डा. रमेश शुभेच्छुको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी युवापुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा व्यक्तित्व हुन् । प्रस्तुत शृङ्खलामा उनको खेमराज पोखरेलको निबन्धकृतिमाथि लेखिएको ‘यायावर पाइलामा खेमराज पोखरेलको निबन्धकारिता’ शीर्षकको लघुसमीक्षा समेटिएको छ ।
-सम्पा. |
विषय प्रवेश
खेमराज पोखरेल प्रवाशमा रहेर नेपाली साहित्यलाई माया गर्ने प्रतिभा हुन् । उनी मुलतः लघुकथा र निबन्ध विधामा कलम चलाइरहेका छन् । उनको यायावर पाइला नियात्रामूलक निबन्धको सङ्कलन हो । यहाँ सरसरती रूपमा पोखरेलको नियात्राकारिता कस्तो छ भनी मूल्याङ्कन गरिएको छ । यस लघु समीक्षाले यही एउटा कृतिका आधारमा पोखरेलका निबन्ध प्रवृत्तिको सङ्केत गरेको छ ।
यायावर पाइलाको गन्तव्य
यायावर पाइला खेमराज पोखरेलको निबन्ध कृति हो । सुशीला पोखरेलद्वारा सम्पादित प्रतीक ढकालको भूमिका र लेखकीयसहित २०८ पृष्ठमा संरचित यस कृतिको उद्देश्य लेखकले आफू पुगेका ठाउँको अनुभूति र ज्ञानलाई संरक्षण गर्नु देखिन्छ । यो उनको नियात्रापरक निबन्धको सङ्ग्रह हो । यसमा जम्मा १७ वटा नियात्राप्रधान निबन्धहरू समेटिएका छन् लघुकथा विधामा कलम चलाइरहेका पोखरेलको यो पहिलो नियात्रा कृति हो यद्यपि यसको प्रस्तुति शैली सिकारु निबन्धकारको जस्तो कमजोर देखिँदैन ।
प्रस्तुत निबन्ध कृतिले स्वर्गद्वारी, टनकपुर, हलेसी, पाथीभरा, खप्तड, भोजपुर, काठमाडौँ, बेनीबजार, घलेगाउँ, जनकपुर, बाग्लुङ, मनाङ, कर्णाली, जिरी, तामाकोशी, दलचोकी जस्ता पूर्वदेखि पश्चिमसम्मका र पहाडदेखि तराईसम्मका ठाउँका यात्रालाई नियात्राको रूप दिएका छन् । यहाँ ती भूगोल वा स्थलसँगै त्यहाँको जनजीवनलाई पनि पढ्न पाइन्छ । जब निबन्धले भूगोलका साथै लेखक पुगेका ठाउँको जनजीवन र संस्कृति पनि समेटिन्छ तब त्यो कृति बहुआयामिक बन्दछ ।
प्रस्तुत सङ्कलनमा स्गर्गद्धारीको स्वर्ग, टनकपुरमा टनटनी दुःखेको टाउको, सम्झनाका तप्केनीमा मेरो हलेसी, कस्तो मोहनी लायौ नि पाथीभरा ! फर्कनै मन लागेन नि खप्तड !, भाग्यमानी भोजपुर ः अभागी भोजपुर, काठमाडौँको नाकले पाथीभरा फेदिमा श्वास फेर्दा, गोडलागैछी जनकपुर, हिमाल बोक्न मन थियो नि घले गाउँ, बाग्लुङ बेनी घुमेर आउँदा, सम्झनामा मनाङ तिर्सनामा मस्र्याङ्दी, रारा तालको काल्लाभित्र कर्णाली कहर, उठ्तै थियो जिरी कङ्क्रिट भएर, तामाकोशीको फन्कोले दिएका यादहरू, सम्झनाका तरेली, दलचोकी मनकामना जस्ता निबन्ध रचना समेटिएका छन् । यी शीर्षकले नै कहाँ कहाँका यात्रा संस्मरण वा नियात्रा समेटिएका छन् भन्ने सङ्केत पाठकलाई गरेका छन् । यस्तो सङ्केतले आफ्नो रुचिको निबन्ध पढ्न पाठक स्वतन्त्र भएका छन् । कुनै पनि विधाको सङ्कलनले यस्तो सुविधा दिइरहेका हुन्छन् ।
प्रस्तुत कृतिमा समेटिएका नियात्रा स्थानका दृश्यावलोकन र भ्रमणका वर्णनमा केन्द्रित रहँदा रहँदै पनि तिनमा स्थानीय रङको रागात्मक प्रस्तुति पाइन्छ । स्थानीय प्रकृति र संस्कृतिलाई घोल्दै त्यस ठाउँको वर्णन र त्यहाँका मानिसहरूको प्रस्तुति गर्ने शैली निकै रोचक लाग्छ । यी नियात्राले ठाउँमा पुगेर फर्किएको विवरण मात्र नभई त्यहाँका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय एवम् पर्यावरणीय जस्ता बहुआयामिक पक्षलाई समेटेका छन् । यसले यी निबन्ध रचनाहरू यात्रा विवरणमा मात्र केन्द्रित नभई बहुआयामिक ज्ञानसहित उज्याला बनेका छन् ।
प्रस्तुत निबन्ध कृतिभित्र गाइवस्तुले अन्न बाली खाइदिएका निहुँमा मानिसले झगडा गरेका कमजोर चेतनाका बहुमुखी पक्षदेखि प्रहरी हिरासतमा रहेको व्यक्ति पिटाइ नखाई अनुसन्धानबाट छोडिएका उच्च मानवीय पक्षसम्मका घटना समेटिएका छन् । यस अर्थमा लेखकको दृष्टि सामान्य विषय देखि उच्च विषयसम्म पुगेको देखिन्छ । भूगोल र संस्कृतिका साथै नेपालका विशेषता झल्काउने विविध पक्ष यस एउटै कृतिमा पढ्न पाइन्छ ।
