सुरेन उप्रेती प्रवासमा रहेर नेपाली भाषा साहित्यमा समर्पित प्रतिभा हुन् । उनका आख्यान कविता, निबन्ध र समीक्षाहरू साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिँदै आएका छन् । यहाँ उनले लेखेको सुम्निमा उपन्यासमाथिको लघुसमीक्षा समेटिएको छ । पुस्तक परिचयका रूपमा भए पनि यस समीक्षाले राम्रो पाठकीय अभिव्यक्ति दिएको छ ।
-सम्पा. |
नेपाली साहित्यको आकासमा परिचित र प्रिय नाम हो विश्वेश्वरप्रसाद कोइराला । उनका जति कृतिहरू पाठक समक्ष आए ती सबै कृतिहरूले पाठकहरूमा अमिट छाप छोड्न सफल भएका छन् । आज यहाँ छलफल गरिने कृतिको नाम हो सुम्निमा । सुम्निमा उपन्यासको भौगोलिक पृष्ठभूमि भने पूर्वी नेपालको बराहक्षेत्र र यसकै सेरोफेरोलाई लिएको पाइन्छ । सुम्निमा उपन्यासका औपन्यासिक पात्रहरू त्यहीको सेरोफेरोका जनजीवनबाट लिएको हुनाले पाठकलाई पुस्तक पढ्दा चलचित्र हेरेको आभाष हुन्छ । पाठकलाई किताब पढ्दै छु भन्ने बिर्साउन र त्यहाँको परिवेशकम बहकाउनु सक्नु नै यो उपन्यासको विषेशता हो ।
सूर्यदत्त र उनकी ब्राम्हणीले बालक सोमदत्तलाई लिएर अरण्यबासका लागि निस्किए । उनीहरूले कौशिका नदीको तट बराहक्षेत्रको पवित्र भूमिमा आश्रम बनाउँछन् । उपन्यासकारले यस ठाउँलाई कुनै समयमा भगवान रामचन्द्र र लक्ष्मणका गुरू विश्वामित्रको आश्रम रहेको कुरा राखेका छन् । यही पवित्र भूमिमा आएर सोमदत्तको अग्रशिक्षाटन शुरु हुन्छ ।
बम्हमुहूर्तमा बासँगै स्नान गरेर जपध्यान योग सकेपछि मात्र मुखबाट वाणी उच्चारण गर्थे सोमदत्त । वेदका मन्त्रोचारणसँगै चरूहवन पश्चात पिताबाट कौमोदीको ज्ञानपान गर्दछन् सोमदत्त । यसपछि उष्ण दुधपान गरेर गाई चराउन निष्कन्छन् । गाईलाई लिएर कौशिका नदी तटमा टहल्छन् । गाई अघाएर शीतलमा बसेपछि उनी पनि थकित बाल शरीरलाई विश्राम गराउँछन् ।
यसरी उसको दिनचर्या अगाडि बढ्दै गर्दा एक दिन अवोध सुम्निमालाई देख्छन् । सुम्निमा एउटा बालक हातको शिरानी लगाएर सुतेको देख्छिन् र अचम्मित हुन्छिन् । यसरी यी दुईको भेट हुन्छ र भेटले निरन्तरता पाउँछ । यी दुई प्राणीहरू पृथक पृष्ठभूमिका उपज हुन्छन् । एकजना जपतप ध्यान र उपासना गर्ने आर्य वंशीय ब्राम्हण भनेर परिचय दिने बालक । अर्कातिर प्रकृतिमै रमाउने प्रकृतिलाई पूजा गर्ने गैर आर्य बालिका । जन्मदातृ आमाको परिचय गराउँने बालिका । जन्मँदा प्रकृतिमा जस्तो र्निवस्त्र रूपमा जन्म हुन्छ त्यस्तै बन्धनरहित भएर वनपाखा गर्ने अबोध बालिका हो सुम्निमा ।
दिन दिनैको सामिप्यता र जलक्रिडाले गर्दा उनीहरूका बिचमा निकटता झाङ्गिदै जान्छ । यौवनको सिँडी उक्लँदै गरेका दुवैलाई अव्यक्त आकर्षणले खिचिसकेको हुन्छ । उनीहरूका बिचमा धर्मका कुरा हुन्छन् । हिंसा र अहिंसाका कुरा हुन्छन् । सोमदत्त धेरै धर्मशास्त्र पढेको विद्वान बालक छ । सुम्निमाले पढेकी त छैन तर ऊ प्रकृतिको नियमको प्रशस्त ज्ञान भएझैँ जवाफ फर्काउँछे । एउटा बाजबाट परेवा बचाउँदा हिंसा हुन नदिएकोमा सोमदत्त खुसी हुन्छ । सुम्निमा बाजले परेवा खानुलाई हिंसा मान्न तयार हुन्न । मांसाहारी प्राणीले अरू प्राणी खानु हिंसा हैन ।
