वार्ताकार (रमेश शुभेच्छु)को टिप्पणी
मैले राजेन्द्र सुवेदीसँग विविध सन्दर्भमा विविध समयमा लिखित, मौलिक र रेकर्ड अन्तर्वार्ताहरू लिएको थिएँ । ती अन्तर्वार्तालाई प्रबन्धात्मक वार्ताका रूपमा सार्वजनिक गर्ने मेरो योजना थियो । त्यस योजनाका कारण वार्ताहरू तत्काल सार्वजनिक भएनन् । ती वार्तालाई यथा समयमा सार्वजनिक गरिने नै छ । उहाँसँग उहाँका प्रतिनिधि निबन्धको सङ्कलन सम्पादन, भूमिकाहरूको र सम्पादकीय भूमिकाहरूको सम्पादन सङ्कलन र साहित्यकोशसम्बन्धी पनि केही सहकार्य भइरहेकाले वार्ता सार्वजनिक प्राथमिकतामा परेन । प्राथमिकतामा नपरेकै कुरा आज एउटा पछुतो भएर रह्यो । यद्यपि मैले उहाँसँग जीव, साहित्य, शिक्षासेवा जस्ता विविध पक्षमा गरेको कुराकानी भेला पार्दा दुई अढाइ सय पेजको कृति नै पुग्ने सामग्री संरक्षित छ । ती सामग्रीलाई यथास्थानमा सार्वजनिक गर्ने नै छु । यहाँ भने उहाँसँग गरिएको निबन्ध विधाकेन्द्रित वार्ताका क्रममा भएको बालसाहित्य र बालनिबन्धसम्बन्धी वार्ताको एक अंश प्रस्तुत गरेको छु । यो अंश दमक प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशन हुने बालज्योति पत्रिकामा पठाउने प्रयोजनका लागि जुन रूपमा तयार पारिएको थियो सोही रूपमा प्रस्तुत छ ।
—
बालनिबन्ध
बालनिबन्ध बालबालिका लक्षित निबन्ध सिर्जना विशेष हो । निबन्ध अङ्ग्रेजी साहित्यमा प्रयोग हुँदै आएको ‘एस्से’को नेपाली रूपान्तरित शब्द हो । यसले बौद्धिक विलास मात्र नगरी बालबोध्य सामग्रीलाई पनि आफ्ना सिर्जनात्मक सामर्थ्यमा समेट्न सक्छ । बालनिबन्धमा वस्तुपरकता भन्दा पनि निजात्मकताको प्रयोग बढी सफल देखिएको छ । त्यसो भन्दैमा बालनिबन्ध वस्तुपरक हुनुहुन्न भन्ने केही छैन । निबन्धका ढाँचामा कुनै पात्र, विषय, अनुभव, अनुभूति, वस्तु, जीवनी, काम, नाम, पद आदि जे पनि निबन्धको विषय बन्न सक्छ । बालआत्मकथा, बाल दैनिकी, बालनियात्रा, बालमनोवाद, पत्र, निवेदन, आदिलाई पनि निबन्धन गर्न सकिन्छ र बालबालिकाका लागि पठनीय बनाउन सकिन्छ । महादेव अवस्थी (२०६५) ले बालबालिका स्वयम्ले वा युवा र प्रौढ लेखकले लेखेका आत्मकथा, संस्मरण, नियात्रा, दैनिकी, हास्यव्यङ्ग्य जस्ता आलेखनलाई आत्मपरक बालनिबन्ध मान्न सकिने (पृ. ११) बताएका छन् । बालनिबन्ध आत्मपरकतामा रुचिकर हुने आधार त्यसमा मिसिन सक्ने आख्यान तत्त्व पनि हो । वस्तुपरक बालनिबन्धमा बालबालिकालाई तान्ने वस्तु र भाषाशैलीको खाँचो पर्छ । बालबोध्य प्राणी, वनस्पति, प्रकृति, सामाजिक व्यवहार, इतिहास, विज्ञान, वैज्ञानिक उपकरण, दैनिक प्रयोगका वस्तु आदि बालनिबन्धका विषयवस्तु बन्न सक्छन् । बालपुस्तकमाथि रोचक ढङ्गले गरिने समीक्षालाई पनि बालनिबन्धकै रूपमा चिनाउन सकिन्छ ।
नेपाली निबन्ध परम्परामा श्यामप्रसाद शर्माको बहिनीलाई चिठी (२००८) कृति पहिलो बालनिबन्ध मान्न सकिने कृति हो । त्यसपूर्व पाठ्यपुस्तकका प्रयोजनमा प्रकाशित कृतिमा पनि बालनिबन्धको पृष्ठभूमि पाइन्छ । श्यामप्रसाद शर्माको खेल (२००९) लाई पहिलो बालोपयोगी निबन्ध सङ्ग्रह मानेका छन् । त्यसपछि नेपाली साहित्य परम्परामा जुजुराम स्कुले, कृष्णप्रसाद पराजुली, शैलेन्दुप्रकाश नेपाल, ऋषिरामशर्मा, लीलामान सिंह, कुमारबहादुर जोशी, स्मारक प्रियदर्शी, सुनिता मालाकार, सोमराज अभय, शारदारमण नेपाल, शौरभकिरण श्रेष्ठ, छायादत्त न्यौपाने, रामदेव पाण्डे, स्नेहा श्रेष्ठ, भूपहरि पौडेल, तेजप्रकाशश्रेष्ठ, रमेश श्रेष्ठ, मधु राई, चूडामणि बन्धु, ध्रुव घिमिरे, विशाल भट्टराई आदिका विविध बालनिबन्ध कृतिहरू प्रकाशित छन् । यी निबन्धकारहरूमध्ये राजेन्द्र सुवेदी (२०००, पाँचथर, सुपुत्र : पदमप्रसाद–राधिका सुवेदी) विशिष्ट निबन्धकार, बालनिबन्धकार र निबन्ध चिन्तक पनि हुनुहुन्छ । सुवेदी नेपाली साहित्यमा आधादर्जन निबन्धसङ्ग्रहका साथै निबन्ध किशोर कृति प्रकाशित छ । उहाँले बालनिबन्ध र निबन्धको विमर्शमा आधारित अनेक लेख र कृति प्रकाशन गर्नुभएको छ । यहाँ निबन्ध र बालनिबन्धको अन्तर र परिचयलाई सुवेदीकै शब्दमा अन्तर्वार्ताका माध्यमबाट समेट्ने प्रयास गरिएको छ ।
—
सुवेदी गुरु, यहाँका विचारमा बालनिबन्ध के हो ?
