नारायणप्रसाद होमगाई भारतको कोलकातामा रहेर बहुमुखी ढङ्गले नेपाली साहित्यका क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘भारतमा नेपाली भाषा विकास मञ्चमञ्चले लिएको तत्परता’ शीर्षकको लेख समेटिएको छ । यस लेखले भारतमा नेपाली भाषा विकास मञ्चले लिएको तत्परताको चर्चा गर्दै त्यो तत्परता आशालाग्दो र योजनाबद्ध रहेको निष्कर्ष निकालिएको । यस लेखका अनुसार नेपाली भाषाको विकास र यसको विकासका लागि आवश्यक सामग्री र पूर्वाधार निर्माणमा टेवा पुग्ने कुरा उल्लेख गरेको छ ।
-सम्पा. |
भारतमा नेपाली भाषाले संवैधानिक स्वीकृति पाप्त गरेको तीन दशकभन्दा बढी भइसकेको छ । तैपनि यसको समुचित कार्यनयन भने हुन नसकेको देखिन्छ । यसै सिलसिलामा भारतीय नेपाली शब्दकोशलाई संस्थागत गर्ने उद्देश्यसाथ ६ र ७ नोभेम्बर, २०२२ का दिन आसामको गुवाहाटी विश्वविद्यालयमा एउटा अन्तर्राष्ट्रिय साहित्य सङ्गोष्ठीको आयोजना गरियो । त्यस आयोजनामा सहभागी हुने निमन्त्रणा मलाई इमेलबाट प्राप्त भयो । भारतीय नेपाली भाषाचिन्तकका नाताले मैले त्यहाँ प्रवेश गर्ने अवसर पाप्त गरेको थिएँ । यो दुई दिने अन्तर्राष्ट्रिय सङ्गोष्ठी गुवाहाटी विश्वविद्यालयका प्राध्यापक डा. खगेन शर्माको अगुवाइ र संयोजकत्वमा त्यसै विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागले आयोजना गरेको थियो ।
यस सङ्गोठीको दौरानमा दुईवटा महत्त्वपूर्ण निर्णय भएका थिए । पहिलो भारतमा नेपाली शब्दकोश र विश्वकोश निर्माणसम्बन्धी योजना बनाएर अघि बढ़ने र दोस्रो भारतमा नेपाली भाषा विकासको लागि सर्वभारतीय स्तरको संस्था निर्माण गर्ने । त्यहाँ संस्थाको नाम नेपाली भाषा विकास परिषद भनेर तय गरे तापनि प्राविधिक कार्य मिलाउन पछि यसलाई नेपाली भाषा विकास मञ्चको नाममा दर्ता गर्ने काम भयो ।
यस कार्यक्रममा नेपालका साथै भारतका विभिन्न प्रान्तबाट र थाइल्यान्डबाटसमेत उपस्थित भएका विश्वविद्यालयका प्राध्यापकहरू, एकेडेमीका प्रतिनिधिहरू तथा भाषासम्बन्धी आइटी विज्ञहरूसमेत र भाषाविज्ञहरूसमेत उपस्थित रहेको सो सङ्गोष्टीको उद्घाटन प्रमुख अतिथि नेपाल प्रज्ञा– प्रतिष्ठानका निमित्त सदस्यसचिव प्रा.डा.हेमनाथ पौडेलले पानसमा दीप प्रज्वलन गरी गर्नुभको थियो । सो अवसरमा प्राज्ञ पौडेलले नेपाल प्रज्ञा–प्रतिष्ठानले धेरै नेपाली शब्दकोश र नेपाली बृहत् शब्दकोशहरू निर्माण गरिसकेको र यस्तै कार्य गुवाहाटी स्थित नेपाली भाषा विकास संस्था र गुवाहाटी विश्वविद्यालयले थालनी गरेकोमा धन्यवाद दिनुभयो । उहाँले यस कार्यमा बौद्धिक, प्राज्ञिक सहयोग गर्न नेपाल प्रज्ञा–प्रतिष्ठान तयार रहेको पनि बताउनुभयो । उद्घाटन सत्रमा विशेष अतिथिको आसनबाट भाषाशास्त्री प्रा.डा.माधवप्रसाद पोखरेल, प्रा.डा.गोविन्दराज भट्टराई, सिक्किम एकेडीका अध्यक्ष एस.आर सुब्बा, दार्जिलिङ नेपाली एकेडेमीका अध्यक्ष डा.गोकुल सिन्हा र नेपाली प्रकाशन असमका अध्यक्ष डी.बी क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा एवम् साहित्य अध्ययन विभागका प्रमुख प्रा.डा.अनुराधा शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त उद्घाटन सत्रको सहजीकरण विभागका सदस्य एवम् सङ्गोष्ठीका संयोजक डा.खगेन शर्माले गर्नुभएको थियो । त्यस कार्यक्रमले भारतीय नेपालीभाषीहरूमा नयाँ आजा जागृत गर्यो ।