राजकुमारहरूले जङ्गली जनवारहरू मार्नु चैं हिंसा हो । आफ्नो स्वार्थका लागि गरेका नरसंहारहरू गर्नु चैं हिंसा हुन् । तिम्रा देवताहरूले गरेका महाभारत र रामायणका युद्धहरू हिंसा हुन् । किराँती संस्कार र संस्कृतिमा हुर्किएकी सुम्निमा वनकी चरीझैं स्वतन्त्र उड्न पाउँछे । उसले जानेका ढुङ््गा माटो जल वायु सूर्य आदिको पूजा गर्नु प्रकृतिको पूजा हो । उसका विजुवा बाबुले सिकाएको पनि यही नै हो । उसले बाबुलाई पनि केही लुकाउनु पर्दैन । उसमा कुनै छलछाम छैन । उसकी आमालाई गएर सोमदत्तका बारेमा सबै कुरा सुनाउँछे । सोमदत्त पनि सुम्निमाको सौन्दर्य देखि द्रविभूत भएको छ । तर व्यक्त गर्न सक्दैन । मनलाई कठोर बनाउँछ ।
सोमदत्तलाई सामाजिक संस्कारका बन्धनले कैदी बनाएको छ । उसमा धर्मको त्रास छ । चेतनाको लगामले उसलाई ऐँच्याएर राखेको छ । ऋषिमुनिहरूको तपस्या भङ्ग गराउने इन्द्रले गरेको षड्यन्त्रको आभाष हुन्छ । ऊ सुम्निमालाई इन्द्रले पठाएका रम्भा र उर्वसी झैं देख्न थाल्छ ।
सूर्यदत्तले आफूहरू देव धर्म मान्ने आर्य भएको बताएका छन् । किरातहरू भनेका माताको नामबाट परिचित हुने पशुधर्म पालक अनार्य हुन् भन्ने सूर्यदत्तको मत छ । उनीहरूबाट टाढै बस्नु पर्छ भनेर विशाक्त भावना जन्माइ दिएका छन् सोमदत्तलाई पनि । ऊ सुम्निमाको समिपबाट भाग्छ । आमाबासँग विदा मागेर आश्रमबाट निस्कन्छ । जहाँ पुग्दा पनि उसको अन्तर आत्मामा रहेको सुम्निमाको मोहले विचलित मात्र बनाउँछ । आफूलाई नियन्त्रण गर्न भनेर अनेक ठाउँमा भौँतारिन्छ । हिमालको कठ्याङग्रिने जाडोदेखि समुद्रका तापिला जलाशयहरूमा कठोर तपस्या गर्छ । शरीरको मांम्स हवन गर्छ ।
अनेकौं कठोर तपस्या पश्चात आँखा खोल्दा स्नानमा मग्न नग्न षोडसी देख्छ । उसमा कुनै आशक्तिका भावनाहरू हुँदैनन् । अब भने तपस्यापूर्ण भएछ भन्ने महसुस गर्छ र आश्रममा फर्कन्छ । वृद्धवृद्धा भएका बाआमाले पहिचान पनि गर्न सक्दैनन् । बाआमाले छोरा फर्किएर आएकोमा खुसी व्यक्त गर्छन् । सूर्यदत्तले वंशको निरन्तरतामा क्रमभङ्ग हुन लागेकोमा चिन्ता व्यक्त गर्छन् । सोमदत्तले यो कुरामा विमति राखे पनि आमाबाको वचन काट्न सक्दैनन् । उस्तै संस्कारिक उच्चकुलीन ब्रम्हकन्या पुलोमासँग सोमदत्तको विवाह हुन्छ ।
पुलोमा र सोमदत्त शास्त्रास्त्र गर्छन् । जप तप ध्यानमा लिन हुन्छन् । व्रत र उपवासले शिथिल भएको शरीरको पर्वाह हुँदैन । तर वंशजको निरन्तरताका लागि पुत्र प्राप्त गर्नुछ । शास्त्रका विधिनुरूप गर्भाधानको क्रियाविधि पूरा गर्छन । तर पटक पटकका गर्भाधान क्रियाहरू असफल हुन जान्छन् । प्रत्येक कुरामा मतभेद बढ्न थाल्छ । सोमदत्त विरक्तिएर निस्कन्छ । उसलाई पितृ आज्ञा पूर्ण गर्न नसकेकोमा पिर पर्छ । किराती बिजुवालाई गएर उपाय खोज्न भनेर निस्कन्छ ।
