रमेश शुभेच्चु युवा पुस्ताका सक्रिय स्रष्टा, द्रष्टा एवम् साहित्यिक पत्रकार हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको प्रगतिशील साहित्यकर्मीको भेलामा प्रस्तुत विचारलाई उतार गरी प्रस्तुत गरिएको छ । यस मन्तव्यले प्रगतिशील लेखनका वर्तमान चुनौतिहरू समेटेको छ।
– सम्पा. |
प्रगतिशील साहित्यकर्मीको जुम भेटघाट एवम् विमर्श कार्यक्रमका सभाध्यक्ष आदरणीय अग्रज स्रष्टा हरिहर खनालज्यू,
कार्यक्रम संयोजक डा शम्भु कट्टेलज्यू,
अग्रज स्रष्टा रमेश अधिकारीज्यू,
अग्रज स्रष्टा शारदारमण नेपालज्यू,
अग्रज स्रष्टा गङ्गा लिगलज्यू,
आदरणीय प्रेम सङ्ग्रौलाज्यू,
लगायत यस कार्यक्रममा सहभागी अग्रज स्रष्टाहरू,
समकालीन स्रष्टाहरू,
सहभागी साहित्यप्रेमी एवम् साहित्यानुरागी बन्धुहरू,
यहाँहरू सबैमा हार्दिक न्यानो अभिवादन ।
विषय प्रवेश
आजका सन्दर्भमा हामीबिच घनीभूत छलफलको खाँचो छ । हाम्रो मुलुकको र विश्वको सामन्त संस्कृतिले काँचुली फेरेर नयाँ नयाँ स्वरूपमा आफ्नो धर्म निर्वाह गरिरहेको छ । हामी परिवर्तन पक्षधर लेखकहरू नै आपसमा विभक्त बनेर लडाइँ गरिरहेका छौँ । यस सन्दर्भमा यो स्वदेश विदेशका स्रष्टालाई जोड्ने अभियान मलाई राम्रो र उपयुक्त लागिरहेको छ । यसका विषयमा सोच ल्याउने अग्रजहरूको काम प्रशंसनीय छ । हाम्रा विचार राख्ने अवसरका लागि आभारसहित म केही समकालीन समस्याहरू राख्दैछु ।
विषय विस्तार
आजको प्रगतिशील साहित्यको कुरा गर्दा यसको ढपचाँचा हिजोकै देखिन्छ । यो साँचोको इँटा जस्तो भएर जुज्रिइरहेको छ यद्यपि आज हिजोभन्दा फरक किसिमका नायक र खलनायक देखिन थालेका छन् । अहिले गाउँले मुखिया खलनायक होइन त्यसका ठाउँमा अर्कै खलनायक जम्मिइसकेको छ । हिजो र आजको परिवेश फरक बनिसकेको छ । सामन्ती संस्कृतिले बेलैमा काँचुली फेरेर नयाँ ठाउँमा ढुकेर निम्न वर्गीय मानिसहरूलाई आक्रमण गर्न थालिसकेको छ । ऊ अदृश्य रूपमा, साइबरको बाटो भएर निम्न वर्गका ढाडमा नाचिरहेको छ । हिजोभन्दा फरक परेका केही पक्षहरू छन् । म ती पक्षलाई देखाउँछु , जहाँ हामीले कलम चलाउनु पर्ने भएको छ :
महिलाहरूका समस्या र पीडा फरक रूपमा प्रकट हुँदैछन्,
किसानका समस्या र पीडाहरू फरक स्वरूपमा बल्झँदैछन् ,
मजदुरका समस्या र पीडाहरू फरक रूपमा दुख्दैछन् ,
शिल्पकारहरूका समस्या र पीडा फरक रूपमा देखिँदैछन्,
निम्न पेसा र साना व्यवसायीहरूका पीडा फरक स्वरूपमा आउँदैछन्,
हिजोको जमिनदारी आज अर्कै स्वरूपमा देखिँदैछ,
