डा. कौशिला रिसालको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी नेपाली साहित्यमा समीक्षा र सिर्जनातर्फ सुपरिचित प्रतिभा हुन् । हाल नेपाल प्रज्ञाप्रतिष्ठानकी प्राज्ञ रिसालले शान्ति सापकोटाको कृति मङ्की माइण्डमाथि लेखेको समीक्षालाई यस शृङ्खलामा प्रस्तुत गरिएको छ । यस समीक्षाले किशोर साहित्यिक मूल्यका सापेक्षतामा सरसरती पुस्तकका कथाहरूको समीक्षा प्रस्तुत गरेको छ ।
-सम्पा. |
कथाकारको परिचय
शान्ति सापकोटा (हुमाकला पराजुली) नेपाली कथा, कविता र बालसाहित्यका क्षेत्रमा कलम चलाउने साहित्यकार हुन् । उनका एक दर्जनभन्दा बढी बालसाहित्यका पुस्तक प्रकाशित छन् । स्याङ्जा जन्मथलो भई काठमाडौंलाई कर्मथलो बनाएकी उनी बालसाहित्य समाजसँग आबद्ध छिन् ।
बालसाहित्यसम्बन्धी अनुसन्धानमा सक्रिय सापकोटा बालसाहित्यमा अभियन्ताका रूपमा परिचित छिन् । साझा प्रकाशनले भर्खरै प्रकाशनमा ल्याएको उनको ‘मङ्की माइण्ड’ किशोर कथासङ्ग्रह मेरो हातमा परेको छ ।
सङ्ग्रहको चिनारी
१० वटा कथाको संकलन रहेको यस कृतिमा संगृहीत कथाहरू विद्रोह, क्षणिक आकर्षण, मनको कुहिरो फाटेपछि, प्रेमको कारागार, दृष्टिकोण, चङ्गा बनिनन् चैती, साहस, धन्य नारी, ई टयुसन सेन्टर, मङ्की माइण्ड हुन् । सङ्ग्रहभित्रका सबै कथाहरू किशोर उमेरका घटना र क्रियाकलापमा आधारित छन् । धेरैजसो विषय यौन दुर्व्यवहारका घटनासँग सम्बन्धित रहेका छन् ।
केही कथाका पात्रहरूले किशोरवयमा गरेका कच्चा निर्णयका कारण प्रायश्चित गर्नुपरेको छ । कथाहरूमा आफूले गरेका गल्तीबाट पाठ सिकेर राम्रो कार्यमा अभिप्रेरित भएका उदाहरणले महत्त्वपूर्ण सन्देश प्रवाह गरेका छन् ।
साँच्चै भन्ने हो भने किशोर उमेरका बालबालिकाहरू नातागोता, आफन्त, नजिकका व्यक्ति र शिक्षकहरूबाट नै मानसिक तथा शारीरिक दुर्व्यवहारमा पर्ने गरेका छन् । सङ्ग्रहभित्रका कथाहरूमा यिनै घटना र विषयवस्तुमा केन्द्रित रहेका छन् ।
कथासार
पहिलो कथा ‘विद्रोह’मा किशोरीहरूमा हुने यौन दुर्व्यवहारको विषय उठाइएको छ । आफ्ना छोरीहरूलाई अभिभावकले यौन दुर्व्यवहारका घटनालाई बाहिर ल्याउन हुँदैन भन्ने किसिमको जुन संस्कार सिकाएका छन्, त्यसले दुर्व्यवहार गर्ने पुरुषहरूको मनोबल बढ्छ ।
किशोरकिशोरीले आफूमाथि हुने गरेका मानसिक तथा शारीरिक दुर्व्यवहारको खुलेर विद्रोह गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । कथाकी मूल पात्र तिसाले आफूमाथि हुने गरेको यौन दुर्व्यवहारको खुलेर विरोध गरेकी छन् । घटनालाई परिवारमाझ सम्प्रेषण गरेकी छन् ।
