गीता सापकोटा युवापुस्ताकी स्रष्टा एवम् द्रष्टा प्रतिभा हुन् । उनले निरन्तर रूपमा सिर्जना र समीक्षा लेखिरहेकी छन् । उनको कलम जीवनी लेखनमा पनि त्यत्तिकै चलिरहेको छ । उनको परिचय साहित्यसागरमा समेटिइसकेकाले यहाँ उनको सारभूत परिचयसहित उनले लेखेको ‘नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत’को जीवनी समेटिएको छ । यो जीवनी अभिप्रेरक जीवनीका रूपमा लेखिएको छ ।
-सम्पा. |
नोवेल पुरस्कार विजेता नारीप्रतिभाहरूमध्ये सिग्रिड उन्डसेत (नर्वे : १९२८) को नाम उल्लेख्य छ । इतिहासको गहिरो अध्ययन गर्न र सोही अध्ययनका आधारमा सिर्जना गर्न रुचि राख्ने यी प्रतिभा आज विश्व प्रसिद्ध नारी साहित्यकारका रूपमा परिचित छन् ।
सिग्रिड उन्डसेतको जन्म सन् १८८२ मे २० का दिन डेनमार्कको क्यालेन्डबर्गमा भएको थियो । उनका पिता इङगभाल्ड मार्टिन उन्डसेत त्यहाँका नामी पुरातात्विविद् थिए । बाल्यकालदेखि नै आफ्ना पिताबाट पुराना सामग्री प्रति आकर्षित प्रभावित उन्डसेत पछि इतिहासप्रति नै समर्पित बनिन् । उनले पिताकै प्रभावबाट इतिहासको गहिरो अध्ययन गरेकी थिइन् । बाल्यकालदेखि नै सिग्रिडमा इतिहास, संस्कृति एवम् साहित्यप्रति गहिरो रुचि थियो ।
उन्डसेत कथा र उपन्यास लेखनमा रmचि राख्नै र क्रमश : प्रकाशनबाट अग्रसर हुँदै गइन् । उनको सन् १९०७ मा पहिलो उपन्यास प्रकाशित भयो । सन् १९०९ मा उनको अर्को उपन्यास गुनार्स डटर प्रकाशित भयो । यो कृतिसँगै उनको परिचय साहित्यिक जगत्मा स्थापित बन्यो ।
उन्डसेतको विवाह नर्वेका चित्रकार एन्डर्स कास्टुस स्वस्टाडसँग सन् १९१२ मा सम्पन्न भयो । उनका जीवनसाथी पनि कलाकार भएपछि पारिवारिक वातावरणले उनलाई लेखनतर्फ अझै प्रेरित गर्यो । फलत : उनले क्रिस्टिना लाव्रांसडोटर (तीन भाग) र द मास्टर अफ हेस्टिविकेन (चार भाग) लेखिन् । उनका उपन्यासहरूमा नर्वेली समाजको चौधौँ पन्ध्रौँ शताब्दीतिरको परिवेश छ । ती कृतिका माध्यमबाट नर्वेली सामाजिक जनजीवनको प्रतिबिम्ब उद्घाटन गरिएको छ ।
उन्डसेतले प्राय : आफ्ना कृतिमा घरपरिवार भित्र र कर्मचारी नारीले भोग्नु परेका कार्यालयीय र पारिवारिक जिम्मेवारीलाई निकै जीवन्त रूपमा उठाएकी छन् । उनी ती नारीहरूका समस्यालाई आफ्नै समस्याका रूपमा उपन्यासमा प्रस्तुत गरिरहेकी हुन्छिन् । उनका उपन्यासलाई यथार्थपरक जीवनदृष्टिका प्रकटनमा पाउन सकिन्छ ।
उन्डसेत आफ्ना उपन्यासमा मानवीय मनोविज्ञान र इतिहास जस्ता फरक विषयलाई सहजै संयोजन गरिरहेकी भेटिन्छिन् । यी फरक विष्यालाई संयोजित रूपमा पस्कन सक्ने क्षमताका कारण पनि उनको चर्चा चलेको पाइन्छ ।
उन्डसेत सफल उपन्यासकार हुन् । यी प्रतिभा गहिरो अध्ययनपछि मात्र लेख्ने उपन्यासकार हुन् । यिनले पन्ध्र वर्षसम्म मध्यकालीन इतिहास अध्ययन गरिसकेपछि मात्र त्यस विषयमा लेख्ने आँट गरेकी थिइन् । तयसै कारण यिनका ऐतिहासिक उपम्यासहरूमा यथार्थताको चित्रण र दिग्दर्शन हुन सकेको हो (पृ.१५८) । उनको यसै संयोजित शैलीमा केन्द्रित भएर लेखिएका कृतिहरूका लागि सन् १९२८ को नोबेल पुरस्कार उनलाई प्रधान गरिएको थियो ।
उन्डसेतले सन् १९४० अप्रिलमा नर्वेलाई नाजीहरूले कब्जा गरेपछि नाजी अतिवादको खुलेर विरोध गरिन् । फलत : नाजी हुकुमले उनका पुस्तकहरूमा बन्देज लगायो ( पौड्याल र अन्य पृ. ५५) यसै बेला नाजीहरूले उनको जेठो छोरो आन्डेर्सको हत्यासमेत गरिदिए ।
आफ्ना कृतिमाथि प्रतिबन्ध एउटा पीडा थियो । नारीहरूबाट भएको छोराको हत्या अर्को पीडाको विषय बन्यो । उनले झन् चर्को विरोध गरेर कलम चलाइन् । आखिर नाजीहरूको दनम खप्न नसकेर उनी स्विडेन र अमेरिकामा शरण लिन पुगिन् ।
सिग्रिड उन्डसेत मूलत : उपन्यासकार हुन् । उनी नाटक र कथाको क्षेत्रमा पनि उत्तिकै प्रखर थिइन् । गुनार्स डटर (१९०९), इमेजेज इन मिरर (१९१७) क्रिस्टिना लाव्रांसडोटर (तीन भाग १९२०–१९२२), द मास्टर अफ हेस्टविकेन (चार भाग १९२४) द वाइल्ड अर्किड (१९३४), द बर्निङ्ग बुश (१९३०), एलिजावेथ (१९३२), द इयर (१९३४), रिटर्न टु द फ्युचर (१९४२) जस्ता उनका करिब तीन दर्जन कृतिहरू प्रकाशित छन् । यी कृतिहरूमा उनी आफैसँग आफै प्रतिष्पर्धा गरिरहेकी भेटिन्छिन् ।
सिग्रिड उन्डसेत मूलत : प्राचीन नर्वेली समाजको यथार्थ चित्रण गर्ने स्रष्टा हुन् । मध्यमवर्गीय जनजीवनको चित्रण, श्रमजीवी नारीहरूको दु :ख पीडाको प्रस्तुति, मानवीय समस्या, इतिहास र मिथकीय प्रयोगको प्रस्तुतीकरण, नर्वेली मध्यकालीन जीवनको चित्रण जस्ता विशेषता उनका कृतिहरूमा पाइन्छ ।
उन्डसेतको आख्यानकारितको भाषा निकै काव्यात्मक छ । काव्यात्मक भाषाशैली, आलङ्कारिक वाक्य गठनको सुमधुर प्रस्तुति उनको विशेषता हो । यही विशेषताका कारण उनका कृति पढौँ पढौँ लाग्ने हुन्छन् । सरल सहज भाषाशैलीको प्रयोगले गर्दा उनका कृतिहरू सबै पाठकका लागि उत्तिकै महत्वपूर्ण रहेका छन् ।
इलाम