देवकोटा र केदारमान व्यथित
२००२ सालको कुरा हो, केदारमान व्यथित नेपाली भाषा प्रकाशिनी समितिमा आफ्नो कविता छपाउन गएका थिए । त्यहाँ उनको कविताका विषयमा एकोहोरो छलफल भइरहेको थियो । त्यसै बेलाको प्रसङ्गमा व्यथितले लेखे —
एउटा युवकको प्रवेश भयो । ती युवकले पुरानो र मटमैलो दौरासुरुवाल, टेनिस सु र डम्बरकुमारीको अर्धानु जस्तो टोपी पहिरेका थिए । ती युवक बालकृष्ण शमशेरलाई स्वस्ति गरेर हामी बसेको मेचनजिकै थचक्कै भुइँमा बसे । ती युवक त्यसरी भुइँमा बसेको मलाई जँचेन । मैले उनलाई पनि हामीसरह मेचमै बस्ने आग्रह गरेँ । मैले निकै जबर्जस्ती गरेपछि उनी असजिलो मानेरै मेचमा बसे । त्यसपछि मेरा कविताबारे छलफल पुनः पूर्ववत् चल्न लाग्यो । ती युवकले सो छलफलमा भाग लिन लागे र बडो धाराप्रवाहको गतिले मेरा कविताका पक्षमा बहस गर्न लागे । चारैतिरबाट आफ्नो कविताको अपमान गरिएर म मर्मान्त भइरहेको थिएँ । त्यस बेला ती युवकले त्यसरी सम्मानपूर्ण तरिकाले मेरा कविताको प्रशंसा गर्दा म हर्षले पुलकित हुन पुगेको थिएँ । त्यस बखत मलाई ती युवक साक्षात् ईश्वरझैँ लागेका थिए । केही समयपछि बालकृष्ण समले ती युवकतर्पm औँल्याउँदै मलाई सोध्नुभयो ‘व्यथित ! यी को हुन् चिन्छौ ?’ समको प्रश्नको उत्तरका क्रममा मैले चिनेको छैन भनेपछि समले भन्नुभयो— “यी लक्ष्मीप्रसाद देवकोटा हुन् ।”
त्यसै दिनदेखि देवकोटासँग व्यथितको सम्पर्क क्रमशः बढ्दैबढ्दै गयो, लहलहाउँदै गयो र झाङ्गिँदै गयो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा र केदारमान व्यथित खुबै मिल्थे । त्यही क्रममा एक दिन उनीहरू घुम्न बालाजु गएका थिए । त्यहाँ घुम्न थाल्दा देवकोटालाई खान तलतल लागेछ र उनले व्यथितलाई भने ‘‘भोक लाग्यो, बदाम किन्न तपाईसँग एक रुपियाँ छ ?’’ व्यथितले आफूसँग पैसा नभएको कुरा खोलेपछि देवकोटाले बदाम पसलेसमक्ष भने ‘‘म नेपालको कवि लक्ष्मीप्रसाद देवकोटा हुँ । बदाम खान मन लाग्यो । मसँग पैसा छैन । पछि पैसा तिरौँला, अहिले एक रुपियाँको बदाम दिन्छौ’’ पसलेले पनि हुन्छ भनी देवकोलाई एक रुपियाँ बराबरको बदाम दिएका थिए ।
देवकोटा र केदारमान व्यथितमाझ प्रायः सानाठूला कुरा भइरहे । त्यति मात्र होइन, व्यथित बिरामी हुँदा देवकोटाले व्यथितको उपचारार्थ ऋण काढेर पनि उनलाई पैँतीस रुपियाँ धातुका डबल दिएका थिए । त्यसै प्रसङ्गमा व्यथितले पछिसम्म पनि भनिरहे “तिनताका हामी दुवै अघ्घोर दारिद्र्यमा थियौँ । सायद उनले पनि त्यो रुपियाँ मेरा लागि कतैबाट सरसापट गरी ल्याएका थिए ।”
केदारमान व्यथित मैतीदेवीस्थित देवकोटाको घर पुगिबस्थे । देवकोटा एक दिन भात नखाई सुतिरहेका बेला व्यथित देवकोटाका घरमा पुगेका थिए र देवकोटाले व्यथितसँग ‘म मरेको मान्छे’ भनेका थिए । अनि व्यथितले इत्रिएर देवकोटाका पिँडुलामा चिमोट्तै भने ‘तिमी मरेको छैनौ’ । वास्तवमा देवकोटाले पागल कवितामा त्यही प्रसङ्ग पनि खामे :
म आफूलाई एक दिन मरेको सम्झेर लम्पसार थिएँ,
एक साथीले बेसरी चिमोटिदिए र भने—
“ए पागल ! तेरो मासु अझै मरेको छैन”
यस्ता कुरा भए सालसाल
पागल छु साथी ! यस्तै छ मेरो हाल !
