बखतबहादुर थापा : (दुल्लु न.पा.—१० गमौडी, जिल्दैलेख, कर्णाली प्रदेश, २०२२ माघ २९, सुपुत्र : बिस्ना थापा र मोतीराम थापा) समकालीन पुस्ताका राम्रा कथाकार हुन् । कम्प्युटर हार्डवेयर सम्बन्धी व्यवसायमा संलग्न थापा उपन्यास, कथा, कविता र संस्मरणात्मक निबन्धको रचना गर्दछन् । २०५५ मा ‘तारापुञ्ज’ पत्रिकामा दैलेख नामको कविता प्रकाशित गरी नेपाली साहित्यमा प्रवेश गरेका थापाका परदेश (२०५८), कुहिरो र काग (२०६१), कालचक्र (२०६४) ४), जङ्गे (२०७१), जङ्गेको डायरी (२०७४), ६) देशान (२०७८) जस्ता उपन्यास कृति प्रकाशित छन् । त्यस्तै उनका आघात (२०६२) २) कम्प्युटर आतङ्क (२०६९) ३) शीर्षकसँगै सरिता (२०७५) जस्ता कथा सङ्ग्रह प्रकाशित छन् । उनले विभिन्न मान सम्मान पनि प्राप्त गरेका छन् । उनको एउटा कथा यसपूर्व पनि साहित्यसागरमा प्रकाशन भइसकेको छ । यहाँ उनको केवल साक्षी शीर्षकको कविता समेटिएको छ । यस कथाले म पात्रलाई भगवानका रूपमा उभ्याएर नेपालको चिकित्साक्षेत्रको लापरवाही र स्वास्थ्य असचेततालाई देखाएको छ । यहाँ मेली र गोमा आफन्तका कुराइमा हायलकायल भएको देखाई अस्पताज जानुभन्दा अस्पताल नै जानु नपर्ने स्वास्थ्य जीवनशैली अपनाउनुपर्ने विचार अभिव्यक्त गरिएको छ । -सम्पा. |
कर्पूर गौरम् करुणावतारम्
संसारसारम् भुजगेंद्रहारम्,… … …
चिनेजाने जस्तो स्वर सुनेर यसो चियाएँ । त्यही चमेली भजन गाउँदै, ताली बजाउँदै आइरहेकी देखिई । यसअघि आउँदा आमा कैलीलाई ह्विलचियरमा राखेर गुडाउँदै ल्याएकी हुन्थी । आमालाई बेडमा राखेर डाक्टरसँग रोगको चुक्ली लगाउँथी । अनि मतिर हेरेर– ‘भगवान् ! मेरी आमालाई खासै केही नभएको होस्, हल्काफुल्का औषधि गरेरै घर फर्किन पाइयोस्…’ भन्ने कामना गर्थी ।
आज यो एक्लै देखिन्छे । अस्पताल आएर, भजन गाएर मलाई फुक्र्याउन खोज्नुको कारण के हो ? यस्तो जिज्ञासाले घोत्लिएको थिएँ, उसको भजनले थुप्रैलाई तताएछ । केहीले मलाई ढोगे । केही नतमस्तक भए । केही भजन गुनगुनाउन थाले । त्यो देखेर नास्तिकहरू दिक्क हुन थाले ।
चमेलीले मलाई हात जोडेर टाउको झुकाई ।
यत्तिकैमा कैलीलाई उसैको छोरो प्रलेसले डोर्याउँदै ल्याइपुर्यायो ।
चमेलीले वरपर हेरी । डाक्टर थिएनन् । अनि नर्सलाई नै हात जोडेर ‘डाक्टरसाहब ! मेरी आमालाई चेक गरिदिनुस् हजुर… !’ खुसामद गर्दै थिई त्यहीक्षण डाक्टर आइपुगे ।
घटना नानुद अस्पतालको आकस्मिक कक्षको हो । मलाई उत्तरपट्टिको भित्तामा झुन्ड्याएका छन् । यस कक्षमा भित्रिने सबैको दृष्टि सजिलै ममाथि पुग्छ । त्यस्तै मेरो दयादृष्टि पनि सबैमा पुगोस् भन्ने मनसुवा राखिएको देखिन्छ । मैले भित्ताबाट सबैतिर चियाइरहेको हुन्छु । केही रोगीको प्रतिक्रिया बुझ्दा मलाई काममा लगाउनेहरूको योजना सफल भएको देखिन्छ ।
