सुरेन उप्रेतीको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको सपना शीर्षकको कथा समेटिएको छ । यस कथा रचनाले नेपाली ग्रामीण परिवेशको विवाह सन्दर्भ र प्रेमको सन्दर्भलाई निकै जीवन्त रूपमा प्रस्तुत गरिएको छ । -सम्पा. |
जिल्लाबाट विद्यालय निरीक्षक आएका थिए । गाउँमा राम्रो खाने, बस्ने लज र होटल थिएनन् । बाहिरबाट आएका मान्छेलाई जहाँसुकै वास माग्दै हिँड्न पनि अप्ठ्यारो । अरू शिक्षकहरूलाई पाहुना लगेर राख भन्न पनि मैले सकिनँ । फेरि आफू प्रधानाध्यापक भएको नाताले पनि स्कुलका पाहुनालाई खानपिन र वासको व्यवस्था गर्नु मेरो कर्तव्यभित्र पर्दथ्यो तर घरको अवस्था त्यति पाहुनाको स्वागत गर्नयोग्य भने थिएन । मैले आफूलाई जति व्यावहारिक छु भने पनि म पनि त नेपाली समाजको गाउँमा जन्मी हुर्केको पुरुष न ठहरिएँ । साँच्चै भन्ने हो भने मैले दालभात पकाउन सिकेको भनेकै आई. एड. पढ्न सुरु गरेपछि हो । फेरि आफूले खाने भात जस्तो भए पनि हुन्थ्यो । कसैले यस्तो नमिठो, नुन लागेन नभन्ने । कहिले भात र दाल सँगै मिसाएर पकायो । कहिले भातमा नै अलिकति नुन र घिउ हालिदियो । दाल, तरकारी पकाउने लेठा नै नलाग्ने ।
साँनो छँदा त भात पकाएका बेला भान्सामा पनि हेरेको थिएन भन्दा हुन्छ । आमा र भाउजू भएपछि भान्सा हेर्ने कुरै भएन । त्यसमाथि छोरा मान्छेले पकाउन सिक्ने त चलन पनि छैन । फेरि आफ्ना बा गाँउका अध्यक्ष । अध्यक्षको पनि गाउँमा त निकै सान हुने भइगयो । हामीले खास केही कामनै गर्नुपर्दैन थ्यो । सरासरी एसएलसी पास गरियो । आई. एड. पढियो । त्यसपछि मास्टर भइयो ।
गाउँमा मास्टर भएपछि त इज्जत नै बेग्लै । मास्टर जति जान्ने कोही पनि हुँदैन भन्ने सोचाइ भएका गाउँलेका अगाडि सान नै बेग्लै । अँ म पाहुनाको कुरा गर्दै थिएँ । स्कुलका केटाकेटीहरूको हुलसँगै विद्यालय निरीक्षक र म पनि घरतिर लाग्यौँ । विद्यार्थीको हुलमा मेरा छोरा र छोरी पनि थिए । छोरी आठ बर्षकी र छोरा ६ बर्षका थिए । तीन हप्तादेखि आमासँग फोनमा र स्काइपमा कुरा हुन नपाएकाले उनीहरू त्यसै न्याश्रिएका थिए । प्रत्येक दिन जस्तो सुत्नु अगाडि आमासँग कुरा गरेर आमालाई गुडनाइट किस दिएर सुत्नेहरू तीनहप्तासम्म सम्पर्क नहुँदा नुन खाएका कुखुरा जस्तै बनेका थिए ।