बाटोमा सुम्निमालाई भेट्दा पनि चिन्न सक्दैन सोमदत्तले । बिजुवालाई भेटेर उसको बह पोख्छ । बिजुवाले सोमदत्त भित्रको मनुवा रिसाएको ठहर्याए । छोरी सुम्निमालाई सोमदत्तको मनुवा खुसी पार्ने विधि सिकाइ दिए । श्रृङ्गार र आभुषण दिएर मनुवा दहमा नुहाउन पठाए । नुहाइ सकेपछि तेल लेपन गरेर सुम्निमाले श्रृंङ्गार लगाइ दिई । कटिमा कौडीको कन्दनी लगाई दिई । अनुहारमा भिल्ल जस्तै देखिने लेप लगाइ दिई ।
उता पुलोमा आफ्ना पति देवलाई नदेखेर अचम्म मान्छिन् । एकान्त जङ्गलमा एक्लै बस्दा भय पनि छ । विभिन्न चराहरूको आवाजले बाल्यकाल र भिल्ल बालबालिकाहरूको समिप्यता सम्झन्छिन् । भिल्ल यूवकले घर पछाडिबाट बोलाएको झैं लाग्छ । त्यो अँध्यारो रातमा भिल्ल युवक हावाको बेगमा आउँछ । उसको पूर्ण वलिष्ट बाहुले उनलाई लपेट्छ । उनी आँखा बन्द गरेर जीवनको उत्कर्ष खुशीमा डुब्छिन् । बिहान सखारै सोमदत्त स्नान गर्न निस्किन्छन् । पुलोमालाई रातीको घटनाले भयभित बनाउँछ । भिल्ल यूवकका झरेका कौडाहरू टिपेर निशानी लुकाउँछिन् । उनीहरूको पुत्र जन्मछ । बालक सानै हुँदा सोमदत्त र पुलोमाको मृत्यु हुन्छ । सुम्निमाले नै त्यो बालकलाई पनि पालनपोषण गर्छिन् । सुम्निमाकी छोरी र सोमदत्तका छोराको विवाह हुन्छ ।
आजभन्दा करिब पचास वर्षअगाडि प्रकाशित भएको हो सुम्निमा उपन्यास । तर आज पनि उत्तिकै समसामयिक र जीवन्त छ । उपन्यासकार अचेतन मनको अन्तर्यलाई जगाउँछन् । सशक्त रूपमा भावनाहरू व्यक्त गराउँछन् । समाजबाट चुनिएका पात्रहरूलाई नै विद्रोह गराउँछन् । मानिस मानिसलाई फरक बनाउने धर्म हुन सक्दैन । मानिस भएर देवता हुन खोज्नु हुँदैन भनेर पात्रले वकालत गरेको छ । व्यक्तिका इच्छाहरूलाई सामाजिक बन्धनले कुण्ठित बनाएको छ । जसको परिणाम स्वरूप समाज नै तहसनहस बन्न पुग्दछ । पात्रहरूका मानसिक द्वन्दहरू पाठकलाई यथार्थ लाग्दछन् । मानसिक संवेगात्मक प्रतीक विम्ब र सम्प्रेषणीय भाषिक अभिव्यक्तिले उपन्यासलाई सुन्दर बनाएका छन् ।
सूर्यदत्त एकातिर आफ्ना पुत्र सोमदत्तलाई ऋषिमुनिजस्तै बनेको देख्न चाहन्छन । ग्राहस्थ्य जीवन त्याग गर्न सकोस् भन्ने कामना गर्छन् । अर्कातिर पितृ ऋण र वंशजको निरन्ताका लागि दवाब दिन्छन् । हाम्रो समाजको यथार्थता नै द्वेध चरित्रबाट बढेको पाइन्छ । मानिसाई यौन कुण्ठाले पथविहीन बनाउँछ ।
आज पनि मानिस जातीय भेदभावमा र धर्मका नाममा हिंसाहरू भड्काइ रहेका छौँ । हामी सबैभन्दा पहिला मानिस हौँ । अनि मात्र अरू जात धर्म र सम्प्रदाय हौँ । यो एक उत्कष्ट उपन्यास सुम्निमाको सन्देश पनि हो ।
अटवा्क्यानडा