उमेरका दृष्टिले बढीमा बाह्र वर्षभित्रका र अध्ययनका दृष्टिले कक्षा सातभन्दा तलका बालकहरूका निम्ति अनौपचारिक ढङ्गले निजी भावनालाई प्रकट गर्न उत्प्रेरित गर्ने आख्यानहीन गद्य रचना बालनिबन्ध हो । यो बालखलाई अनौपचारिक र स्वतन्त्र ढङ्गले भावना तथा विचार र विषयको परिचयलाई अभिव्यक्त गर्न सिकाउने कलात्मक गद्य रचना हो ।
बालनिबन्ध निबन्धको बालानुकूलन मात्र हो कि यसमा अरू पक्ष पनि समेटिन आवश्यक छ ?
बालनिबन्ध बालानुकूलित सृजना मात्र होइन, यसले विषयवस्तुलाई सृजनात्मक नवीनता र अनौपचारिकताका दृष्टिले बोझ नबनाइकन बालकलाई मित्रको रमाइला कुराकानीमा विभिन्न परिवार, समाज र राष्ट्र र विश्वका प्रकृति र पर्यावरणसम्मका विषय ज्ञानको सल्लाह, नैतिक ज्ञान तथा शिक्षा र सन्देश आदि पनि समेटिदिन सक्दछ ।
बालनिबन्ध सिर्जनाका लागि आत्मपरक र वस्तुपरक शैलीमध्ये कुन शैली बढी प्रभावकारी हुन्छ होला ?
बालनिबन्ध सृजनाका निम्ति बालपाठकलाई मित्र बनाएर सृजनात्मक अभ्यास गराउन र बालसर्जकको भावना विकसित गराउनका लागि आत्मपरक निबन्ध सृजना गर्न प्रेरित गर्नुपर्छ । विषयवस्तुको ज्ञान आर्जन गर्नका निम्ति भने वस्तुपरक निबन्ध सृजनामा पनि त्यत्तिकै प्रोत्साहित गर्नुपर्दछ । विषय ज्ञानको पक्ष वस्तुपरक कोणबाट ग्रहण गर्न र त्यसलाई भावनात्मक पद्धतिमा ढालेर आत्मपरक बनाउन अभ्यास गराउनु वाञ्छनीय ठहर्छ ।
बालबालिकालाई एउटै रचनाबाट धेरै ज्ञान दिन सकिने विधा निबन्ध नै हो । यद्यपि यही विधामा सिर्जना अभ्यास भने कम भएको देखिन्छ । यसको मूल कारण के होला ?
बालबालिकालाई निबन्ध रचनाबाट ज्ञानका अनेक कोणहरूमा प्रवृत्त गराउन सकिन्छ । तर यसै विधाको सृजना कम भएको सत्य हो । निबन्ध मात्र कहाँ हो र ! समग्र बालसाहित्यको दशा नै यस्तै यस्तै छ । यसको मूल कारण समग्र बालसाहित्यलाई हेर्ने सरकारी सङ्कुचित दृष्टि र स्रष्टाहरूले पनि बालसाहित्यलाई हेर्ने उपेक्षित दृष्टि परिमार्जन भइनसक्नु नै यसको प्रमुख कारण हो ।
प्रौढ निबन्धमा विचार, चिन्तन र दर्शन जति पनि अटाउन सकिन्छ । बालनिबन्ध सिर्जनामा बालसामथ्र्यलाई ध्यानमा राखी सकेसम्म बालबोध्य रचना बनाउन आवश्यक छ । यसो गरे पनि निबन्धमा कुनै न कुनै विचार, चिन्तन र दर्शन रहन्छ नै । त्यस्तो पक्षलाई संयोजित रूपमा प्रस्तुत गर्दै निबन्ध रचनालाई कसरी सरल र बालबोध्य बनाउने होला ?
