रमेश शुभेच्छुको जन्म पूर्वी नेपालको पाँचथर जिल्ला स्थित सुभाङ गा.वि.स. वडा नं. ९ (हाल हिलिहाङ ५) मा बसोबास गर्ने लुइटेल परिवारमा सूर्यनाथ र पुन्यमाता लुइटेलका ज्येष्ठ सुपुत्रका रूपमा भएको हो । उनको पूरा नाम रमेशकुमार लुइटेल भए पनि नेपाली भाषा र साहित्यका क्षेत्रमा आफूलाई ‘रमेश शुभेच्छु’ भनेर चिनाउँदै आएका छन् । उनले नेपाली भाषा र साहित्यमा एम.ए, एम.एडका साथै एम.फिल गरेका छन् । उनी पेसाले प्राध्यापक हुन् । शुभेच्छुले गजल, गीत, मुक्तक, कवितालगायत बालसाहित्यका दर्जनौँ कृति प्रकाशन गरिसकेका छन् । उनका आँसु नदेऊ मलाई, हजुरबा, आमाको माया, अनुत्तरित प्रश्न, बगैँचा, उपहार, छोराछोरी, चित्रैचित्र कथैकथा, शुभेच्छुका बालकथा, कुञ्जु र पकु, एक्लो यात्रा, मलामी, आरोहण (संयुक्त) आदि साहित्य र बालसाहित्यका विविध विधामा विविध सिर्जना प्रकाशित छन् । शुभेच्छुले मेची पद्यमाला, इलामे चेलीका रचनाहरू, नेपाली गजलमा नारी हस्ताक्षर, पाठशालाका सिर्जना, डा. वासुदेव त्रिपाठी : स्रष्टा एक द्रष्टा अनेक, समुद्र दन्केपछि जस्ता कृति, दर्जनौँ स्मृति र अभिनन्दन ग्रन्थका साथै विभिन्न कृति सम्पादन गरेका छन् । उनको परिचय साहित्यिक पत्रकारका रूपमा पनि रहेको छ । उनले सामना, नवरत्न, सिर्जना, सास, फित्कौली, भानु, भानुदर्शन, चिचिला, नवतारा, रजहाँस आदि) साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका छन् । उनले महाकवि देवकोटा स्मारिका, स्मृति स्मारिका आदिको सम्पादन पनि गरेका छन् । यसबाहेक शुभेच्छुको अर्को महत्वपूर्ण पाटो भनेको पाठ्यपुस्तक लेखन पनि हो । ‘आधुनिक नेपाली माला प्रवेशिका अ, आ, आधारभूत १–७ गरी नौवटा शृङ्खला) उच्चमाध्यमकि नेपाली व्याकरण–बोध र अभिव्यक्ति, स्नातक अनिवार्य नेपाली आदि उनका पाठ्यपुस्तकहरूलेखेका छन् । शुभेच्छुका समालोचनातर्फ दैवज्ञराज न्यौपाने : व्यक्ति, कृति तथा अभिनन्दन, आधारभूत नाट्यकला, पाँचथरका स्रष्टा र सिर्जना, उच्च माध्यमिक नेपाली समालोचना, समीक्षा सिद्धान्त र प्रयोग, राजेन्द्र सुवेदीका आयाम जस्ता विविध कृति प्रकाशित छन् । उनी शास्त्रीय, लोक र मुक्त लय ढाँचामा पनि कविता सिर्जनामा रुचि राख्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ठाकुर शर्मा भण्डारीको कृति त्रिविधामाथि गरेको लघुसमीक्षा समेटिएको छ ।–सम्पा.
