प्रकाश पौडेल माइलाको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी जापानमा रहेर साहित्यसेवा गरिरहेका छन् र वर्तमान अन्तराष्ट्रिय नेपाली साहित्य समाजको नेतृत्व पनि गरिरहेका छन् । प्रस्तुत शृङ्खलामा उनको ‘जापानमा नेपाली समुदाय : विगत र वर्तमान’ शीर्षकको विशेष लेख समेटिएको छ । यस लेखले जापानमा के कस्ता नेपाली समुदाय रहेका छन् र तिनले नेपाली संस्कृतिलाई कसरी संरक्षण गरिरहेका छन् भन्ने पक्षलाई समेटेको छ । -सम्पा. |
गतवर्षको भाद्र महिना, जापानको वर्षातको समय भर्खर सकिएको जस्तो भएको मात्र थियो । त्यसमाथि तिज पर्वको मौसम । राजधानी टोक्योको सडक छोप्दै, ट्राफिक नियमलाईसमेत चुनौती दिँदै तीन भागमा बाँडिएका एक हूल महिलाहरू पालो–पालो गर्दै सडक पार गर्दै थिए । रातो साडी, रातै चोलो, कपालमा रिबन र धागा लगाएका ती महिलाहरू तिजका गीत गाउँदै सडक पार गरेको दृश्यले जापानीहरू टक्क अडिए ।
सितिमिति अरूका कुरामा ध्यान नदिने जापानीहरूलाई नेपाली महिलाको त्यो अद्भूत पहिरनले हुनसम्म लोभ्याएछ । तेज रफतारले घुइँकिइरहेका गाडीहरूबाट पनि जापानीहरू चिहाउन थाले । पैदल यात्रा गरिरहेका कतिपयले तस्बिर लिन थाले । सायद यसअघि उनीहरूले यस किसिमको दृश्य ख्याल गरेका थिएनन् । पछिल्ला केही वर्षमा यस्ता गतिविधिहरू जापानमा घनीभूत हुँदै गएका छन् । धेरै–थोरै जापानीहरू परिचित बन्दै पनि गइरहेका छन् ।
अघिल्ला केही दिनको यस्तै अवस्था द्रुतगतिमा चलिरहेका रेल, बसलगायत सार्वजनिक यातायातमा पनि थियो । एकअर्काको घरबाट खानपिन गरेर फर्किरहेका, नेपालीहरूका घर वा रेस्टुराँमा नाचगान गरेर फर्किरहेका नेपाली चेलीहरू टोक्यो र आसपासमा चल्ने रेलका डब्बामा भरिभराउ थिए । अरू बेला सामान्य पहिरनमा हुने चेलीहरू यो दिन तीजको विशेष पहिरनमा भएका कारण सबै रेलयात्रुका आँखामा परेका थिए । त्यसमाथि उनीहरूले गाइरहेका गीतले शान्तसँग बस्न रुचाउने यात्रीहरूको आँखा विस्तारित गर्न काफी थियो । रेलका यात्रुहरूलाई चिन्न गाह्रो भएन, यी नेपाली चेलीहरू आफ्नो महत्त्वपूर्ण पर्व मनाउँदै छन् ।
तीजका बेला मात्र होइन, दशैँ र तिहारका बेला पनि जापानमा यस किसिमका दृश्य देखिन्छन् । जब यहाँ बस्ने नेपालीहरू आफन्तसहित निधारभरि टीका लगाएर रेलका डिब्बा–डिब्बामा देखिन्छन्, स्वाभाविक रूपमा मानिसको ध्यान खिचिन्छ । पार्क, सडक, रेल स्टेसन वा रेस्टुराँका अघिल्तिर जता होस्, त्यसको खासै वास्तै हुँदैन । जापानमा लोकस्रष्टा र लोक पारखीको सङ्ख्या पनि ह्वात्तै बढेको अवस्था छ । विनायोजना आकस्मिक बसाइहरू पनि लोकभाकामा गुन्जिन थाल्छन् ।
