त हामी बसेकै सिटीका पनि थिए । प्रत्यक्ष भेट नभए पनि दिन दिनै कुरा गर्दै जाँदा बर्सौं पुरानो चिनजान भएजस्तै लाग्दो रहेछ । मान्छेसँग सिधै अगाडि नदेखिने भएकाले जे लेखेर पठाउन पनि सजिलै सकिने । यसरी कुरा गर्दै जाँदा अति नजिक र आफन्त भएको जस्तो महसुस हुँदै जाँदो रहेछ । एक दुई घण्टासम्म कसैको म्यासेज आएन भने पनि अनेक औडाहा हुने रहेछ । के भयो होला । किन आएन होला आदि प्रश्नहरू मनमा आएर छटपट हुन थाल्ने । साथीहरूसँग म्यासेन्जर कल भाइवर कल हुँदै फोन र टेक्स्ट हुनथाल्यो । स्न्याप च्याट भिडियो कल स्काइपमा कुराहरू हुनथाल्यो ।
यो फेसबुक भन्ने एउटा यस्तो सुन्दर संसार लाग्न थाल्यो कि मिनेट मिनेटमा म्यासेजहरू चेक गर्नुपर्ने । नत्र छट्पटि हुने । एउटा अदृश्य नशा जस्तै लत लाग्दो रहेछ यसको । कहिलेकाहीँ त छोराछोरीले के खाए भन्ने पनि हेक्का हुँदैन थियो । धन्न केटाकेटीले भोकै सुतेको कुरा सुरेशलाई चाहिँ थाहा हुँदैन थियो । त्यो पनि प्राय जसो सुरेश रेस्ट्रुरेन्टबाट ल्याएकै खाना खाने भएकाले मैले राखिदिनु पर्दैन थियो । नत्र भने कतिपटक हाम्रो झगडा परिसक्ने थियो होला । केटाकेटीहरू टिभी हेर्दै निधाएका हुन्थे । सुरेश कामबाट फर्किएर आउँदा मात्रै म झस्किँदै उठ्थें । जुवाडेको जुवाको नशा जस्तै भएको थियो मेरालागि यो फेसबुक ।
सुरेश दुईतिर दिनभरि काम गररे थाकेर आउँथ्यो अनि सुत्नासाथ निधाउँथ्यो । म भने आँखा बन्द नहुन्जेलसम्म टेक्सट र म्यासेन्जरमा रमाउँथें । यो मेरो नियमित कार्यतालिका जस्तै बन्दै गएको थियो । बिहान उठेर हतार हतार लन्च तयार गरेर छोराछोरीहरूलाई ब्रेकफास्ट दिएर स्कुल पठाउँथें । केटाकेटीहरूका स्कुलबाट पटक पटक चिठ्ठीहरू आएछन् । एक दुई हप्तापछि झोला सफा गर्दा भेट्थेँं र सुरेशले थाहा पाउला भन्दै हतार हतार फ्याली दिन्थेँं ।
छोराछोरी स्कुलबाट फर्कँदा म टेक्स्ट र फेसबुकमा नै हुन्थेँं । उनीहरूलाई फ्रिजमाथि राखेको सिरियल निकालेर दुधसँग खानु भन्थेँं । उनीहरू पनि सिरेल खाएर टिभी हेर्न बस्थे । मेरो व्युटिसियनको तालिमलाई पनि यही फेसबुकले खायो । दुई तीनपटक जाँचमा फेल भएपछि आफैंलाई लाज लागेर जान छोडँें । मेरो मन किताबका कुराहरूमा केन्द्रितै हुनसकेन । एक सेमेस्टरको पैसा मात्र गयो । सुरेशलाई मलाई व्युटिसियनको तालिम मन परेन भनेर ढाँटिदिएँ । छोराछोरी स्कुल पठाएपछि म दिनभरि फुर्सद नै हुन्थेँं । मेरो फेसबुक स्टाटसमा म्यारिटल स्टाटसका बारेमा खालिनै राखेकी थिएँ । छोराछोरी र सुरेशसँगका फोटोहरूलाई पनि अपलोड गरेका थिएनन् । त्यही भएर प्राय जसो अविवाहित र सिंगलहरूले मलाई फ्रेन्ड बनाएका थिए । उनीहरूसँग च्याट गर्दाको आनन्दै अर्कै हुन्थ्यो । घण्टौँ च्याटमा बस्दा पनि समय गएको पत्तै हुदैन थियो । एकछिन मात्रै बसेजस्तो हुँदाहुँदै साँझ परिसकेको हुन्थ्यो ।
