रमेश शुभेच्छुको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी वर्तमान पुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको साहित्यकार हरिहर खनालको कथाकारिताको विकासक्रमिक अध्ययन गर्दै उनको कथायात्राको चरण विभाजन गरेका छन् ।
|
१. विषय परिचय
हरिहर खनाल (२००३, कास्की) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनका विषयमा अध्ययन विश्लेषण गर्न सकिने विविध पक्ष छन् । यहाँ भने उनको कथायात्राको सर्वेक्षणात्मक अध्ययन गरिएको छ । उनी निरन्तर लामोसमयदेखि कथा सिर्जन यात्रामा रहेका र उनको मूल योगदान कथा विधामै केन्द्रित भएको हुँदा उनका कथाका प्रमुख मोडहरूको सर्वेक्षणात्क अध्ययन गरी मूल मोडको पहिचान यस लेखको उद्देश्य रहेको छ ।
२. कथाकार हरिहर खनाल
खनालको आख्यानकारिता कथा र उपन्यास दुवै विधामा सशक्त छ । यी दुई उपविधामध्ये कथा विधामा खनालको कथायात्रा अभ्यासदेखि सिद्धिका तहसम्म विकसित छ । उनका कथाकृतिहरू अजम्मरी गाउँ (२०३७), आकाश छुने डाँडोमुनि (२०३८), देश–परदेश (२०४६), बमको छिर्का (२०४७), विगत आगत (२०५५), देशभित्र देश खोज्दै (२०६०), विघटन (२०६३), हरिहर खनालका छोटा कथाहरू (२०६४), अस्तित्वको खोजी (२०६५), युद्धको पीडा (२०७२) र सहिदगेटकी आमा (२०७५) हुन् । हरिहर खनालका छोटा कथाहरू (२०६४), अस्तित्वको खोजी (२०६५) जस्ता कथा कृतिहरू पनि प्रकाशित छन् । पछिल्ला दुई कथासङ्ग्रह उनका अरू सङ्ग्रहमा परिसकेका समेत छरिएर रहेका छोटा कथाहरू र केही छानिएका कथाहरूका अलग्ग सङ्ग्रह हुन्, यिनमा केही नयाँ कथासमेत समाविष्ट भएका हुनाले यिनले अलग्गै सङ्ग्रहको पनि हैशियत् राख्तछन् ।
खनालका उक्त दर्जन कृतिहरू नै उनको सिर्जन यात्राका प्रमुख उपलब्धी हुन् । खनाल औपचारिक शिक्षातर्फ अङ्ग्रेजी विषयको विद्वान् हुँदा उनका अङ्ग्रेजी भाषातर्फ पनि कथाकृतिहरू अनुदित भएर प्रकाशित छन् । उनले आफ्ना सिर्जनालाई अन्य भाषाका पाठकमाझ समेत पुर्याउने उद्धेश्यले उनका केही सुन्दर रचनालाई आफैँले अनुवाद गरेर तथा अरूहरूद्वारा अनुवाद गराएर दुई कृति द भ्वाइस अफ माउन्टेन (सन् २०००) र गोल्डेन ड्रिम्स एन्ड द न्यारो लेन (सन् २०१७) प्रकाशनमा ल्याएका छन् । दुवै भाषामा प्रकाशित यी कथाको मूल स्वर सामाजिक यथार्थवाद र समाजवादी यथार्थवाद देखिन्छ । यी कृतिमा मूलत: खनाल समाजवादी यथार्थवादी कथाकारका रूपमा देखापर्छन् ।
दशकौँ लामो निरिन्तर कथा सिर्जनयात्राका दृष्टिले हेर्दा नेपाली प्रतिनिधि कथाकार र त्यसमा पनि प्रगतिवादी चेतनासम्पन्न सबै कथाकारसँग खनालको तुलनात्मक अध्ययन गर्न सकिन्छ । सिर्जनाका लागि कथाविधाको छनोट र रुचिबारे कथाकार खनाल पहाडको फेदीबाट फुत्त बाहिर निस्केर फराकिलो मैदानमा पुगेको नदी आफ्ना विस्तारित किनाराहरूलाई अँगालो हाल्दै सुस्तसुस्त अघि बढिरहेको नदीसित तुलना गर्न पुग्छन् । उनको यही कथायात्रा र दृष्टिकोणले पनि उनका कथाहरूको ऐतिहासिक सर्वेक्षण, अध्ययन र विश्लेषण आवश्यक देखिन्छ ।
