विनयकुमार शर्मा नेपाल नेपाली साहित्यका आख्यान, निबन्ध र कविता विधामा स्थापित प्रतिभा हुन् । उनको कलम कोश निर्माण र सम्पादनमा पनि त्यतिकै सक्रिय छ । सिर्जना, समीक्षा, सङ्गठन र साहित्यसञ्चारसमेतबाट साहित्यको विकासमा समर्पित नेपाल पछिल्लो समय प्रयोगशील निबन्ध रचना गरिरहेका छन् । उनका निबन्धले बहुमुखी विषयक्षेत्र र विचार क्षेत्रलाई समेटिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘छोड्नु कि समात्नु ?’ शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले छोड्नु र समात्नुको द्वैत द्वन्द्वलाई उजागर गरेको छ ।
सम्पा. |
छोड्नु भनेको सत्त्व त्याग्नु हो, गाँठो फुकाउनु हो, बाँधिएको वस्तु वा मनलाई फुक्काफाल बनाउनु हो । शरीर वा मनले समातेको चीज फ्याँक्नु पनि छोड्नु हो । वस्तु, विचार वा भावले झटारो हान्नु पनि छोड्नु हो । यस अर्थमा बोली होस् कि गोली होस् प्रक्षेपण गर्नु त झन् छोड्नु नै हो । आफूसँग रहेको कुनै पनि ज्ञान, साधन, परिधान वा सूचना पठाउनु वा सम्प्रेषित गर्नु पनि छोड्नु नै हो । रोग हट्नु, वस्तु आदिबाट छलिनु वा छलेर जानु वा भइरहेको नातो पातो कुनै सम्बन्धलाई त्याग्नु वा इन्कार गर्नु पनि छोड्नु नै हो । उडाएको चङ्गा, मनको तरङ्गमा चल्ने भाव वा सम्झनालाई खुकुलो पार्नु वा छिनाउनु पनि छोड्नु हो । भाले जातले सम्भोग आदिबाट निकाल्ने विर्य र पोथी जातले ब्याउने बच्चाबच्ची पाठापाठी छाउराछाउरी सबै सबै छोड्नु हो । जीव वा वनस्पतिले उत्सर्जन गर्ने सबै खाले चिप्रा, गुजी, चोप, झोल, मलमूत्र पनि छोड्नु हो । भइरहेको माया प्रेमको सम्बन्ध टुटाउनु, गरिरहेको संस्कार छुटाउनु वा कुनै पनि भाव, विचार र सम्बन्धबाट पलायन हुनु वा हट्नु पनि छोड्नु हो अर्थात् प्रत्येक भाव वा वस्तुजन्य कुरा त्याग्नु छोड्नु हो भने नयाँ कुरा थालेर पुरानो बिर्सनु र पुरानो कुरा बिर्सेर नयाँ कामकुरा थाल्नु पनि छोड्नु हो ।
प्रकारान्तरको परिशोधनको प्रक्रियालाई थाती नै राख्ने हो भने जसरी फालेको चुरोटको धुवाँ फर्केर पुन: तान्न सकिन्न, जसरी फालेको मलमूत्र फेरि शरीरभित्र हुल्न सकिन्न वा जसरी त्यागेको वा दान दिइएको धन पुन: फर्काउन सकिन्न त्यसै गरी कुनै पनि वस्तु वा भावलाई पुन: पुन ग्रहण नगर्ने वा वस्तु वा भावबाट पूर्ण रूपले मुक्त रहनु मात्र छोड्नु हो । छाडेको वस्तु वा भावको ग्लानि, क्षोभ, पीडा वा दु:खको त कुरै छाडौँ त्यसको संस्मरण रहनु वा सम्झनासम्म मात्र पनि छाड्न नसक्नु भनेको छोडेँ वा मुक्त छु भन्नु ढोंग मात्र हो, छाड्नु होइन । छाड्नुको अर्थ पूर्णतया सम्बन्धित विषय वा वस्तुबाट मुक्त हुनु हो । मन, आत्मा र शरीरबाटै सम्बन्धित विषय वा वस्तुप्रति निस्पृह रहनु मात्र छाड्नु हो ।