यहाँका कर्मचारीलाई भ्याइनभ्याइ भइरहन्छ । मेशिन चले झैँँ खटिरहन्छन् काममा । थकाइ मार्न पनि बाथरुमको निहुँ पारेर हिँड्छन् ।
बेडहरू भरिभराउ हुनाले कैलीलाई ह्विलचियरमै जाँच्न थाले । चमेलीले फेरि मलाई हेरेर आफ्नो इच्छा प्रकट गरी– ‘भगवान्, मेरी आमालाई बचाइदेऊ, कुनै ठुलो रोग नदेखियोस्… ।’
डाक्टरले जाँच्दै, सोधपुछ गर्दै औषधि लेखेर चमेलीको हातमा थमाए । उसले त्यो कागज भाइ प्रलेसलाई दिएर औषधिपसलमा पठाई ।
बिरामीको चापले बेडको न्यूनता भइरहन्छ यहाँ । एउटै बेडमा दुई जना बिरामी राख्नुपर्ने । रोगीको छटपटी बेडमा पनि सर्दो रहेछ, ऐया र आत्थासँगै चुइँचुइँको आवाज पनि मिसिएर दिक्कै लगाउँछ । चमेलीले आमालाई राख्ने बेड पाएकी थिइन । उसको दृष्टि त्यसकै खोजीमा वरपर दौडिँदै थियो । कैली ह्विलचियरमै बसेर लामो–लामो सुस्केरासँगै टाउको हल्लाउँदै थिई ।
एउटा बिरामीलाई भिडियो एक्स–रे गर्न बेडबाट उठाएर लगे । त्यही मौका छोपेर चमेलीले आमालाई त्यहाँ राखी । एउटै बेडमा दुइटा बिरामी राख्दा साँगुरो हुने हुनाले एउटा सुत्दा अर्को बस्नुपर्ने । दुईटै सुत्न चाहेमा एउटाको टाउकातिर अर्काको खुट्टा बनाउनुपथ्र्यो ।
प्रलेसले प्लाष्टिकको झोलाभरि औषधि लिएर आयो । त्यो झोला चमेली हुँदै नर्सको हातमा पुग्यो ।
नर्सले कैलीको हातबाट तीन ट्यूब रगत निकाली । त्यही रगत निकालेको ठाउँबाट दुई ट्यूब औषधि शरीरमा पठाई । त्यसपछि कैलीको खोकी, वाकवाकी र छटपटी हरायो । ऊ हरदम निदाउन थाली । खोकेर, उल्टी गरेर अरूलाई विथोल्ने काम नगरोस् भनेरै त्यो इन्जेक्सन दिएका होलान् । नर्सले कैलीको नाकमा अक्सिजनको पाइप जोडी । खुवाउनुपर्ने औषधि चमेलीको जिम्मा लगाई ।
चमेलीले मलाई हेरेर हात जोड्दै भनी– ‘भगवान् ! हिउँद लाग्यो कि मेरी आमाको दम जन्ड हुन्छ । चिसोदेखि जति लुके पनि त्यसले चाल पाइहाल्छ, मोटाइहाल्छ र दु :ख दिन थालिहाल्छ । यस पटक पनि सन्ड्याएको छ ।… यस पटक पनि मेरी आमालाई जीवन दान दिनू । प्रभू, तपाईंको अनुकम्पा भइरहोस्, रोगले तुरुन्तै छोडोस् र अस्पतालबाट आजै बिदा पाइयोस् ।’
००
चमेलीको पेट डल्लिँदै आएर सात–आठ महिने गर्भिणीको जस्तोे देखिन्छ । बेलाबखत उसको ध्यान आफ्नो पेटतिर पनि जाने गर्छ । सुमसुम्याउँछे पनि । उसलाई आउनेवाला बालकको जति माया छ जानेवाली ८० वर्षीय आमाको पनि उत्तिकै माया देखिन्छ ।
