दुर्गा दाहाल नेपाली साहित्यमा विविध ढङ्गले सक्रिय साहित्यिक प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा प्रस्तुत गरिसकिएको छ । प्रस्तुत महाकवि देवकोटा विशेषाङ्कमा उनको देवकोटाका विषयमा परिचयात्मक लेख प्रस्तुत गरिएको छ ।
-सम्पा.
नेपाली साहित्यकाशमा महाकवि लक्ष्मी प्रसाद देवकोटा एक उज्ज्वल नक्षत्र हुन् । उनको बहुआयामिक व्यक्तित्त्वले नेपाली भाषा साहित्यलाई समृद्ध बनाएको छ ।
देवकोटाको जन्म काठमाण्डू धोबीधारामा सन् १९०९ को नवेम्बर १२ तारीखका शुभसाईतमा तेश्रो सन्तानका रूपमा भएको थियो ।
उनले दरबार हाईस्कूलबाट विधालयको शिक्षा प्राप्त गरेका थिए । आई। एस्सी बी. ए र बी. एल पटना विश्वविद्यालयबाट गरेका थिए ।
देवकोटाका ५ वटी छोरी र ४ वटा सन्तान थिए । जसमध्ये प्रा. डा. पद्मप्रसाद देवकोटा एक थिए।
सन् १९३० अप्रिलमा युवाहरूको एउटा समूहले एउटा पुस्तकालयको स्थापना गर्न चाहे जसमा देवकोटा पनि सामेल थिए । उनलाई पनि त्यो निर्णयमा दस्तखत गर्न भनियो । उनी सहमत भए । त्यसताकाको राणा प्रशासनले ती युवाहरूलाई देश निकाला गर्यो तर देवकोटालाई रू. १०० को जरिवानासहित उप्रान्त त्यस किसिमका कार्यहरूमा संलग्न नहुन चेतावनी दियो ।
त्यसबेलादेखि देवकोटाको राजनैतिक जीवनको सुरुवात भएको पाइन्छ ।
नेपाली साहित्य परिषद्को तत्वावधानमा सन् १९४८ मा देवकोटाले प्रथम राष्ट्रिय कविता महोत्सवको सभापतित्व (अध्यक्षता) गरे । त्यस समारोहमा उनले अत्यन्त सारगर्भित वक्तव्य दिएर सबैलाई मन्त्रमुग्ध बनाए । त्यसलगत्तै उनी वाराणसी पुगे जहाँ उनले युगवाणी (The Voice of the Age) नामक पत्रिकाको सम्पादन गर्न थाले । त्यो पत्रिका “नेपाली काङ्ग्रेस” को मुखपत्र थियो । त्यहाँबाट उनी प्रजातन्त्रको थापना हुनुभन्दा पहिले १९५१ मा फर्किए ।
देवकोटा मूलतः साहित्यमा केन्द्रित भए पनि उनी नेपाली राजनीतिको केन्द्रमै थिए । पछि डा. के. आई सिंहको मन्त्रीमण्डलमा उनी शिक्षामन्त्रीको रूपमा रहे र नेपाली भाषालाई राष्ट्रिय भाषाका रूपमा प्रवद्र्धन गरे । उनले राष्ट्रव्यापी रूपमा विद्यालयहरूको स्थापना गरे । साथै त्रिभुवन विश्वविद्यालयको स्थापनार्थ कटिबद्ध भए ।
साहित्यलेखनको कार्य उनले १० वर्षकै उमेर देखि शुरू गरेका थिए । त्यसपछि उनी निरन्तर रूपमा साहित्यसाधनामा लागि परे र नेपाली साहित्यलाई समृद्ध बनाए ।
उनी अङ्ग्रेजी साहित्यकार विलियम वर्डसवर्थ ( William Wordsworth), जन कीट्स (John Keats), पी. बी सेल्ली ( P. B Shelly), र चार्ल्स ल्याम् ( Charles Lamb) जस्ता साहित्यकार हरूबाट प्रभावित भएका थिए । त्यसै गरी संस्कृत साहित्यकार कालिदास र बङ्ला साहित्यकार रवीन्द्रनाथ ठाकुरको पनि उनीमाथि गहिरो प्रभाव परेको थियो । उनी नै नेपाली साहित्यमा सबैभन्दा पहिले अत्यधिक कविता, निबन्ध र नाटक लेख्ने व्यक्तित्त्व थिए जसले अङ्ग्रेजीमा पनि सिद्धहस्त रूपले आफ्नो कलम चलाएर अन्तर्राष्ट्रिय रूपमा ख्याति आर्जन गरेका थिए । उनका प्रसिद्ध कृतिहरूमा :
१. मुना मदन (बहुचर्चित र सर्वाधिक बिक्री )
२. शकुन्तल ( तीन महिनामै लेखिएको )
३. सुलोचना (महाकाव्य दशै दिनमा लेखिएको)
४. कुञ्जिनी (एकै दिनमा लेखिएको ) आदि छन् ।
उनका समकालीन साहित्यकार बालकृष्ण समका अनुसार देवकोटा तीनवटा कालजयी कृतिमार्फत तीनपटक जन्मिए ।
स्वनामधन्य साहित्यकार डा. राहुल सांस्कृत्यायनका अनुसार हिन्दी साहित्यकारत्रय जयशंकर प्रसाद, सुमित्रानन्दन पन्त र सुर्यकान्त त्रिपाठी, ‘निराला’ बराबर थिए देवकोटा । अर्थात् हिन्दी साहित्यका उपर्युक्त त्रिमूर्ति बराबर उनी एक्लै थिए ।
देवकोटा १३ वटाभन्दा अधिक भाषाहरूका ज्ञाता थिए । मातृभाषा नेपालीका अतिरिक्त निम्न भाषाहरूमा उनको रूचि र ज्ञान थियो ।
१। नेपाली २। अङ्ग्रेजी ३। संस्कृत ४। हिन्दी
५। नेवारी ६। बंगाली ७। उर्दू ८। फ्रेन्च ९। जर्मन
१०। तामाङ ११। रसियन १२। चाइनिज
१३। एसपेरेन्तो आदि इत्यादि
यसरी नेपाली भाषा ( साहित्यमा देवकोटाले अत्यन्त ठूलो योगदान पुर्याए । उनले नै सर्वप्रथम नेपाली साहित्यमा रूमानी प्रवृति लेखनको श्रीगणेÞश गरेका थिए । साथै नेपाली साहित्यलाई सर्वप्रथम अङ्ग्रेजी भाषा-साहित्यमा अनुवाद गरेर अन्तराष्ट्रियकरण गरेका थिए । उनको उपस्थिति र कृवित्व महान र अतुलनीय छ ।
अन्त्यमाः
जरूर साथी !
म सुन्दर चकोर, असुन्दर – फोर !
चिडिया, स्वर्गाग्नि – चोर
तूफानपूत्र !
पागल ज्वालामुखीको उद्गार !
भयंकर व्यक्तित्वपाल !
जÞरूर साथी
सन्के मगज छु, सन्के !
यस्तै छ मेरो हाल !
(पागलबाट उद्धृत)
महाकवि देवकोटाप्रति नमन एवम् हार्दिक श्रद्धाजली ।