SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » लेखनाथ पौडेलका कवितामा नीतिचेतना
समीक्षा

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

डा. बमबहादुर थापा जितालीBy Sahitya SagarJanuary 10, 2024No Comments21 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
बमबहादुर थापा जिताली नेपाली साहित्यका सिर्जना र समीक्षा दुवै विधामा निकै सक्रिय साहित्यकार हुन् । उनका सिर्जना शास्त्रीय र लोकलयात्मक ढाँचामा जमेका छन् । उनले शास्त्रीय कवि लेखनाथ पौड्याका कविता कृतिमै विद्यावारिधि गरेका हुन् । १४० औँ लेखनाथ जयन्तीको सन्दर्भ पारेर थापा जितालीको लेखनाथ विषयक समीक्षालाई प्रस्तुत शृङ्खलामा समेट्ने प्रयत्न गरिएको छ । यस समीक्षाले लेखनाथ पौड्यालका कवितामा निहित नीतिचेतनाको अन्वेषण गरेको छ ।

-सम्पा.

लेखनाथ पौड्याल (१९४१–२०२२) का नीतिपरक कविता–साहित्यको समग्र अध्ययनका सन्दर्भमा लेखनाथको कविता–यात्रा संस्कृत सूक्तिसिन्धु (१९६०) पत्रिकामा प्रकाशित ‘पाठशालाविशाल’ शीर्षक समस्यापूर्ति कविताबाट आरम्भ भएको छ । उनले यसै बेलादेखि नेपाली कविता पनि रच्न थालेको र सुन्दरीका विभिन्न अङ्कहरुमा संस्कृत–नेपाली कविताहरु छपाएको देखिन्छ । कविता–कल्पदू्रम (१९६१) सामूहिक कवितासङ्ग्र्रह पहिलोपटक दुईओटा नेपाली फुटकर कविता प्रकाशन भएका छन् । त्यसमा शब्दालङ्कारको व्यापक अभ्यास गरिएको पाइन्छ । सुन्दरी (१९६३)–मा ‘कलिका विलासी’ समस्यापूर्ति कविताको प्रकाशनबाट लेखनाथका कवितामा नैतिक पक्षको प्रारम्भ हुन्छ ।

माधवी (१९६५–६६)–मा प्रकाशित ‘वर्षाविचार’ कविताबाट शब्द र अर्थ अलंकारको उचित अभ्यासका साथै लेखनाथका कविताको प्रमुख प्रवृत्ति ‘नीति र प्रकृति’ को सुदृढ जग बसेको देखिन्छ । त्यसमा नीतिपरक पद्यको प्रयोग प्रशस्त भएको पाइन्छ । त्यसपछि पाठ्यपुस्तक प्रकाशनका सिलसिलामा लेखनाथबाट तयार गरिएका शिशुबोधिनी भाग एक र दुई (१९६८)–बाट बालबालिकालाई शिशुकक्षादेखि नै नैतिक शिक्षा दिने उद्देश्यअनुरुप लेखनाथका नीतिपरक कविताको क्रम अगाडि बढ्छ र लालित्य (कवितासङ्ग्रह, १९६९) मा प्रकाशित ‘कवि–कवितालाप’ कविताबाट वास्तविक कविता नीतिपरक नै हुनुपर्दछ, जसले व्यक्ति, समाज र राष्ट्रको हित गर्दछ भन्ने लेखनाथको सैद्धान्तिक धारणाको घोषणा हुन्छ । त्यसपछि लेखनाथका कवितामा नीतिपरकताको निरन्तरताका साथै परिष्कृत शैलीको प्रयोग बढेको पाइन्छ । गोरखा–शिक्षा पहिलो पुस्तक (१९७२) सम्म लेखनाथका कवितामा नैतिक पक्षको प्रयोग प्रारम्भिक अवस्थामा रहेको देखिन्छ । यसर्थ लेखनाथका कविता–यात्राको पहिलो चरण (१९६१–७२) लाई उनका नीतिमूलक कविताको थालनीकाल वा कवित्यको स्वरशैलीगत अभ्यासकाल र योगदानको पृष्ठभूमि मानिएको छ ।

गोरखा–शिक्षा पहिलो पुस्तकबाटै लेखनाथले निरन्तर बढ्दो बाल–सचेततालाई दृष्टिगत गर्दै सरलता र सामान्य वर्णनात्मकतालाई मात्रिक छन्दको लय–सङ्गीतमा ढाल्दै आध्यात्मिक सांस्कृतिक धरातलमा सुबोधपूर्ण आदर्शमय रोचक कविता रचेर दोस्रो पुस्तकमा प्रकाशित ‘म कस्तो हुँ’ (१९७३) कविताबाट बालबालिकालाई सानैदेखि असल बाटो देखाउने उद्देश्यले थालिएको नीतिगत उपदेश र सन्देशमूलक भावधाराको शृंखला विभिन्न छन्दिक लय–तालमा लेखनाथभित्र हुर्केको नैतिक चेतना गोरखा–शिक्षा तेस्रो पुस्तकमा आइपुग्दा परिपूर्ण अवस्थामा देखिन्छ वास्तवमा ‘नैतिक दृष्टान्त’ (१९७४) बाट स्पष्ट रुपमा चिनिएका नीतिकार कवि लेखनाथले नीति–उपदेश र सन्देशमूलक भावव्यञ्जनालाई ‘म केके नगरुँ’ भनी आन्तरिक इच्छा प्रकट गर्दै आफूले आफैँलाई उपदेश र नैतिक सन्देश दिने नितान्त नयाँ शैली प्रकाशन गरेका छन् ।

गोरखा–शिक्षा चौथो पुस्तक (१९८०) मा आएर ‘धनमहिमा’ गाउँदै व्यङ्ग्यात्मक पाराले सामाजिक विकृतिका रुपमा रहेको सामन्तीवर्गको चरित्र चित्रण गर्न पुगेका छन् लेखनाथ । वास्तवमा गोरखा–शिक्षा दोस्रो पुस्तक(१९७३) देखि पाँचौँ पुस्तक (१९८१) सम्म आइपुग्दा उनले नैतिक सन्देश, उपदेश र शिक्षाका सन्दर्भमा गुणग्राही बन्न र गुणगान गर्न पनि सिकाएका छन् । बालबालिकामा बढ्दो शैक्षिक स्तर तथा सचेतनालाई दृष्टिगत गरी आफूमा निरन्तर हुर्किएको नीतिचेतनालाई क्रमशः मुकुलित, सन्तुलित, सुगठित र परिष्कृत गर्दै कवित्वको स्वरशैली निर्धारण गरी नीतिचेतनाको विकसित आधारशिला खडा गरेका छन् ।

