कपिल अज्ञात (२०१३, चैत्र डाँडेटारी पौवेगैँडो, स्याङ्जा, सुपुत्र : लीलाधर रेग्मी, चन्द्रकला रेग्मी शिक्षा एवम् साहित्य क्षेत्रमा समर्पित प्रतिभा हुन् । नेपाली भषासाहित्यमै उच्च शिक्षा लिएर प्राध्यापन पेसामा संलग्न अज्ञातको सिर्जनात्मक र समीक्षात्मक दुवै सामथ्र्य उल्लेख्य छ । २०४६ सालमा ‘मेरो देश महान् छ’ शीर्षकको कविता प्रकाशन गरी साहित्य क्षेत्रमा सार्वजनिक भएका अज्ञातका अज्ञातका कविता (२०४७), साहित्य सिर्जन प्रक्रिया (२०५५), समालोचनाको सन्दर्भ (२०५५), समीक्षासन्धान जस्ता कृतिहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘आवारा बादल : सङ्क्षिप्त प्रतिक्रिया’ शीर्षकको निर्मोही व्यासको आवारा बादल नियात्रासङ्ग्रहमाथि लेखिएको वस्तुगत समीक्षा प्रस्तुत गरिएको छ । -सम्पा. |
प्रसिद्ध नियात्राकार निर्मोही व्यासको २०७८ सालमा शिखा बुक्सबाट प्रकाशित नियात्रासङ्ग्रहको शीर्षक हो ‘आवारा बादल’ । ‘आवारा’ आयातित शब्द हो र यसको कोषीय अर्थ हो— बेकारमा घुम्नु, भट्किनु, कुमार्गगामी बन्नु । तापनि सिर्जनात्मक रूपमा यसबाट नयाँ अर्थ ध्वनित गरिएको छ । बादलमा ‘आवारा’ विशेषण थपेर सैद्धान्तिक दृष्टिले सिर्जनात्मक लोकमा नवीन प्रकाश पारिएको छ । वस्तुतः नियात्राकारमा चाहिने सटीक र गुरुत्वपूर्ण गुण हो आवारापन । किनभने जो सही यात्राकार छन् ती आवारा नभईकन सिर्जनात्मक मूल्यतत्त्व प्राप्त गर्न सक्तैनन् । जहाँ पुग्न भन्यो त्यहीँ पुगेर आयो, त्यो त ठिमीले यात्रा भयो । त्यहाँ बहकिने, बरालिने र नवीन अनुभवहरू समेटिने कुनै प्रक्रिया र प्रावधान हुँदैन । त्यसैले कृतिगत सन्दर्भमा यो शीर्षक पूर्ण रूपमा सटीक, सार्थक र सौन्दर्ययुक्त छ, बहुअर्थी र विम्बात्मक छ भन्ने मान्यता राख्दछु म ।
आवारा बादल (२०७८) लेखकको पाँचौँ नियात्राग्रन्थ हो र समग्रमा सत्रौँ कृति हो । यसमा जम्मा सोह्रवटा नियात्रा सङ्गृहीत छन् । ती सबै विभिन्न पत्रिकामा पूर्वप्रकाशित छन् । लेखकले यस कृतिभित्रको आठौँ नियात्रामा प्रयुक्त पदावली ‘आवारा बादल’ का आधारमा कृतिको शीर्षक ‘आवारा बादल’ राखेका छन् । यस लेखमा सङ्क्षिप्त प्रतिक्रियाका रूपमा कृतिको समीक्षा गरिँदै छ ।
पुस्तकभित्रको पहिलो रचना हो ‘एक्लो यात्री’ । यसमा लेखकद्वारा नवयुवाकालमा बारा जिल्लाको एउटा थारुबहुल गाउँको माध्यमिक विद्यालयमा अध्यापन गर्दा एकबिहान घरदेखि त्यहाँसम्म गरिएको रोमाञ्चक र संवेद्य यात्राको वर्णन छ । विषयगत कारुणिकतालाई शैलीगत कारुणिकताले आप्लावित तुल्याई नियात्रालाई अत्यन्त मार्मिक बनाउनमा नियात्राकारको सम्मोहक सीपले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।