केही वर्षयता जापानमा नेपाली भाषा, संस्कृति, पहिरन, खानपिन र चाडपर्व मनाउने शैलीमा व्यापकता आउन थालेको छ । अनौपचारिक तथ्याङ्कअनुसार यसै वर्ष जापानमा नेपालीहरूको सङ्ख्या एक लाख नाघ्दै छ । नेपालीहरू समूहमा बस्ने वा बस्न मनपराउने जाति हो । त्यसमाथि विदेशको ठाउँमा हामी एकअर्काको भर नपरी खुसीसाथ बाँच्न नसक्ने बहुआयामिक प्रतिस्पर्धी युगमा छौँ । यही कारण जापानमा बढ्दो सङ्ख्यासँगै सबै क्षेत्रमा नेपालीपनको विकास भइरहेको छ । यसमा भाषासँगै परम्परा, खानपिन, चाडपर्व र रसयुक्त संस्कृतिले पनि झ्याङ्गिने अवसर पाइरहेको छ । यो अवस्था आएको धेरै भएको छैन ।
सन् १९८४ मा प्रकाशित अध्यागमनको तथ्याङ्कअनुसार त्यतिबेला जापानमा १ सय ७३ जना मात्र नेपालीको आधिकारिक बसोबास थियो । सन् २००० सम्म नेपालीहरूको सङ्ख्या सयबाट बढेर केही हजार मात्र पुग्यो । त्यो बेला जापानमा विद्यार्थी वा उच्चस्तरको रोजगारीको अवसर मात्र थियो तर सन् २००५ पछि भने विद्यार्थी भिसा, दक्ष जनशक्ति भिसा, प्रशिक्षार्थी कामदार भिसा, अनुसन्धान भिसा र डिपेन्डेन्ट भिसाको माध्यमबाट हजारौँ नेपालीहरू जापान पस्न थाले । केही वर्षभित्रै जापानका मुख्य सहरहरूमा नेपालीहरूको भीड बढ्न थाल्यो । विभिन्न व्यवसायमा नेपालीले लगानी बढाउँदै जान थाले । जापानमा रेस्टुरेन्ट व्यवसाय नै नेपालीहरूले गर्ने मुख्य व्यवसाय हो ।
नेपाली समुदायको वृद्धिसँगै आपसी सहकार्य र हातेमालोको सुरुवात भयो । यसले सामूहिक भावको विकास ग¥यो । कुनै समस्या आइपरे आफूभन्दा पाका र पुराना व्यक्तिहरूसँग सोध्ने, सल्लाह गर्ने, सामूहिक छलफलबाट निकास निकाल्ने तथा वैचारिक तथा क्षेत्रगत जमघट हुन थाल्यो । यो क्रम बढ्दै जाँदा बिदाको दिन रमाइलो गर्ने, गीत–सङ्गीतमा रमाउने तथा नेपालबाट नेपाली पत्रपत्रिकाहरू मगाएर पढ्ने प्रचलनको विकास हुन थाल्यो । नेपालीको सङ्ख्या बढे जस्तै नुनदेखि सुनसम्म, हीरादेखि जिरासम्मको व्यापार गर्ने पसलहरू देखा पर्न थाले । पूजापाठ गर्ने ब्राह्मणको सर्वसुलभ उपलब्धतादेखि जनै लगाउने चलन पुन: बौरियो ।
नेपाली समाजका गतिविधि र विश्व जगत्का विविध सामग्रीहरूसहित बिस्तारै जापानमा पनि अनलाइन तथा छापा पत्रिका प्रकाशित हुन थाले । हाल अनलाइन पत्रकारिताले प्रतिस्पर्धात्मक र व्यावसायिक रूप धारण गरिसकेको छ । दर्जनौँ साइटहरू सक्रिय रूपमा सञ्चालनमा छन् । पत्रकारहरूको हक, हित र सत्यतथ्य समाचारका लागि नेपाल पत्रकार महासङ्घ जापान शाखा सन् २०११ देखि अस्तित्वमा छ । नेपाली मिडियामार्फत् नेपालको कला, संस्कृति चिनाउने काम पनि कुनै न कुनै रूपमा भइरहेको पाइन्छ । त्यसका साथै जापानी रेडियो, टि.भी.मा पनि विभिन्न समयमा नेपाल विशेष कार्यक्रमहरू प्रसारित गरिएका हुन्छन् ।