वर्षाविचार (१९६५–६६), ऋतुविचार (१९७३ र १९९१), सत्य–कलिसंवाद (१९७६), लक्ष्मीपूजा (१९९४) हुँदै लालित्य पहिलो भागसँगै तरुण–तपसी (२०१०) सम्म आइपुग्दा, लेखनाथको नीतिकार कवि/काव्यकार व्यक्तित्व पूरा परिपक्व भएको छ र उनको कवित्वले समाजलाई समयसापेक्ष शान्ति र समुन्नतिको शिखरमा पुर्‍याउन मानिसलाई नैतिक, आध्यात्मिक र आदर्शमय सन्मार्ग देखाउने काम गरिसकेको देखिन्छ । उनको नीतिचेतना र नीतिपरक कवितासाधनाको खास आधार पञ्चतन्त्र नै मानिन्छ । गीतासार लेखेर लेखनाथले सक्षेपीकरणको कला–कौशल आर्जन गरे भने पञ्चतन्त्रका कथा–कविता पढाउँदा र अनुवादकला देखाउँदा लेखनाथको नीतिकार कवि–व्यक्तित्वलाई स्वकीय शैली, अभिव्यक्तिकला र नितिगत प्रवृत्तिको आधार प्राप्त भएकाले मूलतः यही आधारभूमिमा लेखनाथले नीतिमूलक कविता रचना गरी कलाकौशलको उन्नतिसमेत गरेको देखिन्छ । यस प्रकार नीतिपरक नेपाली कविताको आधारशिला खडा गर्नु नीतिकार कवि लेखनाथको महत्वपूर्ण योगदान हो र मूल्यांकनको पहिलो आधार पनि हो ।

जीवनसन्देश र व्यावहारिक उपदेश दिने लेखनाथले जीवनलाई नीतिपरक कवितासँग तुलना गर्दै वरत्र र परत्र सपार्ने माध्यमका रुपमा नैतिकतालाई अँगाल्नु, नीतिछाडा र धर्मछाडा व्यक्तिलाई देशको कलंक ठान्नु, नीतियुक्त जीवन बिताउनु र सबैको भलो चिताउनु लेखनाथका प्रवृत्तिगत विशेषता हुन् । लेखनाथको जीवनशैली र कविताबीच तादात्म्य पाइनु, कवितालाई जीवन र जीवनलाई कविता ठान्नु, जीवन नै एउटा महाकाव्य भएको मान्नु अनि त्यसका अनेक सर्ग–उपसर्गहरुमा नैतिक–अनैतिक, सुखान्त–दुःखान्त आदि विभिन्न घटनारुपी कविताले जीवनरुपी महाकाव्य सृष्टि गर्न सक्ने सिलसिलामा कवितालाई नैतिक जीवनमूलक बनाई जीवनोपयोगी तुल्याउनुका साथै सार्थक जीवनका निम्ति नैतिकतालाई अपरिहार्य वस्तु ठानेर नैतिकताका सापेक्षतामा आफ्ना कविता र कवि–जीवनलाई सार्थक सिद्ध गर्नु लेखनाथको उल्लेखनीय देन हो ।

यसरी नीतिपरक कविताका दृष्टिले ‘कलिका विलासी’ समस्यापूर्ति कवितादेखि कविजीवनको अन्तिम (२०२२ माघ २२ गते राति ९ बजे रचित) कवितासम्मका सम्पूर्ण कविता–कृतिको विश्लेषणको पृष्ठभूमिमा लेखनाथ नीति र औचित्य–सिद्धान्तका समर्थक र प्रवर्तक पनि ठानिएका छन् अनि यसका परम प्रयोगकर्ता र चरम परिष्कारका कविशिरोमणि मानिएका छन् र उनी नीति तथा औचित्य–सिद्धान्तमा आधारित मर्यादावादी कवि पनि ठहरिएका छन् ।

ख. पौरस्त्य र पाश्चात्य साहित्य–स्रष्टाका सन्दर्भमा
साहित्यका माध्यमबाट शिक्षा, सन्देश र उपदेश दिने उद्देश्य लिएर लेखिएका पुस्तकहरुलाई दृष्टिगत गर्दा पञ्चतन्त्र र हितोपदेशका कथा–कविता अनि चाणक्य–नीति तथा भतृहरिको नीतिशतक आदिका नीतिपरक कविताका सन्दर्भमा पूर्वीय नीतिपरक साहित्य र नीतिशास्त्रका सापेक्षतामा, व्यवहार तथा आचारनीतिका आधारमा र जीवन–सन्देशका सन्दर्भमा लेखनाथ र उनका रचनागत योगदानको मूल्यांकन गर्न सकिन्छ भने पश्चिमी नीतिवादी दृष्टिमा संरचित पाश्चात्य साहित्य र साहित्यकारका ग्रीसेली इसप–कथा, दाँतेको दिभिनाकमेदिया, मिल्टनको प्याराडाइज लस्टजस्ता कृतिगत र प्रवृत्तिगत योगदानका तुलनामा दाँजेर पनि मूल्यांकन गर्न सकिन्छ ।

लेखनाथ पूरै पौरस्त्य साहित्य र नीतिशास्त्रबाट प्रभावित नीतिकार कवि/काव्यकार हुन् । नीतिपरक रचना र चेतनाका उचित प्रयोगकर्ता तथा सूक्तिमय कविताका निर्माता भारावी, नीतिपरक कविता–प्रयोजन–सिद्धान्तका स्रष्टा मम्मट र औचित्य–सिद्धान्तका प्रवर्तक क्षेमेन्द्रबाट प्रेरणा र प्रभाव प्राप्त गरेका लेखनाथले अन्य नीतिवादी साहित्यकार, शास्त्रकार अनि आफ्नै कविगुरु भानुभक्तको पनि प्रभाव ग्रहण गरी उनको नीतिकार/काव्यकार व्यक्तित्वले कविता रचना गरेको पाइन्छ । उनको रचनागत योगदान र वैचारिक दृष्टिकोणलाई अझ स्पष्ट पार्न पाश्चात्य साहित्य र साहित्यकारहरुसँग पनि तुलना गर्न सकिन्छ ।

काव्यको आनन्द नैतिक शक्तिबाट निस्कने हुँदा लेखनाथका कवितामा सबैका लागि सर्वोपरि आनन्द उपलब्ध हुन्छ । पश्चिमी उदात्त नीतिवादी शेली र कार्लाइलमा पाइने आदर्श, भावुकता, नैतिकता र दिव्यताको प्रधानताजस्ता विशिष्टता लेखनाथका कवितामा पाइन्छन् । यस अर्थमा लेखनाथको दृष्टिकोण शेली र कार्लाइलका विचारसँग तुलनीय देखिन्छ ।

मेथ्यु आर्नल्डले जस्तै आनन्द मात्र कविताको प्रयोजन नमानेर मान्छेको आत्मविश्वास र सामाजिक समुत्थानका निम्ति पनि कविताको प्रयोजन हुनुपर्ने धारणा राख्नु र नैतिक विचार प्रयोग गरी नैतिक विश्वासको व्याख्या गर्दै मानवतावादी कविता रचना गर्नुले लेखनाथको योगदान आर्नल्डसँग तुलनीय मान्न सकिन्छ ।

