प्रतिभा पौडेलको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनको कलम कविता सिर्जना र समीक्षाका साथै जीवनी लेखनमा पनि सक्रिय छ । यहाँ उनको ज्ञानदिलदासमाथि लेखिएको सङ्क्षिप्त जीवनी समेटिएको छ । यो जीवनी सिर्जनात्मक र समीक्षात्मक जीवनी लेखनका बिचबाट लेखिएको छ ।
-सम्पा. |
सन्त ज्ञानदिलदास नेपाली साहित्यको प्राथमिक कालिन कवि हुन् । उनी पूर्वीय नेपाली साहित्यको आदिपुरुषका रूपमा परिचित स्रष्टा हुन् । उनी भानुभक्तपछि दोस्रो काव्यकारका रूपमा आउँछन् । उनी वीरधाराका उदयानन्द अर्यााल र भक्तिधाराका भानुभक्त जस्तै निर्गुण भक्तिधाराका अग्रज हुन् । उनको लोकलयमा लेखिएको १०९ श्लोक भएको उदयलहरी वि.सं. १९५४ मा प्रकाशित भएको जानकारी पाइन्छ।
ज्ञानदिलदासको जन्म वि.सं. १८८० मा इलामको आमचोकमा भएको हो । बाबा स्याउन्द लामिछाने र आमा बल्लभाका पाँचभाइ छोरामध्ये कान्छा सुपुत्रका रूपमा उनी जन्मेका हुन् । उनको वास्तविक नाम श्रीकृष्ण लामिछाने थियो ।
जोसमनी सम्प्रदायबाट परिचित निर्गुण भक्तिधाराका उनी प्रतिपादक पनि हुन् । जोसमनी (ज्योतिर्मनी/ज्यातिर्मणि) शब्द ज्योतिर्मयबाट अपभ्रंस भई ज्योतिर्मणि हुदै जोसमनी भएको हो । यो शब्दले ज्योति स्वरूप ब्रह्मको उपासक भन्ने बुझाउँछ । ज्ञानदिलदास पनि यसै निर्गुणभक्तिका उपासक बनेर ज्ञानको प्रचारप्रसारमा लागे । उनले ज्ञान र धर्मप्रचारको शुरुआत ओखलढुङ्गाको रुम्जाटारबाट गरेका हुन् । यिनले धर्मप्रचार मात्रै नभएर समाज सुधारका लागि निकै सङ्घर्ष पनि गरे । जातपात र वर्णव्यवस्थालाई वैज्ञानिक रूपमा अवलम्बन गर्ने कुरामा उनले जोड दिए । अन्धविस्वास र रूढिवादी परम्पराका विरुद्ध उनले आवाज उठाए । सत्मार्ग, सत्चरित्र र धर्मको बाटो पछ्याउँन उनी सबैलाई उपदेश दिँदै हिँड्थे । तर उनको यो सुन्दर अभियानलाई त्यसबेलाको समाजले देखिसहेन । उनी विरुद्ध चौतर्फी आलोचना हुन थाल्यो । यति मात्रै होइन उनलाई जातिच्युत समेत गरियो । त्यसपछि उनी जोगी बनेर डुल्न थाले । उनलाई दवाउन जति प्रयास गरेपनि उनी भित्रको ज्ञानको उज्यालो भने दव्नै सकेन । उनी धीर वीर र सहनशील पनि थिए । त्यसैले आफ्नो रफ्तारमा अघि बढिरहे ।
उनी धार्मीक व्यक्तित्व त थिँदैथिए, स्पस्ट वक्ता र स्वभिमानी पनि थिए । कुरीति, अन्याय र अन्धविस्वासविरुद्ध आवाज उठाउने हुनाले उनी क्रातिकारी थिए । त्यससमय उनी एककिसिमले जननेताका रूपमा परिचित थिए । त्यसबेला सामाजिक एवं राजनैतिक क्षेत्रमा खरो क्रान्ति गर्ने नेपालका प्रथम शहीद लखन थापालगायतले गरेको विद्रोहबाट सशङ्कित भएका राणाहरूले यिनलाई पनि जमलमा छ महिनासम्म नजरबन्दमा राखे । तर पछि यिनी इमान्दार सन्त भएको थाह पाएर ससम्मान छोडिदिए । त्यसपछि उनी इलाम फर्कने क्रममा ओखलढुङ्गाको रुम्जाटारलाई केन्द्र बनाएर ज्ञान प्रचार प्रसार गर्न थाले । उनी धर्म र ज्ञानको प्रचार प्रसार गर्न भारतको दार्जिलिङ, सिक्किमसम्म पुगे । दार्जिलिङ बसेका बेला त्यहाँ क्रिस्चियन धर्मका पादरीहरूसँग वादविवाद भयो । तार्किक क्षमता प्रवल भएका कारण उनले वादविवादमा ती पादरीहरूलाई जितेका थिए ।
