SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » आदिकवि भानुभक्त आचार्यका कविताकृतिमा लोकजीवन
समीक्षा

आदिकवि भानुभक्त आचार्यका कविताकृतिमा लोकजीवन

प्रा.डा. कपिलदेव लामिछानेBy Sahitya SagarAugust 23, 2022No Comments34 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
कपिलदेव लामिछानेको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । उनका समीक्षा, लघुकथा र अन्य विविध सामग्री प्रकाशन भइसकेका छन् । यहाँ उनको भानुजयन्तीको सन्दर्भ पारेर ‘आदिकवि भानुभक्त आचार्यका कविताकृति लोकजीवन शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले आचार्यका कविता कृतिमा अभिव्यक्त लोकजीवनको चित्रण गरेको छ ।

-सम्पा.

१. विषयप्रवेश
आदिकवि भानुभक्त आचार्यले रामायण, भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा र करिब तीन दर्जन फुटकर कविताकृतिको अनुवाद–रूपान्तरण र रचना गरेर नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा इतिहास कायम गरेका छन् । नेपाली भाषा र साहित्यको शिर उच्च पार्नमा उनको उल्लेख्य योगदान छ । उनी तनहुँको चुँदी रम्घामा जन्मेर पनि नेपाल र नेपाल बाहिरको नेपाली जनमानसमा छाउन सफल भएका छन् । दुई सय वर्ष पुग्दा पनि भानुभक्त नेपालीका मनमन्दिरमा आदर र सम्मान पाइरहन सफल छन् । लोकजीवनको धार्मिक, सामाजिक र शैक्षिक विकासमा भानुभक्तका काव्यकृतिले महत्त्वपूर्ण स्थान ओगटेका छन् । कविताको रचना गरेर भानुभक्त नेपाली साहित्यको प्राथमिक कालका प्रमुख प्रतिनिधि कवि तथा रामभक्ति धाराका केन्द्रीय कविका रूपमा स्थापित भएका छन् । भानुभक्तका बारेमा धेरैथोरै नलेख्ने त थोरै नै होलान् । मोतीराम भट्टले भानुभक्तको जीवनी लेखेर आदिकवि भन्न सकिने ठहर्‍याए भने देवकोटाले नेपाली साहित्याकाशका शुक्रतारा र नेपाली भाषाका प्रथम ध्वनि भन्दै नेपाली साहित्यको इतिहासका सर्वश्रेष्ठ पुरुष भनी बखाने । त्यहाँदेखि यहाँसम्म लेखिँदै छ, लेखिँदै छ । भानुभक्तका पक्षमा जति लेखिए विपक्षमा पनि कम्ती लेखिएन, किनभने भानुभक्त असाधारण व्यक्ति थिएनन् । उनका सीमा वा कमजोरी छन् भने उनका योगदान वा विशेषता पनि छन् । अति प्रशंसा र निन्दाले कसैको उचाइ घटबढ हुँदैन, किनभने यथातथ्य भनेको यथातथ्य नै हुन्छ । यति हुँदाहुँदै पनि भानुभक्तका कविताकृतिलाई लोकजीवनका कोणबाट हेर्ने–बुझ्ने काम भएको पाइँदैन । प्रस्तुत सन्दर्भमा लोक र लोकजीवनको परिचय दिँदै भानुभक्तका कविताकृतिमा नेपाली लोकजीवन केकसरी र कति मात्रामा प्रतिबिम्बित भएको छ भनी खोज्ने लघु प्रचेष्टासम्म गरिएको छ ।

२. ‘लोक’ शब्दको व्युत्पत्ति र अर्थ
‘लोक’ शब्द संस्कृतको ‘लोकृ दर्शने’ धातुमा ‘घञ्’(अ) प्रत्यय लगाएर निष्पन्न भएको हो । यसरी निष्पन्न ‘लोक’ शब्दको शाब्दिक अर्थ ‘देख्ने वा हेर्ने’ हुन्छ । शब्दकोशहरूमा ‘लोक’ शब्दका मुख्य दुई सन्दर्भगत अर्थ (स्थान र जन) दिइएको पाइन्छ भने अमरकोशमा पनि ‘लोकस्तु भुवने जने’ भनेर ‘लोक’ शब्दका दुई अर्थतर्फ सङ्केत गरेको प्रस्ट हुन्छ ।

स्थानवाचक अर्थमा ‘लोक’ शब्द पदार्थ वा जड वस्तुलाई बुझाउने शब्द हो । ‘लोक’ संसार, जगत् वा दुनियाँ आदि सामान्य अर्थ बुझाउँदा स्थानवाचक सामान्य नाम हो भने पुराणका अनुसारका स्वर्ग, मत्र्य र पाताललाई बुझाउँदा यो व्यक्तिवाचक नाम हुन आउँछ । पुराणमा भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपलोक र सत्यलोक गरी माथिका सात र अतल, सुतल, वितल, तलातल, रसातल, महातल र पाताल गरी चौध लोकको चर्चा पाइन्छ । मुख्य देवस्थानका हिसाबले शिवलोक, विष्णुलोक, ब्रह्मलोक भनिएको पाइन्छ । यस्तै प्राणी जीवित छँदा भोग गर्ने ठाउँ यस धर्तीलाई इहलोक र मरेपछि पुग्ने ठाउँलाई परलोक भनेर पनि पुराण र धर्मशास्त्रहरूमा चर्चा भएको पाइन्छ ।

‘लोक’ शब्दको अर्को अर्थ जन वा जनता हो । निश्चित भूभागमा बसोबास गर्ने सर्वसाधारणलाई ‘लोक’ शब्दले अभिहित गरेको छ । पूर्वीय वाङ्मयको प्राचीनतम प्राप्ति मानिने ऋग्वेदको पुरुषसूक्तमा ‘लोक’ शब्दको प्रयोग जनसमुदायका अर्थमा भएको छ । —

नाभ्यां आसीदन्तरिक्षं शीष्र्णोद्र्यौ: समवर्तत:
पद्भ्यां भूमिर्दिश: श्रोत्रात्तथा लोकां अकल्पयन् ।
(ऋग्वेद, १०÷९०÷२४)

यस तथ्यबाट एकातिर ‘लोक’ शब्दको प्राचीनता झल्किन्छ भने अर्कातिर ‘लोक’ शब्दले प्राचीन कालदेखि नै जनसमुदाय वा आम मानिसलाई बुझाइआएको पुष्टि हुन्छ । श्रीमद्भागवत् गीताको “लोकसङ्ग्रहमेवाऽपि संपश्यन्कर्तुमर्हसि”(३÷२०) तथा “लोकस्तदनुवर्तते” कथनले पनि उक्त अर्थ संवहन गरेको छ ।

भानुभक्तले रामायणको पहिलो श्लोकको प्रथम चरणमै ‘लोक’ शब्दको प्रयोग गरेका छन्– एक् दिन् नारद सत्यलोक् पुगिगया लोक्को गरुंँ हित भनी ।भानुभक्तले यहाँ ‘सत्यलोक’ भनेर ब्रह्माजीको स्थानलाई बुझाएका छन् भने ‘लोक्को गरुँं हित भनी’ भन्ने अंशमा ‘लोक’ले सर्वसाधारण मानिसहरू वा दुनियाँ भन्ने जनाएको छ (लामिछाने, २०६४:२) । सर्वसाधारणको तात्पर्य आम मान्छे हो ।

‘लोक’को अङ्ग्रेजी समानार्थी शब्द फोक ९ँयपि० हो । यसको सामान्य अर्थ ग्रामीण, असंस्कृत र अशिक्षित जाति हो (बन्धु,२०५८:१३) । ‘फोक’को नेपाली समानार्थी शब्द ‘जन’ आदि हुन सक्ने भए तापनि ‘लोक’ शब्द नै उपयुक्त छ र यो शब्द नै व्यापक प्रचलनमा छ । ‘फोक’ शब्दले सभ्यतादेखि पर रहेको कुनै जातिलाई बुझाए तापनि विस्तृत अर्थमा सुसंस्कृत राष्ट्रका सम्पूर्ण व्यक्तिहरूलाई बुझाउँछ (उपाध्याय, १९७७:१७) । यस कथनबाट ‘फोक’ र ‘लोक’ शब्दले ग्राम वा गाउँ या कुनै सीमित स्थान र समुदायलाई नबुझाई व्यापक लोकसमुदायलाई बुझाउँछन् भन्ने प्रस्ट हुन्छ । यसमा शिष्ट र अशिष्टको प्रश्न निरर्थक छ । संस्कृतको ‘लोक’ र अङ्ग्रेजीको ‘फोक’ शब्दमा ध्वनि–साम्यताका साथै आर्थी–साम्यता पनि छ । दुवैले सर्वसाधारण वा आम मानिसका भावना, विचार, अभिव्यक्ति–कौशलसित सम्बद्ध भाषा, कला, साहित्य, संस्कृति आदिसित मिलेर तिनका विविध पक्षलाई बुझाउँछन् (लामिछाने, २०६४:३)।

लोकतत्त्व, लोकविद्या, लोकमानस, लोकज्ञान, लोकसत्ता, लोकमङ्गल, लोकधर्म, लोकविश्वास, लोकभावना, लोकाचार, लोकसेवा, लोककला, लोकप्रचलन, लोकमान्यता, लोकबाजा, लोकसम्मति, लोकसाहित्य, लोकगीत, लोककथा, लोकनाटक जस्ता शब्दमा आएको लोक शब्दले सर्वसाधारण मानिस वा दुनियाँ भन्ने अर्थबोध गराएको छ ।