‘ला ! एउटै औषधि दुई पटक पो खुवाएछु । नजाती गर्ने हो कि… ?’ बडबडाउँदै उसले मलाई हेरेर मनमनै भनी– ‘भगवान् ! मबाट जे घटना घट्छ सायद तिमी नै घटाउँछौ । प्रत्येक कर्मको भागेदार तिमी पनि हुन्छौ होला नि ! मेरो यस गल्तीलाई माफ गरिदेऊ, नत्र तिमी पनि… ।’ यति भनेर तल–माथि टाउको हल्लाई ।
‘अहिले कस्तो छ आमालाई ?’ नर्सको स्वरले चमेली झस्किई ।
‘अब कस्तो छ आमा ?’ त्यही प्रश्न उसले आमातर्फ बढाई ।
‘हरदम सुतिरहूँ जस्तो भएको छ ।’ कैलीले झकाउँदै भनी ।
‘तपाईंले दिएको इन्जेक्सन नामक टुनामुनाको कमाल ! मेरी आमाको खोक्ने, थुक्ने, ऐया र आत्था गर्ने सब हरायो । निद्राको प्यासो भइराख्ने मान्छे अहिले त्यसैसँग झुमिराख्नुभएको छ ।’ चमेलीको जबाफसँगै अनुहारमा पनि उत्फुल्लता झल्क्यो ।
कैलीसँगै सुतेको बिरामी डिस्चार्ज भयो । अर्को अशक्त नआओस् भन्ने अभिप्रायले चमेली खुसुक्कै आमासँग सुती । नयाँ बिरामीहरूका लागि बेड खाली थिएनन् । ह्विलचियरमै, स्टुलमै राखेर जाँच्दै थिए । यत्तिकैमा सिकिस्त बिरामीको प्रादुर्भाव भयो ।
‘चमेलीदी ! तपाईं छोड्नुस् त ।’ नर्स झकझक्याउन पुगी ।
चमेली हतपत गर्दै बेडबाट झरी ।
तीन–चार जनाले झ्याइँकुटी बनाउँदै ल्याएर अशक्त तुलारामलाई त्यही ठाउँमा राखे । साथमा आएकी उसकी छोरी गोमालाई पनि चमेलीले चिनी । डेढ–दुई महिनापहिले उनीहरूको यस्तै सन्दर्भमा यही ठाउँमा भेट भएको थियो ।
लम्बाचौडा जीउको धनी तुलारामले ८१ वसन्त पार गरिसक्यो । उसको उमेर ढल्केसँगै दम शुरू भएको हो । ७० काटेपछि हाड खिइने रोग पनि थपिएर उसलार्ई कजिया बनाइदियो । बुढेसकालको निहुँमा अतीतका गल्तीहरू जिस्क्याउन जाग्छन् । तिनसँग लड्न र केही राहत पाउन अस्पतालको आउजाउ बढ्दै गइरहेको छ ।
साथमा एक जना सहयोगी हरदम चाहिन्छ । जवानीको मस्ती असुल्न आए जस्तो उसको बुढ्यौलीले आफन्तलाई समेत हैरान बनाएको छ । अवस्था सुध्रिनु त परको कुरा यथावत् पनि रहेको छैन । उमेर र रोगले शारीरिक दुर्बलता बढाउँदै लगेको छ ।
तुलारामलाई एउटा इन्जेक्सन लगाएर मास्कद्वारा औषधिको बाफ दिए ।
उसको नाकले गर्दा मास्क खुड्किलामा टङ्ग्याए जस्तो देखियो । झट्ट हेर्दा गिनीस वल्र्ड रिकर्डमा चढ्ला जस्तो देखिन्छ नाक । बुढेसकालसँगै चाउरिएर छाला हाडको सहारामा पुगेको छ । हाडको आड नभएको ठाउँमा तुर्लुङ्गै भएको छ । गालामा खोपिल्टा परेका छन् । दाँत झरेपछि ओठ पनि भित्र पसेछन्, मुखमा खाल्टो परेको छ । उछिट्टिएको नाक र चिउडोले गर्दा मास्क साँगु हाले जस्तो देखिन्छ । त्यसले गर्दा औषधिको बाफ दायाँ–बायाँबाट उडेर खेर गइरहेको छ ।
‘गोमाजी ! तपाईंको बुवालाई फेरि गाह्रो भएछ हगि !’ चमेलीले सोधी ।
गोमाले तलमाथि टाउको हल्लाउँदै चमेलीलाई हेरेर भनी– ‘ए… तपाईं पो ! यो बेडमा सुतिरहेको तपाईंकी आमा हुनुहुन्छ ?’