|
ठाकुर शर्मा भण्डारी (२०१०, गुल्मी) नेपाली साहित्यमा विविध विधामा कलम चलाउने प्रतिभा हुन् । उनले विविध विधाका साथै निबन्ध विधामा पनि कलम चलाउँदै आएका छन् त्रिबिधा (२०७८) शर्माको पछिल्लो निबन्धसङ्ग्रह हो । यो लेखकको निबन्ध, नियात्रा र संस्मरणको सङ्ग्रह हुँदा यसको शीर्षक ‘त्रिविधा’ जुराइएको छ ।
त्रिविधा कृतिमा निबन्धका फरक फरक बान्की समेटिएका छन् । त्यस्ता बान्कीहरू पाँच वटा निबन्ध, सातवटा नियात्रा र पन्ध्रवटा संस्मरणहरू समेटिएका छन् । यी फरक निबन्धात्मक उपविधाका सामग्री समेटिएकाले यस कृतिको शीर्षक सार्थक पनि बनेको छ । यी फरक फरक निबन्धात्मक उपविधाले फरक फरक साहित्यिक स्वाद र बान्कीलाई प्रस्तुत गरेका छन् । यही फरकपनसँग कृतिको शीर्षकीकरण सार्थक बनेको छ ।
त्रिविधा सङ्कलनका निबन्ध खण्डमा केही अविधास्तरका र केही व्यञ्जनास्तकरका निबनध समेटिउका छन् । त्यस्ता निबन्धहरू अस्तित्व, हराउनु पनि एक अज्ञान हो, चम्काऊ आफ्नो व्यक्तित्व, गरिब र गरिबी, बाणीद्वारा जीवनमा परिवर्तन निबन्ध समेटिएका छन् । यहाँ केही चिन्तनप्रधान र परिचयात्मक पनि निबन्ध समेटिएकाछन् । यी निबन्धमध्ये पहिलो निबन्धले प्रकृतिको महत्व दर्शाएको छ । मानवजीवन सार्वजनिक हुनुपर्ने पक्ष, जीजीविषाको प्रकटीकरणलाई दोस्रो निबन्धले समेटेको छ । तेस्रो निबन्धले मानिसको व्यक्तित्व निष्कपट आचरण, सद्गुण, आत्मविश्वास, समयको ख्याल, स्नेह वा ससहानुभूति, गल्ती स्वीकार र दुव्र्यसनको त्याग जसता आचरणले मानव व्यक्तित्व आदर्श बन्ने दृष्टिकोण राखेको छ । यिनमा मानिसले सम्पन्नतालाई भौतिक वस्तुसँग मात्र दाँज्नु नहुने पक्ष छ भने पाँचौँ निबन्धमा वार्णी वा बोलीको महत्त्व उजागर गरिएको छ । यी चिन्तनप्रधन निबन्धका रूपमा देखिने निबन्धहरू हुन् । शर्माका जीवनका प्रौढताले पनि उनका निबन्धमा प्रौढ चिन्तन प्रधान हुँदै गएको देखिन्छ ।
त्रिविधा सङ्कलनका नियात्रा खण्डमा यात्रासंबद्ध अनुभूतिप्रधान निबन्ध समेटिएका छन् । त्यस्ता निबन्धहरू आबु यात्रा एक आध्यात्मिक मनोरम यात्रा, सिक्किमको यात्रा : अनुपम उपहार, पूर्वाञ्चल साहित्यिक यात्रा, प्रमसागर फाउन्डेसनको जनभोजन, रेसुंगाको काखमा तम्घास, कात्तिके द्यौरालीतिरको यात्रा, पश्चिमाञ्चल साहित्यिक यात्रा हुन् । यहाँ धेरै साहित्यिक कार्यक्रमसँग संबद्ध विषयका यात्रा एवम् नियात्रामूलक रचना समेटिएका छन् । यी रचनाका शीर्षकले समेटेका क्षेत्रका यात्रा र संस्मरणात्मक अनुभूतिहरू प्रस्तुत गरेका छन् । लेखकले यात्राविवरण समेट्ता समेट्तै पनि यी रचनालाई चित्रात्मक बनाउने अधिकतम प्रयत्न गरेका छन् । सम्बन्धित ठाउँका पौराणिक, ऐतिकासिक र सांस्कृतिक एवम् भौगोलिक पक्षको संयोजित अभिव्यक्तिको पनि प्रयास गरेका छन् । यात्रा वर्णन र विवरणका ह्याकुलामा निबन्धकला छोपिँदा छोपिँदै पनि बचाएर प्रस्तुत गरेका छन् । उनले स्थल, स्थलका सांस्कृतिक, शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक विषयसंबद्ध बहुमुखी परिवेश पनि समेट्तै आत्मपरक अनुभूतिले पनि रङ््ग्याएका छन् ।
