भगतवी पौडेल (सन्धिखर्क नगरपालिका, वार्ड नं ८ अर्घाखँची नेपाल) सिर्जना र समीक्षामा कलम चलाउँदै आएकी साहित्यिक प्रतिभा हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पौडेलको पहिलो कविता सङ्ग्रह अक्षरका बीउहरू (२०७७ ) प्रकाशित छ । उनी हाल डालस, टेक्सस अमेरिकामा बसोबास गर्छिन् । उनी विभिन्न साहित्यिक संस्थासँग संलग्न छन् । उनी अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आाजीवन सदस्य, अन्तराष्ट्रिय नेपाली साहित्य समाज ‘डालस च्याप्टर अमेरिकाको कार्यकारी समिति सदस्य, स्रष्टा साँझ अमेरिकाकी संस्थापक सदस्य आदि संलग्नताले पनि उनको साहित्यिक परिचय दिइरहेको छ । यहाँ उनको सारभूत परिचयसहित सुरेन उप्रेतीको आजका स्वरहरू कविताकृतिमाथि लेखिएको समीक्षा समेटिएको छ ।
-सम्पा. |
मैले कवि सुरेन उप्रेतीको “आजका स्वरहरू” कविता सङ्ग्रह सरसरती पढेँ । केही दिनअघि मेसेन्जरमा “पढेर समिक्षा सहितको प्रतिक्रिया पाऊँ न है भगवती जी” भन्दै एउटा पिडिएफ फाइल लेखकका तर्फबाट आएको थियो । मैले “हस समय मिलाएर अवस्य पढ्ने छु ।” भनी जवाफ दिएकी थिएं । आज “स्रष्टा साँझ अमेरिका” को नियमित मिटिंग छ । त्यहाँ यस कृतिका लेखकसँग पक्कै भेट हुन्छ । त्यसैले पनि सम्झिएँ र मेसेन्जरमा पाएको कृति पढ्न थालेँ ।
सुरेनजीलाई मैले यही “स्रष्टा साँझ अमेरिका” मार्फत चिनेकी हुँ । हाम्रो प्रत्यक्ष भेट नभए पनि वर्षौ पुरानो चिनजान हो कि जस्तो लाग्छ अचेल । भेटमा पढ्दै छु है भन्नलाई पनि म पढ्दै छु “आजका स्वरहरू” । मैले शीर्षक र आवरण हेरेर सिधै “मेरो भन्नु” मा गएँ । किन किन मलाई आफूले नपढी अरूले गरेका समीक्षा पढ्न मन लाग्दैन ।
आफ्नो हातमा पुस्तक आइसकेको छैन भने समीक्षा पढ्नुको महत्व बेग्लै रहन्छ । पुस्तक छ भने सिधै स्रष्टाको सिर्जनाले लोभ्याउँछ मलाई । अरूका समीक्षा पढेर अरूको धारणालाई आफ्नो धारणा बनाउनु आफ्नै विचार प्रतिको अन्याय हो झैँ लाग्छ । अझ भनौ स्रष्टाको सही विश्लेषण भन्दा पनि लहै लहैमा लाग्ने या अरूको भनाइमा सही थाप्ने हुन सक्छ ।
सुरेन उप्रेतीले आफ्नो पहिलो कृतिमा नै यति धेरै ४८ वटा कविताहरू सङ्ग्रहित गर्न सकेका रहेछन् । कविताका सबै शिर्षकहरू आजभोलिका परिस्थिति र परिवेशलाई नै देखेर लेखे जस्ता ताजा झैँ लाग्यो । भलै कृति बिक्रम संबत २०५३ मा आज भन्दा सत्ताईस बर्ष पहिला छापिएको रहेछ । त्यसले परिवेश फरक त पार्छ नै ।
