गीता सापकोटा युवा पुस्ताकी स्रष्टा एवम् द्रष्टा प्रतिभा हुन् । उनको कलम निरन्तर सिर्जना र समीक्षाका क्षेत्रमा चलिरहेको छ । उनको रुचि पछिल्लो समय जीवनी सिर्जनामा केन्द्रित देखिन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको नोबेल पुरस्कार विजेता नारी साहित्यकार सेल्मा लागरलोफ’ शीर्षकको जीवनी समेटिएको छ । यस जीवनीले सारभूत रूपमा स्विडेनकी नारी हस्ताक्षर पहिलो नोबेल पुरस्कार विजेता सेल्मा लागरलोफको जीवनी प्रस्तुत गरेको छ । लागरलोफको जीवनी निकै संघर्षपूर्ण र त्यत्तिकै अभिप्रेरक रहेको छ ।
-सम्पा. |
अभिभावकको साथ, सहयोग र अवस्थाले समाजले नपत्याएको बालबालिकाले पनि विलक्षण प्रतिभा प्रदर्शन गर्दछ । बालबालिकाको इच्छाशक्ति र अभिभावकको साथ भए संसारको कुनै शक्तिले मान्छेलाई कमजोर बनाउँदैन बालबालिकाको भविष्य स्वर्णिम बनाउँछ । मानिस जन्मँदै प्रतिभावान् हुँदैन त्यो क्रमशः विकास हुँदै जान्छ । आफूभित्रको प्रतिभाको उजागर गर्न मान्छे स्वयम् तत्पर हुनुपर्छ । कतिपय अवस्थामा तत्पर भएर मात्र पुग्दैन । अभिभावकको साथ सहयोग पनि आवश्यक हुन्छ । अभिभावकको साथ र तत्परताकी एक उदारहण हुन् नोवल पुरस्कार विजेता सासहतित्यकार सोल्मा लागरलोफ ।
लागरलोफ अभिभावककी सपनाकी प्रतिमूर्ति थिइन् उनका अभिभावकले उनको रुचि र क्षमताअनुसार मौका दिएका थिए । उनलाई असक्षमताका बिच सक्तो प्रेरित पनि गरेका थिए र उनी आफै पनि केही गर्नका लागि जागरुक थिइन् ।
लागरलोफका अभिभावकमा बालबालिकाको रुचि र भावनाको कदर गर्नुपर्छ भन्ने बोध थियो । रुचि र भावनाको कदर गर्न सके जो कोही बालबालिका आफ्नो प्रतिभा देखाउन सक्छन् भन्ने उनका अभिभावकले बुझेका थिए । उनी स्विडेनको मारबाक्का भन्ने ठाउँमा जन्मिएकी थिइन् । उनी आज विश्व समुदायमा र त्यसमा पनि साहित्यिक क्षेत्रमा सुपरिचित प्रतिभाका रूपा प्रसिद्ध छन् ।
लगरलोफको जन्म २० नोभेम्बर १८५८ मा भएको थियो । उनी पिता एरिक लागरलोफ र माता लोविसा वालरोथकी सन्तानका रूपमा जन्मेकी थिइन् । उनलाई तिन वर्षकै उमेरमा पक्षघात भएको थियो । पक्षघातले गर्दा उनी आजन्म लङ्गडी भइन् । उनलाई विद्यालयीय शिक्षा दिएर अक्षरारम्भ गर्न कठिन भयो । उनको समस्यालाई हेरेर घरमा नै अनौपचारिक रूपमा प्रारम्भिक शिक्षा दिइयो ।
लगरलोफको परिवार सम्पन्न थियो । उनका पिता सेनामा लेफ्टिनेन्ट थिए । यिनले आफ्नी छोरीको निकै ख्याल गरिराख्दथे । उनलाई घरमा बालमैत्री वातावरण दिइएको थियो । उनको शारीरिक अशक्ततालाई हेरी उनलाई हिँड्न चल्न मिल्ने वातावरण मिलाइएको थियो । पढ्नको लागि पुस्तकालयको व्यवस्था घरमा नै गरिएको थियो । उनी सानैदेखि कथा पढ्न र हजुरआमाका कथा सुन्न निकै मन पराउँथिइन् । सेल्माको पढाइप्रतिको लगावलाई सम्मान गर्दै उनका पिताले उनलाई रोयल उमन सुपेरियर ट्रेनिङ एकेडेमी स्टकहोममा पढ्ने वातावरण मिलाए ।