रचनालाई विस्तृत रूप दिन र त्यसलाई परिपाकयुक्त तुल्याउन बरालिने प्रवृत्तिको झलक ‘टीकाजस्तै टीकापुर’ मा पाउन सकिन्छ । यस नियात्रामा राजा महेन्द्रसित गाँसिएका आफ्ना पुराना स्मृतिहरूलाई उत्खनन गर्दै नेपाल आमाको निधारको टीकाजस्तै बनेको कैलालीको टीकापुर र त्यहाँको ‘बृहत् टीकापुर उद्यान’ को मनोरम चित्र खिँचिएको छ । टीकापुर उद्यानको स्थापना राजा महेन्द्रबाट भएकाले पनि यसमा राजा महेन्द्रका पुनीत कार्यको पृष्ठभूमि दर्शाइएको छ ।
‘एक रात : दुई अनुभूति’ चितवनका छन्दकवि चेतकान्त चापागाईँसँगको माडी र ठोरीयात्रामा भोग्नुपरेका विषादजनक र आनन्दप्रद दुवै अनुभूतिको अद्भुत चित्रण गरिएको छ । बाहिर ठिक्क पार्ने तर भित्री सङ्कीर्ण मनोवृत्तिले जीवन निर्वाह गरेका सामाजिक खलपात्रको चरित्र पनि उदाङ्ग पारिएको छ । जीवनका संवेद्य पक्ष प्रस्तुत गर्न नियात्राकार खप्पिस देखिन्छन् । जीवनमा आवारावृत्तिले पाएको दुःख र आनन्दको चित्रणले यहाँ पाठकको मनलाई निकै संवेदित र करुणाविगलित तुल्याउँछ ।
झिनोमसिनो विषयलाई पनि आफ्नो सीपकौशलले फुकाई फैलाई नियात्रालाई मनोरम गति दिन सक्ने व्यासको सीप ‘कस्तो लाग्यो कसरा ?’ मा छताछुल्ल भएको छ । यहाँ पनि व्यासले आवारा वृत्तिले गर्दा दुःखकष्ट झेलेको पाइन्छ । हुइँकिइराखेको मोटरसाइकलबाट अचानक खस्नु, जोरगैँडाको आक्रमणमा पर्नु नियतिजन्य घटना हुन् । यस्तै यस्तै घटनाप्रसङ्गको सजीव वर्णनद्वारा नियात्रा-संस्मरणलाई आस्वाद्य तुल्याउँदै उनले जीवनको सन्देश प्रवाहित गरिरहेका छन् ।
‘मृत्युञ्जयको निम्तोमा’ शीर्षक नियात्राको भावभूमि रामेछाप हो । यस यात्रामा म पनि निमन्त्रित भएको हुँदा तात्कालिक चक्काजामका कारण अप्रत्याशित रूपमा बाटो बदल्नुपरेको जटिल यात्राको म स्वयं पनि एक भुक्तभोगी थिएँ । र, यस यात्राको संस्मरण मद्वारा पनि लेखिएको छ । व्यासको मिहीन र मनोरम वर्णनशैलीले मलाई निकै प्रभावित र प्रेरित तुल्याएको छ । प्रत्येक रचना लेखकहरूको आ-आफ्नो प्रकृति, प्रवृत्ति र प्रयासकै उपलब्धि हो ।
‘सपनाको गौहाटी’ नियात्रामा लेखकले आफ्ना केही मित्रहरूका साथ आसामको गौहाटीका परिवेशको अवलोकन गर्दैै त्यहाँको प्रसिद्ध कामाक्षामन्दिर, नेपालीमन्दिर एवं ब्रह्मपुत्र महानदको मनोरम चित्रण गरेका छन् । साथै आजीविकाको खोजीमा त्यहाँ पुगेर स्थायी बसोबास गर्ने कर्मवीर नेपालीहरूको स्वजाति स्वभाषा र स्वसंस्कृतिप्रतिको गर्वयोग्य प्रेम र समर्पणको श्रद्धापूर्ण वर्णन गरेका छन् ।
