मानिस जन्मँदै प्रतिभावान् हुँदैन । आफूभित्रको प्रतिभाको उजागर गर्न मान्छे स्वयम् तत्पर हुनुपर्छ । अभिभावकले बालबालिकाको रुचि र क्षमताअनुसार मौका दिनुपर्छ । उनीहरूलाई प्रेरित गर्नुपर्छ र उनीहरूको रुचि वा भावनाको कदर गर्नुपर्छ । यसो गर्न सके जो कोही बालबालिका पनि आफ्नो प्रतिभा देखाउन हिच्किचाउँदैनन् । यस्ता उदाहरण धेरै छन् ती धेरैमध्ये स्विडेनको मारबाक्कामा जन्मिएकी सेल्मा ओत्तिलिआ लोविसा लागरलोफ एक हुन् ।
लगरलोफको जन्म २० नोभेम्बर १८५८ मा भएको हो । उनी पिता एरिक लागरलोफ र माता लोविसा वालरोथकी पुत्री सन्ततिका रूपमा जन्मिएकी हुन् । उनलाई तीन वर्षकै उमेरमा पक्षघात भएको थियो, जसले गर्दा उनी आजन्म लङ्गडी भइन् । उनलाई विद्यालयीय शिक्षा दिएर अक्षरारम्भ गर्न कठिन भयो त्यसैले घरमा नै अनौपचारिक रूपमा प्रारम्भिक शिक्षा दिइयो ।
लगरलोफको परिवार सम्पन्न थियो । उनका पिता सेनामा लेफ्टिनेन्ट थिए । यिनले आफ्नी छोरीको निकै ख्याल राख्दथे । उनलाई घरमा बालमैत्री वातावरण मिलाइएको थियो । पढ्नको लागि पुस्तकालयको व्यवस्था घरमा नै गरिएको थियो । उनी सानैदेखि कथा पढ्न र हजुरआमाका कथा सुन्न निकै मन पराउँथिइन् । सेल्माको पढाइप्रतिको लगावलाई सम्मान गर्दै उनका पिताले उनलाई रोयल उमन सुपेरियर ट्रेनिङ एकेडेमी स्टकहोममा पढ्ने वातावरण मिलाए । उनले स्नातक तह उत्तीर्ण गरेपछि अध्यापन गर्न थालिन् । उनले लेन्डक्रोना भन्ने ठाउँमा १० वर्ष जति शिक्षिका भएर काम गर्ने मौका पाइन् ।
शिक्षण पेसामा रहँदा उनले विद्यार्थीबाट फरक फरक चरित्रसँग व्यवहार गर्न सिकिन । उनी शिक्षण र लेखनमा समानान्तर रूपमा अगाडि बढिरहेकी थिइन् । पछिल्ला दिनमा भने उनले शिक्षण पेसा पनि त्याग गरिन् । पूर्ण रूपमा लेखन कलामा समर्पित भइन् ।
सेल्माको रुचि र प्रतिभालाई सार्वजनिक रूपमा चिनाउने काम उनको पहिलो उपन्यास ‘द स्टोरी अफ गोस्टा बार्लिङ्ख’ ले गर्यो । सन् १८९० मा आइडन नामक पत्रिकाले एउटा कहानी प्रतियोगिता गरायो । त्यसमा सेल्माले पनि भाग लिएकी थिइन् । यिनको कहानीलाई प्रथम घोषित गरियो ।
उनी प्रथम भइन त्यो प्रतिस्पर्धामा यिनले भाग दिने इच्छा गरेकी थिइनन् । उनले पुरस्कार पाउने आशा पनि गरेकी थिइनन् । यिनले आफ्नी बहिनीका अनुरोधमा कथा लेखेकी थिइन् । उनकै अनुरोधमा उक्त प्रतिस्पर्धामा भाग लिएकी थिइन् ।
कथा प्रतियोगितामा प्रथम भएपछि यिनी निकै हर्षित भइन् । पत्रपत्रिकामा रचना छाप्न थालिन् । ती रचना कथा विधा केन्द्रित हुन थाले । उनको कथाकारका रूपमा चर्चा हुन थालेसँगै पत्रिकाका सम्पादकले उनलाई रुचाउन थाले । केही सम्पादकले उपन्यास लेख्न सुझाव दिए ( (पृ. ४२३ ) । उनले उपन्यासमा हात हालिन् । कथा फनि लेखिरहिन । यसो गर्ने क्रममा यिनको सिर्जनात्मक रुचि बढ्दै गयो ।
