गीता सापकोटाको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनको नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बममाथि लेखिएको जीवनी समेटिएको छ । यसले बकको अर्कै मुलुकमा बसेर पनि जीवित रहेको मातृभाषा प्रेम र साहित्य सिर्जनाको अभिप्रेरक पक्ष समेटिएको छ ।
-सम्पा. |
पर्ल बक विश्व प्रसिद्ध नारी स्रष्टा हुन् । उनी प्रख्यात नारी उपन्यासकारका रूपमा परिचित छन् । उनको जन्म सन् १८९२ जुन २६ का दिन भएको हो । उनी संयुक्त राज्य अमेरिकाको वेस्ट भर्जिनिया राज्यकोे हिल्सबोरोमा जन्मिएकी थिइन् । उनको पूरा नाम पर्ल सिडन स्ट्राइकर बक हो ।
बकका आमाबुबा क्रिस्चियन धर्म प्रचारक थिए । उनीहरू धर्म प्रचारका रूपमा चिनमा गए । उनी बाल्यकालमा बाआमासँगै चिन पुगिन् । त्यस क्रममा यिनको बाल्यकाल चिनको चिङकिआङ्मा बित्यो । त्यहाँ बस्ने क्रममा उनले चिनिया भाषा सिक्ने अवसर पाइन् । उनले यस भाषालाई मातृभाषा र साहित्यिक भाषाका रूपमा ग्रहण गरिन् । उनले मातृभाषासँगै चाइनिज भाषा फैलाउने काम पनि गरिन् ।
पर्ल बकले चिनको साङ्घाईस्थित बोर्डिङमा पढिन् । समयक्रममा उच्च शिक्षाका लागि अमेरिका गइन् । उनले अमेरिकाको भर्जिजियास्थित ¥यान्डोल्प म्याकोन विमिन्स कलेजमा मनोविज्ञान विषयमा स्नातक तहसम्मको अध्यययन गरिन् । उच्च शिक्षापछि सन् १९१४ मा चीन फर्किइन् । उनी त्यहाँको चर्चमै शिक्षण गर्न थालिन् । बाआमाले उनलाई सानैदेखि चर्चप्रतिको मोह बढाएका थिए । त्यसले उनी चर्चमा गुरुआमा भएर बसिन् ।
उनी चिनमा फर्किएसँगै प्रेममा परिन् । उनका प्रेमी चीनमा कार्यरत अमेरिकी कृषिविद् डाक्टर जोन लोसिङ्ख थिए । उनीसँगै सन् १९१४ मा उनको विवाह भयो । विवाहपछि पनि उनले पढाइको गतिलाई रोकिनन् । पढाइ पनि रहिन् र पढ्न पनि छाडिन् ।
धेरै महिला सन्तान प्राप्तपछि शिक्षामा पूर्णविराम दिन्छन् । बकले पढाइलाई निरन्तरता दिइरहिन् । अध्ययन र साधनालाई सँगसँगै अगाडि बढाएकी उनको पहिलो रचना अटलान्टिक मन्थली (१९२३) नामक पत्रिकामा प्रकाशित भयो । उनी कृतिगत रूपमा सन् १९३० मा इस्ट विन्ड ः वेस्ट विन्ड नामक उपन्यास लेखेर सार्वजनिक भइन् । त्यसको अलगै अर्को वर्ष सन् १९३१ मा उनको अर्को चर्चित उपन्यास द गुड अर्थ प्रकाशित भयो । यिनले थुप्रै कृतिहरूका साथसाथै फुटकर रचनाहरूको प्रकाशन गरिन् तर सबैभन्दा चर्चित ग्रन्थ भने गुड अर्थ (धरतीमाता) नै भयो र यसले उनलाई नोबेल पुरसकार दिलायो । यस उपन्यासमा चिनको ग्रामीण जीवन बारेको यथार्थ वर्णन छ । उनले चिनलाई नजिकबाट बुझिन् र लेखिन् । यसरी लेखिन् कि चिनियाँहरूले समेत चीनको ग्रामीण जीवनका बारेमा त्यति जीवन्त लेखेनन् । उनी निरन्तर त्यहाँको चित्रात्मक र यथार्थपरक लेखनमा लागिरहिन् । उनी चिनियाँ त्यसपछि उनका सन्स (१९३२) द फस्र्ट वाइफ एन्ड अदर स्टोरिज (१९३३), द यङ्ख रिभोल्युसनिस्ट (१९३२), द मदर (१९३४), द हाउस डिमाइडेड (१९३५), दिस प्राउड हार्ट (१९३८), द प्याट्रिअट (१९३९), अदर गडस् (१९४०), टुडे एन्ड फरएभर (१९४१), अफ मिन एन्ड विमिन (१९४१२), फार एन्ड नियर (१९४८) पर्ल वक्स् अमेरिका (१९७१) जस्ता कृति प्रकाशित भए । यी उनका महत्वपूर्ण कृतिहरू हुन् ।
पर्ल बलले चिनिया जीवनशैलीलाई अत्यन्त नजिकबाट छुन, छाम्न र बुझ्न पाइन् । उनले चिनमा बसेर त्यहाँको संस्कृतिसँग निकट हुने अवसर पाइन् । यसै कारण उनले आफ्ना कृतिहरूमा चिनियाँ जनजीवनको जीवनशैली र त्यहाँको परिवेशलाई सुन्दर रूपमा पस्किन सफल भइन् । त्यस्तै अमेरिकी र चिनियाँ जीवनशैलीको साम्यवैसम्यको चित्रण गर्न पनि पाइन् । प्रयः सिर्जनामा स्थानीय परिवेशका यथार्थ वस्तुस्थितिलाई प्रस्तुत गर्न पनि भ्याइन् । यही नै उनको प्रवृत्तगत वैशिष्ठ्य पनि हो ।
समग्रमा उनका कृतिहरूमा सामाजिक यथार्थवादी र मानवतावादी भावना रसिलो शैलीमा प्रस्तुत भएको पाइन्छ । सामाजिक विषयवस्तुको स्थूल र सूक्ष्म प्रस्तुतिकरण गर्न सक्नु उनको मूल विशेषता हो । सरल र सहज भाषाशैलीमा लेखिएका उनका रचना निकै मिठासपूर्ण र बोधगम्य छन् ।