गीता सापकोटा युवापुस्ताकी स्रष्टा एवम् द्रष्टा प्रतिभा हुन् । उनले निरन्तर रूपमा सिर्जना र समीक्षा लेखिरहेकी छन् । उनको कलम जीवनी लेखनमा पनि त्यत्तिकै चलिरहेको छ । उनको परिचय साहित्यसागरमा समेटिइसकेकाले यहाँ उनको सारभूत परिचयसहित उनले लेखेको नोबेलपुरस्कार बिजेता स्रष्टा ग्रजिया डेलेडाको जीवनी समेटिएको छ । यो जीवनी अभिप्रेरक जीवनीका रूपमा लेखिएको छ । यस जीवनीले उनका जीवनका उतारचढाव भन्दा पनि साहित्यिक जीवनीको पाटोलाई प्रस्तुत गरेको छ ।
-सम्पा. |
विश्व साहित्यमा नारी हस्ताक्षरको नाम नगन्य रहेको छ । त्यसमा पनि स्तरीय लेखनलाई निरन्तरता दिँदै साहित्यमै समर्पिण नारी हस्ताक्षरको सङ्ख्य ज्यादै कम छ । विश्वप्रसिद्ध नारी स्रष्टा त अझ औँलामा गन्न सकिने छन् । यस्तो परिस्थितिमा सन् १९२६ मा विश्व स्तरीय नोबेल साहित्यिक पुरस्कार पाउन सफल नारी हस्ताक्षर हुन् ग्राजिया डेलेडा ।
डेलेडाको जीवनकथा निकै रोचक छ । उनले लेखेका साहित्यका पात्रहरू जस्तै उतारचढावपूर्ण छन् । उनको जन्म सन् १८७१ सेप्टेम्बर २७ मा इटालीमा भएको थियो । उनी नोबेल पुरस्कारका इतिहासमा साहित्य विधातर्फ नोबेल पुरस्कार पाउने दोस्रो नारी प्रतिभा हुन् । उनको जति चर्चा पुरस्कार प्राप्तिपछि भयो त्यसअघि उनी स्वदेशमा पनि उति चर्चामा थिइनन् ।
डेलेडाले आठ वर्षकै उमेरदेखि कविता लेख्न प्रारम्भ गरेकी हुन् । सन १८९२ मा फियोर डी सार्डएग्ना प्रकाशित भएपछि उनी औपचारिक रूपमा साहित्यिक क्षेत्रमा उदाएकी हुन् । प्रायः जसो उनी आफ्नै देशका प्राचीन किंवदन्तीहरू, रीतिरिवाजहरू र ऐतिहासिक घटनाहरूलाई आफ्ना रचनाहरूमा समावेश गर्थिन् । यस आधारमा उनलाई मिथकीय विषयवस्तुकी स्रष्टाका चिन्ने गरिन्छ (पृ. ८६) । उनले आफ्ना सिर्जनामा आफ्नो देशको सिङ्गो समाजले आत्मसात गरेका मूल्यमान्यता र परम्परालाई समेटेको पाइन्छ । उनका यस्ता रचनाहरूमा दि ओल्ग म्यान अफ द माउन्टेन (१९००), आफ्टर द डिभस (१९०२), एसेस (१९०४), द कोसिमा (१९३७), द मदर आदि अत्यन्त उत्कृष्ट उपन्यास कृतिहरू हुन् । यी मध्ये पनि उनको द मदर उपन्यास निकै महत्वपूर्ण कृति हो । उनका थुप्रै उपन्यास र कथाहरूमा चलचित्र निर्माण गरिएको छ । उनको रचनाकालमा उपन्यासमाथि चलचित्र बन्नु नै त्यस उपन्यासको सफलता मानिन्थ्यो । यस आधारमा पनि उनी सफल लेखकका रूपमा स्थापित हुँदै आएकी थिइन् ।
