माधव सयपत्री नेपाली आख्यान र निबन्धका क्षेत्रमा स्थापित प्रतिभा हुन् । उनी बालसाहित्य र प्रौढ साहित्यका क्षेत्रमा निरन्तर कलम चलाइरहेका छन् । शिक्षा र साहित्य सेवामा समर्पित सयपत्रीको वास्तविक नाम माधवराज आचार्य हो । उनी निरन्तर साहित्य साधनामा छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘धर्मको नामको खोजी’ शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले मानव धर्म मानव कर्तव्य भएको पक्षलाई देखाएको छ । -सम्पा. |
फेसबुकमा खाता खोल्द, दर्ताकिताबमा आफ्नो धर्म पनि खुलाउने ठाउँ रहेछ । त्यसरी आफ्नो धर्म लेख्ने बेलामा मलाई निकै सकस पर्यो। त्यसैले त्यो दिन म खाता खोल्न छोडी, म कुन धर्मको रहेछु भनेर जान्ने प्रयाशमा लागेँ ।
आफूले नेपालीमा प्रकाशित बाइबलको केही अध्ययन गरेको र त्यसका कतिपय कुरा निकै मन परेकोले म क्रिस्तान नै हुँ कि भनेजस्तो लाग्यो । तर, त्यही बाइबलका केही कुरासँग म सहमत नरहेकोले म क्रिस्तान कसरी भएँ त भन्ने प्रश्न मेरै मनमा उठ्यो । मैले हिन्दीमा प्रकाशित कुरानको पनि केही अध्ययन गरेको र त्यसका केही कुरा निकै मन परेकोले म मुसलमान नै हुँ कि भनेजस्तो पनि लाग्यो । तर, त्यही कुरानका केही कुरासँग म सहमत नरहेकोले म मुसलमान कसरी भएँ त भन्ने प्रश्न फेरि मेरै मनमा उठ्यो । आत्माको बारेमा गीतामा भनिएको ‘ न एनम् छिन्दन्ति शस्त्राणि न एनम् दहति पावक:। न च एनम् क्लेदयन्ति आप: न शोषयति मारूत: ।।’ ( अर्थात् आत्मालाई न हतियारले नै काट्नसक्छ , न आगोले नै डढाउनसक्छ, न पानीले नै गलाउनसक्छ, न हावाले नै सुकाउनसक्छ ) आदि कतिपय कुरा मैले सदैव र सादर स्वीकार गरिआएको छु । भगवान् कृष्णका भनिएका ती वचनहरूलाई त्यसरी सहर्ष स्वीकार्ने हुनाले म आफू हिन्दू नै हुँ कि भनेजस्तो पनि लाग्यो । तर त्यस्तो अजेय आत्मालाई पनि, भोक-प्यास, घाम-पानी, गर्मी-जाडो आदिले सताउँछ भन्ने कर्मकाण्डी मार्गमा लागेर, पितृको लागि भनी पिण्ड, वस्त्र, छत्र, द्रव्य आदि दान गरिआएर मैले भगवत्-वचनको प्रतिकूल पनि गरिरहेको र मेरो अन्तस्करणदेखि नै म भगवान्को अस्तित्वमा स्पष्ट नहुँदा म कसरी हिन्दू भएँ त भन्ने प्रश्न फेरि मेरै मनमा उठ्यो । परिणामत:, आफू कुन धर्मको हुँ भनेर खुट्याउन म आफैले सकिन । त्यसैले म पादरीकहाँ पुगेँ ।