‘देवघाटमा सरस्वतीदर्शन’ मा कला र गलाकी देवी शान्ति सुवेदीको सम्मोहक स्वरलहरीको मुक्तकण्ठले प्रशंसा गरिएको छ । श्रद्धालु अभियानमा लागेपछि नियात्राकार व्यास कतिसम्मन् खट्न सक्छन् र त्यसको कतिसम्मन् खोजिनिती गर्छन् भन्ने तथ्यको यो अनुपम दृष्टान्त हो । सुन्दर र मनमोहक वर्णनले युक्त रहेको यस नियात्राले पढ्दै जाँदा पाठकको मनलाई निकै रोमाञ्चित तुल्याउँछ । गीतको स्वर होस् कि सङ्गीतको मोहनी, संवेद्य घटना होस् कि असह्य पीडा जेमा पनि भावुक र लठ्ठ बन्ने नियात्राकार व्यासको नैसर्गिक प्रवृत्ति देखिन्छ ।
सुर्खेतको कुमारी बैङ्कमा प्रबन्धकका रूपमा कार्यरत आफ्नै छोरा, बुहारी र नातिसँगको भेटमा आधारित छ ‘के छ त नि सन्चो र बिसन्चो ?’ जता गए पनि यात्राका निम्ति तरङ्गिने स्रष्टाको मनोवृत्ति यहाँ पनि स्पष्ट रूपमा मुखरित भएको छ ।
सोद्देश्य यात्रामा भन्दा निरुद्देश्य यात्रामा नै आवारा अधिक रमाउँछ । यही प्रवृत्ति ‘बयर खान जाने ?’ मा पनि पाउन सकिन्छ । जीवनको सरल र सोद्देश्यभन्दा वक्र र निरुद्देश्य गतिमा रमाउने आवाराको मूल प्रवृत्ति नै लहडीपन र यायावरीपन हो । त्यसको मूल स्वभाव र प्रवृत्ति यस रचनामा पाउन सकिन्छ । आवाराको रौसे स्वभाव हुन्छ र यसैमा उसको परिचय पनि खुल्दछ । बरालिने-बहकिने आवारा प्रवृत्तिले जीवनमा कैयौँपटक धोका पनि खान सकिन्छ । त्यही धोका खाएको उदेकलाग्दो घटना यस नियात्रामा वर्णित छ ।
‘माडी हुँदै ठोरीसम्म’ नामक नियात्रा ‘एक रात : दुई अनुभूति’ कै पूर्वभागका रूपमा रहेको देखिन्छ । दुवै रचना माडी–ठोरीयात्रामा केन्द्रित छन् । यात्राको मर्मस्पर्शी वर्णन रहनु यसको विशेषता हो । यहाँ पनि बरालिने र भट्किने स्वभावले पाइरहेका कष्टको मर्मस्पर्शी चित्रण छ ।
‘कैलालीको मोहनी’ मा पनि अनमोल सम्झनाहरूलाई सुन्दर शैली-शिल्पले सिँची साँचेको पाइन्छ । नयाँ भूगोल र परिवेशप्रति समुत्सुक रही डुल्न, घुम्न र अवलोकन गर्न भनेपछि असाध्यै हौसिने, रौसिने, फुर्फुरिने र बरालिने व्यासको प्रवृत्ति यत्रतत्र देख्न सकिन्छ ।
