अरूणबहादुर खत्री नदी सक्रिय साहित्यकार हुन् । उनले फुटकर विधाहरूमा प्रशस्त कलम चलाएका छन् । उनी प्राय पुस्तककका लघुसमीक्षा लेखिरहेका हुन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा खत्रीको ‘ताना शर्मा : सङ्घर्ष र प्राप्ति’ कृतिमाथि लेखिएको लघुसमीक्षा समेटिएको छ । यस समीक्षामा पुस्तक परिचयात्मक प्रस्तुति रहेको छ । -सम्पा. |
ताना शर्मा: सङ्घर्ष र प्राप्ति नामक पुुस्तक २०६९ सालमा प्रकाशित भएको छ । यस पुस्तकमा कपिल अज्ञातले कथा, उपन्यास, निबन्ध, समालोचना, सम्पादन सबै क्षेत्रमा उनको प्रभावपूर्ण उपस्थिति रहे पनि समालोचना र निबन्धमैै उनको विशेष प्रसिद्धि रहेको छ भनेर लेखेका छन् । कमल दीक्षितले कोसेली पुर्याउँदा बेलायतबाट फर्कदा तानाशर्माले कुनै ट्रान्जिस्टर ल्याउनुभएन, क्यामेरा, घडी, मोटर साइकल केही पनि ल्याउन सक्नुभएन । बेलायतमा बरालिदै उहाँको पैसा सकियो । भए पनि गौचरमा उहाँले भन्सारका कर्मचारीहरूलाई छकाइदिनुभयो भनेर लेखेका छन् । वरिष्ठ गीतकार कालीप्रसाद रिजालले मलाई त डा. तारानाथ शर्माका सबै पक्ष महत्त्वपूर्ण लाग्छन् । फेरि कुनै एक पक्षको आधारमा एकाकी मूल्याङ्कन गर्नु कति उपयुुक्त होला ? मेरो बिचारमा व्यक्तिमा रहेका सबेै पक्षहरू एक–अर्कासित अन्योन्याश्रित भएर रहेका हुन्छन् । अन्तरनिहित सबै पक्षलाई नमिलाई व्यक्तिकोे व्यक्तित्वले पूर्णता पाउँदैन भनेर भनेका छन् । कुमार आलेले उहाँलाई इलामले जन्माएको रहेछ । वरबोटेले हुर्काएको र करफोकले पढाएको रहेछ भनेका छन् ।
प्रूतुत कृतिमा कृष्णप्रसाद पराजुलीले तारानाथ शर्मा प्राध्यापनबाट कहिले बोर्डिङ्ग स्कुलतिर लागे त कहिले कलेजतिर । दि राइजिङ्ग नेपालको सम्पादक पनि भए उनी । तारानाथ शर्माजस्तो जिउँदो लेखक नेपाली भाषासाहित्यको शिखर पुरुषलाई कहिल्यै प्रज्ञा प्रतिष्ठानको कक्षभित्र छिराइएन । बडो बिडम्बना छ नेपालमा भनेर लेखेका छन् । डा. केशवप्रसाद उपाध्यायले वि.सं. २००८ देखि नै नेपाली साहित्यमा निबन्धकारका रूपमा झुल्किएका शर्माको लेखनयात्रा ५७ वर्षको भइसकेको छ र यस लामो अवधिमा विभिन्न विधामा गरी उनका अत्यधिक ग्रन्थ प्रकाशनमा आइसकेका छन् । उनी नेपाली वाङ्मयको श्रीबृद्धिमा जीवन समर्पित गर्ने समकालीन शिखर प्रतिभाहरूमध्ये एक हुन् भनेर लेखेका छन् । डा.खगेन्द्रनाथ शर्माले तारानाथका अक्षर राम्रा मात्र नभएर कलात्मक पनि भए विशेष व्यक्तिका परिचायक भनेका छन् । यसरी तारानाथले आफ्नो जीवनको लक्ष्य निर्धारणमा अक्षरको सहारा लिएको स्पष्ट नै छ । स्कुले जीवनमा पनि अक्षरले शर्मालाई ठूलो टेवा दिएको थियो भनेका छन् ।
