गोविन्दप्रसाद गौतमका विभिन्न रचना साहित्यसागरमा प्रकाशन हुँदै आएका छन् । प्रस्तुत शृङ्खलामा उनको कृष्णप्रकाश श्रेष्ठमा केन्द्रित रचना प्रस्तुत छ । यस स्मृतिपरक निबन्ध रचनाले कृष्णप्रकाश श्रेष्ठका जीवनी र व्यक्तित्वका केही पाटालाई समेटेको छ । -सम्पा. |
सन् १९८३–१९८४ तिरको कुरा हो, त्यो समय म काठमाडौँमा इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकमा अध्ययनरत थिएँ । पुल्चोक क्याम्पस टप गर्न सके शोभियत सङ्घमा छात्रवृत्तिमा इन्जिनियर पढ्न पाइन्छ भन्ने सुनेको थिएँ । हुन पनि रसिया त्यतिवेला संसारको अति शक्तिशाली, समाजवादी अनि कम्युनिस्ट शासन प्रणाली भएको देश थियो । मेरो लागि पनि कता कता मनको एक कुनामा रसिया सपनाको देश बनेर बस्न पुग्यो । फलतः मस्को र शोभियतसँग सम्बन्धित सबै कुरा मेरो लागि विशेष रोचक हुन्थ्यो ।
म जति वेला पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसको विद्यार्थी थिएँ त्यति वेला क्याम्पस प्राङ्गणमा संसारमा रहेका साम्यवादी र पँुजीवादी देशहरूका बारेमा बहस चल्दथ्यो । एक प्रकारले भन्ने हो भने त्यसवेला यो क्याम्पस राजनीतिक बहस गर्ने अखडा पनि थियो । धेरैजसो झैँझगडा बन्द अनि हडताल हुने गर्दथ्यो । केही दिन बिदा हडताल हुँदा म जन्मगाउँ पर्वत फलेवास जाने गर्थेँ ।
घरमा बुवाले सधैँजसो रेडियो बजाइरहनुहुन्थ्यो । बुवालाई एउटा स्टेसनमात्र मन पर्दैनथ्यो । कुन कुन रेडियोको स्टेशन के के आउछ भनेर सारिरहँदा मैले झ्वाट्ट ‘यो रेडियो मस्को हो’ भन्ने सुनँे । बेलुकीपखको समय थियो । आफूले मस्को जाने सपना सजाएको हुँदा त्यसको बारेमा सुन्दा मन फुरुङ्ग भयो । अहो ! ‘मस्कोमा बसेर नेपाली रेडियो सञ्चालन गर्ने को होला ?’ भन्ने लाग्थ्यो । त्यो वेला नाम थाहा नभए पनि पछि बुझ्दैजाँदा परदेशमा नेपाली साहित्यका चम्किला तारा उनै श्री कृष्णप्रसाद श्रेष्ठको सुमधुर आवाज मेरा कानले पहिलोपटक सुनेको रहेछ । उहाँको त्यो कर्णप्रिय आवाजको गुन्जन अहिले सम्झना गर्दैगर्दा ताजा स्मरण हुन्छ । समय बित्दै गयो । सन् १९८७ मा छात्रवृत्तिमा हाइड्रो पावर इन्जिनियरिङ्ग पढ्ने अवसर पाएर म शोभियत सङ्घको सेन्ट पेटेरस्बुर्गमा अध्ययनका लागि गएँ । अध्ययन सकेर नेपाल नफर्की म मस्कोमा नै काम गर्न थालेँ । त्यहाँ रहँदाबस्दा पहिलोपटक नेपाली राजदूतावासमा कृष्णप्रकाश श्रेष्ठसँग मेरो परिचय भयो ।
रसियास्थित नेपाली राजदूतावासमा विभिन्न अवसर पारेर कार्यक्रम हुने गर्दथ्यो । त्यसरी हुने कार्यक्रममा एकजना अग्रज र चिरपरिचत व्यक्तित्व हुनुको साथै रसियन भाषाको अनुवादकसमेत रहनुभएको हुँदा कृष्णप्रकाश प्रायः कार्यक्रममा आमन्त्रित हुनुहुन्थ्यो । त्यसरी भएका एकाध कार्यक्रममा मेरो पनि उपस्थिति रहेको थियो । सुरुमा उहाँलाई टाढाबाट देखेको थिएँ तर बोल्ने र परिचय हुने मौका मिलेको थिएन । पछिल्ला दिनमा त्यस्ता कार्यक्रम हुँदाका बखत मेरो पनि आवतजावत बढ्दै गयो । पटक पटकको उपस्थितिपछि भने उहाँसँग सामान्य परिचय हुने मौका मिल्यो । यद्यपि मनभरिका कुरा गर्ने र विभिन्न खालका जिज्ञासा राख्ने मौका भने मिलेको थिएन । हुन पनि उमेरले हेर्दा अभिभावकसरह हुनुको साथै उहाँकी रसियन श्रीमती भएको हुँदा कार्यक्रमबाहेक अन्य अवसरमा खासै भेट हुने मौका मिल्दैन्थ्यो ।