डेलेडाले विविध विधामा साहित्यि सिर्जना गरे पनि ती विधामध्येमा विशेषतः उपन्यास विधालाई रनेजिज् । उनले यस विधालाई प्रमुख रोजाइको विधा बनाएर निरन्तर लेखन यात्रामा अगाडि बढिरहिन् । त्यसरी अगाडि बढ्ने क्रममा डेलेडाको सन् १९०० मा दि ओल्ड म्यान अफ माउन्टेन नामक उपन्यास प्रकाशित भयो । यसै कृतिले उनी विश्व प्रसिद्ध बनिन् । त्यस्तै उनको एलियास पोर्तोलु नामक उपन्यास पनि निकै उत्कृष्ट रचना मानिन्छ ।
डेलेडाका उपन्यासमा उनकै देश र समाजका निम्नवर्गीय पात्रहरूको उपस्थिति पाइन्छ । सामान्य नोकर, किसान र भेडागोठालाहरू र जनिमदारको जीवन चर्चा उनका उपन्यासमा पाइन्छन् । उनले यिनै पात्रहरूका माध्यमबाट प्राचीन र आधुनिक मानव समाजका समानता र असमानताहरूको तुलना गर्दै मानिसको नैतिक उत्थानलाई प्रेरित गरेकी छिन् ।
उनलाई दिइएको नोबेल सम्मान र समीक्षकहरूका अनुसार आदर्शोन्मुख अन्तप्र्रेरणाले भरिएका आफ्नो मातृभूमि र सम्पूर्ण मानवीय समस्याको चित्र अत्यन्त गहिराइ र सहानुभूतिपूर्वक आफ्ना रचनामा उतारेको हुनाले उनलाई सन् १९२६ को नोबेल पुस्कार प्रदान गरियो (पृ . ५१) । यो पुरस्कारले उनलाई मात्र गौरवान्वित तुल्याएन उनको जन्मभूमिलाई पनि गौरवान्वित तुल्यायो ।
डेलेडा पनि अरू साहित्यकार जस्तै कविता लेखनबाट साहित्यमा प्रवेश गरेकी थिइन् । उनले क्रमशः कविता विधासँगै कथा, उपन्यास र आत्मसंस्मरण जस्ता विधामा निरन्तर कलम चलाइरहिन् । त्यसमध्ये पनि उनलाई उपन्यास कृतिले विश्व प्रसिद्ध बनायो । उनी आफ्ना रचनाहरूमा आदर्शोन्मुख यथार्थवादी प्रवृत्तिलाई अवलम्बन गर्छिन् । मानवताका पक्षमा आवाज उठाइरहेकी भेटिन्छिन् । उनी नैतिकतावीहिन परिवेशको भण्डारफोर गरिरहेकी हुन्छिन् । उनका रचनामा हेपिएका मानिसहरूप्रति गहिरो सहानुभूति प्रकट गरिएको हुन्छ । उनले आफ्नो संस्कृतिको आदरपूर्वक प्रयोग गरिरहेकी हुन्छिन् । उनका रचनामा संस्कृतिसँगै आद्यबिम्ब, लोकजीवन आदिको चित्रण प्रशस्त मात्रामा भएको हुन्छ । उनका कृतिमा प्रगतिवादी चेतना र नारी चेतनाको प्रभाव पनि निकै परेको पाइन्छ ।
डेलेडाको साहित्य सिर्जनाको प्रमुख धेय सुखानुभूति हो । साहित्य सिर्जनाको उनको अर्को प्रयोजन मानवतावादी भावनाका माध्यमबाट समाजलाई सचेत बनाउनु हो । उनका रचनामा भौतिक सुखसुविधा र सम्पन्नताबाट भन्दा मानव कल्याणबाट आत्मिक सुख प्राप्त गर्न सकिने सन्देश प्रवाह भएको पाइन्छ ।
आफ्ना रचनामार्फत विश्व बन्धुत्व र मानव कल्याणका भावलाई विश्व समाजमा फैलाउने नारी स्रष्टा डेलेडाको निधन सन् १९३६ अगस्ट १५ का दिन रोममा भयो । आज उनी नरहे पनि उनका कृतिहरू विश्वका अनेक भाषामा अनुवाद भई उनी विश्वप्रसिद्ध साहित्यकारका रूपमा स्थापित छन् ।