३. लोकजीवनको सैद्धान्तिक परिचय
जीवनको शाब्दिक अर्थ प्राणीको जन्मदेखि मृत्युपर्यन्तको समय अर्थात् जिन्दगी हो भने लोकको जीवन नै लोकजीवन हो । लोकले सर्वसाधारणलाई र लोकजीवनले त्यस्तो लोकको जीवनलाई बुझाउँछ । लोकजीवन यौगिक शब्द हो, जसको रचना ‘लोक’ र ‘जीवन’ जस्ता दुई भिन्न अर्थ भएका शब्द मिलेर भएको छ । लोकजीवन एउटा व्यापक विषय हो । लोकका विश्वास वा मूल्यमान्यता, प्रथा, चालचलन, रीतिरिवाज, जातजाति, लोकको भाषा र कला, लोकले प्रयोग वा प्रचलनमा ल्याउने गरेका वस्तु, उपकरण आदिको उल्लेख, वर्णन र चित्रणबाट साहित्यमा लोकजीवन प्रतिबिम्बित हुने गर्दछ । लोकजीवनलाई तपसिलका बुँदाबाट प्रस्ट पार्न सकिन्छ ।

३.१ बहुलोकमा विश्वास
लोक इहलोकमा छ र लोकलोकान्तरको मनोपरिभ्रमण गर्दछ । इहलोक र परलोक मान्दछ । तीन लोक चौध भुवनमा विश्वास गर्दछ । अलगअलग देवीदेवताका अलगअलग लोक (स्थान) भएको विश्वास गर्दछ । सत् कर्म गर्ने स्वर्ग लोकमा र असत् कर्म गर्ने नर्क लोकमा पुग्ने विश्वास गर्दछ । यही नै बहुलोकवाद हो । यो लोकजीवनको अभिलक्षण नै बन्न गएको छ ।

३.२ पुनर्जन्ममा विश्वास
लोकसमुदाय रहस्य, रोमाञ्चमा विश्वास गर्दछ । ऊ जो देख्न सक्दैन, छाम्न सक्दैन, परीक्षण गरेर सत्यापित गर्न सक्दैन त्यस्तोमा पनि लोकको विश्वास हुन्छ । प्राणी चौरासी लाख योनीमा जन्म र मृत्युको चक्रमा घुम्छ । जो जन्मन्छ, त्यो मर्छ र जो मर्छ त्यो पुन: जन्मन्छ । यो शास्त्रहरू, पुराणहरूमा पनि भनिएको र लोकले व्यापक विश्वास गरेको विषय पनि हो । शास्त्र वा पुराण स्रोत भएर त्यहाँबाट लोक पोषित भएको हो वा लोकमा रहेको यस्तो विश्वासलाई शास्त्र वा पुराणहरूले स्रोत बनाएर आफू पोषित भएका हुन् । यो भने बहसको विषय हुन सक्दछ । पुनर्जन्ममा विश्वास फगत अन्धविश्वास मात्रै पनि हुन सक्दछ । यहाँ नेर यो मुख्य विषय होइन । मुख्य विषय हो लोकमान्यता । परम्परादेखि नै लोकसमुदाय जन्मजन्मान्तर वा पुनर्जन्ममा विश्वास राख्दै जुनीजुनीका कुरा गर्दै आइरहेको छ र यो लोकजीवनको अङ्ग भएको छ ।

३.३ बहुदेवतामा विश्वास
लोकले मान्ने देवता वा ईश्वर सबै शास्त्रोक्त हुन्छन् भन्ने केही छैन । शास्त्रोक्त देवता वा ईश्वरका साथै अन्य तमाम स्थानीय देवी–देवता–ईश्वर आदिमा लोकको विश्वास देखिन्छ । शिव, राम, कृष्ण, विष्णु, देवी आदि सयौँ देवी–देवता वा ईश्वर हुँदाहुँदै र तिनलाई मान्दामान्दै पनि कुनै एक वा दुई देवीदेवतामा भक्ति केन्द्रित गरी साधना र आराधना गर्ने प्रचलन पनि विद्यमान छ । पञ्चाङ्ग पूजन बहुदेवतावादको परिचायक हो । कुनै संस्कार वा पूजा लगाउँदा गणेश, दीप, कलश पूजा नगरी अन्य कुनै पनि देवताको पूजा हुँदैन । अलगअलग धर्मावलम्बीका अलगअलग देवता हुन्छन् र ती तत्तत् समुदाका पूज्य हुन्छन् ।

३.४ रूप–स्वरूप परिवर्तन
लोकले मानिआएका देवीदेवता वा पात्र–चरित्रहरू समय–परिस्थिति र आवश्यकता अनुरूप आफ्नो रूप वा स्वरूपमा परिवर्तन गर्दछन् । सानो–ठूलो हुन्छन् । वेश बदल्छन् । आकाशमा उड्छन्, पानीमा बुड्छन् । अनेक आश्चर्य लाग्दा क्रियाकलाप गर्दछन् । यस्तोमा लोक विश्वास गर्दछ ।

३.५ अवतारमा विश्वास
लोकले विश्वास गरेका देवीदेवताहरू विभिन्न समयमा खास प्रयोजनले अवतार ग्रहण गर्दछन् । विष्णुका दस अवतारको आख्यान प्रसिद्ध छ । रामले पृथ्वीको भार हरण गर्न नर(मानिस) को रूपमा अयोध्यामा अवतार लिएका हुन् । यस्तो मान्यता अवतारवादी मान्यता हो । यस्ता अवतारका कुरा लोक मान्दछ ।

३.६ धार्मिक चरित्र
लोकजीवन धर्ममय र धर्मभीरु छ । धर्म केही होइन र यो केही व्यक्तिको कमाई खाने भाँडो हो भन्ने जानेर वा नजानेर लोकसमुदाय परम्परादेखि नै धर्ममा विश्वास राख्दछ । धार्मिक अनुशासन र क्रियाकलापमा सहभागी हुन्छ । नेपाली लोकजीवन मुख्यतया हिन्दू धर्म र त्यसपछि विविध धर्ममा विश्वास गर्दछ । लिङ्गपूजा, मूर्तिपूजा, वर–पिपलपूजा, शालिग्राम पूजा, गङ्गा पूजा, तुलसी पूजा, सूर्यचन्द्र पूजा, देवीदेवता पूजा, भजन, कीर्तन, सङ्कीर्तन, सप्ताह, यज्ञ, महायज्ञ आदि धार्मिक क्रियाकलाप हुन् । यी बिना जीवन चल्छ, तर लोकमन डेग चल्न सक्दैन । लोकको अध्ययनबाट यही देखिन्छ । यो लोकको अर्को पहिचान हो ।

३.७ पारिवारिक सम्बन्ध
मानिस सामाजिक प्राणी भएकाले लोक परिवार र समाजमा बस्दछ । पति, पत्नी, बाबु, छोरा, आमा, भाइ, बहिनी, दिदी, दाजु, सासू, बुहारी, नन्द, भाउजू, देवर, देवरानी, आमाजू, मामा, माइजू, ज्वाइँ, ससुरा, सौता आदि उसका विभिन्न नातागोता र साइनो हुन्छन् । कहीँ मितेरी साइनो पनि हुनछ । यस पारिवारिक सम्बन्धले कहिलेकाहीँ घरव्यवहार र उत्पादन सम्बन्ध पनि स्थिर गर्छ । पहाड खानू बुहारीको भर, मधेस खानू बयल (गोरु) को भर भन्ने उखानै छ । यसले बुहारी काममा खट्छन् वा खटाइन्छन् भन्ने स्पष्ट हुन्छ ।

३.८ संस्कार
मानव जीवनका अनेक संस्कार छन् । संस्कार सम्पन्न गर्ने अनेक प्रयोजन र पद्धति छन् । नेपाली लोकजीवन विविधतामयी भएकाले यसका संस्कारमा पनि विविधता छ । यिनमध्ये जन्म, विवाह र मृत्यु संस्कार प्रमुख छन् । जन्म र विवाह सुखद र आनन्ददायक छन् भने मृत्यु संस्कार शोककारी छ । छैँठी, न्वारन, चूडाकर्म, ब्रतवन्ध आदि संस्कारद्वारा लोक संस्कारित हुँदै जान्छ । धर्म र समुदाय पिच्छेका संस्कार प्रचलित छन् ।

३.९ कृषिकर्म
लोकसमुदाय परम्परादेखि कृषिकर्ममा लीन रहिआएको छ । यही नै लोकको जिउने आधार हो । पशुपालन कृषिको अभिन्न अङ्ग रहेकाले कृषिकर्मको सँगसँगै सम्पृक्त भएर पशुपालन र तत्सम्बन्धी अन्य क्रियाकलाप पनि लोकजीवनकै अङ्ग हुन्छन् । गाई, भैँसी पाल्नु, कुखुरा पाल्नु, समयमा खेती लगाउनु, खेती लगाउँदा र स्याहार्दाका उमङ्ग र दुख, कुलो, खोलो, सन्धिसर्पन, दाइँ, कुटाइ, पिसाइ आदिको चित्रणमा लोकजीवन झल्कन्छ ।

३.१० प्रकृतिप्रतिको विश्वास
लोक प्रकृतिलाई ईश्वर वा भगवान् मान्दै त्यसप्रति विश्वास गर्दछ । लोक तुलसी, वर, पिपल, अमला, समी, चिउरी, आँक आदि वनस्पति र वृक्षको पूजा गर्दछ । तिनमा जल चढाउँछ । हुर्काउँछ । तिनको स्वच्छ अक्सिजन लिन्छ । तिनलाई काट्ने, नास्ने गर्दैन र तिनलाई काटे, फाले, नासे पाप लाग्छ भनी विश्वास गर्दछ । यिनलाई धार्मिक आवरण दिइएको छ ।

लोक शालिग्रामको पूजा गर्दछ । नागको पूजा गर्दछ । गाई, कुकुर, काग आदि पशुपन्छीको पूजा गर्दछ । नदीनाला, ताल, पोखरीमा स्नान गर्दछ र तिनको पूजा गर्दछ । नौग्रह र पृथ्वी माताको पूजा गर्दछ । अग्नि र वायुको पूजा गर्दछ । आफूले खानु अघि पाकेको परिकार अग्निमा चढाउँछ । यी सबैको वैज्ञानिक कारण खोज्नपट्टि नलागी एकोहोरो भएर प्रकृतिप्रति विश्वास गर्नु लोकजीवनको एक अर्को अभिलक्षण हो ।

