तारा उप्रेती क्यानडामा रहेर नेपाली भषा साहित्यका क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित ‘कोरोनाको कहर र भविष्यमा पर्ने प्रभाव’ शीर्षकको निबन्धात्मक आलेख समेटिएको छ । यो आलेख निबन्धात्मक राग भन्दा पनि चेतनाप्रधान हुँदा लेखका रूपमा मात्र प्रस्तुत गरिएको छ । यस लेखले कोरोनाले छोडे पनि यसको प्रभावले नछोड्ने पक्षलाई संकेत गरेको छ । -सम्पा. |
कोभिड १९ महामारीले विश्वलाई नै आक्रान्त बनायो । कोरानाको प्रकोपमा विकसित र वैभवशाली देशहरूदेखि विकासोन्मुख र गरिबीका रेखा नाघ्न तम्सिरहेका मुलुकहरूसम्म परे । चाइनाको हुवान प्रान्तमा सन २०१९ डिसेम्बर महिनामा पहिलो पटक कोरोनाको भाइरस देखा परेको थियो ।
कोरोना महामारीले संसारबाट ६८७८८३२ जनाको ज्यान गयो । अमेरिका ११३१९६३, बेलायत २०८४५९, रूस ३८८५२१, इटली १८८५३८, फ्रान्स १६६१७६ , स्पेन ११९४७९ , जर्मनी १६८९३५जनाको ज्यान लिएर महामारीले वितण्डानै मचायो । हाम्रो छिमेकी देश भारतमा मात्र कोरोनाले ५३०७७९ जनाको ज्यान लियो । हाम्रो देश नेपालमा पनि १२०२०जनाको ज्यान लिइसकेको छ । यातायात र संचारको प्रयाप्त सुविधा अनि अधिक प्रयोगले कोरोनालाई सन्सारभरि फैलिन कतिबेर पनि लागेन । चैतवैशाखको हुरीमा लागेको डढेलो जस्तै भएर सबैतिर फैलियो ।
अदृश्य महामारी अतिनै भयावहपूर्ण हुँदो रहेछ । यसले आफ्ना प्रिय मान्छेहरूलाई पनि छुन दिएन । नजिक पर्नसम्म दिएन । मृत्यु कति भयावह हुँदो रहेछ मन्ने मानिसले नजिकबाट नियाल्यो र महसुस गर्यो । मानिसले अलिकति हेलचेक्र्याँई गर्दा कस्तो परिणाम हुँदो रहेछ भन्ने कुरा इटलीमा भएको कोरोना कोरोना भन्दै सडकमा भएको प्रदर्शन र नृत्यले देखाइदियो । कोरोनाको रोकथाम र त्यसमा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा कवज PPE (Personal Protective Equipment) समयमा उपलब्ध नहुँदा पनि असङ्ख्य मानिसको ज्यान गयो । स्वास्थकर्मीहरूलाई उचित ज्ञानको अभावमा पनि बचाउन सकिने विरामीलाई एकान्तमा राखियो र पानी समेत खान दिन नसक्दा कयौँको ज्यान गएका दुखद घटनाहरू आए ।
संचारका माध्यमको व्यापक सुविधाले भयावह स्थितिको सिर्जना भयो । दैनिक मृत्युका खवरहरू, फोटो, र भिडियोहरू प्रसारण भए । त्यसले झनै व्यापक भय सञ्चार गर्यो । कोरोनाको भाइरसले छोएपछि मरी नै हालिन्छ भन्ने मानसिक दबाबका कारणले पनि मानिसको आत्मबल कमजोर बनायो र धेरैको मृत्यु भयो । यो नकारात्मक प्रभावलाई तत्काल बुझ्न सकिएन ।
अन्तर्देशीय उडानहरू र मुलुक भित्रकै यातायातहरूलाई पनि समयमै बन्द गर्न सकेको भए यस प्रकारका मृत्युहरू हुने अवश्य थिएनन् होला । कोरोनाका लक्षणहरू बिभिन्न देखिए ।
१ ज्वरो आउने