विश्वबन्धुत्वको आदर्श भावनालाई आफ्नो साहित्यको भावभूमि बनाउने लियो टाल्सटोयको जस्तै मानव मात्रलाई उदात्त शुभकामनातर्फ उन्मुख हुनाका निम्ति प्रेरणा दिनु र धर्म, प्रेम, करुणा आदि मानवीय उदात्त तत्व प्रतिपादन गर्ने कलालाई सर्वोत्तम कविता ठान्नुले टाल्सटोय र लेखनाथको योगदानलाई समान रुपमा निरुपण गरेको छ । आई.ए. रिचर्डस्ले जस्तै कलाको नैतिक सिद्धान्तलाई स्वीकार्न, तर ‘कला कलाका लागि’ वा ‘कविता कविताका निम्ति’ भन्ने एकपक्षीय सिद्धान्तलाई नमान्न तथा कविता र नैतिक जीवनमा भिन्नता नदेख्नु अनि कविता कविताका निम्ति’ नभएर ‘जीवनका निम्ति’ हुनुपर्ने नैतिक तथ्यमा जोड दिनुले लेखनाथलाई शेली र आर्नल्डको नजिक अनि रिचर्डस्सँग पनि आंशिक रुपमा तुलनीय देखाउँछ, तर मानवतावादी दृष्टिकोण र नीतिपरक कविता मान्यतामा लेखनाथको स्थान उच्च रहेको छ ।

गेटेले झैँँ लेखनाथले पनि यथार्थमा नैतिकता, काव्यात्मक रोचकता, कलात्मक सुन्दरता, वस्तुनिष्ठता अनि प्राचीनताप्रति आस्था देखाउनु, शेलीले झैँ कवितामा सत्य, आनन्द र नैतिकताको अन्वेषण गर्नु, टाल्सटायले झैँ सत्य, शिव र सौन्दर्यलाई कविताका निम्ति आवश्यक तत्व ठान्नु र उदारतावादी किट्सले झैँ सत्यमा सौन्दर्य अनि सौन्दर्यमा सत्य देख्नाले र किटसको ‘ओड टु दी नाइटिङ्गेल’ कविताभन्दा लेखनाथको ‘गौंथलीको चिरिबिरी’ (२) कविताको भाव कम नहुनाले लेखनाथको साहित्यिक योगदान पाश्चात्य साहित्य र साहित्यकारसँग तुलनीय रहेको छ ।

लेखनाथका कविता ‘कविताका लागि’ र ‘नैतिकताका निम्ति’ नभएर मानवहितमा समर्पीेत छन् । उनका सबै कविताले ‘वसुधैव कटुम्बकम’ र ‘बहुजन हिताय, बहुजन सुखाय’ को पौरस्त्य नीतिशास्त्रीय भावलाई समेटेका छन् । यसर्थ लेखनाथ पाश्चात्य नीतिवादी साहित्य र साहित्यकारका विचारसँग भन्दा पौरस्त्य नीतिपरक साहित्य र नीतिशास्त्री आचार्यहरुका आदर्शमय वैचारिक धरातलसँग बढी तुलनीय रहेका छन् । एकातिर भौतिक सुखको सङ्कुचित भाव त्यागी आध्यात्मिक आनन्द प्राप्त गर्ने प्रेरणा दिनु र अर्कातिर मानवहितका सम्पूर्ण वस्तुको समन्वय गर्दै जीवनयापन गर्ने नैतिक शिक्षा दिनमा मानव–विकासको चरम परिणति भएको तथ्यलाई जीवन–सन्देशका रुपमा प्रस्तुत गर्नु नै लेखनाथका कविताको सर्वोत्कृष्ट देन हो ।

सत्य, शिव र सौन्दर्यको अनुभूति गराउन सक्नु, कविताका निम्ति कविता नरचेर जीवनका निम्ति कविताको रचना गर्नु, कविता र नीतिबीच सहज सम्बन्ध स्थापना गर्नु, नीतिको संलग्नताले कविताको मूल्यमा कमी नआउनु, उपयुक्त मात्रामा समावेश भएको नीतितत्वले कविताको सत्य, शिव र सौन्दर्यको उपादेयता झन् बढाउनु, नीति सत्यतामाथि आधारित हुने हुँदा कवितामा व्यावहारिक पक्षलाई उच्च प्राथमिकता दिनु, समाजलाई सन्मार्गतर्फ अग्रसर गराई आदर्श जीवनतिर मानिसलाई उन्मुख गराउनु, सभ्य र सुन्दर समाज–निर्माणका निम्ति सार्थक कविताको रचना गर्नु आदि विशिष्टता लेखनाथको नीतिकारिता र उनका नीतिपरक कविताका विशिष्ट योगदान हुन् ।

ग. नेपाली साहित्यकारका सापेक्षतामा
पृथ्वीनारायण शाहको दिव्योपदेश, भानुभक्तको प्रश्नोत्तरी र वधूशिक्षा अनि लेखनाथ पौड्याल, सोमनाथ सिग्द्याल, धरणीधर कोइराला, महानन्द सापकोटा आदिका नीति–उपदेशपरक कवितालेखनमा कुनै न कुनै रुपमा नीति–उपदेश र सामाजिक सन्देश देखा पर्ने हुँदा नेपाली कृति र कृतिकारहरुसँग लेखनाथको मूल्याङ्कन तुलनीय देखिन्छ ।

लेखनाथका कविताले युगीन धर्म र विचारधाराको पूर्ण प्रतिनिधित्व गरेका छन्, जसमा युगको प्रवृत्ति र प्रेरणाको सम्यक् निरुपणका साथै हिन्दू–जनजीवनसँग आबद्ध परम विचारको चरम विकास अंकित छ भने सदासर्वदा जीवनोपयोगी परिवर्तनको चाहना, सनातन धर्मप्रतिको आस्था, सामाजिक परिस्थिति र विचारको चिनारी पनि चित्रित छ त्यसमा नीति र कविताबीच सामञ्जस्य स्थापना गरिएको छ अनि देश, काल र वातावरणको मागलाई पनि दृष्टिगत गर्दै आदिकवि भानुभक्तले झैँ प्रेम, करुणा, अहिंसा, उदारता, आदर्शमयता र व्यावहारिकताको सुन्दर समन्वय गरी पूर्वीय नीतिशास्त्रका आधारमा उत्कृष्ट कविता रचेर युगदर्शन र जीवनसन्देश दिन सक्नु लेखनाथको महत्त्वपूर्ण योगदान हो ।

कवि लेखनाथका कवितामा वर्ण, शब्द, भाषा, रीति, रस, ध्वनि, अलंकार अनि विषयवस्तुको प्रयोगमा जुन सन्तुलित विचार, नीतिचेतनाको समन्वय र औचित्यको आलोक समायोजन भएको छ, त्यसले उनलाई निश्चय नै नीति र औचित्यमा आधारित वस्तुनिष्ठ मर्यादावादी नीतिकार कवि सिद्ध गरेको छ । यही काव्यगत केन्द्रीय प्रवृत्ति र उल्लेखनीय उपलब्धिको आलोकमा लेखनाथलाई नेपाली काव्यजगत्मा इतिहासपुरुष प्रमाणित गरिएको छ । यही केन्द्रीय भावधारामा रचित तरुण–तपसी काव्यको सृजनापछि उनी नैतिक–आध्यात्मिक र दार्शनिक चिन्तनका उचाइमा कविता रचना गर्ने कवि–ऋषि र आर्थिक–सामाजिक समताका कवि–महर्षि सावित भएका छन् । नीतिचेतना, औचित्य–साधना र मर्यादावादी कविता–रचनामा सैद्धान्तिक प्रयोगको औचित्य निर्वाहका दृष्टिले हेर्दा पहलमानसिंह स्वाँर, बालकृष्ण सम, सोमनाथ सिग्देल, धरणीधर कोइराला, महानन्द सापकोटा, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ आदि नेपाली कविहरुका तुलनामा कवि लेखनाथको स्थान सर्वोच्च रहेको देखिन्छ ।