३.११ लोकोपकरणको उपयोग
लोकले आफ्नो दिनचर्चा, कृषिकर्म, अनुष्ठान सम्पादन आदि गर्न विभिन्न वस्तु, सामग्री, उपकरण, वस्त्राभूषणको उपयोग गर्दछ । यही नै लोकोपकरण हो । उसले प्रयोग गर्ने यस्ता वस्तु, उपकरण, वस्त्राभूषण आदिबाट खास–खास लोकजीवनको पहिचान झल्कन्छ ।

३.१२ लोकभाषा
लोकसमुदायको अभिव्यक्तिको मुख्य माध्यम भाषा हो । भाषाकै सहयोगले लोकले आफ्ना क्रियाकलाप सम्पादन गर्दछ । त्यसैले भाषा लोकजीवनको एक प्रमुख अङ्ग हो । सामान्यतया लोकजीवनमा कथ्य रूपको गद्य भाषाको प्रयोग हुन्छ भने खास अवसरमा भाषाको लयबद्ध विशिष्ट स्वरूपको प्रयोग पनि हुन्छ । यसो हुँदा त्यो गीत वा कविता कहलाउँछ । दैनिक प्रयोग वा बोलीचालीमा भने निश्चयत: कथ्य रूपको गद्य भाषा नै प्रयुक्त हुने गर्दछ । भाषिक प्रयोगको अध्ययनबाट लोकजीवनलाई बुझ्न मदत पुग्दछ ।

३.१३ विविध विश्वास
लोकको सीमा छैन र उसले विश्वास गर्ने कुराको पनि सीमा छैन । बहुलोक, ईश्वर, अवतार, जन्मजन्मान्तर, धर्म आदि पनि लोकविश्वास नै हुन् । यस्ता विश्वास बाहेक पनि लोकले अनेक विश्वास गर्दछ, जसलाई विविध विश्वास भनी अध्ययन गर्न सकिन्छ ।

यसरी हेर्दा लोकजीवनले सर्वसाधारण वा लोकको जीवन भन्ने अर्थ बुझाएको देखिन्छ । लोकजीवन एउटा व्यापक विषय पनि हो । यस्तो लोकजीवन लोकसाहित्यिक र साहित्यिक कृतिमा पनि प्रतिबिम्बित भएको हुन्छ । आम मानिसका विश्वास वा मूल्यमान्यता, बहुलोक सम्बन्धी विश्वास, पुनर्जन्म वा जन्मजन्मान्तर सम्बन्धी विश्वास, बहुदेवता सम्बन्धी विश्वास, रूप–स्वरूप परिवर्तन सम्बन्धी विश्वास, अवतार सम्बन्धी विश्वास, पारिवारिक सम्बन्ध, संस्कार, कृषिकर्म, धार्मिक चित्रण, प्रकृतिप्रतिको विश्वास, लोकभाषा, चालचलन, रीतिरिवाज, जातजाति, लोकले प्रयोग वा प्रचलनमा ल्याउने गरेका वस्तु, सामग्री, उपकरण आदिको उल्लेख, वर्णन र चित्रणबाट साहित्यमा लोकजीवन प्रतिबिम्बित हुने गर्दछ ।

४. भानुभक्तका कविताकृतिमा प्रतिबिम्बित लोकजीवन
भानुभक्तका रचनामा लोकको विश्वास वा मूल्यमान्यता, बहुलोक सम्बन्धी विश्वास, पुनर्जन्म वा जन्मजन्मान्तर सम्बन्धी विश्वास, बहुदेवता सम्बन्धी विश्वास, रूप–स्वरूप परिवर्तन सम्बन्धी विश्वास, अवतार सम्बन्धी विश्वास, पारिवारिक सम्बन्ध, संस्कार, कृषिकर्म, धार्मिक चित्रण, प्रकृतिप्रतिको विश्वास, लोकभाषा, जातजाति, चालचलन, रीतिरिवाज, लोकले प्रयोग वा प्रचलनमा ल्याउने गरेका वस्तु, सामग्री, उपकरण आदिको उल्लेख, वर्णन र चित्रणबाट लोकजीवन प्रतिबिम्बित भएको पाइन्छ ।

४.१ बहुलोक सम्बन्धी विश्वास
भानुभक्तका रचनामा बहुलोक सम्बन्धी विश्वास प्रकट भएको छ । रामायणको पहिलो श्लोकमै नारद सत्यलोक (ब्रह्मलोक) पुगेको प्रसङ्ग छ भने बालकाण्डको श्लोक ५० र उत्तरकाण्डको श्लोक २५४ मा पनि सत्यलोकको कुरा छ । यस्तै उत्तरकाण्डका श्लोक १०९, ११०, १११, २५५ आदिमा बैकुण्ठ लोकको प्रसङ्ग छ । प्रश्नोत्तरमालामा स्वर्ग, नर्कको उल्लेख भएबाट यहाँ पनि बहुलोक सम्बन्धी मान्यता प्रकट भएको देखिन्छ । जस्तै :

कुन् मूल ढोका छ नरक्कि नारी
लान्छे नरक् मोह ठुलो फिँजारी
कुन धर्म हो स्वर्ग पुर्‍यायिदिन्या
तेस्तो अहिंसा छ बुझेर लीन्या ।
(प्रश्नोत्तरमाला, श्लोक ५)

फुटकर कविता ‘यति दिन पछि मैले …’ (बालाजी वर्णन)मा “खैँचेर इन्द्रकन स्वर्ग यहीँ बनाऊँ” भनेबाट पनि यो पुष्टि हुन्छ । वधूशिक्षाको अन्त्यतिर (श्लोक ३२) पनि परलोकको प्रसड्ड छ ।

४.२ पुनर्जन्ममा विश्वास
मरेको मान्छे पुन: जन्मेको जानकारी छैन । यो कसैले देखे भोगेको छैन, तर पनि पुराणहरूमा पुनर्जन्म सम्बन्धी विश्वास बलियो भएर रहेको छ । भक्तमालामा ‘सीताराम भज्नेछु’ भनी जन्मेकाले सांसारिकतामा नभुली सोही कार्यमा लाग्ने सन्देश छ । यसले जन्मजन्मान्तर सम्बन्धी मान्यतालाई अघि सारेको छ । भानुभक्तका रचनामा पुनर्जन्म सम्बन्धी विश्वास ठाउँ–ठाउँमा प्रकट भएको पाइन्छ । केही उदाहरण :

प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता ।
सिताराम् भज्न्या छु विषयहरूमा छाडि ममता ।।
प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो ।
सिताराम् भज्न्या हो शिव–शिव उसै आज भुलियो ।
(भक्तमाला, श्लोक १)
––
जन्म्यो कउन ? जन्मनु फेर नपन्र्या
मर्यो कउन् ? फेर नमन्र्या ।।
(प्रश्नोत्तरमाला, श्लोक ५५)

यस्ता उदाहरणबाट पुनर्जन्मप्रति लोकको विश्वास रहेको पुष्टि हुन्छ । यो लोक मान्यता नै हो ।

४.३ बहुदेवतावाद र रामको आदर्श
भानुभक्तको रामायणका अनुसार राम नै भगवान् वा ईश्वर हुन् । उनकै मायाले सकल चराचर सृष्टि, स्थिति र लयको व्यवस्थापन भएको हो । रामले दशरथ र कौशल्याका जेठो पुत्रका रूपमा अवतरित भएर पृथ्वीमा आइपरेका विपत्तिहरूको शमन गरेका हुन् । लोकहितका लागि रामले बाली, कुम्भकर्ण, रावण आदिको वध गरेका हुन् । राम तीनै भुवनका पति हुन् । राम परमात्मा हुन् । भक्तमाला (श्लोक १, २), प्रश्नोत्तरमाला (श्लोक १), फुटकर कविता (श्लोक ३९) मा समेत सीताराम, श्रीराम, हरि भनी तिनै रामको भक्ति र स्मरण गरिएको छ ।

रामको बढी नाम र चरित्रका कुरा भए पनि नेपाली लोकसमुदाय एक ईश्वरवादी छैन । परम्परादेखि नै नेपाली लोकसमुदाय बहुलवादी रहेको छ भने त्यसको झलक देवीदेवता मान्ने सन्दर्भमा पनि बहुदेवतावादी रहेको छ । भानुभक्तका कृतिहरूमा राम, सीता लक्ष्मण, भरत, ब्रह्मा, नारद, पार्वती, शम्भु (शिव), लक्ष्मी, दुर्गा, कुबेर, इन्द्र आदि देवीदेवता रहेका छन् । यस्तै यहाँ वशिष्ठ, अत्री, दुर्वासा, भृगु, अङ्गिरा, कश्यप, वामदेव, विश्वामित्र, अगस्ति, असित्, कण्व, पुलस्त्य, सनत्कुमार, बाल्मीकि, ऋष्यैशृङ्ग, गौतम आदि ऋषिमुनि≤ सूर्य, अग्नि, सागर आदि प्राकृतिक देवता≤ रावण, मन्दोदरी, कुम्भकर्ण, विभीषण, मेघनाद, इन्द्रजित, विराध, ताडका, शूर्पणखा, जटायु, अङ्गद, सुपाश्र्व, शबरी, मारीच, सुबाहु, सुग्रिव, जाम्बवन्त, मातलि, तीन कोटि गन्धर्व, भिल्ल आदि अनौठा पात्र र चरित्र आएका छन् ।

भानुभक्त रामको आदर्शलाई आदर्श मानेर अगाडि बढेका छन् । यति मात्र होइन, भानुभक्तले रामलाई आदर्श पुरुषका रूपमा स्थापित गर्न सदैव एकपत्नीव्रत तुल्याएका छन् । यज्ञयज्ञादि लगाउँदा कर्ता सपत्नीक हुनु पर्ने धार्मिक विश्वास छ । रामले सीतालाई त्याग गरेका बेलामा अश्वमेध यज्ञ लगाउँदा सुनकी सीता बनाएर काम चलाएका छन् ।–