त्यसै दिन अर्को सत्रमा शब्दकोश निर्माणका बारेमा प्रा.डा.माधव पोखरेलले विश्वकोशको निर्माणका बारेमा, प्रा.डा.गोविन्दराज भट्टराईले र शब्दकोश निर्माणको प्राविधिक पक्षका बारेमा प्रा.डा.बलराम प्रसाईँले कार्यपत्र प्रस्तुत गर्नुभयो । दोस्रो दिनको पहिलो सत्रमा विश्वकोशको इतिहास र नेपालमा भएका प्रयासहरूका बारेमा प्रा.डा.हेमनाथ पौडेलले र नेपाली शब्दकोशको निर्माण र विकासका बारेमा डा.यज्ञेश्वर निरौलाले आआफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ७ नोभेम्बरको दिन दोस्रो सत्रमा नेपाली दूतावास नयाँ दिल्लीबाट आनन्द शर्मा र विशेश्वर प्रसादकोइराला फाउन्डेसनका सचिव बिजयकुमार राउतले यस कार्यलाई सम्बोधन गर्दै दूतावास र फाउन्डेसनको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । त्यसपछि सामूहिक छलफल र मार्गचित्र निर्माण गरी गोष्ठीको समापन भएको थियो ।
त्यस कार्यक्रमको लगत्तैपछि नेपाली भाषा विकास मञ्चले डिजिटल बैठकद्वारा भारतीय नेपाली शब्दकोष निर्माणको लागि सिलगढीमा २५ र २६ फरवरी, २०२३ का दिनहरूमा कार्यशाला गोष्ठीको आयोजना गर्ने, अनि उक्त कार्यलाई सहयोग पुर्याउन र नेपाली भाषा विकासको लागि छलफल एवम् प्रत्यक्ष भेटघाट गर्ने योजनासहित जनवरी दोस्रो सप्ताह प्रतिनिधि मण्डल दिल्ली जाने निर्णय गरेको थियो । संस्थाको संरक्षकको नाताले मलाई कोलकाताबाट दिल्ली आउनको निम्ति डा. खगेन शर्माले अनुरोध गर्नुभएको थियो र दिल्लीमा मेरो आफ्नै व्यक्तिगत काम पनि भएकाले मैले त्यसलाई स्वीकार गदै उहाँहरूभन्दा एक हप्ताअघि नै दिल्ली आइसकेको थिएँ ।
यहाँ दिल्लीका कतिपय मन्त्रालय र भाषाविज्ञानसँग सम्बन्धित संस्थाहरूलाई भेट्ने जानकारी डा शर्माले इमेलद्वारा गरिसक्नुभएको रहेछ । यसै भेटघाट र प्रत्यक्ष संवादको कामलाई पूर्णतादिन ९ जनवरी २०२३ मा दिल्लीको जनपथ, शास्त्री भवनमा हामी नेपाली भाषा विकास मञ्चका अध्यक्ष डा.गोकुल सिन्हा, म संरक्षक नारायणप्रसाद होमगाई, महासिचव डा.खगेन शर्मा, सचिव डा.टीबी छेत्री र सहसचिव रामकुमार कार्की भेला भयौं । त्यहाँ भेट्न चाहेको व्यक्तिको समय नमिलेपछि हामी नेपाली राजदूतावास बाह्रखम्बा रोड पुग्यौँ र नेपालका राजदूत डा.शङ्करप्रसाद शर्मासँग मञ्चले अघिसारेका योजनाको जानकारी गरायौँ ।
त्यहाँ पुग्दा हामीसँग हुनुहुन्थ्यो नेपाली भाषाकै लागि देहरादूनका संस्थासँग जोडिनु भएका व्यक्तित्व श्याम राणा । महामहिम राजदूतले हाम्रा कुरालाई सकारात्मकरूपमा लिनुभयो, त्यसपछि बीपी.के.एफ.का सचिव विजयकुमार रावतलाई भेट्ने काम भयो । उहाँले हामीलाई भारतबाट नेपाली शब्दकोश लेखनको प्रारम्भलाई सकारात्मक सहयोगको आश्वासन दिँदै फरवरीमा आयोजित हाम्रो कार्यक्रममा सिलगढी आउने निमन्त्रणालाई स्वीकार्नुभयो ।
