मान भुजेलको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी पेसाले इन्जिनियर हुन् । उनले सेवा निवृत्त जीवनलाई साहित्य साधनामा समर्पित गरिरहेका छन् । प्रस्तुत शृङ्खलामा भुजेलको ‘भूजेल पुर्खाको खोज’ शीर्षकको लेख समेटिएको छ । यस लेखले मूलतः भुजेल जातिको परिचय प्रस्तुत गरेको छ ।
-सम्पा.
|
मानिसले जन्म भएर केही बुझ्ने भएपछि ऊ आफै आफ्नो परिचय खोज्न थाल्छ । आत्मसम्मानको चाहाना गर्दै पूर्खाको पनि खोज गर्न थाल्छ । पुर्खाको खोज गर्छ । यस्तो खोज र अध्ययनले उसलाई अरूसँग जोड्न सिकाउँछ । उसलाई आपत बिपतसँग लड्ने कला सिकाउँछ । राम्रो मान्छे हुन सिकाउँछ । कसरी स्वास्थ र पूर्ण जीवन जीउने भन्ने सिकाउँछ ।
मानव जीवनमा पुर्खाको ठुलो महत्त्व हुन्छ । पूर्खाको संझना गर्दा उनीहरूको मूल्य मान्यता पुस्तान्तर हुन्छ । मानव स्वास्थ्यमा पर्ने सक्ने खतराहरू, भाषा र संस्कृतिको बिकासको बाटोको ज्ञान पनि हुन्छ । यसले गर्दा आगामी बाटोको मार्गचित्र तयार गर्न मद्दत मिल्छ ।
वीरताको प्रचलित नेपाली गाथामा इतिहास सधैँ जित्नेको लेखिन्छ र शासककै लेखिन्छ । विजयी र शासकका रूपमा उनीहरूकै महिमा गाइन्छ । त्यस क्रममा हारेकाहरूको निम्न स्तरको परिचय रहन जान्छ । त्यसै कारण हार्नेहरू गुमनाम हुन बाध्य हुन्छन् ।
नेपाल र यस्तै संसारकै मुलुकका इतिहासमा पनि राजा–राजौटा लडाइँमा हारेकाहरूलाई नयाँ राजां सामन्तहरूले दास दासीको रूपमा दराबारमा राख्न थालको इतिहास छ । त्यस कारणले कतिले आफ्नो थर नै परिबर्तन गरेर नयाँ जात र संस्कृतिमा आफुँलाई बिलय गरे । त्यस क्रममा धेरै जाति र तिनका संस्कृति हराएर गए ।
हाम्रा पूर्खाहरूले आफ्नो उपयुक्त बासस्थानका लागि मीठो पानी खोज्दै हिँडे । त्यसरी खोज्दै जाँदा पछिल्लो खोजबाट पत्ता लगेको ठाउँको पानी पहिलाको भन्दा मिठो थियो । त्यो पानी मासको गेडो जतिले बढी मिठो भएकाले त्यस गाउँको नाम मस गाउँ रहन गयो । त्यही मस गाउँको नाम कालान्तरमा मुसी रहन गयो ।
हाम्रा पुर्खा बसेको अर्को क्षेत्रमा भोजपत्रको चलन हुन्थ्यो । त्यहाँका राजाले भोजपत्रमा लेखापढी र राज्य सन्चालन गर्थे । त्यसो गर्ने गरेकाले भोजे राजाको राज्यको नामले चिनिदै पछि भुजी भयो । हाल बागलुङमा रहेका भुजी र निसेल भन्ने गाउँका मान्छेलाई भुजेल र निसेल भन्न थालियो । यही ढोरपाटन राज्यमा बाइस पुस्ता सम्म राज्य गरे । पूर्णप्रकाश नेपालले भनेका छ्न; भूजेल र निसेल मुख्य दुई उपभेद हुन । निसेल घर्ती थरमा र भूजेल खवासमा परिवर्तन भएका हुन ।
बिक्रम संबत १३७२ मा गल्कोट बागलुङ्मका राजा अन्तिम डुगर सिंहद्वारा भोजे राजा पराजित भए । आफ्नो राज्यको हार भएपछी भूजेलहरू आफ्नो परिचय लुकाउँदै र अझै शक्ति सञ्चय गरेर गुल्मी राज्यको स्थापना गरे । अरू केही समूह तनहूको अनकन्टार स्थान पुगेर आँफूलाइ शत्रुबाट सुरक्षित राख्दै आफ्नो भाषा संस्कृति जोगाएर बसे । उनीहरू आफ्नो भाषा संस्कृतिको विकास गर्दै रहे । अझै पनि तनहुका भुजेलहरूको आफ्नै भुजेल भाषा प्रयोगमा रहेको पाइन्छ ।
नेपालको एकीकरणको इतिहासमा खवास जातिको योगदान छ । राजा द्रब्य शाहले गोरखा हस्तक्षेप गर्नका लागि मुरली खवासलाई गुप्तचरको रूपमा प्रयोग गरेका थिए । बि सं १६१६ मा गोरखा राज्य कब्जा गर्न उनलाई खबासको साथ मिलेको थियो । यससम्बन्धमा तत्कालीन जुम्ला राज्यमा जनश्रुति पाइन्छ । गर्भे खवास, त्रिभुवन खवास शाह राजाका सैनिक कमान्डर बिस्वास पात्र थिए भनिन्छ । राजा राजेन्द्रको पालामा गगनसिंह खवास सत्ताको केन्द्रीय भागमा थिए । उनलाई रानी राज्यलक्षमीदेवी शाहबाट सात रेजीमेन्ट बकस भएको थियो ।त्यसैले राजा र चौतारिया प्रधानमन्त्री फत्तेजंग भन्दा गगनसिंहको शक्ति कम थिएन ।