यै बीचमा सब अश्वमेध्हरू गरी राम्ले अनेक् दान् दिया
सीताजी वनमा थिइन् र सुनकी सीता बनाई लिया ।।
(उत्तरकाण्ड, श्लोक १६६)

रावणकी बहिनी शूर्पणखाले रामलाई आफूतर्फ आकर्षित गर्ने चेष्टा गरेको र रामले जबाफ दिएको कुरालाई भानुभक्त लेख्छन् –

बिन्ती गरी मकन पत्नि बनाइ लेऊ ।
कन्दर्पको कठिन ताप छुटाइ देऊ ।।
(अरण्यकाण्ड, श्लोक ३१)
यस्तो वचन, सुनी सिताकन हाँसि हेरी
उत्तर दिया प्रभुजिले घरमै छ मेरी ।।
(अरण्यकाण्ड, श्लोक ३२)

यसरी राम कस्तै परिस्थितिमा पनि अन्य नारीप्रति अनुरक्त भएका छैनन् । बरु अहल्या आदि कति नारीको उद्धार गरेका छन् ।

४.४ रूप–स्वरूप परिवर्तन
देवीदेवता आदिप्रति लोकविश्वास मात्र छैन । तिनले रूप परिवर्तन गर्न सक्छन्, अवतार ग्रहण गर्न सक्छन् र मानवले गर्न नसक्ने अनेक कार्यसम्पादन गर्न सक्छन् । राम विष्णुमा रूपान्तरित भएका छन् । रावणका दस टाउका छन् । हनुमान पहाड उचाल्न सक्छन् अनि रूप फेरेर सानो–ठूलो हुन सक्छन्, जुन विज्ञानले गर्न सक्दैन । सीताको खोजीमा निक्लेका हनुमान राक्षसका घेरामा सीतालाई देख्छन् र सूक्ष्म (सानो) रूप धारण गरी पातमा लुक्छन् । एक उदाहरण :

भोकी मैलि निन्याउरी न त कपाल् कोर्‍याकि सब् केश् उसै ।
लट्टा मात्र गर्‍याकि खालि भुमिमा रूँदै बस्याकी यसै ।।
राम् राम् राम् यति मात्र बोलि रहँदी देख्या र साना भई ।
पात्का अन्तरमा लुक्या ति हनुमान् रुख्का उपर्मा गई ।।
(सुन्दरकाण्ड, श्लोक ३१)

जलशायी नारायण विष्णुले पृथ्वीको भार हरण गर्न भनेर नै रामको अवतारमा अवतरित भएका हुन् भनी वर्णन गरिएको छ । जस्तै :

जस्ले दु:ख दिया प्रजा कन तिनैलाई म मारूँ भनी ।
युग् युग्मा अवतार् समेत् लिनु भयो यस्तै अगाडी पनी ।।
ऐले यो अवतार् पनी पृथिवि कै भार् हर्न खातिर् धरी ।
भूको भार् पनि टारि बक्सनु भयो सब् दुष्ट संहार् गरी ।।
(उत्तरकाण्ड, श्लोक २१९)

रामायण, सुन्दरकाण्ड (श्लोक ७–९) मा सुरसा र हनुमानको रूप फेर्ने कार्य एउटा नाटकै जस्तो छ । रामको औँठी साथमा लिएर सीतालाई खोज्न क्षार समुद्र पार गरेर लङ्का जान लाग्दा इन्द्रादि देवताहरूले हनुमानको ‘अक्कल’ जाँच्न सुरसालाई पठाए । सुरसाले हनुमानलाई खान खोजी । हनुमान चार कोसका भए, सुरसाले बीस कोसको मुख बनाई । हनुमान चालीस कोसका भए, सुरसाले असी कोसको मुख बनाई । एवम् रीतले सुरसाले दुई सय कोसको मुख बनाएका बेलामा हनुमान सानो औँला जत्रो भई पसी तुरुन्त निक्लन्छन् ।

सागर (समुद्र) ले मनुष्यको रूप धारण गरेर हनुमानको स्वागत गरेको छ (सुन्दरकाण्ड, श्लोक १२) ।

यस्तै लोकमा रूप–स्वरूप परिवर्तनका प्रसङ्ग आइरहन्छन् । भानुभक्तका रचनामा पनि यस्ता प्रसङ्ग आएका छन् । उदाहरणका लागि मारीचले सुनको मृगको, रावणले सन्यासीको, हनुमानले ब्राह्मण बटुक आदिको रूप र वेश धारण गरेको देखाइएको छ । यो लोकमान्यता नै हो ।

३.५ अवतारमा विश्वास
लोकले देवीदेवता र महापुरुषहरू नयाँनयाँ अवतार लिन्छन् भन्ने विश्वास गर्दछ । भानुभक्तका कविताकृतिमा पनि यस्तो विश्वास प्रकट भएको छ । रामले भू (पृथ्वी) को भार हर्न र लोकको हित गर्न भनी नर (मानिस) को रूपमा अवतार लिएको प्रसङ्ग रामायणमा ठाउँठाउँमा आएको छ ।

भूभार् हर्न निमित्त आज भगवान् यस् पृथ्वितल्मा झर्या । (बालकाण्ड, श्लोक ७४)
––

राम् नारायण हुन् अवश्य बुझियो चौधै भुवन्का धनी
मानिस्को अवतार् लिया प्रभुजिले मार्छन् मलाई पनी ।।
(युद्धकाण्ड, श्लोक १५३)

यस्ता उदाहरणबाट अवतारप्रति लोकको विश्वास रहेको पुष्टि हुन्छ ।

४.६ धार्मिक चित्रण
लोकसमुदाय धर्ममा विश्वास गर्छ । धर्मले लोकको हित गरोस् वा नगरोस् तर धर्म लोकहितकारी भएको विश्वास गर्दै लोकसमुदाय धार्मिक क्रियाकलाप र अनुष्ठानमा सहभागी भई आएको छ । लोकको हिताकाङ्क्षी भानुभक्तका कविताकृतिमा यस्तो धार्मिक विश्वासको झलक पाइन्छ । रामायणको रचनाको प्रयोजन नै धार्मिक देखिन्छ । किष्किन्धाकाण्ड (श्लोक ५२) मा रामले धर्मस्थापना गर्नलाई नै आफूले अवतार लिएको बताएका छन् ।

नेपाली लोकजीवन शालिग्राम, तुलसी, वरपिपलको पूजा गर्दछ, एकादशी आदिमा व्रत राख्दछ ।

४.७ पारिवारिक सम्बन्ध
लोकजीवन एउटा पारिवारिक ढाँचा र संरचनामा आबद्ध भएर रहेको हुन्छ । रामायणमा आख्यान छ र आख्यानले मागेअनुसारका पात्र चरित्र आएका छन् । राम, भरत, लक्ष्मण, शत्रुघ्न, सीता, उर्मिला, दशरथ, कैकयी, कौशल्या, सुमित्रा, लव, कुश आदि एउटा पारिवारिक ढाँचाभित्र अटाएका छन् । जेठा छोराको हक–अधिकार अरूको भन्दा बढी हुने मान्यता यहाँ झल्केको छ । राम जेठा भएकाले राजगद्दीमा उनको अग्राधिकार देखिएको छ ।

रामायणपछि वधूशिक्षामा पारिवारिक सम्बन्धका कुरा बढी आएका छन् । वधूलाई शिक्षा वधू शिक्षा भएकाले यहाँ यस्तो सम्बन्ध शीर्षकमै द्योतन भएको छ । यसको प्रस्तावनामा मित्र तारापति भनी सम्बोधन गरिएकाले मित्रताको सम्बन्ध पनि जोडिन आएको छ । यसका अतिरिक्त यहाँ पत्नी, बुहारी, छोरी, पति, स्वास्नी, सासू, ससुरा, नोकर, चाकर, बालक, वृद्ध, हेवर, जेठाजु, फुुपू सासू, आमाज्यु, नन्द, सौता, पाहुना आदिको उल्लेख गरिएको छ । भानुभक्तका रचनामा संयुक्त परिवारको झलक देख्न पाइन्छ । जस्तै :

रोगी बालक बृद्ध सासु ससुरा जेठाज्यु देवर् पनि ।
फूपू सासु आमाज्यु नन्द जति छन् खान्छन् इ खाजा जति ।।
सब्को हित् घत जानि नित्य दिनमा खाजा बनाई दिउन् ।
यस् रीत्ले खुश् बनाइ परिवार् सब्लाइ हात्मा लिउन् ।।
(वधूशिक्षा, श्लोक १२)

पत्नीले पतिको सेवाटहल गर्ने, उसको इच्छाअनुसार गर्ने शिक्षा दिइएकाले बधूशिक्षामा पति र पत्नीका बीचमा सहसम्बन्ध भन्दा पनि सेवित–सेवक सम्बन्धमा जोड दिइएको छ । त्यसपछि सासू–ससुरा लगायतको सेवा गर्न भनिएको छ । यसले पारिवारिक सम्बन्धमा नारीलाई खासगरी बुहारीलाई दासीको स्थानमा राखेको छ । भानुभक्तकै पालामा पनि औसत नेपाली लोकजीवनमा नारीको स्थान यस्तो थिएन, तर पढालेखा भनाउँदा र उच्च खानदान भनाउँदा पारिवारको रीति भने यस्तै नै थियो ।

रामले वनवासको समयमा सुग्रिवसँग मित लगाएका छन् (किष्किन्धाकाण्ड, श्लोक ४२)। मितेरी साइनोको कुरा लोकमै हुन्छ, अन्यत्र हुँदैन ।

