मधुसूदनप्रसाद लामिछाने मूलतः बालसाहित्यकार हुन् । उनका बालसाहित्यका विभिन्न विधाका दर्जनौँ कृति प्रकाशित छन् । उनी एकपछि अर्को बालसाहित्यिक कृति लिएर निरन्तर देखा परिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘घ्याम्पे र भुन्टी’ शीर्षकको कथा समेटिएको छ । यस कथाबाट पृथ्वीनारायण शाहका विम्बबाट राष्ट्रिय विभूतिको सम्मान गर्न बालबालिकालाई सिकाइएको छ ।
-सम्पा. |
घ्याम्पे र भुन्टी बेलुका सल्लाह गरे । भोलि सरकारले सार्वजनिक बिदा दिएको छ । ‘यसो करेसाबारीमा मौसम अनुसारको सब्जी रोप्नु पर्यो भुन्टी’, घ्याम्पेले भन्यो । भुन्टीले पनि सहमति जनाई ।
नजिकै छोराछोरी पनि टिभी हेरिरहेका थिए । सानी छानेरीले सोधी– भोलि के भएर बिदा भो बाबा ? उसकी आमा बाबा दुवै सरकारी जागिरे हुन् । उनीहरू राम्रै ओहदामा काम गर्छन्।
आमाले छोरीको प्रश्नमा जवाफ दिँदै भनिन्- भोलि पुस २७ गते पृथ्वी जयन्ती हो नि त ।
छोरीले फेरि सोधी- त्यो भनेको के हो र ?
अब आमाले अर्थ्याउँदै भन्न थालिन्- धेरै वर्ष पहिले हाम्रो नेपाल ससाना राज्य थिए। जस्तै- भक्तपुर राज्य, ललितपुर राज्य, पाल्पा, सल्यान यी यस्ता अहिले नेपालका जिल्ला भनेका ठाउँमा राजाहरूले राज्य गर्थे। पृथ्वीनारायराा शाहले आफू गोरखाको राज्यमा भए पनि सबै साना राज्यलाई एउटै बनाउने उद्देश्यले लडाइँ गर्दै राज्य जित्दै आफ्नो बनाए । अनि नेपाल एउटै सिङ्गो राज्य भनेर घोषणा गरे। यस्तो साहसिलो काम गर्दा उनलाई उचित सल्लाह र सहयोग गर्ने बिषे नगर्चीलाई पनि बिर्सन सकिदैन। पछि उनका छोरा नातिले पृथ्वीनारायण शाह जन्मिएको दिन पुस २७ गते उनको सम्झनामा सार्वजनिक विदा दिने घोषणा गरेका थिए।
यति सुनि सकेपछि छोराले सोध्यो– अनि अहिले बिदा दियो भन्नुहुन्छ त ?
उसको उत्सुकता मेटाउँदै बुवा घ्याम्पेले भने– लोकतन्त्र गणतन्त्र भन्दै राज्य सत्ता नै नराख्ने परिस्थिति आयो। अनि राजाका सट्टा राष्ट्रपति भए। राजाका सन्तानहरूको नामको बिदा पनि हटाउँदै गए। कति ठाउँमा त उनीहरूका शालिक पनि भत्काए। अहिले आएर त्यो बेलामा पृथ्वीनारायण शाहले एकीकरण गरेको काम राम्रै रहेछ भन्ने ठानेर होला फेरि बिदा दिने निर्णय गरे।
साना छोराछोरी यति बेलासम्म आमा बाले बताएकफ कथा सुनेर घत मानीमानी सही थापिरहेका थिए। आमाले भनिन्– अब राति अबेर भो । तिमीहरू पनि सुत। म भोलि समाचार टिभीले भनिरहँदा पृथ्वीनारायण शाहको शालिकमा ठूला ओहदाका मानिसले माला लगाइ दिन्छन् । त्यो पनि तिमीहरूलाई देखाइ दिउँला। ल अब अहिले सुत।
बाबा घ्याम्पेले पनि यसो भने पछि दुबै छोराछोरी अब भोलि कति बेला त्यो पृथ्वीको शालिकमा माला लगाएको हेर्न पाइने हो भनी खुल्दुली मनमा लिई सुते ।