प्रतिभा पौडेल युवा पुस्ताकी साहित्य सिर्जना र समीक्षामा सक्रिय प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको महानन्द सापकोटाको जीवनी समेटिएको छ । यस जीवनीले महानन्द सापकोटाका जीवनका विविध आयामलाई समेटेको छ । -सम्पा. |
नेपाली भाषा साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिने स्रष्टाहरूमध्ये महानन्द सापकोटा पनि एक हुन् । उनले जीवनभर नेपाली भाषाको सेवा गरिरहे । शिक्षा र चेतनाले मात्रै राष्ट्रको विकास हुने कुरा उनले बुझेका थिए । उनका साहित्यले पनि मुलुकको मौलिक चिन्तन र राष्ट्रिय भावना बोलेका छन् । प्रकृति चित्रण, राष्ट्रप्रेम र समाज सुधार उनका मुख्य विषय हुन् । कुसंस्कार कुरीति, अन्धविश्वास, असमानता एवम् लैङ्गिक र जातीय विभेद बिरुद्ध उनी लागिरहे । नारी उत्थान र शोषित पीडितको पक्षमा उनी सधैँ लागिरहे । समाज सुधारका लागि पनि उनी अहोरात्र खटिइरहे । मान्छे मान्छेबिच अमानवीय भेदभाव वा छुवाछुत विरुद्ध पूर्वमा चेतना जगाउने काम महानन्दले गरे ।
भारतमा बस्दा धरणीधर कोइरालासँगको सङ्गतले उनमा नारी उन्मुक्ति, भाषा र राष्ट्र प्रेमप्रतिको गहिरो छाप परिसकेको थियो । नेपाली भाषाको प्रचारप्रसारमा उनी पूर्वी नेपालका विभिन्न जिल्लाहरू घुमे । त्यस समय नेपाली भाषा कम प्रयोगमा आउँथ्यो । संस्कृत र हिन्दी भाषाको बढी प्रभाव थियो । भाषाको मौलिकताका लागि झर्रो नेपाली भाषाको प्रयोगमा उनले सर्वप्रथम जोड दिएका हुन् । उनले भाषा सम्बन्धी थुप्रै पुस्तक लेखे । उनी भाषालाई सर्वमान्य बनाउन व्याकरण खुकुलो हुनुपर्छ भन्थे । आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति जिउँदो जागरुकता ल्याउने उनी पहिलो नेपाली भाषाशास्त्रीका रूपमा चिनिए ।
महानन्द सापकोटाको जन्म वि.सं. १९५३ वैशाख ३० गते भएको हो । बाबा रामचन्द्र सापकोटा र आमा सरस्वतीका तेस्रो सन्तानका रूपमा इलामको इरौँटार गा वि स देवानछापमा उनी जन्मेका हुन् । उनको न्वारनको नाम जगन्नाथ हो । कसैकसैले यज्ञनिधि पनि भनेका छन् । रामचन्द्र र सरस्वतीका तीन सन्तानमध्ये दुई सन्तान (जेठी छोरी र जेठो छोरो ) को बाल्यकालमै निधन भयो । त्यसपछि रामचन्द्र र सरस्वती ठूलो शोकमा परे ।
एकातिर गरिबी र अर्कोतिर शोक भएपछि विरक्तिएर बालक महानन्द साथमा लिई रामचन्द्र दम्पती भारतको आसाम, तेजपुर पुगे । तेजपुरमा पनि विभिन्न ठाउँमा बसाइँ सर्दै विहाली माझगाउँ पुगे । त्यहाँ गोठपालन गरी बस्न थाले । त्यसबेला महानन्द करिब नौ – दश वर्षका थिए । महानन्दले मामा खडानन्द अधिकारीबाट प्रारम्भिक शिक्षा लिए । चण्डी, रुद्री, वेद, महाभारतलगायत संस्कृत शिक्षाबाट उनको अध्ययन सुरु भयो । तर उनका पिताको निधन भएका कारण पढाइ अघि बढ्न सकेन । पछि तेजपुरको मिडिल स्कुल भर्ना भएर गाईभैँसी चराउँदै सात कक्षासम्म पढे ।