४.७ नारीप्रतिको दृष्टिकोण
नारीलाई आधा आकाश मानिन्छ । पुरुषबिना नारीको र नारीबिना पुरुषको अस्तित्व सम्भव छैन । एकले अर्कालाई सम्मान गर्नु पर्ने हुन्छ । समाज विकासका क्रममा कुनै चरणमा नारीको हात माथि परेको भए पनि प्राय: पुरुषकै वर्चस्व रहिआएको छ । लेखक समाजको अगुवा र सचेत हुने हुँदा उसले जहिले पनि स्वतन्त्रता र समानताका पक्षमा कलम चलाउनु पर्छ । यो उसको आचारसंहिता पनि हो । यस दृष्टिले भानुभक्तका कृतिलाई हेर्दा प्राय: निराशा हात लाग्छ । लेखकीय दायित्व भन्दा लोकप्रचलन र मूल्यमान्यताबाट ग्रसित भानुभक्त स्वतन्त्रता र समानताका पक्षमा उभिन सकेका छैनन् ।

कान्तिपुरीको वर्णन गर्ने क्रममा भानुभक्तले खुसीले हिँडेका नारीको चित्रण गरेका छन् । जस्तै :

चपला अबलाहरू एक सुरमा,
गुनकेसरिको फुल ली शिरमा ।
हिँडन्या सखि लीकन ओपरपरि,
अमरावति कान्तिपुरी नगरी ।।
(फुटकर रचना, पृ.२०)

यी चपला अबलाहरू स्वतन्त्र छन्, खुसी छन् । अलिक शृङ्गारिक भावको भएकाले भानुभक्तको नभएर मोतीरामले लेखी भानुभक्तका नाममा जडिएको भनिएको एक अर्को श्लोकमा पनि नारी सौन्दर्यको चित्रण छ । जस्तै :

विन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस्
ताँहाँको मन पिञ्जरा म मुनियाँ मै चाल् सदाकाल् रहोस् ।
तिम्रो त्यो मुखचन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी,
शीतल् गर्नु उचीत हो अधिक ताप् गर्दो छ सूर्यै सरी ।।
(फुटकर रचना, पृ.२५)

यहाँ नारीप्रति सद्भाव छ, प्रेम छ । नारीको सुरूपको चित्रण छ । तर भानुभक्तलाई ‘सदाकाल’ यस्तो पाउन सकिँदैन । अधिकतर नारीका कोणबाट उनी ‘घोर्मुखा’ देखापर्छन् । उनी नारीप्रति अनुदार, दुराग्रही छन् । यस दृष्टिले उनका कृतिमध्ये सर्वाधिक आलोच्य कृति वधूशिक्षाहो । मित्र तारापतिको घरमा अतिथिको रूपमा जाँदा जाहानहरूको दन्तबझान सुनी विवाहित नारी (छोरी, बुहारी र पत्नीलाई) प्रशिक्षित पार्न अर्थात् नारी हित होस् भनी भानुभक्तले बधूशिक्षाको रचना गरेको कुरा प्रस्तावना तथा उपसंहारबाट बुझिन्छ । उनले पतिलाई मालिक र पत्नीलाई दासीका रूपमा रहने उपदेश दिएका छन् । जस्तै :

स्वामीका चरणारविन्द युगको जल् भक्तिले पान् गरून् ।
निर्मल देह गराउनाकन उ जल् केही शरीरमा छरून् ।।
(वधूशिक्षा, श्लोक ५)

यहाँ पतिका पाउको जल् खाने र शरीरमा छर्कने शिक्षा दिएको छ । यसमा लोकमान्यता झल्केको छ । भानुभक्तले नयाँ बाटो देखाउने प्रचेष्टा गरेका छैनन् । पतिका पाउको जल खाने, पतिको सेवाटहल गर्ने, सासू–ससुरा र पाहुनापाछाको समेत सेवा गर्ने, घरको राखनधरन गर्ने, सौताको रिस नगर्ने जस्ता काम गर्ने तर आफू हाँसखेल नगर्ने, छरछिमेकमा नजाने जस्ता शिक्षा वा उपदेश दिएर भानुभक्तले नारीलाई कठोर बन्धनमा राख्न चाहेको देखिन्छ । ‘नारीको हित् जनाञाँ’ भनेका भए पनि यस्ता उपदेशबाट नारीको हित हुने वा भएको पाइँदैन ।
भानुभक्तले दुवैका पति उनै भएका र मर्दा सँगै सती जानु पर्ने हुँदा सौता–सौता मिलेर बस्नु पर्ने सन्देश दिएका छन् । जस्तै :

सौताको रिस गर्नु पाप छ, बहुत एकै दुवैका पति ।
मर्दामा पनि जानुपर्छ, जसले मिलेर सँगै सति ।
(वधूशिक्षा, श्लोक १३)

यसले सतीप्रथालाई मात्र होइन, बहुपत्नी वा बहुविवाहलाई समेत समर्थन गरेको छ । वस्तुत: भानुभक्त नारी आदर्शका कुरा गर्दा नारी स्वतन्त्रता, नारी अस्मिता र नारीका भावना बुझ्नेतर्फ लागेका छैनन् । रामायणमा पनि ठाउँठाउँमा नारी आदर्शका उदाहरण पाइन्छन् । जस्तै :

सीताजी कन अर्ति यो दिया सासु ससुरा सरी
आर्को छैन बडो यही बुझी गर्‍या तिनको टहल वेश गरी
स्त्रीको धर्म पतिब्रता हुनू ठूलो जानेर हुनू भनी,
अर्ति तेति दिया र बखतमा बीदा भया ती पनी ।।
(बालकाण्ड, श्लोक १२२)

अयोध्याकाण्डमा बनवास जाने बेलामा राम सीतालाई भन्छन् :

शड्ढित जानकिलाइ देखि प्रभुले तीमी घरैमा यहाँ
सासूको टहलै गरी कन रहू वर्षै त चौधै महाँ ।
(अयोध्याकाण्ड, श्लोक ३९)

किष्किन्धाकाण्डमा पति सुग्रिवको मृत्युमा शोकसन्तप्त पत्नी ताराले यस्तो बिलौना गरेकी छ :

बालीका दुइ पाउ पक्रि बहुतै रुढी विलाप् खुप् गरी ।
भन्छिन् श्रीरघुनाथलाई रघुनाथ् ¤ फेर बाण ऐल्हे धरी ।।
मारी देउ मलाई जान्छु म पनी मेरा पतीका सँगै ।
खोज्छन् स्वर्ग विषे मलाइ पतिले काहाँ म बस्छू न गै ।।
(किष्किन्धाकाण्ड, श्लोक ५९)

यहाँ ताराले पतिको मृत्युमा सती जान चाहेको प्रसङ्ग छ । “यत्र नार्यस्नु पूज्यन्ते रमन्ते तत्र देवता”को पूर्वीय हिन्दू आदर्शको पाठशालामा हुर्केका भानुभक्त नारीलाई तथानाम शिक्षा दिने मात्र होइन, गाली–गलोजमा समेत उत्रेका छन् । गजाधर सोतीकी घरबूढीलाई ‘अलच्छिन्की’ र ‘नरक जान’ ठिक्क परेकी भनेका छन् । प्रश्नोत्तरमाला (श्लोक ५, माथि उद्धृत) मा नारीलाई नरकको मूल ढोका भनेका छन् । स्त्रीका कटाक्षलाई तुच्छ मान्नेलाई सबै धर्म जान्ने धीर भनेका छन् (प्रश्नोत्तरमाला, श्लोक २०) । सबैलाई बाँध्ने साङ्ला पनि स्त्री हुन् भनेका छन् (प्रश्नोत्तरमाला, श्लोक २४) । पहिले अमृत सरी हुने र पछि विष बन्ने पनि स्त्री हुन् (प्रश्नोत्तरमाला, श्लोक ४२) ।
भानुभक्तले नारीलाई हाँस्न र अरूका (टोलछिमेकका) घरमा जान निषेध गरेका छन् । जस्तै :

हाँस्नू छैन कदापि नारीहरूले वेश्या हुन्या हाँस्तछन् ।
वेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन् ।।
एक्लै हाँस्न हुँदैन कोहि नभई आर्को सँगी भो जसै ।
हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै ।।
(वधूशिक्षा, श्लोक १९)

भानुभक्तलाई नारी स्वतन्त्रता भन्दा कामको चिन्ता बढी देखिन्छ । यसो मन बहलाउन र सामाजिक हुन छरछिमेकमा जान पनि नहुने भनेर भानुभक्तले नारीलाई ठूलो बन्धनमा राख्न चाहेका छन् । हेरौँ :

अर्काका घरमा नजानु कहिल्यै आफ्ना घरैमा बसी ।
जे हुन् सब चीज् जती छ घरमा कूना र कानी पसी ।।
पर्छन् श्राद्ध दशैँ तिहार अरू चाड् चाहिन्छ तिन्मा जती ।
ती चीज् सम्झि अगाडि संग्रह गरोस् यस्मा नचूकोस् रती ।।
(वधूशिक्षा, श्लोक १४)

भानुभक्तका विचारमा नारीको धर्म पतिव्रता हो । पति नै उसका ईश्वर र परमात्मा हुन् । पतिव्रता नारीले दुवै कुल तार्दछन् । जस्तै :

स्त्रीको धर्म पतिव्रता अति ठुलो जो गर्दछन् भक्तिले ।
आफ्ना कुल् सब तारि पितृहरूको कुल् तार्दछन् शक्तिले ।।
(वधूशिक्षा, श्लोक ३२)