उहाँ धेरै पुरानो मान्छे र वरिष्ठ साहित्यकार हुनुहुन्छ भन्नेलगायतका धेरै कुरा सुनिसकेको थिएँ । मेरो भने भित्रैदेखि उहाँसँग आत्मीयता साट्दै रसियामा बसोबास गर्ने नेपाली भाषीले रेडियोबाट नेपाली भाषाको कार्यक्रम चलाएको, त्यो कार्यक्रम आफूले नेपालमा रहँदा नै सुनेको र गरेको अनुभव सुनाउन आतुर थिएँ । तैपनि त्यो खालको अनुकूल वातावरण जुर्न सकेको थिएन ।
सन् २००३ मा ‘गैरआवासीय नेपाली सङ्घ’(एनआरएनए)को स्थापना भयो । जसले विश्वका विभिन्न क्षेत्रमा (देशमा) रहेका नेपालीहरूलाई एक ठाउँमा जोड्ने काम गर्यो । त्यो आफंैमा महत्वपूर्ण र प्रशंसा गर्नलायक काम त छदै थियो । त्यसमाथि रसियामा रहेका र एक आपसमा परिचित हुने अवसर नपाएका नेपालीहरूलाई पनि परिचित गराउने काम गर्यो । यद्यपि गैरआवासीय नेपाली सङ्घको स्थापना हुनुभन्दा पहिले रसियामा ‘नेपाल रसिया उद्योग वाणिज्य महासङ्घ’ भन्ने संस्था थियो । त्यसै संस्थाले आयोजना गरेको एक कार्यक्रममा हामी दुबैजनाको उपस्थिति रहेको भए पनि त्यसअघि भएको परिचयलाई रिनो गर्नुका साथै सामान्य कुराकानीबाहेक अन्य कुरा हुन पाएन । यद्यपि उहाँसँग मनैदेखि कुरा गर्ने हुटहुटी भने बाँकी नै थियो ।
एनआरएनएको स्थापनापछि त्यसले साङ्गठनिक गतिविधिलाई शसक्त रूपमा अगाडि बढाउन थाल्यो । विश्वभरि छरिएर रहेका नेपालीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यका साथ गठन भएको यो संस्थाले सबैको ध्यान खिच्न सफल भयो । संस्थाले आयोजना गर्ने कार्यक्रममा उपस्थिति बाक्लिदै गयो । आत्मीयता बढ्दै गयो । त्यसपछि भने उहाँसँग बारम्बार भेटघाट हुने र लामो समय भलाकुसारी हुन थाल्यो । यद्यपि त्यति वेलासम्म पनि नजिकबाट उहाँको आनिबानी बुझ्ने मौका चाहिँ खासै मिलेको थिएन ।
समय आएपछि सबै कुरा जानिन्छ भने जस्तै परिस्थिति यस्तो बन्यो कि रसियामा गठन भएको अन्तर्राष्ट्रिय साहित्य समाज (रसिया)को म आफू सदस्य भएँ भने उहाँ संस्थाको सल्लाहकार हुनुभयो । आखिर समय नै बलवान हुन्छ भन्ने कुरा यहाँ आएर प्रमाणित भयो । समयक्रममा उहाँ र म एउटै संस्थामा जिम्मेवारी वहन गर्ने अवस्था पुग्यांै । फलतः हाम्रो निकटता बढ्दै गयो । पर्वतको गाउँमा सुनेको त्यो ‘यो रेडियो मस्को हो’ भनेदेखि नेपाली भाषासाहित्यका बारेमा सुनाउने मौका मात्र मिलेन कि धेरै जिज्ञासा मेटाउन पनि पाएँ । इन्जिनियर फिल्डको मान्छे भएको हुँदा मैले साहित्यमा फड्को मार्न सकेको थिइनँ तर पनि साहित्यप्रति सारै रुचि थियो । मेरो साहित्यप्रतिको रुचि देखर उहाँ पनि प्रभावित हुनुभयो । अनि त त्यसअघिको भाइचाराको सम्बन्ध झाँगिदै गएर साहित्यिक सम्बन्धमा विस्तारीत हुनपुग्यो । मेरो साहित्यप्रति रहेको रुचिलाई सम्मान गर्दे साहित्यिक संस्थामा आवद्ध बनाएर साहित्यिक सिर्जना गर्न उत्प्रेरित गर्नुभयो ।
