सुरेन उप्रेती नेपाली साहित्यका सेवामा बहुमुखी ढंगले समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा प्रस्तुत छ । यस शृङ्खलामा उनको परिवेश शीर्षकको कथा समेटिएको छ ।
-सम्पा. |
वैकुण्ठको स्वभाव नेपालमा हुँदा देखिकै अलि अन्तर्मुखी खालको थियो । वैकुण्ठलाई अरू केटाकेटीहरूसँग गफगाफ गर्न र समय बिताउन तेती मन पर्दैन थियो । उसको स्वभावका कारणले गर्दा हाई स्कुलमा पनि उसका धेरै साथीहरू थिएनन् । साथीहरू बढी नहुनुमा अर्को कारण पनि छ । त्यो हो उसको खेलकुदप्रतिको अरूचि । वैकुण्ठ कुनै पनि खेलको प्रिय बन्न सकेन । उसले खेल्न प्रयासै नगरेको भन्ने चाहिँ होइन । अरूले खेलेको देखेर ऊ पनि भलिबल खेल्न पसेको थिंयो । अर्कोतिरबाट बतासिएर आएको बल उसको पुर्पुरोमा बजारियो । उसले त केही पनि देखेन रे । तोरीबारीका माझमा बसेको जस्तै सबैतिर पँहेलो मात्र देख्यो रे । ऊ बेहोस नै भएछ । उसको होस आएर आँखा खोल्दा त स्कुल नै छुट्टी भइसकेछ । सबै शिक्षक विद्यार्थीहरू घर घर गइसकेछन् । पालेदाइ र हेडसर मात्रै रहेछन् । उसको टाउकोमाथि कसैले जाँतो राखिदिए झैं गह्रुङ्गो भएको थियो रे । उसको जिउ पसिनै पसिना भएछ । उसलाई त आगोको छेउमा बसे झैं भित्रैदेखि पोलेर हरहर भएको थियो रे । पाले दाइले एक ग्लास चिसो पानी खान दिएछन् । उसलाई त पुरै एक गाग्रो पानी खानु जस्तो भएको थियो रे ।
हेडसरले कस्तो छ तिमीलाई, हिंड्न सक्छौ रू भनेर सोध्नुभयो । वैकुण्ठ बल्ल तल्ल उठ्यो। म हिंड्न सक्छु भनेर बाटो लाग्यो । स्कुलकै छेउमा उसको डेरा थियो । पालेदाइ र हेडसर उसको हिंडाइ नियाल्दै थिए । वैकुण्ठ बल्लतल्ल डेरामा पुग्यो र ओछ्यानमा लम्पसार पर्यो । वैकुण्ठ भोलिपल्ट पनि स्कुल गएन । वैकुण्ठ स्कुल जानै नसकेर चाहिँ नगएको हैन । अरू केटाकेटीहरू उसलाई देखेर हाँस्लान् भन्ने डरले र लाजले स्कुल नगएको थियो । तेस्रो दिन स्कुल लागिसकेपछि लजाउँदै लजाउँदै कक्षामा गयो । सबैले उसलाई नै हेरिरहे जस्तो लाग्यो तर उसले चाहीँ कसैलाई पनि हेरेन । सँधै कक्षा नछोड्ने विद्यार्थी एक दिन नआउँदा पनि चियो र चर्चा हुने गर्दछ । वैैकुण्ठका बारेमा पनि निकै खोजी तलासी भएछ । कस्तो छ तिमीलाई आज भनेर सरले सोध्नु भयो । उसले टाउको पनि नउठाई ठिक छ भन्यो । प्रत्येक पिरियडमा सरहरूले उसको स्वास्थ्यका बारेमा सोधेका प्रश्नहरूले गर्दा ऊ झन बिरामी जस्तो भइसकेको थियो । कतिखेर स्कुल सकिन्छ र मुक्ति मिल्ला भन्नेमा उसको मन केन्द्रित थियो ।
