प्रतिभा पौडेल युवा पुस्ताकी सिर्जना र समीक्षामा कलम चलाउने प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको निडर नारी मायादेवी सुब्बा’ शीर्षकको जीवनी सिर्जना समेटिएको छ । यस जीवनी सिर्जनाले मायादेवी सुब्बाको जीवनचित्र खिचेको छ । -सम्पा. |
एकातिर छोरीलाई पढाउनु हुदैन भन्ने मान्यताका विपरीत छोरीहरूलाई स्कुल पठाउन अभिभावकसमक्ष गएर अनेक अनुनय विनय गर्नुपर्थ्यो, अर्कातिर स्कुल सञ्चालनका लागि आर्थिक सङ्कलन गर्न उत्तिकै कठिन् थियो । स्कुलका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले स्कुलमा विभिन्न अवसर पारेर सांस्कृतिक कार्यक्रम तथा नाटकहरू प्रदर्शन गरिन्थे । ती कार्यक्रममा स्कुलमा पढ्ने छात्राहरूलाई पनि सहभागी गराउनु पर्थ्यो । तर आफ्ना छोरीहरूलाई नाच्न गाउन वा नाटकमा अभिनय गर्न लगाए भनेर अभिभावकहरूले छोरीलाई स्कुल जानै बन्द गरिदिन्थे । यसका साथै नारीका इज्जतमाथि धज्जी उडाउनसमेत पछि नपर्ने तत्कालीन सामाजिक रूढ मान्यताको शिकार र समाजको रमिता पनि बन्थे । तथापि मायादेवी सुब्बाहरू ती चुनौतीसँग कहिल्यै हारेनन् ।
मायादेवी आफैं नाटक पनि लेख्थिन्, त्यसमा अभिनय पनि गर्थिन् । नाटकको निर्देशन चाहिँ उनका श्रीमान पदमबहादुर देवानले गर्थे । सुब्बाले केही फुटकर रचनाहरू २००७ साल अगाडिनै लेख्न थालेकी भए पनि प्रकाशनका हिसाबले हेर्दा उनको कविता वि.सं. २००९ सालमा इलामबाट प्रकाशन हुने हस्तलिखित पत्रिका घाँसीमा प्रथम पटक छापिएको हो । स्यामकृष्ण श्रेष्ठले सम्पादन गरेको सो पत्रिकामा उनको ‘ममता’ शीर्षकको कविता छापिएको थियो ।
माता बोधकुमारी र पिता सरदार मदनदास सुब्बाका सात सन्तानमध्ये जेठी छोरीका रूपमा मायादेवी सुब्बाको जन्म भारतको दार्जिलिङ सुकियापोखरीमा भएको हो । वि.सं १९७७ माघ १४ गते बुधवार जन्मेकी सुब्बा आफ्नै बाबाबाट साक्षर बनेकी थिइन् । उनले औपचारिक रूपमा दार्जिलिङको मिसिनरी गल्स स्कुलबाट एस.एल.सी पास गरेकी थिइन् । इलाम निवासी पदमबहादुर देवानसँग वैवाहिक सम्बन्ध गाँसिएपछि उनी इलामकी वासिन्दा भइन् ।
तत्कालीन पुरुषप्रधान सोचका माझमा पनि उनले विवाहपछि आफ्नो नामको पछाडि माइतीकै थर लेखिरहिन् । माइतीमा सामान्य सुखसयलमै हुर्केकी मायादेवीलाई घरमा पनि दुःख भने थिएन । अर्थात् आर्थिक सङ्कटमा उनले पिरोलिनु परेन । इलामलाई कर्मथलो बनाएर साहित्यको सेवा गर्ने यिनै मायादेवी सुब्बालाई हालसम्म प्राप्त प्रमाणका अधारमा इलामे माटोमा नारी साहित्यको विजारोपण गर्ने नारी स्रष्टाको श्रेय जान्छ । त्यस समय नेपालमा भने नारी शिक्षाको गोरेटो भरखर खन्ने तयारीमात्रै हुँदैथियो । अर्थात् शिक्षा र चेतनाका हिसाबले नेपाली समाज निकै पछाडि नै थियो । त्यस अवस्थामा मायादेवी सुब्बाले इलामे समाजमा बसेर चेतनाको गोरेटो खन्न सघाइन् ।