‘हो त । यस्तै रहेछ वृद्धवृद्धाको जीवन ।’ चमेलीले भनी ।
अकस्मात् ‘ख्याक्क… ख्याक्क…’ गरेर तुलाराम काँप्न थाल्यो । त्यस असामान्य स्थितिले साथमा आएकाहरू आत्तिदै– ‘बाबा ! दाइ ! अङ्कल !…’ चिच्च्याउन, रुन, कराउन थाले । त्यहाँ अन्योलको अवस्था सिर्जित भयो ।
‘नआत्तिनुस्, नआत्तिनुस् ।’ आश्वासन दिँदै डाक्टर र नर्सहरू पन्जा लगाएर तुलारामको वरिपरि झुम्मिए । कोही खुट्टामा मालिस गर्न थाले । कोही हात सुम्सुम्याउन थाले । कोही छाती थिच्न थाले ।
त्यो देखेर वर्तिरपर्तिरका प्राय : बिरामी र तिनका कुरुवाहरू आतङ्कित भए । सँगै सुतेकी कैली झनै आत्तिई, ‘घर जाऊँ छोरी… घर ! अस्पतालमा पनि कालले…’ भनेर बडबडाउन थाली । चमेलीले आमालाई उठाएर ह्विलचियरमा राखी । हठात् वृद्धको शरीरमा देखिएको अस्वाभाविक कम्पनले त्यस कक्षको वातावरण एकाएक बदलियो । बाँकी बिरामीहरू ऐया र आत्था गर्न छोडेर बिलखबन्दमा परे । सबैको ध्यान तुलारामको उग्र पीडाले तान्यो ।
चमेलीको जीउमा काँडा उम्रिए । मलाई हेरेर ‘प्रभू… !’ भनेर आँखा चिम्ली । केहीबेरपछि डरैडरले तुलारामलाई हेरी । स्थिति उस्तै थियो । डाक्टरहरूको प्रयत्न यथावतै थियो । नर्सहरू हात मल्दै थिए । कोही खुट्टाका पैतला रगड्दै थिए । केहीले उसलाई थामेकै थिए ।
‘आईसीयूमा लैजाने हो कि !’ एउटा सानो स्वर सुनियो ।
त्यही स्वरले डाक्टरलाई आडभरोसा दिए जस्तो भयो, ‘स्ट्रेचर मगाउनू त ! आईसीयूमै पठाउनुपर्यो ।’ उसले उँचो स्वरमा भनेर लामो सुस्केरा हाल्यो ।
तुलारामको दशाले मलाई अतीतमा पुर्यायो, जब उससँग जवानी थियो तब एकदिन मर्नु नै छ भन्ने कुरा उसको मुखबाट सजिलै झथ्र्यो । मरी लानु के छ र ! खाऊपिऊ, जीवनको भरपुर आनन्द उठाऊ भनेर खित्का छोड्थ्यो । आफूलाई अब्बल ठान्थ्यो । दु :खपीडाले रुने, आत्तिने मान्छेलाई लाछी भन्थ्यो । बुढेसकालले उसलाई यति गलाइदिएछ कि स–सानो कुराले उसको मन पग्लिन्छ र तुरुन्तै आँसु झार्छ ।
एकपल्ट उसले छिमेकी बाजेलाई जिस्क्याउँदै भनेको थियो, ‘हाहाहा… बूढाबूढीलाई नयाँ लुगाले पनि टेर्दो रहेनछ । तन्किएर, बटारिएर खुड्किलोमा टङ्ग्याए जस्तो देखिन्छ । त्यस्तै मीठोमसिनु पेटमा पुगेमा जात्रा देखाउँछ होला । त्यही भएर दृष्टिपान गर्दै आफ्नै चाउरिएका गाला चुस्दै बस्नुपर्दो हो । बिचरो बुढेसकाल, साथी पनि आफ्नै स्तरको सोच्ने, बोल्ने, सुन्ने र बैसाखीको भरपर्ने खालको हुनुपर्यो । अन्यथा एक्लै बसेर आफ्नै दु :ख–दर्दसँग बातमार्दै बस्नुपर्ने । अब बुढेसकालले जसरी गाल्दै लिन्छ त्यसै गरी इच्छा–आकाङ्क्षा त्याग्दै जानु राम्रो । समय र शरीरले जुन बाटो रोजेको छ त्यसलाई स्वीकार्नै पर्छ ।
