हरिहर खनाल नेपाली साहित्यका स्रष्टा, द्रष्टा एवम् कुशल अनुवादक हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । खनालले हामीलाई खनालबाट निकोलाई गोगोलको ओभरकोट आख्यानको अनुवादसँगै यो सामग्री प्रदान गर्नुभएको थियो । हामीले यसलाई यहाँ जीवनीका रूपमा प्रस्तुत गरेका छौँ ।– सम्पा. |
सानो रुसका नामले समेत परिचित युक्राइनको पोल्तामा प्रान्तको मिर्गोरोद जिल्लाको सोरोचिन्जी भन्ने ठाउँमा १८०९ को अप्रिल १ तारिखका दिन एक बालकको जन्म भयो जसले पछि गएर रुसी साहित्य र विश्व साहित्य जगत्मा यथार्थवादी साहित्यका जनकका रूपमा ख्यातिप्राप्त गर्यो । ती बालकको नाम थियो निकोलाई भासिल्लेभिच गोगोल, जसलाई छोटकरीमा गोगोल नामले जानिन्छ ।
१८२१ मा एघार वर्षको उमेरमा गोगोललाई शिक्षा आर्जनका लागि किएभ नजिकैको एउटा आवासीय विद्यालयमा पठाइयो जहाँ उनले सात वर्षसम्म अध्ययन गरे । त्यहाँबाट उनले सात वर्षपछि १८२८ को डिसेम्बर महिनामा १९ वर्षको उमेरमा स्नातक तह उत्तीर्ण गरे । त्यसपछि उनी भविश्यको खोजीमा रुसको राजधानी मस्कोतिर लागे ।
मस्कोमा उनले सुरुमा सरकारी अड्डामा कारिन्दाको काम पाए, तर छिट्टै त्यो जागिरप्रति उनको मोह हरायो । त्यसपछि उनले एउटा नाचघरमा अभिनयको काम भेट्टाए । त्यो काममा उनलाई आनन्द लाग्यो । त्यहाँ गोगोलले उनको असाधारण प्रतिभाको प्रदर्शन गर्ने अवसर पाए ।
१८३० मा उनले पितृभूमिका टिपोटहरू नामक पत्रिकाको मार्च अङ्कमा उनको पहिलो कथा सेन्ट जोहनको साँझ प्रकाशित गरे । त्यसपछि १८३१ सेप्टेम्बर र १८३२ मार्चमा उक्राइनी विषयवस्तुका प्रत्येक खण्डमा चार–चारवटा कथा समावेश भएका दिकाङ्का नजिकको फारामका साँझहरूका दुई खण्ड प्रकाशित गरे । ती कथाका सङ्कलक ठानिएका माहुरीपालक रस्टी पङ्कोद्वारा लेखिएको पूर्वकथन [Prologue] सहित ती कथा प्रकाशित भए । ती कथाको प्रकाशनपछि तिनले गोगोललाई तत्कालै जनप्रिय लेखकका रूपमा सफलता दिलाए । ती कथाको सफलताले एउटा सामान्य प्रान्तीय तन्नेरी लेखकलाई तत्कालै प्रख्यात लेखक बनाए ।
अलेक्जेन्डर पुश्किनका स्कुले जीवनका सहपाठी र उत्तरी फूलहरूका सम्पादक ब्यारोन डोल्भिङले त्यसअघि नै पुश्किनको मित्रमण्डलीसित गोगोलको परिचय गराएका थिए । १८३१ मै गोगोल आफैँले पनि पुश्किनसित उठबस बढाएका थिए । त्यही वर्ष अगस्त २१ मा पुस्किनलाई पत्र लेख्दै गोगोलले के कुरा उल्लेख गरेका थिए भने जहाँ उनको साँझहरूको पहिलो भाग छापिँदै थियो त्यहाँ उनका प्रकाशक पुगेका थिए र त्यति बेला