हिजोको मूल समस्या गाँस र बासको थियो आज त्योभन्दा समस्याका क्षितिज फरक परिसकेका छन्,
सामन्ती व्यवस्थाको स्वरूपमा परिवर्तन आइसकेको छ,
हाम्रा साङ्गठनिक जुइनाहरू पनि कमजोर बनिरहेका छन्,
प्रगतिशील लेखनका ध्रुव र प्रतिध्रुवका कोणहरू फरक पर्न थालेका छन् ।
यहाँ धेरै अग्रजहरू हुनुहुन्छ । यहाँहरूसँग अनेक अनुभव छन् । यहाँहरूको अनुभव र सिर्जनात्मक अभ्यासका तुलनामा म कच्चै छु । तैपनि मेरो अध्ययनले र अभ्यासले देखेका केही कुरा म यहाँ खास खास समस्यामा केन्द्रित भएर राख्दैछु ।
मैले उठाएको पहिलो समस्या महिलाहरूको समस्या हो । आजका महिलाहरूका समस्या र पीडा फरक रूप र स्वरूपमा प्रकट हुँदैछन् । यो कसरी भने हिजो घरको चौघेराबाट बाहिर आउने समस्या थियो, हिजो स्कुलसम्म जान नपाउने समस्या थियो । आज घरका चौघेरा भत्किइसके, स्कुल जान नपाउने सम्भावना सिद्धिँदै गयो । अब परिवारभन्दा पर कार्यकक्षमा कसरी जोगिने ? भन्ने समस्या छ । नारीलाई विदेश जान नदिने समस्या होइन, विदेशमा कसरी बच्ने ? भन्ने समस्या छ । अफिस वा बाहिरी काममा जान नदिने होइन, काममा जाने र ती कार्य क्षेत्रमा कसरी जोगिने ? भन्ने समस्या छ ? आफ्नो बच्चालाई कसरी बचाउने ? भन्ने समस्या छ । बालबच्चाले मातृत्व नपाएको पीडा छ । वैदेसिक रोजगारीले परिवारसँग बस्न नपाएको पीडा छ । सरकारी जागिर, आर्मी, प्रहरी सबैतिर जागिर त भयो, हाकिमका रुचिअनुसार सरुवा खेप्नु परेको पीडा छ । सक्षमताभित्र पनि पीडा छ । आजको नारी लेखन पुरुष विरोधी लेखनका रूपमा विकास हुँदैछ । पुरुष विरोधी लेखन भन्दा यो फरक किसिमको प्रतिध्रुव पहिल्याउन नसक्नु समस्या छ । समस्या घरको पुरुषमा होइन काँचुली फेरेर आएको सामन्त संस्कृतिमा छ ।
आज किसानका समस्या र पीडाहरू फरक रूपमा बल्झँदैछन् । उदाहरणका लागि तराईको कुरा गरौँ । किसानले दुःख गरेर बर्खे धान फलाउँछन् । उनीहरूका आसपासका ठुला व्यापारीले सल्लाह गरेर भाउ कस्छन् । किसानका खेतमा धान कुहिन लाग्छ । स्थानीय व्यापारीको साँठगाँठमा भारतीय व्यापारीले लहरी ट्रक ल्याउँछ र सस्तो दाममा धान उठाउँछ । उता लगेर बोक्रा खुस्काउँछ । महँगो चामल बनाएर यता पठाउँछ । किसानलाई त्यो धान सुकाउने खलो छैन । राज्यले धानको बैँक बनाउँदैन । यो उदाहरण मात्र हो । किसान उत्पादन गरेको चिजको मूल्य नपाएर र बिचौलियाबाट सताइएर हैरान छन् । उनीहरूले दुधको, तर्कारीको, फलफूलको, मसलाको यथायोग्य मूल्य पाएका छैनन् । चौध अठार घन्टे ड्युटीमा फसेका छन् ।