लगरलोफले सजिलै विद्यालय शिक्षा पूरा गरिन् । महाविद्यालयीय शिक्षामा पनि उनलाई सोचेको जस्तो कठिनाइ भएन । स्नातक तह उत्तीर्ण गरेपछि उनले अध्यापन पेसा रेजिन् । उदी दत्तचित्त भएर अध्यापन गर्न थालिन् । उनले लेन्डक्रोना भन्ने ठाउँमा १० वर्ष जति शिक्षिका भएर काम गर्ने मौका पाइन् । पछिल्लो दिनमा भने उनले शिक्षण पेसा पनि त्यागेर पूर्ण रूपमा लेखन कलामा समर्पित भइन् ।
सेल्माको रुचि र प्रतिभालाई सार्वजनिक रूपमा चिनाउने काम उनको पहिलो उपन्यास द स्टोरी अफ गोस्टा बार्लिङ्खले गर्यो । यो कृतिबाटै उनले चर्चा कमाउन थालिन् ।
सन् १८९० मा आइडन नामक पत्रिकाले एउटा कहानी प्रतियोगिता गरायो । त्यसमा सेल्माले पनि भाग लिएकी थिइन् । यिनको कहानीलाई त्यस प्रतियोगितामा प्रथम घोषित गरियो । त्यो प्रतिस्पर्धामा न त यिनले भाग लिने इच्छा गरेकी थिइन् न त पुरस्कारको आशा नै । यिनले केवल बहिनीका अनुरोधमा उक्त प्रतिस्पर्धामा भाग दिएकी थिइन् । त्यसमा प्रथम भएपछि यिनी निकै हर्षित भइन् र पत्रिकाका सम्पादकले पनि उपन्यास लेख्न सुझाव दिए । फलतः यिनको अध्ययनमा रुचि बढ्दै गयो । सन् १८९१ म प्रकाशित उक्त उपन्यासमा काव्यिक शैलीको प्रयोग गरिएकोले आख्यान लेखन परम्परामा नवीन परम्पराले राम्रै स्थान पायो । यस कृतिले स्विडेनमा निकै ठुलो हलचल ल्यायो । सन १९२४ मा यस कृतिबाट चलचित्र बनाइयो । (ग्रेटा गार्बो अभिनीत चलचित्र) यसै कृतिमार्फत तत्कालीन स्विडेनका राजा ओस्कार र स्विडिस एकेडेमीबाट सेल्मालाई लेखनवृत्ति प्रदान गरियो । त्यस वृत्तिले गर्दा उनलाई जीवन निर्वाहमा कुनै कठिनाइ परेन । उनले आफ्नो सम्पूर्ण समय लेखन कार्यमा समर्पण गर्ने अवसर पाइन् ।
सेल्माले सन् १८९९– १९०० मा इजिप्ट र प्यालेस्टाइनको भ्रमण गरिन् । त्यसपछि उनले जेरुसेलमसम्बन्धी दुई ओटा उपन्यास लेखिन् । ती कृतिले उनको नाम अझ उच्च बनायो । सन् १९०४ मा उनी आफ्नो जन्मथलो मारबाक्का फर्किइन् र उनका पिताको मृत्युपछि ऋण तिर्नका लागि बेचिएको आफ्नो जन्म घरलाई पुनः किनिन् त्यस घरमा उनी बस्न थालिन् ।
सेल्माका तिन दर्जन कृति प्रकाशित छन् । अतः उनका सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले उच्चता पाएका छन् । उनका द मिराकल अफ एन्टिक्रिस्ट (१८९७), जेरुसेलम (दुई खण्ड –१९०२), द वन्डरफुल एडभेन्चर अफ निल्स (१९०७), द एम्परर अफ पोर्तुगल (१९१०), द जेनेरल रिङ्ख (१९२५), एन्ना स्वेर्ड (१९२८), मेमरिज अफ माइ चाइल्डहुड (१९३०), द डायरी अफ सेल्मा लागरलोफ (१९३२), हार्भेस्ट (१९३२) आदि उनका महत्वपूर्ण कृतिहरू हुन् ।