हाम्रो दोस्रो दिन अथवा १० जनवरीको कार्यक्रम रामकृष्ण पुरममा Commission for Scientific and Technical Terminology, CSTT मा थियो । त्यहाँ पारिभाषिक शब्दावलीको शृङ्खला सुरु गर्न तीनवटा विषय छानियो, राजनीतिविज्ञान, इतिहास र वनस्पतिविज्ञान । छलफल गर्दा ऋक्त्त्को प्राविधिक पक्षलाई ध्यान दिएर तीनवटा विषयमा पहिलो कार्यशाला गान्तोकमा गरिने निर्णय भयो । उक्त कार्यको डा. टेकबहादुर छेत्रीले स्थानीय संयोजन गर्नु हुने, त्यसपछि अरू विषयमा हात हाल्ने निर्णय भयो । हामी साङ्गठानिक रूपमा चासो लिएर गएकामा CSTT का अधिकारीहरू सारै खुसी भएका थिए । अरू पनि धेरै काममा हाम्रा आफ्नै भाषाका लागि हामीले उनीहरूलाई सघाउनु पर्ने कुरा राखेका थिए, हामीले हुन्छ भन्यौं ।
हिन्दी निर्देशालयले उनीहरूको पत्रिकामा भारतको नेपाली भाषालाई विदेशी भाषाको शृङ्खलामा राख्ने गरेकोमा आपत्ति गरी सुधार्न भनियो । उनीहरूले पनि त्यसमा सुधार ल्याउने सहमति जनाए । हिन्दी निर्देशालयमा आजभन्दाअघि केहीले व्यक्तिगत रूपमा सघाइराखेको अवस्थामा हाम्रो राष्ट्रिय सङ्गठन नै नेपाली भाषाका लागि सहयोग गर्न पुगेकामा उनीहरू खुसी भए । आउँदा दिनहरूबाट हिन्दी निर्देशालयले हामीसित सम्पर्क राख्ने सल्लाह भयो ।
त्यसपछि हामी ल्व्ग् मा नेपाली भाषा संस्कृति केन्द्र Centre for Nepali Language and Culture स्थापना गरिदिन औपचारिक मागसहितको पत्र लिएर गएका थियौँ, निर्देशक विद्यार्थीसँग अन्तर्वार्तामा व्यस्त रहेकोले फोनद्वारा सम्पर्क गरी, रिसिभिङ्ग सेक्सनमा बुझाएर हिड्ने काम गर्यौं । यसबारे सबै प्राविधिक पक्ष विचार गरी विवेचना गर्दै जाने बाटो खुल्योजस्तो लाग्यो ।
त्यसपछिको कार्यक्रम थियो Indian Council for Cutural Relations-ICCR, Ministry of External Affairs, Government of India मा । त्यहाँ हामीले सम्पर्क गर्दा दुईवटा विभागको जानकारी भयो । प्रथम भारतभन्दा बाहिरबाट आएका स्कलरहरूलाई हेर्ने विभाग र भारतभरिबाट आएका विविद भाषी साँस्कृतिक कर्मीहरूलाई हेर्ने विभाग । त्यहाँ रहेकी महिला अधिकारीसँग अबदेखि नेपाली गीत नृत्यले भारतलाई प्रतिनिधित्व गर्दै विदेश जान के कसो गर्नुपर्ने रहेछ भन्ने बारे छलफल भयो । यहाँ पनि व्यक्तिगतभन्दा हामी साङ्गठनिक रूपमा सल्लाह गर्न गएकामा उनीहरूलाई सजिलो भएको अनुमान गर्न सकिन्थ्यो । हामी जहाँ पनि जाँदा आसाम, दार्जिलिङ, सिक्किम, कोलकाता र दिल्लीको प्रतिनिधित्व रहेको स्पष्ट हाम्रो परिचयले दर्शाउने गर्दथ्यो ।
नेपाली भाषा विकास मञ्चले आगामी फरवरी २५–२६, २०२३ को दिन सिलगढीमा भारतबाट संस्थागत नेपाली शब्दकोश र स्थाननामकोशका निम्ति प्रशिक्षण कार्यक्रम आयोजन गर्ने तय भएको छ । यसका लागि सो दिन दिशा निर्देशन गरिने र शब्द सङ्कलन–लेखन कार्य पनि थालिने छ । त्यसैले धेरैजना शब्द सङ्कलकको खाँचो पर्ने देखिन्छ । त्यहाँ विश्वकोशका निम्ति हुँदै गरेको प्रगति पनि छलफल गरिने छ । थप कार्ययोजनाअनुसार केही व्यक्तिलाई केही विशेष कार्य सुम्पिने सोच रहेको कुरा महासचिव डा.खगेन शर्माले जानकारी दिनुभएको छ । सिलगढीमा हुने सो कार्यक्रममा सिक्किम, दार्जिलिङ, आसामलगायतका चारै क्षेत्रका सांसदहरूलाई र सम्भव भएमा सिक्किमका सम्माननीय मुख्यमन्त्रीलाई पनि निम्ताइने, किनकि उहाँहरूको सहयोगमा केही ठुला कार्य सम्पादन सम्भव हुने जानकारी महासचिवले दिनुभएको छ ।
यी विभिन्न गतिविधिले भारतमा नेपाली भाषा विकास मञ्चले लिएको तत्परता आशालाग्दो र योजनाबद्ध छ । यसबाट नेपाली भषाको विकास र यसको विकासका लागि आवश्यक सामग्री र पूर्वाधार निर्माणमा टेवा पुग्ने देखिन्छ ।