नवीन रहस्यबोध भनेपछि त्यसका अणु-अणुसँग साक्षात्कार गर्न खोज्ने, अनुभूतिको सानो झिल्को पाए सिर्जनशीलताको खलाँतीले फुकेर त्यसलाई प्रज्वलित रूप दिएरै छाड्ने व्यास मानूँ नियात्रा र संस्मरण लेख्नकै लागि जन्मिएका मनुवा हुन् । हुन पनि उनका डेढ दर्जन कृतिमध्ये पौने दर्जन नियात्रा र संस्मरणकै कृति छन् । जीवनको उत्तरार्द्ध कालमा कवितामा पनि आफ्नै उच्च वर्चस्व जमाइसकेका व्यासको मूल सिर्जना-क्षेत्र नियात्रा र संस्मरण नै देखिन्छ । यसमा सिद्धहस्त शैलीले उनले हरेक घटना र प्रसङ्गलाई जीवन्त तुल्याइदिएका छन् । संस्मरण र नियात्रामा उनको जुन पकड र व्याप्ति छ त्यो शिखरआरोहणकै स्तरमा देखिन्छ ।
“हिउँमा हामफाल्दा” मा दैलेख-यात्राको मनमोहक वर्णन गरिएको छ । साथै फिर्तीयात्राको क्रममा जमेको हिउँमा लहडी पाराले केही कान्लामाथिबाट हामफाल्दा नियात्राकार घाइते हुन पुगेको रोमाञ्चक प्रसङ्ग प्रस्तुत छ ।
‘दरभङ्गा दर्शन र जुत्ता विसर्जन’ सबभन्दा सानो उमेरमा हिँडेका, देखेका र भोगेका घटनाको संस्मरण गरी लेखिएको बालमनोविज्ञानको सटीक स्वरूप हो । त्यति सानो उमेरको सम्झनालाई पनि संस्मरणको वृत्तभित्र समेटेर विशिष्ट स्वरूप दिन सक्नु निर्मोहीको संस्मरण–कलाको अद्भुत क्षमता हो ।
‘काठमाडौँदेखि सिलिगुडीसम्म’ ‘सपनाको गौहाटी’ को पूर्वार्द्ध खण्ड देखिन्छ । जसमा शीर्षकले भनेझैँ काठमाडौँदेखि सिलिगुडीसम्मको यात्राप्रसङ्ग वर्णित छ । यसमा क्रमशः झापाको धुलाबारी र भारतको सिलिगुडीमा आयोजित साहित्यिक र सांस्कृतिक सभाको मनमोहक वर्णन गरिएको छ । सिलिगुडीमा आयोजित सभामा मुखरित प्रवासी नेपालीहरूको जातीय प्रेमको वर्णनक्रममा नियात्राकार निकै भावुक बनेका छन् ।
एकै यात्राप्रसङ्गका यी दुवै नियात्रालाई क्रम मिलाएर राखेको भए बेसै हुन्थ्योझैँ लाग्छ । खण्डीकृत शीर्षकहरू अघिपछि पारिएबाट कालक्रमसंयोजन र वस्तुसंयोजनप्रति स्रष्टा उदासीन रहेको बुझ्न सकिन्छ ।
‘रुकुम हेर्ने रहर’ मा रुकुमको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साहित्यिक एवं प्रशासनिक पक्षको सुन्दर चित्रण गरिएको छ । यस नियात्रामा यात्रावर्णनका क्रममा नियात्राकारको भावुकता अधिक छचल्किएको छ । भावुकता छचल्किने क्रममा कतै अभिव्यक्तिलाई काव्यिक रूप दिएको पनि पाइन्छ । तर मूलरूप नियात्रामै केन्द्रित देखिन्छ । यात्रा भनेपछि पीडामा पनि आनन्दको अनुभूति गर्ने नियात्राकारले यहाँ यात्राप्रतिका निकै कोमल र तरल भाव अभिव्यक्त गरेका छन् ।
पुस्तकको अन्तिम रचना ‘अग्रजका पाइला पछ्याउँदै’ मा सुर्खेतदेखि अछाम, डोटी, डँडेलधुरा र बैतडीसम्मको विस्तृत परिवेश समेटिएको छ । र, यसमा नियात्राका शिखरपुरुष तारानाथ शर्माको त्यस क्षेत्रको अतीतकालीन यात्राप्रसङ्गको यत्रतत्र श्रद्धापूर्ण स्मरण गरिएको छ । र, नेपाल मेचीदेखि महाकालीसम्म सबैतर्फ सुन्दर रहेको भाव अभिव्यक्त गर्दै नेपालका सबै सुन्दर शहरमध्ये डँडेलधुरा मोहनीमय रहेको अभिमत प्रकट गरेको पाइन्छ । साथै कामको खोजीमा प्रवासिने त्यस विस्तृत भेगका युवाहरूको हूल र तिनलाई विदा गर्न आएका मायालु परिवारजनको भावाकुलताको सजीव चित्र उतारिएको छ ।