बाबा मामूले किन फोन नगरेको ? ‘हामीले चाँडै घर आउनु भनेकाले मामू रिसाउनु भएको हो बाबा ?’ भनेर सानो छोराले तोते बोलीमा सोध्थ्यो । मसँग उसलाई दिने उत्तर हुदैन थियो । बाबू मामूलाई कामबाट फुर्सद मिलेन होला । एक दुई दिनमा त स्काइपमा आइहाल्नुहुन्छ नि भन्दै टार्थेँ र अर्कोतिर फर्किएर रसाएका आँखा पुच्छदथेँ । यो क्रम लम्मिदै तीन हप्ता भइसकेको थियो । छोराछोरीलाई कुरा गराइदिन भनेर थुप्रैपटक फोन लगाउँदा पनि फोन नै उठ्दैन थियो । पक्कै पनि घरवेटीहरूसँग कतै घुम्न गएकी होलिन् । त्यसैले फोन नउठेको होला भन्ने अट्कल काटेँ । फेसबुकको सम्पर्क सूचीमा पनि ब्लक भएछ । मलाई फेसबुकको राम्रो ज्ञान नभएकाले गल्तीले कुनै बटन थिचेँहोला भनेर चित्त बुझाएँ । विद्यालयबाट पाहुनासहित घरमा पुगेपछि छोराछोरीलाई खाजा दिएँ । हामीलाई दुई कप चिया पकाएर ल्याएँ । गाउँमा भए पनि सोलारले एउटा बत्ती बाल्न, फोन र कम्प्युटर चलाउन पुग्दथ्यो । बच्चा सानै भएकाले चाँडै सुतिहाल्थे । बिजुली धेरै खर्च हुँदैन थियो । पानी झरी पर्दा, घाम नलाग्दालाई भनेर व्याट्री चार्ज गरेर पनि राख्ने गरेको थियो ।
हामीले चिया खाँदै विद्यालयका र गाउँठाउँका बारेमा कुरा गर्यौँ । पारिवारिक कुराहरू पनि साटासाट भए । छोराछोरीलाई पनि दुध र बिस्कुट दिंएँ । हामीले चिया खाइसक्दा उनीहरूले पनि खाजा खाइसकेका थिए । उनीहरूलाई स्कुलको होमवर्क गर्न लगाएँ । पाहुनालाई कम्प्युटरमा समाचार र फेसबुक हेर्न दिएर म भान्सामा जुटेँ । भान्साको काम गर्दै बेलाबेला केटा केटी र बेलाबेला पाहुनातिर पनि ध्यान दिँदै थिएँ । पाहुनाले फेसबुकमा साथी बन्ने प्रस्ताव पठाउनु भयो । खाना तयार भएपछि केटाकेटीलाई खाना दिएँ । उनीहरू सुत्नु अगाडि आमासँग कुरा गर्ने बानी परेकाले छिटो छिटो खाना खान्थे । ढिला भयो भने आमासँग बोल्न पाइँदैन भन्ने उनीहरूले बुझेका थिए । सानै भए पनि दिन दिनैको अभ्यासले गर्दा छोराछोरीहरू दुबै स्काइप खोल्न सिपालु भइसकेका थिए । त्यहाँ मैले लागिरहनु पर्दैन थियो ।
उनीहरूलाई कम्प्युटर दिएर हामी खाना खान थाल्यौँ । सँधै झैँ धेरै सम्पर्क गर्दा पनि आमासँग सम्पर्क हुन सकेन । छोराछोरी निराश बनेर सुत्ने तर्खर गर्न लागे । धन्न संयोगले त्यसैबेला कतारमा भएका मामासँग सम्पर्क भएछ । एकछिन कुरा गरेर सुते । पाहुनालाई पनि पहाडको उकालो र ओराली बाटोमा वसले हल्लाउँदा हल्लाउँदा हैरान बनाएको रहेछ । तातो खाना पेटमा पर्नासाथ हाई हाई गर्न सुरु गरे । पाहुनालाई एउटा कोठामा सुत्ने व्यवस्था गरेँ र म भाँडाकुडा र चुलोजुठोमा लागेँ । केटाकेटी र पाहुना निधाएपछि घर सुनसान थियो । गाउँतिर बत्ती नहुनाले सबै मान्छे प्राय चाँडै सुत्छन् । अँध्यारोको बर्कोले धर्तीलाई नै छोपेको थियो । पारी गाँउको जङ्गलमा स्यालहरू कराएको आवाज आइरहेको थियो । यो स्यालको जात पनि कस्तो एक ठाउँको स्याल कराएपछि वारिपारि चारैतिरका स्यालहरूले कराएर स्वर थप्दै जाने । यिनै कुराहरू सोच्दै मैले