- कथा
मोहनप्रकाश (ताप्लेजुङ) युवा पुस्ताका लेखक हुन् । उनी भूगोल र नेपाली लदुई विषयमा स्नातकोत्तर हुन् । यिनले स् दशवर्ष शिक्षण सेवा गर्नका साथै हाल रङ्गमञ्चका क्षेत्रमा आबद्ध छन् । यिनका छिटफुट पत्रपत्रिकामा लेखन गरिरहेका छन् । यिनको मूल रुचि रङ्गमञ्च क्षेत्रमा रहेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको मुगा शीर्षकको कथा समेटिएको छ । यस कथाले निकै व्यापक परिवेशमा विदेशी जोडी र स्वदेशी जोडीको प्रेमको असफलतालाई देखाएका छन् । प्रेमसँग सम्बन्धित समस्यालाई देखाउनु यस कथाको उद्देश्य हो ।
– सम्पा. |
माथि बालमन्दिर स्कुलमा घामका किरण ठोक्किएर उज्यालो पाखिँदै थियो । स्कूलको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल बादलबाट टाउको झिकेर चामे बजार चियाउँदै थियो । मेरी र म तातोपानी स्नान गरेर होटलतर्फ लाग्यौँ ।
‘के उभिराख्या नि पाउना जस्तो ?’ साउनी बोलीन् । म नजिकैको टुल तानेर बसेँ ।
‘के हो तरुणीलाई त एकछिन् छोड्दैनौ त ?’ उनले व्यङ्ग्य कसिन् ।
‘तिमीलाई लिएर जाउँ भने दोर्जेले मार्ला,’ मैले उनकै शैलीमा उत्तर फर्काएँ ।
‘किन मार्नु नि, झन खुसी हुन्छ ।’
‘किन खुसी हुनु नि ?’
‘थोत्रो गए तरुणी ल्याउन पाउँछ ।’
हा…हा…हा………..!
बिहानैदेखि हँसाउन थालिन् साउनीले ।
साउनी किचनभित्र पसिन् । म बाहिर निस्केँ । माने गुम्बा हुँदै मालपोत कार्यलयको चेपको बाटो माथि लागेँ । देबे्रतिर खिया लागेको एउटा साइनबोर्ड थियो । मधुरा उक्किसकेका अङ्गे्रजी क्यापिटल अक्षरमा ‘फल’ लेखिएको मात्र देखिन्थ्यो । त्यो भन्दा माथि निहालेर हेर्दा मात्र देखिने ‘होटल प्याराडाइज’ देखिन्थ्यो । सबै कुरा बुझेपछि यो ‘होटल प्याराडाइज फल’ थियो ।
स्याउका रुखहरूले घेरिएको होटल प्याराडाइज फल कुनै समय चामेको केन्द्र थियो । सदरमुकाममा आउने कुनै पनि वरिष्ठ सरकारी कर्मचारीको जमघट केन्द्र थियो । समाजसेवीहरूको जमघट केन्द्र थियो । विभिन्न निकायका विशिष्ट व्यक्तित्व सबैको जमघट स्थल थियो । चामेकै सबैभन्दा उच्च स्थानमा अवस्थित होटल । यसका कौशीबाट नमस्ते गेटसम्म फैलिएको चामे बजार स्पष्ट देखिन्थ्यो । चामे अगाडिको विशाल भीर त होटलको कौशीबाट हातैले छुन सकिन्छ कि जस्तो लाग्थ्यो ।
कहीँ–कहीँ भत्केको, ढुङ्गा विच्छ्याइएका सिढीँबाट बिस्तारै म माथि चढेँ । सिँढीका दुवैतिर पहिले ढकमक्क राता, कलेजी गुलाफ फुलेका भेटिन्थे । अहिले तिनको नामोनिसान थिएन ।
तीनवटा भवनहरू तीनतिर फर्केका थिए । कतै–कतै ती जिर्ण र घाँस उम्रेका देखिन्थे । पछाडि कुनापट्टिको एउटा स्याउको रुखमा पूर्ववत् फूल फुलेका थिए । बाँकी आठ–दश बुट्टा सुकेका थिए । केही काटिसकेका ठुटा मात्र थिए । बिस्तारै म होटलको आँगनमा पुगेँ । दक्षिणतर्फको स्याउका रुख छेवैको भवनभित्र भाँडाकुँडा बजेको आवाज आउँदै थियो ।
