सुरेन उप्रेती नेपाली साहित्यमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । उनी सिर्जना, समीक्षा, सङ्गठन, सम्पादनसमेतका आधारमा नेपाली साहित्यको विकासमा लागिरहेका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको ‘चिठ्ठा’ शीर्षकको कथा समेटिएको छ । यस कथाले कार्लोस र आलेक्सलाई मूल पात्र बनाई आलेक्सको निम्न वर्गीय तर चिठ्ठा परेपछि खुसी पाउने अनौठो सपना सजाएको मानसिकतालाई प्रस्तुत गरिएको छ । -सम्पा. |
बाहिरको ढोका खुलेको आवाज आएपछि कार्लोसले आँखा छड्के पारेर ढोकातिर हेर्यो । आलेक्सजेन्डर पसलभित्र पस्दै थियो । कार्लोसका हजुरबाका पालादेखि पारिवारिक बिजिनेसका रूपमा यो बेकरी पसल चल्दै आएको थियो । यो बेकरी कार्लोसका हजुरबाले खोलेको रे । कार्लोसका बाले पनि यसैमा जीवनभरि काम गरे । कार्लोसलाई अझै पनि मधुरो सम्झना छ । ऊ बाबु मार्कोसको औंला समाउँदै पसलमा आउने गर्दथ्यो । त्यसताका कार्लोसकी आमा मारियाल बेक गर्ने काम गर्थिन् । दिदी एन्ड्रिया आमालाई सघाउँथिन् । एन्ड्रिया आमालाई बेक गर्न सघाउँदै बाहिर पसलमा पनि काम गर्थिन् । पसलमा अडर लिने र अडर अनुसारको तयार भए, नभएको हेरेर ग्राहकलाई दिने पनि एन्ड्रियाको नै काम थियो । उसका बुबा मार्कोस चाहिँ बेकरीलाई चाहिने चिनी नुन पिठो इस्ट अन्डा आदि ल्याउने काम गर्थे । खास भन्ने हो भने व्यवस्थापन पक्ष हेर्ने काम मार्कोसको थियो । अडरको सामानलाई डेलिभरी गरिदिने र अडरलिने जस्ता काम पनि मार्कोसको नै थियो ।
सहरभरिको बेकरी सप भनेकै यही थियो । ताजा ताजा ब्रेड, मफिन जिन्जरब्रेड र चक्लेट चिप्स कुकिज आदि यहाँका प्रमुख आकर्षण थिए । यी परिकारले सहरमा निकै राम्रो छाप छोड्न सफल भएका थिए । बनाना ब्रेड रेजिन ब्रेड, बेगल र मफिन आदिको माग निकै बढी बिक्री हुन्थ्यो । बर्थडे केकका लागि टाढा टाढा देखिका मानिसहरू आउने गर्दथे । कहिले काँही त बेकरी किन्ने मानिसको लामो लाइन नै लाग्ने गर्दथ्यो । यो बेकरी स्टोरको प्रचारप्रसारका लागि कुनै विज्ञापनको व्यवस्था गरेको थिएन । यसको प्रचारप्रसार माउथ टु माउथ भनेझैं एक कान दुईकान मैदान भएर फैलिएको थियो । टाढा टाढा देखिका मानिसहरू बेकरीमा झुम्मिने गर्थे । क्रिसमसका समयमा त खुट्टा राख्ने ठाउँ पाउन पनि मुस्किल हुन्थ्यो । क्यासमा काम गर्ने क्यासियरहरू नै दुईजना हुन्थे । सिजनल कामदारहरू थप्नुपथ्र्याे । बेक गर्ने र तयारी गर्ने पनि तीन चारजना मानिस थप्नु पर्दथ्यो । त्यति गर्दा पनि भ्याइ नभ्याइ हुन्थ्यो ।