ज्ञानदिलदास आफ्नो जन्मथलो इलाम आउँदा उनीसँग थुप्रै साधुसन्त पनि आएका थिए । उनले सामाजिक क्षेत्रमा गरेका राम्रा काम देखेर मन जलेका कैयौँ सङ्कुचित सोचका मान्छेहरूले उनको विरोध गर्न थाले । त्यसबेला इलाम गौँडाका बडाहाकिम श्री ३ जङ्गबहादुर राणाका ज्वाँइ गजराजसिंह थापा थिए । ज्ञानदिलदास विरुद्ध केही व्यक्तिले विभिन्न आरोप लगाउँदै थापासमक्ष पोल हालेका कारण उनी पक्राउ परे । समाज सुधार र शिक्षाको प्रचार प्रसार गर्ने उनको उद्देश्य पुरा हुन पाएन । राम्रा काम गर्नेलाई देखिननसहने यही प्रवृतिका कारण नेपाली समाज पछि परेको परेकै देखिन्छ । रणबहादुर कार्कीको इलाम दर्शनमा उल्लेख भए अनुशार ज्ञानदिलदासलाई पनि धेरै समय जेलमा बन्दी बनाएर राखियो । पछि रणोद्वीप सिंह प्रधानमन्त्री भएको बेला उनलाई जोसमनी धर्म प्रचार नगर्ने शर्तमा इलाम काराबासबाट मुक्त गरियो ।
ज्ञानददिलदास नेपाली समाजमा परिवर्तन ल्याउन र समाज सुधार गर्न चाहन्थे । त्यसैले यसै क्षेत्रमा उनले निकै ठूलो सङ्घर्ष पनि गरे । उनी पूर्वका प्रथम साहित्यकार पनि हुन् । सन्त ज्ञानदिलदासका नामले उनी परिचित बने । उनका समकक्षी अन्य केहीले पनि निर्गुण ईश्वरलाई केन्द्रमा राखेर केही रचना गरेका प्रसङ्ग कतैकतै भेटिएका भए पनि ज्ञानदिलदासको भाषिक सरलता, सुबोध्यता एवम् स्तरीयतालाई समेत हेरेर लिपिबद्ध भएको कुराको समेत आधारमा उनलाई प्रथम कविको श्रेय दिएको पाइन्छ । उनका रचनहरूमा विकृति र विसङ्गति विरुद्ध सुधारको अपेक्षा गरिएको छ । उनीद्वारा रचित व्यङ्ग्यात्मक कविताको एउटा अंश यस्तो थियो —
यो रुम्जाटार्को कोदाको पिठो
निर्गुनको दाउन
धर्म र कर्म गुरुङ्ले गर्यो छक् पर्यो बाहुन ।
हिराको दरवार सुन गरिपर्वर
छक् पर्यो बाहुन ।।
ज्ञानदिलदास इलामका सुयोग्य बौद्धिक एवम् सिर्जनात्मक उपज हुन् । उनले स्पर्श गरेको इलामे माटो साहित्य र चेतनाका हिसाबले २०० वर्ष पुग्न लाग्दा अझै पनि उर्वर र मलिलो देखिन्छ । उनलाई तत्कालीन सरकारले शङ्काको घेरामा राखेर कहिले नजरबन्द र कहिले जेल हाल्ने काम ग¥यो । छुटेपछि उनी विभिन्न क्षेत्रको भ्रमण गर्दै हिडिरहे । उनी जहाँ पुगे त्यहाँ केही न केही ज्ञान र चेतनाका वीज पनि छर्दै रहे । साथै उनको साहित्यकार व्यक्तित्व पनि लुक्न सकेन । यी जागरुक व्यक्तित्वले धर्म प्रचारका लागि भजनसङ्ग्रह पनि प्रकाशित गरे । यसका साथै उनले झ्याउरे भजन,टुङना भजन, लोकलय भजन लगायत व्यङ्ग्यात्मक कविता आदि थुप्रै फुटकर रचना गरे । उनका यी कार्यहरूले शिक्षा र चेतनाको विकासमा ज्यानको बाजी थापेर भए पनि जग ओच्छ्याउने काम ग¥यो । जसको प्रतिष्ठालाई उल्लेखनीय रूपमा लिन सकिन्छ । तर यस्ता व्यक्तित्व धेरै लामो समय बाँचेनन् । उनको निधन ६० ववर्षकै उमेरमा वि.सं. १९४० कार्तिक २५ गते सिक्किमको गेलिङधाममा भयो । उनी कुष्माण्डा नवमीका दिन जन्मिए र सोही तिथिका दिन देहावसान पनि भए । उनका नाममा हुलाक विभागले २०३७ साल वैशाख १ गते सम्मान स्वरूप पाँच पैसाको हुलाक टिकट प्रकाशन गरेको थियो । जीवनपर्यन्त उनका विषयमा विभिन्न खोज अनुसन्धान भएका छन् ।
-इलाम