सुरेन उप्रेती नेपाली साहित्यमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको सत्यको जीत शीर्षकको कथा समेटिएको छ । यस कथाले नेपाली ग्रामीण समाजमा विकसित शोषणको एउटा स्वरूपलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यस कथामा चर्को व्याजमा लालपुर्जा धितो राखेर रकम लिने गरिबको दुर्दशा र त्यसबाट मुक्तिको मार्ग अन्वेषण गरिएको छ । -सम्पा. |
दशैँको रमझम सुरु हुँदै थियो । मानिसहरू आआफ्ना घर रँगाउन व्यस्त थिए । गाउँका युवाहरू कस्तो खालको पिङ लगाउने भनेर सल्लाह गर्न साँझमा स्कुलको चौरमा भेला हुन्थे । गाउँका अलि बुढापाकाहरू भेला भएर बाटो खन्ने सल्लाह गर्थे । हरेक बर्ष दशैका बेलामा यसरी नै सबै गाउँलेहरू भेला भएर बाटो खन्ने पुरानो प्रचलन थियो । बाटोमा पलाएका झार फाँड्ने, खाल्डाखुल्डी पुर्ने र भत्किएको बनाउने काम हुन्थ्यो ।
बाजाबजाउनेहरू अगाडि अगाडि बाजा बजाउँदै हिँड्थे । त्यसको पछि पछि हात हातमा कुटो, कचिया, फरूवा बोकेका महिला पुरुषहरू नाच्दै र गाउँदै बाटो खन्न व्यस्त देखिन्थे । बुधुनेकी आमा धनीमाया पनि कचिया बोकेर बाटो छेउछाउका झार फाँड्दै थिइन् । उनका श्रीमान् भनौ बुधुनेको बा भने हर्षनारान् शाहुको मेलोमा गएकाले आउन पाएनन् ।
सबै हाँस्दै गाउँदै बाटो खन्दै छन् तर धनीमायामा भने कुनै उमङ्ग छैन । कुनै उत्साह र खुसी देखिँदैन । अदृश्य चिन्तामा डुबेझैँ देखिन्छिन् । के हो भाउजू धेरै पिर परेजस्तो छ नि । हाँश्न पनि हाँश्दिनौ । बोल्न पनि बोल्दिनौ । के हरिभजन दाइ बिरामी छन् कि कसो ? –छिमेकी ममतादेवीले सोधी ।
धनीमायाले पीडालाई विर्षिएर हाँसो निकालन् प्रयास गरिन् । ओठलाई तन्काएर नक्कली हाँसो जन्माउन खोजिन् । तर अनुहारमा कुनै खुसी लहराएन । चमकता देखिएन ।
मुखियाको छोरो बिनोद पनि मास्टरकी छोरी मीराका नजिक नजिक गएर जिस्कँदै थियो । मास्टरकी छोरीले छड्के आँखा लगाएर बिनोदलाई पिलिक्पिलिक चिहाउँथी । मिरा भर्खरै दशै विदामा शहरबाट गाउँ आएकी हो । तर बिनोद गाउँमा आएर बसेको दुई तीन महिना भइसकेको थियो । यी दुवै जना गाउँमा बाह्र कक्षा सकेर काठमाडौँमा क्याम्पस पढ्न गएका थिए । उनीहरू चाडपर्व पारेर वर्ष वर्ष दिनमा गाउँमा फर्कन्थे ।
बाजा छँदैछन् जन्ती भैहाले बिवाह गर्ने हैन त मीरा ! बिनोदले भन्यो । म मार्दिन्छु ऐले भनेर मीराले हातमा लट्ठी बोकेर खेदी। बिनोद हाँस्दै दौडियो । ऊ कलभर्टका छेउमा छेलियो । पकेटबाट फोन निकालेर टाइप गर्न थाल्यो । मीराको फोनमा टिङ गरेको आवाज आयो । मीराले फोन निकालेर हेरी । अनि मुसुक्क हाँस्दै उसले पनि केके लेखेर पठाई । चरो कराए जस्तो सुइय गरेर म्यासेज गयो । एकै छिनमा बिनोद मुस्कुराउँदै फर्किएर बाटो खन्नेहरू सँगै मिसियो । यी दुई युवा दौँतेरीको प्रेम अंकुराउन थालेको थियो । यो देखेर बयस्कहरू पनि तलाउको डिलको बकुल्लाले पानीको माछा हेरे झैँ चिहाउँदै थिए ।
गाउँको बिचभागमा एउटा तलाउ थियो । त्यसको दक्षिण पूर्वमा राजदेवीको ठूलो मन्दिर थियो । त्यो मन्दिरको दर्शन गर्न टाढाटाढा देखिका मनिसहरू आउँथे । मन्दिरमा नवरथाका नवै दिन भव्यरूपमा पूजाआजा हुन्थ्यो । भक्तजनहरू नरिवल केला स्याउ अंगुर भूँइकटहर सरिफा जस्ता फलफूलका थाली लिएर मन्दिरमा जान्थे । विहान सखारै मन्दिरमा दर्षणाभिलाषीहरूको भीड नै लाग्थ्यो । साँझपख पनि युवायूवतीहरू मन्दिर र देवस्थलहरूमा घुम्नजाने र बरदान माग्ने पुरानो प्रचलन थियो ।