म स्याउ बगानतिर उक्लिएँ । स्याउ बगानमा राखिएका सेता काठका कुर्सीहरू रङ उक्किसकेका थिए । ती जीर्ण र झारले छोपिन लागेका थिए । यत्तिकैमा मेरो सामुन्ने मुगा देखा परी । ‘मुगा’, मेरो बोली अनायसै फुत्कियो । उसको कपाल र कपडा अस्तव्यस्त देखिन्थे । ‘मुगा !’ मैले पुनः बोलाएँ । ऊ एकटक मलाई हेरिरही । मलाई कता–कता अफ्ठेरो लाग्यो । अचानक ऊ भक्कानिएर रुन पो लागि ।
मैले सम्झाउने कोसिस गरेँ । र, केहीबेरपछि उसैले भनी ‘प्रकाश तँ कहिले आइस् ?’ आइज चिया खान । उसलृ मलाई तान्दै भित्र पुर्याई । बल्ल यसले मलाई चिनिछे भनेर म समालिएँ ।
म छेऊको कुर्सीमा बसेँ । उसको कोठा अस्तव्यस्त थियो । उसले एउटा पुरानो थर्मसबाट कालो चिया त्वार्र.. पारी । चियाको कप मलाई दिँदै बोली ‘तैँले बिहा गरिस् ?’
मैले गरेँ भन्ने भावमा टाउको हल्लाएँ । ऊ खुर्र भित्र पसी । मलाई उसको कोठामा बस्न अफ्ठ्यारो लाग्यो । ऊ भित्र पस्दा मैले चिया स्वाट्ट फालेँ । ऊ निस्कँदा चिया पिएको अभिनय गरेँ ।
‘ला, यो माला तेरो केटीलाई लाइदे ल !’ यसो भन्दै उसले मलाई एउटा रातो माला दिई । माला खल्तिमा राख्दै ‘मुगा बस ल, म गएँ भन्दै बाहिर निस्केँ । ऊ के के आवाज निकालेर एक्लै बोल्दै रही । म फटाफट सिँढीबाट तल झरेँ ।
000
‘हामीले थाहा पाउँदा मुगा जम्मा नौ वर्षकी थिई । उसको घर ‘फूू’ गाउँमा थियो । उसका बा–आमा यार्चागुम्बा टिप्न जान्थे । त्यतै अचानक हिउँ–पहिरोमा परेछन् । त्यो बिचरी टुहुरी भई । उसकी फुपूले ल्याएर पाली । उसकी फुपू त्यतिबेला यही खोल्सो छेउको छाप्रोमा चिया बेच्थी । मुगाका फुपा ज्यालादारीमा काम गर्थे ।
मुगा आएपछि ती जोईपोइका’नि भाग्य फर्किए । मुगा बढ्दै गई । होटलमा चिया खाजा खानेहरूको भिड बढ्न थाल्यो । दिउँसो मुगा स्कुल पढ्थी । बिहान बेलुका होटलमा फुपू–फुपालाई सगाउँथी । होटल तीन जनाले थाम्न सकेनन् । दुईजना काम गर्ने मान्छे राखे । पछि त्यहीँ पछाडि दुई तले घर बनाएर गेष्ट हाउस चलाए ।
स्कूल पढ्दा–पढ्दै मुगाले प्रेमलाई मनपराइछे । मुगालाई भने पारिको साहूको छोरो उगेनले मन पराउँथ्यो । मुगाको जन्मदिनको दिन उगेनले उसका साथीहरू भेला पारेर मुगालाई विवाह गर्ने कुरा गर्यो । ऊ दलबलसहित घरै लान भनेर आयो । स्कुलमै मुगासँग उगेनको ठूलै झगडा भयो ! भोलिपल्ट उगेनले मुगाको होटलमै आएर उपध्रो मच्चायो ।
एसले पे्रमलाई मरणासन्न पारेर कुट्यो । मर्यो ठानेर खोल्सो छेउमा फालेर गयो । अरू कुनै रिस राग होइन मुगासँग प्रेम गर्नु नै उसको दोष थियो ।
