ज्ञानु अधिकारी युवा पुस्ताकी सक्रिय समीक्षक प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी सैद्धान्तिक एवम् प्रायोगिक दुवै किसिमका समीक्षाका क्षेत्रमा परितिच प्रतिभा हुन् । साहित्यसागरको प्रसतुत शृङ्खलामा उनको मणि अर्यालको कुटी निबन्धसङ्ग्रहको पुस्तक समीक्षालाई समेटिएको छ । सम्पा. |
फुटकर गीतहरूका माध्यमबाट आफ्नो परिचय बनाइसकेका मणि अर्यालको पहिलो साहित्यिक कृति प्रकाशित भएको छ । कुटी शीर्षकको निबन्धसङ्ग्रह प्रकाशित गराएर उनले नेपाली निबन्ध विधामा स्थान बनाएका छन् । जम्मा एघारवटा आत्मपरक निबन्धको सँगालोका रूपमा रहेको यस कृतिमा निबन्धकारका वैयक्तिक भोगाइ, अनुभूति र विचार स्पष्टरूपमा प्रकट भएका छन् । खास गरी जीवनका पछिल्ला दिनहरूमा निबन्धकारले देखेका, भोगेका र अनुभूत गरेका कुरालाई नै निबन्धको विषयवस्तु बनाइएको छ ।
जुनसुकै विषयवस्तुमा लेखिएको भए पनि लेखकको निजी अनुभूति, विचार, भोगाइलाई केन्द्र बनाएर भाव अभिव्यक्त गर्नु आत्मपरक निबन्धको मुख्य अभिलक्षण हो । आत्मपरकता अभिव्यक्तिको एउटा ढाँचा हो । विषय प्रस्तुत गर्ने अभिव्यक्तिगत आधार आत्मनिष्ठ भएकैले आत्मपरक निबन्ध अन्य प्रकारका निबन्धभन्दा फरक देखिन्छ । आत्मपरक निबन्धमा निबन्धकारको व्यक्तित्वको प्रकटनका साथै व्यक्तिगत प्रसङ्गहरू बढी आएका हुन्छन् । मणि अर्यालको प्रस्तुत कुटी निबन्धसङ्ग्रहमा पनि निबन्धकारले आफ्ना वैयक्तिक भोगाइलाई आत्मपरक रूपमा अभिव्यक्त गरेका छन् ।
प्रस्तुत सङ्ग्रहमा गुरु भेट, होटल हाइवे, मधुशाला, मेरो गाउँ, मित्र संवाद, कुटी, नेपालगञ्ज, प्यान्थर, पसिनाको गन्ध, रिस, सम्झनामा इन्द्रबहादुर राई गरी एघार वटा छोटा आयामका निबन्ध समावेश गरिएका छन् । विविध विषयवस्तु रहेका यी निबन्धमा निबन्धकारले आफ्नो निवासस्थान, आफ्नो गाउँ, आफ्नो सहर र आफूसँग निकट हुन आइपुगेका स्थानीय व्यक्ति र साथीहरू सबैलाई निबन्धको विषय बनाएका छन् र तिनले पारेको प्रभाव र तिनीप्रतिको आफ्ना धारणा सबैसबैलाई अभिव्यक्त गरेका छन् । यस सङ्ग्रहका अधिकांश निबन्धमा व्यक्तित्वको चित्रण आएको छ । समय क्रमसँगै विभिन्न सिलसिलामा आफूसँग जोडिन आएका पात्रहरूलाई निबन्धकारले यहाँ उभ्याइएका छन् र तिनका प्रवृत्ति र स्वाभावका राम्रा र नराम्रा पक्षलाई देखाई तिनका बारेमा आफ्ना धारणा अभिव्यक्त गरेका छन् । यसरी आफ्नो जीवनमा जोडिन आएका ती पात्र र परिवेशहरू नै कहीँ न कहीँ र केही न केही रूपमा आफ्नो गुरु बनेको धारणा व्यक्त गरेका छन् ।
यस सङ्ग्रहका अधिकांश निबन्ध हृदयले लेखिएका छन् । संवेदनाले लेखिएका छन् । कृतिको शीर्षकसमेत रहेको कुटी निबन्धमा निबन्धकार आफ्नै कुटी अर्थात् जन्मघरलाई सम्झेर यसरी भावुक हुँदै लेख्छन् –
हामीले हाम्रा बालापन छोडिआएको कुटी । हितैसीका यादहरू छोडिआएको कुटी । मातापिताका मधुर वाणी छोडिआएको कुटी । हाँसे, खेलेको । रुँदै हिँडेको । गोठाला गएको । बालसुलभ खेल खेलेको सबैसबै यादहरू कुटीसँगै हराइ गएका छन् । कृत्रिमताको खोलले प्राकृतिक कुटीबाट अलग्याए पनि, तन छुटि आए पनि मन आज पनि त्यही कुटीको दलानहरूमा, भित्ताहरूमा कतै टाँसिइरहेको छ । त्यही पुरानो अवस्थामा कुटीभित्र हराउन, कुटीसँगै जीवनको धुकधुकी चलाउन मन छ । खै कसरी पाउनु फिर्ता बितिगएका ती पलहरू ? केवल प्रिय कुटी मेरो स्मृतिको धमनीमा रक्तसञ्चारझै धड्किरहेको छ, एकतमास । (पृ.५५)