२ टाउको दुख्ने
३ घाँटी दुख्ने रूघा लाग्ने
४ जीउ दुख्ने ,शरिर थाक्ने ।
५ हातखुट्टाका जार्नीहरू दुख्ने ।
६ खान मन नलाग्ने ।
७ सास फेर्न गाह्रो हुने ।
८ खोकी लाग्ने ।
९ शरीर चिसो हुने ।
१० झाडा पखाला लाग्ने ।
११ स्वाद र गन्ध हराउने आदि ।
कोरोनाका विभिन्न लक्षणहरू देखा परे । कोरोना नलागी नै भएका सामान्य रूघाखोकी र ज्वरो आउनेहरू विरामीहरू पनि कोरोना भएको भयले आत्तिएर सिकिस्त बने । कोरोना लागेको खबर अरूले थाहा पाउलान् र सामाजिक बहिष्कार होला भन्ने भयले पनि कति परिवारहरूले गुपचुप राखे । तर परिणाम नराम्रो आएपछि बाध्य बनेर अरूलाई सुनाउनु पर्यो ।
कति स्थानमा शिक्षाको अभावका कारणले कोरोना लागेकाहरूलाई बहिष्कार गर्ने जस्ता अमानवीय कार्य गरियो । उनीहरूलाई सामाजिक अपराध गरेको जस्तो गरेर बहिष्कार गर्ने कार्य भयो । यो एउटा क्रूर र अमानवीय पक्ष थियो । नेपालमा सरकारीतहबाट काठमाण्डौलाई पूर्ण बन्द गराउने काम भयो । मानिसहरूले काम र खानेकुरा नपाएर चार पाँच दिनको बाटो पैदल हिँडेर घर फर्किनु पर्यो । बैकल्पिक उपायहरूको खोजीविना भएका यस्ता कार्यले धेरै जनजीवनहरूले यातना भोग्नु पर्यो ।
यस्तो महामारीका बाबजूद पनि धेरै स्वयंसेवी मनहरूले कोरोनाको भयको वेपर्वाह मानिसलाई बचाउन योगदान गरे । जनस्तरबाट ठाउँ ठाउँमा खाना पकाएर बाँड्ने कामहरू भए । जसले धेरै जीवनहरू भोकका कारण मर्नबाट जोगायो । विषेश गरी काठमाण्डौका रत्नपार्क लगायतका बिभिन्न ठाउँमा खाना बाँडेको दृश्यले मानवियताको दैविकरूप प्रदर्शन गरेको थियो । यस्तो महामारिमा स्वास्थकर्मीहरूले पुर्याएको योगदान सन्सारमै उच्च रह्यो । इटलीमा एक जना नर्सले निरन्तर कामहरू गर्दै असङ्ख्य मानिसलाई बचाइन् तर आफूलाई बचाउन सकिनन् । उनी गर्भवतीसमेत रहेको कुरा पछि मात्र थाहा भयो । त्यस्तै विरामीको उपचार गर्दा आफ्नै परिवारका सदस्यहरू गुमाएका थुप्रै स्वास्थकर्मीहरूको यथार्थ हामीले देख्न र सुन्न पायौँ ।
कोरोनाकालमा सुरक्षाकर्मीहरूको योगदान पनि उत्तिकै सम्मानजनक र श्रद्धा योग्य रह्यो । कोरोनाबाट बचाउनका लागि जनतालाई सुरक्षितभएर बस्न अनुरोध गर्दै सडकमा खटेर ज्यानबचाउन लागीपरे । उपचार गर्ने अस्पतालहरू प्रयाप्त नहुँदा सेल्टर र उपचार कक्षहरूको निर्माणमा खटिए । कोरोनाबाट मृत्युहुनेहरूको दाहसंस्कारमा पनि सुरक्षाकर्मीहरूले नै महत्वपूर्ण भूमिका निर्वाह गरे ।
यो कोरोना महामारीले वालवालिकाहरूको जीवनमा पनि ठूलो प्रभाव पार्यो । यो वालमनोविज्ञानमा परेको असरले सिंगो बिश्वको भविष्यमा समेत प्रभाव पर्ने देखिन्छ ।
