मुकुन्द पथिक (लम्जुङ) नेपाली साहित्यका सिर्जना र समीक्षा दुवै विधामा कलम चलाउने प्रतिभा हुन् । उनले कथा निबन्ध र कविता जस्ता विधामा कलम चलाउँदै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘रामप्रसादजी र श्रीमती’ शीर्षकको कथा समेटिएको छ । यस कथाले प्रेमिल एवम् रहस्यमय जीवनदृष्टिलाई अभिव्यक्त गरेको छ ।
-सम्पा. |
रामप्रसादजी आफ्नी श्रीमतीलाई एकदम माया गर्थे । उनी विवाह गरेको दिनदेखि जिन्दगीभरि सधैँ सँगै बसिरहन सफल भएका छन् । उनी एकछिन् पनि श्रीमतीलाई नलिइ बस्नै सक्दैनथे । उनी आफ्नो घरमा बस्दा, ससुराली जाँदा, कार्यालयमा काम गर्न जाँदा, चाडबाडमा कतै जानुपर्दा, किनमेल गर्दा, इष्टमित्र र साथीको घरमा जाँदा, मन्दिरमा जाँदा, स्वदेश र विदेशमा भ्रमण गर्दा मात्र नभएर कार्यालयमा जाँदा पनि श्रीमतीलाई सँगै लिएर जान्थे । समाजका सबैले उनीहरूको जोडीको प्रशंसा गर्थे ।
रामप्रसादजी र उनकी श्रीमती परेवा र चखेवाको मायालु जोडीभन्दा कम थिएनन् । उनी श्रीमतीलाई छोडेर एकलै कतै पनि जाँदैनथे । उनी आफू गएको ठाउँमा श्रीमतीलाई पनि पुर्याएरै छोड्थे । त्यति मात्र नभएर महिलाहरूको कार्यक्रममा पनि उनी सँगै जान्थे । कतिपय मानिसहरूले उनलाई ‘कस्ता मान्छे होलान् यिनी, जो एकछिन् पनि श्रीमती बिना बस्नै सक्दैनन्’ भनेर कुरा गर्थे । उनी कसैले भनेको कुरामा वास्ता गर्दैनथे । उनी यतिसम्म कि महिलाहरूले तिजको गीत गाएर नाचेको ठाउँमा पनि श्रीमती सँगै हुन्थे । यतिमात्र नभएर उनी रत्यौलीमा पनि श्रीमतीलाई लिएर जान थाले पछि महिलाहरूले खिसी गर्दै भन्नथाले — ‘हजुर महिलाहरूले रत्यौली खेलेको ठाउँमा पनि श्रीमतीसँगै आउनुहुन्छ भने अबदेखि श्रीमतीलाई पनि रत्यौली खेल्न नपठाउनुस् ।’ धेरै महिलाहरूले त्यसरी अनुरोध गरेपछि रामप्रसादजी महिलाहरूको तिजको कार्यक्रममा गए पनि महिलाहरूको रत्यौली कार्यक्रममा जान छोडे । तर उनले आफ्नी श्रीमतीलाई एकलै रत्यौली खेल्न नजानको लागि अनुरोध गर्न थाले । कहिले पनि श्रीमान्ले भनेको कुरामा नाइनास्ती गर्ने बानी श्रीमतीको थिएन ।
दिनप्रतिदिन रामप्रसादजी समाजमा लोकप्रिय हुँदै जानथाले । आफ्ना इष्टमित्र, छिमेकी, साथीभाइ, कार्यालय र समाजका विभिन्न संघसंस्थाहरूले शुभ र अशुभ कार्यक्रमहरू, चाडपर्वहरूमा, गर्भवती युवतीलाई दहीचिउरा खुवाउने कार्यक्रम, अन्नप्राशन, व्रतबन्ध, विवाह, जन्मोत्सव, अन्त्येष्टिमा, कुनै कार्यक्रमको उद्घाटन र समापन कार्यक्रम, कृतिको विमोचन, साहित्यिक कार्यक्रमहरू, सप्ताह पुराण र अनुष्ठानहरूमा, सामाजिक