पुरुषप्रधान समाजको अन्धविस्वास विरुद्ध उनी डटेर लागेकी नारी हुन् । नारीमाथि हुने थिचोमिचोका विरुद्ध आवाज उठाउँदै उनले समाज परिवर्तनका लागि निकै ठूलो भूमिका खेलिन् । नारी पनि हरेक कुरामा अधि बढ्नुपर्छ, साहस गरेमा नारीले पनि गर्न नसक्ने केही छैन भन्ने कुराको प्रमाण उनले पेश गरिन् । सुब्बाले इलाममा नारी साहित्यको वीजारोपणका साथै समाज सेवाका कार्यहरू समेत गरिन् । वि. सं. २००३ सालमा इलाममा (पद्मोदय आदर्श हाइस्कुल) एक मात्र स्कुल स्थापना भएको थियो । उक्त आदर्श स्कुलको संस्थापक मायादेवी सुब्बाका श्रीमान् पदमबहादुर देवान थिए भने प्र.अ. नरेन्द्रनाथ बाँस्तोला थिए । तर त्यतिबेला नारीहरू पढ्ने चलन खासै थिएन । त्यस समयमा मायादेवी सुब्बाले नारीहरूलाई पनि शिक्षित पार्नुपर्छ भनेर आफ्ना छरछिमेकका केही नारीहरूलाई फकाएर, सम्झाएर आफ्नै घरमा पढाउन थालिन् ।
२००८ सालमा यिनै मायादेवी सुब्बा र सरस्वती राईको सक्रियतामा सरस्वती कन्या हाइस्कुल स्थापना भयो । पद्मोदय आदर्श स्कुलमा पुरुषहरू मात्र पढ्न जान्थे । त्यसैले नारीहरूको शिक्षाकै लागि सरस्वती कन्या स्कुलको स्थापना गरिएको थियो । सो स्कुलमा मायादेवी सुब्बा, सरस्वती राई, गङ्गाकुमारी हमाललगायत शिक्षिकाका रूपमा तथा शान्ति राणा, दार्जिलिङ (भारत) बाट झिकाइएकी लक्खीदेवी सुन्दास एवम् इलामकै कृष्णकुमारी वैद्यले प्र.अ.को जिमेवारी निर्वाह गरेका थिए । जुन स्कुलको स्थापना र सञ्चालनका लागि मायादेवीहरूले ज्यादै ठुलो सङ्घषर््ा गरेका थिए ।
मायादेवी सुब्बा कथा, कविता, नाटक, निबन्ध लगायत साहित्यका प्रायः सबै विधामा कलम चलाउँथिन् । पुस्तकाकार कृतिका रूपमा उनका दुइवटा पुस्तक मात्र छापिए पनि थुप्रै फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा छापिएका थिए ।
मायादेवी सुब्बा उपन्यासकारका रूपमा समेत स्थापित नारी हुन् । उनको लघु मौलिक उपन्यास “पश्चाताप” २०२० सालमा (विष्णु राई, गोरखपुर भारत) द्धारा छापियो । र त्यसै वर्ष “विलौँना” कथासङ्ग्रह समेत (गोरखपुरबाटै)छापिएर उनका दुई कृति प्रकाशनमा आएका छन् । (प्रसाई २०६३, पेज ११७, नारीचुली) । यसबाहेक उनका भूतल, शुभेच्छा, नेपाल जस्ता कविता र अन्य रचनाहरू सौगात, जुनेली, महिला बोल्छिन्, भानु, पारिजात, रत्नश्री आदि पत्रिकाहरूमा छापिएका थिए । त्यस्तै उनको एउटा उपन्यास “पोथीबासेको घर” हराएको कुरा जानकारहरू बताउँछन् । यसमध्ये उनी नाटककारका रूपमा निकै परिचित थिइन् । आफैँ लेख्ने मञ्चन गर्ने तथा अरू नारीहरूलाई पनि लेख्न पढ्न र कला प्रदर्शनका लागि प्रेरित गर्ने गर्थिन् । पालुवा (२०१६) हस्तलिखित मासिक पत्रिकाको पाँचौँ अङ्कमा उनको दहीलिला शीर्षकको एकाङ्की छापिएको छ । जुन पत्रिकामा उनी र सरस्वती राई सम्पादक थिए । त्यस नाटकले तत्कालीन एकाङ्कीको प्रतिनिधित्व गरेको पाइन्छ । कथा, उपन्यास, निबन्ध प्रबन्ध, कविता, नाटक आदि विधामा फुटकर एवम् पुस्तकाकार रूपमा उनका थुप्रै रचनाहरू छापिए ।