बैँसको प्वाँख पलाएर उड्नलाई फटफटाउन तम्सेका चरा जस्ता उमेरका युवायूवतीमा भने भक्तीभाव कम र कौतुहलता बढी देखिन्थ्यो । उनीहरू साथीसंगीहरूसँग हिँड्ने र मायाप्रीतिका कुरा सुनेर रमाउथे । नजानिँदो गरी विपरीतलिङ्गीलाई मनले खोज्न र रोज्न थालेको प्रस्ट देखिन्थ्यो । आफुभन्दा ठूला दाइदिदीहरूको झाँगीएको प्रेम देखेर आनन्द लिन्थे । कतीजनाले त ती दाइदिदीहरूको प्यारमा मलजलगर्न सहयोग पनि गरेका थिए । नवरथाको अवसरमा वल्लोगाउँ पल्लो गाउँसम्मका मानिसरहरू आएर झनै रमाईलो थपिन्थ्यो ।
घर धान्नु पर्ने घरमुलीहरूका लागि भने दशैँ सहज थिएन । नानीहरूका लागि नयाँ नाना र एक छाक राम्रो खाना जुटाउन हम्मे पर्दथ्यो । धनीमायाँहरूको हालत यस्तै थियो । अरूका घरमा दशैँको रमझम सुरु हुँदादेखि उनीहरूका घरमा कहाली लाग्दो पीडा भित्रिन्थ्यो । हर्षनारान साहुसँग तीन बर्षअगाडि लिएको पाँच सय अझै तिरिएको थिएन । हिसाब गरेर साउँब्याज एघार सय बुझाउँदा पनि साहुले लालपूर्जा फिर्ता दिएका थिएनन् ।
त्यो त ब्याज मात्र भयो । साँवा अझै बाँकी छ । यस्तै केके भन्थे ।
यसरी धेरै गाउँलेहरूको जग्गाको लालपूर्जा हर्षनारान साहुले राखेका थिए । लालपूर्जा फिर्ता लिनलाई गाउँलेहरूले गाउँपालिकामा उजुर पनि गरे । त्यसको सुनुवाई केही भएन । चौकीमा गएर पुलिसलाई पनि भने । त्यत्रा साले त्यस्तो कहाँ गर्छन् र भनेर पत्याएनन । उजुरी पनि लिन मानेन । गाउँलेहरूलाई कतिखेर हर्षनारान साहुले घरबाट निकाल्छन् भन्ने सधैँ चिन्ता हुन्थ्यो ।
घरका अविभावकहरूलाई परेको पीर कतै न कतैबाट बच्चाहरूले थाहा पाएका हुन्छन् । बुधुने आठ बर्षको मात्रै भए पनि उसको बाआमाको पीडा थाहा पाएको रहेछ ।
स्कुलको दशैँ बिदा हुने दिन थियो । शिक्षकले दशैको बारेमा पढाए । दशैं भनेको असत्यमाथि सत्यको जीतको पर्व हो । अन्यायमाथि न्याय प्राप्तिको पर्व हो । दशैँमा नवदेवीहरूको पूजा हुन्छ । ती देवीको पूजाआराधना गर्नाले अन्यायमा परेकाहरूले न्याय प्राप्त गर्दछन् । असत्य गर्ने, अरूलाई दुःख दिनेहरूको विनाश हुन्छ र ती पिडितले न्याय पाउँछन् भन्दै शिक्षकले पढाए ।
बुधुनेले चुपचाप सँग शिक्षकका कुरा सुनी मात्र रह्यो । बुधुने स्कुल छुट्ने वित्तिकै दौडिएर घर गयो । बाटामा पनि कसैसँग बोलेन । कतै नबसी दौडिँदै घर पुग्यो । छोरा स्याँ स्याँ हुँदै दोडिदै आएको देखेर धनीमायालाई पनि अचम्म लाग्यो । उनले दौडिँदै गएर छोरालाई अँगालो हालिन् ।बुधुने घरभित्र नपसुन्जेल केही बोलेन ।
घरभित्र पसेपछि आमालाई भन्यो– आमा अब हाम्रा पनि सुखका दिन आउँछन् । अब दशैँ आयो नि ! दशैँकी देवीले अन्याय गर्नेको नाश गर्छिन् रे । अन्यायमा परेकाहरूको उद्दार हुन्छ रे । सबैले न्याय पाउँछन् अरे सरले भनेको भन्दै ऊ खुसी भएको थियो ।
आमाले बुधुनेलाई अँगालोमा बेरिन् । उनका आँखामा सिंहमाथि चढेकी देवीको दृश्य आयो । देवीका हातमा लामो त्रिशुल थियो । देवीको बाहन सिंहले एउटा खुट्टा हर्षनारान साहुका छातीमा टेकेको थियो ।
देवीले त्रिशूलले हर्षनारानलाई रोपिन् । हर्षनारान सबैको जग्गा फिर्ता गर्छु भन्दै गिड्गिडाउन थाल्यो । धनीमायाका आँखाबाट हर्षका आँसुहरू गालामा ओर्लिए । उनले बुदुनेलाई दह्रोसँग समाएर भनिन् । हो छोरा सत्यको जित अवश्य हुन्छ ।