देवकोटाको खर्चको अभावमा व्यथितले नै कहिलेकाहीँ खर्च पनि दिए । उनले देवकोटालाई केही समयसम्म सांस्कृतिक परिषद्बाट मासिक एक सय पचास रुपियाँ पनि दिलाए । त्यति मात्र होइन, २००७ सालपूर्व देवकोटा केदारमान व्यथितकै समेत अनुरोधमा बनारस पुगेका थिए । समकालीन मन्छेहरू भन्थे “देवकोटा र व्यथित सहोदरीका झैँ नमुना थिए ।”
देवकोटा आफ्नो समालोचकीय धर्म जहाँ बसेर पनि निर्बाह गर्थे । त्यसै सिलसिलामा उनी रुसको तासकन्द जाँदा पनि उनले त्यहाँको विराट् लेखकभेलामा केदारमान व्यथितका विषयमा पनि प्रकाश पारेका थिए । उनले त्यहाँ व्यथितबारे भनेका थिए ‘‘केदारमान व्यथित कैयौँ नयाँ प्रयोगहरू गर्दै छन्, बौद्धिकता र भावुकतामा समन्वय ल्याउँदै छन् । यस प्रकार क्रान्तिकारी भावनालाई अभिव्यक्ति दिंदै छन् । उनका काव्यमा राजनीतिक सङ्घर्षको अनुभव प्रतिबिम्बित भएको छ ।’’
देवकोटा र माधव घिमिरे
महाकवि लक्ष्मीप्रसाद देवकोटाले मन पराएका स्रष्टाको क्रममा माधव घिमिरेको नाउँ पनि प्रमुख रूपमा आउँछ । देवकोटासँग धेरै घनिष्ठ भएकाले घिमिरेले पनि चुरोट खान सिके । कतिसम्म भने देवकोटाले झैँ एकताका घिमिरे पनि चुरोट नखाई कविता लेख्न नसक्ने भएका थिए । देवकोटाले घिमिरेलाई पनि आफ्नो मन खोल्ने गर्थे । त्यही परिवेशमा देवकोटाले अङ्ग्रेजीमा शाकुन्तल लेखेको वर्णन घिमिरेलाई सुनाउँदै भनेका थिए “नोबेल प्राइजमा दिऊँ जस्तो लागेको छ । कसो हुन्छ !”