अहिले जापानभरि ६ दर्जनभन्दा धेरै सङ्घसंस्थाहरू छन् । क्षेत्र, राजनीतिक पार्टी, पेसा मात्रै होइन, जिल्ला–जिल्लाका सङ्गठनहरू छन् । कतिपय त गाउँ र वार्डका नाममा पनि सङ्गठन खुलेका छन् । जापानभित्र सक्रिय दर्जनौँ संस्थाहरूमा अनुपम मेल जापानमा देखिन्छ ।
संस्थागत विकासले नेपाली जातिलाई सुसंस्कृत बनाएको छ । एउटा संस्थाको अध्यक्षलाई अर्को संस्थाको कार्यक्रममा ससम्मान आमन्त्रण गर्ने, सम्मान गर्ने, ती संस्थाका राम्रा कामको चर्चा गर्ने प्रचलन जापानमा निकै छ । एकअर्कालाई सम्मान गर्ने कारणले नै हुनुपर्छ, चाहेका बेला सबै संस्थाका जिम्मेवार पदाधिकारी जम्मा भएर ठुलो समस्याका विषयमा छलफल गर्छन् ।
नेपालमा भूकम्प गएको बेला होस् वा बाढी, आगलागी वा कुनै अन्य दैवी प्रकोप, यी संस्थाका पदाधिकारीहरू मिलेर एकैपटकमा ठुला–ठुला निर्णय लिन सक्छन् । यही कारण जापानबाट कुनै कार्यमा उल्लेख्य सहयोग प्राप्त हुने गरेको छ । सबैको छाता संस्थाको रूपमा गैरआवासीय नेपाली सङ्घ छ भने नेपाली राजदूतावासले सबैलाई अभिभावकत्व प्रदान गरिरहेको छ !
केही वर्षअघिसम्म चाडवाडका बेला यहाँका नेपालीहरू परिवार भेट्न नेपाल जाने गर्दथे । अहिले त्यो चलन फेरिँदै गएको छ । अब नेपाल गएर चाडवाड मनाउनेभन्दा पनि नेपालबाट आफ्ना अभिभावक एवम् निकट नातेदार बोलाउने चलन बढेको छ । काठमाडौँदेखि टोक्योसम्म सिधा हवाई उडान स्थापित हुुनुले यसमा थप बल मिलेको हो । यसरी नेपालबाट बोलाइने परिवारहरू एक ठाम भेला भएर चाडवाड मनाउने चलनले जापानमा नेपाली पर्वहरू तामझामयुक्त बन्न पुगेका हुन् ।
एउटा परिवारका सदस्यहरू अर्को परिवारसँग नजिक हुने, घुलमिल हुने चलनले पारिवारिक सम्बन्ध स्थापित भएको छ । नेपालबाट गएका र त्यहीँ रहेका नेपालीहरू एकसाथ पर्व मनाउँदा त्यसले भव्यता पाउने गरेको छ । तिज, ल्होसार, फागुपूर्णिमा, दशैँ र तिहारजस्ता पर्वमा बाटै छेकिने गरी, रेलका डब्बा भरिने गरी र चोक नै थर्कने गरी नेपालीहरूको उपस्थिति देखिनु अब सामान्य हुन थालेको छ । हरेक साल बुद्धजयन्तीमा ‘बुद्धको जन्म नेपालमा भएको हो’ भन्ने सन्देशसहित टोक्योको मुख्य सडकमा ¥याली निकाल्ने चलन धेरै वर्षअघिदेखि चल्तीमा छ । बुद्धको जन्मस्थलबारे भ्रम चिर्न यस अभियानले उल्लेख्य भूमिका खेलेको महसुुस गर्न सकिन्छ ।