भेलामा र साँस्कृतिक कार्यक्रमहरूमा रामप्रसादजीलाई निमन्त्रणा आउँथ्यो । तर रमाइलो कुरा के भने निमन्त्रणाको खाममा श्रीमान् मात्र लेखिएको भए तापनि रामप्रसादजी आफ्नी श्रीमतीलाई लिएर सम्बन्धित ठाउँमा उपस्थित हुन्थे । एक दिन दुई दिन हुँदा हुँदै रामप्रसादजीको बानी समाजका धेरैले थाहा पाए । हुन पनि श्रीमतीको नाममा मात्र निमन्त्रणा पत्र आए तापनि रामप्रसादजी श्रीमतीको कार्यक्रममा हाँजिर हुन्थे ।
रामप्रसादजी आफ्नो कार्यालय जाँदा सधैं श्रीमतीसँगै जाने र फर्कदा पनि सधैं सँगै फर्कन्थे । श्रीमती कार्यालयको पुस्तकालयमा किताब र पत्रिका पढ्नुका साथै सुइटर बुनेर समय बिताउँथिन् । उनले पढ्ने किताबमा कहिले टाइप गरिएका र हस्तलिखित पानाहरू पनि भेटिन्थे । कुनै कागजमा जीवन सम्बन्धी कुरा, प्रेम सम्बन्धी कुरा, आदि हुन्थे । उनी सधैं पुस्तकालयमा पढ्न आउने कुरा थाहा पाएपछि कसैले नियतपूर्वक त्यस्ता किसिमका कागजहरू तयार गरेर विभिन्न किताबका पानामा टाँसेर राखिदिने रहेछ । गजबको कुरा उनी पढ्न बसेको ठाउँमा कहिले फलफुल, कहिले कफी, चिया र मिठा परिकारहरू पनि थाहै नपाइने गरी अगाडि आएर टेबुलमा बस्थे । कुनै मानिसले ल्याएर राखेको पनि देखिदैन । तर ती चिजहरू कसरी आफै टेबुलमा आएर बसे । यस्तो कुरा कसरी सम्भव भयो भनेर देख्ने मानिसहरू चकित पर्थे । यसलाई विज्ञानले कसरी प्रमाणित गर्न सक्छ भन्ने कुरा रहस्यमय भएको छ ।
रामप्रसादजीकी श्रीमतीले आफ्नो टेबुलमा आएका परिकारहरू कार्यालयका कर्मचारीहरूलाई दिंदा पनि सकिंदैनथ्यो । कार्यालयमा आएका सेवाग्राहीहरू पनि पेटभरि मिठो परिकार खान पाउँदा धेरै खुसी हुन्थे । यस्तो कुरा पत्रकारहरूले पनि थाहा पाए । त्यो समाचार धेरै टेलिभिजन च्यानल, रेडियो र सामाजिक सञ्जालमासमेत प्रसारण हुन थाले । थुप्र्रै पत्रिकाहरूमा राम्रा–राम्रा तस्बिरहरू सहित रोचक समाचार छापिन थाले । सेवाग्राही र पत्रकारहरू आउने र जाने क्रम बढेपछि कर्मचारीहरू पनि कार्यालयमा मन लगाएर काम गर्न थाले । हाकिमदेखि निम्नस्तरका कर्मचारीहरूले पनि आफ्नो जिम्मामा रहेका सबै कामहरू त्यही दिन सम्पन्न गर्नथाले । सरकारले रामप्रसादजीलाई विशेष नियम बनाएर दुई तह माथि बढुवा गर्यो । रामप्रसादजीकी श्रीमतीलाई पनि कार्यालयमा राम्रो पदमा नियुक्ति दिने प्रस्ताव राखियो । त्यस्तो राम्रो प्रस्तावलाई उनले सहज रूपमा अस्वीकार गरिन् । उनको भनाइ थियो ‘म मानव अधिकारको सम्मान गर्छु । त्यसैले त म सधैं स्वतन्त्र भएर बाच्न चाहन्छु, कसैको दवावमा बाँच्ने मेरो स्वभाव छैन’ ।