महानन्दकी आमा दुध, घिउको व्यापार गर्थिन् । महानन्दले पनि कहिले नाउ चलाउने कहिले कोइला खानीमा काम गर्ने जस्ता निकै कठोर दिनहरू बिताउन थाले । पढ्ने धोको नमेटिए पछि महानन्द २५ वर्षको हुँदा दार्जिलिङ गए । त्यहाँ उनले धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली आदिको साथ र सङ्गतमा पढ्न थाले । तर उनले म्याट्रिक पास चाहिँ गर्न सकेनन् । त्यहाँबाट उनी फेरि तेजपुर नै फर्किए । आर्थिक सङ्कटका कारण हातमुख जोर्ने समस्याले महानन्दलाई कहिल्यै छोडेन ।
१९८० को अन्त्यतिर दार्जिलिङबाट फर्किएपछि भारतीय काङ्ग्रेसमा प्रवेस गरे । त्यसैको खादी पोसाकमा उनी तेजपुर कोर्टमा लेखनदास काम गर्न थाले । तर त्यहाँका कर्मचारीले काङ्ग्रेस भनेर सो काममा उनलाई प्रतिबन्ध लगाए । त्यसपछि उनी विहाली नजिक सिङ्गीघाटमा कोइलाखानीमा काम गर्न थाले । महानन्दले विहालीछेउ बस्ने अग्निधर भट्टराईकी छोरीसँग १९८३ मा पहिलो विवाह गरे । तर ती नारीसँग उनको लामो सम्बन्ध रहेन । महानन्दले तीन जनासँग विवाह गरे । जसमध्ये दुइवटी श्रीमतीबाट तीनजना छोरा र तीनजना छोरी जन्मिए । तर परिवारसँग उनी लामो समय बस्दै बसेनन् । उनले प्राय घुमन्ते जीवन बिताए ।
महानन्दले तेजपुरमा निकै लामो समय बिताए । उनले त्यहाँको स्कुलमा पनि केही समय पढाए । दार्जिलिङ बसाइबाटै उनमा भाषा साहित्य र शिक्षाको बीज झाँगिन थालेको थियो । पं. धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवालीलगायतको सङ्गतले साहित्य र छन्द सिक्ने अवसर पाए ।
दार्जिलिङ बसाइमा उनले १९८० मा मनलहरी झ्याउरे लयको लघुकाव्य प्रकाशन गरे । यो उनको प्रथम कृति पनि हो । यसका साथै आहुति कविता (२००६), अपुङ्गो कवितासङ्ग्रह (२००७), विशाल नेपाल कविता (२००८), आँटे कविता (२००८) आदि उनका कविताकृतिहरू हुन् । सापकोटा निबन्धावली (२०२९) उनको निबन्ध विधाको कृति हो । त्यस्तै उनले भाषा सम्बन्धी थुप्रै कृतिहरू प्रकाशन गरे । ध्वनिको धन्दा २०२०, (भाषा), सरिशब्दकोष (२०२०), खस र खस भाषा (२०२०), जनजिब्रो भाषा (२०२१), नेपाली निर्वाचनको रूपरेखा, (२०२७),नेपाली शब्द परिचय (२०३४), व्यूत्पत्तिमूलक नेपाली शब्द परिचय,( ? ) आदि उनका भाषा सम्बन्धी कृति हुन् । यी लगायत क्रियान्वयी व्यञ्जना, नानीको किताब, कीर्ति राना आदि थुप्रै पुस्तक र पत्रिकाहरूको उनले सम्पादन प्रकाशन गरेका छन् ।
महानन्द महात्मागान्धीको विचारबाट प्रभावित थिए । उनले आफ्नो राष्ट्र ,राष्ट्रियता, भाषा र संस्कृतिको महत्व बुझे र उनले पनि सादा जीवन र उच्च विचारलाई पछ्याए । ठुलादेशको प्रभावबाट मुक्त रहनुपर्छ भन्ने स्वाभिमानी विचारबाट अभिप्रेरित भए । राजनैतिक प्रणाली जुनसुकै रूपमा आए पनि जनताको हित र राष्ट्रिय भावनायुक्त भएनभने त्यो देशका लागि घातक बन्न सक्छ भन्ने उनको विचार थियो ।