३. हरिहर कखानको कथायात्रा
हरिहर खनालको कथायात्रा निकै लामो बनिसकेको छ । उनी २०२५ सालदेखि कया सिर्जना र प्रकाशनमा आजपर्यन्त लागिरहेका छन् । उनको यतिलामो कथायात्रालाई एकै चरण र खास प्रवृत्तिमा राखेर अध्ययन गर्न नसकिने व्यापक बनिसकेको छ । लामो समयसम्मको निरन्तर सिर्जनाले उनी आफ्नै कथाका प्रवृत्तिहरूमा निरन्तर परिवर्तनशील र नयाँ–नयाँ शैलीका पात्रका खोजमा देखिन्छन् । समाजलाई अग्रगमनतर्फ र संवृद्धितर्फ डोर्याउने प्रगतिशील र प्रगतिवादी चेतनाकै मूलधार प्रवाहित भएर आए पनि उनका कथाको गति एकनास छैन र कथामा आउने समस्याको गति पनि एकनासको छैन । उनी कथायात्राको यस विन्दुमा आइपुग्दा केही प्रतिनिधि कथा पढेर मूल सिर्जन सामथ्र्यगत प्रवृत्ति ठम्याउन नसकिने कथाकारका रूपमा देखिएका छन् ।
समीक्षक रविलाल अधिकारी (२०५०/२०७०) ले खनालको कथायात्रालाई दुई चरणमा बाँडेर अध्ययन गरेका छन् । उनले खनालका पहिलो चरणका कथामा शुरुका दुईवटा सङ्ग्रह र त्यसपछिका कथालाई दोस्रो चरणमा राखेर हेरेका छन् । अहिले अधिकारीको त्यो चरण विभाजन खनालका कथा अध्ययनका लागि पर्याप्त देखिँदैन । यद्यपि पहिलो चरणका कथाका प्रवृत्तिलाई आधार मान्दा शैलीशिल्पका दृष्टिले भने त्यस पहिलो चरणलाई स्वीकार गर्न सकिने अवस्था देखिन्छ । उनले यस चरणका खनालका कथालाई आभ्यासिक कथा मान्दै यसरी मूल्याङ्कन गरेका छन् :
अभ्यासिक भए पनि भविष्य आशालाग्दो द्योतित हुन्छ । विषयवस्तुको प्रस्तुति, पात्रहरूको चित्रण, संवाद, भाषिक स्वरूप आदिले वैचारिकतालाई सिँगार्न खोेजेका छन् । यति हुँदाहुँदै पनि पुतली कथाले ओकलेको भाषण र अजम्मरी गाउ“, आकाश छुने डा“डोमुनि, बकैनाको बोट वरिपरि र बस्तीभित्र कथाहरूले एउटै कुरालाई दोहोर्याइरहेको देखाएकाले लेखकका धर्तीको सीमितता देखिन्छ । यो सराहनीय कुरो होइन । साधनाका भरमा कुशल देखा पर्नुपर्ने सामान्य प्रतिभालाई समयको सीमा पनि अपेक्षित हुन्छ र कथाकार खनालका यस चरणका कथाले अध्ययन र अभ्यासको अपेक्षा गरेको कुरा स्वत: स्पष्ट हुन्छ, तर पनि उज्ज्वल भविष्यको सङ्केत यी कथाहरूले गर्न खोजेका छन् । (पृ. ६२) ।
आभ्यासिक कथाको मूल्याङ्कनमा अधिकारिको समालोचक सिर्जनाका मर्ममा निर्मम जस्तो देखिन्छ । यी कथाको मूल्याङ्कन यतिमै सीमित हुन सक्तैन । यी कथाले उठाएको बहुमुखी पक्षमा मौन रहन नहुने पक्ष यस पङ्क्तिकारले देखिरहेको छ । यी कथाको मूल्याङ्कन आजका आधारमा नभई तत्कालीन परिवेशअनुसार हुनुपर्छ । यी कथाको कलामूल्य र वैचारिक मूल्य कथा रचनाको समयअनुसार र कथाकारको पहिलो प्रयास एवम् देस्रो