मसान उपासक साहित्यकार एवम् सञ्चारकर्मी प्रतिभा हुन् । उनको कलम सिर्जना एवम् समीक्षा दुवै क्षेत्रमा निरन्तर चलिरहेको छ । प्रस्तुत शृङ्खलामा उनको एक पुस्तक समीक्षा समेटिएको छ ।
-सम्पा. |
झरना साहित्यिक परिवारको दोस्रो बकैया साहित्य महोत्सवमा पहिलो पटक हेटौँडामा कवि सुमित्रा सुमीसँगै पहिलो पटक भेट भएकी कवि हुन् — रूपा थापा । पहिलो भेटमा मकवानपुरका केही पर्यटकीय स्थानहरूमा गरिएको सँगैको घुमघाम र बकैया साहित्य महोत्सवमा उहाँले पढ्नुभएको कविताले सामान्य प्रभाव पारे पनि जब उहाँको कवितासङ्ग्रह पढियो तब केही नलेखी बस्न सकिएन ।
नुवाकोटे साहित्यका सशक्त हस्ताक्षर रूपा थापा साहित्यमा निरन्तर लागिरहेकी छन् । लामो समयदेखि साहित्यमा साधनारत कवि थापाले बिचमा लेखनलाई सुस्त बनाए पनि पछिल्लो समयमा थप उर्जासहित लागिपरेकी छन् । यही उर्जाको प्रतिफल नै यो सङ्ग्रह हो ।
“शारीरिक रूपमा अपाङ्गता भएर पनि लामो समयसम्म अपाङ्गता भएका ब्यक्तिहरूको हकअधिकारका लागि निरन्तर लागिरहदाँ आफैले भोगेका विविध चुनौति लेख्न लायक छन् ।” भन्ने थापाका कविताहरू सिमान्तकृतहरूको आवाज बनेर आएका छन् । उनका कविताहरूमा बिम्बहरू छन्, भावहरू छन्, अलङ्कारका भारीमा कविताको आन्तरिक सौन्दर्य छोपिएका छैनन् र प्रतीकको प्रयोग सही रूपमा गरिएका छन् ।
यस कृतिका माध्यमबाट समाजमा रहेका बिम्बहरूलाई सहजताका साथ अभिव्यक्त गरेकी छन् । कवि थापाको यस ‘सिङ्गो जूनको प्रतीक्षामा’ कविता सङ्ग्रहमा ५० वटा कविताहरू सङ्ग्रहित रहेका छन् । कवि थापाका कविताहरू विभिन्न पत्रपत्रिका, अनलाइन तथा अन्य माध्यममा फुटकर रूपमा प्रकाशित प्रसारित भए पनि ‘सिङ्गो जूनको प्रतीक्षामा’ उहाँको पहिलो कविता सङ्ग्रह हो ।
सङ्ग्रहको पहिलो कविता ‘कालो टिका’ हो । आदिम समयले लगाएको अहिलेसम्म पनि हामीले लिएर हिडिरहेकोमा ब्यङ्ग्य गरिएको छ । ‘चुरोटको ठुटा’ एउटा बेजोड कविता लाग्छ । हामीले नसोचेको बिम्बलाई कवितामा कविले भेट्नुभएको छ । चुरोटको ठुटालाई जीवनसँग तुलना गरिएको छ ‘चुरोटको ठुटा’ बाट प्रस्तुत छ यो अंश ः
भन्न त भन्छन् —
‘धुम्रपान स्वास्थ्यका लागि हानिकार छ ’ भनेर ।
तर बेच्नेले धुवाँ नै बेचिदिएपछि
म भने बेफिक्री
सडकमा
एउटा धुवाँ बनेर
त्यही धुवाँलाई उडाउदै हिँडिरहेछु । (पृ. १३)
यथार्थवादी कविता ‘हराएपछि ’ले मानिसले जीन्दगीमा धेरै चिजहरू गुमाउँदै जाने यथार्थलाई उजागर गरेको छ । ‘युवा’ शीर्षकमा लेखिएको कवितामा कविले देशलाई स्वर्णिम बनाउन लाग्न अनुरोध गरेको देखिन्छ । देशको उज्यालो भविष्यको सपना देख्नुअघि युवालाई सम्झनुपर्नेमा कवि सचेत छन् यस कवितामार्फत ।