कुनै पनि साहित्यकार आफ्नो देश, काल र परिस्थिति तथा त्यसबाट उत्पन्न युगीन चेतनाको चौघेरा तोडेर उम्कन नसक्ने हुनाले लेखनाथलाई पनि उनकै युगीन परिवेशमा राखेर मूल्यांकन गरेका खण्डमा उनको साहित्यिक योगदान अझ स्पष्ट हुन आउँछ । उनका एक थरी कविता राणाहरुको चाहना र आफ्नै पनि इच्छापूर्ति गर्ने खालका छन् र व्यक्तिपूजा गर्ने प्रवृत्तिमा रचिएका छन् भने अर्काथरी कविताचाहिँ मानव–जीवनका घाम–छाया देखिने ‘गौँथलीको चिरिबिरी’ ‘पिँजराको सुगा’ जस्ता फुटकर कविता अनि नीति तथा प्रकृति–काव्यका दृष्टिले ऋतुविचार र तरुण–तपसीजस्ता काव्य सर्वोच्च कोटिका ठहर्छन् । दार्शनिक दृष्टिले बुद्धिविनोद र नैतिक–सांस्कृतिक र सामाजिक सन्दर्भमा लक्ष्मीपूजाभित्रका पद्य–रचनाहरु महत्त्वपूर्ण छन् । यिनमा लेखनाथले जनहितका निम्ति मात्र नीति–सिद्धान्तलाई अँगालेका छन् । यसले उनी आफ्नै हावा, पानी र माटाको गीत गाउने श्रद्धेय कवि ठहरिएका हुन् ।

शिवत्व नै साहित्यको मूल तत्व भएकाले सौन्दर्यतत्व र नीतितत्वबाट प्राप्त आनन्दमा शिवत्व पाइन्छ र साहित्यमा नैतिकता रहेन भने साहित्य, विज्ञान र दर्शनमा भिन्नता भेटिंदैन । यसर्थ नास्तिक दर्शन र विवेकविहीन विज्ञानले ल्याएको विनाशलाई रोक्नका निम्ति अनि मानवताको रक्षार्थ नैतिकताको उपादेयता झन्झन् बढेको देखिन्छ । पूर्वीय दर्शन र नीतिपरक साहित्यलाई नेपाली कवितामा भिœयाएर लेखनाथले त्यसमाथि कवितात्मक सौन्दर्यले सजाउँदै रस, ध्वनि, अलङ्कार, औचित्य, उदात्त आदि काव्योचित गुण पनि प्रदान गरेका हुनाले उनका कविता चमत्कृत हुन पुगेका छन् अनि नैतिक चेतनाका दृष्टिले पनि हृदयग्राही हुन पुगेका छन् ।

भानुभक्त र लेखनाथलाई तुलनात्मक दृष्टिले हेर्दा लेखनाथ भानुभक्तका परम भक्त र चरम प्रेमी हुन् भने भानुभक्त लेखनाथका नीतिपरक कविताका पनि कविगुरु हुन् । भानुभक्तको नेपाली भाषालाई लेखनाथले विकसित, परिष्कृत र आधुनिक रुप प्रदान गर्नामा अद्वितीय योगदान दिएका छन् । आफ्नो नैतिक, आध्यात्मिक र सुधारवादी संचेतनामा रहेर उनले कविताका माध्यमद्वारा नेपाली भाषालाई युगान्तर रुप दिए । यसर्थ लेखनाथीय युगको आधा शताब्दीभित्र नेपाली कविता सम्यक् विचार, सचेत नैतिकता, दार्शनिक भावगाम्भीर्य, सशक्त सामाजिक सचेतता, समुचित आध्यात्मिक आदर्श आदि सबै पक्षको विकासबाट लेखनाथले एउटा पृथक र विशिष्ट युग निर्माण गरे । आफ्ना समयमा वर्णमात्रिक छन्दको सर्वाधिकार प्राप्त गर्दै त्यसमा स्वकीयताको रुप प्रदान गरे । युगजनीन भावभूमि, सशक्त छन्दविधान र जीवन्त शिल्प–शैलीको आधारभूमिमा नेपाली भाषालाई व्यापक बनाएर संस्कृत देव भाषाजत्तिकै उच्च, सशक्त र जीवनदायी बनाए ।

यसरी नैतिकता र आदर्शप्रतिको आस्था, वैचारिक दृष्टिकोण, गहन भाव र तीव्र प्रगतिको चाहनासँगै सुधारवादी युगीन स्वर सृष्टि गरेर भाषिक, सामाजिक र साहित्यिक युग परिवर्तन गर्नामा भानुभक्तपछि लेखनाथको स्थान सर्वोच्च रहेको देखिन्छ भने परिष्कृत, परिमार्जित र सुललित भाषाको सृजना गर्ने शिल्प–शैलीका सन्दर्भमा लेखनाथको स्थान सर्वोत्कृष्ट रहेको पाइन्छ ।

भाषाको सेवा गर्ने सन्दर्भमा भानुभक्तले भक्तिमार्गको गोरेटो पहिल्याएका छन् । लेखनाथले नैतिक–आध्यात्मिक चिन्तन र औचित्यपूर्ण मर्यादाको मार्गदर्शन गरेका छन् । देशभित्र लेखनाथले र देशबाहिर धरणीधरले स्वजाति र स्वदेशको सर्वाङ्गीण उन्नति र प्रगतिका निम्ति जागरणको सशक्त शङ्खघोष गरेका छन् । यसरी तुलनात्मक दृष्टिले हेर्दा बालसुलभ सरलता, चिरयुवक तरलता र ऋषिसुलभ कल्याणकारी कामनाले भरिएका सहयात्री लेखनाथ र धरणीधर दुवै कविका कवितामा व्यक्ति, समाज र राष्ट्रका निम्ति अति हितकारी विशिष्टता पाइन्छन्, तर लेखनाथको कविता–यात्रामा निरन्तरता र कवितामा सघनता पाइन्छ भने धरणीधरको कवितायात्रा खण्डित र सीमित रहेको देखिन्छ । प्रचलित व्याकरणसम्मत भाषा, सुललित शैली र परिष्कृत शिल्पको प्रयोगमा धरणीधरभन्दा लेखनाथ अगाडि छन् । नैतिक चेतना अनि आदर्शमय भावना व्यक्त गर्नामा पनि कवि लेखनाथ व्यक्तित्व विशिष्ट रहेको देखिन्छ । युगचेतना र राष्ट्रिय जागरण, जनचाहना र समस्याबोधको सन्दर्भ धरणीधरमा पाइन्छ भने लेखनाथमा युगीन चेतना, समसामयिक संवेदना र स्वकीय भावनाको जीवन्त रुप पाइन्छ । परिष्कृत शास्त्रीय परम्परा, दार्शनिक गहनता, नैतिक निपुणता, औचित्यपूर्ण नीतिकारिता, लाक्षणिक विचित्रता, प्रतीकात्मकता र मर्यादित व्यङ्ग्यधर्मिताजस्ता कवितात्मक विशेषतामा पनि लेखनाथका कविताले उत्कर्षता र सफलता प्राप्त गरेका छन् । सामाजिक सुधार, स्वकीय भावना र तत्कालीन परिवेशका सन्दर्भमा प्रेरणादायी र जीवनदायी सन्देश प्रवाह गर्ने क्रममा लेखनाथको भूमिका अद्वितीय रहेको छ ।