उनको पहिलो उपन्यास सन् १८९१ मा प्रकाशित भयो । त्यस उपन्यासमा काव्यिक शैलीको प्रयोग गरिएको थियो । उनको त्यस शैलीले आख्यान लेखन परम्पराका रूपमा समीक्षकहरूले समर्थन गरे । उनले सिर्जना गरेर स्थापित नवीन परम्पराले राम्रै स्थान पायो ।
पहिलो औपन्यासिक कृतिले स्विडेनमा निकै ठुलो हलचल ल्यायो । सन् १९२४ मा यस कृतिमा आधारित भएर चलचित्र बनाइयो । त्यस चलचित्रमा तत्कालीन समाजका चर्चित अभिनेता ग्रेटा गार्बोले अभिनय गरे । त्यसले थप चर्चा पायो ।
पहिलो कृतिमै तत्कालीन स्विडेनका राजा ओस्कारले लेखकलाई चिने । राजा र स्विडिस एकेडेमीबाट सेल्मालाई लेखनवृत्ति प्रदान गरियो । त्यस वृत्तिले गर्दा उनलाई जीवन निर्वाहमा कुनै कठिनाइ परेन । उनले आफ्नो सम्पूर्ण समय लेखन कार्यमा लगाउन चाहिरहेकी थिइन् । त्यस वृत्ति प्राप्तिपछि आफूलाई सम्पूर्ण रूपमा लेखनमै समर्पण गर्ने अवसर पाइन् ।
सेल्माले सन् १८९९– १९०० मा भ्रमणमा निस्किइन । उनले इजिप्ट र प्यालेस्टाइनको भ्रमण गरिन् । त्यसपछि यात्राकै अनुभवका आधारमा उनले जेरुसेलमसम्बन्धी दुई ओटा उपन्यास लेखिन् । यस कृतिले उनको नाम अझ उच्च बनायो । यसले उनलाई नयाँ परिवेशलाई टिपेर सजिलै सिर्जना गर्न सक्ने लेखकका रूपमा परिचय दियो ।
सन् १९०४ मा उनी आफ्नो जन्मथलो मारबाक्का फर्किइन् । उनलाई विश्व भ्रमण गर्दा कतै पनि आफ्नो जन्मथलो भन्दा प्रिय ठाउँ भेटिएन । उनका पिताको मृत्युपछि परिवारमा ऋण लागेको थियो । ऋण तिर्नका लागि बेचिएको आफ्नो जन्म घरलाई उनले फर्काउने विचार गरिन् । त्यस घरलाई पुनः किनेर त्यसै घरमा बस्न थालिन् ।
सेल्माका तिन दर्जन कृति प्रकाशित छन् । उनका कृतिहरू क्रमशः सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले उच्च लेखिए । पाठकहरूले पनि असाध्यै रुचाउन थाले । उनका त्यस्ता कृतिमध्ये द मिराकल अफ एन्टिक्रिस्ट (१८९७), जेरुसेलम (दुई खण्ड –१९०२), द वन्डरफुल एडभेन्चर अफ नील्स (१९०७), द एम्परर अफ पोर्तुगल (१९१०), द जेनेरल रिङ्ख (१९२५), एन्ना स्वेर्ड (१९२८), मेमरिज अफ माइ चाइल्डहुड (१९३०), द डायरी अफ सेल्मा लागरलोफ (१९३२), हार्भेस्ट (१९३२) आदि महत्वपूर्ण कृतिहरू हुन् । यी सबै कृति आआफ्ना महत्वसाथ प्रकाशनमा आएका छन् ।
लागरलोफ का कृतिहरूमा मिथकीय प्रयोग पाइन्छ । उनले साहित्य र जीवनलाई सापेक्षित सम्बन्धका रूपमा हेर्ने गरेकी थिइन् । उनका स्वच्छन्दतावादी र काल्पनिक उच्चता भएका कृतिहरूले उत्तरी स्विडेनको भूबनौट र किसानका श्रमशील जीवनको जीवन्त तस्बिर उतारेका छन् (पृ. १९) ।