प्रेमको पढाई राम्रो थियो । मुगा र पे्रमले यही स्कूलबाट एसएलसी गरे । पछि यहींबाट १२ पनि सिध्याए । प्रेम र मुगाकै निहुँमा उगेनले मुगाका फुपालाई खुकुरी हान्यो । पुलिसले उगेनलाई पक्डियो । तीन दिनपछि मुगाका फुपा अस्पतालमै मरे । त्यसको करिब एक वर्षपछि मुगा र प्रेमले विवाह गरे । त्यसको केही महिनापछि मुगाकी फुपू पनि बितिन् ।
मुगा र प्रेमले त्यही होटल चलाए । उनीहरूका प्रयासले त्यो होटल दोब्बर–तेब्बर चल्न थाल्यो । पछि उनीहरूले त्यो माथि डाँडामा होटल बनाए । त्यसपछि त्यो होटलमा पर्यटकका लर्को लाग्न थाल्यो । उनीहरूकी एउटी छोरी जन्मिई ।
अनायास प्रेमलाई रोगले समात्यो ।’
बोल्दा–बोल्दै साहुनी चुप भई । बाहिर कोही फत्फताए झैं लाग्यो । मुगा नाच्दै होटलभित्र पसि । साहुनी आँखा पुछ्दै भित्र पसी ।
‘मुगा कहाँ जान लाग्यौ ?’ मैले साधेँ ।
उसले मलाई एकछिन् हेरी । फिस्स उडेका आँखा, ख्वाटी, दुब्ली, अनुहारमा अलि–अलि पोतो र ल्याङ्फ्याङ् पहिरनमा थिई । ऊ केके कराउँदै फुत्त बाहिर निस्की ।
होटलको गेटबाट बाहिर निस्कँदा दुई–तीन जना केटाहरू फूल र अभिर लिएर जाँदै थिए । ती मध्येको एक कसैलाई भन्दै थियो, ‘आज उगेन छुट्दै छ !’
म पनि तिनीहरूकै पछि–पछि माडातिर लागें । काँडेतारले वरिपरि घेरिएको बन्दी–गृहको गेटमा ठुलै भिडभाड । खाद्य संस्थाअगाडिको पर्खालमा केही घोडाहरू थिए । झ्याप्प दारी पालेको एउटा व्यक्ति बाहिर निस्कियो । बाहिर उभिएका केही केटाहरू कराए ‘‘उगेन’’ ‘‘उगेन’’ !
ऊ बाहिर निस्किने बित्तिकै कतैबाट मुगा फुत्त निस्किई । उसले उगेनको मुखैमा पर्नेगरि थुकिदिई ।
दाह्रीवाल दाह्रा किटेर करायो ‘हे बहुलाई तँलाइ त जिउँदै…।’
उसले पूरा बोल्न नपाउँदै केटाहरूले घेरे । अविर धस्दै उसलाई लगे । एउटाले माला लगाइदियो । ती मध्येको एउटाले मुगालाई घचेडेर लडायो । उनीहरू कराउँदै तल झरे । मुगा उठेर थु…थु… गर्दै तिनीहरूका पछाडि पछाडि दौडी ।
म होटलमा पुग्दा मेरी कफी पिउँदै थिई । मलाई देख्नेबित्तिकै मुसक्क हाँस्दै बोली– ‘म तैयार भैसकेँ ।’
हामी सँगै बाहिर निस्कौँ । नमस्ते गेटको उत्तरपट्टि अर्थात् हाम्रो देबे्रपट्टिको सल्लाघारीमा घटेको एउटा बिगतको घटना उसलाई सेयर गर्नु थियो ।
सल्लाघारीभित्र तीन–चार घोडाहरू चरिरहेका थिए । अलिकति भत्केको ढुङ्गाको पर्खालबाट छिरेर हामी सल्लाघारीभित्र प्रवेश गर्यौँ । त्यो नजिकको ढुङ्गाको पर्खाल देखाउँदै मैले मेरीलाई भनें, ‘हो, यही पर्खालमा ढल्के जस्तै केटीको लाश रहेको थियो ।’
‘‘लाश’’ भन्ने बित्तिकै ऊ झस्की ।
‘हो लाश ।’
म पुनः बोलेँ– ‘यहाँबाट तल खोलाको छेउमा केटाको लाश झरेको थियो ।’ उसले त्यहाँ निहालेर हेरी । मेरो कुरा सुनेर ऊ झन् गम्भीर बन्दै बोली– ‘अम्…कस्तो घटना ?’