नवीन नेपाली साहित्यको थालनी लेखनाथ पौड्यालबाट भएको हुनाले उनका कवितामा नव्यता पाइन्छ । यिनका समकालीन कवि सोमनाथ सिग्द्याल, चक्रपाणि चालिसे, रामप्रसाद सत्याल, शम्भुप्रसाद ढुङ्ग्याल, शिखरनाथ सुवेदी, कृष्णप्रसाद रेग्मी, भोजराज भट्टराई, रेवती रमण न्यौपाने, तारानाथ नेपाल आदिका कविता–रचनाभन्दा नैतिक सन्देश भाषिक परिस्कार र कलात्मक अभिव्यक्तिका अर्थमा लेखनाथका कविता सर्वथा विशिष्ट छन् । लेखनाथ ध्वंसात्मक विज्ञानका विरोधी हुन्, उनी आदर्श जीवन मन पराउँछन् र नैतिक आदर्श र परोपकारी कर्म गरी जिन्दगी बिताउन चाहन्छन् अनि यसैमा विश्वास पनि गर्छन् । यसर्थ उनले दीर्घकालीन सामाजिक सुधारको बाटो रोजेर देवकोटा, सम र सिद्धिचरण श्रेष्ठको भन्दा उचित उपदेश र नैतिक सन्देशले भरिएका सुधारवादी कविता रचेका छन् । उनका कवितामा आदर्शवादी जीवन–दर्शन, सामाजिक समताभाव, जीवनवादी नीति तथा आदर्शमय अध्यात्मवादी पक्ष सर्वोपरी रहेको छ ।

लेखनाथ नेपाली कविताका वास्तुकारका साथै शिल्पकार पनि भएकाले उनको भावपक्ष र नैतिक पक्ष सचेत र कलात्मक छ । आफूले आर्जेको शिल्पकला, नीतिचेतना, आध्यात्मिक आदर्श हितकारी भावना र दीर्घसाधनाले उनी नीतिकारका साथै शास्त्रकार भएर पनि सरस कविताकर्मी, नीतिचैतन्यधर्मी, सौन्दर्यचेतनाका मर्मी र संवेदनशील युगधर्मी कविका रुपमा सुस्पष्ट भएका छन् । शब्दसज्जामा लेखनाथले जस्तो शुद्ध, सघन र आलंकारिक शब्दको प्रयोग धरणीधरले गर्न सकेका छैनन् र लेखनशैलीलाई परिष्कृत पारेका पनि छैनन् भने लेखनाथको जस्तो सरल, सरस र सहज अभिव्यक्ति–कला सोमनाथका कवितामा पाउन सकिन्न । यस अर्थमा लेखनाथ समवर्ती कविहरुमा अग्रगण्य ठहरिन्छन् ।

लेखनाथले आफ्ना नीतिपरक कवितामा परलोक सुधार्ने र समाजका विकृति–विसङ्गति उधार्ने चेष्टा गरेका छन् भने धनमहिमाको व्यङ्ग्य वर्णन गर्दै अकुत सम्पत्ति सङ्ग्रह गर्ने प्रवृत्ति र धनको अति अभिलाषाका विरुद्ध उभिएर उनले व्यञ्जनात्मक ढङ्गमा जीवन–सन्देश दिएका छन् । यस दृष्टिमा लेखनाथ धनमाथि धन थुपार्ने र वरत्र–परत्र बिगार्ने पिपासु परम्परालाई पटक्कै प्रोत्साहन नदिने र सामन्ती सभ्यतालाई नरुचाउने व्यक्तिका रुपमा देखिएका छन् । उनको ‘धनमहिमा’ र उनका समकालीन कवि पशुपतिभक्त पन्तको ‘धनमहिमा’ कवितालाई दाँजेर हेर्दा लेखनाथ सामन्ती व्यवस्था र अगस्ति बानीका विरोधी देखिएका छन् भने पशुपतिभक्त पन्त पनि लेखनाथकै पक्षको परिपोषक कविका रुपमा चिनिएका छन् ।

चिन्तनमा चरम दार्शनिकता र मननमा परम नैतिकता लेखनाथका विशिष्टता हुन् र उनको कविसुलभ संवेदना तथा कवितात्मक संचेतना नेपाली कविताका महत्त्वपूर्ण प्राप्ति हुन् । समष्टि प्रभावमा नैतिकता र आध्यात्मिकता उनका प्रमुख सैद्धान्तिक आधार हुन् । सधैं मानवसमाज र मानवताको समुन्नतिका लागि उनीबाट प्राप्त चिन्तनले उनलाई महान् कवि तुल्याएको छ । लेखनाथ निःसन्देह नीतिपरक कविताका पिता भएकाले उनका रचना नीतिचेतनाका गीता बनेका छन्, जसले मानवजातिलाई कर्मयोगी बन्न प्रेरणा प्रदान गरेको छ, लोक–कल्याणका निम्ति उपयोगी उपदेश उपलब्ध गराएको छ र जनहितका निम्ति शाश्वत सन्देश दिएको छ । यस प्रकारको नीतिकारिताले लेखनाथको योगदानलाई मूल्यवान बनाएको छ ।

लेखनाथका प्राचीन नैतिक–आध्यात्मिक, सांस्कृतिक–सामाजिक आदिका आदर्शमय पक्षहरु झन् महत्त्वपूर्ण छन् । उनका यिनै महत्वपूर्ण पक्षहरुको यथार्थ मूल्य स्पष्ट पार्ने विभिन्न नीतिपरक कविताले आजको सन्दर्भमा पनि समयसापेक्ष र उपयुक्त आदर्श मार्गको अनुसरण गर्न पे्ररणा दिएका छन् भने उनका नैतिक–आध्यात्मिक कविताले लोकको हित हुने मूल बाटो अवलम्बन गर्न र त्यतैतिर अग्रसर हुनाका निम्ति जीवनसन्देश पनि दिएका छन् । सामाजिक कल्याणका निम्नि नैतिक–औपदेशिक विषयलाई महत्वपूर्ण ठानी त्यसबाट सामाजिक चेतना जगाउने चेष्टा लेखनाथले गरेका छन् । यो उनको उल्लेखनीय उपलब्धि हो ।

