म्धुसूदन लामिछाने नेपाली साहित्यका मूलतः कविता विधामा सुपरिचित प्रतिभा हुन् । उनी शास्त्रीय लयढाँचाका सुमधुर कविता रचना गर्न सक्छन् । साहित्यसागरमा उनका कविता रचनाहरू प्रशस्त प्रकाशन भइसकेका छन् । प्रस्तुत शृङ्खलामा भने उनको ‘ को हुन् हाम्रा प्यारा बालबालिकाहरू ?’ शीर्षकको लेख समेटिएको छ । |
आहा ! यी सानासाना बालबालिकाहरू हाम्रा आँखाका नानी हुन् । मुटुका धड्कन हुन् । हाम्रा गहना र गौरव हुन् । यो राष्ट्रका अमूल्य सम्पति हुन् । यी बालबालिका आजका साना नानीमात्र होइनन् । भविष्यका अनमोल रत्न हुन् । यिनै बालबालिकाहरू भोलिका विलियम सेक्सपियर हुन् । अनि चाल्स डिकन्स हुन् । लियो टाल्सटोइ र पावलो कोएल्हो हुन् । एनी फ्र्याङ्क जस्ता विश्व साहित्यकार हुन् । साथै नेपाली भाषा सहित्यमा कलम चलाउने लक्ष्मीप्रसाद देवकोटा हुन् । बालकृष्ण सम र लेखनाथ पौडेल हुन् । माधव प्रसाद घिमिरे जस्ता थुप्रैथुप्रै साहित्यकार हुन् ।
यतिमात्र कहाँ हो र ? विश्वप्रख्यात वैज्ञानिक अल्बर्ट आइन्टाइन हुन् । आइज्याक न्युटन अनि म्यारी क्युरी हुन् । स्टेफन हकिङ्ग हुन् । थोमस एडिसन जस्ता चर्चित वैज्ञानिकहरू हुन् ।
प्रख्यात खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी हुन् । सन्दीप लामिछाने अनि सचिन तेन्दुल्कर हुन् । त्यस्तै माइकल जोर्डन जस्ता खेलमैदानका महारथीहरू पनि हुन् ।
देश र देशवासीहरूलाई आफ्नो मुटुभन्दा बढी माया गर्ने मार्टिन लुथर किङ् जुनियर र अब्राह्मण लिङ्कनजस्ता राजनीतज्ञहरू हुन् । बाराक ओबामा तथा नेल्सन मण्डेला जस्ता विश्वमै चर्चित राजनेताहरू हुन् । वि.पी. कोइराला जस्ता महान् राजनीतिज्ञ हुन् ।
फ्लोरेन्स नाइटिङ्गेल र मदर टेरेसा जस्ता समाजसेवी नारी हुन् ।
यो राष्ट्र हाँक्ने सफल प्रशासक हुन् । न्याय दिने न्यायमूर्ति हुन् । कलाकार, चित्रकार, मूर्तिकार अनि सङ्गीतकार तथा गायक हुन् । बल र विवेकका पुञ्ज हुन् । अनन्त सम्भावनाका शिखर हुन् ।
आजका गुरु तथा गुरुआमाहरूले यी बालबालिका भित्र रहेको प्रतिभा तथा क्षमतालाई बालमनोविज्ञानका माध्यमबाट राम्ररी पहिचान गर्नुपर्छ । उनीहरूको इच्छा, भावना र चाहनालाई कदर गरी समय सापेक्षको ज्ञान प्रदान गर्नु आजको आवश्यकता हो ।
विराट शक्ति बोकेर आएका यी बालबालिकाहरूलाई शिक्षासँगसँगै संस्कारको आवश्यकता पनि पर्दछ । केही संस्कारहरूको चर्चा यसरी गरिन्छ ।
(क) नमस्कार तथा प्रणाम गर्ने तरिका
गुरु तथा गुरुआमा, मातापिता र आफूभन्दा ठूला वा मान्यजनहरूलाई अभिवादनका रूपमा नमस्कार तथा प्रमाण गर्नुपर्छ । नमस्कार तथा प्रणाम यसरी गर्नुपर्छ : हातका दुई बुढी औलालाई हृदयमा टाँसेर हातका अन्य आठ औँलाहरूलाई एक आपसमा जोडी प्रणाम वा नमस्कार गर्नुपर्छ ।
यस प्रकारको नमस्कार किन गरिन्छ ?
हाम्रो शरीर पृथ्वी, जल, तेज, वायु, र आकास गरी पाँच प्रकारका तत्वहरूले बनेको हुन्छ । हाम्रा हातका औलामा यिनै पाँच प्रकारका तत्वहरूको प्रभाव रहेको हुन्छ । जस्तो बुढी औँलामा तेजतत्व, चोर औँलामा वायुतत्व, साहिली औँलामा आकाशतत्व, पैते औँलामा पृथ्वीतत्व, र कान्छी औलामा जलतत्व रहेका हुन्छन् । अतः यिनै तत्वको योग बनाई पितामाता, गुरुजनहरू तथा योगी महापुरुषहरू, ऋषिमहर्षिहरू, साधुसन्तहरू आदि सकारात्मक सोच र ज्ञानराशी भएकाहरूलाई यसरी नमस्कार गर्दा उहाँहरूभित्र रहेको ज्ञानशक्तिको भाइब्रेसन तथा ज्ञानात्मक तरङ्ग हामीमा सजिलै परावर्तन भएर आउने हुनाले हामीले यसरी नमस्कार गर्नुपर्छ ।
(ख) वाणीको प्रयोग
मुखबाट निस्कने सार्थक शब्दसमूह वा बोलीलाई वाणी भनिन्छ । हामीलाई प्रकृतिले वा परमात्माले दुईवटा कान बनाइदिएका छन् । यता यौटामात्र मुख निर्माण गरिदिएका छन् । यसले के सङ्केत गरेको छ भने सुनाइमा धेरै समय खर्च र बोलीमा थोरै समय खर्च गर । बोल्दा निकै विचार गरेरमात्र बोल । तिमीले बोलेको शब्दले अरू सुन्ने मानिसलाई नराम्रो प्रभाव पार्छ कि विचार गरेरमात्र बोल । तिम्रो बोली विषजस्तो होइन अमृत जस्तो भएर निस्कनुपर्छ । परिणाम तिम्रो बोली सुन्ने मानिस जहिल्यै पनि तिमीसँग प्रसन्न होऊन् ।
हाम्रा ऋषिमुनिहरूले सत्यं वद, प्रियं वद भन्दै सत्य बोल र प्रिय बोल भनेका छन् । सत्य बोलीमा शक्ति हुन्छ । सत्य बोल्ने मानिस कहिल्यै डराउँनु पर्दैन । भनिन्छ सत्य हो, सधैँ सत्य बोल्ने मानिससँग काल पनि डराउँछ । संसारलाई जित्न र संसारकै प्रिय हुन सत्य र प्रिय बचन बोल्नुपर्छ ।
प्यारा नानीबाबुहरू हो, तिमीहरू आजैदेखि सत्य र मिठो बोल्ने प्रयास गर है । सत्य र मिठो बोलीले नै तिमीलाई महान् बनाउने छ । तिमी सदैव सुखी हुनेछौ र तिम्रो जीवन सार्थक बन्नेछ ।