ऊ सोची–सम्झी भन्ने गथ्र्यो– ‘जीवन खेल हो । मत्र्यलोकमा आएजतिले खेल्ने खेल । रहरले खेल्ने कि करले खेल्ने, खेलाडीमै भरपर्ने खेल । हाँसी–हाँसी खेलेर केहीलाई झुकाउनु र केहीलाई देखाउनु नै जीत हो । स्वच्छ खानपिन र शारीरिक कसरतका साथै बेलाबखत जँचाउँदै गर्नुपर्छ जीउ । रोगले पक्रिहालेमा त्यसलाई शत्रु ठानेर सुझबुझले भगाउनुपर्छ । रिसायो, आत्तियो, हडबडायो भने आफ्नै होश हराउँछ । अनि शत्रुले सजिलै परास्त गर्छ र अन्तिम अवस्थामा लछारपछार गरेर तमासा देखाउन सक्छ । अन्तिम सत्य र गन्तव्यदेखि डराउनु र भाग्नु हुँदैन । मृत्युको भय नै दु :खको बीउ हो । त्यसलाई नस्वीकारी धरै छैन । झर्कियो, कड्कियो भने आफ्नै रीस बोझ बन्न सक्छ… ।’
यसरी अरूलाई सल्लाह दिने तुलारामले जब ७० वसन्त काट्यो तब यस्ता कुरादेखि स्वयम् बाउँठिन थाल्यो । वृद्ध, बाजेजस्ता शब्दहरूले पनि उसलाई घोच्न थाले । गाउँलेहरू भेट्न आएमा ऊ झर्किंदै भन्थ्यो– ‘बूढो मर्यो कि जिउँदै छ भन्ने जिज्ञासा मेटाउन आएका हौ ?’ त्यस्तै बालबच्चालाई छेउछाउमा देख्यो भने तुर्लुङ्गै झुल्लिएको गालाको मासु तन्काउँथ्यो र खोपिल्टामा राखे जस्ता आँखा बटारेर तर्साइदिन्थ्यो ।
दिन दुगुनी रात चौगुनी बढेको अस्वस्थतासँगै उसका आफन्तहरू दिक्कै भएका छन् । ऐया र आत्था बढेको बेला– ‘बा ! अब राम–राम भन्नुस्’ भन्दा तर्सेर दुवै हत्केलाले कान थुन्ने गर्छ । सास फुत्किएला जस्तो गरेर मुख बुझ्ने गर्छ । उसको हाउभाउ देख्नेहरू झन् जिस्क्याउँदै भन्ने गर्छन्– ‘ए बड्डाउ, कालदेखि डराउनु थियो भने जवानीलाई नशामा किन डुबाएथ्यौ ? तन्दुरुस्तीमा विचार पुर्याइन्थ्यौ । बुढेसकाललाई जीउ जोगाइन्थ्यौ… ।’
समयसँगै तुलारामको पकड आफ्नै अङ्गहरूबाट पनि छुट्दै गइरहेको छ । बुढेसकालमा आइलाग्ने जुनसुकै घटनाले पनि उसलाई मृत्युकै आभास दिन्छ । मृत्यु पनि उसलाई सम्झिराख्छ र जिस्क्याउनलाई अनेक थरी रोग पठाउँदै गर्छ । यस प्रकार मृत्युसँगको लुकामारी बढ्दै गइरहेको छ ।