अरूले फुट्बल खेलेको पनि वैकुण्ठ प्रायशः हेर्ने गर्दथ्यो तर ऊ ग्राउन्डमा खेल्न भनेर कहिल्यै पसेको चाहिँ थिएन । सातौं पिरियडमा शारीरिक शिक्षा पढाइ हुन्थ्यो । सरले सबै केटाकेटीलाई ग्राउन्डमा लिएर जानुभयो । सबै विद्यार्थीहरू दुई समूहमा विभाजित भए । सरले फुटबल खेल्नका लागि आआफ्नो पोजिसनका बारेमा बताउनु भयो । वैकुण्ठको पोजिसन चाहिँ गोलीभन्दा अगाडि उभिएर गोल छेक्नेमा पर्यो । उसका कोर्टतिर बल आएपछि बल रोक्न बलका पछि पछि बेस्सरी दौडिंयो । अहँ बललाई भेट्न सकेन । वैकुण्ठ त अरू बिस्तारै हिंडे जतिको पनि पो कुद्न सक्दो रहेनछ । सबै केटाकेटीले उसलाई एक कोस नै छोड्दा रहेछन् । त्यसपछि भने वैकुण्ठले खेलकुदलाई जिस्क्याउनु व्यर्थै रहेछ भनेर फेरि खेलमा पस्ने जमर्को गरेन । खेलकुदमा भाग नलिने भएपछि साथीहरू पनि त्यति हुँदा रहेन छन् ।
सबैले उसलाई त किताव भएपछि पुगिहाल्छ नि भनेर जिस्क्याउँथे । त्यसले गर्दा पनि अरू भन्दा ऊ अलग्गै रहने स्वभाव विकसित भयो । मानिसको स्वभाव अन्तर्मुखी भए पनि उमेरसँगै भावना र चाहनाहरू भने परिवर्तन हुँदा रहेछन् । वैकुण्ठका मनका पनि विस्तारै प्वाँखहरू पलाउँन थाले । कलेजमा गएपछि त नजानिदो गरी मनका पखेटाहरू फट्फटाउँन थाले । उसको मन पनि कतै बहकिन थाल्यो । कुनै कुरामा आकर्षित भएर मन बरालिन थाल्यो । कसैलाई थाहा नै नदिने गरी उसका आँखाहरूले कतै चिहाउन थाले । उसको मनले पनि सुन्दर सुन्दर सपनाहरू देख्न सुरु गर्यो । उसको मन पनि कसैलाई हेरेर रमाउन थाल्यो । उसको मनले कुनै दृश्लाई अनवरत रूपमा हेरिरहुँ गर्नथाल्यो । कुनै आवाजलाई सुन्न व्यग्र बन्न थाल्यो मन । सङ्गीतको खडेरीयुक्त मनमा पनि भाकाहरू अङ्कुराउन थाले । उसका ओठहरूले गीतहरू गुन्गुनाउन थाले तर न त्यो दृश्यलाई दर्शकका बारेमा थाहा छ न त त गीतलाई नै गायकका बारेमा थाहा छ ।
वैकुण्ठ बुबाआमासँगै केही दिन अगाडि मात्र नर्थअमेरिका टेकेको आइपुगेको थियो । उसका बुबाले स्टोरबाट दुध किनेर ल्याउन अह्राउनु भयो । ऊ नजिकैको कर्नर स्टोरमा दुध किन्न गयो । स्टोरमा चार पाँचजना ग्राहकहक ऊ भन्दा अगाडि लाइनमा थिए । कुनामा रहेको फ्रिजबाट उसले एक प्याकेट दुध झिकेर पैसा तिर्न लाइनमा उभिंयो । अब पैसा तिर्ने उसको पालो आयो । उसले दुधलाई काउन्टरमा राख्यो । काउन्टरमा उसकै उमेरकी एउटी युवती उभिएकी थिइन् । उनको सुन्दर अनुहारमा मुस्कान पोखेर वैकुण्ठको स्वागत गरिन् । वैकुण्ठले दुधको पैसा तिरें र फेरि एकपटक ती युवतीलाई हेर्यो । उनको मुस्कान फेरि