तिसाकी आमाले पनि यौन दुर्व्यवहार सहने होइन, डटेर लड्नुपर्छ भन्दै छोरीलाई दुर्व्यवहार गर्नेलाई सबक सिकाएकी छन् । यस कथाले अभिभावकले सही कुरामा बालबालिकालाई साथ दिनुपर्छ भन्ने सन्देश दिएको छ । छोराछोरी आत्मविश्वासी र आँटिलो हुनुमा बाबुआमाको साथ चाहिन्छ ।
‘क्षणिक आकर्षण’ सङ्ग्रहभित्रको दोस्रो कथा हो । यस कथाले किशोरावस्थामा विपरीत लिंगीप्रतिको आकर्षण, यौनसम्बन्धी कौतूहल, जिज्ञासा हुनु स्वाभाविक विषय भए पनि उचित ज्ञानको कमी र लापरबाहीले गर्दा निम्तिने दुर्घटनालाई देखाएको छ ।
कुनै कुराको परिणाम के हुन्छ भन्ने थाहा नहुँदा बालबालिका समस्यामा परेका हुन्छन् । कथाकी म पात्र र ट्युसन पढाउने राम दाइबीचको अनैतिक सम्बन्धले सपना अर्थात् म पात्रको जीवन बर्बाद भएको छ । यस उमेरमा बाबुआमाले धेरै ख्याल गर्नुपर्छ भन्ने आशय कथाले बोकेको छ ।
‘मनको कुहिरो फाटेपछि’ कथामा विद्यालयका शिक्षकले छात्रामाथि गिद्धे नजर लगाउने गरेको विषय आएको छ । विद्यालयकी राधा नाम गरेकी किशोरीमाथि झिमझिम सरको कुदृष्टि परेपछि सबै विद्यार्थी मिलेर शिक्षकको बदनियतमाथि प्रश्न उठाएका छन् ।
यस समस्यालाई सबै विद्यार्थीले विद्यालय प्रशासनसम्म पुर्याउँछन् । अन्ततः झिमझिम सरलाई कारबाही हुन्छ । राधाको मनको कुहिरो फाटेर आनन्दित हुन्छिन् । उनको केही दिनदेखि रहेको दोधार मनस्थितिबाट एकैचोटि सशक्त निर्णय गरेर सबैसामु शिक्षकको कर्तुत खोल्न सकेकैले मनको कुहिरो फाटेको हो ।
‘प्रेमको कारागार’ किशोर उमेरमा हुने विपरीत लिंगीप्रतिको आकर्षण र दुर्घटना अनि पश्चात्ताप यस कथाको विषय रहेको छ । कालिका र बुद्धिले उमेरको उल्लासमा आएर गरेको प्रेम र विवाहको कच्चा निर्णयले पढाइ छुट्नुका साथै घरपरिवारबाट अपहेलना सहनुपरेको घटनालाई कथाको विषयवस्तु बनाइएको छ । कथाले किशोरावस्थामा गरिएको कच्चा निर्णयले दुःख र ग्लानिको महसुस गराएको छ ।
‘दृष्टिकोण’ कथामा किशोरीहरूले कुनै पुरुषसाथीसँग बोलेको र सँगै हिँडेको देख्नेबित्तिकै उनीहरूप्रति नराम्रो धारणा बनाउने समाजका कारण घरपरिवारमा पर्न गएको असरलाई विषय बनाइएको छ । कुनै युवकले आफूसँग भएको पुस्तक किशोरीलाई घरमा गएर झिकेर ल्याउन लगाउँछ । किशोरी उक्त किशोरको घरबाट बाहिर निस्किएको देखेपछि छिमेकीको मनमा परेको नकारात्मक सोचाइका कारण सानीआमाले किशोरीमाथि शंका गर्न पुग्छिन् ।
तर, वास्तविकता बताएर किशोरीले आफ्नी सानीआमाको शंका निवारण गर्छिन् । यस कथाको विषयवस्तु किशोरहरूले कसैसँग बोल्दैमा, संगत गर्दैमा नराम्रो सोच्ने, शंका गर्ने समाजप्रति लक्षित छ । किशोरहरूप्रति समाज तथा घरपरिवारको सकारात्मक दृष्टिकोण आवश्यक रहेको सन्देश कथाले दिएको छ ।