उनको सचेत भावुकतापूर्ण कवि–व्यक्तित्वले ‘सर्वजन हिताय’ को सर्वोच्च सिद्धान्त परिपालन गरेको छ। उनी प्रकृतिसँग सम्बन्धित विषयको समीक्षा गर्न र प्रकृति नै मानवताका गुरु भएको सत्य साबित गर्न सक्षम देखिन्छन् र उनका कवितामा मानवहित वा शिवभाव अन्तर्निहित हुन्छ, जुन कुरा उनको ऋतुविचार र तरुण–तपसीले सिद्ध गरेका छन् भने ‘कवि कवितालाप’ कवितादेखि नै माध्यमिक कालीन उत्तराद्र्धका समसामयिक साहित्यिक प्रचलनप्रति आक्ष्ोप व्यङ्ग्य र विरोधसहित कवितामा भाषिक सुधार ल्याउने, मौलिक कविप्रतिभा सञ्चार गराउने नीतिसचेत आदर्शोन्मुख विचार भर्ने, सामाजिक जागरण र सुधारप्रति सोद्देश्य कविता रचना गर्ने अनि पूर्वीय उच्च साहित्यिक परम्पराप्रति श्रद्धा देखाएर नेपाली कविताको स्तरीकरण गर्दै नवीन काव्ययुगको आह्वान गर्ने संकल्पले पनि लेखनाथको योगदानलाई स्पष्ट पारेको छ ।

मधुरो काव्यस्वरमा गहिरो नैतिक भाव व्यक्त गर्ने लेखनाथ सामाजिक सचेतताका उद्घोषक र युगचेतनाका संवाहक कविका रुपमा देखिएका छन् । उनले तत्कालीन समयको मागलाई नीतिकार कवि बनेर पूरा गरेका छन् । यसर्थ लेखनाथ युगीन आवश्यकताले जन्माएका नीतिकार कवि हुन् । उनले काव्यालंकार र सौन्दर्यका सन्दर्भमा कालिदासको प्रभाव ग्रहण गर्नु, अनि औचित्य तथा नैतिकताका सिलसिलामा क्षेमेन्द्र र मम्मटको स्मरण गर्नु उनको गुणग्राही स्वभावका साथै समसामयिक साहित्यिक–सामाजिक अवस्था र युगीन आवश्यकताको देन हो । नैतिक चिन्तनका सन्दर्भमा उनको उच्च स्थान छ । लेखनाथ पूर्ववर्ती र समवर्ती युगका नेपाली कविहरुका तुलनामा नैतिक चिन्तनका अद्वितीय कवि हुन् ।

नेपाली कविताका क्षेत्रमा पौरस्त्य काव्यसाधकको अनुकरणीय प्रभाव समायोजन गर्ने कविऋषि लेखनाथले औचित्यमा आधारित मर्यादावादी भावधारामा नीतिपरक कविताको उठान गरी उत्कर्षमा पुर्‍याएर उल्लेखनीय योगदान दिएका छन् । उनका कवितामा नैतिकता, उचितता, दार्शनिकता, कोमलता, सरलता, सरसता, श्रुतिमधुरता, आध्यात्मिकता आदि मूल्यवान साहित्यिक विशेषता पाइन्छन् । व्याकरणसम्मत स्तरीय भाषा, काव्यगत मर्यादा, नीतिगत सचेतता र सन्तुलित विचारको प्रकाशनका निम्ति उचित पदरचनादेखि काव्यरचनासम्मको संरचनाबाट नेपाली कविताको श्रीवृद्धिमा लेखनाथले अतुलनीय योगदान दिएका छन् ।

नेपाली साहित्यको माध्यमिक कालीन प्रवृत्तिको चरमोत्कर्ष र आधुनिक युगको अरुणोदयका दोसाँधमा खडा भएका लेखनाथले नेपाली कवितामा नैतिक पक्ष, कलापक्ष र भाव पक्षको त्रिकोणात्मक समन्वय गरेका छन् । उनी नीतिसचेत आदर्शवादी तथा औचित्यमा आधारित मर्यादावादी कवि हुन् तापनि उनका कवितामा उपदेश र आदर्शको कोरापन पाइँदैन । यसर्थ उनका कविता सार्वकालिक, सार्वदेशिक र चिरस्थायी बनेका छन् । उनले आफ्नो युगको प्रतिनिधित्व मात्र नगरी नेपाली साहित्यको इतिहासमा आधुनिकताको जग बसाल्ने काममा पनि नेतृत्व लिएका हुनाले उनको प्रभावपूर्ण योगदान रहेको छ ।

यस तथ्यबाट लेखनाथ एकातिर उत्तरमाध्यमिक काल (१९४०–१९६०) शृङ्गारकाल वा मोतीराम – युगलाई बिदाइ र अर्कातिर आधुनिक काल (१९८६ देखि उप्रान्त) – लाई स्वागत गरिरहेका देखिन्छन् । यस अर्थमा उनी युगसन्धिपुरुष सिद्ध भएका छन् । यिनै विविध महत्वपूर्ण उपलब्धि र योगदानले गर्दा नेपाली भाषासाहित्यको इतिहासमा लेखनाथको देन उल्लेखनीय रहेको छ । यसोे हुनाले उनी पुराना कविहरुमा सबभन्दा नयाँ नीतिकार कवि र आधुनिक कविहरुमध्ये सबैभन्दा पुराना नीतिकार कवि ठहरिएका छन् । बालकृष्ण समका दृष्टिमा महान् दार्शनिक र लक्ष्मीप्रसाद देवकोटाका आँखामा कोमल संवेदनाका कवि दुवै हुन पुगेका लेखनाथमा स्वामी विवेकानन्द, कवि रवीन्द्रनाथ र महात्मा गान्धीको प्रभाव पनि पाइन्छ भने प्रेम अहिंसा र करुणा उनका कविताका प्रवृत्तिगत विशेषता बनेका छन् ।

८२ वर्षे जीवनकालको ६ दशक लामो कवितायात्रा (१९६१–२०२२) मा कवि लेखनाथभित्र कविता निरन्तर गतिशीलता र प्रतिभाको अक्षुण्णता अनि उत्तरोत्तर परिपाक र सिद्धिका लक्षणहरु देखिएका छन् । यस क्रममा उनले नेपाली कविताको माध्यमिककालीन शृङ्गारिक प्रवृत्तिलाई पर पन्छाउँदै मर्यादावादी काव्यधाराको प्रवर्तन, प्रतिष्ठापन र नेतृत्वसमेत गरी नेपाली कवितामा आधुनिकताको आलोक छरेका छन् अनि उदारतावादी, प्रगतिवादी र प्रयोगवादी धाराको चापमा पनि आफ्नो नैतिक–आध्यात्मिक चेतना उकासेर आजीवन नीति, औचित्य र मर्यादावादी भावधाराको सम्वद्र्धन गरेका छन् जसले उनको योगदानलाई मूल्यवान् तुल्याएको छ र महान् मर्यादावादी कवि सिद्ध गरेको पनि छ ।

विभिन्न काव्यगत योगदान र छन्दगत प्रयोगका आधारमा उनी वर्णमात्रिक छन्द–चेतनाका सर्वाधिक परिष्कृत कवि गनिन्छन् र नेपाली प्राकृतिक सौन्दर्यको सूक्ष्म पर्यवेक्षण र व्यञ्जना गर्ने प्रथम मर्यादावादी कवि मानिन्छन् अनि नेपाली समाजका विशेष गरी नैतिक, सांस्कृतिक र आध्यात्मिक पुनर्जागरण–प्रक्रियाका वरिष्ठ कविचिन्तक पनि ठानिन्छन् । नेपाली नैतिक–आध्यात्मिक चैतन्य–परम्परा र युगोन्मेषको समीकरणका विन्दुमा विश्वबोध वा मानवताबोध गर्ने कवि–तपसीका रुपमा उनको स्थान सर्वोपरि रहेको छ । यस अर्थमा उनी आधुनिक नेपाली समाजका आदर्श पुरुष र नैतिक–आध्यात्मिक जगत्का पथ–प्रदर्शक कविगुरु मानिएका छन् अनि नीति, अध्यात्म र प्रकति–काव्य–सौन्दर्यका सर्वोच्च नेपाली काव्य–स्रष्टा पनि ठहरिएका छन् ।