समयअनुसार उसको डर चारैतिर फिजिँदै गइरहेको छ । कहिलेकाहीँ खाना खान डराउँछ । नजिकै मान्छे भए हेर्दाहेर्दै असिनपसिन हुन्छ, एक्लै भए अनपसनप बडबडाउँछ । त्यो डर कहिलेकाहीँ आफ्नै सन्तानको अनुहारमा पनि देख्ने गर्छ । जब मृत्यु आफ्नो आगमनको घण्टी बजाउँछ तब उसलाई अस्पतालै सुरक्षित लाग्छ । डाक्टरलाई पहरेदार ठान्छ ।
यस्तो भयले मृत्युलाई नै सहयोग पुर्याइरहेको छ । कालले उसको शरीरलाई चाटेर, चुसेर क्षीण बनाइसकेको छ । जीउ त्यसैको मायाजालमा डुबेर सुक्दै गएको छ । तर, उसको मन अर्कोतिर भाग्न खोज्छ । यस्तो असमानताले तुलारामलाई दु :खको भागीदार बनाइरहेको छ । बिरालोको पञ्जामा परेको मुसोजस्तो ! घाइते मुसोले जबसम्म आफूलाई सुम्पिन विवश हुँदैन तबसम्म बिरालो त्यससँग जिस्केरै बस्ने गरे जस्तो ।
तुलारामका आफन्तहरूको चित्कारले मलाई अतीतबाट खिच्यो । बिरामीलाई आईसीयूमा पुर्याउन मगाएको स्ट्रेचर धड्कन थामिएपछि ल्याइपुर्याए । त्यसपछि आफन्तहरूको चित्कार र वेदनाले अर्थ बदलेर एउटा अध्याय मेटाउनपट्टि लाग्यो ।…
म फेरि सोच्न थालेँ,
अब, तुलारामका लागि अस्पताल धाउनु पर्दैन ।
उसको सेवाका लागि कसैले तनाव लिनु पर्दैन ।
अस्पतालमा छटपटाउँदै आफन्तलाई गुहार्नु पर्दैन ।
उसको स्वस्थताका लागि देवीदेवता पुकार्नु पर्दैन ।
डाक्टरको फिस र औषधि खर्चका लागि हारगुहार माग्नु पर्दैन ।
अशक्तहरूको सेवामा राखिएका ह्विलचियर, स्ट्रेचरका लागि खल्ती छाम्न र भनुसुन गर्न पनि पर्दैन ।
अब तुलारामका आफन्तहरू मतर्फ नफर्किऊन्, उनीहरूको गुनासो सुन्न चाहन्नँ म ! अँधेरो मुख हेर्न र रुन्चे स्वर पनि सुन्न चाहन्नँ । मेरा गुणहरू अबगुणमा प्रयोग गरेको सुन्न चाहन्नँ । दु :खमा बहकिएर अनेक लाञ्छना लगाउँदै धिक्कारेको पनि सुन्न चाहन्नँ ।
उनीहरूको आर्तनादले फेरि घोच्यो मलाई । आकस्मिक कक्षको वातावरण नै अमिलिने गरी कङ्कलासुर गर्न थाले । मृत्यु भइसकेपछि आईसीयूमा लैजानुको के अर्थ ? हतपत गर्दै अर्कैतिर दौडाए ।
यस घटनाले चमेलीको मुटु ढुकढुक उफ्रिन थाल्यो । दुवै हातले मुटु थाम्दै मलाई हेरेर भनी– ‘प्रभू ! यस्तो ठाउँमा आउनै नपरोस् ! यस्तो दृश्य देख्नै नपरोस् ! यस्ता दर्दनाक स्वरहरू सुन्नै नपरोस् !’
चमेलीको इच्छाले मलाई किंकर्तव्यविमूढ बनायो । सायद उसले आमालाई लिएर आएको यो पाँचौँ पटक हो । अशक्त आमाको मृत्यु चाहँदिन र दु :ख–दर्दले तड्पेको देख्न–सुन्न पनि चाहदिनँ ।… सम्भव छ त ?