छाडेको वस्तु वा भावप्रति मान्छे साक्षी वा द्रष्टा मात्र बन्न सक्नुपर्दछ तब मात्र छोड्नु वा छाडेँ भन्नुको सार्थकता छ । मनमा प्रेमको होस् वा घृणाको कुनै पनि भाव पकाएर लोकाचारको लागि छाडिएको जुनसुकै उपक्रम छाड्नु होइन प्रकारान्तरले समाउनु नै हो । जबसम्म मनबाटै विषय-वस्तुप्रति मान्छे मात्र साक्षी बन्न सक्दैन तबसम्म मान्छेले कुनै कुरा छाड्न सकेको हुँदैन । प्रत्यक्षमा कसैसामु दृश्य नभए पनि आफ्नो मन, शरीर र प्रवृत्तिबाट जुन कुरा हट्दैन वा छुट्दैन त्यो कुनै प्रकारान्तर तरिकाले समाउनु वा समात्नु नै हो छोड्नु कदापि हुन सक्दैन ।
यदि कसैले मैले यो छाडेँ त्यो छाँडे भन्छ भने तपाईं बुझ्नोस् कि उसको मन वा आत्माले त्यो छोडेको होइन । ऊ कि त ढोंग गर्दैछ, नभए अरूलाई ठूलै झुक्यानमा पारेर आफ्नो कुनै स्वार्थ सिद्ध गर्न झुट बोल्दैछ । म यो गर्दिनँ, त्यो गर्दिन, म यस्तो होइन, त्यस्तो होइन भन्ने कुरा बाहिरी प्रपञ्च हो । यदि कसैले कुनै कुरा वास्तवमै त्यागेको हो वा छाडेको हो भने उसले त्यसलाई कसरी सम्झिरहन्छ ? छाडेको वस्तुको हेक्का वा याद कसरी आइरहन्छ ? बाह्य तनले वा मस्तिष्कले छाडे पनि, छाडेको जतिसुकै प्रपञ्च गरे पनि त्यो वस्तु वा भाव उसको मन वा आत्माले छाडेको होइन । यदि कसैले वास्तवमै कुनै कुरा त्याग्छ वा छोड्छ भने उसलाई त्यो छाडेको समेत हेक्का नहुनु पर्छ । तनले, व्यवहारले, समाजका खातिर, मानवका खातिर, नाता र सम्बन्धका खातिर वा जुनकुनै कारणका खातिर कुनै कुराको त्याग वा छाड् भनेको छाड्नु होइन कुनै न कुनै प्रकारान्तरले समाउनु वा समात्नु नै हो । त्यसैले म दोर्हयाउँछु- ‘जबसम्म मनबाटै विषय-वस्तुप्रति मान्छे मात्र साक्षी बन्न सक्दैन तबसम्म मान्छेले कुनै कुरा छाड्न सकेको वा छाडेको हुँदैन ।
विविध रूपका, विविध बुद्धिका, विविध ढङ्गका कोही त्यस्ता ममत्वचारी नौटङ्की तपाईं सामु आएका हुन सक्छन् वा आउन सक्छन् । तिनको बोली र काम गराई आँखा चिम्लेर एकपल्ट सम्झेर गम्नोस् त, छर्लङ्ग हुन्छ सबै । एउटा छाडेको गर्व गरेर अर्कौ अनेकमा वर्चश्व कायम गराउन खोज्ने प्रशस्तै भेटिन्छन् हाम्रो समाजमा ।
त के प्रत्यक्षमा देखिएका विभिन्न रूपरङ्ग धारी उपनाम भिरेका योगी, जोगी, सन्न्यासी, ऋषि, महर्षि, धर्मात्मी, ध्यानी, ज्ञानी आदि वा बोली-वचन वा व्यवहारमा मुक्त भएको गुड्डी हाँक्ने सबका सब एक प्रकारको ढोंग हो ? ती सबै ढोंगी हुन् ?