मेरो कुरा सुनेर पादरीले भने – ‘बाइबल त्यतिमात्रै भए पनि मानेकै हुनाले तिमी वास्तवमा क्रिस्तान नै रहेछौ; देश-कालले तिमीलाई भ्रममा पारेछ; आऊ, एउटा सानो प्रकृया पूरा गरेर म तिमीलाई विशुद्ध क्रिस्तान बनाइदिन्छु ।‘ चित्त नबुझेर म त्यहाँबाट मौलवीकहाँ पुगेँ । मेरो कुरा सुनेर मौलवीले भने – ‘कुरान त्यतिमात्रै भए पनि मानेकै हुनाले तिमी वास्तवमा मुसलमान नै रहेछौ; देश-कालले तिमीलाई भ्रममा पारेछ; आऊ, एउटा सानो प्रकृया पूरा गरेर म तिमीलाई विशुद्ध मुसलमान बनाइदिन्छु ।‘ त्यहाँ पनि चित्त नबुझेर म पण्डितकहाँ पुगेँ । मेरो कुरा सुनेर पण्डितले भने – ‘तिमी त झन् हिन्दूकै छोरा-नाति हौ, गीतालाई मान्छौ; तिमी हिन्दूबाहेक अर्थोक केही हुँदैहोइनौ; कुसंगतले तिमीलाई च्यूत बनाएछ; आऊ, एउटा सानो प्रायश्चित-गोदान गराएर म तिमीलाई विशुद्ध हिन्दू बनाइदिन्छु ।‘
चित्त नबुझेर मैले फेरि सोधेँ – ‘यो प्रायश्चित-गोदान नगरुञ्जेल मेरो धर्म के हुनेभयो त ?’ पण्डितले झोक्किदै भने – ‘धर्मजस्तो गहिरो कुरा तिमीले बुझ्दैनौ; इच्छा भए मैले भनेजस्तो गर, नभए जाऊ ।‘ म बाटो लागेँ । आफू के हुँ त भनेर सोच्दै म चोकमा उभिएर यताउति हेर्दैथिएँ, ठीक्क-ठीक्क भैसकेको मेरो एउटा जँड्याहा साथी मछेउ आइपुग्यो । मैले उसलाई सबै कुरा भनेँ । मेरो हात समाएर तान्दै उसले मलाई छेउको रक्सीपसलमा पुर्यायो र दराजका बोतलतिर देखाउँदै भन्नथाल्यो — ‘ ‘जुनै धर्म पनि असल बाटो देखाइदेओस् भनेरै मानिन्छ र जुनै रक्सी पनि मत्याइदेओस् भनेरै खाइन्छ । सही तरिकाले मान्दा जुनै धर्मले र सही तरिकाले खाँदा जुनै रक्सीले पनि असलै गर्छ; बेकाइदा गरेमा धर्म र रक्सी दुवैले बिसाउँछन् । जसरी रक्सीको मातको कुनै नाम हुँदैन त्यसै गरी धर्मको पनि कुनै नाम हुदैन; धर्म भनेपछि धर्म, धर्म ! तँ मानिस होस्, तेरो धर्म त्यही असल मानिस हुनु नै हो; यो नाम-सामको के अर्थ ! यी रक्सी कम्पनीका मालिक र धर्मका यी स्वयम्भू ठेकेदार एकैखाले हुन् । मेरो कम्पनीको रक्सी सबैँभन्दा राम्रो भन्दै छुट्टै नाम राखेर महँगोमा बेची मालिकहरूले आफ्नो बेपार चलाएका छन् ; मैले भनेको धर्म राम्रो भन्दै छुट्टै नाम राखेर धर्मका देकेदारहरूले पनि आफ्नै बेपार चलाएका छन्; हामीचाहिँ मूर्ख बनेर पत्याइबसेका छौँ । ती रूख-पात क्रिस्तान, मुसलमान, हिन्दू वा अरू के हुन् भन् त ? मानिसले काटेर ढुट्याउँदा पनि फल, फूल, छाहारी, दाउरा, काठ आदि दिएर तिनले मानिसको भलो नै गरिरहेका छन् ! तेरो धर्मको नाम खोज्न छोड् , भलो-भलो काम गरेर बस् । भन् त, कुनै नामै नलेखेको भाँडोमा राखेको रक्सी खाँदा मात नलाग्ला त ? कुनै धर्मको नामै नलिएर राम्रो काम गर्दा, धर्म गरेकै नहोला त ?’ त्यो साथीको कुराले मलाई छर्लङ्ङ बनायो । मैले फेसबुकमा खाता खोलेँ अनि धर्म लेख्नेा ठाउँमा लेखेँ – ‘मेरो धर्मको कुनै नाम छैन ।
मलाई यो आत्मकथा सुनाउने साथी गत केही महिनादेखि सम्पर्कहीन छ । उसलाई त्यो जँड्याहाले भनेको कुरा असल हो कि खराब हो भनी पाठकहरूबाटै ठहरियोस् ।