करिब महिना दिन जति दैनिक च्याटमा कुरा हुँदै गरेको एउटा साथीले एक दिन भेट्ने प्रस्ताव राख्यो । ऊ पनि हामी बसेकै सहरमा बस्तो रहेछ । ऊसँग मेरो करिब छ महिना अगाडि एउटा पार्टीमा हेल्लो हायसम्म भएको थियो । त्यही साँझ फ्रेन्ड रिक्वेस्ट पठायो । त्यसपछि हप्तामा एक दुई पटक जस्तो च्याट हुनथाल्यो । ऊ हामी बसेको नजिकैको सपिंग मलमा गाडी लिएर आउने भयो । उसका सबै फोटोहरू मैले हेरिसकेकी थिएँ । दिनदिनै कुरा हुँदाहुँदै बर्सौदेखि चिनेको जस्तो भइसकेको थियो । आ सुरेशले पनि थाहा पाउँदैन केटाकेटी पनि छैनन् जान्छु भनेर म निस्किएँ । ऊ महलको छेउमा मलाई कुरेर बसेको रहेछ । मैले आपूm निलो जिन र सेतो टपमा छु भन्ने होलिया दिएकी थिंएँ । उसले लेदरको कालो ज्याकेट र कालै जिन लगाएको छु भनेको थियो । उसले निलो टोयोटा आरएभीमा हुन्छु भनेको थियो । म स्टोरको बाहिर पुगेर उभिएकी मात्रै के थिएँ । गाडी ल्याएर मेरा छेउमा रोक्यो र हाय जस्मिन भन्यो । मेरो नाम जस्मिन राखेकी थिएँ । हाय रक्की भनेर मैले हात हल्लाएँ । गाडीमा चढ्न इसारा गर्यो । म बायाँतिरको ढोकाबाट गएर पासेन्जर सिटमा बसेंँ । उसले ड्राइभर सिटबाट उठेर हग गर्यो । हाम्रो अङ्कमाल अलि बढी नै भएछ क्यारे । अरू गाढीले हङ्क गर्दा मात्र हामी झस्कियौं । ऊ निकै निपुण ड्राइभर थियो भन्ने कुरा उसले एक हातले मात्रै आधा घण्टा जति गाडी चलाएकाले पुष्टि गथ्र्याे । एउटा हातले मेरो हातलाई कसिलो गरी समाएको थियो । मैले पनि कुनै प्रतिक्रिया जनाइनँ । सहरको दृश्य र मौसमको कुरा गर्दै हामी अर्को सपिङ सेन्टरमा पुग्यौँं । त्यो सपिङ सेन्टर यो सहरकै सबैभन्दा ठुलो हो रे । त्यसभित्र रहेको एउटा रेस्टुरेन्टको कुनाको टेबुलमा गयौँ । रक्कीले सुसी र केही इन्डियन खानाहरू अडर गर्यो । हामीले एकान्तको मौका छोपेर एक अर्कालाई कसिलो समाएर अङ्कमाल गर्यौँ । उसका रसिला ओठहरू मेरा अनुहार घाँटी गाला र ओठहरूमा बग्न थाले । मैले पनि आपूmमा नयाँ ऊर्जा प्रसारण भइरहेको महसुस गरेँं । उसका हातहरू मेरा अङ्ग अङ्गमा भोको सर्प झैं भएर सग्बगाउन थाले । मैले आँखा बन्द गरेँं । लन्चको समय भएकाले मान्छेहरू आउने क्रम जारी थियो । कोही नेपाली मान्छे पनि बोल्दै गरेको आवाज मेरा कानमा ठोक्किंदै थियो । त्यो आक्कल झुक्कल कानमा आएर ठोकिने आवाज परिचित जस्तो लागे पनि मेरा बन्द आँखाले र अनियन्त्रित मनले ठम्याउन सकेका थिएनन् । हाम्रो अडर पनि आइपुग्यो । हामी खाना खाएर निस्कियौँ । रक्कीले मलाई उसको कोठामा लिएर गयो ।