वस्त्रको त्याग गर्छ तर कुनै वस्त्र समात्छ । सिद्धान्तको त्याग गरेको पटक पटक याद गराउँछ तर कुनै मत राख्छ वा अर्को विचार समाउँछ । संस्कार वा संस्कृति मात्र औपचारिक भनेर विरोध गर्छ वा त्यसको त्यागको गुड्डी हाँक्छ तर अर्को कुनै चलन, प्रचलन, परम्परा मान्छ वा चलाउँछ । चलेको चालचलन छाडेर नयाँ चालचलन सुरू गर्छ । रहेपहेको ज्ञान विज्ञानको सूत्र वा सूक्तमा हेरफेर र छेड्छाड गरेर पुरानोको विरोध गरेर नयाँ थालनी गराउँछ । बोली र व्यवहारमा यो गर्दिनँ त्यो मान्दिनँ भन्छ, माया-प्रेम, लोग्ने-स्वास्नी, घर-परिवार, भोग-संभोग आदि आदि छाडेको दावीचाहिँ गर्छ तर प्रकारान्तरले केही याद वा सम्झना राख्दछ । त्यागी हुँ भन्छ तर बच्चा वा जवानीमा मनले वा शरीरले गरेको र छाडेको माया, प्रेम, पुर्खा, विचार, धन, परम्परा, संस्कारको धङधङीलाई मनमा राखिरहन्छ भने त्यस्तालाई तपाईं त्यागी वा छोडेको मान्नुहोला तर म मान्दिनँ । तपाईं दृश्यमा मात्र हेर्ने क्षमता राख्नुहुन्छ तर कोही दृश्यले बनाएको अदृश्य गोलचक्रसम्मलाई देख्दछ । के संसारका तत्त्व र सत्त्वहरू तपाईंले देखेका मात्र हुन् ?
छोड्नु माथि यतिविघ्न तर्कवितर्क र कुतर्क गरिसकेपछि मलाई लाग्दैन कि समाउनु वा समात्नु माथि फेरि यति नै गहिरिएर यति नै धेरै तर्कवितर्क र कुतर्क गर्नु परोस् । छोड्नुले बनाएको गोलचक्करको विपरित चक्कर वा चक्र समाउनु वा समात्नु हो ।
जुनसुकै तवरले भाव वा वस्तुमाथि मत-राय वा विचार दिनु वा नदिनु, तर्क-वितर्क वा कुतर्क गर्नु वा नगर्नु, ज्ञान-विज्ञान वा सिद्धान्त मान्नु वा नमान्नु, सूत्र, सूक्त वा उक्त पढ्नु-लेख्नु वा बोल्नु, आग्रह-विग्रह वा पूर्वाग्रहका साथै ग्रहण गर्नु, अँगाल्नु, पक्रनु, कस्नु, समात्नु, टाँसिनु वा नात्थिनु आदि समात्नु वा समाउनु त हो नै । कुनै वस्तु वा भावको अस्तित्व स्वीकार गर्नु वा अस्वीकार गर्नु दुवै पनि समात्नु वा समाउनु नै हो । अस्वीकार पनि समात्नु वा समाउनु हुन्छ कहीँ ? भन्नुहोला नि फेरि । हो अस्वीकार पनि प्रकारान्तरले नकारात्मक वा अस्वीकार भाव समात्नु नै हो । यस अवस्थामा तपाई स्वीकार भावलाई इन्कार गरेर अस्वीकार भावलाई झनै बलियोसँग समात्न पुग्नु हुनेछ ।
प्रत्यक्षमा छोडेको दावी गर्नेले समातिरहेको र समातेको देखिएकाहरूले छाडिसकेको अनगिन्ती उदाहरणहरू छन् । छोड्नु थोरै शरीरजन्य र धेरै मनजन्य कुरा हो भन्ने म साबित गर्न सक्छु, तपाईंले सक्नु नसक्नु तपाईंकै कुरो । हुन त समाती समाती छोड्नु एउटा कला हो । शनै: शनै: छोडेर दावी वा साबित नगर्नु अर्को कला हो किनकि दावी र साबित पनि एक प्रकारको ढोंग हो, मनबाट छाड्न नसकेको प्रदर्शन हो, प्रकारान्तरले समातेको बलियो प्रमाण हो ।
मेरा एउटा मित्र थिए । हुँदो खाँदो सम्पन्न थिए । अध्ययनशील थिए । पूजापाठ, ध्यानजप आदि पनि गर्थे । आफूलाई निकै जान्ने ठान्थे तर जीवनभर बाबुबाजेले राखिदिएको धनसम्पत्तिबाट खाएर बाँचे अर्थात् अकर्मशील बने । तपाईं भन्नुहोला पूजापाठ गर्ने, ध्यानजप गर्ने, पढलेख गर्ने पनि कहीँ अकर्मी हुन्छ ? तर मेरो विचारमा कर्मको अपूरो परिभाषामा तपाईंका कुरा सही हुनसक्छ तर पूर्ण परिभाषामा जबसम्म मान्छे भन्ने जीवले आफ्नो कर्म पौरखले खान र बाँच्न जान्दैन त्यो कर्म हुन र बन्न सक्दैन । फेरि जिरह गर्नु होला नि बाबुबाजेको आर्जनलाई प्रयोग गरेर बचाई राख्नु पनि त कम कर्म हो नि ? भनेर । यसको उत्तर आफै गमेर निर्क्योल निकाल्नोस् त !