यहाँ आउने मुख्य ग्राहकहरू युरोपियन मूलका नै हुने गर्दथे । स्कटलेन्ड आयरलेन्ड, इटली, लन्डन, फ्रान्स, जर्मनी, पूर्व सोभियतसङ्घ आदि देशका मानिसहङ् नै प्रमुख ग्राहकहरू थिए । साउथ अमेरिका, क्यारवियन, अफ्रिका र एसियाका मानिसहरू पनि फाटफुट ग्राहकका लाइनमा देखिन्थे ।
कार्लोसका हजुरबा भने पोर्चुगालबाट आएका रे । यो बेकरी नै सहरको एकमात्र बेकरी र सारै मिठा परिकार बनाएर पहिचान बनाएको थियो । पुराना पुस्ताका मान्छेहरूले त यो बेकरीलाई ‘टेष्ट अफ दि टाउन’ भन्ने गर्दथे । यो बेकरीले मानिसहरूलाई मोहनी नै लगाइदिएको थियो । सहरभरिका मानिसहरू कुनै न कुनै आइटम किन्न यस बेकरीमा आइपुगेका हुन्थे । यहाँको मुख्य बेकर आलेक्सजेन्डर थियो । ऊ आफूलाई आलेक्स भनेर बोलाउनु भन्दथ्यो । आफ्नो परिचय दिंदा पनि ऊ आलेक्स नै भनेर चिनिन्थ्यो । आलेक्सको काम चाहिँ बेकरीका लागि आवश्यक पर्ने पिठो मुच्छ्ने । पिठोमा आवश्यक पर्ने अनडा नुन, चिनी इस्टको मात्रा मिलाउनेदेखि विभिन्न स्वाद आकार र प्रकारका केक ब्रेड र मिठाइहरूको डो बनाउने थियो । यी सबै काम आलेक्सले कार्लोसका बाबु मार्कोससँग काम गर्दागर्दै सिकेको थियो ।
आलेक्सले यस बेकरीमा काम गरेको पनि दुई दशक नाघिसकेको थियो । उसले काम गर्न थाल्दा एन्ड्रिया बाह्र बर्ष जतिकी र कार्लोस झन्डै छ वर्षजतिको मात्र थियो । अहिले एन्ड्रियाको छोरो नै दश वर्षको भयो । समय गएको पत्तै नहुने । आलेक्सलाई कार्लोस र मारिया अझै सानै छन जस्तो लाग्छ । ती हिजोका चल्लाहरूले उसलाई काम भएन । काम छिटो गर भन्दा सारै नरमाइलो र दिक्क लाग्छ । त्यति नै खेर काम चटक्कै छोडेर हिँडौं हिँडौं जस्तो लाग्छ । मेसिनमा पिठो मुछ्नका लागि तयार गर्दै गरेको पिठोमा हेर्दै एक्लै भुत्भुताउँछ । आज काम त सकिन दे सोझै गएर ६४९ सिक्स फोर्टिनाइनको चिठ्ठा काट्छु । (यो ६४९ भन्ने चिट्ठा अन्टारियोको प्रसिद्ध चिट्ठा हो) त्यसपछि तेरोमा काम गर्न शुक्रबारसम्म मात्रै त हो । तेरामा कसले काम गर्दो रहेछ हेरौन त । आँखा उठाएर कार्लोसतर्फ तेस्र्याउँथ्यो । कार्लोस कम्प्युटरमा के के गरिरहेको हुन्थ्यो ।
साँझमा काम सकेर आलेक्स बेकरी सपबाट निस्किन्थ्यो र सोझै चिठ्ठा काट्ने ठाउँमा जान्थ्यो । चार डलरमा एङकरसहितको एउटा चिठ्ठा काट्थ्यो । अब पख पाँच दिन त हो त्यसपछि तेरो बेकरीलाई फर्केर पनि हेर्दिनँ । कार्लोससँग रिसले मुर्मुरिँदै आलेक्सले माथिल्लोे दाँतले तल्लो ओठलाई टोक्थ्यो ।