राष्ट्रकवि माधव घिमिरेले नेपाली नियात्राका त उनी पिता नै हुन् भनेका छन् । उनको यो निजी यात्रामा हामी मानस रूपले उनकै साथ नलागी बस्न सक्तैनौ र जुन देशमा पुग्छौ त्यो देशमा पहिलेदेखि थियौँ जस्तो लाग्छ भनेर लेखेका छन् । डा. माधवप्रसाद पोखरेलले तारानाथ शर्मा बालकृष्ण समको चिसो चुल्हो महाकाव्यको आलोचना गर्दै त्यस ग्रन्थलाई समको पच्न नसकेको अनुभवको झुसिलो डकार हो भन्ने टिप्पणी गरेर पनि फेरि चर्चामा आए भनेका छन् । रामप्रसाद पन्तले हामीले असल वस्तु चिन्न सकेको भए र सेतालाई सेतै भनेर सेताकै दर्जामा राख्न सकेको भए आज डा.तारानाथ शर्माजस्ता धेरै तारानाथहरू देश छाडेर पलायन हुने थिएनन् । ठुलो सङ्ख्यामा शैक्षिक एवम् चेतनशील वर्ग विदेसिने थिएन र विदेसिएर दोस्रो दर्जाका रूपमा बस्न बाध्य हुने थिएन भनेका छन् । शताब्दीपुरुष सत्यमोहन जोशीले डा.तारानाथ शर्माज्यूले नेपाली भाषा साहित्यलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन र चिनाउनका लागि पनि के मात्र गर्नु भएन र के मात्र दिनुभएन भन्दै त्यसको तथ्यपूर्ण लेखाजोखा त इतिहासले गर्दैजाने कुरो हो भनेर लेखेका छन् ।
मेरिना स्मृतिले निबन्धकै फाँटमा तारानाथ शर्मालाई राखेर कुरा गर्ने हो भने उहाँका निबन्धका विषयहरू समाजका जीवित शीर्षकहरू हुन् भनेकी छन् । निर्मोही व्यासले सानै उमेरमा लेखन आरम्भ गर्ने शर्मा वि.सं. २००८ सालमा दार्जिलिङको साथी साप्ताहिकमा प्रकाशित इलाम शीर्षकको प्रबन्ध लिएर नेपाली साहित्यमा देखा परेका हुन् भनेका छन् । शर्माले कविता, गीत, कथा, उपन्यास, निबन्ध, सस्मरण, यात्रासाहित्य, समालोचना र साहित्य स्रष्टाका जीवनी आदि साहित्यका विविध विधामा हात हालेका छन् भनी शर्माको कृतित्व मूल्याङ्कन गरेका छन् ।
प्रस्तुत कृतिमा प्रकाश ए राजले ताना शर्मा बसेका र पढेका ठाउँहरूमध्ये बेलायत र अमेरिका दुबैमा मैले पनि बसेकोे र पढेको छु भन्दै अमेरिकामा सन् १९६० को दशकको पूर्वाद्र्धमा अध्ययन गर्न र सन् १९८० को दशकको पूर्वाद्र्धमा काम गर्न बसेको सन्दर्भबाट तारानाथ शर्माको जीवन सङ्घर्षलाई उजागर गरेका छन् । यस पुस्तकको सम्पादन डा.हरिराज भट्टराई र सम्पादन सहयोगी मेरिना स्मृतिले गरेका छन् । ३३२ पृष्ठको यस पुस्तकको मूल्य रु. ५५०।– राखिएको छ । यो तारानाथ शर्मामाथि लेखिएको पठनीय एवम् सङ्ग्रहणीय कृति हो ।
काठमाडौँ