वास्तवमा कर्मको सही अर्थ तब पूर्ण हुन्छ जब तपाईं आफ्नो कर्मको आर्जनमा बाँच्नु हुन्छ न कि अरूको कर्मको आर्जनमा । उनले कर्म छाडे अकर्म समाए । तपाईं हाम्रो दृष्टिमा अकर्म पनि त अर्को कर्मै हो नि कि होइन ? त्यसैले छाड्नुलाई अर्को दृष्टिमा म समाउनु नै देख्छु भने के यो मेरो भ्रम मात्र हो त ? जबसम्म तपाईं छाडेको भाव समेतलाई छाड्न सक्नुहुन्न तबसम्म यो छाड्नु पनि प्रकारान्तरमा समाउनु नै हो मेरो दृष्टिमा ।
मेरा अर्को एक मित्र पनि थिए । निक्कै ज्ञानी र ध्यानी थिए । संस्कार र परम्पराजन्य सबै कुरा छाडेँ भन्थे । दशैँ-तिहार र चाडबाड, मन्दिर-पूजा र प्रचलन सबै छाडेको दावी गर्थे । बाबु र आमाको हातबाट टीका छाडे तर स्वास्नी र सन्तानको हातबाट टीका थापे । एक छाडे अर्को समाए ।
एक अर्का मित्रले आफ्ना कुल, आफन्त र मान्यजन सबै त्यागे तर परस्पर लोग्नेले स्वास्नी र स्वास्नीले लोग्नेलाई टीका लगाउने र ढोगाढोग गर्ने परम्परा चलाए । यिनले पनि एक नौटङ्की त्यागे अर्को नौटङ्की अपनाए ।
अर्का एक मित्रका छोरा राम्रै पढेलेखेका थिए । हेर्दा कुनै फिलिमको हिरोजस्तै थिए तर कर्म गर्ने वेलामा बैराग्य जाग्यो । राग छाडे बैरागी बने अर्थात् सन्न्यासी बने । रङ्गीन वस्त्र छाडी गेरु वस्त्र लगाए । धर्मको नाममा मठ, मन्दिर धाए । तपको नाममा जप, ध्यान र योग गरे तर जब उनले कसैसँग आफ्नो परिचय गर्नुपर्थ्यो तब मेरो बाजे फलानो ठाउँका प्रशिद्ध पण्डित हुन् नि ! बाबु फलानो प्राध्यापक हो नि ! फलानो विश्वविद्यालयको कुलसचिव वा फलानो प्रतिष्ठानका सचिव मेरो ठूलाबुवा हुन् नि भन्थे । अर्का एक स्वामी पच्चीस वर्ष अगाडि लखरलखर चप्पलमा वनकालीमा भेटिन्थे र नमस्कार ठोक्थे । अहिले उनलाई भेट्न तीनतहको भाटगिरीको सिक्री पार गर्नुपर्छ ।
मेरा पिताजीका एक मित्र ठूला शास्त्र ज्ञाता वेदान्ती थिए । बूढाबूढी दुवै प्राध्यापक पनि थिए । छोराछोरी सबै युरोप अमेरिका थिए । घरको एकतला भाडामा पनि राखेका थिए । पचासौँ कृति पनि लेखेका थिए । सबै ग्रन्थ चेलाचपेटाले गुरूको भनेर प्रकाशित पनि गरिदिएका थिए । बिकेको किताबको पैसा गुरूको खानुहुन्न भनेर गुरूकै गोजीमा हालिदिन्थे पनि । सेवा निवृत्तपछि सप्ताहमा दुई तीन ठाउँमा प्रवचन पनि गर्ने गर्थे । प्रवचन गराउने मठ-मन्दिरका धर्मभिरुहरूले शानदार मोटरमा ल्याउने र र्पुयाउने पनि गरिदिन्थे । गुरू निकै राम्रा प्राचीन समयदेखि वर्तमानसम्मका कृतित्व र व्यक्तित्वका उदाहरण दिई दिई लोभ र मोह छाड्नुपर्ने, दान र दया गरेर धर्म गर्नुपर्ने कुरा गर्थे । म भने अक्सर गुरूलाई भेट्दा मुसुमुसु हाँस्थे र ‘मैले त लोभ मोह छाड्न सकिनँ हजुर’ भन्थेँ । उनी आफै किन हो निरुत्तर हुन्थे ।