प्रस्तुत संस्मरणहरू लेखकका विदेशको बसाईपछि स्वदेश फिर्ती र भ्रमणका संस्मराणहरू हुन् । त्यसले गर्दा लेखक आफ्नो जन्मभूमिको प्रकृतिसँग निकै मोहित देखिन्छन् । उनी लामो समय हराएको बालक आफ्नी आमा भेट्टाएर आमाकै काखमा लटपटिइरहेझैँ प्रकृतिका काखमा लुटुपुटु गरिरहेका भेटिन्छन् । त्यसबेला केही कोमल भाषा र केही चर्को भाषा पनि बोल्नु स्वाभाविक लाग्छ । यहाँ केही आलोचना र केही समर्थन पालो गरी गरी आइरहेका हुन्छन् । उनी विदेशमा देखेका विकास निर्माण र नेपालका अवस्थासँग तुलना गरिरहेका हुन्छन् । उनी बारम्बार हीरा पाएर चाल नपाउने नेपाली शासकप्रति आक्रोश पनि व्यक्त गरिरहेका हुन्छन् । यी पक्ष प्रासङ्गिक र सान्दर्भिक रूपमा मात्र आएका छन् ।
प्रस्तुत सङ्ग्रहका रचनामा उक्त विविध पक्ष हुँदाहुँदै मूलतः आफ्नै माटोको सुवास, खुसी र दुःखका बहुविध पक्ष पनि छन् । यहाँ यात्राका क्रममा हुने शारीरिक दुःखभन्दा पनि मानसिक र चिन्तनप्रधान दुःखको शृङ्खला छ । यस अर्थमा घलेगाउँ, भुजुङ जस्ता ठाउँमा देखिएका विदेशी संस्कृतिप्रतिको मोह, र मौलिक र निजी संस्कृतिको पलायन हुँदै गएको चिन्ता निकै जीवन्त रूपमा प्रकट गरिएको छ । लेखकको बसाई विदेशमा हुँदा यी र यस्ता विषयहरू लेखकका देशभक्ति वा नेपाली संस्कृतिका अन्धभक्ति हुन् भन्ने आरोप लाग्न सक्ने सम्भावना पनि छ ।
यी रचनामा लेखकले नेपालका गाउँको विकास गाउँले मोडलमा हुनुपर्ने विचार राखेका छन् । त्यसरी गाउँको विकास हुन नसकेको पक्षलाई लेखकले आफ्ना जीवनका अनुभव र आफूले देखे बुझेका ठाउँबाट बारम्बार दोहोर्याएका छन् । उनका दृष्टिमा नेपालको विकासका नाममा गाउँको विकास असाध्यै देखावटी मात्र भएको छ भन्ने देखिन्छ ।
लेखक नेपालका ग्रामीण भेगको भ्रमणका क्रममा नेपाली नारीहरूका अवस्था उठिनसकेका पक्षमा पनि दृष्टि पुर्याउँछन् । देशमा केही नारीहरू उच्च पदमा पुगे पनि ग्रामीण भेगका प्रयः नारीहरूको अवस्था जहाँसुकै उस्तै दुःखद रहेको पक्ष दोहोर्याइरहन्छन् । आफ्ना देश विदेशका अनुभवलाई केन्द्रमा राख्दै कमजोर खानपिन र कठोर श्रमले आफ्ना दाजुभाइ दिदीबहिनी पिल्सिएको देख्छन् र तिनीहरूप्रति सहानुभूति प्रकट गर्दछन् ।
निबन्धलाई कतिको प्रभावकारी बनाउने भन्ने कुरा सम्बन्धित निबन्धको भाषाशैलीमा भर पर्दछ । पोखरेलको भाषा केही विवरणात्मक वर्णनात्मक रहेर पनि साहित्यिक मूल्यको रक्षा गरिरहेकको भेटिन्छ । उनको यो कृति पहिलो निबन्धकृति भए पनि उनको लघुकथा साधना र सम्पादन साधनाले भाषा खारिएको देखिन्छ । स्थानीय भाषा, भाषिका र लोक लवज एवम् मिथकहरू दोहोरिएर आइरहन्छन् । कतिपय ठाउँमा पौराणिक मिथकहरू र ऐतिहासिक मिथकहरूले पनि सान्दर्भिक रूपमा समेटिएका छन् । यस्ता स्थानीय, ऐतिहासिक एवम् पौराणिक सन्दर्भको संयोजनले कृतिलाई गुगल सर्च गर्दा भेटिने वर्णन जस्तो नबनाई वास्तविक भूगोलको साहित्य बनाएको छ ।
नियात्रा यात्रासाँगसँगै सम्बन्धित सन्दर्भहरूको संयोजन पनि हो । यात्रा र यात्राकारका अनुभूतिहरूको संयोजन पनि हो । तिनमा मिसिएको लेखकको मनोविज्ञान, सम्बन्धित परिवेशजन्य अनुभूतिसमेतले कृतिलाई पठनीय बनाएका छन् । ठाउँ ठाउँ लेखकले वस्तुगत चित्रण भन्दा पनि बाह्य प्रसङ्ग जोड्दा अनावश्यक सन्दर्भ जस्तो लाग्दा लाग्दै र कतै कतै उच्च कलात्मक भाषा बन्न नसकेको जस्तो लाग्दा लाग्दै पनि यो नियात्रा कृति उल्लेख्य बनेको छ । यात्रा विवरणमा निबन्धकलाको संयोजन हुन सकेकै देखिन्छ ।