छ वर्षअगाडिको कुरा हो । म दुई जना अष्ट्रेलियन लिएर चामे आइपुगेको थिएँ । एक जोडी भारतीय बङ्गाली पनि केही दिनअगाडि नै ‘प्याराडाईज फल’मा आएर बसेका रहेछन् । तिनीहरू बिरामी झैँ देखिन्थे । चामे आएको भोलिपल्टै मुगा र प्रेमले तिनीहरूलाई घोडामा राखेर, अस्पताल लगेर ल्याएका रहेछन् । ती दुवै थकित झैँ लाग्थे । होटलको स्याउ बगान छेउको कुनापट्टिको कुर्सी उनीहरूको रिजर्भ जस्तै हुन्थ्यो । त्यहीँ बसेर उनीहरू के–के कुरा गरिरहेका हुन्थे । मुगा तिनीहरूको खुब ख्याल राख्थी । सायद पाहुनाको सेवा गर्दा उसलाई आनन्द आउँथ्यो । मुगाको गेष्टप्रतिको लगाव अनौठो लाग्थ्यो । स–साना कुराहरूमा’नि ऊ सचेत देखिन्थी ।
मेरी उत्सुक मानेर मलाई सुनिरहेकी थिई । म बोल्दा बोल्दै एक्कासी तल मस्र्याङ्दीमा झ्याम्म झरेँ । टाउको ढुङ्गामा ठोक्किएर एकछिन् रन्थनिएँ । मेरो नाकबाट ह्वाल्लै रगत झर्यो ।
म बिस्तारै उठेँ । मेरी डिलमाथि चिच्याउँदै थिई । केहीक्षणपछि दुईजना मान्छे त्यहाँ आइपुगे । म बोल्दाबाल्दै डिलमा पुगँेछु र ढिस्को फिसल्किएर ढिस्कोसँगै झरँेछु । ती दुई मानिसले खोलामा झरेर मलाई माथि पुर्याएँ ।
‘धत्, यस्तो ठाउँमा नि कोही बस्छ ? यहाँ त दिउँसै तर्साउँछ ।’ ती दुई मध्येको एउटा बोल्यो । हामी चारै जना त्यहाँबाट निस्कियौँ ।
󠇨󠇨󠇨󠇨०००
बिहान छ बजेको अलार्म बज्यो । उठेर म बाथरुम छिरेँ । मेरी पनि उठिसकेकी थिई । तल डाइनिङमा पुग्दा कल्याङमल्याङ आवाज सुनियो । माथि मुगाको घरभरि भिड थियो । प्रहरीहरू तलमाथि गर्दै थिए । सर्वसाधरणको पनि ओहरदोहर देखियो । म पनि त्यतै दौडिएँ । सिँढी चढेर माथि पगेँ ।
ओहो ! बिहान–बिहानै यो के देख्न पर्यो ?