वि.सं १९०३ को कोतपर्बको षड्यन्त्रमा गगनसिंह खवास मारिए । गगनसिंहका पुत्र् बजिरसिंहलाइ राजभण्डारीको पद रानी राज्यक्ष्मीबाट बकस भए पनि कुनै षड्यन्त्रको आभास पाएर गगनसिंहका पुत्र बजिर सिंह भागेर पछिसम्म सिलगुढीतिर लुकेर बस्नु परेको थियो । गगनका एक छोरा बिष्णुमती किनारमा काटिए । अर्को छोरालाई चोभार टौदहमा लगी डुबाएर मारियो । अर्को एक छोरालाई खुट्टामा पासो लगाई उँधोमुन्टो गरे रुखमा झुन्ड्याएर छ दिनसम्म राख्दा पनि नमरेर पछि त्यहीँ काटिए । सुब्बा शंखधर खवासलाई खाडलमा कुमसम्म आउंने गरी पुरी कपाललाई खोटोमा लपेटेर आगो लगाई मारिए (अब यस्तो कहिले नहोस, पेज ६, बाबुराम आचार्य) । यी घटना सुन्दा पनि आङ गलेर आउँछ ।
कोतपर्बमा आफूले जित हासिल गरे पनि जङ्गबहादुर सधैँ भयभित थिए । जङ्गबहादुरले आफ्ना विरोधीहरूलाई सखाप पारे पनि सामान्य जीवन यापन गर्न नपाउँन् भनी प्रपञ्च रचे । सत्तामा कहिले नआइपुग्ने गरी वि.सं १९१० मा मुलुकी एनं आफू अनुकूल बनाइ अत्यार रचे । जस अनुसार मतवालीलाइ मासिन्य नमासिन्य र मासिनेमा बिभाजन गरे । खवासहाई मासिनेमा राखे । मासिने मतवालीलाई दासको रूपमा राख्न पाइने, सरकारी कामकाजमा अयोग्य ठहरियो । मासिननेमा – तामाङ, चेपाङ, शेर्पा ,थकाली, भुजेल, हाउ, कुमाल, थारु आदि परे भने नमासिनेमा राई, लिम्बु, गुरुन्ङ , श्रेष्ठ, प्रधान आदि परे । अब खवासहरू राजकाजमा कहिले पनि माथि नआउँने गरी दबाइयो । यसले गर्दा खवासहरू कहिले पनि जङगहादुरको बदला लिन नसक्ने भए ।
भुजेलहरू वि.सं १९८३ सालमा चन्दशम्शेरले अमलेख नगरेसम्म कमारा कमारीको रूपमा बाध्य पारिएका थिए । इतिहास मात्र सर्साधारण र विशेष गरी शासक वर्ग र उपाल्ला वर्ग सोच्ने र त्यहीअनुसार व्यवहार गर्ने गर्दछ्न । शासक बर्ग र उपाल्ला वर्गले सोच्ने र त्यहीअनुसार व्यवहार गर्ने गर्दछन् । आर्थिक इतिहासकार महेशचन्द्रका अनुसार सन. १७६८ देखि १८१४ सम्मको गोर्खाली सामाजको उता काजीहरू मूलतः बस्न्यात, भन्डारी, खवास, कुँवर, पाण्डे पन्त, राना र थापा थिए भने एकाध शाह, कार्की, गुरुङ र पन्त थिए । सरदारहरूमा बानियाँ, बस्न्यात, भन्डारी, कार्की, खत्री, खवास, कुँवर, मल्ल, पन्त,राजनैतिक नेतृत्व संरचनामा विभिन्न जात नै प्रभावशाली थिए ।
त्यसबेला शाहहरू चौतारियाको रूपमादेशलाई असली हिन्दुस्थान बनाउन लागे । त्यसै क्रममा भुजेलहरू हिन्दूकरणमा परे । आफ्ना समुदाय, बर्ग, धर्म र संस्कृतको एकोहोरो बर्चस्व अधिनायकत्व कायम गराउन सम्पूर्ण राज्यशक्ति प्रयोग गरियो । असली हिन्दुस्थान पृथ्वीनारायणको मनसायअनुरूप नै बन्यो । क्रमशः हिन्दूकरणको मारमा भूजेल पनि परे ।
२०७८ को जनगणणाअनुसार नेपालभर आदीबासी जनजातिको रूपमा भूजेल जाति ११८६५० र मातृभाषा बोल्ने २१७१५ रहेको भनी गणना गरिएको छ । समाजमा गुमेको इज्जत पाउन र स्वदेश तथा विदेशी भूमिमा जागिर खानलाई आफूलाई कहिले थापा, कहिले मगर र कहिले गुरुङको थर लेख्दै रहे । कतिपयले जुन समाजमा बसोबास छ, त्यही समाजको संस्कृति अपनाउँदै भुलेलहरू आफ्नो अस्तित्व रक्षामा सङ्घर्षरत छन् ।
(सन्दर्भ ग्रन्थः भूजेल जाति र भाषा, प्राकृतिक अध्ययन, लेखक–बाबुराम भुजेल, अमृत योन्जन तामाङ )