यो देशमा सीमान्तकृतहरू पछाडि पारिएकोमा आक्रोश ब्यक्त गर्दै निहत्थाहरूका सधैँ गला रेटिने गरेको यथार्थ छ कविता ‘बादशाहका ताजहरू’ मा । ‘उत्सव’ कवितामार्फत जीवन छोटो भएकाले हामीले कति उत्सबहरू मनाउन पाउने हो भन्ने प्रश्न गरिएको छ । ‘साथी’ कवितामा जीन्दगीमा धेरै साथीको सङ्गत हुने भए पनि केही यादहरू गाढा हुनेमा कवि सचेत हुनुहुन्छ । ‘मृत्यु र प्रेम’का बारेमा कविको आफ्नै धारणा छ । उहाँ मृत्युपछि पनि अहिले जस्तै भेटिरहन र प्रेम गर्न पाइयोस् भन्ने इच्छा राख्नुहुन्छ । ‘मृत्युको तमसुक’ मृत्युको तमसुक गरेपछि मान्छे फेरी नफर्कने यथार्थलाई कवि मिठो तरिकाले चित्रण गर्नुभएको छ । ‘भक्त’ कवितामा हामी जहिल्यै शक्तिको पुजारी भएकोमा आक्रोश ब्यक्त गर्नुभएको छ भने ‘भोली फेरि ब्युँझनेछु’ मा जीन्दगीप्रति आशावादी भाव ब्यक्त गर्नुभएको छ । ‘एउटा मान्छे बन्नु छ’ र ‘छाउको रगत’ नारीबादी कविताहरू हुन् भने ‘किन जोगाएनौ पृथ्वीलाई’ र ‘शरद्’ कविताहरूले पर्यावरणमाथिको बिषयवस्तु उठाएका छन् ।
‘इतिहास तिमिले रच्नु छ ’ कविताले जीवनमा केही गर्न प्रेरणा दिएको छ । जीन्दगीमा केही गर्नुपर्छ भन्ने भाव छ । यसैगरी ‘पितृसत्ताको पहरेदार’मा पितृसत्तामाथिको विद्रोही चेतना छ । कवितामा शालीन विद्रोह गरिएको छ । यसरी कवि विद्रोही पनि बनेको यो सङ्ग्रहमा देख्न पाउँछौँ । ‘आत्महत्या’, ‘जवाफ’, ‘जातको प्रश्न’ र ‘त्यस्तो के छ ?’ लगायतका कवितामा कवि समाजसँग लडेकी छन् कवितात्मक भाषामा ।
‘अबरुद्ध उडान’ कवितामा मानिसका उडानहरू बिबिध कारणले अबरुद्ध हुने गरेको यथार्थ प्रस्तुत गरिएको छ । यो कवितामार्फत कसैको उडान अबरुद्ध नहोस् भनेर कामना गरिएको छ । जस्तै ः
पलाउँदै पनि छन् मभित्रै
आशाका मुनाहरू
जहाँ जमिनबाटै मेरो निरन्तरताको प्रयास
अब भने अरूका स्वतन्त्र उडान र यात्रा
कहिल्यै पनि अबरुद्ध नहुन् । ( पृ. ६८)
‘सिङ्गो जूनको प्रतीक्षामा’ शीर्षकको कविताबाट यो सङ्ग्रहको नाम राखिएको छ । कविले यो कवितामार्फत पूर्ण जीन्दगीको माग गरेकी छन् । उनले यो कवितामा आफुलाई धर्तीको रूपमा प्रस्तुत गर्दै हरेकको जीवनमा सिङ्गो जूनको आवश्यकता औँल्याएकी छन् । ‘बन्दी पङ्खहरू’ कवितामा बिदेशिने प्रबृतिका बारेमा बताइएको छ । ‘कारोना भाइरस’ कविता पछिल्लो समय हामीले भोगेको महामारीका बारेमा लेखिएको कविता हो ।
‘पँैतीस कटेकी एउटी अविवाहित’ कवितामा कविले उमेर ढल्कदै गएकी महिलालाई समाजले हेर्ने दृष्टिकोण प्रकट गरेकी छन् । अझै पनि हाम्रो समाज रुढिबादी भएकोले नारीहरूले ढिला विवाह गर्दा वा अविवाहित बस्दा अनेक कुरा काट्ने गरेको प्रशङ्गहरू उल्लेख गरिएको छ । ‘नर्कको बाटो’ कवितामा धर्मको नाममा समाजमा भइरहेको छुवाछुत प्रथा र एक अर्कोमाथि गरिने अन्याय र अत्याचारका बिषयमा कविका विचार अभिव्यक्त छन् । समाजले ईश्वरको नाममा गरिब निमुखाहरूलाई अझै गरीव हुन बाध्य पारिरहेको प्रबृत्तिको बिरोध गरिएको छ ।
‘हत्याराको बयान’ कवितामार्फत अझै पनि दोषीहरू समाजमै घुमिरहेको सत्यलाई उजागर गरिएको छ । किशोर सपना उड्न चाहेको तर उसको हत्या भएको छ । समाजमा यस्ता कयौँ किशोर सपनाहरूको हत्या भइरहेको छ । जसको लेखाजोखा अझैसम्म भएको छैन । ‘बधशाला’मा लैङ्गिक पहिचान गरी हुने हत्यामा बृद्धि भएकोमा कविको आक्रोश छ । विज्ञानले गरेको प्रगतिमा छोरीहरू परिरहेको कविको बुझाई छ । जस्तै:
तर, म कसरी मुस्कुराउन सक्छु–
पटक–पटकको त्यो परिक्षण सफल भएकोमा ?