मजदुरका समस्या र पीडाहरू फरक रूपमा दुख्दैछन् । जोतेर खानेको भाग ट्याक्टरले खाइदियो, पहाडमा ढाकर बोकेर खानेको भाग सडकले खाइदियो । मजदुरीसँगै प्राविधिक पक्षको खोजी हुन थाल्यो । मेरा गाउँमा ढुङ्गा माटाका राम्रा घर बनाउँन जान्ने शिल्पकारहरू अहिले इँटा सिमन्ट र रड पुगेपछि बेरोजगार भएका छन् । हाम्रा गाउँले शिल्पकारहरूले गाउँको देश होइन, देशलाई सहरको देश बनाउने सपनाको सिकार बन्नु परेको छ । योजनाहरू हाम्रा आवश्यकताले होइन, विदेशीका सिकोअनुसारका भइरहेका छन् ।
गाउँका निम्न वर्गका मानिसका सीप र कला पनि सङ्कटमा पर्न थाले । मिसिन चलाएर लुगा सिएर खाने दमाइ बाजेको भाग श्रेष्ठ टेलरिङले खाइदियो, थापा टेलरिङले खाइदियो , अधिकारी टेलरिङले खाइदियो । लोहारहरूका समस्या उस्तै छन् । ढिकी जाँतो बनाउने सीप भएका, गाउँले लोक बाजा बनाउने सिप भएका, काठका भाँडा बनाउने सिप भएका मानिसहरू भोकभोकै पर्ने अवस्था भयो । प्रस्तर कला र काष्ठकलाका कलाकारहरूलाई ढलान र सहरिया प्लाइका फर्निचरले खाइदियो । मेरा गाउँमा केही मिस्त्रीहरू काठको दराज बनाउँदा पानी नछिर्ने गरी बनाउन जान्ने थिए । उनीहरूको सिप अहिले काम नलाग्ने भयो । प्लाई जोडेको दराज राम्रो बनिदिन थाल्यो । तिनका समस्या हामीले देखिरहेका छैनौँ । लेखि रहेका छैनौँ । हाम्रो प्रगतिशील साहित्यमा आज पनि गाउँको मुखिया र उसको मोहीको विवाद छ । अब गाउँमा मुखिया नै छैन । त्यसका ठाउँमा कि प्रशासन छ कि आफैले भोट दिएको नेता छ । कि आइ. एन. जिओको एजेन्ट छ ।
हिजोको जमिनदारी आज अर्कै स्वरूपमा देखिँदैछ । आजको जमिनदारी वा शोषण विस्तारै केही व्यक्तिले चलाएका सहकारीतिर सरेको छ । विस्तारै निजी बँैकतिर सरेको छ । वैदेसिक रोजगारीमा मान्छे पठाउने म्यानपावरतिर सरेको छ । विद्यार्थीलाई विदेशी विश्वविद्यालयसँग लिंक गर्ने कन्सल्टेन्सीतिर सरेको छ । हामीले वर्गीय प्रतिध्रुव कहाँ पुग्यो भन्ने हिसाब गर्न सकिरहेका छैनौँ । ।
हिजोको मूल समस्या गाँस र बासको थियो आज त्यो भन्दा समस्याका क्षितिज फरक परिसकेका छन् । एउटा घरले अर्को घरको घाम खाइदिइराखेको छ । सामन्तले पानी बोतलमा प्याक गरिरहेछ । गाउँको दुध र सहरको पानीको मूल्य बराबरी पुग्न आँटेको छ । अब गाँस बास, कपासको समस्या पानी घामतिर पनि पुग्दैछ र स्वास्थ्य एवम् शिक्षातिर लम्किँदैछ । सामन्तका किल्लाहरू शैक्षिक संस्थाभित्र, अस्पतालभित्र, खानेपानी विक्री गर्ने उद्योगभित्र, तेल विक्री गर्ने डिपोभित्र, इन्टरनेट सेवा प्रदायक कम्पनीतिर, मोवाइल र अन्य इलेक्टोनिक कम्पनीतिर पस्न थालेका छन् । सामन्ती संस्कृति फरक स्वरूपमा, फरक रूपमा, फरक सामथ्र्यमा उभिइरहेको छ । हामी त्यसलाई चुनौती दिने गरी कलम चलाउन सकिरहेका छैनौँ । मजदुरहरू हिजो छ आठ घन्टा काम गर्थे, आज चौध अठार घन्टामा फसिरहेका छन् ।