पहिला पहिला जुन कुनै किसिमको भिसामा जापान आएका नेपालीहरू ढिलो–चाँडो नेपाल फर्कन्छन् भन्ने विश्वास थियो । अहिले यो विश्वास केही वर्षअगाडिबाट परिवर्तन हुन थालेको छ । सानो सङ्ख्यामा भए पनि नेपालीहरूले घरजग्गा किनेर यहीँ जीवनयापन गर्ने सोच बनाउन थालेका छन् । फुटकर मात्रै होइन, व्यावसायिक खेतिपातीमासमेत सफलता हात पार्न थालेका छन् । पहिले जापानी नागरिकसँग विवाह गर्नेहरूले मात्र जापानमा स्थायी बसोबासको सोच बनाएको पाइन्थ्यो । आजभोलि भने नेपाली दम्पत्तिहरूमा पनि स्थायी रूपमा जापान बस्ने सोच पलाएका छन् । विशेष गरी आफ्ना सन्तानहरू नेपाल गएर समस्यामा पर्छन् भन्ने लागेर यहीँ स्थायी रूपमा बसोबास गर्ने चलन बढेर गएको छ ।
जापानमा अङ्ग्रेजी भाषा प्रयोगमा नहुनु नेपाली नबस्नुको एउटा कारण हो । आफ्ना बालबच्चाका भविष्यमा आउन सक्ने सम्भावित अप्ठ्यारोप्रति सबैजना सचेत र चिन्तित पनि देखिएको पाइन्छ । जापानले पनि अध्यागमन नियम र स्थायी बसोबासको नियममा खुकुलोपन ल्याउन थालेपछि स्थायी बसोबासको चलन बाक्लिन थालेको भनेचाहिँ पक्का हो । जापानमा विदेशीको सङ्ख्याको आधारमा नेपालीहरू छैटौँ नम्बरमा पर्दछन् । साथै, नेपालमा अत्यधिक रेमिट्यान्स भित्र्याउने मुलुकमा जापान पनि पर्दछ । यहाँबाट कानुनी रूपमै अरबौँ रूपियाँ रेमिट भित्रिने गर्दछ ।
नेपाली रेस्टुराँको आधिपत्य
एक दशकअघिसम्म नेपाली खानाका निम्ति टाढा–टाढासम्म धाउनुपर्ने, घन्टौँसम्म रेल यात्रा गर्नुपर्ने बाध्यता थियो । तर अहिले त्यो अवस्थामा कायापलट भएको छ । जापानमा आजभोलि हरेक चोक वा स्टेसनमा नेपाली रेस्टुराँ देखिनु सामान्य हुन थालेको छ । नेपाल र भारतको झण्डा राखेर करी, नान, म:म: र तन्दुरी चिकनका आकर्षक तस्बिर टाँगिएका अधिकांश रेस्टुराँका सञ्चालक नेपाली नै हुन् भन्दा त्यहाँ पुग्ने नयाँ नेपालीहरूलाई पत्याउन गाह्रो हुन्छ । विश्वका अन्य मुलुकमा यस्ता रेस्टुराँका मालिक भारतीय मूलका हुने गरेका छन् । संसारभर भारतीयहरूले रेस्टुराँ क्षेत्रमा जुन प्रगति गरेका छन्, ठिक त्यसैगरी जापानमा नेपालीहरूले प्रगति गरेका छन् ।
नेपाली रेस्टुराँमा नेपालीहरूले खाना खानु सामान्य हो तर नेपाली रेस्टुराँमा जापानी ग्राहकको बाक्लो उपस्थितिले थप रेस्टुराँ खुल्ने क्रम जारी छ । जापानभरि हाल ४ हजारभन्दा बढी नेपाली रेस्टुराँ भएको आँकलन छ । तीमध्ये अधिकांश रेस्टुराँ नेपालीले नै चलाएका छन् । ती सबै रेस्टुराँमा नेपालीहरूले नै रोजगारी पाउनु अर्को सुखद पक्ष हो । अर्को शब्दमा भन्ने हो भने सानो होस् या ठुलो, विदेशमा सबैभन्दा बढी नेपाली व्यवसायी भएको मुलुक जापान हो । अमेरिका, अस्ट्रेलिया, युरोप मात्रै होइन, खाडी मुलुकमा लाखौँ नेपालीको बसोबास छ तर अफ्नो व्यवसाय गर्ने ठुलो सङ्ख्या जापानमै देखिन्छ ।