यसरी कतै आफ्नो विगत, कतै देशको समसामयिक सन्दर्भ र कतै स्थानीय गतिविधिहरूलाई पनि निबन्धकारले विषय बनाएका छन् ।
सम्झनामा इन्द्रबहादुर राई यस्तै व्यक्तिप्रभावले लेखिएको निबन्ध हो । साहित्यकार इन्द्रबहादुर राईको जीवनदर्शन र साहित्यबाट प्रभावित भएर लेखिएको यस निबन्धमा भनिएको छ –
कलाकार साहित्यकारलाई कुनै देशको सिमानाले अलग गर्द सक्दैन । भाषा अलग होला तर भाव अलग हुन सक्दैन । संस्कृति–संस्कार अलग हुन सक्ला तर बुझाइ अलग हुन सक्दैन । सबैलाई दुख्छ । दुखाइ सबैको साझा हुन्छ । केवल प्रस्तुति फरक हुन्छ । सबैको मन र भावना एउटै हो । मानव भएर जन्मिएपछि त्यसमा विश्वबोध हुन सक्यो भने त्यो संसारकौ प्रिय बन्छ । राई यस्तै एउटा पात्र हुन् । उनको भूगोल, संस्कृति फरक भए पनि साहित्यमाथिको साधना नेपाल र नेपालीकै लागि समर्पित रह्यो । यो नै नेपाली साहित्यका लागि एउटा ठूलो प्राप्ति हो । (पृ.८२)
यसरी उनले भारतीय नेपाली साहित्यकार तथा चिन्तक इन्द्रबहादुर राईप्रति आप्mना धारणा व्यक्त गरेका छन् ।
प्रस्तुत सङ्ग्रहका निबन्धमा विशेष गरी नेपाली समाज, साहित्य, पत्रकारिता, राजनीति, मानवीय कमजोरी आदि विविध पक्षहरूमाथि निबन्धकारको धारणा अभिव्यक्त भएका छन् । र ती धारणाहरू निबन्धकारका भोगाइ र अनुभूतिबाट नै निर्मित छन् । आफू बाँचिरहेको समय र समाजलाई सूक्ष्म अवलोकन गरेर लेखिएका यस सङ्ग्रहका निबन्धहरू रोचक र पठनीय छन् । निबन्धको भाषा जति सरल छ, त्यति नै गम्भीर विषयवस्तुको प्रस्तुति रहेको छ ।
आधुनिक नेपाली आत्मपरक निबन्धमा वैयक्तिक अनुभूतिको प्रधानतासँगै समाज, संस्कृति, राजनीति क्षेत्रका विषयसन्दर्भहरू आएका हुन्छन् । विसङ्गत वर्तमानप्रति असन्तुष्टि, जीवन जगत्प्रतिको दृष्टिकोण, भावना, कल्पना र वैयक्तिक अनुभूति तथा भोगाइको प्रकटीकरण, कला, साहित्य, संस्कृतिप्रतिको चिन्तन र मान्यताजस्ता अन्तर्वस्तुहरू आधुनिक नेपाली आत्मपरक निबन्धमा पाइने प्रमुख अन्तर्वस्तु हुन् । नेपाली आत्मपरक निबन्धमा पाइने विषयवस्तुगत प्रवृत्तिहरू यस सङ्ग्रहका निबन्धमा पाइन्छन् । यी निबन्धहरू विषय प्रस्तुतिका दृष्टिले अब्बल देखिए पनि ती अझ परिष्कृत बन्न सकेका भने छैनन् । विषयवस्तुलाई परिपाकमा पुर्याउन र कलात्मक बनाउन अझ केही मिहिनेत गर्नुपर्ने देखिन्छ ।
समग्रमा आफ्ना भोगाई, विचार र अनुभूतिलाई सरल भाषामा अभिव्यक्त गरी लेखिएका यी निबन्धहरूले निबन्धकारको साहित्यिक परिचय त दिन्छ नै त्यसभन्दा पनि उनको वैयक्तिक जीवनका कतिपय यथार्थलाई पनि उजागर गरेका छन् । आफ्ना कुरालाई निर्भीक र स्पष्ट रूपमा राखिएको यस सङ्ग्रहका निबन्धले निबन्धकारको स्वच्छ छवि र इमान्दारी लेखनको पनि झल्को दिएको छ । मान्छेका प्रवृत्तिलाई विषय बनाएर लेख्न रुचाउने मणि अर्यालको प्रस्तुत निबन्ध कृति नेपाली आत्मपरक निबन्ध विधाको पठनीय कृति हो ।