हामी रेस्टुरेन्टमा हुँदै अव्यक्त प्यासले छट्पटाइ सकेका थियौंँ । हाम्रा नसानसाले केही अपेक्षा गरिरहेझैं लाग्दथ्यो । एक अर्कामा लिन भएर संसार बिर्सन पाए हुने थियो झैं भएको थियो । हामी बर्सौँसम्मको वियोगपछि भेट भएका भोका र प्यासा प्रेमीप्रेमिका झैं भएका थियौँं । उसको कोठामा सबै पर्दाहरू लगाइएका थिए । मधुर आवाजमा आएको मिठो धुनमा हामीहरू हरायौँं ।
मेरो सारा शरीर शिथिल शिथिल भएको थियो । मैले भित्तामा झुन्डिएको घडीमा आँखा टेकाएँ । साँझको छ नै बज्न लागेको रहेछ । त्यसबेला मलाई मेरा छोराछोरीको याद आयो । ला उनीहरूसँग घरको चावी पनि थिएन । सुरेश पनि ढिला मात्रै आउँछ । छोराछोरी पनि स्कुलबाट आए होला । मलाई छटपटि भयो । आज मैले यो के गरेँँं । मलाई अपराध बोध भयो । छेउमा पल्टिएको रक्कीलाई बोलाएँ र मलाई घर चाँडै पर्ुयाइदिन अनुरोध गरेँ । मेरो जरुरी काम थियो भनेँं । नो वरी स्विटी भनेर अर्कोतिर फर्किएर सुत्यो । मैले उठेर छरपस्ट भएका मेरा केशहरूलाई मिलाएँ । लुगा लगाएर हिंड्न तयार भएँ । हामी बस्ने ठाउँको ठेगाना जी पी एसमा लगाएर बाटो लाग्यौँ । उसले मलाई हाम्रो अपार्टमेन्टको नजिकै छोडिदियो । साँझको सात नै बजिसकेछ । घरभित्र बत्तीहरू पनि बलेका थिएनन् । मेरो मुटु ढुकढुक गर्दै थियो । ढोकामा गएर घण्टी बजाएँ । कुनै प्रतिउत्तर आएन । हेन्डब्यागबाट चाबी निकालेर कोठा खोल्न लाग्दा ढोकामा एउटा कागज देखेँ । के होला भन्ने खुल्दुली भयो । नजिकैको सडक बत्तीको उज्यालोमा गएर चिठी पढेंँ । म उभिएको जमिन भासिंदै गयो । म जमिनभित्र झन झन दब्दै गएंँ । श्रीमान्हरू बर्सौँंसम्म खाडीमा दुःख गरेर पैसा पठाउँछन् । श्रीमतीहरू त्यो पैसामा मोज गर्छन् । छोराछोरी र घरपरिवारको वास्तासम्म नगरी महिलाहरू हराएको खबर त नेपालका गाउँ गाउँमा सुन्दै र पढ्दै आएको थिंएँ तर आज अमेरिकामा पनि आफ्नो श्रीमान् र छोराछोरी हुँदाहुँदै परपुरुषसँगको सङ्गतले मान्छे कति तल झर्न सक्दा रहेछन् भन्ने प्रत्यक्ष देख्नुपर्यो । यो फेसबुकले हाम्रा बाचाहरू सबै पानीका फोका बनायो । मैले अठार घण्टासम्म काम गरेर पनि सुख दिन सकिन छु । छोराछोरीको यो बिजोग पनि हेर्न सकिनँ । अब तिमी स्वतन्त्र छौ । म छोराछोरी लिएर गएँ । अभागी सुरेश लेखिएको थियो ।