विकसित मुलुकमा व्यवसाय गर्ने र देशलाई कर तिर्ने व्यक्तिलाई ठुलो सम्मान दिइन्छ । जापानमा सस्तो, स्वस्थकर र मिठो खानाका लागि मात्र होइन, देशलाई इमान्दारीपूर्वक कर तिर्ने विदेशी नागरिकको सूचीमा नेपाली पर्न थाल्नुले पनि यसको प्रत्यक्ष–अप्रत्यक्ष सकारात्मक प्रभाव पर्न थालेको पाइन्छ । पछिल्लो समयमा नेपालीहरूलाई जापानले रोजगारीका क्षेत्रहरूमा प्राथमिकता दिनुमा पनि कुनै न कुनै रूपमा यसले काम गरेको अनुमान यहाँका नेपालीहरूले गर्न थालेका छन् । जापान प्राकृतिक प्रकोपपूर्ण देश हो । भूकम्प, सुनामी, बाढीलगायतका विपत्तिको समयमा पनि जापानको नेपाली समुदायले आफ्नो सशक्त उपस्थिति र प्रस्तुति जनाइरहेको हुन्छ । यो अर्को सम्झनलायक पाटो हो ।
हर्ष र पर्वको रौनक
चाडपर्वहरू त्यो बेला सुखद हुन्छन्, जब ती पर्व मनाउने पैसा हुन्छ र साथमा परिवार, उत्साह अनि तनावरहित वातावरण हुन्छ । नेपालमा आर्थिक अभावकै कारण चाडपर्व मनाउन नसकेका दु:खद खबरहरू आज पनि सुन्न पाइन्छन् । अझै पनि नेपालको गरिबीको रेखामुनि ठुलो जनसङ्ख्या छ । यही कारण आफूले सोचे जस्तो पर्व मनाउन पाइँदैन, अझ भनौँ सकिँदैन । जापानको हकमा जस्तोसुकै सामान्य व्यक्तिले पनि राम्रोसँग पर्व मनाएको देखिन्छ । साथीभाइ जम्मा भएर समूहमा पर्व मनाइने भएकाले र सबैजसो रोजगार नै भएका कारणले कसरी पर्व मान्ने भन्ने चिन्ता हुँदैन । सामाजिक रूपमा यहाँ पर्वहरू मनाइने भएकाले कसैले पनि एक्लोपनको महसुस गर्नु पर्दैन । यसले आफन्त र अभिभावकको नियास्रो पनि धेरै हदसम्म मेटिने गरेको छ । आफ्नो गाउँ, जिल्ला, क्षेत्रका सङ्गठनहरू मात्रै होइन, सामाजिक, धार्मिक एवम् राजनीतिक विचार निकटहरूले पनि आ–आफ्ना साथीभाइहरूलाई बोलाएर एक ठाम बसेर पर्व मनाउने गर्छन् । यसले पर्वहरू उल्लासमय, व्यवस्थित र चिन्तारहित बनाउँछ ।
यहाँ दशैँ, तिहार, तिज, उभौली, उद्यौली, म्हपूजा, कृष्णजन्माष्टमी, जनैपूर्णिमा, छठ आदि पर्वहरू मनाइन्छ । देउडा, तीजगीत, धेउसी–भैलोजस्ता सांस्कृतिक नृत्यहरू पनि नेपालीहरू मिलेर नाच्ने–गाउने गर्छन् । यो रौनक नेपालीहरूको घर, रेस्टुराँहरूमा मात्र होइन, सहरका चोक र गल्लीहरूमा पनि देख्न थालिएको छ । रेलका डिब्बा र रोडका छेउछाउमा पनि यस्तो देखिन थालेको छ ।
साहित्यमा अब्बल
जहाँ भाषा पुग्छ, त्यहाँ साहित्य पुग्नु सामान्य हो । जापानमा नेपाली साहित्य जागेको शङ्कर लामिछानेको पालादेखि नै हो । जापान सरकारको निम्तोमा समय–समयमा नेपाली साहित्यकारहरू विभिन्न सहर पुग्ने गरेका थिए । यस्तो बेलामा जापानमा रहेका नेपालीहरूले ती साहित्यकारहरूको सत्कार गर्नु र उनीहरूको उपस्थितिमा साहित्यिक भेटघाट गर्नु सामान्य नै थियो । नेपाली स्रष्टाहरूको पातलो उपस्थितिका कारण तर यस्ता साहित्यिक कार्यक्रम अनौपचारिक ढङ्गले सम्पन्न हुन्थे, जसको रेकर्ड उति सारो पाइँदैन ।