अर्को दिन बिहान उठेर फेरि गह्रौं पाइला चाल्दै कामका लागि निस्किन्थ्यो । ऊ चिठ्ठा खुल्ने दिन गन्दै अब चार दिन बाँकी छ । अब तीन दिन, दुई दिन बाँकी गन्दै शनिवारको दिन पर्खन्छ । शनिवार चिठ्ठा बेच्ने ठाउँमा पुग्छ र चिठ्ठा परे, नपरेको जाँच गर्न दिन्छ । चिठ्ठा परेको धुन नै मज्जा । विनर ग्याङ्गे भनेर म्युजिक बज्छ । कहिले कहिले उसको टिकटमा पनि यस्तो धुन बजेको छ तर उसलाई सय डलरभन्दा माथिको चिठ्ठा कहिल्यै परेको छैन । कहिले सित्तैमा एउटा टिकट पर्छ । कहिले दश डलर बिस डलर मात्र पर्छ । एकपटक एक सय डलर पनि परेको थियो ।
आइतबार साँझमा चिठ्ठा काटिसकेपछि सँगैको एलसिवियो (ीऋद्यइ) मा पस्छ । यो प्रायजसो सबै देशका वाइन बियर र ह्विस्किहरू पाइने स्टोर हो । उसको मन पर्ने एक दर्जन मोल्सन वियर र एउटा ह्विस्कीको बोतललाई टिप्छ । ग्रान्डस स्कच ह्विस्की उसको मन पर्ने ब्रान्ड भएको छ । काउन्टरमा गएर एकसाठी डलर बुझाएर कागजको झोलामा ड्रिङक्स लिएर निस्कन्छ । नजिकैको ग्रोसरी स्टोरमा गएर एक लोफ ब्रेड, एक प्याकेट चिप्स र एउटा रोस्टेड चिकेन लिएर अपार्टमेन्टतिर लाग्छ ।
उसलाई त्यो बियर र ह्विस्कीले आउने शनिवारसम्म पुर्याउनु छ । शनिवार चिठ्ठा परेपछि त यस्ता बियर र ह्विस्की कति खान्छस् आलेक्स भन्दै वियरको बोतल खोल्दछ । चिकेनको एउटा साप्रो र केही चिप्स पनि प्लेटमा राख्छ । तेरोमा काम गर्नु अब पाँच दिन त हो मार्कोस । त्यसपछि तेरै बेकरी किनेर म मालिक, तँ कामदार बन्ने दिन आउँछ बुझिस् भन्दै वियर पिउन थाल्थ्यो । दुईटा बियर पिएपछि ह्विस्की खोल्यो । फ्रिजरबाट आइसक्युवहरू निकालेर ग्लासमा राख्यो । ह्विस्कीलाई बिस्तारै ग्लासमा खन्यायो । ग्लासमा ह्विस्की धेरै पर्छ कि झैं गरेर ग्लासलाई माथि उठाउँदै हेर्यो । करिब डेड इन्ज जति ह्विस्की ग्लासमा देखियो । अब यो बोतललाई नजिक राख्यो भने फेरि थप्न मन लाग्छ भन्दै बोतललाई दराजभित्र राखेर पिउन सुरु गर्यो । आउने शनिवार त चिठ्ठा पनि परिसकेको हुने छ । म अबदेखि तेरोमा काम गर्न आउँदिन भनेर शनिवार साँझमै फोन गरेर मार्कोसलाई भन्दिन्छु ।
आइतबार बेकरीमा गएर तेरो पसल बेच्ने कुरा थियो । कतिमा बेच्छस् भनेर मार्कोसलाई भन्छु । तेरा आमा र दिदी पनि काम गर्छन् भने काम दिंउला भन्छु मनमनै सोच्दै फिस्स हाँस्यो ।