प्रयासका रूपमा हुनुपर्छ । यस चरणका कथामा आभ्यासिक गुण रहेर पनि र कथाका किलाकाँटाको संयोजनमा केही कसरमसर रहेर पनि तत्कालीन समाजका यथार्थको प्रस्तुति प्रवल देखिन्छ । कथाका पात्रहरू त्यत्तिकै जीवन्त छन् । उनीहरूको जोस, आँट र पराक्रम कथाकारको उमेर सुहाउँदो हुर्हुराउँदो र सल्सलाउँदो देखिन्छ । ती पात्रले नेपाली समाजको परिवर्तनका पक्षमा सशक्त आवाज उठाएका छन् । त्यही आवाज अनुरूप आज हामी गणतान्त्रिक मुलुकका नागरिक भएका छौँ ।
अधिकारीले छुट्याएको दोस्रो चरण २०३८ सालपछिका कथामा केन्द्रित छन् । यी कथामा अधिकारीले नारा भन्दा कला बलियो हुँदै आएको अवस्थालाई महत्व दिएका छन् । उनले यी कथालाई मूल्याङ्कन गर्दै भनेका छन् :
दोस्रो चरणका यी कथाहरूमा नारा र भाषण छैनन् तर कलात्मकताका नाममा वैचारिक स्पष्टता पनि कम देखापर्छ । यसका साथै आधुनिक कथाशिल्पी कहलिने लोभमा कथाकारले प्रयोगवादतिर पनि मोह देखाएका छन् । (पृ . ३१)
अधिकारीले छुट्याएको चरणअनुसर नै कथाको सूक्ष्म विश्लेषण गर्दा अधिकारीको यो मूल्य निर्णयमा पनि सतप्रतिशत सहमत बन्न सकिँदैन । अधिकारीको दृष्टिकोण केही हदसम्म ठिकै रहे पनि यस चरणका कथामा उनले दुईवटा कथासङ्ग्रहलाई राखेका छन् । ती दुई सङ्ग्रहहरू देश–परदेश (२०४६) र बमको छिर्का (२०४७.) हुन् । अब खनालको कथायात्रा सहिदगेटकी आमा (२०७५) सम्म विस्तारित बनिसकेको छ र थुप्रै फुटकर कथाहरू सार्वजनिक भइसकेका छन् ।
खनालको कथायात्रालाई अधिकारीको कथा यात्राको चरण विभाजनको साँध सीमाना निकै साँगुरो र अध्ययनका लागि जटिल बनिसकेको छ । उनका कथामा विविध प्रवृत्ति र शैली विकास भइसकेका छन् । तीनलाई कुनै दुई तीन चरणमा समेटेर अध्ययन गर्न जटिल भइसकेको छ । तीनको प्रकाशन यात्रा पनि पाँच दसक लामो देखिन्छ । पछिल्लो समयमा विगत आगत (२०५५), देशभित्र देश खोज्दै (२०६०), विघटन (२०६३), युद्धको पीडा (२०७२) र सहिदगेटकी आमा (२०७५) जस्ता कथा प्रकाशन भइसकेका छन् र यी कथाहरू एकपछि अर्को फरक पात्र, परिवेश र चेतनाका साथ नवीन लाग्छन् । उनका हरिहर खनालका छोटा कथाहरू (२०६४) र अस्तित्वको खोजी (२०६५) जस्ता प्रतिनिधिमूलक सङ्कलन पनि प्रकाशनमा आइसकेका छन् । यी सङ्कलनले पनि उनको कथायात्रालाई आँकलन गर्न सघाउँछन् ।
सूक्ष्म दृष्टि दिँदा खनाल आफ्नै कथायात्रामा अफैमाथि विजययात्रामा निरन्तर लागिरहेका देखिन्छन् । लक्ष्मीप्रसाद देवकोटाको कवितायात्रा र ध्रुवचन्द्र गौतमको उपन्याशयात्राजस्तै आफैंसँगको प्रतिस्पर्धामा देखिने लेखक वा कृतिको वर्गीकृत अध्ययन जटिल हुन्छ । उक्त लेखकको जस्तै खनालको यस निरन्तर कथायात्रालाई वर्गीकृत रूपमा अध्ययन गर्न निकै कठिन छ । प्रथम पठनका आधारमा हेर्दा खनालका कथालाई यी तीन चरणमा राखेर अध्ययन गर्न सकिन्छ :