मभित्रका ममताहरू
पटक–पटक बगिसकेका छन्
त्यही पाठेघरहरूसँगै
रगतका ती धाराहरूसँग
फेरि पनि म रुन सक्दिनँ । ( पृ. ८०)
‘मृत्युपत्र’ कवितामा हरेक पल हरेक क्षण हाम्रो जिन्दगीको ठेगान नभएकाले हरेकले मृत्युपत्र बोकेर हिड्नुको बिकल्प नभएको यथार्थ केलाउन खोजिएको छ । त्यसमाथि पनि नारीहरू अझै धेरै जोखिममा रहेको कविको बुझाई छ । ‘चिताको धुँवा’ कविताले मानिसको मृत्यु अन्तिम सत्य भएकोमा जोड दिएको छ । ‘आमा, फर्केलान् ती बचेरा ?’ मा घर छाडेर जानेहरू फर्कन्छन् त भन्दै प्रश्न गरिएको छ । ‘हराएका यौवनहरू’ कवितामार्फत यौवनको निश्चित आयु भएको र सधैँ साथ नहुने बताइएको छ ।
‘किन हराए भगवान्हरू’ कवितामा भगवान् हराएकोमा कविको गुनासो छ । समाज ब्याप्त बेथितिहरूका बिरुद्ध लड्ने साहसको खोजी पनि गरिएको छ । समाजमा सबै भ्रष्ट हुँदै गएका पक्षमा आक्रोश पोखिएको छ । ‘आफैभित्र बुद्ध खोजिरहेछु’ कविमा हरेक मान्छे शान्त रहनुपर्ने कविको सुझाव छ । आफैँमा सहन सक्ने शक्तिको आर्जन गर्न सक्नुपर्ने कविको मत छ । ‘बकवास कविको बकवास कविता’ मा हरेक चिजको अस्तित्व हुने कवि सम्झाउँछिन् । जस्तै:
त्यो बकवास कवि
कुनै दिन
आफ्नो कविता फिर्ता लिन आउने आशामा
त्यसै गरी
ती बकवास कविताहरूलाई बोकेर हिँडिरहेछ । ( पृ. ९९)
कवि थापाले आफ्ना कविताहरूमा देश र समाज लेखेकी छन् । यी कवितामा महिलाका पीडा, महिलाका मुद्धाहरूका अलावा समग्रमा यो हाम्रो पुस्ताले अहिले भोगिरहेको सबै खाले समस्याहरूलाई उठाउने प्रयास गरिएको छ । होला, कतिपय बिषयमा पुरा खुल्न नसकिएको होला तर कविले धेरै बिषयवस्तुमाथि सहासपूर्वक कलम चलाएको देखिन्छ ।
पहिलो संग्रहका सबै कवितामाथि बिश्लेषण गर्ने र खोट खोज्दै जाने हो भने यी कवितामाथि पनि खोट लगाउन त सकिन्छ तर कवितामा गरिएको बिषयबस्तु उठान र त्यसको बिश्लेषण गर्ने हो भने यो सङ्ग्रह नेपाली साहित्यमा पछिल्लो समयमा आएका कविता सङ्ग्रहरूको तुलनामा कमजोर छैन भन्दा फरक पर्दैन ।
‘सिङ्गो जूनको प्रतीक्षामा’ शीर्षकअनुसारको विषयवस्तु समेटिएको काव्यकृति हो । यस कृतिले समग्रमा अधिकारको मामिला बोल्नुपर्छ भन्ने सन्देश दिएको छ । हरेक मान्छेले आफ्नो जीवनमा आधा जूनको सायद प्रतीक्षा गर्दैन । हो, कविले पनि त्यही मानवीय गुणअनुसार सिङ्गो जूनको खोजी गरिरहेको देखिन्छ । कविले जीवनका अनेक यथार्थलाई यस कृतिमा उजागर गरेकी छन् । समग्रमा कृतिमा मानवीय चेत, नारी अस्तित्व, प्रकृतिप्रेम, राष्ट्रप्रेम, स्वतन्त्रता चेनता, हाम्रो जनजीविकाका सबालहरू, सामान्य मानिसको दैनिक जीवनमा पैदा हुने आरोह–अवरोह, सामाजिक बिकृति, विसङ्गति एवम् मानवीय जीवनका विविध पक्ष लेखिएका छन् । कवि थापालाई कृतिगत सफलताको शुभकामना छ ।
बकैया –४, मकवानपुर