सन् १९१३ मा रसियामा विश्व नेपाली साहित्य महासङ्घको स्थापना भयो । विश्व नेपाली साहित्य महासङ्घका केन्द्रिय अध्यक्ष डा.मधु माधुर्यले रसियाको नेतृत्व गर्न आग्रह गर्दै मलाई त्यो जिम्मेवारी सुम्पिनुभयो । फलतः म विश्व नेपाली साहित्य महासङ्घ रसियाको अध्यक्ष हुनपुगेँ । त्यसपछिका दिनमा साहित्यमा रुचि राख्ने नयाँ पुराना स्रष्टाहरूसँग सम्बन्ध बढ्दै गयो । आफ्नो जिम्मेवारीमा आएको कामलाई अगाडि बढाउने क्रममा साहित्यका धरोहर कृष्णप्रकाश दाइलाई संस्थाको वरिष्ठ सल्लाहकारमा चयन गर्दे गतिविधिलाई अघि बढाउन थाल्यौं ।
यो संस्थाले कुनै पनि साहित्यिक गतिविधि गर्नुअघि उहाँसँग सल्लाह गरेर मात्र गथ्र्याे । भौतिक रूपमा उपस्थित हुन नसक्ने अवस्थामा पनि पुस्तक प्रकाशन गर्ने र साहित्यिक कार्यक्रम गर्नेबारे फोन वार्तालाप गरेरै भए पनि सुझाव र सल्लाह लिने गरेका थियौं । संस्थालाई अघि बढाउने कुरामा कसरी काम गर्दा राम्रो हुन्छ भन्ने कुरामा सल्लाह दिने कुरामा उहाँले कहिल्यै झर्को मान्नुभएन । व्यक्तिगत रूपमा नै भन्नुपर्दा पनि मैले लेखेका मुक्तकहरू ईमेलमार्फत उहाँलाई पठाउथेँ । कुनै झर्को नमानी सम्पादन गरी पठाइदिनुहुन्थ्यो ।
सहिष्णु, कोमल भावना, नेपाल भक्त र पूरा जीवन साहित्यमा व्यतीत गरेका व्यक्तित्वसँग मेरो प्रगाढ सम्बन्ध गाँसिदै गयो । कुनै वेला परिचयसम्म भए पनि गर्नपाए हुन्थ्यो भन्ने व्यक्तित्वसँग काम र व्यवहारले एकै ठाउँमा ल्याइपुर्याएको थियो । साहित्यिक विषयमा संवाद हुने कुरा त छँदै थियो । त्यसबाहेक पारिवारिक दुःखसुखका बारेमा पनि कुराकानी हुन्थे । पछिल्लो समय विश्वलाई आतङ्कित पारेको कोभिड १९ महामारीले पुर्याउनसक्ने क्षति, नेपालमा पर्ने प्रभाव आदि जस्ता कुराका साथै एक अर्काले पाएसम्मका जानकारीहरू आदन प्रदान हुन्थे । कोभिडको मारमा परेको रसिया लामो समयसम्म बन्दाबन्दीको अवस्थामा रह्यो । विदेशी भूमिमा जति रमाए पनि आफू जन्मेको ठाउँ र आफ्ना परिवार बारम्बार आँखाको वरिपरि घुम्न थालेपछि स्वदेश फर्किन आतुर थिएँ । हुन पनि लकडाउन अलि खुकुलो भएपछि म स्वदेश आएँ । जहाँ रहे पनि, जता गए पनि इन्टरनेटको सुविधाले साथीसङ्गीहरूसँग कुराकानी भएकै थियो । रसियामा हुँदा हरेक दिनजसो कुराकानी हुने कृष्णदाइसँग नेपाल आएपछि सम्पर्क हुन सकेन ।
लामो समयसम्म अनलाइनमा नदेखेपछि काठमाडौंमा उहाँकी भतिजीलाई फोन गर्दा बिरामी हुनुभएको खबर सुन्नुपर्यो । उपचारको क्रममा रहनुभएको हुँदा छिट्टै निको होला भनी आशावादी भइरहेको थिएँ । तर विश्वलाई नै आतङ्कित बनाएको कोभिड १९ले उहाँलाई पनि लिएरै गयो । नियतिको अगाडि कसको के लाग्दोरहेछ र ! आदरणीय कृष्णदाइ तपाईँले नेपाली भाषा र साहित्यको विकास गर्ने कुरामा पुर्याउनुभएको योगदानलाई कहिल्यै बिर्सने छैन । ‘गोविन्दजी अव तपाईँले पनि साहित्यिक कृतिहरू निकाल्नुपर्छ, लेख्दै जानुहोस् ।’ भनेर दिनुभएको सुझाव आज पनि मेरो कानमा गुन्जिरहेको छ । मेरो लागि आदर्श बनेर रहेका कृष्णदाइ ! तपाईंको आत्माले शान्ति पाओस् । तपाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।