आसाम बसाइमा पनि महानन्दले कविता लेखनलाई निरन्तरता दिइरहे । उनका कविताहरू देहरादुनबाट निस्कने पत्रिका गोरखा संसारमा प्रकाशित हुन्थे । उनले यस पत्रिकाको केही समय सम्पादन पनि गरे । त्यही बसाइका क्रममा उनले त्रिवेणी शीर्षकको उपन्यास पनि लेखे । सो उपन्यास गोरखा संसारमा धारावाहिक रूपमा छापिन थालेको थियो । तर त्यो पत्रिका केही समयपछि बन्द भएकाले पुरा छापिन भने पाएन ।
प्रवासको बसाइमा महानन्दले आर्थिक सङकटसँग जुधिरहनु पर्यो । उनले फेरि केही समय गोठाले जीवन बिताए । पेट पाल्नकै लागि अङ्ग्रेजको कम्पनीमा समेत काम गरे । सो कम्पनीमा पानीजहाजको हेरविचार गर्ने उनको काम थियो । यसरी अनेकँैं ठाउँमा काम गर्दै हिँड्दा आफ्नो स्वाभिमानको सम्मान नभएको महसुस भने गरिरहे । नेपाली मुटु लिएर जहाँ जहाँ पुगे पनि उनको मुटुले नेपाल मात्रै बोलिरह्यो । अन्तत: जीवनको ४० औँ वसन्तसँगै १९९३ सालमा आफ्नै मातृभूमि फर्किए ।
नेपाल आएर पनि महानन्दले कठोर सङ्घर्ष गरे । निरक्षर र पिछडिएको पूर्वी नेपालको प्रत्येक गाउँ बस्तीमा शिक्षाको उज्यालो छर्दै हिड्न थाले । १९९४ मा विराटनगरका समाजसेवी, राजनैतिक व्यक्तित्व कृष्णप्रसाद कोइरालाको साथ र सहयोगले धनकुटाको गोकुण्डेश्वरमा विद्यालयको स्थापना गरे । १९९६ मा धरानका समाजसेवी छविलाल पोख्रेल, नन्दीश्वर खनाललगायतको सहयोगमा धरान पब्लिक स्कुलको स्थापना गरे । तत्कालीन डाइरेक्टर शारदाशमशेरको आदेशले सो स्कुल बन्द भयो ।
त्यसै समय उनी क्षयरोग ग्रस्त भए । उनी स्वस्थ हावापानीको खोजमा सङ्खुवासभाको चैनपुर पुगे । त्यहाँ पनि उनी त्यसै बस्न सकेनन् । उनी शिक्षालाई नै उन्नतिको आधार मान्थे । चैनपुरमा पनि उनले सरस्वती स्कुलको स्थापना गरे । यसरी उनी जहाँ जहाँ पुगे त्यहाँ विद्धताको छाप छोड्दै हिँडे ।
महानन्द निरङ्कुशताको घोर विरोधी थिए । त्यसबेला नेपालभर चलिरहेको राणा विरोधी गतिविधिमा उनी भित्री रूपले संलग्न थिए । उनी राणा विरोधी पर्चाहरू छपाउने र विभिन्न ठाउँमा पुर्याउने पनि गर्थे । कृष्णप्रसाद कोइरालालगायतका व्यक्तिहरू पक्राउ परिरहेका बेला महानन्द भने निकै चलाखीपूर्ण रूपले जोगिदै थिए । आफ्नो चतुर्याइँले उनी राणा सासकहरूलाई समेत रिझाएर काम गर्दै थिए ।
२००३ सालतिर हैजाका कारण धरानमा थुप्रैको ज्यान गयो । हैजाबाट मृत्युु भएका दलित बर्गको सव व्यवस्थापन गर्न कसैले मानेका थिएनन् । समाज सुधारक, उच्च विचारका महानन्दले दलित वर्गको सव पनि अरूसरह दाहसंस्कार गर्ने व्यवस्था मिलाए । साथै उनले दलितका छोराछोरीलाई पनि अरू सरह स्कुलमा भर्ना भएर पढ्न पाउने व्यवस्थासमेत गरे ।
