धनराज गिरी मोफसलमा रहेर साहित्य सेवामा समर्पित प्रतिभा हुन् । उनले आख्यान र कविता विधालाई मूल सिर्जन विधा बनाएका छन् । उनको कलम कविता, काव्य, गीत, जगल, कथा उपन्यास जस्ता विविध विधामा चलेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा लघुकथा समेटिएको छ । यस कथाले गुरु चेलाको संवादबाट समाजमा असल चरित्रको खाँचो रहेको सन्देश दिइएको छ । -सम्पा. |
–“के तिमी तिमी भएकोमा सन्तुष्ट छौ ?” अलि पाको पात्र बोल्यो |
“के हजूर हजूर भएकोमा सन्तुष्ट हुनुहुन्छ ?”५० को हाराहारीको युवा पात्र बोल्यो |
यो प्रश्न सोद्धा युवाको गालामा डिम्पल परेको थियो,अनुहार भने बहुत सिम्पल,दुईको नै |
“यो त गज्ज़बको उत्तर भयो रे बबुवा, हर सवाल का जावाब ही सवाल हो भने जस्तो ! खैर, हेर पुरुषोत्तम तिमी हाम्रो त्यो समाज र त्यो समयको एक होनहार मेधावी शिष्य हौ,हामी गुरुहरूको आशा –एक भेटेरान विद्वान\ …प्रा डा पुरुषोत्तम चौधरी –हाम्रो सपना र तिमीले लेखेका “पोस्तकहरू “सर्वश्रेष्ठ हुने —आदि इत्यादि !”
“सर,हजुरको ज़मानामा हजूर पनि एक अद्वितीय पात्र भनेर मलाई मेरा पिताश्री र दाजीहरूले सुनाउनुभएको हो,जे सपना हजुरले [अरूलाई छोड़ों ] मेरो लागि देख्नुभयो,हजुरका गुरुहरूले पनि देखे होलान नि !
सपना त आखिर सपना हो,यो त ‘हरिबंस आचार्य कलाकार नभएको भए के हुने थिए ?’भनेर अमरजीले “करोडौ कस्तूरी “कल्पना गरेजस्तो भएन र ?हजुरको जीवनपद्धति,अहिले जे छ,पहिले जे थियो –सदाबहार –खुल्लमखुल्ला —बिन्दास –यही देखेर म अझ पनि शिक्षा लिन्छु,हामी समकालीन साथीहरू कुरा गर्दछौं |गुरुदेव,अब हजूर आज सामुन्नेमा हुनुहुन्छ,ल भन्नुहोस,के भएमा जीवन सफल र सार्थक ? के प्रोफ़ेसर ह्रदयनारायण आनन्द गिरोपाध्यायलाई सुखी र प्रफुल्लित व्यक्ति नभन्ने ?हजुरले दिएको मूर्त र अमूर्त ज्ञान हाम्रो जीवनमा काम लागेन ?”
—-लस भेगास पुगेको छ प्रोफ़ेसर आनन्द यतिखेर —आफ्नो भान्जा दुई – आलोक पुरी र सूर्यनारायण आचार्यको निम्तोमा | क्यानडाबाट त्यहाँ पुगेको हो | एउटा सन्जोग, दीर्घकालदेखि त्यही बसेर आफ्नो कारोबार गरी रमाएको उसको पूर्व शिष्य चौधरी अचानक भेट भयो |गुरु चेला,साँझको बेला, रमाइलो मेला, बिजुली सर्वतको साथमा “हजूर एक हप्ता मेरो कुटीमा “चौधरीले बूथ क्याप्चर गरेको छ | यो “सम्वाद” उही ” भेगास इफेक्ट “हो |
” यो दार्शनिक कुरा भयो |हुन त जीवनको भित्री तहसम्म पुग्न दर्शन चाहिन्छ |हेर शिष्य “थर्ड टाइपको इफ सेन्टेंस “जिन्दगी होइन,जे छ,त्यही हो जिन्दगी |तिमी चौधरी भएर ह्याप्पी –सक्कली र म आनन्द भएर ह्याप्पी –सक्कली |यो कुरा हाम्रो अनुहारले भन्छ,आँखाले भन्छ |अभिनय होइन हाम्रो व्यवहार,नक्कली होइन हाम्रो कुरा,मनमा जे आयो त्यो बोल्यो,लेख्यो —यही हो सफल र सार्थक जिन्दगी |तिम्रो अनुहारको चमक देखेर म खुशी छू |मार्क होइन हामी —त्यो क्या त्यो,हाम्रो कारणले असल मानिसले दुःख पाएजस्तो लागेको छ ?हामी साक्षी भाव राखेर स्वमानमा रही सास लिएका छौं भने हामी यो युगको “बादशाह “हौं –आफ्नो मनोलोकको |” गुरुको कुरा सुनेर अझ उज्यालो अनुहार बनायो चौधरीले,ग्लास खाली –दुईको नै |पेय राख्यो | तानें |गालाको कोठी अझ सुन्दर देखियो |नेपाली टोपीमा आनन्द |उसलाई गोरीहरूले नौलो मानेर हेरे |
” यही हो सर जिन्दगी ! असन्तुष्ट विद्वानभन्दा सन्तुष्ट र स्वस्थ अज्ञानी ठीक,कुण्ठाग्रस्त र मनोरोगीहरू भोगियो |खुराफातीहरू जहिले पनि तनावमा |तीन दिन भयो,हजूर र म एकसाथ घुमेको,हामीले कसैको कुरा —नकारात्मक –गरेको थाहा भएन, यही शैली उहिलेदेखि मन परेको हो हजुरको |शायद,द्रोण र अर्जुन हरेक युगमा आउने कुरा सत्य हो कि ? ख़ुशी छु गुरुदेव,यो सात दिन मेरो लागि स्वर्णीम पल हुनेछ |आज पिताश्रीको अभाव पनि पूरा भएको छ !”अलि भावुक भयो चौधरी |आँखा नम,साथमा रम |
“आयुष्मान भव पुत्र ! यशस्वी भव !!” शिरमा हात राखेर आशीर्वाद दियो गुरुले |१ महिना अमेरिका घुमेर आनन्द भ्यान्कुभर फर्कियो –प्लेनमा |