बालवालिकाहरूले बर्षौसम्म अरू बालवालिकाहरूलाई प्रत्यक्ष देख्न नपाउनु, उनीहरूसँग संयुक्त भएर भौतिक रूपमा खेलकुद गर्न र अन्तरक्रियाहरू गर्न नपाउनु दुःखद बन्यो । बालवालिकाको अधिकांश समय विद्युतीय उपकरणहरू जस्तो कम्प्यूटर, ल्यापटप, एक्स बक्स, ट्याब्लेट, वी, नातन्दो, फोन आदिमा बिताए । यसले गर्दा उनीहरूमा चाँडै रिस उठ्ने, झर्को मान्ने, अरू सँग कुराकानी नगर्ने, सामूहिक भेटघाटमा पनि एक्लै बस्न रmचाउने, अरू मानिसहरूबाट टाढै बस्न मन पराउने, आफन्त र परिवार जनबाट पनि लामो समय बिना भेटघाट बसेको हुनाले आत्मियता कम भएको र टाढिने गरेको पाइन्छ । घरपरिवार बाहेकका आफन्तहरूलाई पनि विश्वास नगर्ने जस्ता परिवर्तनहरू आएकाछन् ।
लामो समयसम्म विद्यालयहरू बन्द हुनु र दूरशिक्षा प्रणाली पनि ढिलो गरी लागू हुनाले बालबालिकाहरूका साथीहरू पनि नभएको अवस्था छ । सोसियल मिडियाका गेमहरू खोलेर अपरिचितहरूसँग भर्चुवल गेम खेल्ने गरेकाले उनीहरूको संसार पनि छुट्टै बनिसकेको छ । अब यो पिँढीले सशरीर सामूहिक र सामाजिक कार्य गर्न असजिलो महसुस गर्ने देखिन्छ ।
कर्मचारीहरूले घरघरबाट नै काम गर्नाले र विद्यालय विश्वविद्यालयहरू पनि बन्द हुनाले सन्सारकै व्यापार व्यवसायहरू धरासायी भए । सानातिना व्यवसाय गर्नेहरूका व्यापार बन्द भए । धेरैको रोजगारी सकियो । डेरामा बस्नेहरूले डेराको भाडा तिर्न नसकेर सडकमा जानु पर्ने स्थिति सिर्जियो । केही अनलाइन व्यापारहरू खुलेर ब्यापारको प्रकृति फेरियो । धेरै मानिसहरूलाई डिजिटल बनायो । बैँक र वित्तीय संस्थानहरू पनि धरासायी बन्दै गए । डिजिटल बैङ्किङ प्रणालीको थालनी भएर थुप्रै रोजगारीमा कटौटी भयो । टिकटक, युटुव, फेसबुक, जूम, गुगलमिट, ह्वाट्सअप, ट्यूटर, लिङ्डेन जस्ता प्रविधि चलाएर केही व्यक्तिहरूले आर्थिक आर्जन पनि गरेका छन् । अर्कातिर यी सामाजिक सञ्जालहरूले सामाजिक विकृतिहरू पनि जन्माएका छन् । यस विचमा थुप्रै पारिवारिक विखण्डन पनि भएकाछन् ।
मार्च ११ २०२० मा विश्व स्वास्थ सङघ World Health Organization (WHO) ले घोषणा गरेको कोभिड १९ महामारीलाई मे पाँच २०२३ का दिन महामारीबाट मुक्त भएको घोषणा गरेको छ ।
आजका सचेत सामाजिक अभियन्ता, समाजका पथप्रदर्शकहरू र राज्य सञ्चालकहरूले कोरोनाकालमा बालबालिकाहरूमा परेको प्रभावलाई संवेदनशील भएर हेर्न जरmरी छ । उनीहरूको मनोदशालाई परिवर्तन गराउने प्रकारका समूहगत सामाजिक गतिविधिहरू विद्यालयहरूले सञ्चालन गर्नुु पर्दछ । समूहगत सहकार्यहरूलाई सञ्चालन गर्न आवाश्यक देखिन्छ । यसरी बालबालिकाहरूलाई संलग्न गराउन सकिएन भने सामाजिक हिंसाहरू बढ्ने, आत्मदाह गर्ने जस्ता बिकृतिहरू आउने देखिन्छ ।
(नोट : यहाँ प्रस्तुत तथ्याङ्कहरू विश्व स्वास्थ सङ्गठनको वेबबाट साभार गरिएका हुन् ।)