त्यो सेता फूल फुलिरहेको स्याउको रुखमा मुगा झुण्डिएकी थिई । उक्त दृश्य देख्ने बित्तिकै ठुलै हुण्डरी चले झैँ भयो । म फर्केर बजार पुगेको पत्तै पाइँन । बजारको भिडले मुगाकै कुरगरिरहेको थियो ।
धेरैथरि मान्छेका धेरैथरि कुरा चल्दै थिए बजारमा । बाटामा केही महिला आँसु पुछ्दै तल झरे ।
एकैक्षणपछि हस्याङफस्याङ गर्दै दोर्जे आइपुग्यो । उसका कुरा सुन्दा पो हामी छक्क पर्यौँ ।
राति बाह्र बजेतिर उगेन र उसका साथीहरू सँगै थिए । उनीहरू माडातिरको झोलुङ्गेपुलबाट तल झरेका थिए । तिनलाई सिडियो कार्यालयको सुरक्षा गार्डले देखेको रहेछ । प्रहरीले उगेन र उसका साथीहरूमाथि शङ्का गरेको छ रे ! दोर्जेको उक्त कुरा सुन्नेबित्तिकै उगेनका शब्दहरू मेरा कानमा पुनः गुञ्जिए, ‘हे बहुलाई तँलाइ त जिउँदै…….।’
बजारको भिड छिचोल्दै झोलुङ्गेपुल तरेर हामी उँभो लाग्यौँ । हाम्रा अगाडि गुचमुच्च आठ–दश घर भएको पुरानो बस्ती थियो । ठूलो भीरलाई दाहिनेतिर पारेर हामी सानो सल्लाको जङ्गलभित्र पस्यौं । केहीक्षण उकालो चडेपछि तलेखु पुगियो । मैले तलेखुबाट दक्षिणतर्फ फर्केर हेरेँ । चामे बजार तल छेलिएको थियो । बजार छलिए पनि ‘प्याराडाइज फल’का तीनवटा भवनहरू हाम्रो सामुन्ने देखिन्थे । आजदेखि तिनका गर्भमा कुनै प्राणधारी जीव रहनेवाला थिएनन् । प्याराडाइज कतै हराएर ‘फल’ मात्र बाँकी रहेको त्यो खिया लागेको बोर्ड जस्तो ती भवनका अस्तित्व क्रमशः गिर्दै थियो ।
माथि अनौठा भू–दृश्यहरू देखिन थाले । भीरलाई कोपेर बनाइएको बाटोबाट दख्खिन–पश्चिमतिर अन्नपूर्ण हिमाल अझ खुल्दैै गईरहेको थियो । पारिपट्टि खोंचमा एउटा दूधे झरना मस्र्याङ्दीलाई दूध चुसाईरहेकी थिई ।
मेरी अनौठा भू–दृष्यहरूका आकृतिमा भुलेर आनन्द लिइरहेकी थिई । उसका नीला आँखा रहस्यले भरिएका तलाउ झैँ देखिन्थे ।
हामीले सल्लाको जङ्गल कटिसकेका थियौँ । सायद मुगाले यही ठाउँलाई देखेर आफ्नो होटलको नाम ‘प्याराडाईज फल’ जुराएकी हुनुपर्छ । यसको नाम ‘स्वर्गद्वार’ थियो । स्थानीयहरू स्वर्ग पुग्ने विश्वासका साथ यस स्थानको पूजा गर्ने गर्छन् । कोही–कोहीका अनुसार स्वर्गद्वारमाथि चट्टानी टुप्पोमा मनाङे राजाको दरवार थियो रे !