देवकोटासँगै माधव घिमिरे पनि नेपाली भाषानुवाद परिषद्मा जागिर खाएर बसे । त्यस घडी देवकोटा मासिक सत्तरी रुपियाँ खान्थे भने घिमिरे बीस रुपियाँ खान्थे । त्यस बखत देवकोटा लेखेको लेखेकै हुन्थे । देवकोटा लेख्न बस्ता तुरुन्तै एकाग्र भइसक्थे र लेख्तालेख्तै आत्तिएर घिमिरेलाई भन्थे ‘‘तिर्खा लाग्यो, गुरु !’’ त्यसपछि देवकोटालाई घिमिरे तुरुन्तै खाने पानी ल्याइदिन्थे । अनि त्यो पानी देवकोटा एकै सासमा निलिसक्थे । घिमिरेले त्यसै बेला देवकोटाका धेरै आनीबानी थाहा पाए । घिमिरे देवकोटाका नजिक मात्र होइन, धेरै नजिकसम्म पनि पुगे । त्यसैले स्वर्गीय हुनुपूर्व देवकोटाले भने पनि “मेरा जति अप्रकाशित रचना छन्, ती सबै माधव घिमिरे र कञ्चन पुडासैनीले सच्याएर छपाउनेछन् ।”
त्यति बेला देवकोटा र माधव घिमिरे एक जिउ भएर काठमाडौँका विविध ठाउँमा घुम्थे । घिमिरे प्रायः देवकोटाका घरमा गइरहन्थे र देवकोटा पनि घिमिरेको डेरामा पुगिबस्थे । आत्मीयताका कारण एक दिन देवकोटाले घिमिरेलाई भने “मैले आफ्नो संस्कार छोडेँ र म भास्सिएँ । मेरो यहाँ राक्षसले खाएको एउटा खाडलै परेको छ । यो राक्षसले मेरो बालबच्चालाई निल्यो भने के गर्ने ?” घिमिरेसँग यी शब्द बोलेको पन्ध्र वर्षपछि देवकोटाले देखाएकै ठाउँमा क्यान्सर भएको घिमिरेले देखे ।
देवकोटाले रूसको तासकन्दमा आफूसँगै गएका माधव घिमिरेको बेसरी चर्चा गरे । जोसुकैलाई चिनाउँदा पनि उनी घिमिरेलाई नेपालका राम्रा कवि हुन् भन्ने गर्थे । त्यति मात्र होइन, त्यहाँको त्यो विशिष्ट लेखकसम्मेलनमा पनि देवकोटाले घिमिरेको व्यक्तित्वमा पाती लाउँदै भनेका थिए— ‘‘नवोदित कवि माधवप्रसाद घिमिरेले संस्कृतको अति प्राचीन छन्दको पक्षमा आवाज उठाए । बोलचालको सरल भाषामा उनी स्वदेशी पहाडहरूको सम्झना गराउने गहिरा भावहरू अभिव्यक्त गर्दछन् र स्वदेशी प्रकृतिको मोहकताको वणर्न गर्दछन् । उनी प्रभावकारी रोमाञ्चवादी धाराका प्रतिनिधि हुन् र रोमाञ्चवादविरोधी त्यस धाराको विरोधमा सङ्घर्ष गर्दैछन् जसप्रति धेरै साहित्यकारहरू आकर्षित भएका छन् ।’’
देवकोटाकै सिफारिसमा माधव घिमिरेले भारतबाट पासपोर्ट र भिसा लिएर सँगै तासकन्द गएका थिए । त्यसैले नेपाल फर्केपछि यी दुवै सँगै जरिमानामा पनि परे । माधव घिमिरेले यस विषयमा भने, “त्यो घटना देवकोटालाई फसाउने सुनोयोजित चाला रहेछ, हामीले पछि पो थाहा पायौँ ।” यसै सम्बन्धमा उनले फेरि भने “महान् व्यक्तित्व निस्केपछि त्यसलाई सबैले लखेट्न थाल्दा रहेछन् । महान् व्यक्तित्त्वका प्रति सबैका मनमा ईष्र्या र डाहा पैदा हुँदो रहेछ ।”
तासकन्द गएको सन्दर्भमा रोयल नेपाल एकेडेमीबाट देवकोटाले पाउने मासिक पारिश्रमिक रोक्का गरिएको बारे घिमिरेले भने, “कार्यबाही अघि सर्दा जब देवकोटाको पारिश्रमिक रोकियो, त्यस अवधिमा मेरो मासिक पारिश्रमिकमध्ये आधा म देवकोटालाई दिन्थेँ र आधा म लिन्थेँ । केही समयपछि राजाबाट देवकोटाका सात महिनाको पैसा फुक्का भयो र मेरो पनि अनुशासनका नाउँमा आधा महिनाको पारिश्रमिक गयो । पारिश्रमिक पाएपछि देवकोटाले मसँग लिएको जति पैसा मलाई एक्कैचोटि फिर्ता दिएका थिए ।’’