हिक्मत थापाको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी विदेशमा रहेर पनि नेपाली भषा साहित्य र संस्कृतिमा समर्पित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा थापाको अफ्रिकामा नेपाल शीर्षको सांस्कृतिक लेख समेटिएको छ ।
-सम्पा. |
अफ्रिकामा नेपालीहरू कहिले आए होलान् । ठ्याक्कै त कतै अभिलेख भेटिएन । त्यै पनि १९ औँ शताब्दीमा जब भारतीयहरूलाई अङ्ग्रेजहरूले दक्षिण र पूर्वअफ्रिकामा कामदारका रूपमा ल्याउन थाले । त्यसै बेला पनि भारतीयहरूको हुलमा केही नेपाली आएका हुन सक्छन् । तर तिनका बारेमा अहिलेसम्म कतै केही जानकारी भेटिएको छैन । पछिल्लो पटक सन् १९७० को दशकदेखि नेपालीहरू संयुक्त राष्ट्र सङ्घीय र यस्तै अन्तर्राष्ट्रिय गैरसरकारी निकायहरूमा विशेषज्ञका रूपमा फाट्टफुट्ट आउन थालेका हुन् । त्यसै बेलादेखि नै दक्षिणअफ्रिकामा केही नेपाली चिकित्सकहरूसमेत सपरिवार यता आउन थाले । अहिले उनीहरूको दोश्रो पुस्तासमेत यतै जन्मी, हुर्की यतैका नागरिकका रूपमा आफ्नो पहिचान बनाउने तर्फ छन् ।
भारतीय समुदायका विशेषत गुजराती र सिन्धीहरूको पाँचौँ÷छैटौँ पुस्ता साउथ अफ्रिका, घाना, जाम्बिया, मदागास्कार, तान्जानिया, केन्या, नाइजेरिया, सियरालिएन, युगान्डा, मोजाम्बिकतिर समयक्रममा उद्योग र व्यापारमा स्थापित हुँदै गए । जब उनीहरूले बिसौँ शताब्दीको अन्ततिरबाट दक्ष जनशक्ति भारतबाट ल्याउन थाले त्यही हुलमुलमा भारत प्रवासमा रहेका नेपालीहरू जागिरेका रूपमा अलि ठुलो सङ्ख्यामा यहाँ आउन थालेका हुन् । त्यसैले नेपाली अलि चिनिने गरी अफ्रिकामा आउन थालेको सन् १९७० को दशकलाई मान्नु पर्ने हुन आउँछ । ठुलो ठुलो
अहिले दक्षिणको दक्षिणअफ्रिका, पूर्वको केन्या युगान्डादेखि पश्चिमको नाइजेरिया घानासम्म नै नेपालीहरू बढ्ने क्रम जारी छ । हिन्द महासागरका बिचका अफ्रिकन टापुहरू मदागास्कार, सेसेल्स र मारिशशमासमेत उल्लेख्य सङ्ख्यामा कामका लागि नेपालीहरू आएका छन् । यकिन तथ्याङ्क नभए पनि दश हजार भन्दा बढी नेपालीहरू अहिले अफ्रिकाका लगभग सबै देशहरूमा फैलिएका छन् । दक्षिण अफ्रिकाभन्दा बाहेकका मुलुकमा प्रायः पहिलो पुस्ताका प्रवासी भएकाले नेपाली भाषा र संस्कृतिको उनीहरूमा त्यतिकै लगाव छ ।
गैरआवासीय नेपाली सङ्घको स्थापनापछि अफ्रिकामा नेपालीहरू खोज्ने, समेट्ने र यसलाई सङ्गठित गर्ने कार्यहरू सुरु भए । सन् २००७ तिर दक्षिणअफ्रिका र तत्कालीन स्वीजरल्यान्डमा भीम उदासको पहलमा र नाइजेरियामा हिक्मत थापाको पहलमा यसका राष्ट्रिय समितिको स्थापना भयो । थापाकै अग्रसरतामा यसपछि केन्या, युगान्डा, कङ्गो, तान्जानिया, घाना, मदागास्कार, जाम्बिया, बोत्स्वाना, मलावी, इकोटीरियल, गुयाना, मोजाम्बोके, रुवान्डा, सिसेल्सलगायत देशहरूमा यसका शाखाहरू खुले । बास्तवमा मानवीय कार्यहरूका साथसाथै यी शाखाहरूले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रबद्र्धन गर्न विविध कार्यक्रमहरू गर्दै आइरहेका छन् ।
यी शाखाले नेपाली चाड पर्व दशैँ, तिहार आदि सामूहिक रूपमा मनाउने, भाषा साहित्य सम्बन्धी कार्यहरू गर्ने, नेपालबाट राष्ट्रिय स्तरका कलाकारहरू बोलाई कार्यक्रमहरू गर्ने आदि कार्य गर्दै आएका छन् । नेपाली तथा प्रवासी लेखकका पुस्तकहरू पनि यी शाखाहरूले प्रकाशन गर्दै आएका छन् ।
यसैगरी भाषा साहित्यमा अभिरुचि राख्ने यताका नेपालीहरूले नेपाल अफ्रिका सहित्य समाजसमेत गठन गरेका छन् । जसले सन् २०१६ मा जिवा लामिछानेको सरसर्ती संसारको तान्जानियाको दार– ए –सलाममा अफ्रिका विमोचन र परिचर्चा गरेको थियो । हिक्मत थापाको चिबोकका केटीहरू कविता सङ्ग्रहको २०१८ मा युगान्डाको कम्पालामा अफ्रिका विमोचन र परिचर्चा गरेको थियो । योसँगै सन् २०२० मा अन्तर्राष्ट्रिय साहित्य समाजको अफ्रिका च्याप्टरको गठन भएपछि साहित्यिक कार्यक्रमहरू तदारुकताका साथ बढिरहेका छन् । च्याप्टर अफ्रिकामा रहेका नेपाली साहित्यकारहरूलाई समेटेर साझा कृति प्रकाशनमा अहिले जुटेको छ । अहिले अफ्रिकाका कुल ५४ वटा देशमध्ये ४० भन्दा बढी देशहरूमा नेपालीहरू सानै सङ्ख्यामा भए पनि फैलिइसकेका छन् । दक्षिण अफ्रिकामा त नेपालीको तेस्रो पुस्तासमेत बढ्दैछ ।
नेपालीहरूले दक्षिण अफ्रिका, केन्या, मदागास्कारलगाएतका देशहरूमा त्यताकै नागरिक बन्ने (अर्थात् पासपोर्ट लिने) क्रम पनि बढिरहेको छ । नेपाली र अफ्रिकीबिच वैवाहिक सम्बन्धहरू पनि बढिरहेका छन् । जसले नेपाली र अफ्रिकी संस्कृतिलाई दुबैतिर प्रबद्र्धन गरिरहेको छ । समष्टिमा नेपाली डायस्पोरा रोजगारीको क्रममा फाट्टफुट्ट गरी अफ्रिका पस्दै रोजगारी र व्यवसायी बनेर अफ्रिकामा फस्टाउँदो छ । जसले नेपाली भाषा, साहित्य र संस्कृतिलाई पनि यो अजङ्गको महादेशमा नजानिदो गरी स्थापित गराउँदैछ ।