‘चङ्गा बनिनन् चैती’ कथामा गाउँबाट पढाउँछु भनेर सहरमा घरेलु कामदारका रूपमा राखिएको किशोरीको कथा आएको छ । बाबुआमाले पढाउने सर्तमा चैतीलाई सहरको घरमा काम गर्न पठाएका हुन्छन् ।
घरका मालिकहरूले चैतीलाई बन्देज बनाएका हुन्छन् । यसैबीचमा चैतीले बलियो बनेर घरबाट उम्कने साहस गरेकी छन् । उनी हावामा उड्दाउड्दै चुँड्ने चङ्गा नभई बलियो इस्पात बनेकी छन् । उनी आफूमाथि हुने गरेका शारीरिक र मानसिक यातनाको पर्दाफास गरेर विद्यालयसम्म पुगेकी छन् ।
‘साहस’ कथामा प्रस्तुत भएको विषय पनि यौन दुर्व्यवहारसँग सम्बन्धित छ । स्वयम् छात्राहरूले आफूहरूमाथि भएको यौन दुर्व्यवहार गर्ने शिक्षकको कर्तुतको प्रतिवाद गरेका छन् । शिक्षकको दुर्व्यवहारले मानसिक समस्या खेपेका छात्राहरूको सामूहिक आत्मबलमा शिक्षक निलम्बित भएपछि छात्राहरूमा खुसी छाएको विषयलाई बडो सुन्दर ढंगले कथामा प्रस्तुत गरिएको छ ।
‘धन्य नारी’ कथामा छोरीछोरी जन्मेको भनेर बुहारीलाई हेला गरिन्छ । १८ वर्षमा बिहे गरेर तीन छोरी जन्माएकी एक युवतीलाई घरबाट निकालिएको हुन्छ । २० वर्ष नपुग्दै बिहे गरेकी ती महिलाले घरबाट निकालिएपछि निकै संघर्ष गरेर सिलाइको काम सिकेर आर्थिक आम्दानीको ढोका खोल्छिन् । कमाइ नहुँदा अलच्छिनीको संज्ञा पाएकी, घरमा बस्न नसकेकी तिनै बुहारी आत्मनिर्भर भएपछि घरपरिवारले माया गर्न थालेका हुन्छन् ।
किशोरावस्थामा आफू सक्षम नभई विवाह गर्नाले पछुताउनु परेको घटना र एउटी नारीको धैर्य तथा साहसको उदाहरण प्रस्तुत गरिएको यस कथामा पढाइ र सीपमा दक्खल भएर मात्रै विवाह गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरिएको छ ।
‘ई ट्युसन सेन्टर’ कथामा उमेर नपुग्दै निभाउनु परेको जिम्मेवारीले विदेश पुर्याएको किशोरको कथा आएको छ । यो कथामा किशोरावस्थाको घटना र विषयवस्तुलाई समेट्दै किशोर उमेर पार गरेपछि आत्मनिर्भर भएको दर्साइएको छ ।
‘विदेश बसाइ’मा कम्प्युटरसम्बन्धी सीप सिकेर स्वदेश फर्किएर आत्मनिर्भर भएको युवकको कथा आएको छ । आफ्नो देशमा ससाना व्यवसाय वा काम गरेर पनि धेरैलाई रोजगार दिन सकिन्छ भन्ने उदाहरण यस कथाले प्रस्तुत गरेको छ ।
‘मङ्की माइण्ड’ कथाको शीर्षकबाट नै सङ्ग्रहको नामकरण गरिएको छ । कथामा नोमोफोबियाका कारण अहिलेका किशोरकिशोरीमा समस्या आउने गरेको प्रसंग छ । हिजोआज मोबाइलको ‘एडिक्ट’ले पढाइलगायत दैनिक कार्यमा मन नजानु अधिकांश किशोरकिशोरीको समस्या भएको छ ।
प्रविधिको सदुपयोगबाट हुने फाइदा र दुरूपयोगका कारण हुने गरेका दुर्घटनालाई कथामा राम्ररी केलाइएको छ । औषधि पनि आवश्यकभन्दा बढी खाँदा विष भएझैँ कुनै पनि कुराको सही सदुपयोग गर्न सिक्नुपर्छ भन्ने सन्देश यस कथाले दिएको छ ।