नैतिक वैशिष्ट्यको चित्रण गर्ने क्रममा लेखनाथले ‘नैतिक दृष्टान्त’ जस्तो उत्कृष्ट कविता रचना गर्नु, ऋतविचार तथा तरुण–तपसीजस्ता काव्य सृष्टि गर्नु, अरुका निम्ति परम बुद्धि र आनन्द प्रदान गर्न, सदाचारका साधु र गौरवगाथाका जन्मदाता बन अनि उनी आफै पनि सबभन्दा सुखी, बुद्धिमान्, नीतिवान् तथा प्रतिष्ठित ‘कविशिरोमणि’ पदवी प्राप्त गर्न सक्षम हुनु उनको उचित कदर गरी २०११ सालमा रथयात्रा हुनुजस्ता घटनाहरुबाट नेपाली काव्य जगत्मा लेखनाथको सर्वोच्च स्थान रहेको स्पष्ट हुन्छ । यसरी नेपाली कविताको इतिहासमा वर्ण–संयोजनदेखि औचित्य–सिद्धान्त प्रतिपादनसम्मको औचित्यवादी दृष्टिकोण, कान्तासम्मित उपदेश र नैतिक सन्देशलाई साहित्यको संवाहक तुल्याउने कौशल, चेतनाप्रधान साहित्य–सृजना र मर्यादावादी कविता–रचनाका सिलसिलामा लेखनाथको योगदान नितान्त महत्वपूर्ण छ । यही मूल्यका आधारमा लेखनाथ नीतिवादका शिरोमणि, औचित्यवादका परम प्रयोगकर्ता र मर्यादावादका शिखर पुरुष सिद्ध भएका छन् भने नीतिचतेना र औचित्य–संचेतनाका वस्तुनिष्ठ मर्यादावादी कविशिरोमणिका रुपमा समेत प्रतिष्ठापित छन् ।

घ. समग्र कविता–कृतिको निष्कर्षका आधारमा
लेखनाथका कविता–यात्राको चार चरणका कविता–कृतिहरुको अध्ययनबाट के सिद्ध भएको छ भने उनले ऐतिहासिक घटनामा मानवीय व्यक्तित्व र पौराणिक घटनामा दैवी व्यक्तित्वलाई लिएर खण्डकाव्य रचेका छन् अनि नीति, प्रकृति, संस्कृति र अध्यात्मलाई विषय बनाएर पनि कविता काव्यकृति रचेका छन् । उनले भिन्नभिन्न विषयमा मझौला कोटिका काव्यका साथै लघुकाव्य–कवितादेखि महाकाव्यसमकक्षी नव्यकाव्य र गङ्गा–गौरी महाकाव्य (अपूर्ण, २०६१) सम्मको रचना गरी विषयगत र विधागत विविधता प्रदर्शन गरेका छन् । नीति र प्रकृतिपरक कविताको अनुभूतिलाई सन्तुलित रुपमा प्रस्तुत गर्न सक्नु लेखनाथका संरचनागत विशेषता मात्र नभएर उल्लेखनीय उपलब्धि पनि बनेको छ ।

विषयगत दृष्टिले हेर्दा लेखनाथले केही कविता/काव्य पारम्परिक विषयमा र केही नयाँ विषयमा पनि लेखेको देखिन्छ । बुद्धिविनोदजस्तो बौद्धिक तथा आध्यात्मिक चिन्तनमा आधारित मनोविनोद–काव्य, सत्य–कलिसंवादजस्तो सांस्कृतिक–ऐतिहासिक काव्य र तरुण–तपसीजस्तो मानवीय प्रकृतिकाव्य सर्वथा नवीन विषयका काव्य हुन् भने पारम्परिक विषयका काव्य पनि उनले लेखेका छन् जसमा एकातिर नेपालका राजालाई लिएर रचिएको शोकप्रवाह अनि अर्कातिर भारतका राष्ट्रपिता (महात्मा गान्धी) लाई सम्झेर लेखिएको अमर ज्योतिको सत्यस्मृति शोककाव्य पर्दछन् भने भक्ति वा स्तुतिकाव्यका सन्दर्भमा पनि उनले एकातिर राणाप्रधानमन्त्रीलाई विषय बनाएका छन् अनि अर्कातिर भगवान् श्रीरामको भजन–कीर्तनभन्दा पनि उनको सत्य, शिव र सुन्दर स्वरुपको चारित्रिक विश्लेषण गरी श्रीरामको आदर्श चरित्रलाई विषयवस्तु बनाएर मेरो राम काव्य रचेका छन् ।

लेखनाथका कविता/काव्य आख्यानरहित र आख्यानयुक्त दुवै थरी छन् । आख्यानरहित काव्यअन्तर्गत परस्पर निरपेक्ष पद्य परेका छन् र तिनको संरचना स्वतन्त्र छ । त्यस्ता प्रबन्धनिरपेक्ष काव्यको प्रत्येक श्लोक सुगठित छ र ती प्रत्येक पद्यमा भाषा र भावको लावण्य तथा शास्त्रीय छन्दअन्तर्गत रहने लयात्मक माधुर्य पाइन्छ । उनका आख्यानयुक्त काव्यमा पनि आख्यान–अंश अति झिनो छ र अनुभूतिजन्य कवितातत्व घना छ । आख्यानपक्षलाई प्राथमिकता नदिइएकाले उनका आख्यानपरक काव्यमा घटनाको समुचित विकास पाइँदैन भने चरित्रको यथोचित प्रगति भएको पनि भेटिँदैन । आख्यान र अनुभूति दुवैलाई बराबरी महत्व दिएर दुवै तत्त्वको आवश्यकता मनन–चिन्तनका साथ उचित रुपमा संयोजन गरी काव्य–रचना गर्नेतर्फ उनले देखाएको उदासीनता उनको प्रतिभा र औचित्यको सीमा साबित हुन आउँछ । सांसारिक विषयलाई भोग्ने तर त्यसमा निर्लिप्त नहने अनि अन्तस्करणकै आध्यात्मिक ज्योतितिर उन्मुख हुन् लेखनाथको जुन मानवताका निम्ति जीवन–सन्देश छ, त्यसमा जीवन भौतिकतामा टाँसिएर बाँच्ने वस्तु नभएकाले मानिसले मोह–जालमा परी निःसार जीवन बाँच्न नहुने, हाँसीखुसी निद्र्वन्द्व । निस्काम र निःस्वार्थ जीवन बाँच्नुपर्ने, दीन–दुःखीहरुप्रति सहानुभूति राख्नुपर्ने, धनको अभिमान त्याग्नुपर्ने अनि प्रमादप्रति घृणाभाव राख्नुपर्ने नैतिक–सामाजिक दृष्टिकोण छ । त्यसको मूलस्रोत आध्यात्मिक प्रकाश हो । यही नैतिक–आध्यात्मिक प्रकाशलाई लेखनाथले जीवनतत्व ठानेका छन् ।