वस्तुत: नारी बुहारीमात्र होइन । सृष्टिको मुहान र ममताको खानी हो नारी । पत्नी, आमा, छोरी, बुहारी अनेक रूप छन् नारीका ।
भानुभक्तको आशय यसबाट नारीलाई सभ्य, सुसंस्कृत र मर्यादित बनाउने रहेको हुन सक्दछ । वधूशिक्षामा नारीले के गर्ने र के नगर्ने भनी विधि–निषेध गरिएको छ । ती भानुभक्तका कल्पित विचार नभएर त्यतिखेरको लोकसमुदायमा प्रचलित मूल्यमान्यतालाई उनले व्यवस्थित र सङ्गठित गरेका मात्र हुन् । स्रोत लोक हो अनि लोकको स्रोत पुराण र धर्मशास्त्र हुन् । डेढ सय वर्ष अगाडिको सामाजिक–सांस्कृतिक परिवेशमा यो शिक्षा पाच्य थियो र लोकको मूल्यमान्यता नै त्यस्तै थियो । मानवता र समानताका दृष्टिले वधूशिक्षाका विधि–निषेध अवश्य नै मान्य र स्वीकार्य छैनन् । यसो भन्दैमा अहिले आएर भानुभक्तलाई सत्तोसराप गर्नु पनि मनासिब ठहर्दैन, किनभने भानुभक्तका समयसम्ममा लोकमा सतीप्रथा, बहुविवाह, बालविवाह आदि जायज र लोकसम्मत थिए ।

एक ठाउँमा सुँगुर्नी नारी र कुकुर्नी नारी भनी नारीको आलोचना र अपमान गरिएको छ :

कतै खरानी छरि भुस् कतै ता,
कतै कसिङ्र् कनिका कतै ता ।
सुत्न्या दिनैदिन इलमै बिगारी,
तेस्लाई ता भन्नु सुँगुर्नी नारी ।।
– –

झार्दी न लिप्दी मइली छ धेर,
गन्र्या कुरा धेर् घर घर् डुलेर
राख्न्या ति भाँडा सब नील पारी,
यो चाहिँ हो खास कुकुर्नि नारी ।।
(फुटकर रचना, पृ.२५)

गजाधर सोतीकी घर बूढीको सन्दर्भमा पनि भानुभक्त आलोच्य छन् । गजाधर सोतीकी घर बूढीले बास नदिएको झोँकमा भानुभक्तले तिनलाई सरापी कविता लेखेका छन् । जस्तै :

गजाधर् सोतीका घरबुढि अलक्षिन्कि रहिछन्,
नरक् जानालाई सबसित बिदाबादि भइछन् ।
गयौँ साँज्मा तिन्का घर पिँडिमाहाँ बास गरियो,
निकालिन् साँजैमा अलिक पर गुज्रान गरियो ।।
(फुटकर रचना, पृ.२३)

यो भानुभक्तको नारीप्रतिको दुराग्रह नै हो । यसबाट भानुभक्त नारीप्रति बढ्तै दुराग्रही भएको देखिन आउँछ । भानुभक्तका रचनामा नारीप्रति समान दृष्टि छैन । नारी हितका लागि भन्दै नारीलाई पुरुषको दासी, सेविका वा चाकर्नी सरहको स्थान दिइएको छ । पति मरेपछि सती जान निर्देश दिइएको छ । बहुपत्नी प्रथालाई समर्थन गरिएको छ । नारीलाई नरकको मूल ढोका भनिएको छ । नारीलाई शिक्षा दिने नाउँमा पुरुषकी आजन्म दासी बनाउँदै भानुभक्तले अझ कडा बन्धनमा राख्न खोजेको पो देखिन्छ । यहाँनेर भानुभक्त औसत लोकभन्दा बढी कठोर र अनुदार भएका छन् ।

४.८ संस्कार
जन्मदेखि मृत्युपर्यन्त लोकले अनेक संस्कार मान्दछ । रामायणमा सन्तान नभएर छटपटिएका दशरथले वशिष्ठ ऋषिको परामर्श अनुसार पुत्रेष्टि यज्ञ लगाएका छन् । यज्ञको पायस (खिर) खाएपछि रानीहरू गर्भवती भएका छन् । यसले प्राचीन कालको पुत्रेष्टि संस्कारको झलक देखाएको छ । रामायणमा राम र उनका भाइहरूको जातकर्म र ब्रतबन्ध संस्कारको चर्चा गरिएको छ ।

जनकपुरका राजा जनककी छोरी सीता, उर्मिला, श्रुतिकीर्ति र माण्डवीको अयोध्याका राजकुमार क्रमश: राम, लक्ष्मण, भरत र शत्रुघ्नसित विवाह संस्कार भएको छ (बालकाण्ड, श्लोक, १११–११३) ।

छोरा रामनाथ आठ वर्षको हुँदा भानुभक्त जेलमा थिए । छोराको कर्म गरिदिनु बाबुको दायित्वबोध गर्दै भानुभक्तले एक कवितामा सो कर्म गर्ने अवधिसम्म जेलबाट मुक्तिको माग गरेका छन् । –

चालीस् वर्ष भयाँ म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको,
आयो काल् व्रतबन्धको गरु कसो बेला त हो हर्षको ।
क्यारु नाथ म ता पर्‍याँ फजितिमा एक्लो आहाँ छू फगत्,
कुन् पाठ्ले व्रतबन्ध पार् गरु भनी देख्छू अँध्यारो जगत् ।।
(फुटकर कविता, पृ.२१)

यसरी भानुभक्तका रचनामा पुत्रेष्टि, जन्म, ब्रतबन्ध र विवाह जस्ता संस्कारको चर्चा र चित्रण रहेको पाइन्छ ।

४.९ कृषिकर्म
भानुभक्तका काव्यकवितामा थोरै भए पनि बडो महत्त्वपूर्ण ढङ्गले कृषिकर्म र तत्सम्बन्धी प्रसङ्ग आएका छन् । विवादित नै भए पनि घाँस काटी बेचेर लोककल्याणकारी कार्य गर्ने प्रसङ्गबाट प्रेरित भएर भानुभक्त साहित्य लेखनतर्फ अग्रसर भएका छन् । घाँस काट्ने काम कृषिकर्म नै हो । गिरिधारि भाटसितको मुद्दा मामिला पनि कृषिकर्मसितै सम्बन्धित छ । अर्याल, भाट, ढकाल र आचार्य यी चार थरी मिलेर सल्लाह गरी बाँध लगाई कुलो चलाई खेत रोप्ने गरेकोमा आफैँ सहमत गरेको विषयलाई पनि गिरिधारिले बेवस्ता गरी दुख दिएको खिचलो गरेको भनी भानुभक्तले कविता लेखी झगडा मिलाई दिन भनेका छन् । यस सम्बन्धी उनको कविताको एक श्लोक उद्धृत गर्नु सान्दर्भिक ठान्दछु ।–

ख्वामित् यस् गिरिधारिले अति पिर्‍यो व्यर्थै गर्‍यो झेल् पनी,
यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी ।
ख्वामित्लाई चढाउँनाकन यहाँ क्यै श्लोक् कविता गर्‍याँ,
मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छोनिञ्छ पाउ पर्‍याँ ।।
(फुटकर रचना, पृ.२६)

भानुभक्तका कवितामा कोदालो आदि कृषिउपकरण तथा केरा, मुला, मकै, मोही, साग, आदि कृषिउपजको प्रयोग पनि भएको छ । कृषिउपजको धेरै प्रयोग भएको एक कविता :

असल मुङ्ग्रे केरा कि त महि हवस् बेस अमिलो
कि ता सेता मूला कि त बरु हवस् साग उसको ।
असल् हुन्थ्यो धूपमा नतर यसरी खानु कसरी
भुटी ल्यायौ थाल्मा मकइ तिमिले क्याँन यसरी ।।
(फुटकर कविता, पृ.२२)

भानुभक्तका रचनामा कृषिकर्मको व्यापक चित्रण पाइँदैन ।

४.१० प्रकृतिप्रतिको विश्वास
भानुभक्त पहाडी प्रकृतिको काखमा जन्मे हुर्केका हुनाले तथा लोकजीवनकै अङ्ग रहेकाले उनका कविताकृतिमा प्रकृतिप्रति विश्वास प्रकट भएको छ । तुलसी र पिपल धार्मिक दृष्टिले पवित्र वनस्पति÷वृक्ष हुन् भने वैज्ञानिक दृष्टिले बढी अक्सिजन (प्राणवायु) दिने स्रोत हुन् । रामायणमा भानुभक्त तुलसी र पिपलका वरिपरि बसेर रामायण पाठ गर्नाले तत्काल सबै जन्मका पाप छुट्ने बताउँछन् । जस्तै :

जो यो पाठ् तुलसी पिपल् वरि परी गर्छन् प्रदक्षिण गरी ।
तिन्का पाप् सब जन्मका जति न छन् घुट्छन् ति तेसै घरी ।।
(बालकाण्ड, श्लोक १६)

राम सपरिवार वनमा गएका छन् र पहिलो रात शिंशपा वृक्षमुनि वास बसेका छन् । रामको फौजले क्षार समुद्र पार गरेको छ । सीता लङ्काको अशोक वाटिकाको शिंशपा वृक्ष मुनि बसेकी छन् । रामले अग्निवाण चलाएका छन् (वालकाण्ड, ८५) । ऋषिमुनिहरू गङ्गा किनारमा बसेका छन् । रामका फौजमा बादर, भालुहरू पनि छन् । चरा (जटायु) ले पनि रामलाई साथ दिएको छ । रामले वरको दूध घसेर जटा बनाएका छन् (अयोध्याकाण्ड, श्लोक ५४, ६६) । यसरी हेर्दा भानुभक्तका कविताकृतिमा प्रकृतिप्रति विश्वास प्रकट भएको पाइन्छ ।

४.१२ लोकोपकरण
भानुभक्तका कविताकृतिमा नेपाली लोकजीवनको झल्को दिने कतिपय वस्तु, सामग्री, उपकरण आदिको उपयोग र चित्रण भएको पाइन्छ ।

भाँडा, बत्ती, धागो, टपरी, दुना, बोहोता, सिन्का, पिह्रा (पिर्का), कटौरा, हुक्का, पिञ्जरा जस्ता घरायसी उपकरण भानुभक्तका कविताकृतिमा देख्न पाइन्छ ।

कुदाली (कोदालो) जस्तो कृषिउपकरण तथा खटाउ, औटन, रुमाल, धोती, टिका, टोपी, कछाड, सिन्दुर आदि वस्त्राभूषण र परिधान, तमाखु, किसमिस, दाख, बदाम, मिस्री, नरिवल, केरा, मुला, साग, मकै, मोही, घिउ, बोसो, तेल आदि खाद्यवस्तु वा खाद्यपरिकार पनि भानुभक्तका कविताकृतिमा उल्लेख भएका छन् ।