महानन्द सापकोटा देशप्रेममा चुर्लुम्म डुब्थे । तर उनको बिचारका अनुयायी कोही पनि निसकेनन् भनेर दु:खी थिए । उनको राष्ट्र भक्ति यति खरो थियो कि, उनका विषयमा प्रा. बालकृष्ण पोख्रेल लेख्छन् – राष्ट्रप्रेमको तापमान १००० डिग्री भन्दा माथि पुग्ने लक्ष्यणका एकल उदाहरण हुन् उनी । उनीपछि तापमान ५०० डिग्रीसम्म पुर्याउने स्रष्टा हुन् सम । .. देशप्रेमको काम ज्वरो भने हुन्छ महानन्दलाई । (पोख्रेल २०६५, अन्तर्वार्ता, पेज १०५, महाानन्द दर्पण ।)
महानन्द २००७ सालको क्रान्तिका योद्धा पनि हुन् । उनले इलामको करफोकमा २००८ सालमा नेपाली भाषा प्रचारक सङ्घ खोले । इलामका नरेन्द्रनाथ बाँस्तोला सो सङ्घको प्रवन्धक र महानन्द त्यसको कुलपति थिए । प्रजातन्त्र प्राप्ति पछि पनि केही समय मेची अञ्चल राष्ट्रिय धारमा मिसिएन । यस क्षेत्रको गभर्नर भैरवप्रसाद आचार्य बने । उक्त अन्तरिम सरकारको शिक्षामन्त्री महानन्द सापकोटा भए । तर उनी राजनैतिक विषयतिर त्यति आकर्षित भएनन् । उनी नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवाका लागि जीवनभर खटिइरहे । शिक्षामन्त्री भएकै बेला उनले पूर्वका विभिन्न जिल्लामा करिब ६५ वटा विद्यालय खोले । तिनमा पुस्तकालयको समेत व्यवस्था गरे । ती प्रत्येक पुस्तकालयमा २०० वटाका दरले नेपाली भाषा प्रचार गर्न मद्दत पुग्ने खालका पुस्तकहरू वितरणसमेत गरे । उनले नेपालमा शिक्षाको झिल्को टिपेर दीप बाल्ने कामको सुरुआत गरे ।
करफोकमा खोलिएको शिक्षण शिविर (नेपाली भाषा प्रचारक सङ्घ) सञ्चालन गर्न आर्थिक व्यवस्थापनका लागि यिनीहरूले निकै मिहिनेत र परिश्रम गर्नु पर्यो । महानन्द सापकोटा मनिस रिझाउन निकै सिपालु थिए । उनी सहयोग माग्नका लागि बडाहाकिमलाई भेट्न विराटनगर सम्म पुगे । त्यसबेला त्यहाँका बडाहाकिम भूपालमानसिंह कार्की थिए । कार्कीले एकै वचनमा शिक्षण शिविर सञ्चालनका लागि १०० मन चामल उपलब्ध गराउने वचन दिए । सो चामल कार्कीकै खर्चमा झापामा किनेर कर्फोकसम्म ल्याइयो । (महानन्द दर्पण, टीकानाथ खनालसँगको अन्तर्वार्ता अनुुसार) सापकोटाले विराटनगरमा अन्य थुप्रै व्यक्तिहरूसँग पनि भेटेर शिविर सञ्चालनका लागि छलफल र सुझाव सङ्कलन गरेका थिए । सरकारका तर्फबाट पनि सो सञ्चालनमा केही सहयोग पुगेको थियो । उक्त शिक्षण शिविरमा विद्यार्थीलाई निशु:ल्क खाने बस्ने व्यवस्था गरिएको थियो ।
त्यहाँ पढ्ने प्रत्येक विद्यार्थीले हरेक वर्ष छ महिना पढ्ने र छ महिना विभिन्न गाउँमा गएर निरक्षरलाई साक्षर बनाउनुपर्ने नियम थियो । यसरी एकका माध्यमले अनेक ठाउँका जनतालाई साक्षर बनाउने र भाषा प्रचार गर्ने उद्देश्यले शिविर सञ्चालन भयो । दुई वर्षमा प्रवेशिका दिलाउने सो शिविरको अर्को उद्देश्य पनि थियो ।