तारा उप्रेतीको प्रकाशनमा प्रकाशित यो सङ्ग्रहको “प्रकाशिका” शब्दमा म एकछिन रोकिएँ । सायद यस कृतिका प्रकाशक महिला हुनुभएर हो या प्रकाशिका पनि लेख्ने चलन छ ? म भने कवि कवि हो । शिक्षक शिक्षक हो, साहित्यकार साहित्यकार हो भन्छु । महिला भएमा शब्द बिगारेर “इका” “इत्री” लगाउनु पर्दैन भन्ने धारणा राख्छु ।
मैले सबै कविताहरू पढेँ । तिनले मेरो मन तानिरहे । म कुनै पनि विधाको समीक्षा गर्ने हैसियतको छैन । यो दावि म गर्दिन पनि । कृति पढिसकेपछि पाठकको रूपमा मनमा कौतूहल जागि हाल्छ । कुनै हरफले मन छुन्छन् त कुनैले रिस उठाउँछन् । यसै गरी कुनै पङ्तिहरूले सँगसँगै हिंडाउँछन् त कुनै लहरले प्रफुल्ल बनाउँछन् । यस दृष्टिले सुरेनजीका कविताहरूमा मैले सबै खाले अनुभूति गर्न पाएँ ।
कविले आफ्ना कविताको अन्त्यमा तिथिमिति लेखेर कविताको जन्म मिति राख्नाले कविता कुन परिवेशमा लेखिएको हो भन्ने कुरा पाठकलाई बुझ्न सहज भएको छ । कविले आफ्नो परिवेश, समाज र विचारको आफ्ना कवितामा चित्रण गर्नुभएको छ । राष्ट्र र राजनीतिसँग सम्बन्धित कविताहरूमा हिंजोको र आजको अवस्था उस्तै रहेको बुझिन्छ । कविता पढ्दै जाँदा अहिलेको अवस्था चित्रण गरेका छन् भन्ने लाग्छ । जस्तै;
“तस्करहरूको होडबाजीमा
बन्धु र बान्धवको हत्या गराएर
पुरस्कार बककाट्दै गरेको बेला
तिमी आइपुगेछौ,
शुभकामना छ तिमीलाई “
यी माथिका पङ्तिहरू सुरेन उप्रेतीको पहिलो कविता कृतिमा रहेको पहिलो नम्बरको कविता “शुभकामना छ तिमीलाई” शिर्षकको कविता हो । यहाँ प्रस्तुत सटिक व्यङ्ग्यले मेरो मन छोयो ।
म काव्यशास्त्रका गहन मूल्यसहित समीक्षा गर्ने हैसित राख्दिनँ । पढ्न भने रुचाउँछु । सुरुदेखि अन्त्यसम्म पढ्दै जाँदा राष्ट्रवाद, राजनीति, समाज, महिला, बालबालिका, प्रकृति र संस्कृति सबै समेटिएका कविताहरू भेटिए । यहाँका कवितामा पाइने व्यङ्ग्यात्मक कविताहरूको पनि उत्तिकै सबल उपस्थिति देखियो । व्यङ्यको प्रतिनिधि कविता “चमेराको बस्ती”, “लामखुट्टे, उपियाँ र उडुसहरू”, “एकादेशमा” जस्ता कवितीहरूले सम्बन्धित पात्रहरूलाई झापड दिएका छन् ।
“चमेराको बस्ती” को एक अंश यस्तो छ:
शासन चलाउने भागबण्डा हुन्छ
सबैले कुर्सी पाएर खुसियाली मनाउँछन्
चमेराको बस्तीमा !