त्रिशूल, तरबार, कटार, खुँडा, खुकुरी, पिसतोल, बन्दुक, वाण, अग्निवाण, धनुष आदि हातहतियारको उल्लेख भएको पाइन्छ ।

थोपी–पात्रा, मस्यानि, इनार, कुवा, पाटी र सत्तल जस्ता वस्तु पनि उल्लेख भएको छ । टड्ढार, नगरा, मृदङ्ग आदि वाद्यवादनको उल्लेख छ ।

रामायणमा राम र रावणको युद्ध देखाइएको छ । सीताको अपहरण प्रकरणबाट आरम्भ भएको द्वन्द्व रावणको मृत्यु र लङ्काको पतनमा गएर टुङ्गिएको छ र त्यो राम र रावणको युद्ध राम र रावणको युद्ध जस्तो भन्ने उखान बन्ने हदसम्म चर्किएको छ । जहाँ युद्ध हुन्छ त्यहाँ हातहतियार वा आयुधहरूको उपयोग हुन्छ । रामायणमा टङ्कार, वाण, धनुष, अग्निवाण, ब्रह्मपाश, खड्ग, तरबार, ठोक्रो, आदि शस्त्रास्त्रको उपयोग भएको देखिन्छ । यहाँ खुकुरी, खुँडा, भाला जस्ता नेपालीहरूले प्रयोग गर्ने हतियारको उल्लेख नभएर संस्कृत रामायणमा समुल्लेख भएका हातहतिरकै प्रयोग भएको देखाइएको छ । ‘चपला अबलाहरू …’ कवितामा भने तरबार, कटार, खुँडा, खुकुरी, पिसतोल र बन्दुकसम्मको उल्लेख छ ।

यति भईकन पनि भानुभक्तका कृतिमा लोकसमुदायले प्रयोग गर्ने ढिकी, जाँतो, चुलो, अगेनु, डोको, नाम्लो, आँसी (हँसिया), खुर्पा, खुर्पेटो, सिलौटो, लोहोरो, गाग्री, लोटा, ठेकी, मदानी, गुन्द्री, मान्द्रो, भार, लिस्नो, पोतो, कुचो, आरी, नेती, स्याखु वा घुम, चर्खा, बन्चरो, कुटो, हलो, फाली, कोल, लुँडी, डल्लेठो, दाम्लो जस्ता घरघरायसी तथा कृषि उपकरणहरूको उपयोग भएको देखाइएको छैन । यस्तै, पटुका, मजेत्रो, पोते, बुलाँकी, चुरा, फुली आदि वस्त्राभूषणको पनि उल्लेख पाइँदैन । कसार, सेलरोटी, बटुक, मालपुआ, अर्सा आदि खाद्य परिकारको पनि उल्लेख पाइँदैन । नेपाली लोकसमुदायमा परम्परादेखि प्रयोग भइआएका दमाहा, मादल, सनई, सारङ्गी जस्ता वाद्यवादन यन्त्रहरूको उल्लेख छैन ।

४.१२ भाषिक प्रयोग
पहाडी लोकजीवनमा बढेका र संस्कृत भाषा पढेका भानुभक्तको भाषा यिनै दुईको सम्मिश्रणबाट निर्मित छ । संस्कृत पढ्ने संस्कृतमा लेख्ने र नेपालीमा लेख्नेलाई ‘भासे’ भनी उल्ल्याउने समयमा भानुभक्तले भने नेपाली भाषामै लेख्न रुचाएको प्रस्ट छ । भानुभक्तले भाषामा क्रान्ति गरे, भाषिक एकीकरण गरे, नेपाली भाषामा पहिलोचोटि कविता लेखे आदि जस्ता टिप्पणीहरू अति प्रशंसाहरू भानुभक्तका बारेमा भई आएकै छन् । यथार्थ कुरो के हो भने भानुभक्तले नेपाली भाषामा काव्यकविताको सिर्जना गरेका हुन् । अधिकतर ठेट कथ्य नेपालीको प्रयोग गरेका हुन् र सुपाच्य र बोधगम्य संस्कृत तत्सम शब्दको प्रयोग गरेका हुन् । रामायणको कथ्य विषयले गर्दा रामायणमा तत्सम शब्दको प्रयोगाधिक्य देखिए पनि अन्य कविताहरूमा झर्रा, ठेट कथ्य नेपाली शब्दको प्रयोगले गर्दा समग्रमा भानुभक्तका काव्यकविताको भाषा सरल र बोधगम्य रहेको छ । भानुभक्तमा भाषिक विश्लेषणबाट तत्कालीन लोकजीवनको झलक पाउन सकिन्छ । एक उदाहरण :

जागिर् छैन धनी म छैन घरको केवल् कुदालो खनी,
खान्थ्याँ दुक्ख गरेर चाकरि गर्‍याँ मान् पाउँला की भनी ।
एक् मन् चित्त लगाइ चाकरि गर्‍याँ खूसी भया छन् हरी,
मान् माथी पनि भुक्तमान् थपि दिया कैल्यै नखोस्या गरी ।।
(फुटकर रचना, पृ.२१)

भाषा (नेपाली भाषा) मा उनलाई गौरव थियो । संस्कृत पढेको भन्ने अशुद्ध लेख्ने र भाषा श्लोक लेखेको भन्ने कसैले नबुझ्ने लेख्ने आफ्ना समयका लेखक–पण्डितलाई उनले बुद्धि र बर्कत भए नेपाली भाषामा कविता लेखी नाक राख्न चुनौती नै दिएका छन् । जस्तै :

भाषा श्लोक् भनु ता अवश्य अरू ता बुझ्दैन कोई पनी ।
संस्कृत हुन् भनु ता इ शास्त्रिहरूता धेर् छन् अशुद्धा भनी ।
भञ्छन् आज ठिमाहका गणतिमा तिम्म्रा शिलोक ई गया,
भाषा श्लोक बनाइ राख तिमि नाक बुद्धी र बर्गत भया ।।
(फुटकर रचना, पृ. २३)

नेपाली भाषाको इतिहास र व्याकरण नलेखिएका बेलामा भानुभक्तको भाषिक प्रयोगमा आजका आँखाले ह्रस्व–दीर्घ हेरी खोट लगाउनु ‘मेरी मम्मी त च्वाँक छैन यार’ भने जस्तै हो ।

४.१३ जातजातिको चित्रण
नेपाली समाज परम्परादेखि नै विभिन्न जातजातिमा विभक्त छ । अनेकतामा एकता नेपाली समाजको विशेषता हो । भानुभक्त आफू भने ब्राह्मण कुलमा जन्मेका र मुख्यतया संस्कृत शिक्षा आर्जन गरेका आफ्नो समयका धनी व्यक्ति हुन् । उनका कृतिमा यही परिसीमाको समुल्लेख छ । रामायणमा ठाउँठाउँमा ब्राह्मण (बालकाण्ड श्लोक ४, ५ ९२, …) क्षेत्री (बालकाण्ड श्लोक ५, …), शूद्र (बालकाण्ड श्लोक ५, …), हीन कुल (अरण्यकाण्ड श्लोक ११२)आदिको उल्लेख पाइन्छ । फुटकर कवितामा छोराको ब्रतबन्धको प्रसङ्गले तागाधारीकै संस्कारको संवेदनशीलता देखाइएको छ । यसका अतिरिक्त यहाँ मानव–जातिको पनि कुरा छ । रामको पक्ष मूलत: आर्य जाति र रावणको पक्ष मूलत: अनार्य जातिको भएको देखाइएको छ । यहाँ माझी (बालकाण्ड श्लोक ९८, …), धोवी ( … ) जस्ता जातजातिको पनि उल्लेख छ ।

४.१४ नोकर–चाकर राख्ने प्रथा
घरमा सेवक वा नोकर–चाकर राख्नु सामन्ती संस्कार हो । आम मान्छे वा सर्वसाधारणका घरपरिवारमा अहिले पनि नोकरचाकर राखिँदैनन् । ‘मो भानुभक्त धनी भैकन आज यस्तो’ भनी लेख्ने भानुभक्तले ठाउँठाउँमा नोकरचाकरको जिकिर गरेको पाइन्छ । केही उदाहरण :

मान्ने छन् घरका सबै जति जना तिन्लाई ढोग् भेट् गरी ।
चाकर्लाई अह्राउनु खुशि हुँदै मीठो वचनले गरी ।।
(वधूशिक्षा, श्लोक ३)
––
घर् सब् झारि बढारि नित्य त्यसले लिप्तै र पोत्तै रहोस् ।
चाकर्–सब् थलिया गया कहिँ भन्या आफैँ तयारी रहोस् ।।
(वधूशिक्षा, श्लोक ५)
––
भान्छाको सरजाम चाकर गरून् भाँडा सफाई गरी ।
खान्या चीज भँडारमा पसि झिकून् आफै अगाडी सरी ।।
(वधूशिक्षा, श्लोक ७)

नोकरचाकर कजाउने कुरा लोकको नभएर सामन्ती संस्कार हो भने भानुभक्त यहाँनेर लोकका भन्दा सामन्तका कित्तामा उभिएको पाइन्छ ।

४.१५ चाकरी प्रथा
लोकमा आफ्नो हुन्छ भने कोरीको पाउ मोल्नू भन्ने उखान प्रचलित छ । सायद भानुभक्तका पालामा पनि यो उखान थियो होला । त्यसैले उनले आफ्नो काम बनाउन खुसामदी कविताको पनि रचना गरेका छन् । जस्तै :

विद्वान् जन्ले लोहलाइ बेच्नु छैन,
भन्दा सुन्थ्याँ यो कुरो हो कि हैन ।
लोहा बेची मोल क्या लीनु होला,
खड्ग–पूजा–निम्ति यो दीनु होला ।।
(फुटकर रचना, पृ.२६)