कथा सन्देश
सङ्ग्रहमा संकलित १० वटै कथाबाट प्राप्त सन्देश यस्तो पाइन्छ ।
— किशोरकिशोरीलाई घर, विद्यालय र समाजको सहयोग र सही मार्गदर्शन आवश्यक छ ।
— कथाहरूले किशोर मनोविज्ञानलाई बुझेर उनीहरूको रुचि र चाहनाअनुसाको व्यवहार गर्न तथा उनीहरूप्रति सकारात्मक बन्न आग्रह गरेका छन् ।
— प्रविधिको प्रयोग सही किसिमले गरिनुपर्ने सन्देश दिइएको छ ।
— किशोरकिशोरीमाथि अनावश्यक शंका, निगरानी र हस्तक्षेपभन्दा भावनात्मक हुन आग्रह छ ।
— किशोरकिशोरीमाथि राखिने कडा अनुशासन र बेवास्ता दुवै घातक हुने हुनाले सन्तुलित व्यवहार गर्न आवश्यक छ ।
— घरेलु कामदारका रूपमा रहेका किशोरकिशोरीका समस्या उजागर गरिएको छ ।
— ललाइफकाइमा पारेर बालबालिकामाथि गरिएको यौन दुव्यर्वहारको खुलेर विरोध गर्नुपर्छ ।
— अभिभावकहरूले आफ्ना छोराछोरीलाई खराब कुराको विद्रोह र प्रतिवाद गर्न सक्ने बनाउन आवश्यक छ ।
निष्कर्ष
किशोर उमेर एक संवेदनशील उमेर हो । बालबालिकाको शारीरिक र मानसिक परिवर्तन हुने उमेर हो । यो उमेरमा बालबालिकामा शारीरिक परिवर्तनसँगै बौद्धिक विकास भएको हुन्छ । यो उमेरका बालबालिकामा डर, हिनताबोध, खुसी, रिस, आवेगजस्ता संवेगात्मक परिवर्तन भइरहन्छ ।
यो उमेरका बालबालिका अस्थिर हुन्छन् । एकैछिनमा उनीहरूको मनस्थिति परिवर्तन भइरहने हुँदा दुर्घटना हुन सक्ने खतरा र कुनै कार्यमा अभिप्रेरित भई खुसी हुने अवस्था पनि सिर्जना हुन्छ । तसर्थ, यो उमेरका बालबालिकालाई अभिभावकको निगरानी आवश्यक हुन्छ ।
किशोरकिशोरीसँग व्यवहार गर्दा अभिभावक, शिक्षकको संयमितता भने आवश्यक छ । हिजोआज कतिपय अभिभावक र शिक्षकहरूले किशोर मनोविज्ञानलाई बुझ्न नसक्दा दुर्घटनाहरू भएका छन् । विद्यालयमा गृहकार्य नगरेको, कक्षामा होहल्ला गरेका, चिट चोरेको विषयमा शिक्षकले विद्यार्थीको मनोविज्ञानानुसार मार्गदर्शन गर्न नसकेका कारण किशोरकिशोरीले आत्महत्या गरेका खबर पनि बाहिरिने गरेका छन् ।
त्यस्तै शिक्षकले ससाना गल्तीमा शारीरिक र मानसिक यातना दिने गर्दछन् । बालबालिका र किशोरकिशोरीका हकमा तत्कालै आवेगमा आएर गरिने क्रियाकलाप रोक्नुपर्छ । बालबालिकाको दैनिक व्यवहार र क्रियाकलापमा अभिभावकले आवश्यक मार्गदर्शन गर्नुपर्दछ ।
कथाकार सापकोटाले यी विविध विषय र प्रसंगलाई कथामा उठान गरेकी छन् । किशोरवयका समस्या मात्र कथामा आएका छैनन्, कथाका पात्रहरूमा आएका समस्यालाई के कसरी व्यवस्थापन गर्ने भन्ने पनि सिकाइएको छ ।
उमेर अवस्थाले पारेको प्रभावलाई कथामा राम्रोसँग केलाइएको छ । प्रत्येक कथाबाट एउटा असल सन्देश प्रवाह गरिएको छ । यति राम्रो किशोर कथासङ्ग्रहका निम्ति कथाकारलाई बधाई !