आमाको रिपोर्ट लिनुपर्ने सम्झेपछि जुरुक्क उठेर मलाई हेरी, ‘भगवान् ! रिपोर्टमा कुनै पनि खराबी नदेखियोस्, राम्रो कुरा सुन्न पाइयोस् र राम्रै देख्न पाइयोस्… ।’ यस्तो इच्छा प्रकट गरेर छिटो–छिटो बाहिरिई ।
रगत र युरिनको रिपोर्ट ठीकठीकै निस्क्यो । ईसीजी पनि राम्रै देखियो तर एक्स–रेले फोक्सोमा निमोनिया देखायो । डाक्टरले त्यसको औषधि लेखेर साथमा केही खुवाउने सल्लाह दिए । चमेलीले औषधि र भेज सुप ल्याएर खुवाई ।
जसरी समय गुज्रँदै गयो उसै गरी कैलीको अनुहार उज्यालिँदै आयो । त्यो देखेर चमेलीले सोधी– ‘बिसेक हुँदै आए जस्तो छ हगि ?’
कैलीको टाउको तलमाथि हल्लियो ।
‘आमा ! घर जाने कि यतै बस्ने त आज ?’
‘घर जाने घर ।’ कैली उठ्न सुरिई । रोगले घोक्य्राउँदै अस्पताल ल्याउने भएर मात्रै, उसलाई अस्पतालको हूलमुल र चित्कार पटक्कै मनपर्दैन । जीउमा कति अङ्ग हुन्छन् र तिनले के–कति दु :ख दिन्छन्, त्यसको अनुभूति भइरहने ठाउँ हो यो ।
‘खै के खै के ! आमाको विचारै बुझ्न गाह्रो ।’ चमेलीले दायाँ–बायाँ टाउको हल्लाउँदै भनी– ‘अस्पताल आयो भने घर जानको हतार हुन्छ । घरमा हाच्छिउँ आए पनि कालकै साहनवाहन आए क्यार… जस्तो गरेर छटपटाउनुहुन्छ ।’
‘के गर्नु त छोरी ! एकदिन मर्नु नै छ । उमेरले पनि त्यस दिनलाई भेटाउनै आँट्यो । तर, तिमीहरू सबैलाई छोडेर त्यो नामै सुन्दा डर लाग्ने कालसँग कसरी जानु, त्यो पनि एक्लै ! कालले कुनै अन्धकारमा लिएर पिटेको पिटै गर्ने पो हो कि ! जहाँ आफन्त हुँदैनन्, त्यहाँ रुनुको के अर्थ ? आफ्नै निम्ति त के रुनु ? अनुभवविनाको तयारी गर्न सकिँदो रहेनछ । जब बुढेसकाल लाग्छ वा कुनै रोगले गाल्छ तब मृत्युको सम्झनाले जीउमा काँडै उमार्दो रहेछ । लहडमा बोले झैँ आफ्नै अभिलाषा कुल्चेर मृत्यु वरण गर्न सकिँदो रहेनछ । सुटुक्क काल आएर खुत्रुक्क पारे त हुन्थ्यो नि ! तर, चिन्तन–मनन गरेर त्यसलाई स्वीकार्न त के, सम्झन पनि मान्दैन मन । जतनले प्रयोग गरिएको जीउलाई माटोमा मिलाउन मायाले मान्दैन । जवानीले नचाहिँदा काम पनि गरायो, कालले त्यही निहुँ पारेर चड्कनका चड्कन लगाउँदै गर्ने पो हो कि !…’ बोल्दाबोल्दै कैली भावुक भई ।
चमेलीले आमालाई डिस्चार्ज गराई । भाइसँग आमालाई डोर्याएर हिँड्ने सङ्केत गरी । आफूले औषधि र झोला समाएर हतपत गर्दै बाहिरिई ।
चमेली हिँडेको देख्दा आज पनि हेरेको हेर्यै भएँ । जब आपदमा पर्छे तब सहारा खोज्दै– ‘हे प्राणनाथ, मार्गदर्शक, भाग्यविधाता ! मेरो विश्वास चकनाचुर नहोस् । मसँग जे छ त्यो सब तिम्रै हो । यो सास, यो जीवन तिम्रै कृपाले चलेको छ । तिमीविना म आफँै सम्हालिन सक्दिनँ, मैले त सम्हाल्नुपर्नेहरू पनि छन् । मेरो शिरबाट हात नहटाए …’ यस्तो भनेर भजन गाउँदै, सङ्गीतमयी बनेर मलाई फकाएकी हो कि आफ्नै चित्त बुझाएकी हो, जान्दिनँ ।