वयस्क या प्रौढ निबन्धमा जस्तै यसमा पनि विचार, दर्शन र आदर्श र यथार्थका विषयहरू प्रयोग गर्न सकिन्छ । फल, फूल, जीव, वनस्पति, जल, हावा, आगो, प्रकृतिका अनेक पक्ष, वैज्ञानिक साधन, सञ्चारका उपकरण तथा यातायातका साधन आदिको उपादेयता, मान्छेका विभिन्न उमेरसँगको तिनको मैत्री र अमैत्री पक्षलाई सहजीकरण गरी आत्मपरक सन्दर्भमा सृजनात्मक अभ्यास गराएमा निबन्धहरू स्वतःबालबोध्य हुन्छन् ।
यहाँकै निबन्धको कुरा गर्दा किशोर पाठक केन्द्रित देखिन्छन् । निबन्धलाई शिशुपाठक, बालपाठक र किशोर पाठकका उमेर समूहअनुसार कसरी सिर्जनागर्न सकिन्छ ?
अघिल्लो प्रश्नको उत्तरमा पनि केही चर्चा भइसकेको छ । निबन्धका विषयलाई बाल, किशोर वा वयस्क जुनसुकै उमेरका पाठकका निम्ति अनुकूल हुने गरी निबन्ध सृजना गर्न सकिन्छ । विषयलाई पाठकको उमेरअनुसारको मैत्री र सहज बानाएर तदनुकूलका विविध भाषिक, सामाजिक, पारिवारिक, सांस्कृतिक सन्दर्भ दिएर रचनाको आयतन, शैली र स्वरूप प्रदान गर्न सकिन्छ । उमेरअनुसार उउटै विषयलाई भाव, भाषा, चिन्तन र प्रस्तुतिमा ध्यान दिएका आधारमा निबन्ध सृजना गर्न सकिन्छ ।
यहाँ विशिष्ट समीक्षक हुनुहुन्छ । यहाँ र हाम्रा पनि गुरु डा. वासुदेव त्रिपाठीले नेपाली समालोचना हरायो भने राजेन्द्र सुवेदीलाई सोध्नु भनेको सम्झन्छु । यहाँले नेपाली बालनिबन्ध सिर्जनालाई कसरी हेरिरहनु भएको छ ? के सिर्जनात्मक अवस्था चित्तबुझ्दो छ ?
त्रिपाठी सरको कथनप्रति म अनुगृहीत छु । प्रसङ्ग अघि पनि आइसकेको छ । बालसाहित्य मात्र होइन, समग्र साहित्य नै दयनीय अवस्थामा गुज्रिरहेका वेला बालनिबन्धको उन्नत स्थिति कहाँ पाउनु ? बालनिबन्धको लेखन शास्त्र बनाएर पेश गर्ने लेखकहरू मौलाउँदै गएका छन् । तर निबन्धलाई, संमरण र समीक्षा तथा पत्र र दैनिकीमा बालअनुकूल बनाएर सृजना गर्ने परम्परा चित्तबुझ्दो छैन ।
यहाँले समीक्षात्मक आँखाबाट समग्र नेपाली बालसाहित्यलाई चाहिँ कसरी हेरिरहनुभएको छ ?
यो सन्दर्भ यहाँको अघिल्लो प्रश्नको जवाफमा पनि आइसकेको छ । साहित्यका विशिष्ट स्रष्टा तथा हिमायती साधक पनि बालसाहित्यको कुरा गर्दा खुलेर आफ्नो अभिमत राख्न हिचकिचाउँछन् । पाठ्यपुस्तकका सम्पादकले केही रचना खोजेर सिफारिस गरिदिएकै भरमा नेपाली बालसाहित्यले बाँच्नु परेको छ । त्यसमा पनि सबैभन्दा निरीह अवस्थामा बालनिबन्ध गुज्रिरहेको छ ।
नेपाली साहित्यको समग्र इतिहासमा बालसाहित्य समेटिएको देखिँदैन नि ? के साहित्यको इतिहासमा बालसाहित्य समेटिनु पर्दैन ?
हो एक समयसम्म यसलाई अध्ययनको विषय मानिने संस्कार नै बनिसकेको थिएन । पछिल्लो चरणमा आएर बालसाहित्य प्रवर्द्धनका निम्ति केही निजी संस्थाको सक्रियता देखिन थालेको छ । नेपाली बालसाहित्य समाजले समय समयमा गरेका सेमिनार तथा गोष्ठीमा प्रस्तुत भएका पत्र र एम.ए. एम. फिल. तथा विद्यावारिधि तहमा भएका अध्ययनले भने यस दिशामा द्वार खोल्न थालेको पाइन्छ । तर यो पर्याप्त होइन, अध्येताहरूको ध्यान यसतर्फ जानुपर्ने देखिन्छ ।
यहाँलाई धेरै धेरै धन्यवाद ।
यहाँलाई पनि धन्यवाद ।