मायादेवी सुब्बा समाज सुधारक पनि थिइन् । उनका साहित्यिक लेख रचनाहरू पनि समाज सुधारक भावनाका थिए । उनी शिक्षा, साहित्य, संस्कृति एवम् मूलतः नारी जागरणका लागि जीवनभर प्रयत्नरत रहिन् । उनी तत्कालीन नारीहरूको एउटा बलियो खम्बा थिइन् । यति हुनका लागि उनी आफैँ पनि फराकिलो मन भएकी नारी त थिइन् नै, त्यसमा पनि माइतीमा उनका बाबु पनि निकै प्रतिष्ठित व्यापारी हुनाले बाबुबाट पनि निकै कुरा सिक्ने अवसर पाएकी थिइन् । अर्को कुरा श्रीमान् पदमबहादुर देवान पनि समाजसुधारक, शिक्षाप्रेमी र नारी शिक्षाका पक्षधरसमेत थिए । साथै उनी राजनैतिक व्यक्तित्व पनि थिए । उनी एक समय इलाम नगरपालिकाको अध्यक्षमा निर्वाचित पनि भएका थिए । त्यसपछि नगरपञ्चायतका प्रधानपञ्चसमेत भएका थिए । यसरी उनले माइती र घर दुवै पक्षबाट साथ, सहयोग र प्रेरणा समेत पाएकी थिइन् ।
यसबाट के पनि प्रष्ट हुन्छ भने शिक्षित परिवार र पारिवारिक सहयोग र समर्थनकै कारण शायद उनले यति धेरै प्रगति गर्ने उत्साह र आत्मविश्वास पाइन् । उनको हाराहारीमा उनी भन्दा पछिल्लो पुस्ताका नारी फेरि आउनै सकेनन् भन्न त सकिँदैन, र उनले बसाएको जगलाई अघि बडाउने प्रयास नभएको पनि होइन तथापि उनको जस्तो कला, संस्कृति, साहित्यिक एवम् सामाजिक चौतर्फी विकासमा एकछत्त योगदान पु¥याउने व्यक्तित्व (नारी होस् वा पुरुष) भने विरलै मात्र जन्मन्छन् । अनि व्यक्तित्व विकासका लागि परिवार र समाजको भूमिका कतिसम्म हुँदोरहेछ भन्ने कुरा आधुनिक समाजले पनि बुझ्न अझै पनि आवश्यक देखिन्छ । यसरी साहित्य, कला र संस्कृतिको विकास र संरक्षणमा मायादेवी सुब्बा लगायतका नारीहरूले गरेको योगदान स¥हानीय छ । तथापि उनी कामअनुसार चर्चामा भने आउन सकिनन् । अर्थात् छायामा नै रहिरहिन् ।
सात सन्तानकी आमा (चार छोरी र तीन छोरा) भएर पनि आफ्नो व्यवहारिक जिम्मेवारीका बावजुत मायादेवी सुब्बाले शिक्षा र साहित्यको सेवालाई पनि अघि बढाइरहिन् । उनी एक कर्मशील,उदार भावनाकी, सङ्लो मनले नारी उत्थान र विकासमा जोडदिने सक्रिय नारी थिइन् । उनले राष्ट्रिय स्तरमा मुल्याङ्कन नपाए पनि इलामबाट विष्णुनवीन पुरस्कार भने पाएकी थिइन् । उनी जीवनभर समाज सुधारका लागि हिँडिरहिन् । अझ नारी कला, साहित्य र नारी विकासका लागि त उनले बिर्सिनसक्नुको योगदान दिएकी छिन् । अन्ततः सामाजिक सेवा गरेर नै उनको जीवन वित्यो । उच्च रक्तचाप र प्यारालाइसिस रोगका कारण २०४९ साल फागुन १३ गते उनी यस संसारबाट विदा भइन् ।