डा. हर्क गुरुङले ‘मैले देखेको नेपाल’ पुस्तकमा यो स्थानलाई ‘रंगशाला’ नाम दिएका छन् । जुन स्थानको चट्टानी स्वरूप रंगशालासँग मेल खान्छ ।
बाटोको छेउमा भिरालोमा लस्करै बनाईएका कटेजहरू भएको पिसाङ होटलभित्र हामी छिर्यौं । बाहिर र्वार्इं–र्वार्इं गर्दै हावाको वेग चलिरहेको थियो ।
०००
म डाइनिङमा बसिरहेको थिएँ । मेरी नुहाएर फुर्तिली हँुदै भित्र पसी । उसले मेरो निधारको घाउ निहाली । मेरो सामुन्नेको कुर्सीमा बस्दै ऊ पछाडि आरामले ढल्की । उसले ती बंगाली जोडीकाबारे पुनः जिज्ञासा राखी ।
‘अष्ट्रेलियन जोडी र म बिहान सबेरै चामे छोड्नेवाला थियौँ । हाम्रो सेड्युलले फेल खायो । हामी उठ्नुअघि नै होटल प्याराडाईज फललाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो । प्रहरीले एउटा उर्दी जारी गर्दै होटलमा एउटा सूचना टाँसेको थियो ।
प्रिय गेष्ट,
यो होटलमा केही दिनदेखि बस्दै आएका एक बङ्गाली जोडी प्रमोद वेनर्जी र जिन्टी घोषको तल सल्लाघारीमा मृत अवस्थामा लाश फेला परेको हँुदा छानबिन तथा अनुसन्धानका लागि कुनै पनि होटलका स्टाफ तथा पाहुना महानुभावहरूले आज एक दिनका लागि होटल नछाडिदिनुहोला । तपाईंहरूको सहयोगविना हाम्रो अनुसन्धान प्रभावकारी हुन सक्दैन ।
तपाईंहरूलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।
जिल्ला प्रहरी कार्यालय
चामे, मनाङ
०००
हाम्रो त्यो दिनको यात्रा स्थगित भयो । प्रहरीले होटलमा बस्नेहरूको व्यक्तिगत विवरणका एक–एक प्रतिलिपीहरू लियो र प्रत्येकसँग सामान्य सोधपुछ गर्यो ।
प्रहरी अफिसरले मुगालाई ती मृत जोडीका बारेमा केही सोधपुछ गरे । प्रहरीका जिज्ञासामा मुगा बोल्न थाली, ‘हाम्रो होटलमा यो जोडी नौ दिनअगाडि आइपुगेको थियो । यिनीहरू मूक्तिनाथको यात्रामा आएको बताउँथे । यहाँ आईपुग्दा दुवै बिरामी जस्ता देखिन्थे । आएको भोलिपल्ट हिँडडुल गर्नै नसकेर थलिए झैँ भए । हामीले दुवैलाई घोडामा राखेर अस्पताल पुर्यायौं । केटालाई टाइफाइड, केटीलाई सामान्य ज्वरो र आउमासी भएको रहेछ ।
केही दिन औषधि खाँदै आराम गरे । अलिक बिसेक भएपछि एक दिन डाइनिङमा बसेर कफी पिउँदै थिए । म रिसेप्सनमा बसेर मालाका दानाहरू उन्दै थिएँ । त्यतिखेर केटीले बोलेको मैले सुनें, ‘मलाई ड्याडी ममीसँग एकदम डर लाग्छ । म त घर जाँदै जान्नँ बरु यतै मर्छु ।’ केटो पनि निराश देखिन्थ्यो । ऊ केही नबोली केटीका कुरा सुनिरह्यो ।
मैले यिनीहरू दुई प्रेममा परेर भागेको कुरा अनुमान लगाएँ । बिरामी र थकानले थलिएकी त्यो युवतीलाई मैले एक दिन होटलको कौसीमा लगेर तेल मालिस गरिदिएँ । एकछिन्पछि आँसु बर्रर.. झरेर ऊ मेरो काखमा घोप्टिई । केही छिन् पछि उसको अनुहार निहालेँ । उसले भित्र पीडाको ठुलै पोको बोके झैँ लाग्यो । तर मसँग केही खोल्न सकिन ।