कम्प्युटर खोलेंँ र अगाडि बसेँं । पाहुनाले फेसबुकमा पठाएको मित्रताको प्रस्तावलाई स्वीकार गरेँं । अब हामी साथी भएका थियौँं । आफ्नो फेसबुकको म्यासेन्जरमा गएर हेरेंँ । नयाँ खवर केही थिएन । गाउँका मास्टरका कति नै पो साथीहरू हुन्छन् र फेसबुकमा कुरा गर्न । स्कुलका शिक्षक शिक्षिकासँग दिनभरि सँगै भएकाले गर्ने कुरा पनि केही हुँदैन । फेरि आफू त हेडमास्टर परियो सबैसँग सम्पर्क गरेर कुराहरू सेयर गर्ने कुरा पनि भएन । एक दुई जना विदेशतिर भएका साथीहरू पनि अनलाइनमा रहेनछन् । मन त्यसै गह्रुङ्गो हुँदै थियो । म नयाँ मित्रको प्रोफाइलमा गएँ । कोही परिचित साथीहरू भेटिन्छ कि भन्दै क्रसरलाई तलमाथि गरेँ । तीन चार जना अरू स्कुलका हेडमास्टरहरू पनि लिस्टमा रहेछन् । उनीहरूलाई मित्रताका लागि अनुरोध पठाएँ । अरू कोही चिनेका छन् कि भनेर नाम र फोटो हेर्दै थिएँ । करिब नौ बर्ष अगाडि ताहाचल क्याम्पसमा आई एड पढ्दा चिनाजान भएको एक जना साथी भेँटे । उसको प्रोफायलको फोटोले मेरो ध्यान आकर्षित गर्यो । उसको फोटो अल्वममा गएर फोटाहरू एक एक गर्दै हेर्न थालेँ । केही तस्बिरहरू हेरेपछि मेरो मुटुको धड्कनसँगै मेरो श्वास प्रश्वास तीब्र गतिमा बढ्न थाल्यो । म स्वाँ स्वाँ भएँ । अचानक टाउको दुखेर रिंगटा लाग्न थाल्यो । अनायासै आँखाबाट आँसुहरू निस्किए । आँखा चिम्म गरेँ र म बाहिर निस्किएँ ।
पिलपिल गर्दै ताराहरू आकाशमा देखापर्दै र हराउँदै थिए । मलाई ती ताराहरूले पनि के के भनेर जिस्क्याए जस्तो लाग्यो । उत्तरतिर हिमालले आकाशसँग जोडिएर कानेखुसी गर्दै थियो । हिमालको पल्लापट्टिबाट जुनले मन्दमुस्कान छरेर उज्यालोले बाहिर चिहाउन सुरु गरेको थियो । चिसो हावाको झोक्काले मेरो झटझट गर्दै दुखेको टाउकामा हिर्काउँदै थियो । मैले लामो लामो सास फेरेँ । मेरा आँखाअगाडि आएर अतीत घुम्न थाल्यो । म त्यसबेला कक्षा १० मा पढ्थेँं । म स्कुलभरिमा राम्रो पढ्ने विद्यार्थीमा गनिन्थेँं । हाम्रो स्कुलका विभिन्न सदनहरू बिच हाजिरी जवाफ प्रतियोगिता हुनेभयो । म गौतमबुद्ध सदनको टोली नेता थिएँ । हाम्रा सदनमा यसै वर्षदेखि हाम्रो स्कुलमा पढ्न आएकी तीर्थकुमारी भन्ने नयाँ विद्यार्थी पनि थिइन् । कक्षा आठकी प्रथम विद्यार्थी भनेर उनलाई भन्थे । उनका बाआमाको स्कुलका छेउमा किराना पसल थियो । हाजिरी जवाफ प्रतियोगितामा तीनवटा प्रश्नको जवाफ उनले पनि दिइन् । जसले जाने पनि टोलीनेतामार्फत भन्नु पर्ने हुनाले मलाई कानमा सुटुक्क उत्तर भन्थिन् । यो हाजिरी जवाफको तयारीदेखि प्रथम हुँदा सम्ममा हाम्रो थुप्प्रैपटक भेटभएको थियो । थाहै नपाई यो मनले उनलाई मनपराउँन थालेछ । आँखाहरू उनलाई नै हेर्न लालायित हुन्थे । स्कुल जाँदा उनकै पसलअगाडि भएर जानु पथ्र्याे । उनी पनि सायद मलाई नै पर्खिरहेकी हुन्थिन् । म उनको पसल नजिक पुग्दा उनी पनि निस्किएर अगाडि लाग्थिन् । हामी सँगसँगै स्कुल जान्थ्यौँ ।