अर्का एक स्वामी थिए । बालकैदेखि साधनामा लागेका रे ! आफूले कताबाट के कति पढे, के कति जाने, के गुने र के अनुभव गरे कुन्नि ! सबैलाई विषयी, पापी र सांसारिक देख्थे तर आफूलाई भने ठूलै अविषयी, धर्मात्मा र आध्यात्मिक ठान्थे । जोगीले सञ्चय, सङ्ग्रह र जोरजम्मा गर्दैन त्यसैले मेरो नाममा केही छैन भन्थे तर धर्मभिरु पाखण्डी प्रियहरूले जोरजम्मा गरिदिएको घर र गद्दामा भने घिरौँलाजत्रो नाक पारेर विराजमान हुन्थे र गुड्डी हाँक्थे ।
एक अर्का यस्तै नामुद स्वामी भक्तले ल्याएको झोला हेरेर भक्तलाई तौलेर व्यवहार गर्दथे । यी दुवै आफ्ना परम प्रिय चेलाहरू छानी छानी अलग्गै राखेर खासखुस गर्न माहिर थिए । आश्रमभित्र एकलाई काखमा र अर्कोलाई पाखामा राख्न भित्रभित्र ठूलै राजनीति चल्ने गर्थ्यो । यी सांसारिक विषय छाडेँ त भन्थे तर तिनका जुनकुनै कुरा वा काममा प्रश्न खडा गरे सनक्क सन्किन्थे । अरूलाई रिस, क्रोध, लोभ र मोह छाड्न सल्लाह दिन्थे तर आफू त्यसैमा डुब्थे ।
वेला वेला यो र यस्ता छाड्ने र समाउने प्रक्रिया देख्दा भने मेरो मन खुब पिरोलिथ्यो । बबुरो मेरो सोच चाहन्थ्यो कि छाड्नेले छाडेको वस्तु नसम्झोस् वा एउटा छाड्ने क्रियामा अर्को वस्तु वा भाव समात्ने प्रक्रिया नथालोस् । मुक्त बनोस् । त्याग्नु यस्तो होस् कि पात्रले छोड्ने र समाउने शब्द, कुरा, भाव, विचार नै सकियोस्, बिर्सियोस् । मुक्त मात्र होइन मुक्त बन्नुपर्छ भन्ने भावबाट समेत निस्पृह रहोस् ऊ, तर तपाईं नै भन्नुहोस् मैले चाहेर हुन्छ के ? वा तपाईंले चाहेर हुन्छ के ?
तर पनि हुन्न भन्नेमा म छैन किनकि म अरूलाई बदल्न सक्तिनँ तर आफू बदलिन सक्छु । एकैपल्ट बदल्नुपर्छ वा बदलिन्छ भन्नेमा पनि म छैन । म मेरै विचारले, मेरै अठोटले, मेरै स्वविवेकले शनै: शनै: बदलिएको छु । जे छाडेको छु वा छाड्ने छु त्यो बाटो जानेर नजानेर म नहिँडौँ, नदेखौँ, नसोचौँ । तिर्सनाहोस् त यस्तो होस् कि समग्र याद भुलियोस् । बिर्सना होस् त यस्तो होस् कि मैले छाडेको वा भुल्न खोजेको भाव वा वस्तु कहिल्यै नसम्झौँ । सामु परे पनि त्यो खण्डित होस् सबै पूर्वापर सम्बन्धबाट । आए पनि, देखे पनि, भेटे पनि, मिले पनि, बोले पनि, सुने पनि तरोजताजा नवीन होस् आजै धरतीमा अवतरण गरेर आए जस्तो ।