यहाँ आउँदा पालेदेखि डाक्टर र भित्तामा टाँगिएको मलाईसमेत सबै चाहिन्छन् जस्तो गर्छे । सबैलाई हात जोड्दै आउँछे । जब अस्पतालबाट फर्किने समय आउँछ तब कोही चाहिँदैनन् उसलाई । सबैलाई बेकामी ठान्छे । उसको कानमा कसैको स्वरै पुग्दैन । औँला भाँच्दै पैसाको हरहिसाब गर्न र बाँकी काम सम्झेर हतारिन ठिक्क हुन्छे । उसको इच्छा पूर्ति भयो भने स्वर बस्दै जान्छ, खासखुस खासखुस गर्न थाल्छे । यो खुशी भगवान्को कानमा नपरोस् भन्नसम्म पछि पर्दिन । अगि डिस्चार्ज गर्न जाँदा फोनमा रबाफिलो स्वरमा भन्दै थिई– ‘फर्किन लागेको के !… के नै हुन्थ्यो र ! एक नम्बरमा पैसाकै चमत्कार, दुई नम्बरमा मेरो व्यक्तित्वको प्रभाव, तीन नम्बरमा मैले चिनेका डाक्टरको क्षमता !… यी तीन शक्तिका सामु मुला रोग, कतिखेर भागेछ थाहै भएन ।’ खितितिति… खितखिताई । उसको चर्को हाँसोले थुपै्रलाई जिल्यायो । बिहान आमालाई लिएर आउँदा मेरो नामको भजन गाउँदै थिई । केहीले त्यही सम्झेर मेरै कृपादृष्टि ठानेछन्, मलाई हेरे । बिचरा आशावादी देखिन्थे ।
यिनीहरूले सोचे जस्तो सर्वशक्तिमान् हुन्थेँ त यस्तो दर्दनाक र भयावह स्थिति हेरी बस्थेँ हुँला ! सहन सक्थेँ हुँला ! यिनीहरू जन्माउन र जन्मन चाहन्छन् तर मार्न र मर्न चाहँदैनन् । स्वस्थताको ज्ञान हुँदाहुँदै लापरवाही गर्छन् र बिरामी पर्छन् । अनि, मलाई गोठालो राखेका थिए होलान् जस्तो– ‘ए भगवान्, यस्तो के भयो ? किन भयो ? तिम्रो विचार के हो ? सक्षमलाई काख असक्षमलाई पाखा गर्ने ! हाम्रा निम्ति कागजको फोटो र ढुङ्गाको मूर्ति मात्रै हौ ? भगवान्को नाममा झुक्किने काम भएकै हो त ?…’ नाना थरी सुनाएर मेरो जात्रा गर्न पछि पर्दैनन् । भन्नै पर्दा दु :खी–दरिद्रहरू जिम्मा लगाउने, पाप चढाउने, दु :ख बिसाउने, एकाकीपन भगाउने र जोशजाँगर बढाउने काममा मात्र प्रयोग हुन्छु म ।
वास्तवमा केहीले सोचे जस्तो, माने जस्तो र भने जस्तो सर्वशक्तिमान्, करुणावतार भइदिए, सबैको इच्छापूर्ति गरिदिन्थेँ । यो कोलाहल, यो कर्कश स्वर, दु :ख–पीडा, क्लेश, सुस्केरा सब मेटाइदिन्थेँ । अथवा मुठी बजारेर यो अस्पतालै भत्काइदिन्थेँ । प्रलय हुने गरी जमीनमा एक लात्ती दिएर सबैलाई तर्साउँथेँ, झकझक्याउँथेँ, ब्युँझाउँथेँ र मायाजालदेखि मुक्त बनाउँथेँ । तर, बिचरो म, राखिने र टाँगिनेमै सीमित छु । केहीको मनमा बसेर, मन्दिरमा स्थापित भएर अनि भित्ता–भित्ताहरूमा झुन्डिएर साक्षी बसेको छु । केवल साक्षी !