हाम्रा आँखा जुद्दा उनी मुस्कुराएर प्रतिउत्तर दिन्थिन् । मेरो मन दिनभर रोमाञ्चित हुन्थ्यो । हाम्रो बोलचाल भने खासै भएको थिएन । मैले एसएलसी दिएपछिको समयलाई स्कुलमा स्वयंसेवक भएर पढाउन थालेँ । धेरै पटक शिक्षक नभएको बेलामा तीर्थकुमारीहरूका कक्षामा पनि पढाएँ । मेरो एसएलसीको रिजल्ट आएपछि म आई. एड. पढन काठमाडौँको ताहाचल गएँ । आई. एड.को पढाइ सकेर म घर नजिकैको निम्न माध्यमिक विद्यालयमा पढाउन थालेँ । तपाईं यत्रो दुई वर्षसम्म कहाँ जानुभएको थियो भन्दै तीर्थकुमारीले सोद्धा मलाई कुनै आफन्तले सोधे जस्तो लाग्यो । उनले मलाई सोधेर टाउको निहुराइन् र खुट्टाले भुइँमा कोर्न थालिन् । किन र मलाई माया गर्छ्यौ र मैले सोधेँ । लाजले गाला रातो बनाउँदै हो त नि । मैले तपाईंकी आमालाई पनि सोधेकी थिएँ भनिन् । अब भने तीर्थकुमारीसँग बाक्लै भेटघाट र कुराकानी हुनथाल्यो ।
एकदिन बुवबाले आमासँग मेरो विवाहका बारेमा कुरा गर्नुभयो । मेरो विवाह व्यपारीकी छोरीसँग गर्ने कुरा हुँदै रहेछ । मैले सास दबाएर सुनेँ । बा भन्दै हुनुहन्थ्यो, केटीले फस्ट डिभिजनमा एसएलसी पास गरेकी छ । केटी सारै शीलस्वभाव राम्रो भएकी छ । के दिन्छन् त हाम्रो धर्मराजलाई ? आमाले उत्सुकता पोख्दै बातिर हेर्नुभयो । हामीले कुरा गरेपछि कसो नदेलान् त बाले अलिकति गाविसको अध्यक्ष भएको रबाफ छोड्दै भन्नुभयो र मुसुक्क हाँस्नुभयो । हाम्रो धर्मराजले त मान्छ होला नि फेरि आमाले थप्नुभयो ।
मेरो घाँटीमा के अड्किएजस्तो भयो । खोकेको थाहा पाउलान् भनेर हतार हतार आँगनतिर निस्किएँ । बिस्तारै आफ्नो कोठामा गएर सुतें । मनमा अनेक कुरा खेलेर निन्द्रा नै परेन । बिहान आमाले ए कान्छा उठ् नौ बज्न लागिसक्यो कति सुतेको भन्दा मात्र बिउझिएँ । सारै राम्रो सपना देख्दै थिएँ । एकछिन सुत्न पाए फेरि अगाडिको सपनाले निरन्तरता पाउँथ्यो कि भन्ने लोभले फेरि सुत्न प्रयास गरेँ तर त्यस्तो मिठो सपनासँग कहाँ पुग्न सकिन्थ्यो र ? अहँ निन्द्रा नै लागेन । शनिवारको दिन स्कुल जानु पर्दैन थियो । बिस्तारै उठेर नुहाइ धुवाइ गरेर भान्सामा गएँ । खाना खाँदै गर्दा ल आज साना पण्डितलाई पनि बोलाएको छ । हामी कन्यार्थु भएर जानुपर्छ लुगा लगाएर ठिक पर्नु । आदेशात्मक स्वरमा बाले भन्नुभयो । मैले लजाउँदे नजाने झैं गरेर कहाँ जाँने बा भनेर सोधेँं । बाले भरे थाहा पाइहाल्छस् नि भनेर टार्नुभयो । करिब चार बजेतिर पण्डित बा पनि आइपुगे ।