सामन्ती व्यवस्थाको स्वरूपमा परिवर्तन आइसकेको छ । हिजोको राजाको ठाँटबाँट राष्ट्रपतिमा सीमित रहेन, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, संसद् हुँदै प्रदेश संसद हुँदै पालिकाका प्रमुख र सदस्यसम्म पुगिसक्यो । हिजोको बाहुन आज दलित भइसक्यो ।
हाम्रा साङ्गठनिक जुइनाहरू पनि कमजोर बनिरहेका छन् । मलाई लाग्छ, पञ्चायत कालभरि परिवर्तन पक्षधरहरू एकै ठाउँमा थियौँ । हाम्रा बिचमा फाटो थिएन । पञ्चायतको अवसानपछि नौ बाम र त्यसका प्रभावमा विकसित क्लव जत्रा पाट्रीका नेता हुने होड र पार्टीगत लेखक हुने होडले हाम्रा साङ्गठनिक जुइना कमजोर भए । मैले प्रलेसको जिल्लादेखि केन्द्रीय कमिटीसम्ममा रहेर काम गरिसकेको छु । म त्यस कमिटिमा नरहँदा पनि सांस्कृतिक कार्यक्रमहरूको संयोजन गरेर त्यसमा रहने साथीहरूसँग सहकार्य गरेको छु । त्यहाँ वास्तविक लेखक भन्दा एउटा झुन्डको अध्यक्ष, अर्को झुन्डको महासचिव, अर्कै झुन्डको उपाध्यक्ष हुँदै झुन्डै पिच्छेका सचिव र सदस्यको वितरण हुन्छ । लेखकभन्दा झुन्डका नेताहरूको भीड लाग्छ । उनीहरू लेखेर लेखक भएर भन्दा नेताको सोर्स लाएर प्रलेसको केन्द्रीय सदस्य बनिदिन्छन् ।
अर्को समस्या कच्चा सिर्जनामै, कच्चा अनुभवमै केन्द्रीय सदस्य भएपछि म ठुलो प्रगतिवादी हुँ भन्ने भ्रमले सिर्जना मार्ने त छँदैछ । यसले अग्रज लेखकलाई पढ्ने संस्कृति पनि हरायो, अग्रजलाई गन्ने, मान्ने संस्कृति पनि हरायो । सबै ठुला, सबै जान्ने तर प्रलेसको केन्द्रीय कमिटिको सदस्य कहीँ कतै साहित्यिक मञ्च नपाउने, आफ्ना रचना वैचारिक सशक्तिका साथ प्रस्तुत नगर्ने, आफ्ना विचार प्रवाह गर्न नसक्ने भयो । हामीमा यो समस्या छ ।
प्रगतिशील लेखन र विचारधारा कमजोर बनेको छ । हामी सांस्कृतिक विचलनको चरम चुलीमा पुगेका छौँ । हाम्रो विवाह हुँदा हामीले मञ्चमा विवाह गर्यौँ । त्यस विवाहमा श्यामप्रसाद शर्मालाई प्रमुख अतिथिका रूपमा निम्ता गर्दा उहाँ एउटा सर्ट र सुरुवाल लगाएर आउनुभएको थियो । उहाँका काँधमा उही पुरानो नेपाली झोला थियो । उहाँ जस्तो लेख्नुभयो त्यस्तै बाँच्नुभयो । यो पक्ष हामी युद्धप्रसाद मिश्र, केवलपुरे किसानहरूमा पाउँथ्यौँ । आजको पुस्तालाई ती आदर्श नचाहिने भयो । सादगी संस्कृतिमा हाम्रा नेताहरू उदाहरण योग्य बन्न सकेनन् । बरु हिजोका राजगुरु जस्ता बन्न थाले ।