लागरलोफका कृतिहरूमा मिथकीय प्रयोग पाइन्छ । साहित्य र जीवनलाई सापेक्षित सम्बन्धका रूपमा हेर्ने लागरलोफका स्वच्छन्दतावादी र काल्पनिक उच्चता भएका कृतिहरूले उत्तरी स्विडेनको भूबनौट र किसान जीवनको जीवन्त तस्वीर उतारेका छन् ।
सेल्माका कृतिहरू अत्यन्त उत्कृष्ट छन् । उनका कृतिहरू तीसभन्दा बढी भाषामा अनुवाद गरिएका छन् । उनका दशभन्दा बढी कृतिहरूमा चलचित्र निर्माण गरिएका छन् । उनका उपन्यासहरू अस्तित्ववादी चिन्तन र स्वच्छन्दतावादी भावधारामा लेखिएका छन् । जसले गर्दा उनका कृतिमा नारी हुनुको गौरवबोध र नारी अस्तित्वको खोज पनि प्रतिविम्बन भएको पाइन्छ । प्राकृतिक सुन्दरतामा उनको ध्यान बढी आकृष्ट देखिन्छ । हार्दिकता र कल्पनाशीलताको समिश्रणले उनका उपन्यास पाठकका मन जित्न सफल भएका छन् । साथसाथै आध्यात्मिक चिन्तन र धार्मिक आदर्शलाई पनि उनका उपन्यासले समेटेको पाइन्छ । पात्रको चरित्र चित्रणमा पनि उनी निकै सचेत लाग्छिन् । सरल भाषाशैलीका माध्यमबाट जीवन र विचारको उच्चतालाई उद्घाटन गर्न सक्नु उनको सिर्जनात्मक विशिष्टता हो ।
सेल्माले जीवनभर साहित्यका क्षेत्रमा कलम चलाइन् । उनको साहित्यिक योगदानको कदर गर्दै स्विडिस एकेडेमीले सन् १९०४ मा स्वर्ण पदक प्रदान गर्यो । सन् १९०७ मा उनलाई उप्लासा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि पनि प्रदान गरियो । जसले उनको मनोबल अझ मजबुत बन्दै गयो । उनले लेखन कार्यलाई अझ तीव्र गतिमा अघि बढाइन् ।
यसरी साहित्य लेखनप्रतिको समर्पणले गर्दा उनी आजीवन साहित्य सिर्जनामै लागिरहिन् । कुनै वैचारिक र दार्शनिक सिद्धान्तलाई साहित्यको साध्य बनाउँदै साधनामा केन्द्रित सेल्मा साहित्यको क्षेत्रमा नोबेल पुरस्कार पाउन सफल भइन् । उनी साहित्यिक जगत्की पहिलो नोबेल पुरस्कार विजेता नारी हुन् । उनले सन् १९०९ मा नोबेल पुरस्कार प्राप्त गरिन् ।
नोवेल पुरस्कारका इतिहासमा यो नयाँ कुरा थियो । नारी जगत्मा यो उत्साहको विषय थियो । यो पुरस्कार उनले मात्र प्राप्त नगरेर नारी जगन्ले प्राप्त गरेको थियो । त्यसपछि पनि उनले सन् १९११ मा लिलिक्रोनाको घर र सन् १९१८ मा बहिष्कृत नामक दुई ओटा कृति प्रकाशित गरिन् । ती कृतिहरू प्रकाशन हुनेवित्तिकै पाठकका हातहातै विक्री भए ।
लगरलोफ अध्ययनशील र त्यत्तिकै सिर्जनशील थिइन् । उनी बहुभाषिक सामथर्यका साथ कृतिहरू पढ्न सक्थिन् । उनी भाषाकी ज्ञाता थिइन् । यस्ती प्रतिभावान् व्यक्तिको निधन सन् १९४० मार्च १६ का दिन आफ्नै जन्मघरमा भयो । जुन घर उनले एक पटक बेचेर पुनः किनेकी थिइन् । आफ्नै जन्मघर किनेर थोरै छोरीहरूले मात्र त्यसमा जीवन बिताउन पाउलान्, त्यो उनले पाइन् ।
महालक्ष्मी न.पा, ललितपुर