ऊ स्कटल्यान्डमा जन्मिएको हो । ऊ स्कटल्यान्डबाट आउँदा तीन बर्षको थियो रे । ऊ सानो हुँदा उसका बाबुआमाले थुप्रै स्कटिज संस्कृतिका बारेमा सुनाएका थिए । हलोइनपर्व मनाउने, केल्टिक म्युजिक, ट्याप डान्स जस्ता अनेक संस्कृतिका बारेमा बाआमाबाट सुनेको थियो । उसलाई पनि ट्राटनको स्कटलगाएर ब्यागपाइप बजाउँदै सडकमा परेड खेल्न रहर लागेको थियो । उसका बाले उसलाई पनि ट्राटनको स्कट र व्यागपाइप ल्याइदिएका थिए । व्यागपाइप बजाउन अभ्यास गरेको अझै पनि याद छ तर त्यो ब्यागपाइप बजाउन सिक्ने क्रमले लामो समयसम्म निरन्तरता पाउन सकेन । घरको ठुलो छोरो भएपछि जिम्मेवारी पनि धरै भयो । फुटबल, रग्वी, हकी, गल्फ, टेनिस जस्ता अन्तर्राष्ट्रिय स्तरका गेमहरूको सुरुवात पनि स्कटल्यान्डबाट नै सुरु भएको हो रे उसका बाबाले भन्थे तर ती कुनै खेलले पनि उसलाई तान्न सकेनन् ।
इमिग्रेन्ट बाबु आमाको पहिलो सन्तान हुनाले पनि उसले धेरै अवशरहरूबाट बन्चित हुनु पर्यो । सानै देखि भाइ बहिनीको बेबिसिटर भएर वाल्यकालको श्वर्णिम समय वित्यो । क्यानडाको वेदर र वर्कको कुनै भरोसा हुँदैन भन्छन् । कति खेर हिउँ पर्ने र घाम लाग्ने थाहा हुँदैन । त्यस्तै कामको पनि कुनै भरोसा छैन । आज छ भोलि छैन । उसका बाबुआमाको काम पनि परिवर्तन भै रहन्थ्यो । कामको परिवर्तनसँगै पायक पर्ने ठाउँमा अपार्टमेन्ट पनि सरिरहनु पर्ने बाध्यता थियो । बस्ने ठाउँ सरेपछि स्कुल पनि सर्नुपर्ने नै भयो । त्यसैले कुनै पनि स्कुलमा दुई वर्षभन्दा बढी समय बिताएको उसलाई सम्झना छैन । त्यही भएर होला ऊसँग मिल्नेसाथीहरू पनि खासै छैनन् । यसो हेलो हाइका मात्र साथीहरू भए ।
कक्षा नौमा पढ्दै गर्दा समर जबका रूपमा यही बेकरीमा उसले पहिलो काम सुरु गरेको थियो । त्यसताका हातले नै बेकरीको पिठो मुच्छेर डोहरू बनाउनु पर्दथ्यो । धेरै शारीरिक परिश्रम पर्ने भएकाले काम गर्ने मानिसहरू दीर्घकाल टिक्न सक्दैन थिए । सानैदेखि काम गरेको हट्टा कटटा भएको हुनाले आलेकजेन्डरलाई काममा खासै कठिन भएन । नियमित काम हुने भएकाले बाबुआमाले पनि पढाइतिर भन्दा बेकरीतिर नै ध्यान दिन लगाए । आखिर पढेर पनि काम गर्ने हो । कामलाई नै निरन्तरता दिनु भन्ने उनीहरूको सल्लाह हुन्थ्यो । उसले यो भन्दा अरू काम पनि जानेको छैन । उसका बाआमा हुन्जेल त केल्टिक नृत्य ट्याप नृत्य व्यागपाइप परेड आदिमा कहिलेकाँही जाने गरेको थियो । अहिले त उसलाई स्कटल्यान्डका बारेमा कसैले सोधे भने केही थाहा छैन । उसले मातृभूमिलाई सम्झने भनेको यही स्कच पिउँदा मात्र हो । उसलाई यो ग्रान्डस स्कच पिएर भए पनि मातृभूमिप्रति सम्मान गरे झैं लाग्दछ ।