साहित्यिक क्षेत्रको आधिकारिक थालनी भने नेपालीहरूको बाक्लो उपस्थितिपछि नै हो । आधिकारिक तथ्याङ्कअनुसार अमेरिकामा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को जापान च्याप्टरको सन् २००३ मा गठन भएपछि नेपाली साहित्यले यहाँ औपचारिकता देखाउन थाल्यो । अनेसासभन्दा अघि नेपाली समाज जापानले साहित्यिक कार्यक्रमको संयोजन गर्ने गर्दथ्यो । त्यो बेला डा. कुमार बस्नेतको अध्यक्षतामा एउटा टेबलबाट सुरु भएको अनेसास अहिले जापानव्यापी बनिसकेको छ । त्यति मात्र होइन, विश्वजगत्लाई धक्का दिनेगरी यसले दर्जनौँ साहित्यकारहरू जन्माइसकेको छ । जापानबाट पुस्तक निस्कने क्रम ह्वात्तै बढेको छ । अनेसासका अतिरिक्त विश्व नेपाली साहित्य महासङ्घ र एनआरएनएको भाषा साहित्य समितिले पनि साहित्यिक गतिविधि गरिरहेका छन् ।
नेपाली पाठ्यक्रम र नेपाली स्कुल
दक्ष जनशक्ति, उच्च प्राविधिक, व्यवसायीदेखि सामान्य विद्यार्थीसम्मको जमघटले विशेष बन्दै गएको जापानमा पारिवारिक बसाइसँगै हरेक वर्ष सयौँ नेपाली शिशुहरू जन्मन थालेका छन् । शिशुको जन्मसँगै उनीहरूको शिक्षादीक्षाको चिन्ता हुनु स्वाभाविक नै हो । अहिले राजधानी टोक्योमा मात्र होइन, योकोहामा, नागोया, ओसाका र फुकुओका नेपालीहरूको घनत्व बढी भएका सहरहरू हुन् । शिशु जन्मने मात्र होइन, नेपालमा भएका आप्mना सन्तान पनि जापान बोलाउन थाल्दा जापानमा नेपाली बालबालिकाहरूको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।
यो क्रमसगै जापानी विद्यालयमा नेपाली भाषा पढ्न नपाइने र आप्mनो भाषा बिर्सने डरले धेरै नेपालीहरूलाई चिन्ताले सताउन थाल्यो । यही चिन्ता दूर गर्न नेपालीहरूको एउटा भेलाले टोक्योको आसागायामा सन् २०१३ बाट नेपाली समुदायको लगानी र व्यवस्थापनमा ‘एभरेस्ट इन्टरनेसनल स्कुल’ सञ्चालनमा आयो । आठ वर्षको अवधिमा यहाँ सयौँ नेपाली बालबालिकाहरू नेपाली भाषामा शिक्षा लिन थालेका छन् । कक्षा दससम्म पठनपाठन हुने यस स्कुलले दश जोड दुईको पनि सञ्चालन अनुमति पाइसकेको छ । नेपाली पाठ्यक्रमअनुसार विदेशमा पढाइ हुने एक मात्र यस स्कुलको आफ्नै भवन रहेको छ । नेपालीकै लगानीमा हिमालयन इन्टरनेसनल एकेडेमी नामक अर्को स्कुल पनि २०२१ सालबाट सञ्चालनमा आएको छ ।
अग्रपङ्क्तिमा गीत–सङ्गीत