पण्डित बासँगै हामी घरबाट निस्कियौंँ । हामी आउने कुरा व्यापारिका घरमा पहिला नै थाहा रहेछ । सबैजना सरसफाइ र खानपिनको तयारीमा जुटेका रहेछन् । मेरा आँखाले भने तीर्थकुमारीलाई नै खोजिरहेका थिए । एकछिन बसेपछि तीर्थकुमारीका बाले चिया ल्याउन अह्राउनु भयो । तीर्थकुमारी लजाउँदै चिया लिएर आइन् । हाम्रा बाले नानीको नाम चै के अरे भनेर सोध्नुभयो । उनी लजाउँदै तीर्थ भनेर चिया दिएर भित्र गइन् । विवाहको कुरा छिनियो ।
गाउँमा हामी अरूभन्दा अलि पढे, लेखेका भएको नाताले पनि फजुल खर्च गर्नुहुन्न भन्ने हाम्रो मान्यता थियो । धेरै खर्च नगरी विवाह गर्ने तीर्थ र मेरो इच्छा थियो तर त्यसको कुनै सुनुवाइ दुबै पक्षबाट भएन । तडक भडक सहित ठुलो भोज भतेर भयो । वल्लो, पल्लो गाउँ चिने जानेका जति सबैले विवाह भोजको मज्जा लिए । नाचगान पनि धुमधाम भयो । दोहोरी गीत, बालन र श्लोक भन्नेहरूले रात नै छर्लङ्ग पारे । विवाहको पहिलो रात भविष्यका बारेमा थुप्रै योजनाहरू बुन्यौं । सँगै जिउने सँगै मर्ने वाचाहरू गर्यौँ । सन्तान कति जन्माउनेदेखि के नाम राख्ने समेतका कुरा भए । छोरीको नाम, धर्म र तीर्थबाट मिलाएर धरती राख्ने र छोराको नाम राज र कुमारीबाट राजकुमार राख्ने निर्णय भयो । उनलाई पनि स्कुलमा काम खोज्ने र दुबैले स्कुलमै पढाउने सल्लाह गर्यौँ ं। गाउँमै बसेर एउटा आदर्श जीवन बिताउँने सपना रोप्यौँ । तँ चिता म पुर्याउँछु भने झै तीर्थले पनि स्कुलमा काम पाइन् । हामी दुबै जनाले स्कुलमा पढाउन सुरु गर्यौँ । जीवन हर्षोल्लाससँग अगाडि बढिरहेको थियो । झन छोरी धर्तीको जन्म भएपछि त खुसीको सीमा नै रहेन । धर्तीको आगमनले हामीलाई अझै नजिक बनायो । हामी दुवैको माया पाएर धर्ती पनि सुन्दर फूलको कोपिला जस्तै भएर हुर्कँदै थिइन् । राजकुमारको जन्म भयो । हाम्रा सपनाहरू साकार हुँदै थिए । देशको राजनीतिले फरक मोड लियो । देशमा दिन दिनै झगडा काटमार हुनथाले । गाउँका युवायुवती जति एकाएक हराउन थाले । दिन दिनै हडताल, चन्दा, लेबी भन्दै खालखालका मान्छेहरू आउँथे ।
फेरि केही क्षणमा तिमेरू जङ्गलीलाई सहयोग गर्ने भन्दै अर्काथरी मान्छेहरू आउँथे । खसी, बोका कुखुरा परेवा, अन्न केही भन्न पाइएन सबै खाइ दिन्थे । नदिँदा ज्यान बचाउनै गाह्रो । बोल्दा मात्र कतिले अङ्गभङ्ग हुनु पर्यो भने कतिले त ज्यानै गुमाउनु पर्यो । शिक्षक शिक्षिकाहरू चन्दा दिँदा दिँदा हैरान भए । पुलिस र सेनाको धरपकडले गाउँमा बस्न र बाँच्न समेत गाह्रो हुन थाल्यो । । गाउँका मान्छेहरू सहरतिर गएर बस्न थाले । कोही कामका लागि विदेशतिर लागे । एकजना विदेश गएर २–४ बर्ष बस्न पाए काठमाडाँैमा एउटा घर बनाउन सकिन्थ्यो । त्यसपछि त छोराछोरीलाई पढाउने र बाँकी जिन्दगी आनन्दले सहरमा नै बिताउने सपना हामीले पनि फलायौँ । गाउँबाट थुप्रै महिलाहरू इजरायल जाँदै राम्रै पैसा कमाएर ल्याउँदै थिए ।