ख्वामित् आज हजुर्हरू पृथिविमा मालिक् छँदामा पनी,
ब्राह्मण्को ब्रतबन्ध अड्कन तयार् देख्याँ र मालिक् भनी ।
जाहीरात गर्‍याँ प्रभू चरणमा जो मर्जि होला भनी,
कण्ढैसित् भनि मर्जि हुन्छ त भन्या क्यारू सहन्छू पनी ।।
(फुटकर रचना, पृ.२१)

यहाँ पहिलो कवितामा बन्दुक (?) फुत्काउन र दोस्रो कवितामा छोराको व्रतबन्धका निहुँमा जेलबाट मुक्त हुन भानुभक्तले ‘कोरीको पाउ मल्ने’ वा पाउ पर्ने काम गरेको पाइन्छ । गिरिधारि भाटसितको झगडा मिलाई पाउन पनि उनले कविता (माथि उद्धृत) रचेको पाइन्छ । लोकमा यस्ता चरित्र हुन्छन् । स्वाभिमानी लेखक कस्तै बखतमा पनि चाकरी गर्दैन । भानुभक्त भने यहाँ तिनै लोकमध्येका देखिन्छन् ।

४.१६ विविध लोकविश्वास
लोकले जेजे कुरामा विश्वास गर्दछ, त्यो लोकविश्वास हो । आज परिवर्तित सन्दर्भमा त्यो अन्धविश्वास ठहरिए पनि परम्परादेखि लोकले मान्दै वा विश्वास गर्दै आएको हुँदा त्यसलाई लोकविश्वास भनिएको हो ।

पुष्पक विमान जस्तो अतिकल्पनामा पनि लोकविश्वास रहेको छ । राम, रावण, कुबेर पुष्पक विमान चढेर आउजाउ गरेका छन् (युद्धकाण्ड, श्लोक ३०८, ३०९, ३१०, ३११, ३३६, ३३७ तथा उत्तरकाण्ड, श्लोक २९, ९७, १०१, १०४ आदि) । पति गौतमको श्रापले पत्थर बनी रहेकी ब्राह्मणी अहल्यालाई रामले पत्थरमा कुल्चेर पुनर्जीवन दिएका छन् (पृ.१६) । यस्तै अग्निवाण, ब्रह्मपाश आदि आयुध वा अस्त्रप्रतिको विश्वासलाई पनि लोकविश्वासका रूपमा लिन सकिन्छ । रामको नाम लेखेर समुद्रमा फालेको डुङ्गा नडुब्नु, त्यसबाट सेतु (पुल) बन्नु, समुद्रपार गरी लङ्का पुग्नु, वानर सेनाका प्रसङ्ग र तिनले चलाएका हतियार आदिका प्रसङ्ग जति काल्पनिक भए पनि ती लोकविश्वासका परिसीमा भित्रै पर्दछन् ।

रामायणमा सौतेनी व्यवहार लोकजीवनमा जस्तै देखाइएको छ । राज्याभिषेकको तयारी भइरहँदा कैकयीले राजा दशरथसमक्ष रामलाई बनवास र भरतलाई रजाइँको प्रस्ताव गरेकी छन् (अयोध्याकाण्ड, श्लोक १९) । वधूशिक्षामा दुवैका पति उनै भएकाले आपसमा रिस नगर्न सुझाउ दिइएको छ ।

रामायणमा रामले धेरै राक्षसमाथि विजय हासिल गरेका छन् । कैकयीका माग र दशरथको अनिच्छित आदेश पाएर वनवासी भएका र अत्रि ऋषिका आश्रममा बसेका बेलामा आफूमाथि आक्रमण गर्न आउने विराध नामको राक्षस माथि उनको पहिलो विजय भएको छ । यसपछि खर, त्रिशिर, दूषण, मारीच, कबन्ध, मायावि, बाली हुँदै रावणमाथि उनले विजय हासिल गरेका छन् । राक्षस भनेको असत्य, अन्धकार हो । रामले असत्यमाथि विजय गरेका हुन् । असत्यमाथि सत्यको विजय नै रामायणको सार हो । यस्तो लोकविश्वास छ ।

मानिसले केही न केही कीर्ति वा नाम राख्नु पर्छ भन्ने लोकमान्यता छ । यसलाई कीर्ति–लिप्सा भन्न पनि सकिन्छ । यो सामान्य मनोविज्ञान पनि हो । भानुभक्तले घाँसीबाट नाम राख्ने प्रेरणा पाएर साहित्य सिर्जना गर्न थालेको कुरा ‘भर् जन्म घाँसतिर मन् दिई …’ कविताबाट बुझिन्छ ।

भानुभक्त १८७१ असार २९ मा चुँदी रम्घामा ब्राह्मण कुलमा जन्मेका हुन् भने १९१० देखि १९२५ सम्म उनी काव्यकविताको सिर्जना र रूपान्तरणमा लागिरहे । उनका रचनामा त्यही समयको लोकसमुदायका मूल्यमान्यता र जीवनको प्रतिच्छवि देखिनु स्वाभाविक छ । भाषा पाठशालाहरू नभएकाले परम्परागत संस्कृत शिक्षा लिनु पथ्र्यो । खरदार, डिठ्ठा, विचारी जस्ता थोरै जागिर हुन्थे । बाटोमा बास बस्ने प्रचलन थियो । जुवा, कौडा खेल्ने, जग्गा सम्बन्धी खिचलो हुने प्रचलन थियो । जेलको अवस्था राम्रो थिएन । सतीप्रथा र बहुविवाहले लोकसम्मति पाएका थिए । प्रशासनमा ढिलासुस्ती हुन्थ्यो । आफ्नो स्वार्थपूर्तिका निमित्त चाकरी गर्ने प्रचलन थियो । पाहुना वा अतिथिको सम्मान हुन्थ्यो । भाग्य वा प्रारब्धलाई बलवान् ठानिथ्यो ।

५.निष्कर्ष
लोकको सान्निध्यमा जन्मे–हुर्केका भानुभक्त आचार्यका कविताकृतिमा लोकजीवन व्यापक मात्रामा प्रतिबिम्बन भएको पाइँदैन । रामायण, भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा र केही सान्दर्भिक फुटकर कविताहरू रचना गरेर प्रसिद्धि आर्जन गरेका भानुभक्त आचार्य नेपाली मात्रका श्रद्धेय र राष्ट्रिय विभूति हुन् । लोकको जीवन लोकजीवन हो । लोकका जीवनशैली, दिनचर्या, सांस्कृतिक–सामाजिक क्रियाकलाप, तिनका विश्वास र मूल्यमान्यता, भाषिक अभिव्यक्ति, लोकले उपयोगमा ल्याउने विविध वस्तु, सामग्री, उपकरण, वस्त्राभूषण र शस्त्रास्त्र आदिबाट लोकजीवन झल्कन्छ । लोकको सान्निध्यमा जन्म–हुर्के–खेलेका आदिकवि आचार्यका कविताकृतिमा सबैभन्दा बढी लोकविश्वास टड्कारो रूपमा उपस्थित भएको पाइन्छ । आचार्यका कविताकृतिमा रामगाथाको सकारात्मक गायन, बहुदेवता र बहुलोकमा विश्वास, देवीदेवताको अवतरण र रूप–स्वरूप परिवर्तन, यज्ञयज्ञादि र व्रतप्रतिको निष्ठा, सदाचार, उच्चतम आदर्श, धर्म तथा जन्म–जन्मान्तर तथा भाग्यमा विश्वास जस्ता लोकविश्वास प्रकट भएको पाइन्छ ।

उनका रचनामा ब्राह्मणलाई उच्च मान्दै क्षेत्री र शूद्र जातिको, आर्य अनार्यको समेत सामान्य झलक पाइन्छ । नारीलाई पुरुषको दासीका रूपमा उपस्थित गराइएको छ । नारी आदर्श र मर्यादामा नबसे घरबार र कामधन्दा नासिन्छ भन्ने लोकमान्यता छ । बहुविवाह, सतीप्रथा, बुहारी र चाकर कजाउने तथा चाकरी गर्ने प्रथा पनि भानुभक्तका रचनामा पाइन्छ । यी विश्वास, मान्यता र विचार भानुभक्तका मौलिक होइनन् । यी मध्ये केही मूल संस्कृत रामायण र पुराणका हुन्, केही तिनैबाट लोकपरम्परामा प्रवाहित भई भानुभक्तद्वारा लोकबाट ग्रहण गरिएका हुन् । स्रोत जेसुकै भए पनि उनका कविताकृतिमा व्यक्त विचार, मूल्यमान्यता भानुभक्तका होइनन् भनी उनलाई चोख्याउन सकिँदैन, किनभने यी कृतिसित भानुभक्तको नाम गाँसिएर आएको छ । यिनै कृतिबाट उनी पुष्पित, पल्लवित र आलोकित भएका हुन् । उनको युगजीवनका कृषिकर्म, शोषण, दमन, उत्पीडन, घरेलु हिंसा, सामाजिक हिंसा, थिचोमिचो, जीवन धान्न गर्नु परेका तमाम सङ्घर्ष, नेपाली लोकजीवनले प्रयोग गरी आएका हातहतियार, घरेलु वस्तु र कृषिउपकरण, वस्त्राभूषण, खाद्य परिकार, वाद्यवादन आदि तमाम कुराहरू उनका कविताकृतिमा पाइँदैनन् । तसर्थ लोकको सान्निध्यमा जन्मे–हुर्केर पनि कवि भानुभक्तका कविताकृतिमा व्यापक मात्रामा लोकजीवन अभिव्यञ्जित नभई सीमित मात्रामा अभिव्यञ्जित भएको छ । जेजति अभिव्यञ्जित भएको छ, त्यसले तत्कालीन नेपाली लोकजीवनको केही झलक भने अवश्य दिएको छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
प्रा.डा. कपिलदेव लामिछाने
प्रा.डा. कपिलदेव लामिछाने
Post Views: 368
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.