लेखनाथका कविता–कृतिलाई संरचनागत दृष्टिले हेर्दा बाह्य संरचनामा पद्यात्मकता पाइन्छ । एक श्लोकदेखि छ सय छ श्लोकसम्मको पद्य–संरचनाका साथै मुक्तक–कविताको संरचनादेखि खण्डकाव्य र महाकाव्यसमकक्षी प्रबन्धात्मक ढाँचासम्मको संरचनामा चतुष्पदी श्लोक योजना पाइन्छ । यस प्रकार लेखनाथका कवितायात्राको पहिलो चरणदेखि चौथो चरणसम्म आइपुग्दा कविता विधाको मुक्तकरुपदेखि महाकाव्य–स्वरुपसम्मको कवितायात्राका गतिसँगै परिपुष्ट–सुगठित र सुव्यवस्थित आन्तरिक संरचनामा नीति र प्रकृतिपरक अनुभूतिको सन्तुलित समन्वय समावेश भएको पाइन्छ । यसरी नीतिपरक कवितात्मक अनुभूतिलाई सन्तुलित रुपमा प्रस्तुत गर्न सक्नु लेखनाथको संरचनागत सिद्धि हो ।

कवितामा प्रयुक्त छन्दविधान बाह्यतत्व हो तापनि यही सौन्दर्यले लेखनाथका कवितामा निहितभावपक्षको गुण र सुन्दरताको आकर्षणलाई उत्कर्षमा उकालेको छ । बाहिरी सौन्दर्यको सोपानबाट आन्तरिक भावमाधुर्य तथा विचारसौन्दर्यको शिखरमा पुगेर नैतिक सत्यसन्देश र उपयोगी उपदेशलाई सम्प्रेषण गर्न उनका कवितामा प्रयुक्त विविध छन्द तथा लयविधानले भावकलाई सहजरुपमा सहयोग गरेको छ । नेपाली कविताका क्षेत्रमा लेखनाथको प्रतिभाले प्रशस्त प्रगति गर्न र सधैँ सफलता हासिल गर्नामा छन्द तथा लयगत साधना र सिद्धिले महत्वपूर्ण भूमिका खेलेको हुँदा यसलाई उनको उल्लेखनीय उपलब्धि मान्नु उचित ठहर्छ ।

विभिन्न बिम्ब–प्रतीक तथा अलंकारयोजनाको समुचित प्रयोगले कवि लेखनाथका कविताको कलापक्षलाई परिस्कृत र उत्कृष्ट बनाएको छ । अनेक शब्दालंकार र अर्थालङ्कारको स्वाभाविक प्रयोगबाट उनका कविता भावसंवेद्य भएका छन् । उनले आफ्ना कवितामा छेकानुप्रास, वृत्यानुप्रास र अन्त्यानुप्रासजस्ता शब्दालंकारका साथै उपमा, उत्प्रेक्षा, रुपक दृष्टान्त, संकर, सन्देह, संसृष्टि आदि अनेक अलंकारको सहज प्रयोग गरेका छन् । उनको विम्ब–प्रतीक तथा अलंकार प्रयोग काव्यात्मक चमत्कार प्रदर्शनका निम्ति निर्मित नभएर नीतिसापेक्ष भाव–सम्प्रेषणका क्रममा स्वतः सिर्जित हुनाले अलंकारको उचित प्रयोग पौरस्त्य काव्यसाधक तथा कविऋषि लेखनाथका कविताको प्रशंसनीय उपलब्धि ठहर्छ ।

भाषा–शैलीका दृष्टिले हेर्दा लेखनाथले वर्णनात्मक शैलीशिल्पका साथै प्रश्नात्मक शैली र संवादशैलीको पनि सफल प्रयोग गरेको देखिन्छ र उनी सुललित कविता/काव्यगत शैलीशिल्पका सन्दर्भमा सदा नवीनताको साधना गरिरहने नीतिचेतनाका कवि तथा काव्यकार ठहरिन्छन् । उनकै सर्वोत्कृष्ट काव्य तरुण–तपसीका दृष्टिले हेर्दा लेखनाथ नेपाली कवितामा तारुण्य प्रदान गर्ने तरुण कवि र नैतिक आध्यात्मिक ज्योतिद्वारा आलोकित र आह्लादित गर्ने तपसी देखिन्छन् । यस्ता आफ्नै परम्पराबाट पूर्णतामा पुगेका कविलाई विश्व–साहित्यबाट प्रभावित विभिन्न कविहरुले पहिलो प्रेरणाको स्रोत मानेकाले यथार्थमा उनी कविशिरोमणि ठहरिएका छन् ।

नीतिवाद लेखनाथका कवितामा पाइने उत्कृष्ट उपलब्धि हो । सत्य–तथ्यका निकटमा समस्या समाधानको उपाय पहिल्याई, रहस्यलाई पनि केलाई जीवन–जगत्मा नैतिकता स्थापना गर्नु उनको प्रमुख उद्देश्य देखिन्छ । ‘सत्य–सन्देश’ र ‘विवेक–वाटिका’ अन्तर्गतका सघन कविता, ‘नैतिक दृष्टान्त’ जस्ता मुक्तक कविता, ‘देशबन्धुसँग अपील’ जस्ता फुटकर कविता ‘वर्षाविचार’ जस्ता लामा कविता अनि ऋतुविचारजस्ता कोशकाव्यदेखि तरुण–तपसी नव्यकाव्य र गङ्गा–गौरी (अपूर्ण महाकाव्य) जस्ता वृहत् प्रबन्धकाव्यमा समेत उपलब्ध उचित उपदेश तथा नैतिक–सामाजिक सन्देशहरुले व्यक्ति, समाज र राष्ट्रलाई सधैं सही बाटो देखाएका छन् ।

उपर्युक्त विविध विशिष्ट योगदानले लेखनाथका कविताको मूल्य र मान्यता बढाएको छ उनकोे नीतिकार कवि–व्यक्तित्वलाई चरमचुलीमा चढाएको छ, परम पदवीमा पुर्‍याएको छ र उनको सर्वोच्च स्थान निर्धारण गरेको छ भने सर्वश्रेष्ठ नीतिकार कवि–काव्यकारका साथै कविशिरोमणि सिद्ध गरेको छ । यिनै विविध रचनागत महान् योगदानका आधारमा अनि पौरसत्य पाश्चात्य साहित्य–स्रष्टा तथा नेपाली कवि–कविताको तुलना–प्रतितुलनाका निष्कर्षमा लेखनाथ नीतिचेतना, औचित्यसाधना, मर्यादापालना र कमनीय कला–कौशलका सर्वोत्तम कवि सिद्ध भएका छन् भने नैतिक, आध्यात्मिक र सामाजिक जीवन–सन्देशका कवि–महर्षि ठहरिएका छन् ।

  • Sahitya Sagar
    Sahitya Sagar
डा. बमबहादुर थापा जिताली
डा. बमबहादुर थापा जिताली
Post Views: 1,101
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

‘मायामहल’को सार्थकता

August 1, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.