सुरेनजीका कवितामा देशको माया प्रगाढ छ । जताततै देखिएको बेथितिले भतभत मन पोलेको पाइन्छ । यहाँ समेटिएका “देश निसासिसरहेको छ”, “सेलाई सकेछ माटो”, “सगरमाथा होचियो” जस्ता कविताका शीर्षकहरूले नै मुटु चस्काउँछन् । “सगरमाथा होचियो” बाट एक अंश:
जरसाहेवले
कुर्सी अग्ल्याएर
आफ्नो हठ कायम गरे
सगरमाथा होंचियो
टुंडीखेल स्तब्ध भयो ।
जीवनलाई अत्यन्त सकारात्मक बनाएर जिउँन सक्नुपर्छ भन्ने संदेश बोकोको “जिन्दगी” कविता मार्मिक लाग्यो –
काँडैकाँडा बिच फुल्नु पर्छ
फूल हो जिन्दगी
दाषतालाई स्वीकार गरे
भूल हो जिन्दगी
धर्ती हँसासाई हाँस्न सके
खुल्छ जिन्दगी
समुन्द्रको सृष्टि गर्ने मूल हो जिन्दगी ।
कविले प्रायः नारी पात्रहरूलाई स्थान दिएर लेखेका कविताहरू यहाँ पढ्न पाइन्छ । “नारी” कवितामा नारीको अगाध प्रसंशा छ । हरेक पुरुषले निस्वार्थ नारीको प्रसंशा गर्न सक्ने हो भने भेदभाव भन्ने रहने छैन । यहाँ समेटिएका “परिचारिका” कवितामा पनि पेशागत रूपमा नारीलाई सम्मनसाथ प्रसंशा गरिएको छ । “हिमालकी छोरी” कवितामा पासाङ ल्हामु शेर्पाले हिमाल आरोहण गरेर पाएको सफलता र बलिदानको प्रसंशा छ । “चेली तिमी” कवितामा नारीलाई हेपिएर नबस्न आग्रह गरिएको छ ।
बालबालिकाहरूका लागि पनि यो सङग्रहमा केही कविता रहेका छन् । “साना ज्ञानी नानी” र “सानी छोरी” नानीबाबुहरूलाई लय हालेर सुनाउन मिल्ने खालका छन् । कविता सङ्ग्रहको अन्त्यतिर केही सङ्क्षिप्त कविता छन् । थोरै शब्दमा धेरै सन्देश दिएको कविता –
“ सावधान”
विशाल महलभित्रको कोठामा
मुर्ती किन्ने र बेच्नेको भेला छ
गाँजा, चरेस, ब्राउन सुगरको भाउ अँकित मेन्यु छ
बाहिर ढोकामा पाले छ
‘मेनग्टमा’ झुन्ड्याईएको छ –
सावधान, यहाँ टोक्ने कुकुर छ !
सङ्ग्रहका सबै कविता पढी सक्दा कविमनको भाव र चेतनाको मर्मले छर्लंग भएँ ।
यहाँका कविता विभिनन भावले समिस्रित छन् । साना नानीबाबुहरूदेखि देशको संरक्षणमा बलिदान दिने सहिदहरू, साहित्यमा योगदान दिने स्रष्टाहरू, चाडपर्व संस्कृति सबै समेटिएका छन् । स्थान विशेष कविताहरू पनि उत्तिकै सुन्दर छन् । “फिदिमको युवा मेला” बाट एक अंश–
तमोरको पानी चीसो,
कावेलीको माछा
पालम राम्रो पाँचथरको,
तेह्रथुमको भाका ।
अन्त्यमा, “आजका स्वरहरू” पढ्न पाएर खुशी लाग्यो । डिजिटल पढ्दा फिजिकल पढे जस्तो भने हुँदो रहेनछ । यहाँका मैले सबै कविताको छुट्टाछुट्टै व्यख्या गर्न सकिनँ । समग्रमा सङ्ग्रह प्रिय लाग्यो । धेरै ठाउँमा कविताले आन्दोलित पनि बनायो । यी कवितामा देश प्रेम त छताछुल्ल नै छ । साहित्यमा अनवरत लागि पर्नुभएका जुझारु अग्रज कवि सुरेन उप्रेतीजीको अन्य कृतिहरूको पनि अवस्य खोजी गर्नेछु । कविता पढेर आनन्दानुभूति गर्ने जो कोही साहित्य प्रेमीहरूले “आजका स्वरहरू” बाट आनन्द लिन सक्नुहुनेछ ।