विशेष गरी जापानमा दुईथरि साङगीतिक कार्यक्रम हुने गरेको पाइन्छ । पहिलो, गीत–सङ्गीतको क्षेत्रमा नेपालमै स्थापित गायकहरूको जापान आगमनका कारण स्थानीय सुवाससहितको साङ्गीतिक कार्यक्रम । अर्को चाहिँ नेपालबाट सङ्गीतकर्मीहरू बोलाएर गरिने व्यावसायिक साङ्गीतिक कार्यक्रम । जापानमै रहनुभएका स्थापित सङ्गीतकर्मीहरू जुनसुकै सामाजिक कार्यक्रमहरूमा पनि त्यहाँको अवस्था हेरेर कार्यक्रमलाई भव्य बनाइदिने गर्छन् । यसका लागि विशेष अवस्था वा मौका कुर्नुपर्दैन । नेपालबाट सङ्गीतकर्मी बोलाउँदा भने विशेष तयारी र विशेष पर्वको अवस्था कुर्नुपर्छ । यी सबै अवस्थामा सबै संस्थाहरूले यहाँको साङ्गीतिक कार्यक्रमलाई विशेष बनाउने गर्छन् ।
जापानमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्बद्र्धन र संरक्षण गर्न गायक, गीतकार, सङ्गीतकार, निर्माता, निर्देशक तथा छायाङ्कनकर्ताहरूको भूमिका अतुलनीय रहेको छ । सक्रिय विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने हरेक जसो कार्यक्रममा सांस्कृतिक कार्यक्रमले कुनै न कुनै रूपमा स्थान पाएकै हुन्छ । नेपालबाट कलाकार बोलाएर कार्यक्रम गर्नेदेखि लिएर यहीँ रहेका दर्जनौँ कलाकारहरूले जापानका नेपाली समुदायमा अमिट छाप छोड्न सफल छन् । यसले जापान आफै सङ्गीतको थलो देखिन्छ । त्यसमाथि नेपालबाट आउने चर्चित स्रष्टाहरूले यसलाई अझ सङ्गीतमय बनाइदिने गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यस क्षेत्रमा संस्थागत रूपमा धेरै कामहरू गरिरहेको छ ।
अन्त्यमा
विक्रमको १९०२ मा थोमस कुक नामक जाहज चढेर ७० दिन सामुद्रिक यात्रा गरेर ८ जना नेपाली विद्यार्थीहरूले जापान टेकेका थिए । त्यो बेला ती विद्यार्थीहरूले जापानका विषयमा गरेको अदभूत वर्णन नै कालान्तरमा नेपालीहरूको जापान आकर्षण बन्न पुग्यो । त्यसयताका धेरै जापानी भूमिको बारेमा नेपाली कथा र व्यथा लेखिसकिएको छ । आज एकसय छयहत्तर वर्षपछि ती कुरा कुनै दन्त्यकथाजस्ता भएका छन् ।
नेपाल–जापानबिच दौत्य सम्बन्ध स्थापना भएको सात दशकको हाराहारी भइसकेको छ । यो बिचमा जनस्तरमा पनि अत्यन्त निकटम सम्बन्ध कायम भएको पाउन सकिन्छ । कला, साहित्य र संस्कृतिमा निकै धनी रहेको जापानमा बसेर नेपालीहरूले आफ्नै भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना र संरक्षण र विस्तार गर्नु चानचुने काम होइन । अहिले त जापान भूमिमा नेपालीहरूको आपफ्नै इतिहास बनिसकेको छ । आफ्नै परम्परा र संस्कार बनिसकेको छ । समग्र जापानीहरूका लागि नेपाली भन्नु उनीहरूको श्रम मात्र होइन, उनीहरूको भाषा, संस्कृति, परम्परा र एकताको प्रतीकका रूपमा स्थापित भएको छ ।