त्रिविधा निबन्ध सङ्कलनको संस्मरण खण्डमा विशेषत : अग्रज स्रष्टालाई केन्द्रमा राखिएको छ । अज्रज स्रष्टाका जीवनी, व्यक्तित्व र उनीहरूसँगका भेटघाट व्यवहार, स्मृति, आदरभवजन्य अनुभूति समेटिएका छन् । त्यस्ता रचनाहरू कर्मयोगी देवकोटा, सम्झनाका छालहरूमा कविवर माधव घिमिरे, सम्झनाको आलोकमा आचार्य केशवशरण, विद्वतवर जगन्नाथको सम्झना, सत्यमोहनको सादा जीवन उच्च विचार, साहित्यसेवाका सन्दर्भमा प्राप्त अनुभव, मेरो दृष्टिमा विद्वान् व्यक्तित्व हेमलाल, ज्येष्ठनागरिक नेपालको साहित्यिक कार्यक्रम, सम्झनाका तरेलीमा सरस्वती उ.मा.वि, सम्झनाका तरंगहरू, पण्डित टेकनाथप्रतिको सुमधुर सम्झना, नूरगङ्गा एक अनुपम संस्था, विश्वनारी नेपाली साहित्य सम्मेलन, भुकम्पले सम्झना गरायो ठाँटी पौवा, बाल्यकालीन विस्मयकारी घटना हुन् । यी रचनामध्ये केही व्यक्ति केन्द्रित, केही संस्था केन्द्रित, केही समारोह केन्द्रित र केही शैक्षिक केन्द्र केन्द्रित पनि रहेका छन् । विविध समयमा लेखिएका हुँदा यहाँ समेटिएका रचनाको शैलीगत एकरूपता पाइँदैन । यद्यपि यी रचनाले शीर्षकले समेटेका क्षेत्रका संस्मरणहरूलाई वर्णन, विवरणकै बिच पनि विशिष्ट साहित्यिक राग प्रस्तुत गरेका छन् । यी रचनाका शीर्षकबाटै लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, सत्यमोहन जोशी, जगन्नाथ त्रिपाठी, खेमराज केशवशरण, हेमलाल न्यौपाने, टेकनाथ अधिकारी जस्ता व्यक्तित्वसँगका सानिध्य र संस्मरणलाई प्रस्तुत गरिएको छ भन्ने बुझ्न कठिन हुँदैन । अन्य निबन्धमा लेखक पुगेका कार्यक्रम र डुलेका ठाउँको निकै चित्रात्मक वर्णन गरिएको छ । केही संस्थाको परिचय दिने उद्देश्यमा पनि लेखक आत्मपरक अनुभूतिलाई अन्तरघुलन गर्दै प्रस्तुत गरिरहेका हुन्छन् ।
त्रिविधा विविध बान्कीका निबन्धको सङ्कलन हो । विविध विधामा कलम चलाउने ठाकुर शर्मा भण्डारीको यस कृतिमा निबन्ध विधाका कलागत पुष्ट र सुपुष्ट पक्षमा केही ऋणात्मक सामथ्र्य रहेर पनि समग्र विषय र प्रस्तुतिले पाठकको मन तान्न सकेको छ । छुट्टा छुट्टै तीन वटा सामग्री निकाल्न मिल्ने यतिका साग्री एकैठाउँमा समेटिएका छन् । पठनका क्रममा यी सामग्रीलाई अलि परिमार्जनसहित फरक फरक खण्डलाई फरक फरक कृतिका रूपमा प्रकाशन गरेको भए हुन्थ्यो भन्ने लागिरहन्छ । त्यसो भए पनि पाठकलाई रुचिको सामग्री छनोट गरी पढ्ने छुट छ । सबै रचना एकनास नभए पनि केही रचनाहरू निबन्धका सैद्धान्तिक कसीमा सफल र सबल छन् । शर्माको कलम एकपछि अर्को कृति लिएर आफैसँगका प्रतिस्पर्धामा रहेकाले यस कृतिले पनि उनका सिर्जनयात्रामा विशेष महत्त्व राख्छ । शर्मालाई अनेक बधाई । उनको कलम एकपछि अर्को कृति लिएर आइरहोस् ।