सेल्माका कृतिहरूले निकै प्रसिद्धि कमाएका छन् । उनका कृतिहरू तीसभन्दा बढी भाषामा अनुवाद गरिएका छन् । दशभन्दा बढी कृतिहरूमा ठुलो पर्दाका चलचित्र निर्माण गरिएका छन् । उनका उपन्यासहरू अस्तित्ववादी चिन्तन र स्वच्छन्दतावादी भावधारामा लेखिएका छन् ।
लागरलोफ नारीका विषयमा वर्गीय दृष्टिकोण राख्ने लेखक हुन् । उनका कृतिमा नारी हुनुको गौरवबोध र नारी अस्तित्वको खोज केन्द्रमा हुन्छ । प्रायः नारी समस्या र मनोविज्ञानलाई प्रतिबिम्बन गरिएको पाइन्छ ।
उनी कतिपय ठाउँमा नारी र प्रकृतिलाई एकाकार गरिरहेकी भेटिन्छिन् । प्राकृतिक सुन्दरतामा उनको ध्यान बढी आकृष्ट देखिन्छ । हार्दिकता र कल्पनाशीलताको समिश्रणले उपन्यास पढौँ पढौँ लाग्ने खालका छन् । साथसाथै आध्यात्मिक चिन्तन र धार्मिक आदर्शलाई पनि उनका उपन्यासले समेटेका छन् ।
पात्रको चरित्र चित्रणमा पनि उनी निकै सचेत देखिन्छिन् । सरल भाषाशैलीका माध्यमबाट जीवन र विचारको उच्चतालाई उद्घाटन गर्न सक्नु उनको विशिष्टता हो ।
सेल्माको साहित्यिक योगदानको कदर गर्दै स्विडिस एकेडेमीले सन् १९०४ मा स्वर्ण पदक प्रदान गर्यो । यो त्यस मुलुकको विशिष्ट पदक थियो । सन् १९०७ मा उप्लासा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि प्रदान गरियो । त्यस विश्वविद्यालयले विशिष्ट महानुभावलाई मात्र त्यस्तो उपाधि दिन्थ्यो ।
उच्च स्तरका पदक र उपाधिले लागरलोफेको मनोबल अझ मजबुत बन्दै गयो । उनले लेखन कार्यलाई अझ तीव्र गतिमा अघि बढाइन् । साहित्य लेखनप्रतिको समर्पणले गर्दा उनले घर व्यवहारका कुरामा उति ध्यान दिइनन् । उनी आजीवन साहित्य सिर्जनामै सक्रिय भइन् ।
कुनै वैचारिक र दार्शनिक सिद्धान्तलाई साहित्यको साध्य बनाउँदै साधनामा केन्द्रित सेल्मा साहित्यका क्षेत्रमा नोबेल पुरस्कार पाउन सफल भइन् । उनी साहित्यिक जगत्की पहिलो नोबेल पुरस्कार विजेता नारी हुन् । उनले सन् १९०९ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरिन् ।
नोबेल पुरस्कार पाएपछि पनि उको कलम रोकिएन । पुरस्कार पाएपछि पनि उनले सन् १९११ मा लिलिक्रोनाको घर र सन् १९१८ मा बहिष्कृत नामक दुई ओटा कृति प्रकाशित गरिन् ।
लागरलोफ छ वटा भाषाकी ज्ञाता थिइन् । उनी ती भाषाका साहित्य पढेर आस्वादन गर्न र आवश्यकताअनुसार अनुवाद गर्न सक्थिन् । बहुभाषिक ज्ञान र विशिष्ट सिर्जनात्मक प्रतिभा भएकाले उनी आफ्नो समयमा निकै चर्चित थिइन् । आफ्नै विशिष्ट प्रतिभाले उठेकी यस्ती प्रतिभावान् व्यक्तिको निधन सन् १९४० मार्च १६ का दिन आफ्नै जन्मघरमा भयो । यो उनका पिताको पनि जन्मघर थियो । उनले यो घर उकासेर बसेकी थिइन् ।