उसलाई आफूले पढ्न नपाएकोमा पनि गुनासो छैन । उसले आफू बेकरीमै काम गरेर भए पनि छोरो एड र छोरी बोनीलाई राम्रै पढायो । भनौँ पढ्ने राम्रो अवसर जुटायो । उसका बाआमाले पनि छोराछोरी पढाउन धेरै सहयोग गरेका थिए । अहिले एड मेडिकल डक्टर छ । छोरी बोनी रिसर्च सेन्टरकी वैज्ञानिक छ तर उनीहरूलाई आलेक्स आफूभन्दा दुखी देख्छ । आफूलाई काम पर्दा काममा जान सकिनँ भन्न पनि पाईंदैन । छोराले त राम्रोसँग सुत्न पनि पाउँदैन । कतिखेर कुन अस्पतालबाट फोन आउने हो । त्राहिमाम भएर उसको दिन बित्ने गर्दछ । कहिले आधा खाएको खाना छोडेर हिंड्दछ । कहिले परिवारसँग रमाएर कुरा गरिराखेको बेला फोन बज्छ र लु जानुपर्छ भन्दै हिँड्छ । छोरी पनि ल्याबमा के के गर्छे । कहिले त राती भएको पनि थाहा नपाई काम गर्छे । कहिले सरकारले सबै बजेट काट्छ र बैज्ञानिकहरू बेरोजगार हुन्छन् । सानोतिनो काम गरेर बसौंन त भन्दा पनि वैज्ञानिक भन्छन् । आखिर उनीहरूलाई त्यति धेरै पढेर पनि पब्लिक सर्भेन्ट भन्छन् ।
जनताले कर तिरेको पैसाले जागिर खाएको भएर जनताका नोकर भनेको होला । बरु मेरो मालिक त कार्लोस मात्रै छ । मन लागेन भने १५ दिन काममा जान्न । बजेट काटिएला र जागिर सकिएला भन्ने पनि छैन । तेत्रो पढेका छोराछोरी भन्दा त हाई स्कुल मात्र पढेको मेरो मालिक कार्लोसलाई नै आनन्द छ । कहिले दुई महिना पोर्चुगल गएर बस्छ । ठाउँ ठाउँमा घर जग्गा किनेको छ । अरूलाई जागिर दिएको छ । कहिले जागिर सकिएला, कहिले सरुवा होला जस्ता चिन्तामा पनि जल्नु पर्दैन । आफ्ना छोराछोरीको चाहिँ जति पढे पनि अरूको सहारामा बाँच्नु पर्ने जिन्दगी भन्दै फेरि एक घुट्को ह्विस्की चढाउँछ । छोराछोरी पढाएँ भनेर आफूलाई पनि कति खुसी लाग्थ्यो । आखिर मैले त सरकारलाई कामदार पो उत्पादन गरिदिएँछु । मालिक बन्न सिकाइन छु । पढाएर नोकर पो बन्न सिकाएँछु भन्दै कुखुराको साप्रो टोक्छ र हा हा हा गरेर हाँस्छ ।
पख्, मेरो चिठ्ठा पर्न मात्र त दे । म दुबै छोराछोरीलाई मालिक बनाउँछु । ऊ सरकारसँग पनि रिसाउँछ । मेरा छोराछोरीलाई अरूलाई काम लगाएर रेखदेख गर्ने मालिक बनाउँछु ।
हरेक शनिबार फुर्ती साथ धेरै धेरै सपनाहरू लिएर लट्रीको टिकट जाँच्ने ठाउँमा पुग्छ । कहिले क्रुजमा हवाइ, बहमास पुग्दछ । कहिले ऊ जन्मिएको स्कटल्याड र अरू युरोपियन देशहरू घुम्दछ । कहिले ब्रम्हाण्डकै अग्लो ठाउँ सगरमाथा छुन पुग्छ । हरेक दिन कामको अन्तिम दिन गन्दै कामबाट फर्कन्छ र चिठ्ठाको नम्बर पढ्छ । शुक्रबार सम्ममा पुरै नम्बर आउँदो भइसक्छ । बर्सौं भइसक्यो यो क्रम चलेको । अझै पनि टिकट जाँच्ने मेसिनले उसको नम्बर पढेर लामो विजय धुुन बजाएको छैन । सायद कार्लोसका दिनहरू बलिया भएर होला । आलेक्सलाई चिठ्ठा परेको छैन । ऊ निरन्तर चिठ्ठा काटि नै रहेको छ ।
क्यानडा