२००९÷०१० सालतिरको कुरा हो , शिविरमा पढ्ने झापा जयपुरका टीकानाथ खनाललाई महानन्दले नेपाली भाषा प्रचार गर्न बर्दिया पठाए । बर्दियामा थारू बस्ती थियो । त्यो बिरानो ठाउँमा न त थारूहरू नेपाली भाषा बुझ्थे न खनाल थारू भाषा नै बुझ्थे ! त्यसैले त्यहाँ गएर नेपालीभाषा सिकाउने काम निकै नै कठिन थियो । सुुरुसुुरुमा उनी निकै हैरान् पनि भए । तर खनाल पहिला आफू थारूभाषा सिक्न थाले । क्रमश: थारू समाजसँग नजिकिन थाले ।
त्यसबेला पूर्वमै पनि छोरीले पढ्ने चलन थिएन, झन थारू नारीहरू त दासी झैँ जीवन बिताइरहेका थिए । आफूले थारू सिकेपछि खनालले त्यहाँका थारू केटाहरूलाई नेपाली भाषा पढाउन थाले । जब खनाल थारू भाषा बोल्न थाले अनि त थारू समुदायले उनलाई असाध्य माया गर्न थाले । उनी सजिलै त्यस समाजमा भिजे । हिजोको अप्ठ्यारो सजिलोमा परिणत भयो । थारूमहिलाहरूले पनि माया र सद्भाव देखाउन थाले । भाषाको महत्व कति रहेछ भन्नेकुरा त्यसपछि मात्रै खनालले बुझे ।
महानन्द सापकोटा वास्तवमै दूरदर्शी र अथाह चेतनाका सागर थिए । उनी नेपाली भाषा नेपालभरि फैलन नसके नेपालको राष्ट्रियता पनि बलियो हुँदैन भन्ने गर्थे । त्यस समयमा हिमाली र तराई क्षेत्रमा नेपाली भाषीको सङ्ख्या अत्यन्तै कम थियो । त्यसैले उनले ती क्षेत्रमा विशेष प्रचार अभियान चलाएका थिए । यो महान कार्यलाई नेपालका अन्य जिल्ला र भारतका विभिन्न स्थानमा समेत पुर्याउने उनको योजना थियो । पूर्वदेखि पश्चिमसम्म नेपाली भाषालाई फैलाउन उनले धेरै ठुलो परिश्रम गरे । तर उनको यस पवित्र अभियानलाई सरकारले बुझिदिएन वा बुझेरै बुच पचाइदियो , नेपाली भाषा प्रचारक सङ्घलाई दिने सेवासुविधा कटौती गर्दै पछि शिविर नै बन्द गरिदियो ।
२००९ सालमा नेपाली भाषा प्रचारक सङ्घ मार्फत महान्दले करफोकमा बृहत् साहित्य सम्मेलको आयोजना गरे । सो सम्मेलनमा काठमाडौँबाट नेपाली साहित्यका त्रिमूर्ति (लेखनाथ पौड्याल, देवकोटा, सम) लगायत थुप्रै स्रष्टाहरूको उपस्थिति थियो । त्यस्तै भारतको दार्जिलिङबाट पं धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधानलगायतका ठुला कवि साहित्यकारहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रम २००९ सालको असोज १८ गते देखि २२ गतेसम्म भएको थियो । त्यस महान कार्यक्रमको प्रेरणा र प्रभावले इलाम, झापालगायत पूर्वमा थुप्रै कवि साहित्यकारहरू जन्माइदियो ।
नेपाली भाषा प्रचारक सङ्घ बन्द भएपछि महानन्द झापाको भद्रपुरमा गएर बस्न थाले । २०१२ सालमा उनले भद्रपुरमा पूर्वाञ्चल प्रेसको स्थापना गरे । सोही प्रेसमार्फत हाम्रो नेपाल पत्रिका प्रकाशन र सम्पादनसमेत गरे । सापकोटा एकैठाउँ बस्न नसक्ने स्वभावका व्यक्ति थिए । उनी विभिन्न ठाउँ घुमिरहन्थे र उनी पुगेका ठाउँमा शिक्षा र समाजसेवाको पदचाप पनि छोड्थे । उनले २०१३ सालमा सुनसरीको इनरुवामा समेत स्कुलको स्थापना गरे र केही समय पढाए । स्कुल खोल्नु र भाषा तथा शिक्षाको प्रचार गर्नु त उनको दैनिकी नै थियो । उनले नेपाल र भारतका विभिन्न ठाउँका साथै जर्मनी, बेलायतलगायत देशको पनि भ्रमण गरे ।