पनि पोखियो । त्यो मुस्कानलाई उठाएर वैकुण्ठ बाहिर निस्कियो । फेरि पनि ती युवतीलाई हेरौं हेरौ लाग्न थाल्यो । वैकुण्ठलाई ती युवती र उनको मुस्कानलाई बर्सौदेखि चिने जस्तो लाग्यो । घरबाट केही किन्ने बहाना निकालेर फेरि ती युवतीलाई हेर्न जाऊँ जाऊँ जस्तो हुनथाल्यो । घरमा केही समान किन्नु पर्दा वैकुण्ठ नै अघि सरेर जान थाल्यो । कुनै सामान त्यति खेर नचाहिने भए पनि किन्न गइहाल्थ्यो । वैकुण्ठ एक किसिमले मध्यपानमा लत बसेको मान्छे जस्तै बनिसकेको थियो । उसका आँखाहरू ती युवतीलाई हेर्न व्याकुल हुनथाले । उनलाई न देख्दा वैैकुण्ठको मन त्यसै छट्पट गथ्र्याे । उस्तै मुस्कान, उस्तै हेराइ वैकुण्ठ झन झन एकहोरिन थालिसकेको थियो । कहिले काँही ती युवतीका ठाउँमा अरू नै मानिसहरू बसेका हुन्थे । ती युवतीलाई नदेख्दा वैकुण्ठको मन निराश हुन्थ्यो । आँखाले त्यसै न्यास्रो मान्थे । खिन्न भएर गह्राँै पाइला चाल्दै घर फर्कन्थ्यो । उसको मन विरसिलो हुन्थ्यो । राती पनि ढिलोसम्म निन्द्रा पर्दैन थियो । वैकुण्ठका मनमा सिएन टावर र आइफल टावरहरू बन्दै र ढल्दै गर्थे । उसका दिनहरू कहिले संयोग र कहिले वियोगमा गुज्रँदै थिए ।
नयाँ ठाउँ, परिवेश र नयाँ परिस्थितिसँग परिचित हुन वैकुण्ठ प्रयाशरत थियो । वैकुण्ठ फेरि मनभरि ती युवतीलाई हर्ने रहर पालेर स्टोरमा जाँदै थियो । वैकुण्ठले ठिक स्टोरको बाहिर ती युवतीलाई देख्यो । वैकुण्ठको मन त्यसै त्यसै खुसीले रम्न थाल्यो । वैकुण्ठका पाइलाहरू छिटो छिटो उनीतिर बढे । उनीहरू दुबै नजिक हुँदै थिए । ती युवतीसँग वैकुण्ठको भेट भयो तर ती युवती सँग त्यो मुस्कान, चमक, सुन्दरता केही थिएन । वैकुण्ठलाई ठुलो पिर पर्यो । ती युवतीलाई के विपत्ति आइपर्यो होला भन्ने खुल्दुली भयो । उनको दुखमा सरिक भएर सबै पीडा लिन आतुर भयो वैकुण्ठको मन । यो जीवनको अन्त्य हैन, सुरुवात हो पिर नगर भन्नलाई थर्थराउन थाले वैकुण्ठका ओठहरू । ती युवती पूर्णिमाको जूनमा दाग लागेजस्तै भएर विनाशब्द स्टोरभित्र छिरिन् । वैकुण्ठलाई झन पिर पर्यो । वैकुण्ठ पनि ती युवतीको अव्यक्त पीडाले पीडित भएकी थियो । वैकुण्ठ सुस्तरी पाइला चाल्दै स्टोरभित्र गयो अनि मात्र वैकुण्ठलाई बल्ल थाहा भयो । त्यो पोखिएको मुस्कान, चमक र सुन्दरता हराएको रहस्य । त्यो विक्री काउन्टरमा बस्ता मात्र पोखिंदो रहेछ ती युवतीको मुस्कान । यत्र तत्र भएर छरिंदो रहेछ सुन्दरता र चमक । ती युवतीले त जागिर खाएको रहेछ । त्यसलाई कस्टमर सर्भिस भन्दा रहेछन् ।