पुस्तकको टाइपसेटिङ्मा लागिरहेका सेटरहरू हँसिमजाक गर्दै बसिरहेको देखे । त्यसको केही दिनपछि गोगोलका कृतिहरूका विषयमा लेखिएका अघिल्ला सूचनाहरूमध्ये एउटामा पुस्किनले साहित्यिक पुरकको सम्पादकलाई लेखेको एउटा पत्रको प्रारम्भमा यस्तो लेखेका छन् जुन यस प्रकारले सुरु हुन्छ: मैले भर्खरै दिकान्को नजिकको फारामका साँझहरू पढेँ । यसले मलाई मन्त्रमुग्ध बनायो । उनी वास्तविक रूपमा उल्लासपूर्ण, इमानदार, स्वच्छन्द, सरल र औपचारिकताविहिन सरल लेखक हुन् । र, त्यसमा कविता कस्तो? कस्तो संवेदनशीलता ? वर्तमान समयको हाम्रो साहित्यमा यी सबै कुरा मैले देखेको छैन । गोगोल २२ वर्षको हुँदा साहित्य र समाज दुवैमा राम्ररी परिचित भइसकेका थिए ।
१८३५ मा उक्राइनका कथाहरूका दुइटा सङ्ग्रह मिर्गोरोद र पिटर्सबर्गको जनजीवन दर्शाउने लेखहरू र कथाहरूको सङ्ग्रह अराबेस्क बाहिर आए जसमा नेभ्स्की प्रोस्पेक्ट, बौलाहाको डायरी र पोट्रेट बाहिर आए । यति बेला गोगोल मृतात्माहरू नामक औपन्यासिक कवितामा पनि काम गरिरहेका थिए । १८३६ मा पुस्किनले उनको पत्रिका समकालीनको प्रकाशन सुरु गरेपछि उनले पत्रिकाको शुरुका अङ्कहरू पहिलोमा गोगोलको बग्गी र तेस्रोमा नाक शीर्षकका कथाहरू समावेश गरे । त्यही वर्षको अप्रिलमा प्रकाशित अङ्कमा गोगोलको सुखान्त कृति सरकारी निरीक्षकले सफलताको शिखर चुम्यो ।
एकजना युवा लेखकका रूपमा सफलताको शिखर चुमिसकेका गोगोल १८३६ मा स्विट्जरल्यान्ड, प्यारिस र रोमको विदेश यात्राका लागि रुसबाट प्रस्थान गरे । उनको बाँकी जीवनको १६ वर्षमध्ये १२ वर्ष उनले विदेशमा बिताए । १८४१ को शिशिरऋतुमा गोगोल उनको मृतात्माको प्रकाशनको पहिलो संस्करण हेर्नका लागि विदेशबाट रुस फर्किए । १८४२ मा पुस्तक प्रकाशित भएपछि गोगोल फेरि बाहिर गए । यस पटक उनी ६ वर्षका लागि बाहिर गएका थिए । पछि, १८४२ मा (मृतात्मा बाहेकका) अरू सबै कृतिहरू एकतृत गरिएको कृति ४ ग्रन्थमा पिटर्सवर्गमा प्रकाशनमा आयो । तेस्रो ग्रन्थमा प्रकाशित उनका पहिला रचनाहरूमध्ये उनको अन्तिम कथा ओभरकोट पनि थियो । यो कथाको सिर्जनापछि गोगोल एक दशक जीवित रहे । तर यति बेलासम्म उनको सिर्जनात्म जीवन पूर्ण रूपमा समाप्त भइसकेको थियो ।
१८५२ को ४ मार्चका दिन ४२ वर्षको उमेरमा यथार्थवादी साहित्यका जनक विख्यात लेखक गोगोलको देहान्त भयो । तिनै प्रतिभाशाली लेखकको अन्तिम र सबैभन्दा सुन्दर कथा ओभरकोट साहित्यसागरका पाठकका लागि यस पटक यहाँ प्रस्तुत गएिको छ ।
(गोगोलबारे अनुवादकको टिप्पणी)