महानन्द सापकोटाले विभिन्न समयमा विभिन्न सम्मान पुरस्कारहरू प्राप्त गरेका छन् । उनले नेपाली निर्वाचनको रूपरेखा पुस्तकका लागि (२०२७) सालमा मदन पुरस्कार पाए । त्यस्तै इन्द्र राज्य लक्ष्मी पुरस्कार (२०३२), गोरखा दक्षिणबाहु तेस्रो र चौथो (२०३२), दियालो दुलिचन्द्र स्वर्णपदक (दार्जिलिङ, २०३२), आदिबाट पनि उनी सम्मानित भएका छन् । उनको २०३१ सालमा विराटनगरमा नागरिक अभिनन्दन भयो । २०४६ सालमा उनको सम्मानमा, इलाम जिरो कि.मी.मा महानन्द चोक र इलामबजार प्रवेशद्वार सिंह वाहिनी मन्दिर जाने सम्मको सडकलाई महानन्द मार्ग नामाकरण गरिएको थियो । झापा जिल्लाको विर्तामोड (मुक्तिचोक)बाट एक कि.मि उत्तरमा महानन्द चोक नामाकरण गरिएकोलगायत विभिन्न समयमा विभिन्न सङ्घसंस्थाबाट सम्मान तथा पुरस्कारबाट उनी सम्मानित भएका छन् ।
संस्कृत ,आसामे, हिन्दी, अङ्ग्रेजी, बङ्गला लगायत भाषाको ज्ञान भएका सापकोटा आफ्नै आत्मविस्वासमा बाँच्ने स्रष्टा हुन् । उनमा सांगठनिक क्षमता भने कम थियो । निकै छिटो रिसाउने, अरूका कुरालाई महत्व नदिने उनको स्वभाव थियो । धैर्य गर्न नसक्नु, आफ्ना कमजोरीलाई स्वीकार नगर्ने बानीलाई उनको दुर्वल पक्षको रूपमा लिन सकिन्छ । यो बानीकै कारण सायद उनलाई परिवारले पनि त्यति साथ दिएनन् । जीवनको उत्तरार्धकालमा उनलाई क्यान्सर लगायत विभिन्न रोगले समेत सतायो ।
मकै, मोही र मुन्टाको सब्जी उनको प्रिय खानकी थियो । मासुमा उनी कुखुराको मासु मन पराउँथे, वर्षमा एक दिन आत्मीय जनलाई बोलाएर मासु र चिउरा खुहाउने गर्थे ।
महानन्दको अन्तिम इच्छा भने अनौठो थियो । उनी होटलको बास र अस्पतालमा सास जाओस भन्थे । नभन्दै त्यस्तै पनि भयो । २०३५ साल जेठ ३० गते महेन्द्रक्याम्पस विराटनगरको सभाहलमा नेपाली भाषाका प्राध्यापकहरूको कार्यशाला गोष्ठीको उनले उद्घाटन र सम्बोधन गरे । सोही क्रममा प्राध्यापकहरूलाई सम्बोधन गर्दै अहिलेसम्म आफूले निर्वाह गर्दै आएको कर्म, भाषा र साहित्य सम्बन्धि जीवनभरिको तपस्या यही प्राज्ञिक जमातसमक्ष सुम्पेको र आफूले विश्राम लिएको कुरा बताएका थिए । त्यसै साँझ उनी जलजला सिनेमा हलमा परालको आगो सिनेमा हेर्न गए । र त्यतै होटलमा बसे । भोलिपल्ट असार एक गते बिहान अर्धचेत अवस्थामा भेटिएका उनलाई अस्पताल पुर्याइयो । तर त्यहाँ पुगेको केही क्षणमै उनले संसार छोडे । नसा नसामा राष्ट्रिय चेतना भएका, जोसिलो बिचार र बैचारिक आन्दोलनका महारथि हुन महानन्द सापकोटा । उनका असल कार्य र अमर कृतिहरूले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाएको छ । यस्ता ऊर्जवान, भाषासेवी, समाजसेवी, स्रष्टा हामी माझ सधैँ अमर रहने छन् ।