रमेश शुभेच्छुको जन्म पूर्वी नेपालको पाँचथर जिल्ला स्थित सुभाङ गा.वि.स. वडा नं. ९ (हाल हिलिहाङ ५) मा बसोबास गर्ने लुइटेल परिवारमा सूर्यनाथ र पुन्यमाता लुइटेलका ज्येष्ठ सुपुत्रका रूपमा भएको हो । उनको पूरा नाम रमेशकुमार लुइटेल भए पनि नेपाली भाषा र साहित्यका क्षेत्रमा आफूलाई ‘रमेश शुभेच्छु’ भनेर चिनाउँदै आएका छन् । उनले नेपाली भाषा र साहित्यमा एम.ए, एम.एडका साथै एम.फिल गरेका छन् । उनी पेसाले प्राध्यापक हुन् । शुभेच्छुले गजल, गीत, मुक्तक, कवितालगायत बालसाहित्यका दर्जनौँ कृति प्रकाशन गरिसकेका छन् । उनका आँसु नदेऊ मलाई, हजुरबा, आमाको माया, अनुत्तरित प्रश्न, बगैँचा, उपहार, छोराछोरी, चित्रैचित्र कथैकथा, शुभेच्छुका बालकथा, कुञ्जु र पकु, एक्लो यात्रा, मलामी, आरोहण (संयुक्त) आदि साहित्य र बालसाहित्यका विविध विधामा विविध सिर्जना प्रकाशित छन् । शुभेच्छुले मेची पद्यमाला, इलामे चेलीका रचनाहरू, नेपाली गजलमा नारी हस्ताक्षर, पाठशालाका सिर्जना, डा. वासुदेव त्रिपाठी : स्रष्टा एक द्रष्टा अनेक, समुद्र दन्केपछि जस्ता कृति, दर्जनौँ स्मृति र अभिनन्दन ग्रन्थका साथै विभिन्न कृति सम्पादन गरेका छन् । उनको परिचय साहित्यिक पत्रकारका रूपमा पनि रहेको छ । उनले सामना, नवरत्न, सिर्जना, सास, फित्कौली, भानु, भानुदर्शन, चिचिला, नवतारा, रजहाँस आदि) साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका छन् । उनले महाकवि देवकोटा स्मारिका, स्मृति स्मारिका आदिको सम्पादन पनि गरेका छन् । यसबाहेक शुभेच्छुको अर्को महत्वपूर्ण पाटो भनेको पाठ्यपुस्तक लेखन पनि हो । ‘आधुनिक नेपाली माला प्रवेशिका अ, आ, आधारभूत १–७ गरी नौवटा शृङ्खला) उच्चमाध्यमकि नेपाली व्याकरण–बोध र अभिव्यक्ति, स्नातक अनिवार्य नेपाली आदि उनका पाठ्यपुस्तकहरूलेखेका छन् । शुभेच्छुका समालोचनातर्फ दैवज्ञराज न्यौपाने : व्यक्ति, कृति तथा अभिनन्दन, आधारभूत नाट्यकला, पाँचथरका स्रष्टा र सिर्जना, उच्च माध्यमिक नेपाली समालोचना, समीक्षा सिद्धान्त र प्रयोग, राजेन्द्र सुवेदीका आयाम जस्ता विविध कृति प्रकाशित छन् । उनी शास्त्रीय, लोक र मुक्त लय ढाँचामा पनि कविता सिर्जनामा रुचि राख्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ठाकुर शर्मा भण्डारीको कृति त्रिविधामाथि गरेको लघुसमीक्षा समेटिएको छ ।