समीक्ष्य कृति पूर्वप्रकाशित नियात्राहरूकै सङ्ग्रह हो । यसमा सँगालिएका सबै रचनाहरू अपेक्षाकृत लामा छन् र परिपाकयुक्त छन् । मिहीन तरीकाले खिपिएका प्रसङ्ग र शुद्ध र परिष्कृत शैलीले गर्दा पढ्दै जाँदा कहीँ पनि पट्यारलाग्दो भाव उत्पन्न हुँदैन । सरसता र मिहीन मर्मविश्लेषणले तानिरहेको हुन्छ । भौगोलिक नवीन सूचना एवं संवेद्य सामग्रीले सबै नियात्रा ओतप्रोत रहेको पाइन्छ ।
कुनै पनि साहित्यिक कृतिको टिप्पणी र समीक्षा गर्नुभन्दा निकै दुरूह कार्य लाग्छ भूमिका-लेखन । किनभने कृतिको अन्तर्तहसम्म पुगी त्यसका जरा-जरा नछिचोलेसम्म कसैबाट पनि सही भूमिका निष्पन्न हुन मुश्किल पर्छ । प्रतीक ढकालले यहाँ जे भूमिका लेखेका छन् त्यो कृतिको स्तरसुहाउँदो निकै उच्च स्तरको देखापर्छ । व्यासका नियात्रात्मक र संस्मरणात्मक विशिष्टतालाई राम्ररी बुझेर र नियात्रा र संस्मरण-परम्परामा उनको स्थान पहिचान गरेर उनका सिर्जनात्मक शक्ति र सीमाको सङ्केत गर्नु निकै कठिन कार्य हो तर ‘मृण्मय’ बाट ‘चिन्मय’ तर्फ प्रवृत्त भएको उनको नियात्राकारितालाई ‘स्वनामधन्य’ मान्दै कौशलपूर्वक खुलस्त्याएका छन् । व्यासको नियात्रा र संस्मरण कला अभिधाबाट मात्र नबुझी लक्षणा र व्यञ्जनाको शब्दशक्तिबाट पनि बुझ्नुपर्ने गहनता स्पष्ट्याउँदै आफ्ना दृष्टिकोणहरू फिँजाएर जीवनदर्शनलाई समेत उजागर गरेका छन् । ‘योग्य काम दिनु योग्य पात्रलाई’ झैँ भएको यो भूमिका शायद अरूबाट यस रूपमा आउन सम्भव हुँदैनथ्यो होला । यसमा प्रतीक ढकाल शक्तिशाली भूमिकाकार मात्र नरहेर शक्तिशाली निबन्धकार समेत रहेको झझल्को पाउँदा उनीप्रति पनि सद्भाव र श्रद्धाभाव दुवै जागेर आएको छ । यस स्वर्णिम अवसरमा म दुवैप्रति साधुवाद अर्पित गर्दछु ।
लेखकका अधिकतर नियात्रा र संस्मरण पढेको र तीबारे टिप्पणीसमेत गर्दै आएको सन्दर्भमा यो उच्चकोटिको सङ्ग्रह पढी आफ्नो प्रतिक्रिया जनाउन पाउँदा औधि खुशी र सन्तोष लागेको छ । प्रतीक ढकालका समग्र कथनप्रति सहमति जनाउँदै अब निर्मोही व्यासका प्रतिनिधिमूलक चुनिएका नियात्रा र संस्मरणको एक मानक कृति निस्कन सके नियात्रा र संस्मरणको सैद्धान्तिक अध्ययनका निम्ति पनि सहज हुने देखा पर्छ ।
००
भरतपुर— १२, चितवन