अर्को दिन दुवै हाम्रो स्याउको बगैँचा अगाडि घाम ताप्दै ठट्टा गरेको देखेँ । हाम्रो होटलमा आएको हप्ता दिनपछि यो जोडीको हाँसो मैले पहिलो पटक देख्दा मलाई यिनीहरूको खुसी विशेष बनाउँने इच्छा जाग्यो र एक–एक वटा ब्रासलेट उपहार दिएँ । हामीले सँगै बसेर फोटो पनि खिच्यौँ । त्यो दिन मैले तिनीहरूलाई ‘खप्से’ बनाएर ख्वाएँ । तर हिजो र अस्ती यी दुवै गम्भीर देखिएका थिए । हिजो दिउँसोसम्म स्याउको बगैँचामै बसेर गफ गरिरहेका थिए । दिउँसोको खाजा खाएर होटलको बिल मागे । उनीहरूले भोलि बिहानै माथि लाग्ने कुरा गरेका थिए । बिल तिरेर उनीहरू घुम्न बाहिर निस्केका थिए । राति अबेरसम्म होटलमा नफर्केपछि कोठामा आएर सुतिसकेकी भनेर म उनीहरूको कोठामा गएँ । कोठाको ढोका खुल्लै थियो । म भित्र पसेँ । उनीहरूका लुगा र सामान कोठाको एकापट्टि कुनामा मिलाएर राखिएका थिए । मैले टेबलमा डटपेनले थिचिएका केही चिठ्ठिका पानाहरू देखेँ ।
मुगाले केही कागज निकाल्दै अफिसरलाई दिई । ऊ कागजका पानाहरूमा आँखा दौडाउन थाल्यो ।
प्यारी बहिनी मुगा,
हामीलाई तिम्रो सेवा प्राप्त गर्न, तिम्रो मायाले यहाँसम्म खिचेर ल्याएको रहेछ । तिमीलाई भेटेर हामीले धेरै कुरा सिक्यौँ । एउटा अन्जान मानिसले अर्को अन्जान मानिसप्रति देखाएको सद्भाव र प्रेम विरलै देखिएला ।
प्यारी बहिनी हामीलाई माफ गर ल ! यत्रो दिन तिमीसँग बस्दा, तिमी हामीमाझ पानी जस्तै छ्याङ्ग खुलेकी थियौ । तर हामीले मनभित्रका पीडा तिमीसँग खोल्न सकेनौँ । यी मनभित्र पीडा मात्र थिएनन् । भित्र–भित्रै पाकेर विषालु सर्प झैँ हामीलाई डस्न थालेका थिए । हामी दुवै बास्तवमा भित्रैदेखि कमजोर भएका थियौँ ।
हामी दुवै एउटै कलेजमा सँगै पढ्थ्यौँ । हामी एमबिएका विद्यार्थी थियौँ । पहिलो भेटमा नै हामीले एक अर्कालाई मन परायौँ । समय बित्दै जाँदा हामी दुवै एक–अर्काका लागि नै जन्मेका हौँ भन्ने महसुस गर्न लाग्यौँ ।
हाम्रो सेमेष्टरको अन्तिम परीक्षा सिद्घिने बित्तिकै हामीलाई समस्या पर्यो । उसका आमाबाबुले जिन्टीको विवाह एउटा धनाड्य व्यापारीसँग गरिदिने कुरा चलाउन थाले । हामी एक आपसमा यति निकट भैसकेका थियौँ कि छट्टिनु भनेको हाम्रो जीवन नै अन्त्य हुनुसरह हो ।
हामीले परीक्षा नदिई सँगै भाग्ने विचार यौं । भागेर कहाँ जाने भन्नेमा हामी निश्चित थिएनौं ।
जिन्टीले कतै हिमाली क्षेत्र गएर फ्रेस हुने र बाँकी जिन्दगीको बारेमा योजना बनाउने प्रस्ताव राखी । यो कुरामा हामी दुवै सहमत भयौँ । हिमालको कुन ठाउँमा जाने भन्ने कुरामा हामीले निश्चय गर्न सकेनौँ । त्यसको पनि टुङ्गो लाग्यो ।