- पहिलो चरण (२०२५–२०३८) – परिवर्तनको तीव्र चाहना राख्ने कथाहरू – अजम्मरी गाउँ (२०३७), आकाश छुने डाँडोमुनि (२०३८) र देश–परदेश (२०४६) भित्रका कथाहरू ।
- दोस्रो चरण (२०३९–२०६२) – कला र विचारको संयोजनमूलक सिर्जन सामथ्र्यका कथाहरू – बमको छिर्का (२०४७) विगत आगत (२०५५) र देशभित्र देश खोज्दै (२०६०) भित्रका कथाहरू ।
- तेस्रो चरण (२०६२ पछि) – बहुमुखी विषय क्षेत्रका कलात्मक कथाहरू – विघटन (२०६३), युद्धको पीडा (२०७२) र सहिदगेटकी आमा (२०७५) भित्रका कथाहरू ।
४. निष्कर्ष
खनालका सम्पूर्णकथालाईमूलत तीन चरणमा विभाजन गर्न सकिन्छ र यसै चरण विभाजनलाई आधार मानी लगभग चरणगत रूपमा मिल्दा प्रवृत्तिलाई लिएर फरक–फरक चरणका रूपमा अध्ययन गर्न सकिने देखिन्छ । चरण विभाजन र प्रवृत्तिको निक्र्योल कुनै सामान्य पठनबाट सम्भव हुने कुरा होइन । अहिलेलाई मोटामोटी यही तीन चरणलाई नै खनालका कथायात्राको चरण विभाजन मानिएको छ । र उनका कथाको चरणगत प्रवृत्तिलाई मोटामोटी रूपमा निम्न तीन विशेषतामा प्रस्तुत गर्ने प्रयास गरिएको छ :
- पहिलो चरणका कताले परिवर्तनको तीव्र चाहना राखेका छन् ।
- दोस्रो चरणका कथाले कला र विचारको संयोजनमूलक सिर्जन सामथ्र्य राखेका छन् ।
- तेस्रो चरणका कथाहरूले बहुमुखी विषयक्षेत्रका बहुमुखी जीवनचेतना समेटेका छन् ।
हरिहर खनालले उक्त तीनवटै चरणका कथाबाट नेपाली कथा परम्परामा प्रगतिवादी जीवनचेतनालाई निरन्तररूपमा प्रवाह गरेका छन् । खनालको कथायात्रा र उनका कथाका जीवनचेतनाका विषयमा सूक्ष्म अध्ययन विश्लेषणको खाँचो छ ।
सन्दर्भ सामग्री सूची
अधिकारी, तेजविलास (२०६१). साहित्यकार हरिहर खनाल र उनका साहित्यिक कृतिहरूको संक्षिप्त अध्ययन (स्नातकोत्तर शोधपत्र त्रि.वि ।)
अधिकारी, रविलाल (२०५०). हरिहर खनालको कथायात्रा माछापुछे्र
खनाल, हरिहर (२०३७). अजम्मरी गाउँ . चितवन : जोसिलो प्रकाशन ।
खनाल, हरिहर (२०३८). आकाश छुने डाँडोमुनि . चितवन: बालकृष्ण पौडेल । (दोस्रो संस्करण २०५२)
खनाल, हरिहर (२०४६). देश–परदेश. चितवन : त्रिवेणी किताब घर ।
खनाल, हरिहर (२०४७). बमको छिर्का. चितवन : चितवन प्रकाशन प्रा.लि ।
खनाल, हरिहर (२०५१). आस्थाको गोरेटो . चितवन : लेखक स्वयम् ।
खनाल, हरिहर (२०५५). विगत आगत . चितवन : नारायणी कला मन्दिर ।
खनाल, हरिहर (सन् २००). द भ्वाइस अफ माउन्टेन . चितवन : मास्के पुस्तक भण्डार ।
खनाल, हरिहर (२०५९). युगका पदचापहरू . काठमाडौँ : दीक्षान्त पुस्तक भण्डार ।
खनाल, हरिहर (२०६०). देशभित्र देश खोज्दै . काठमाडौँ : भाभा पुस्तक भण्डार ।
खनाल, हरिहर (२०७५). साहित्य वार्ता, ललितपुर : साझा प्रकाशन ।
खनाल, हरिहर (२०७५). सृष्टि: दृष्टि . काठमाडौँ : भुँडीपुराण प्रकाशन ।
चैतन्य (२०३८) ‘खनालज्यूका दुई कथासंग्रहबारे’. दियो ३ (११). पृ.८–१४ ।