ध्रुव र प्रतिध्रुवका कोणहरू फरक पर्न थालेका छन् । अब हाम्रो सामन्त मुखियाबाका घरमा छैन । साइबरको बाटो हाम्रा खल्तीबाट निस्कँदैछ । शिक्षाको बाटो हाम्रा छोराछोरी भाइबहिना बनेर उभिँदैछ । स्वास्थ्यको बाटो हाम्रा वृद्ध बाआमासँग अनुदित हुँदैछ । प्रेमको सफलताको मुद्दाभन्दा विवाह संस्थाको असफलतातिर पुग्दैछ ।
हामी पाठक पनि हेर्न छोडेका छौँ र कालजयी सिर्जना पनि गर्न छाडेका छौँ । आख्यानमा रमेश विकल, पारिजात, खगेन्द्र सङ्ग्रौला, हरिहर खनाल हुँदै ऋषिराज बरालसम्मको विरासत देख्छौँ । त्यसपछिको अविछिन्न प्रगतिशील आख्यानकार को को ? प्रश्न छ ।
कवितामा युद्धप्रसाद मिश्र, केवलपुरे किसान हुँदै प्रश्रितसम्मको निरन्तरता देख्छौँ । अनि अलमलिन्छौँ ।
एउटा उदाहरण लिऊँ । पञ्चायतको विरोध गर्ने सभामा बजेको एउटा गीत
गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ
यो गीत पञ्चायत फाल्न गाइयो, राजतन्त्र फाल्न गाइयो, संसद्वादी दल तर्साउन गाइयो र आज राजा आऊ देश बचाऊ भन्नेका भीडमा पनि गाइयो । यो शैलीको कलजयी सिर्जना हामीले कति गर्न सक्यौँ ? हामीमा प्रश्न छ । यथार्थवादी साहित्यको ढप ढाँचा सधैँ एक नासको हुँदैन । हाम्रामा कालजयीकरणको अभाव छ । नयाँ फ्रेमको खोजी आवश्यक छ । सबै साहित्य एउटै साँचोमा बनेको इँटा जस्तो बनिनु हुँदैन । आज हाम्रो ठुलो जनशक्तिले खाडीका घाम खपिरहेको छ । विदेशमा पढ्न भनेर गएर अर्कैको मजदुर बनिरहेको छ ।
अरू धेरै कुरा गनरुँ । हामी प्रगतिशीलहरू नै सरकारी र प्रतिपक्षी भएर उभिएका छौँ । हाम्रो चेतनाअनुसार राजनीति चलाउनुपर्ने मान्छे राजनीतिक स्वार्थका चिरामा चिरिएका छौँ । यी समस्यालाई चिर्न अबको पुस्ताले र पुरानो पुस्ताले पनि सोच्नुपर्ने भएको छ । आजका यी यावत यथार्थ बुझेर पाइला चाल्नुपर्ने बेला भएको छ ।
समस्या अरू पनि छन् । हाम्रो प्रतिभा अर्कैले खपत गरिरहेको छ । हाम्रो श्रम र सीप पनि अर्कैले खपत गरिरहेको छ । हाम्रो युवा पुस्ता विश्व बजारको मजदुर बनिरहेको छ । यो देशको परिचय ती मजदुरका अनुहारमा देखिन थालेको छ । हाम्रो राष्ट्रियता खोक्रो हुन थालेको छ । यी यावत समस्यामाथि बहस हुन आवश्यक छ ।
यहाँ धेरै अग्रज व्यक्तित्वहरू हुनुहुन्छ । म धेरै नबोलूँ । यी केही मलाई लागेका कुरा राखेँ । यी कुरामा कतै म बहकिएको भए वैज्ञानिक पक्षभन्दा पर गएर बोलेको भए क्षमा माग्दै विदा लिन्छु ।
धन्यवाद ।