तीर्थले पनि इजरायल जाने विचार गरिन् । मलाई भने एकातिर साना छोराछोरीलाई कसरी हुर्काउने भन्ने समस्या थियो भने अर्कोतिर तीर्थसँग बिछोड भएर कसरी बस्नु भन्ने पिर थियो । नपठाउँदा पनि सँधै त्रासै त्रासमा दिन कटाउनु पर्ने अर्को बाध्यता थियो । उनकी काकाकी छोरी पनि इजरायल गएर आइछन् । काठमाडौँमा घर किनेको रहेछ । उनले तीर्थलाई पनि इजरायल जान सहयोग गर्छु भनेर फोन गरिन् । हामीले यति सजिलै जान पाइन्छ भन्ने सोचेका पनि थिएनौँ । उनी उड्ने दिन जति नजिक आउँथ्यो उति नै मेरो टाउको भारी हुन्थ्यो । हजुरले किन पिर गर्नुभएको, म फोन गर्दै गर्छु । दुई वर्षमा त आई हाल्छु नि । त्यसपछि त हाम्रा सुखका दिन सुरु भइहाल्छन् नि भनेर मलाई सान्त्वना दिन्थिन् । छोराछोरीलाई ममी विदेश जाने कुरा सुनाउँदा दुबै कहालिंदै रोएर आमालाई समाते । राम्रा लुगा र खेलौना लिएर चाँडै आउने भनेर बल्लतल्ल सम्झायौँ । छोरालाई मामा घरमा छोडेर छोरी र म एयरपोर्टमा तीर्थलाई पुर्याउँन गयौँ । उड्ने बेलामा छोरीलाई अँगालो हालेर तीर्थ पनि खुब रोइन् । मेरा पनि आँसु थामिएनन् । अर्कोतिर फर्किएर सम्हालिएँ । आमालाई हातहल्लाउँदै धर्ती रुँदै थिइन् । मैले उचालेर छातीमा टाँसे । हवाइजहाजले दक्षिणकालीको डाँडो काटेर जाउन्जेलसम्म हेरिरह्यौँ । थाहा नपाई मेरा आँखाबाट आँसु बग्दै रहेछन् । छोरीले तपाईँ किन रुनु भएको बाबा ! ममी आइहाल्नु हुन्छ नि भन्दा मात्र थाहा पाएँ । लजाउँदै हैन छोरी आँखामा भुसुना पसेछ भनेर टारेँ । आज तीर्थ गएको पनि तीन बर्ष बितिसके छ । मलाई सपना देखेजस्तो लागिरहको थियो । म फेरि घरभित्र गएँ । मन नलागी नलागी कम्प्युटर खोलेर फेसबुकमा अगाडि हेर्दै गरेको पेजमा नै गएँ । त्यहाँ थुप्रै फोटाहरू थिए । तीर्थका फोटाहरू पनि विभिन्न पोजमा फरक फरक दृश्यहरूका पोस्ट गरिएका थिए । कुनैमा तीर्थ एक्लै उभिएकी थिइन् । कति फोटाहरू साथीहरूसँग समूहमा खिचिएका थिए । एउटा फोटो हेर्दा मेरो सास बन्द भएजस्तो भयो । फोटोको तल लेखिएको वाक्य पढ्दा मेरो मुटुमा कुनै तिखो वस्तुले घोचेजस्तो लाग्यो । त्यहाँ “मेरी ह्रृदयकी रानी, हाम्रो शुभविवाह” लेखिएको थियो । त्यसमा मेरी तीर्थ र मैले नौ बर्ष अगाडि चिनेको साथी विवाहको लुगामा सजिएर अँगालोमा बाँधिएका थिए ।