हामीसँगै एक नेपाली विद्यार्थी पढ्थे । उनको नाम शंकर घिमिरे । उनी एकदमै मिलनसार र सहयोगी थिए । उनलाई हाम्रो बारेमा सबै कुरा थाहा थियो । उनले हाम्रो भविष्यको बारेमा पनि चिन्ता गरेका थिए । उनले हामीलाई परीक्षा दिएर भाग्न सुझाएका थिए । पारिवारिक दवाब यस्तो थियो कि जिन्टीको घरमा हाम्रो प्रेमको बारेमा बकवास फैलिएको थियो । हामीलाई एकआपसमा भेट्न पनि गाह्रो हुन थालेको थियो । जिन्टी कलेज आउने जाने गर्दा उसको दाइ सँगसँगै रहन थाल्यो । हामी दुवै मनोवैज्ञानिक रूपमा विक्षिप्त भइसकेका थियौँ । पढाईमा मन जानै छोडेको थियो । दुई–चार दिन ढिला भएमा जिन्टीलाई घरबाट बाहिर निस्कनै नदिने अवस्था देखेर हामी हाम्रो परीक्षा अगाडि नै भाग्ने निधोमा पुग्यौँ । शंकरले पनि हाम्रो परिस्थिति देखेर सहमत हँुदै मुक्तिनाथ जाने सल्लाह दिए ।
शङ्करको घर लमजुङ्को बाहुन डाँडामा रहेछ । उनले त्यतैबाट पदयात्रा गर्दै मूक्तिनाथ जाँदा बाटोमा देखिने गाउँले जनजीवन र प्राकृतिक भू–दृश्यहरूले मन बहलिने कुरा बताए, तर हामी बंगालको समतल, गर्मी भू–भागमा जन्मेहुर्केका मानिस हिमालको जाडोमा बाटैमा कतै थला परिएला कि भन्ने डर पनि थियो । तर हामीले हिम्मत गर्यौँ र यात्रा पक्का गर्यौँ ।
कलकत्ता छोडेको तीन दिन पछि हामी शंकरको घरमा पुगेका थियौँ । त्यहाँ पुग्दा हामी छक्क पर्र्यौं । भिराला खेतहरूमा गोरुले जोतेको, किसानहरूले यस्तो दुःख गरेको हामीले पहिलो चोटि देख्यौँ । मानिसले बाँच्नको लागि कति दुःख र सङ्घर्ष गर्दा रहेछन् भन्ने कुरा हामीलाई त्यहाँका किसानका सङ्घर्षपूर्ण जीवनले बुझायो ।
शङ्करका घरमा उसका बुढा भइसकेका बुबाआमा मात्र थिए । हामी शङ्करका साथी घुम्न आएका भन्दा खुसीले उनीहरू औधी रमाएका थिए । ती आमाबाले हामीलाई आफ्नै छोरोलाई जस्तै माया गरे । बेलुका खिर पकाएर खुवाए । माटोले बनाएको सानो घर भए पनि हामीलाई त्यो प्रेमले भरिएको महल लाग्यो । शङ्करलाई उनीहरू अति माया गर्दा रहेछन् ।
शङ्कर सानैदेखि मिहिनेती र स्कूलमा सधैँ फस्ट हुने कुरा पनि उनीहरूले हामीलाई बताए । हाम्रो सेमेस्टरमा पनि ऊ पढाईमा अग्रस्थानमा थियो । उसमा घमण्डको लेस पनि थिएन । पढाई सिध्याएर आमाबुबासँगै गाउँमै बसेर केही गर्ने कुरा उसले हामीलाई बताएको थियो ।
भोलिपल्ट बिहानै शंकरका आमाबासँग बिदा भएर हामी त्यहाँबाट हिड्यौं ।
चामे आइपुग्दा हामी थकित भैसकेका थियौँ । सायद त्यहाँको मौसममा हामी एक्लामाइज्ड हुन सकेनौँ ।
यहाँभन्दा माथि जाने कुरामा हामी असमर्थ रह्यौँ । अन्त्यमा हामीले मूक्तिनाथको यात्रा त्याग्ने निर्णय यौं । हामीप्रति तिमीले देखाएको सद्भावप्रति हामी ऋणी छौँ ।
तिम्रो र प्रेमको दाम्पत्य जीवन सुखमय रहोस् ।
प्रमोद/जिन्टी
प्रहरीसँग मुगाको संवाद जारी थियो । ‘यी चिठीका पानाहरू भेट्दा रातीको एक बजेको थियो । त्यति राती के गर्ने होला भनेर प्रेम र म हड्बडाएका थियौँ । तरपनि राति नै प्रहरी कार्यालयमा जानकारी गरायौं ।’
मेरो कुरा सुनेर मेरीको अनुहारमा मलिनता छायो । एउटा केटो ‘खाना तैयार भयो’ भन्दै डाइनिङमा छिर्यो ।
हामी दुवै त्यहाँबाट उठ्यौँ । बाहिर हावाको बेग उस्तै थियो । लुङ्दुरहरू एकनासले फत्तफताइरहेका थिए, फट्फट्ट्ट्………!